श्रीमद्भगवद्गीता पञ्चम अध्याय
अध्याय पाँच
[सम्पादन गर्नुहोस्]कर्म सन्न्यास योग
[सम्पादन गर्नुहोस्]अर्जुन उवाच
[सम्पादन गर्नुहोस्]
सन्न्यासं कर्मणां कृष्ण पुनर्योगं च शंससि ।
यच्छ्रेय एतयोरेकं तन्मे ब्रूहि सुनिश्चितम् ।।१।।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]अर्जुन उवाच (अर्जुनले भने)
सन्न्यासम् (सन्न्यास, त्याग) कर्मणाम् (कर्म) कृष्ण (हे कृष्ण) पुनः योगम् (फेरि योग) च (तथा) शंससि (प्रशंसा गर्नु हुन्छ) यत् (जुन) एतयोः (यी दुईमध्ये) सुनिश्चितम् (सुनिश्चित गरेर) एकम् (कुनै एक मार्ग) ब्रूहि (भन्नुहोस्) तत् (त्यो जुन) मे (मेरा लागि) श्रेयः (श्रेयस्कर छ)।
अर्जुनले भने–
हे कृष्ण, कुनै बेला सन्न्यासको र कुनै बेला कर्मको अर्थात् कहिलकाहीें कर्म सन्न्यास र कहिलेकाहीं कर्मयोगको प्रशंसा गर्नु हुन्छ । तपाईंले यी दुईमध्ये सुनिश्चित गरेर कुनै एक त्यो मार्ग भनीदिनु होस् जुन मेरा लागि श्रेयस्कर छ ।।१।।
व्याख्या
[सम्पादन गर्नुहोस्]मेरा लागि कुन बाटो राम्रो छ कर्मयोग कि कर्म सन्न्यास ? अर्जुनको यस भनाईले के स्पष्ट हुन्छ भने भगवान्ले भन्न खोजेको कुरा अर्जुनले अझै बुझेनन् तर पनि उनले यसलाई वक्ताको दोषको रुपमा लिएका छैनन् बरु आफ्नो दोष मानेका छन् । उनले कर्म त्यागको बाटो ठीक अथवा कर्ममा संलग्नताको ? भगवान् कृष्णको कुराबाट अलमलिएको भन्दै निश्चित एउटा मात्र बाटो बताइदिन विनम्र आग्रह गरेका छन् । जब कुनै प्रिय शिष्यले गुरुलाई मार्ग बताइदिन आग्रह गर्छ, त्यस बेला योग्य गुरुले शिष्यलाई सबै मार्ग बताउँछन् । कुनै शहर पहिलो पटक घुम्न आउने पर्यटकले बाटो सोध्यो भने सिपालु गाइडले उसलाई सबै बाटो बताउँछ । प्रत्येक बाटोको विशेषता र कठिनाई पनि बताउँछ । पर्यटक यसले अलमलिन सक्छ, तर त्यो गाइडको दोष होइन । त्यसै गरी गुरुले आफूले जानेका सबै मार्ग बताउँछ । कुनै पनि बाटोमा राम्ररी नहिँडेको शिष्य अलमलिन्छ। तर एउटा बाटोमा राम्ररी हिँडेपछि भने शिष्य अलमलमा पर्दैन । अर्जुनको अलमल पनि उसले आफ्नो कर्म बिर्सनाले हो ।
श्रीभगवानुवाच
[सम्पादन गर्नुहोस्]
सन्न्यासः कर्मयोगश्च निःश्रेयसकरावुभौ ।
तयोस्तु कर्मसन्न्यासात्कर्मयोगो विशिष्यते ।।२।।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]श्रीभगवान् उवाच (श्रीभगवान् ले भन्नु भयो)
सन्न्यासः (कर्मत्याग, कर्मसन्न्यास) च (र) कर्मयोग ः (कर्मयोग) उभौ (दुवै) निःश्रेयस् करौ (कल्याणकारक छन्) तु (तर) तयोः (ती दुवैमा) कर्मसन्न्यासात् (कर्मत्यागभन्दा) कर्मयोगः (कर्मयोग, कर्ममा संलग्नता) विशिष्यते (विशिष्ट छ) ।
श्रीभगवान ले भन्नु भयो–
कर्मसन्न्यास र कर्मयोग दुवै कल्याणकारक छन् । तर यी दुईमध्ये कर्मत्यागभन्दा कर्मयोगको योग्यता विशिष्ट छ ।
ज्ञेयः स नित्यसन्न्यासी यो नद्वेष्टि न काङ्क्षति ।
निर्द्वन्द्वो हि महाबाहो सुखं बन्धात्प्रमुच्यते ।।३।।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]महाबाहो (हे महाबाहु) ज्ञेयः (जान) स ः (त्यसलाई) नित्यसन्न्यासी (नियमित सन्न्यासी) यः (जसले) नद्वेष्टि (न द्वेष गर्छ) न काङ्क्षति (न प्रेम, न चाहना) हि (नै) निद्र्वन्द्वः (न द्वन्द्व) सुखं (सुखपूर्वक) बन्धात् (बन्धनबाट) प्रमुच्यते (मुक्त भइदिन्छ) ।
हे महाबाहो, जुन मानिसले न कुनैको द्वेष गर्छ न प्रेम गर्छ त्यस कर्मयोगीलाई कर्म सन्न्यासी नै भन्नु पर्छ किनभने निद्र्वन्द्व सुखपूर्वक बन्धनबाट मुक्त भएको हुन्छ ।।३।।
व्याख्या
[सम्पादन गर्नुहोस्]मनोवैज्ञानिक दृष्टिले मानवीय स्वभाव दुई प्रकारका हुन्छन्– अन्तर्मुखी र बहिर्मुखी । अन्तर्मुखी स्वभावका व्यक्तिहरुलाई ज्ञान, ध्यान, चिन्तन र दर्शनका विषय मन पर्छन् । बहिर्मुखी स्वभावका मानिसलाई सक्रिय क्रियाकलाप, कर्मकाण्ड, नाचगान र अनेक प्रकारका विधिहरु मन पर्छ ।
भगवान् श्रीकृष्णले मनोवैज्ञानिक उपचारको स्वरमा अर्जुनलाई उसको श्रेष्ठ मार्ग बताउँदै भन्नु हुन्छ, ‘मैले भनेका दुवै मार्ग कल्याणकारी छन् । एउटा मार्ग ज्ञानयोगको हो र अर्को कर्मयोगको ।’ एक दक्ष चिकित्सकले रोगको निदान प्रस्तुत गरे झैं भगवान् श्रीकृष्णले अर्जुनलाई सल्लाह हुनुहुन्छ– हे महाबाहु, तिम्रा लागि कर्मयोग नै श्रेष्ठ छ ।
अर्जुनको स्वधर्म क्षत्रिय हो । रजस् प्रकृतिका लागि सक्रियता स्वाभाविक छ । अज्ञातवासको समयमा समेत अर्जुनले नृत्य प्रशिक्षक भएर आफ्नो सक्रिय स्वभावको परिचय दिएका छन्। त्यसैले अर्जुनका लागि कर्म मार्ग नै श्रेष्ठ छ, कर्म त्याग होइन । तर शङ्कराचार्य जस्तालाई ज्ञानमार्ग श्रेष्ठ छ ।
साङ्ख्ययोगौ पृथग्बालाः प्रवदन्ति न पण्डिताः ।
एकमप्यास्थितः सम्यगुभयोर्विन्दते फलम् ।।४।।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]साङ्ख्ययोगौ (सांख्य र योग अर्थात् कर्मसन्न्यास र कर्मयोगलाई) पृथक् (अलग) बालाः (केटाकेटीले, अल्पबुद्धिले) प्रवदन्ति (भन्छन्) पण्डिताः (पण्डित,बुद्धिमानले) न (होइन) एकम् अपि (कुनै एउटाको पनि) सम्यक् (राम्ररी, सम्यक्) आस्थितः (स्थित हुँदा) उभयोः (दुवैको) फलम् (फल) विन्दते (प्राप्त हुन्छ)।
सांख्य अर्थात् कर्म सन्न्यास र योग अर्थात् कर्मयोगलाई अल्पबुद्धिले अलग देख्छन् तर पण्डितहरुले यस्तो देख्दैनन् । कुनै एक मार्गको राम्ररी आचरण गर्नाले दुवैको फल प्राप्त हुन्छ ।।४।।
यत्साङ्ख्यैः प्राप्यते स्थानं तद्योगैरपि गम्यते ।
एकं साङ्ख्यं च योगं च यः पश्यति स पश्यति ।। ५ ।।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]यत् (जुन) स्थानम् (स्थान) साङ्ख्यैः (साङ्ख्यद्वारा) प्राप्यते (प्राप्त हुन्छ) तत् (त्यहीं, सोही स्थानमा) योगैः अपि (कर्मयोगले पनि) गम्यते (पुगिन्छ) साङ्ख्यम् च (साङ्ख्य र) योगम् च (योगलाई) यः (जसले) एकम् पश्यति (एउटै देख्छ) सः पश्यति (उसले यथार्थ देख्छ, उसले तत्त्व जान्यो) ।
जुन स्थानमा साङ्ख्यद्वारा पुगिन्छ, कर्मयोगले पनि सोही स्थानमा पुगिन्छ । यसरी जसले सांख्य र योग यी दुवै मार्ग एउटै हुन् भन्ने जान्यो त्यसले वास्तविक तत्त्व जान्यो ।। ५ ।।
व्याख्या
