सामग्रीमा जानुहोस्

श्रीमद्भगवद्गीता पृष्ठभूमि

नेपाली विकिपुस्तकबाट, स्वतन्त्र पुस्तकालय

महाभारत कथा अनुसार, राजा दुष्यन्त र शकुन्तलाबाट बालक भरतको जन्म भएको हो । यस वंशमा राजा शान्तनु जन्मे । उनकी पत्नी गंगाबाट देवव्रत भीष्म र मत्स्यगन्धाबाट चित्रांगद र विचित्रवीर्य जन्मे । चित्रांगद निस्सन्तान मरे । विचित्रवीर्यको विवाह भयो । सन्तान नहुँदै उनको पनि मृत्यु जयो । भीष्मले राज्यको रेखदेख गरे पनि उनले राजगद्दीमा पनि नबसने र विवाह पनि नगर्ने शपथ खाएका थिए । व्यासले नियोग गरेर दुई पत्नीहरुबाट धृतराष्ट्र तथा पाण्डुको जन्म भयो ।
धृतराष्ट्र जन्मँदै दृष्टिविहीन जन्मे । पाण्डुलाई जन्मँदै पहेंले रोग थियो । दृष्टिविहीनलाई राजगद्दी नपाइने स्मृतिको विधान भएकोले राज्य उत्तराधिकार पाण्डुले प्राप्त गरे । धृतराष्ट्र तथा पाण्डु दुवैको सन्तान हुन ढिलो भयो । यसबाट दुखी भएर पाण्डुले वनमा केही समय पस्या गर्न जाने विचार गरे । आफू फर्की नआउञ्जेल उनले राज्य दाजुको जिम्मा लगाए ।
वनमा पाण्डुका सन्तान जन्मिए । तर पाण्डुको त्यहीं मृत्यु भयो । पाण्डुको मृत्यु पछि कुन्तीले राजकुमार लिएर हस्तिनापुर आइन् ।
धृतराष्ट्रले ज्येष्ठ पाण्डुपुत्रलाई राज्य दिन अनिच्छा गरे किनभने दुर्योधनले राजगद्दी आफूले चलाउन चाहेको थियो । पाण्डवहरुको वधका प्रयास गरिए तर सबै असफल रहे । त्यस पछि पाण्डुपुत्रहरुलाई खाण्डव वन सफा गरेर राज्य चलाउन भनियो । बाध्य भएर उनीहरुले त्यहाँ इन्द्रप्रस्थ नगर बनाए र राज्य संचालन गर्न थाले ।
राजा दुष्यन्त र शकुन्तलाको सन्तान भरतका वंशहरुको कथा भएकोले यसको नाम सुरुमा जयभारत थियो पछि भारत संहिता र वृहद् आकारले महाभारत प्रसिद्ध भयो ।

कुरुक्षेत्र युद्ध र गीताको पृष्ठभूमि

[सम्पादन गर्नुहोस्]


दुर्योधनले इन्द्रप्रस्थ राज्य पनि खोस्नका लागि षडयन्त्र गर्दै उनीहरुलाई जुआ खेल्न आमन्त्रित गर्र्यो ।
जुआमा पाण्डवहरुले राज्य हारे । वनवास र अज्ञातवास भोग्न बाध्य भए । थप शर्त के थियो भने अज्ञातवासमा उनीहरुलाई कसैले चिन्यो भने पुनः वनवास र अज्ञातवास बस्नु पर्ने थियो तर यो अवधि पूरा गरेमा उनीहरुको राज्य फिर्ता दिने सहमति गरिएको थियो ।
दुर्योधनले पाण्डवहरुको राज्यलाई जुआमा कपटपूर्ण तरिकाले जितेपछि शर्त अनुसार उनीहरुले १२ वर्ष वनवास र एक वर्ष अज्ञातवास भोगे । यस पछि पनि दुर्योधनले पाण्डवलाई बिना युद्ध राज्य फिर्ता नदिने अडान राख्यो । फलस्वरुप दुवै पक्षले युद्धका लागि सेना जम्मा गरे तथा युद्ध भूमिको रुपमा कुरुक्षेत्र रोजेर युद्धका नियमहरु बनाए । निर्धारित दिनमा युद्ध सुरु भयो ।
युद्ध भूमिमा अर्जुनलाई अचानक मोह भए पछि भगवान् श्रीकृष्णले आकस्मिक परिस्थितिको सामना गर्दै अर्जुनलाई जुन उपदेश दिनु भयो । त्यो श्रीमद्भगवद्गीता वा गीता वा गीता उपनिषदको नामले विख्यात छ ।