[सम्पादन गर्नुहोस्]यहाँ पण्डितको अर्थ कर्मकाण्ड गराउने पुरोहित होइन । यहाँ पण्डितको अर्थ हो ज्ञानी । जसले ज्ञान मार्ग र कर्ममार्ग दुवैबाट पुगिने लक्ष्य एउटै हो भनेर बुझ्ने । परमहंस रामकृष्णले भनेका छन्– लक्ष्य एउटै हो । जुन बाटो गए पनि पुगिने ठाउँ एउटै हो । पहाडको टुप्पोमा भएको मन्दिर पुग्ने अनेक पथ हुन्छन् तर शिखरमा पुगे पछि दुईवटा बाटो हुँदैनन्, एउटा मात्र रहन्छ । सुरुमा बाटो फरक होला, दूरी फरक होला, कठिनाई फरक होला तर शिखरमा पुगेपछि सबै एउटै हो । यदि सांख्यबाट पनि उही स्थानमा पुगिन्छ जहाँ कर्मबाट पुगिन्छ भने दुवैलाई अलग अलग ठान्नु अपरिपक्वता, अज्ञता हो, केटाकेटीपन हो ।
यदि कुनै मानिसले फलको आा नराखी कर्म गर्छ, द्वन्द्वभावरहित छ भने त्यो पनि सन्न्यासी हो । आफ्नो कुरालाई अझ स्पष्ट गर्दै भगवान्ले भन्नु हुन्छ– सांख्य र योग दुवैका मार्ग अलग छन्, नियम अलग छन् तर शीर्ष एउटै हो– निद्र्वन्द्व, बन्धनमुक्त । ज्ञानीले जुन स्थान प्राप्त गर्छ, कर्मयोगी पनि सोही स्थानमा पुग्छ ।
रमण महर्षिले ध्यान गरेर जुन स्थान प्राप्त गरे, मीराले गीत गाएर जुन स्थान प्राप्त गरिन्, कबीरले उही स्थान कपडा बुनेर प्राप्त गरे । स्वर्गद्वारी महाप्रभुले नियमित हवन गरेर, नरहरिनाथले निरन्तर लेखन कार्य गरेर तथा खप्तड बाबाले एकान्त जंगलमा तपस्या गरेर जुन स्थान प्राप्त गरे शिवपुरी बाबाले संसारका सबै प्रमुख तीर्थस्थल घुमेर त्यही स्थान प्राप्त गरे ।
सन्न्यासस्तु महाबाहो दुःखमाप्तुमयोगतः ।
योगयुक्तो मुनिब्रह्म नचिरेणाधिगच्छति ।।६।।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]तु (तर) महाबाहो (हे महाबाहु) अयोगतः (कर्मयोग बिना) सन्न्यासः (सन्न्यास) आप्तुम् (प्राप्त हुनु) दुःखम् (कठिन छ) योगयुक्तः (कर्मयोगी, योगयुक्त) मुनिः (मुनिले) नचिरेण (अविलम्ब) ब्रह्म (ब्रह्म) अधिगच्छति (प्राप्त गर्छ) ।
तर हे महाबाहु, कर्मयोग बिना सन्न्यास प्राप्त हुनु कठिन छ । जो मुनि कर्मयुक्त छ, त्यसले अविलम्ब ब्रह्म प्राप्त गर्छ ।।६।।
व्याख्या
[सम्पादन गर्नुहोस्]कर्मत्याग र कर्मयोगको बिल्कुलै पृथक देखिन्छन् । शंकराचार्यको मार्ग कर्मसन्न्यास हो । राजा जनकको मार्ग कर्मयोग हो । एउटामा सम्पूर्ण कर्मको त्यागबाट प्रारम्भ गरिन्छ भने अर्कोमा कुनै पनि कर्म त्याग नगरीकन सारा कर्तव्य पूरा गरिन्छ । निष्काम कर्मयोग भनेको कर्मको त्याग पनि होइन र कर्म फलको त्याग पनि होइन, केवल कर्मफलका आशाको त्याग हो । यी दुवै मार्ग मध्ये गीताले कर्मत्यागको बाटोलाई कठिन बताएको छ । कर्मयोगको अभ्यास गरेर त्यागको लक्ष्यमा पुग्नु पर्छ भन्ने सुझाव गीताको छ । त्यसैले कर्मयोग पालन गरेपछि जो कर्मसन्न्यासको बाटो हिँड्छ, उसले ब्रह्म सजिलो गरी प्राप्त गर्छ । यसो गर्दा उसले एकै पटक दुवै मार्ग अवलम्बन गरे जस्तो हुनेछ ।
योगयुक्तो विशुद्धात्मा विजितात्मा जितेन्द्रियः ।
सर्वभूतात्मभूतात्मा कुर्वन्नपि न लिप्यते ।।७।।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]विशुद्ध आत्मा (मनलाई शुद्ध बनाएको, वशमा गरेको) जितेन्द्रियः (इन्द्रिय विजयी) सर्वभूतात्मभूतात्मा (सबै प्राणीहरुको आत्मा नै जसको आत्मा भएको छ) योगयुक्तः (कर्मयोगी) कुर्वन् अपि (कर्म गर्दा पनि) न लिप्यते (लिप्त हुँदैन, अलिप्त रहन्छ) ।
जसको मन शुद्ध छ, जो जितेन्द्रिय छ र सबै प्राणीको आत्मा नै जसको आत्मा भएको छ यस्तो कर्मयोगीले सबै कर्म गर्दा पनि त्यसका बन्धन (पाप वा पुण्य) बाट अलिप्त रहन्छ।।७।।
व्याख्या
[सम्पादन गर्नुहोस्]खडानन्दले पहिलो पटक कटहर देख्यो । अनि फलको बारेमा सोधपूछ गर्यो । त्यति ठूलो फल निकै सस्तोमा पाईंदो रहेछ ।
उसले कटहर किनेर खान थाल्यो । उसलाई बडो स्वादिलो लाग्यो । मिठो मानी मानी कटहर खायो ।
बडो सन्तुष्ट भयो र नजिकको धारामा गएर हात मुख धुन थाल्यो । त्यस बेला खडानन्दलाई दाह्री पाल्ने रहर पनि जागेको थियो । धारामा हात मुख धोए पछि कटहरको चोपले उसको दाह्री टाँंसिन थाल्यो । मुख सफा गर्न उसले साबुन लगाएर बेसरी पानीले धोयो । दाह्री झन् बलियो गरी टाँसिन गयो ।
पानीले कटहरको चोप झन् टाँसिन्छ भन्ने कुरा खडानन्दलाई थाहा थिएन ।
एउटा गाउँलेलाई त्यसको दुर्दशा देखेर दया लागेछ । अनि भन्यो– ‘अब तिमीले दाह्री काट्नु पर्छ । कटहरको चोपबाट जोगिन तेल पो लगाउनु पर्छ । पानी लगाउनु हुँदैन।’
खडानन्दले सारा दाह्री सफा गर्यो ।
त्यस दिनबाट कसैले दाह्री जुङ्गा सफाचट बनाएको छ भने खडानन्दले सोध्न थाल्यो– ‘के तिमीले कटहर खाएका थियौ र ?’
कर्मले लिप्त हुनु भनेको आफ्नै कारणले दाह्रीमा कटहरको चोप टाँसिनु जस्तै हो । जो गीताले बताएको कर्मयोगमा जोडिएको हुन्छ, त्यो कर्ममा लिप्त हुँदैन । किनभने उसले वास्तविकता जानेको हुन्छ, त्यसैले ऊ मुक्त रहन्छ । तर जसलाई वास्तविक कुरा थाहा हुँदैन, अर्थात् जो अज्ञानी हुन्छ उसका कर्म उसलाई लिप्त हुन्छन् ।
नैव किञ्चित्करोमीति युक्तो मन्येत तत्त्ववित् ।
पश्यञ्शृण्वन्स्पर्शञ्जिघ्रन्नश्नन्गच्छन्स्वपञ्स्वसन् ।।८।।
प्रलपन्विसृजन्गृह्णन्नुन्मिषन्निमिषन्नपि ।
इन्द्रियाणीन्द्रियार्थेषु वर्तन्त इति धारयन् ।।९।।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]तत्त्ववित् युक्तः (कर्मयोग सहितको कर्मसन्न्यासीले, तत्त्ववित्ले जान्नु पर्ने कुरा के हो भने) पश्यन् (हेर्दा) शृण्वन् (सुन्दा) स्पर्शन् (छुँदा) जिघ्रन् (सुँघ्दै गर्दा) अश्नन् (खाँदा) गच्छन् (हिँड्दा) स्वपन् (सुत्दा) स्वसन् (साँस फेर्दा) प्रलपन् (बोल्दा) विसृजन् (त्याग गर्दा) गृह्णन् (ग्रहण गर्दा) उन्मिषन् (आँखा खोल्दा) निमिषन् (आँखा बन्द गर्दा) अपि (पनि) इति (यसरी) धारयन् (बुझेर) इन्द्रियाणि (इन्द्रियहरु) इन्द्रिय अर्थेषु (इन्द्रिय कै विषयमा) वर्तन्त (चलिरहेका छन्, व्यवहार गर्छन्) एव किञ्चित् (मैले केही पनि) करोमि न (गरेको छैन) इति (यसरी) मन्येत (बुझ्नु पर्छ) ।
निष्काम कर्ममा युक्त तत्त्ववित् सांख्ययोगीले के बुझेको हुन्छ भने मैले केही गरेको छैन, हेर्दा, सुन्दा, सुँघ्दै गर्दा, भोजन गर्दा, हिंड्दा, सुत्दा, साँसफेर्दा, बोल्दा, त्याग गर्दा, ग्रहण गर्दा, आँखा खोल्दा, वा बन्द गर्दा इत्यादिमा के धारणा राखेर व्यवहार गर्नु पर्छ भने इन्द्रियहरु नै आआफ्ना विषयमा चलिरहेका छन् ।। ८–९ ।।
ब्रह्मण्याधाय कर्माणि संगं त्यक्त्वा करोति यः ।
लिप्यते न स पापेन पद्मपत्रमिवाम्भसा ।। १० ।।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]ब्रह्मणि (ब्रह्म, परमात्मालाई) आधाय (समर्पण गरेर) कर्माणि (कर्महरुलाई) संगम् (आसक्ति) त्यक्त्वा (त्यागेर) करोति (गर्छ) यः (जसले) सः (त्यो) पापेन (पापद्वारा) इव (जस्तै) पद्मपत्रम् (कमलको पातमा) अम्भसा (पानी) न लिप्यते (लिप्त हुँदैन)।
जुन मानिस सबै कर्मलाई ब्रह्म (परमात्मा) मा अर्पण गरेर र आसक्तिरहित भएर कर्म गर्छ त्यसलाई पापले त्यसै गरी छुन्न जसरी कमलको पातमा पानी टाँसिन्न ।।१०।।
व्याख्या
[सम्पादन गर्नुहोस्]निष्काम कर्म हुन शरीरको वास्तविक मालिक को हो र इन्द्रियले कसरी काम गर्छन् भन्ने कुरा जान्नु पर्छ । मालिक जान्ना साथ इन्द्रियहरु त्यसै गरी नियन्त्रित हुनजान्छन् जसरी मालिक देख्नासाथ घरका सेवकहरुले सतर्क भएर काम गर्दछन् ।
तत्त्ववित् ज्ञानीले सबै काम गर्दा गर्दै पनि मुक्त रहन्छ । उसले इन्द्रियहरुले आआफ्ना अर्थमा व्यवहार गरिरहेका छन् भन्ने कुरा राम्ररी बुझेको हुन्छ ।
जो योगयुक्त हुन्छ, उही तत्त्ववित् हुन्छ । हीरा र कोइलाको मूल्यमा जमीन आकाशको अन्तर छ तर दुवैको तत्त्व कार्बन हो । यसरी बुझ्नु नै तत्त्ववित् हुनु हो । जो तत्त्ववित् योगी हुन्छ उसले पेटलाई भोक लाग्छ, कानले सुन्छ, इन्द्रियले इन्द्रियका लागि काम गर्छन् भन्ने जान्दछ । यस्तो जान्ने मानिस नै सबै इन्द्रियको मालिक हुन सक्छ । जोन मिल्टनको एक उक्ति प्रसिद्ध छ– ‘दास भएर स्वर्गमा बस्नु भन्दा मालिक भएर नर्कमा बस्नु बेश ।’ मालिक हुनुको आनन्द नै अर्को छ ।
जुन मानिसले सबै कर्मलाई परमात्मामा अर्पण गर्दै, आसक्तिलाई त्याग गरेर कर्म गर्छ त्यो पुरुष पानीमा कमल झैं लिप्त हुँदैन । केवल परमज्ञानीले मात्र यसरी अलिप्त भएर कर्म गर्न सक्छ । त्यस्तालाई नै गीतामा कर्मसन्न्यासी भनिएको हो । आफ्ना सबै कर्म प्रभु समर्पण गर्दै निर्विकार कर्म पूरा गर्नु नै कर्मयोग हो ।
जापानको सबभन्दा धनी मानिसले एक सस्तो सेक्रेटरी राखेको थियो । आफ्ना मालिकको मेहनत र सामाजिक प्रतिष्ठा देखेर मनैमन त्यो सेक्रेटरीले इष्र्या गथ्र्यो । मालिक धनी थियो र ऊ निकै गरिब थियो ।
मालिक मरे पछि त्यसकी विधवाले त्यही सेक्रेटरीसंग विवाह गरी ।
त्यसदिन सेक्रेटरीले आफ्नो डायरीमा लेख्यो– ‘मेरो मालिकले रात दिन भोक तिर्खा नभनी काम गथ्र्याे । आखिर यो सब मेरा लागि रहेछ ।’
कायेन मनसा बुद्धया केवलैरिन्द्रियैरपि ।
योगिनः कर्म कुर्वन्ति संगं त्यक्त्वात्मशुद्धये ।। ११ ।।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]अपि (त्यसैले) योगिनः (कर्मयोगी) आत्मशुद्धये (अहंकाररहित भई आत्मशुद्धिका लागि) केवलैः (केवल) इन्द्रियैः (इन्द्रियले) मनसा (मनले) बुद्धया (बुद्धिले) कायेन (शरीरले) संगम् (आसक्ति) त्यक्त्वा (त्यागेर) कर्म (कर्म) कुर्वन्ति (गर्छन्) ।
त्यसैले जो कर्मयोगी हुन्छन् उनीहरुले म गर्ने हूँ भनेर अहंकारी बुद्धि नलिईकन केवल इन्द्रिय, मन, बुद्धि, र शरीरले आसक्ति त्यागेर आत्म शुद्धिका लागि कर्म गर्छन् ।। ११।।
युक्तः कर्मफलत्यक्त्वा शान्तिमाप्नोति नैष्ठिकीम् ।
अयुक्तः कामकारेण फले सक्तो निबध्यते ।। १२ ।।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]युक्तः (योग युक्त कर्मयोगीले) कर्मफलत्यक्त्वा (कर्मको फल त्याग गरेर) नैष्ठिकीम् (अन्तःकरणमा पूर्णताले) शान्तिम् आप्नोति (शान्ति प्राप्त गर्छ) अयुक्तः (योगयुक्त नभएको, सकाम मानिस) कामकारेण (कामनाको अधीन) फले सक्तः (फलमा आसक्त भएकोले) निबध्यते (बन्धनमा पर्छ) । जो योगयुक्त छ, त्यस योगीले कर्मको फल त्याग गरेर अन्तःकरणमा पूर्ण शान्ति प्राप्त गर्छ। तर जो योग युक्त छैन, त्यो कामनावश फलमा आसक्त भएर कर्म गर्छ त्यसैले पाप र पुण्यबाट बाँधिने हुन्छ ।। १२ ।।
सर्वकर्माणि मनसा सन्न्यस्यास्ते सुखं वशी ।
नवद्वारे पुरे देही नैव कुर्वन्न कारयन् ।।१३ ।।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]सर्वकर्माणि (सबै कर्महरुलाई) मनसा (मनले) सन्न्यस्य (ईश्वर अर्पण गरेर) वशी (संयत चित्त, जितेन्द्रिय मानिस) नवद्वारे (नौ ढोकाको) पुरे (शरीररुपी शहरमा) देही (देहवान् मानिस) न कुर्वन् (न केही गर्छ) न कारयन् एव (न केही गराउँछ) सुखम् (सुखपूर्वक) आस्ते (बसिरहन्छ) ।
सबै कर्महरुलाई, बाहिरबाट होइन, भित्रै मनले ईश्वर अर्पण गरेर जितेन्द्रिय र देहधारी मानिस नौ ढोकाको यस शरीररुपी शहरमा न केही गर्छ, न केही गराउँछ, सुखपूर्वक बसिरहन्छ ।। १३ ।।
व्याख्या
[सम्पादन गर्नुहोस्]भगवान् श्रीकृष्णले गीतामा जुन समन्वयात्मक सिद्धान्त प्रतिपादन गर्नु भएको छ, त्यो बडो क्रान्तिकारी छ । परमात्माले कर्तृत्व, कर्म, र कर्मफल संयोग केही सिर्जना गर्नु हुन्न । बरु यी सबै स्वाभाविक रुपमा प्रवर्तन हुन्छ । परमेश्वरले कसैको पुण्य कर्म पनि लिनुहुन्न र पापकर्म पनि । अज्ञानद्वारा ज्ञान ढाकिएकोले मानिसहरु मोहित भइरहेका छन् । तर जसको त्यो अज्ञान आत्मज्ञानद्वारा नष्ट भएको छ, उनीहरुको त्यो ज्ञान सूर्यवत् त्यस परमात्मालाई प्रकाशित गरीदिन्छ । कर्मसन्न्यास र कर्मयोगलाई समन्वित गरेर भगवान् श्रीकृष्णले जुन बाटो बताउनु भयो त्यस अनुसार कर्म गरेमा कर्मत्याग र कर्म गर्नु सारमा एउटै हुनजान्छ।
योगयुक्त कर्मयोगीले इन्द्रिय, मन, बुद्धि, शरीरद्वारा पनि आसक्ति र घमण्डलाई त्यागेर आत्मशुद्धिका लागि कर्म गर्छन् । जबकि अयुक्त मानिस कामनाको प्रेरणाले फलमा आसक्त भएर अहंकारपूर्वक कर्म गर्छन् । मानिसको कामलाई उसको अहंकारले नै घटाउने वा बढाउने काम गर्छ ।
एउटा स्याल बिहान शिकारको खोजीमा निस्क्यो । बिहानको उज्यालोमा उसले देख्यो उसका छायाँ निकै ठूलो छ । चउर भरि फिजारिएको । सोच्यो– ‘ओहो, आजको भोक त एउटा हात्ती मारेर खाएपछि मात्र मेटिन्छ ।’
हात्तीको खोजीमा निस्क्यो । धेरै बेर डुल्दा पनि शिकार भेटिएन । तबसम्म घाम माथि आइपुग्यो । भुईंको छायाँ अलिकति सानो भएछ । अनि सोच्न थाल्यो– ‘अब त एउटा हरिणले पनि अघाउन सकिन्छ ?’
दोपहर भरि डुल्दा घाम आकाशको बीचमा पुगेछ ।
उसले न हात्ती भेट्यो न हरिण ।
छायाँ पनि घटेर सानो भएछ । अनि सोच्न थाल्यो– ‘चरो भेटिए पनि त हुन्थ्यो । खान पाइन्थ्यो ?’