गीताका वक्ता र श्रोता

[सम्पादन गर्नुहोस्]


वैशम्पायनले परीक्षित पुत्र जनमेजयलाई सर्पयज्ञमा सुनाएको घटना जान्ने जिज्ञासा भएका शौनकादि अठासी हजार ऋषिहरुलाई सूतले ज्ञानको यस विशाल भण्डारलाई हस्तान्तरण गरेको कुरा महाभारतमा वर्णित छ । त्यसैले वर्तमानमा उपलब्ध महाभारत सूत र शौनकको वार्तामा आधारित छ ।
श्रीकृष्णको यो उपदेश सबैका लागि सुलभ हुनुमा पाण्डु पुत्र अर्जुनका साथै दिव्यदृष्टि प्राप्त सञ्जय, श्रोता धृतराष्ट्र, रचयिता व्यास, लेखक गणेश, सम्पादक वैशम्पायन, कथा सुन्ने शौनक आदि ऋषि, कथा वाचक सूत, र जिज्ञासा गर्ने राजा जनमेजय सबैको योगदान छ ।

भगवान् श्रीकृष्ण

[सम्पादन गर्नुहोस्]

गीता पाठ गर्नु अघि निम्नलिखित श्लोक भन्ने गरिन्छ । जसमा सुरुमा भगवान् श्रीकृष्ण र नरश्रेष्ठ अर्जुनलाई नमस्कार गर्ने कुरा बताइएको छ-
नारायणं नमस्कृत्य नरं चैव नरोत्तमम् ।
देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत् ।
कृष्णको जन्म जेलमा भएको हो । उनको जन्म हुनु धेरै अघि आठौं गर्भको रुपमा धराको अन्याय र अत्याचार नाश गर्न ईश्वरको अवतार हुने आकाशवाणी भएको घटना भागवत कथामा उल्लेख छ । आठौं गर्भ ज्यादै विशेष भएकोले सातौं गर्भमा त्यसको पूर्व तैयारी गरिएको थियो । तर कृष्णलाई आठौं सन्तान भन्न मिल्दैन । जीवित जन्मको दृष्टिले उनी सातौं सन्तान हुन् । तर गर्भको दृष्टिले भने उनी आठौं गर्भ हुन् । यसरी भगवान कृष्ण एक असाधारण गर्भ र असाधारण जन्म थिए ।
भगवान कृष्णको जीवनमा दम्भ, अहंकार, र अनिर्णयको सानो गन्ध पनि कहीं पाईंदैन। पाण्डवका हितैषीको रुपमा प्रत्येक चरणमा उनीहरुलाई निर्णायक भइ सहयोग गरेको पाइन्छ। त्यसैले कृष्णको मृत्यु हुनासाथ उनीहरु निरीह बने ।

नरश्रेष्ठ अर्जुन

[सम्पादन गर्नुहोस्]

गीताका मुख्य जिज्ञासु अर्जुन हुन् । अर्जुनको जन्म धृतराष्ट्रका भाई पाण्डुकी जेठी पत्नी कुन्तीका कान्छा सन्तानको रुपमा भएको हो । एउटा ऋषिको शापले गर्दा पाण्डु स्त्री प्रसंग गर्न असमर्थ थिए । त्यसैले कुन्तीले ऋषि दुर्वासाबाट प्राप्त मन्त्रहरुको प्रयोग गरेर देवताहरु आह्वान गरिन् । यसबाट उनले पाण्डुका लागि आफ्नो गर्भबाट युधिष्ठिर, भीम र अर्जुन तथा माद्रीको गर्भबाट नकुल र सहदेवलाई जन्म गराएकी थिइन् । मन्त्र परीक्षणको क्रममा कुन्तीले विवाह नहुंदै जन्माएको सन्तान कर्ण हुन् । इन्द्रद्वारा उत्पन्न गराइएकोले अर्जुनको एउटा नाम ऐन्द्रि पनि हो ।

गीताको यो विकीपुस्तक

[सम्पादन गर्नुहोस्]