सकाम मानिसले ईसपको स्याल जस्तै हो जसले आफ्नो छायाँको आधारमा आफ्नो मूल्याङ्कन गर्छ । उसले आफ्नो शरीरको, मनको, बुद्धिको आधारमा आफूलाई ठूलो सानो ठान्छ ।
अन्तःकरणलाई वशमा राख्ने मानिस नौ ढोके यस घरमा मालिक बसे झैं सुखले बस्छ किनभने उसले इन्द्रियबाट काम गराउँछ ।
शरीरलाई दार्शनिक हरुले अनेक प्रकारले व्याख्या गर्दछन् । बाह्य शरीर र आन्तरिक शरीर । स्थूल, सूक्ष्म र कारण शरीर । अध्याय ७, अध्याय १३ र अध्याय १५ मा पनि शरीरको व्याख्या छ । अध्याय १३ मा यसको विस्तृत व्याख्या छ । यहाँ नौ ढोकाको घर भनिएको छ । यी ढोकाहरु यस प्रकार छन्– दुई आँखा, दुई कान, नासिकाका दुई छिद्र, मुख, उपस्थ र गुदा ।
न कर्तृत्वं न कर्माणि लोकस्य सृजति प्रभुः ।
न कर्मफलसंयोगं स्वभावस्तु प्रवर्तते ।। १४ ।।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]प्रभुः (परमात्माले) लोकस्य (संसारको) न (न) कर्तृत्वम् (कर्तृत्व, काम गर्ने, अह्राउने) न (न) कर्माणि (कर्महरु) न (न) कर्मफलसंयोगम् (कर्मफलको संयोग) सृजति (सृजना गर्छ) तु (बरु) स्वभावः (स्वाभाविक रुपमा, आफैं) प्रवर्तते (यो सब प्रवर्तन हुन्छ) ।
परमात्माले संसारको कर्तृत्व, कर्म, र कर्मफल संयोग केही सिर्जना गर्नु हुन्न । बरु यी सबै स्वाभाविक रुपमा, आफैं घटित हुन्छ ।।१४।।
नादत्ते कस्यचित्पापं न चैव सुकृतं विभुः ।
अज्ञानेनावृतं ज्ञानं तेन मुह्यन्ति जन्तवः ।। १५ ।।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]विभुः (सर्वव्यापक परमेश्वर) न (न) आदत्ते (लिनुहुन्छ) कस्यचित् (कसैको) पापम् (पाप) च एव (तथा) न (न) सुकृतम् (पुण्य) अज्ञानेन (अज्ञानले) आवृतम् (ढाकिएको छ) ज्ञानम् (ज्ञान) तेन (त्यसले) जन्तवः (अज्ञानी जनहरु) मुह्यन्ति (मोहित भएका छन्) ।
सर्वव्यापक परमेश्वर, ले कसैको पुण्य कर्म पनि लिनुहुन्न र पापकर्म पनि । अज्ञानको पर्दा अर्थात् मायाले ज्ञान ढाकिएको हुँदा अज्ञानीजनहरु मोहित भएका छन् ।। १५ ।।
व्याख्या
[सम्पादन गर्नुहोस्]घरको वास्तविक मालिकले के गर्छ त्यो कुरा यी श्लोकमा बताइएको छ । गीताले के मान्दछ भने परमात्मा, शरीररुपी घरको वास्तविक मालिक, ले कर्तृत्व र कर्म, र कर्मफल संयोग केही सिर्जना गर्नु हुन्न । बरु यी सबै आफैं प्रवर्तन हुन्छ । जसले जे गर्छ सो अनुसारको प्रतिफल स्वतः प्राप्त गर्छ । यही ईश्वरीय नियम हो । विभुको अर्थ हो आकाश, जसरी बादल हुँदा वा नहुँदा, सूर्य हुँदा वा तारा हुँदा आकाशको स्वरुप एकनासको रहन्छ। धुवाँले उसलाई कालो गराउन सक्दैन, पानीले चिसो गराउन सक्दैन, ईश्वरीयतामा पनि यही गुण छ । त्यसैले आकाश जस्तो सर्वव्यापी ईश्वरले कसैको पुण्य कर्म पनि लिनुहुन्न र पापकर्म पनि लिनु हुन्न । अज्ञानद्वारा ज्ञान ढाकिएकोले मानिसहरु मोहित भइरहेका हुन्छन् अर्थात् मायाले मोहित भएर मानिसहरु मोहित भएका हुन्छन् ।
ज्ञानेन तु तदज्ञानं येषां नाशितमात्मनः ।
तेषामादित्यवज्ज्ञानं प्रकाशयति तत्परम् ।। १६ ।।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]तु (तर) आत्मनः ज्ञानेन (आत्मज्ञानद्वारा) येषाम् (जसको) नाशितम् (नष्ट भएको छ) तत् (त्यो) अज्ञानम् (अज्ञान, मोह) तेषाम् (तिनीहरुका लागि) तत् (त्यस) ज्ञानम् (ज्ञानले) परम् (परम तत्त्व, परमात्माले) आदित्यवत् (सूर्यवत्) प्रकाशयति (प्रकाशित गरीदिन्छ) ।
तर आत्मज्ञानद्वारा जसको त्यो अज्ञान नष्ट भएको छ, तिनीहरुका लागि त्यस ज्ञानले नै परम् तत्त्वलाई सूर्यवत् प्रकाशित गरीदिन्छ ।।१६।।
तद्बुद्धयस्तदात्मानस्तन्निष्ठास्तत्परायणाः ।
गच्छन्त्यपुनरावृत्तिं ज्ञाननिर्धूतकल्मषाः ।। १७ ।।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]तत्बुद्धयः (जसको बुद्धि परम् तत्त्व अनुरुप भएको छ) तत् आत्मानः (जसको मन त्यसै अनुरुप भएको छ) तत् निष्ठाः (जसको निष्ठा त्यसैमा छ) तत् परायणाः (तत् परायण छ) ज्ञाननिर्धूतकल्मषाः (उनीहरुका पाप ज्ञानले पखालिन्छन्) अपुनरावृत्तिम् (र फेरि फर्कन नपर्ने, परम गति) गच्छन्ति (जान्छन्, प्राप्त गर्छन्) ।
जसको बुद्धि पनि परमतत्त्व जस्तो भएको छ जसको मन त्यसै परम् तत्त्व अनुरुप भएको छ, र सोही परम् तत्त्वमा जसको निष्ठा भई,तत्परायण भएको छ, तिनीहरुका पाप ज्ञानले सबै पखालिन्छन् र तिनीहरुले फेरि फर्कन नपर्ने गति अर्थात् परम्गति प्राप्त गर्छन् ।।१७।।
व्याख्या
[सम्पादन गर्नुहोस्]परमात्माले केही नगरे पनि उहाँको उपस्थिति भने चाहिन्छ । जसरी आमा नजीक छ भने सानो बच्चा खेलिरहन्छ । आमा उठेर हिंड्ना साथ त्यो पनि खेल्न छोडेर आमासंग हिंड्न थाल्छ । सृष्टिको खेल परमात्माको उपस्थितिमा सम्पन्न हुन्छ । अबुझहरुले यो कुरा चाल पाउँदैनन् । तर जसको मन तद् अनुरुप भएको छ, जसको बुद्धि त्यसैमा रंगिएको छ र जसको निष्ठा त्यस परमात्मामा छ, उसले अपुनरावृत्ति गति प्राप्त गर्छ । अपुनरावृत्तिको फेरी फर्कनु नपर्ने वा फेरी जन्म लिनु नपर्ने गति, जसलाई परमगति पनि भनिन्छ ।
विद्याविनयसम्पन्ने ब्राह्मणे गवि हस्तिनि ।
शुनि चैव स्वपाके च पण्डिताः समदर्शिनः ।। १८ ।।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]पण्डिताः (ज्ञानीजन) विद्याविनय (विद्या र विनयले) सम्पन्ने (सम्पन्न) ब्राह्मणे (ब्राह्मणमा) गवि (गाईमा) च (तथा) हस्तिनि (हात्तीमा) च (तथा) शुनि (कुकुर) एव स्वपाके (चाण्डालमा पनि) समदर्शिनः (समदर्शी हुन्छन् ) ।
पण्डित अर्थात् ज्ञानी जनको दृष्टिमा विद्या र विनयले सम्पन्न ब्राह्मण, गाई, हात्ती, कुकुर र चण्डाल यी सबै एउटै हुन्, किनभने उनी सबैको विषयमा समदर्शी हुन्छन् ।। १८ ।।
इहेव तैर्जितः सर्गो येषां साम्ये स्थितं मनः ।
निर्दोषं हि समं ब्रह्म तस्माद् ब्रह्मणि ते स्थिताः ।।१९ ।।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]येषाम् (जसको) साम्ये (साम्य अवस्थामा) स्थितम् (स्थित छ) मनः (मन) इह एव (यस अवस्थामा नै) तैः (उनीहरुले) सर्ग (सम्पूर्ण संसार) जितः (जितेको छ) निर्दोषम् (निर्दोष छ) हि (किनभने) समम् (सम) ब्रह्म (ब्रह्म) तस्मात् (त्यसैले) ब्रह्मणि (ब्रह्ममा) ते (तिनीहरु) स्थिताः (स्थित छन्) ।
अनि जसको मन साम्य अवस्थामा स्थिर छ तिनीहरुले यस अवस्थामा नै सम्पूर्ण संसार जितेका छन् अर्थात् जीवित नै उनीहरु मुक्त भइसकेका छन् किनभने परब्रह्म निर्दोष तथा सम छ त्यसैले ती साम्यबुद्धि भएका मानिस ब्रह्मभूत, ब्रह्मस्वरुप हुन्छन् ।।१९।।
व्याख्या
[सम्पादन गर्नुहोस्]विद्याको अर्थ हो ज्ञान र सूचना तथा विनयको अर्थ हो नैतिक प्रशिक्षण । प्राचीन शास्त्रहरुमा– दर्शन, वेद, अर्थशास्त्र, तथा दण्डनीति यी चार कुराको ज्ञान लाई विद्या भनिएको छ । विनयको अर्थ हो सीप र नैतिकता । जो वेद, दर्शन, अर्थशास्त्र, दण्डनीति सबैमा पारंगत छ, जसले जीवनलाई आवश्यक विभिन्न प्रकारका सीप, नैतिक आचरण व्यवहार कुशलताको प्रशिक्षण लिएको छ, यदि त्यस व्यक्तिले ब्राह्मण, गाई, हात्ती, कुकुर र चाण्डाल सबैसँग एक नास छ, अर्थात् सबैमा एउटै परमात्मा देख्छ, ऊ समदर्शी हो । ब्राह्मणको अर्थ हो ब्रह्मज्ञानी, गाईको अर्थ हो श्रेष्ठतम पशु, हात्तीको अर्थ हो बलशाली पशु, र चाण्डाल भनेको चार वर्णभन्दा पनि निम्नतम सामाजिक स्तरको व्यक्ति, अन्त्यज । बौद्ध ग्रन्थहरुमा यसलाई पाँचौं वर्ण नाम दिइएको छ ।

यी सबैको सांकेतिक अर्थ पनि छ श्रेष्ठतम मानिस होस् कि निकृष्टतम, श्रेष्तम पशु होस् कि निकृष्टतम, अरुको नियन्त्रणमा रहने होस् कि नहोस् सबैमा एउटै ईश्वर सर्वत्र छन् जसले यी सबैलाई समान देख्छ उही समदर्शी हो ।समदर्शिता ज्ञानीको एक महत्त्वपूर्ण गुण हो ।
एउटा शिष्य गुरुका लागि भिक्षा लिन बस्ती तिर हिंडिरहेको समयमा एउटा माहुते करायो– यो हात्ती बहुलाएको छ । कृपया बाटो छोड।
शिष्यले सोच्यो गुरुले सबैमा नारायण देख्नु पर्छ भन्नी उपदेश दिनु भएको छ । आज हात्तीमा नारायण छ कि छैन परीक्षा गर्छु ।
माहुते कराउँदा पनि शिष्य बाटोमा उभिएर हेरिरह्यो । हात्ती कराउँदै आएर शिष्यलाई उचालेर फाल्यो । शिष्य घाइते भएर आश्रम पुग्यो ।
गुरुले सोधे– के भयो ।
शिष्यले घटनाको बेलि विस्तार लाउँदै भन्यो– हजुरले सबैमा नारायण छ भन्नु हुन्थ्यो । मैले हात्तीमा नारायण देखेको थिएँ तर हात्तीले मलाई घाइते बनायो ।
गुरुले भने– तिमीले माहुते भित्रको नारायण देखेनौ ? उसले पनि त तिमीलाई बाटो छोड्न भनेको थियो नि ?
परमहंस रामकृष्णका शिष्यहरुले उनीसंग ब्रह्म ज्ञान के हो भनी बारम्बार जिज्ञासा गरे । तर उनी तर्कन्थे र उत्तर दिँदैनथे । प्रायः रामकृष्णले सोधेका कुराको जवाफ तत्काल दिने गर्थे । सितिमिति मौन राख्ने गर्दैनथे । तर ब्रह्म ज्ञान जस्तो जटिल विषयमा उनले प्रवेश गरेनन् ।
केही दिनपछि परमहंस रामकृष्ण प्रश्नकर्ता शिष्यका साथ कतै जाँदै थिए । बाटोमा उनले एक जना क्षुधार्त मानिस पातमा राखेको भात तर्कारीलाई बडो एकाग्रचित्त भएर खाइरहेको देखे। संगै एउटा कुकुर थियो । उसले पनि त्यसै पातको खाना रुचिपूर्वक खाइरहेको थियो ।
आफ्ना शिष्यहरुतिर फर्केर भने– तिमीहरुले ब्रह्म ज्ञान के हो भनेका थियौ नि ? त्यही हो, ब्रह्म ज्ञान । त्यस मानिसले आफू र त्यस जनावरका बीचमा कुनै फरक गरेको छैन ।
दुवैले एकत्व भावले पातमा खाना खाइरहेका छन् । संसारका हरेक वस्तुमा यो एकत्व भाव उत्पन्न हुनु नै ब्रह्म ज्ञान हो । पूर्ण समदर्शी हुनु नै ब्रह्मभूत हुनु हो ।
न प्रहृष्येत्प्रियं प्राप्य नोद्विजेत्प्राप्य चाप्रियम् ।
स्थिरबुद्धिरसम्मूढो ब्रह्मविद्ब्रह्मणि स्थितः ।।२०।।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]प्रहृष्येत् (खुशी) न (हुँदैन) प्रियम् (प्रिय, मन पर्ने कुरा) प्राप्य (प्राप्त गरेर) उद्विजेत् (उत्तेजित खिन्न ) न (हुँदैन) प्राप्य (प्राप्त गरेर) च (तथा) अप्रियम् (अप्रिय) स्थिरबुद्धिः (स्थिरबुद्धि) असम्मूढः (मोहबाट मुक्त) ब्रह्मवित् (ब्रह्मवित्) ब्रह्मणि (ब्रह्ममा) स्थितः (स्थित छ) ।
जो प्रिय कुरा अर्थात् इष्ट प्राप्त गरेर खुशी हुँदैन र अप्रिय अर्थात् अनिष्ट प्राप्त गरेर खिन्न हुँदैन, यसरी जसको बुद्धि स्थिर भएर मोहबाट मुक्त भएको छ, त्यसलाई ब्रह्ममा स्थित भएको बुझ्नु पर्छ ।। २० ।।
बाह्यस्पर्शेष्वसक्तात्मा विन्दत्यात्मनि यत्सुखम् ।
स ब्रह्मयोगयुक्तात्मा सुखमक्षयमश्नुते ।।२१ ।।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]बाह्यस्पर्शेषु (स्पर्श, रुप आदि बाह्य विषयको संयोगमा) असक्त (आसक्तिरहित) आत्मा (मन, अन्तःकरण) यत् (जुन) आत्मनि सुखम् (आत्मसुख) विन्दति (प्राप्त हुन्छ) सः (त्यस) ब्रह्मयोग युक्त (ब्रह्ममा युक्त) आत्मा (मानिस, साधकले) सुखम अक्षयम् (अक्षय सुख) अश्नुते (उपभोग गर्छ) ।
स्पर्श, रुप आदि बाह्य विषयको संयोगमा जसको मन आसक्त छैन, त्यसले नै आत्मसुख प्राप्त गर्छ । त्यस ब्रह्ममा युक्त मानिसले अक्षय सुखको उपभोग गर्छ ।। २१ ।।
व्याख्या
[सम्पादन गर्नुहोस्]यहाँ प्रियको अर्थ हो इन्द्रियका क्षणिक सुख, सुखको आभास । यस्तो क्षणिक इन्द्रिय सुख प्राप्त गरेर जो मक्ख पर्दैन र इन्द्रियका सुखबाट वंचित हुनुपर्दा दुखी र उत्तेजित हुँदैन त्यस्तो मानिसलाई स्थिरबुद्धि भनिन्छ ।
स्थिर बुद्धि भए पछि मानिस स्वतः संशयरहित हुन्छ । यी दुवै कुराले उसलाई ब्रह्ममा स्थित बनाउँछन् । ब्रह्मको अर्थ हो सच्चिदानन्दघन परमात्मा, सुखको अनन्त सागर ।
हामी सबैलाई त्यो सुख राम्रो गरी थाहा छ जुन अरुको कारणले प्राप्त हुन्छ । पति पत्नीको सुख, सन्तानको सुख, धन प्राप्तिको सुख ।
जुन सुख अरुको कारणले प्राप्त हुन्छ, त्यो क्षणिक हुन्छ । जुन कारणले त्यो सुख प्राप्त भएको छ, त्यसको विपरीत कारणले त्यो सुख दुखमा बदलिन जान्छ । सन्तानको कारणले प्राप्त सुख त्यसबेला दुखमा बदलिन्छ जब त्यही सन्तानले हेला गर्छ । योग्य सन्तानले सुख दिए जस्तै अयोग्य सन्तानले दुख दिन्छ । सन्तान वृद्धिले सुख प्राप्त हुन्छ भने सन्तानको अभावले दुख प्राप्त हुन्छ । जुन पति वा पत्नीले सुख प्राप्त भएको छ उसले विश्वासघात गरेका थाहा पाउना साथ दुखमा रुपान्तरण भइदिन्छ । प्रेमीलाई देख्ना साथ प्रफुल्ल हुने प्रेमिका आफ्नो प्रेमीलाई अर्को युवतीसंग लहसिएको देख्ना साथ रीस, डाहाढ र अवसादले ग्रस्त हुनजान्छे ।
तर कहिल्यै नघट्ने अक्षय सुख कसरी प्राप्त हुन्छ ? गीतामा त्यो कुरा बताइएको छ । जो प्रिय प्राप्त गरेर हर्षित र अप्रिय प्राप्त गरेर दुखी हुँदैन, जसलाई दुवै कुरा क्षणिक हुन् भन्ने थाहा छ, र इन्द्रियहरु नियन्त्रण गरेको छ, उसले मात्र सत्, चित, र आनन्दको अनुभव गर्न सक्छ । यसको अर्थ के हो भने हामीले प्राप्त गर्ने क्षणिक आनन्द पनि परमात्माको अनुभूति हो । अन्य सुखहरु आन्तरिक सुखका प्रस्फुटन मात्र हुन् । यस्तो आफ्नै अधिकारमा भएको सुख केवल त्यसले अनुभव गर्छ जसले ब्रह्म जानेको छ ।
जसले ब्रह्म जान्दछ उसलाई ब्रह्मवित् भनिन्छ । जो ब्रह्मवित् हो, ऊ ब्रह्म नै हो । जसले सच्चिदानन्दघन परमात्मालाई जान्दछ ऊ परमात्मा हो । जो मानिस अन्तरात्मामा नै सुखी छ, अन्तरात्मामै रमाउँछ तथा जो आत्मामा ज्ञान वाला छ त्यो ब्रह्मका साथ एकीभाव भएको योगीले ब्रह्मनिर्वाण अर्थात् परम शान्ति प्राप्त गर्छ । यस्तो सुख अनुभव गरेको मानिसलाई फेरि कसैले दुखी बनाउन सक्दैन ।
ये हि संस्पर्शजा भोगा दुःखयोनय एव ते ।
आद्यन्तवन्त कौन्तेय न तेषु रमते बुधः ।।२२।।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]कौन्तेय (हे कौन्तेय) ये (जुन) संस्पर्शजा (इन्द्रिय संयोगको स्पर्शले प्राप्त हुने) भोगा (भोग) एव हि (नै) दुःखयोनय (दुखका कारण हुन्) ते (तिनीहरु) आदि अन्तवन्त (आदि र अन्तवत्, क्षणभंगुर छन्) बुधः (बुद्धिमान मानिस) तेषु (तिनीहरुमा) न रमते (रमाउँदैन) ।
हे कौन्तेय, जुन इन्द्रिय संयोगको स्पर्शले प्राप्त हुने भोग छन्, तिनीहरु नै दुखका कारण हुन्। यी सबै सुख र दुखको भोगको आदि र अन्त छ अर्थात् यी सबै क्षणभंगुर छन् । बुद्धिमान मानिस तिनीहरुमा रमाउँदैन अर्थात् आसक्त हुँदैनन् ।।२२।।
व्याख्या