गीता एक यस्तो ग्रन्थ हो जसमाथि लाखौं प्रवचन, हजारौं भाष्य, टीका, र अनुवाद छन् । सामाजिक सञ्जालमा विभिन्न भाषाका गीता रोजेर पढ्न पाइन्छ । युट्युबमा यसका श्रव्य दृश्य र केवल श्रव्य सामग्री पनि उत्तिकै छन् । ब्रेललिपिमा समेत यो उपलब्ध छ । जसले जुन भाषा र प्रविधिमा बुझ्न सक्छ उसलाई सोही भाषा र प्रविधिमा गीता उपलब्ध छ । र पनि लेख्ने क्रम रोकिएको छैन ।
वर्तमानमा गीतालाई यसरी उपलब्ध गराउनुमा ओरिएन्टल पुस्तकालयको योगदान छ । जहां सुखथङ्करको नेतृत्वमा महाभारतका पाण्डुलिपिहरु संकलन, सम्पादन, र प्रकाशनको श्रमसाध्य कार्य गरिएको थियो । सो क्रममा नेपालबाट पाण्डुलिपि संकलन गरिएको थियो भन्ने उल्लेख पाइन्छ । तर सुखथङ्करको जीवनकालमा आदिपर्व मात्र प्रकाशित हुनसक्यो । उनको मृत्युपछि डा. राधाकृष्णनले सम्पूर्ण महाभारत सार्वजनिक गरेका हुन् । पछिल्लो चरणमा गीता र महाभारत सर्वसुलभ हुनुमा गीताप्रेसको भूमिका रहेको छ । गीताप्रेसले उत्तर र दक्षिण क्षेत्रका पाण्डुलिपिहरुको पुनः सम्पादन, अनुवाद र प्रकाशन गरेर सम्पूर्ण महाभारत प्रकाशित गरेको छ । टी भी धारावाहिकले पनि महाभारतलाई सबैले बुझ्ने भाषामा घर घर पुर्याउन सहयोग गरेका हुन् । अब विकिपिडिया,यु ट्युब र विकिपुस्तकहरुले यही काम गरिरहेका छन् । जसमा धेरै लेखकहरुले स्वैच्छिक योगदान गरिरहेका छन् ।
गीता दर्शनको शास्त्र हो । जसले आफ्नो समयका सबै दर्शनको अभूतपूर्व समन्वय गरेको छ । तथापि के भन्न सकिन्छ भने गीताको प्रस्तुति काव्यात्मक र सरल छ । यसको अर्थ बुझ्न संस्कृतको सामान्य ज्ञान भए पुग्छ ।

गीताका प्रत्येक अध्यायको नाम त्यसका अन्तमा लेखिएको छ । यसका गीताका सुरुका छ अध्यायलाई ज्ञानयोग, सातदेखि १३ अध्यायलाई भक्तियोग र अन्तिम छ अध्यायहरुलाई कर्मयोग भनिएको छ। सबभन्दा महत्त्वपूर्ण कुरा गीताले आफ्नो समयसम्मका सबै दर्शनलाई बडो सुन्दरतापूर्वक समन्वय गरीदिएको छ ।


यो विकिपुस्तक सन्त महात्माहरुको प्रवचन, गीताका टीकाकारहरुको व्याख्या, सामाजिक संजालहरुमा भेटिएका गीतासंग सम्बन्धित सामग्री, अडियो, भिडियो, टी भी धारावाहिक, अन्तर्वार्ता,तथा गीता स्वाध्याय आदि अनेकौं सामग्रीका आधारमा लेखिएको छ जसका केही सन्दर्भ यथास्थान उल्लेख गरिएको छ । कुनै कुनै श्लोकको व्याख्या गर्न रेखाचित्र वा चित्र प्रयोग गरिएको छ । यसमा प्रयोग गरिएका रेखाचित्र मौलिक हुन् । तर चित्रहरु भने मुख्यतः गुगलको गीता इमेजेज, विकीपेडिया, गीताप्रेस गोरखपुर तथा इस्कोन सोसाइटी तथा युग निर्माण योजनाबाट साभार गरिएका छन् । यी सबैको सन्दर्भ यथास्थान गरिएको छ ।
गीताका विभिन्न संस्करणमा केही श्लोकमा पाठान्तर पाइन्छ । त्यसैले यस विकीपुस्तकमा व्याख्याका लागि गीता प्रेसबाट प्रकाशित गीता शाङ्कर भाष्यका श्लोकलाई आधार मानिएको छ ।
जसरी अग्निलाई बत्ती बालेर तथा गण्डकीलाई जल चढाएर प्रसन्न गराइन्छ । भगवान् कृष्णका यी वाणी यस पुस्तककको रुपमा उहाँलाई नै समर्पण गर्दछु ।
डा. बाबुराम ज्ञवाली brgewali_2008@yahoo.com

अध्यायहरू बनाउने वा सम्पादन गर्ने

[सम्पादन गर्नुहोस्]

सम्पूर्ण गीता