[सम्पादन गर्नुहोस्]हामीले जसलाई सुख भनी बुझ्छौं गीताले त्यसलाई सुखको आभास भनेको छ अर्थात् सुख त्यो हो जुन आउना साथ समाप्त हुन थाल्छ । यो सुखको भ्रम हो । यस्तो सुख इन्द्रिय र त्यसको संयोगमा आधारित हुन्छ । जस्तै खानाको स्वाद भोक र भोजनको संयोगमा आधारित हुन्छ । भोको मान्छेले डाँडा वारी खाउँ भन्छ, अघाएकाले डाँडा पारी खाउँ भन्छ । एउटाले अहिले भर्खरै सुख पाउँछ भने अर्कालाई भर्खरै त्यसमा सुख छैन ।
हाम्रा सुख आफैंमा स्वतन्त्र छैनन् अरुमा आधारित छन् । प्रेमीको सुख प्रेमिकामा, पत्नीको सुख पतिमा, पिताको सुख पुत्रमा, मित्रको सुख मित्रमा आधारित छन् । प्रत्येकको सुख एक अर्कामा आश्रित छ । एउटाले गरेको काम अर्काले चाहे अनुसार भयो भने सुख हुन्छ, अन्यथा दुख ।
त्यसैले हामीले अनुकूल अवस्था पाउँदा सुख अनुभव गर्छौं । तर कुनै पनि अनुकूल अवस्थाले सधैं भरि सुख दिएको हुन्न । जाडोमा सुख दिने घामले गर्मीमा पोल्छ । फेरि संसारमा सबैको आफ्नो स्वतन्त्र अस्तित्त्व छ । हामीले जो सँग आफ्नो अनुकूल खोज्छौं उसले पनि आफ्नो अनुकूल खोज्छ । सधैं दुवैका सुख अनुकूल रहन्छन् भन्न सकिन्न ।
यो सबै कुरा बुझ्नु नै बुद्धिमान हुनु हो ।
शक्नोतीहैव यः सोढुं प्राक्शरीरविमोक्षणात् ।
कामक्रोधोद्भवं वेगं स युक्तः सुखी नरः ।। २३ ।।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]प्राक्शरीरविमोक्षणात् (शरीर छुट्नु अघि, मृत्यु हुनु अघि) यः (जसले) कामक्रोध (काम र क्रोधले) उद्भवम् (उत्पन्न) वेगम् (वेग, तीव्रता) सोढुम् (सहन गर्न) शक्नोति (सक्छ) इह (यस शरीरमा) सः (त्यो) नरः (मानिस) एव (नै) युक्तः (योगी हुन्छ) सुखी (सुखी हुन्छ) ।
शरीर छुट्नु अघि नै जसले काम र क्रोधले उत्पन्न वेगलाई सहन गर्नसक्ने शक्ति आर्जन गरेको हुन्छ, त्यो मानिस नै योगी (कर्मयोगी) हो । त्यो मानिस नै वास्तवमा सुखी हो ।।२३।।
योऽन्तःसुखोऽन्तरारामस्तथान्तज्र्योतिरेव यः ।
स योगी ब्रह्मनिर्वाणं ब्रह्मभूतोऽधिगच्छति ।। २४ ।।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]यः (जुन मानिस) अन्तःसुखः (अन्तकरणमा सुखी) अन्तःआरामः (आफैमा रमाउँछ, आन्तरिक आराम पाएको) तथा (तथा) अन्तः ज्योतिः (आन्तरिक प्रकाश भएको) यः (जो) सः (त्यो) योगी (कर्मयोगी) एव (नै) ब्रह्मभूतः (ब्रह्मरुपको) ब्रह्मनिर्वाणम् (ब्रह्म निर्वाण, परम शान्ति) अधिगच्छति (जान्छ, प्राप्त गर्छ) ।
बाह्यसुखको अपेक्षा नगरेर जुन मानिस अन्तःकरणमा सुखी छ, आफैंमा रमाउँछ, तथा जसले भित्री ज्योति पाएको छ, त्यो कर्मयोगी नै ब्रह्मरुप हुन्छ, र त्यसले नै ब्रह्म निर्वाणरुप परमशान्ति पाउँछ ।।२४।।
व्याख्या
[सम्पादन गर्नुहोस्]परमात्माको आनन्दलाई जसले अनुभव गर्यो उसलाई जीवनका ठूला ठूला दुखले पनि विचलित गराउँन सक्दैन ।
सूफी सन्त मन्सूर अल हल्लाज एक ब्रह्म निर्वाण प्राप्त फकीर थिए । जसले सूफी मत अनलहक अर्थात् अहं ब्रह्मास्मि को प्रतिपादन गरे । मन्सूरले ईश्वरलाई प्रियतमको रुपमा प्रतिष्ठित गरे । उनीमाथि कुफ्र बोलेको आरोपमा आठ वर्ष कारागारमा राखे । तर उनी आफ्नो अहं ब्रह्मास्मि, म नै ईश्वर हूँ, भन्ने विचारमा अडिग रहे । फलस्वरुप उनलाई ईश्वर विरोधी घोषित गरेर मृत्युदण्ड दिइयो ।
युवाहरुलाई चरित्रहीन बनाउन प्रेरित गरेको तथा नास्तिकताको प्रचार गरेको आरोप उनीमाथि लगाइएको थियो ।
उनका अनेक प्रशंसक पनि थिए । कारागारमा रहँदा केही शुभेच्छुकले जेलबाट भागेर जाने सल्लाह पनि दिए ।
सोक्रेटीजले आफ्ना शिष्यहरुलाई भन्ने गर्थे– ज्ञान पवित्रतम वस्तु हो तर यसलाई ठीक तरीकाले लिनु पर्छ । राम्ररी जाँचेर आफूले बुझेर अनुभव गरेर मात्र त्यसमा विश्वास गर्नु पर्छ ।
सादा जीवनका पक्षपाती सोक्रेटीजले सत्यका पक्षमा वादविवाद गर्न हरदम तैयार थिए । एकोहोरो उपदेश दिने पक्षमा उनी थिएन । प्रश्न गर्न र शंका गर्न लगाउँथे र त्यसको उचित जवाफ दिन्थे ।
सोक्रेटीजलाई मृत्युदण्ड दिनु अघि कोर्रा हिर्काइयो । ढुङ्गा हिर्काइयो । हात खुट्टामा काँटी ठोकियो ।
यस पछि ह्यामलक विष दिइएको थियो । यसलाई सोक्रेटीजले सहर्ष स्वीकार गरे, मुखमा चिन्ताको सानो रेखा पनि देखिएन । ह्यामलक हलाहल जस्तै मृत्युकारक तेज विष मानिन्छ।
उसका शिष्य प्लेटोले आफ्ना गुरुको अन्तिम उपदेश बारेमा गरेको उल्लेख नै आज सोक्रेटीजको ज्ञानको आधार बनेको छ ।
सोक्रेटीजको अन्तिम भनाई यस्तो थियो– तपाईंहरुले मलाई भागेर जाने जुन सुझाव दिनु भएको छ, त्यसको मैले सम्मान गर्छु । मर्न कोही पनि चाहँदैन । यो सही कुरा हो । तर यो कुरा केवल उनीहरुका लागि सही हो जसले यस शरीरलाई मात्र अन्तिम ठान्दछन् । तर यस शरीरको जुन मालिक छ त्यो अजर अमर छ । उसले यस्ता शरीर बारम्बार धारण गर्छ । त्यसलाई कसैले मार्न सक्दैन । मेरो नश्वर शरीरले आफ्नो सीमा समाप्त गरेको छ । हिंड्दा हिंड्दा म थाकेको छु । म निदाए पछि मलाई राम्ररी चादरले ढाकिदिनु ।
सोक्रेटीजले विषपान गर्दा शिष्यहरु रोइरहेका थिए । तर उनी निश्चिन्त भई चिर निद्रामा सुते ।
कहिल्ये नाश नहुने यस्तो आनन्दलाई आध्यात्मिक साहित्यले आत्मारामी, आफैंमा सुखी, भनेको छ । आत्मरति र आत्मारामीमा अन्तर छ । आत्मरतिमा सुखको कल्पना मात्र हुन्छ तर आत्मारामीमा भित्र सुखको अनन्त सागर उपलब्ध हुन्छ । यो पूर्णतृप्तिको अवस्था हो । त्यसपछि मृत्यु भन्ने कुरा रहँदैन । यस शरीरमा रहेर नै मुक्त हुनजान्छ ।
लभन्ते ब्रह्मनिर्वाणमृषयः क्षीणकल्मषाः ।
छिन्नद्वैधा यतात्मानः सर्वभूतहिते रताः ।। २५।।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]ऋषयः (जुन ऋषिहरु, ब्रह्मवेत्ताका) द्वैधाः (द्वन्द्व भाव, संशय) क्षीण (नष्ट भएका छन्) कल्मषाः (पापहरु) छिन्न (छिन्न भिन्न भएका छन्) यत आत्मानः (आत्म संयमी छन्) सर्वभूत (सबै प्राणीको) हिते (हितमा) रताः (लागिपरेका छन्) ब्रह्मनिर्वाणम् (तिनीहरुले ब्रह्मनिर्वाण) लभन्ते (प्राप्त गर्छन्) ।
जुन ऋषिहरुका सबै द्वन्द्व भाव अर्थात् संशयहरु छिन्नभिन्न भएका छन्, जसका सबै पाप नष्ट भएका छन्, जो आत्मसंयमी छन् तथा जो सबै प्राणीको कल्याणमा लागिपरेका छन्, तिनीहरुले ब्रह्म निर्वाणस्वरुप मोक्ष प्राप्त गर्छन् ।। २५ ।।
व्याख्या
[सम्पादन गर्नुहोस्]वेदमा ब्रह्मलाई अशब्दम्, अस्पर्शम्, अरूपम्, अव्ययम् भनेको छ । त्यसैले, ब्रह्म शब्दातीत हुन्छ । ब्रह्मको अस्तित्व वा अनस्तित्वलाई शब्दले परिभाषित गर्न सकिंदैन । ब्रह्मका हात खुट्टा आँखा, कान, र मुख सर्वत्र छन् । यसको उत्पत्ति पनि हुँदैन, क्षय पनि हुँदैन र त्यसको विकास पनि हुँदैन । कसैले यसको व्याख्या गर्न पनि सक्दैन । शून्यको पनि शून्य हो ।
ब्रह्म दुईवटा पनि हुँदैन । ब्रह्म एउटै छ । जुन कुराको केवल एउटा अस्तित्व छ, अर्को छैन त्यसलाई के भन्ने ? जस्तै आकाश केवल एक छ, सूर्य केवल एक छ । केवल एक भएको वस्तुलाई एउटा मात्र छ भन्नु पनि निरर्थक हो । त्यही कुरा ब्रह्मका लागि हो । त्यसैले यसलाई केवल छ भनिन्छ, एउटा मात्रै छ भनिँदैन ।
शारीरक भाष्यका अनुसार ब्रह्म भनेको सर्वव्यापक आत्मा र विश्वको बीज शक्ति हो जुन यस दृश्यमान संसारको निमित्त र उपादान कारण हो । यही त्यो मूलतत्त्व हो जसबाट संसारका सबै कुरा उत्पन्न हुन्छन् र त्यहीं सबै कुरा अन्तमा विलीन हुनजान्छन् ।
आधुनिक विज्ञानले पनि के स्वीकार गर्छ भने पृथ्वीको उत्पत्ति अन्तरिक्षबाट भएको हो र अन्तमा त्यहीं बिलाउँछ । सूर्य चन्द्र आदि पनि त्यहीं बिलाउँछन् ।
यो सम्पूर्ण सृष्टि अन्तमा जहाँ बिलाउँछ त्यो ब्रह्म हो । त्यो परम शून्य हो । त्यसैले यसलाई निर्गुण र निराकार भनिन्छ । वेदको नासदीय सूक्तले त्यस अवस्थालाई सत् र असत् दुवैबाट पर, अँध्यारो र उज्यालो दुवैबाट फरक बताउँछ ।
ब्रह्मको व्याख्या उपनिषद्हरुले अत्यन्त विस्तारले गरेका छन् । ऐतरेय ३.३ अनुसार प्रज्ञानं ब्रह्म । बृहदारण्यक उपनिषद् ४.४.५ मा अयमात्मा ब्रह्म, १.४.१० मा तत्त्वमसि र छान्दोग्य ६.८.७ मा सर्वं खल्विदं ब्रह्म भनिएको छ । तैत्तिरीय उपनिषद् मा सत्यं ज्ञानं अनन्तं ब्रह्म भनिएको छ ।
ब्रह्म नै एक मात्र नित्य सत्य हो । मुक्त भएपछि जीवन पनि ब्रह्म बन्छ । अन्तिम मुक्ति र जीवन्मुक्ति दुवै आत्माका अवस्थाहरू हुन् । जीवन्मुक्तिमा जीवले मुक्तिको आनन्द प्राप्त गर्छ भने निर्वाण मुक्तिमा जीव ब्रह्मवरूप हुन जान्छ । मुक्ति भए पछि जीवले आफ्नो स्वरूप छोडी ब्रह्मस्वरूप हुनपुग्छ ।
जसरी पानीको थोपा समुद्रमा पर्नासाथ समुद्र भइदिन्छ, त्यसै गरी जुन मानिसले ब्रह्मलाई जान्दछ ऊ ब्रह्ममय भइदिन्छ । ब्रह्ममय हुनु भनेको अनन्त आनन्दको स्रोत प्राप्त गर्नु हो।
जुनदिन भगवान् बुद्धले सम्बोधि प्राप्त गरे उनले त्यस बेला समाधिको आनन्दबाट बाहिर निस्कन चाहेनन् । उनी सात दिन सात रात एउटै अवस्थामा बसिरहे । यस अवस्थाबाट बाहिर निस्कने कि न निस्कने यसबारेमा सोच्न थाले । अनि सोचे, आफ्नो लागि होइन अब संसारका लागि यस आनन्दको अवस्थाबाट बाहिर निस्कनै पर्छ ।
त्यसैले बुद्धलाई मार विजेता भनिन्छ । उनले आफू भित्रका सबै अवगुण जितेका थिए। जसले यस अवस्थालाई प्राप्त गर्छ उसले आफूभित्रको लोकमहेश्वर जान्दछ । अब ऊ यस सृष्टिमा अनन्त (इनफाइनाइट) सरह हुन्छ ।
कामक्रोधवियुक्तानां यतीनां यतचेतसाम् ।
अभितो ब्रह्म निर्वाणं वर्तते विदितात्मनाम् ।। २६ ।।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]कामक्रोध (कामक्रोधले) वियुक्तानाम् (रहित, मुक्त भएका) यतचेतसाम् (आत्मसंयमी) विदितात्मनाम् (आत्म ज्ञानले युक्त भएका) यतीनाम् (वीतरागी, यतिहरु) अभितः (चारैतिरबाट) ब्रह्म निर्वाणम् (ब्रह्मनिर्वाण, परमानन्द, परम्शान्तिले) वर्तते (परिपूर्ण हुन्छन्) ।
कामक्रोधले रहित, आत्मसंयमी, आत्मज्ञानी यतिहरु नजीकै चारैतिरबाट ब्रह्मनिर्वाण अर्थात् परम् शान्तिले परिपूर्ण हुन्छन् ।।२६।।
व्याख्या
[सम्पादन गर्नुहोस्]जसका सबै पाप नष्ट भएका छन्, जसका सबै संशयहरु छिन्नभिन्न भएका छन्, जो सबै प्राणीको कल्याणमा लागिपरेको छ, जसले आफूलाई जितेको छ, यसतो ब्रह्मवेत्ता ऋषिले ब्रह्म निर्वाण प्राप्त गर्छ ।
कामक्रोधबाट मुक्त भएका स्थिर चित्त, आत्मज्ञान प्राप्त गरिसकेको यति अर्थात् वीतरागी नजीकै चारैतिरबाट ब्रह्मनिर्वाणले परिपूर्ण हुन्छ । चारैतिर ब्रह्म निर्वाणले परिपूर्ण हुन्छ भनेको अर्थ हो जसरी माछाको चारैतिर पानीले परिपूर्ण छ, यति परमानन्दले परिपूर्ण हुन्छ। त्यो शान्ति र आनन्द कहिल्यै समाप्त हुँदैन, अनन्त सुखको सागर ।
ज्ञानले इष्ट सिद्धि हुन्छ । जसरी झिसमिसे अन्धकारमा कसैले डोरीदेख्दा मानिस सर्प भनेर झुक्किन्छ । ऊ डराउँछ । त्यसबाट डराएर भाग्न खोज्छ । यदि त्यसैबेला कसैले प्रकाश लिएर आउँछ । त्यसलाई लौ हेर यो सर्प होइन डोरी हो भन्छ भने यसबाट उसको डर हराउँछ । यहाँ यथास्थितिको ज्ञान प्राप्त हुनासाथ नै दुःखको निवृत्ति र सुखको प्राप्ति भयो। अज्ञान डोरीमा भासित सर्प हो र ज्ञान हुनासाथ भय, क्रोध सबै समाप्त भई स्वतः आनन्द प्राप्त हुन्छ ।
ब्रह्म निर्वाणको यो अवस्था नै परमानन्द र परमशान्तिको अवस्था हो ।
स्पर्शान्कृत्वा बहिर्बाह्यांश्चक्षुश्चैवान्तरे भ्रुवौः ।
प्राणापानौ समौ कृत्वा नासाभ्यन्तरचारिणौ ।। २७ ।।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]स्पर्शान् (इन्द्रियका विषय अर्थात् स्पर्श, शब्द आदिबाट) बहिः बाह्यान् (बाहिरकालाई बाहिरै, अलग) कृत्वा (गरेर) चक्षुः (आँखाहरुको) भ्रुवौः (भृकुटीमा) अन्तरे एव (बीचमा नै) नासा (नासिकामा) अभ्यन्तर चारिणौ (भित्र बाहिर विचरण गर्ने) प्राण अपानौ च (प्राण र अपान वायुलाई) समौ (सम, स्थिर) कृत्वा (गरेर) ।
इन्द्रियहरुको सुखदुखबाट अलग भएर भोगलाई बाहिरै निकालेर अर्थात् इन्द्रियहरुलाई दुखसुखका संयोगबाट अलग भएर, दुवै आँखी भौंको बीचमा दृष्टि स्थिर गरेर, नासिकामा बाहिर भित्र विचरण गर्ने प्राण र अपान वायुलाई स्थिर गरेर ... ।। २७ ।।
यतेन्द्रियमनोबुद्धिर्मुनिर्मोक्षपरायणः ।
विगतेच्छाभयक्रोधौ यः सदा मुक्त एव सः ।। २८ ।।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]यः (जसले) इन्द्रिय (इन्द्रिय) मनः (मन) बुद्धिः (बुद्धि) यत (संयममा, नियन्त्रणमा राखेको) मोक्षपरायणः (मोक्षपरायण, मोक्षको आश्रय लिने) इच्छाभयक्रोधौ (इच्छा, भय र क्रोधहरु) विगत (छुटेका छन्) सः (त्यो) मुनिः (मुनि) सदा एव (सदा सर्वदा) मुक्त (मुक्त छ) ।
जसले इन्द्रिय, मन र बुद्धिलाई नियन्त्रणमा राखेको छ, जसका इच्छा, भय, र क्रोध सबै छुटेका छन्, त्यो मोक्षपरायण मुनि सदा सर्वदा मुक्त छ ।। २८ ।।
व्याख्या
[सम्पादन गर्नुहोस्]यहाँ काम क्रोधबाट मुक्त हुने तीन विधि बताइएको छ–
एक, बाहिरका विषय भोगलाई बाहिरै गर्ने, अर्थात् सुखदुखको संयोगबाट अलग हुने अभ्यास गरेको, दुई,दुवै नेत्रलाई भृकुटीको मध्यमा स्थिर गराउने अर्थात् ध्यानमा एकाग्र हुने, तथा, तीन, प्राण र अपानवायुलाई सन्तुलनमा राख्ने । प्राण वायु भनेको भित्र तान्ने स्वास र अपान वायु भनेको बाहिर फाल्ने स्वास । यी दुवैको मध्यमा सन्तुलन राखेर जसले ध्यान गर्छ ।
जसलाई कुनै कुराको भय छैन, जसले कसैमा क्रोध गर्दैन, र जसका इच्छा समाप्त भइसकेका छन् । यसरी इन्द्रियहरु आफ्नो नियन्त्रणमा राख्दै मुक्ति बाहेक अन्य कुनै कुरा नचाहने मुनि सधैंभरिलाई मुक्त छ । यहाँ मुनिको अर्थ हो परमेश्वरको मात्र मनन गर्ने ।
भोक्तारं यज्ञतपसां सर्वलोकमहेश्वरम् ।
सुहृदं सर्वभूतानां ज्ञात्वा मां शान्तिमृच्छति ।। २९ ।।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]मा (मलाई) यज्ञतपसाम् (सबै यज्ञ र तपहरुको) भोक्तारम् (भोग गर्ने) सर्वलोकमहेश्वरम् (सबै लोकको मालिक) सर्वभूतानाम् (सबै प्राणीहरुको) सुहृदम् (सुहृद्, परम उपकारी) ज्ञात्वा (जानेर, बुझेर) शान्तिम् (शान्ति) ऋच्छति (प्राप्त गर्छ) ।
जसले मलाई सबै यज्ञ र तपस्याहरुको भोग गर्ने सबै लोकको मालिक, सबै भूत प्राणीहरुको सुहृद् छ भन्ने राम्ररी बुझ्छ त्यस मानिसले नै शान्ति प्राप्त गर्छ ।।२९।।
व्याख्या
[सम्पादन गर्नुहोस्]भगवान् कृष्णले भनेको म व्याकरणको सामान्य सर्वनाम शब्द होइन । यहाँ भनिएको म ब्रह्मको प्रतीक हो । जसमा सबै कुरा समावेश छ । त्यसमा तिमी, तपाईं, हामी, जगत्, अन्तरिक्ष सबै छ ।
त्यसैले त्यो म सबै यज्ञको भोक्ता हो । सबै लोकको महानतम् मालिक हो र सबै प्राणीहरुको स्वार्थरहित दयालु प्रेमी, मित्र पनि हो । जसले मलाई यस प्रकार बुझ्छ उसले नै शान्ति प्राप्त गर्छ ।
ॐ तत्सदिति श्रीमद्भगवद्गीतासूपनिषत्सु ब्रह्मविद्यायां योगशास्त्रे श्रीकृष्णार्जुनसंवादे कर्मसन्न्यासयोगो नाम पञ्चमोऽध्यायः ।। श्रीमद्भगवद्गीतारुपी उपनिषद् यस ब्रह्मविद्या र योगशास्त्रमा श्रीकृष्ण र अर्जुनका संवादको कर्मसन्न्यासयोग नाम गरेको अध्याय पाँच समाप्त भयो ।।ॐ तत्सत् ।।
सन्दर्भ
[सम्पादन गर्नुहोस्]अधिकारी, कोमलनाथ, (वि.सं.२०१८), पञ्चरत्नगीता, कोमलगीता, नेपाली पद्यानुवाद र व्याख्या वाराणसी ः यशोदा प्रेस ।
अपूर्वानन्द, (सन् २००२), श्रीमद्भगवद्गीता पदच्छेद, अर्थ, व्याख्या, कलकत्ता ः रामकृष्ण मठ ।
अपूर्वानन्द, (वि.सं.२०७१), अनुवादक बाबु राम ज्ञवाली, शंकराचार्यको जीवनी, विद्यार्थी पुस्तक भण्डार।
आचार्य, श्रीराम शर्मा, (सन् २०१०), गायत्री महाविज्ञान (तीन खण्ड), मथुरा ः युग निर्माण योजना ।
आदि शंकराचार्य, (वि.सं.२०६७), श्रीमद्भगवद्गीता शांकरभाष्य, गोरखपुर ः गीताप्रेस ।
आप्टे, वामन शिवराम, (मिति उल्लेख नभएको) संस्कृत–हिन्दी शब्दकोश, सम्पादक उमा प्रसाद पाण्डेय, नई दिल्ली ः कमल प्रकाशन ।
ईश्वरानन्द, (वि.सं. २०५१) गीता तात्पर्य, संस्कृत, अन्वय, अर्थ र व्याख्या, स्वयम्भू ः गीता अध्ययन मण्डल ।
ऋग्वेद संहिता भाग १ र २, (वि.सं.२०६७), सम्पादक प्रसन्नचन्द्र गौतम, काठमाडौं ः कुलचन्द्र गौतम स्मृति संस्था ।
ऋग्वेद संहिता भाग १ र २, (वि.सं.२०६७), सम्पादक प्रसन्नचन्द्र गौतम, काठमाडौं ः कुलचन्द्र गौतम स्मृति संस्था ।
ओशो, (सन् १९८०), गीता दर्शन खण्ड २, पूना ःरेबेल बुक्स ।
खप्तड बाबा (सच्चिदानन्द सरस्वती), (वि.सं.२०६०), विचार विज्ञान, काठमाडौं ः खप्तड आश्रम समिति ।
खप्तड बाबा (सच्चिदानन्द सरस्वती), (वि.सं.२०५६), आत्मबोध, काठमाडौं ः खप्तड आश्रम समिति ।
खप्तड स्वामी, (वि.सं.२०५१), धर्म विज्ञान सार संक्षेप, सम्पादक चूडानाथ भट्टराय, काठमाडौं ः बबी शाह ।
गीताप्रेस, (वि.सं.२०६५), महाभारत पाँच खण्ड, गोरखपुर ः गीताप्रेस ।
गीताप्रेस, (वि.सं.२०६४), ईशादि नौ उपनिषद्, गोरखपुरः गीताप्रेस ।
गोयन्दका, जयदयाल, (वि.सं. २०७०),गीता तत्त्व विवेचनी, गोरखपुर ः गीताप्रेस ।
ज्ञवाली, बाबु राम, (वि.सं.२०७०), ऋग्वेदबारे केही वैज्ञानिक तथ्यहरु, मिर्मिरे (सांस्कृतिक विशेषांक), वर्ष ४२, अंक १, पूर्णांक ३२०, बैशाख जेठ २०७०, काठमाडौं ः नेपाल राष्ट्र बैंक ।
जलोटा, अनूप, (वि.सं.२०७०), श्रीमद्भगवद्गीता (सी डी) ।
पन्थी, टीकाराम, (वि.सं.२०६५),सांस्कृतिक संवीक्षण, रूपन्देही ः विश्व हिन्दु महासंघ ।
ब्रह्मानन्द, (सन् २०००), श्रीरामकृष्ण उपदेश, नागपुर ः रामकृष्ण मठ ।
बेनेट, जे जे र ठाकुरलाल मानन्धर,(वि.सं.२०६७), अनन्तको यात्रा, काठमाडौं ः योगेन्द्रभक्त श्रेष्ठ ।
रामसुखदास, (वि.सं.२०६७), श्रीमद्भगवद्गीता साधक संजीवनी, गोरखपुर ः गीताप्रेस ।
शर्मा, डी एस, (वि.सं.२०५५), हिन्दु धर्मको क ख ग अनुवादक कुलशेखर शर्मा, गीता समुदय प्रकाशन ।