सामग्रीमा जानुहोस्

श्रीमद्भगवद्गीता एकादश अध्याय

नेपाली विकिपुस्तकबाट, स्वतन्त्र पुस्तकालय

विश्वरुपदर्शन योग

[सम्पादन गर्नुहोस्]
चित्र ११.१ विश्वरुपदर्शन

अर्जुन उवाच

[सम्पादन गर्नुहोस्]


मदनुग्रहाय परमं गुह्यमध्यामसञ्ज्ञितम् ।
यत्त्वयोक्तं वचस्तेन मोहोयं विगतो मम।।१।।

पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]

अर्जुन उवाच (अर्जुनले भने)
मत् (ममाथि) अनुग्रहाय (अनुग्रह गरेर) परमम् गुह्यम् (परम गुह्य, अति गोपनीय) अध्यात्म सञ्ज्ञितम् (अध्यात्म विषयक जानकारी) यत् (जुन) त्वया (तपाईंले) उक्तम् (भन्नु भयो) तेन (त्यस) वचः (वचनबाट) मम (मेरो) अयम् (यो) मोहः (मोह) विगतः (गयो, नष्ट भयो) ।
अर्जुनले भने–
ममाथि अनुग्रह गरेर हजुरले अध्यात्म विषयक जुन परम गुह्य जानकारी दिनु भयो, त्यसबाट मेरो यो मोह नष्ट भयो ।।१।।

अनुग्रह भनेको के हो ? जुन कुरा सित्तैमा प्राप्त हुन्छ, त्यो अनुग्रह हो । श्रम गर्नेले जुन प्रतिफल प्राप्त गर्छ, त्यसलाई ज्याला वा पारिश्रमिक भनिन्छ । ज्याला प्रतिफल हो, त्यसैले त्यो योगदानका आधारमा प्राप्त हुन्छ । बढी श्रम गर्नेले धेरै ज्याला प्राप्त गर्छ । धेरै उत्पादन गर्नेलाई बढी ज्याला दिइन्छ । कम श्रम गर्नेलाई कम ज्याला दिइन्छ । थोरै उत्पादन गर्नेलाई कम ज्याला प्रतिफल प्राप्त हुन्छ । ज्याला वा पुरस्कार भन्ने कुरा पुरुषार्थको प्रतिफल हो । तर अनुग्रहमा भने त्यस्तो कुनै नियम लागू हुँदैन । यो सित्तैमा प्राप्त हुन्छ । पूरै प्राप्त हुन्छ। कसले कति काम गरेको छ, त्यो तुलना गरिंदैन । तर ईश्वरीय अनुग्रह केवल उसलाई प्राप्त हुन्छ जसले त्यस बापत पर्याप्त पुरुषार्थ गरिसकेको हुन्छ । अर्जुनले ज्ञानको जुन साक्षात्कार गरे, त्यो अर्जुनका कृत्यको प्रतिफल होइन, अर्जुनमाथि अनुग्रह हो ।
मानिसको प्रयासले सत्य साक्षात्कार हुने होइन । मानिसको प्रयास पछि जब सत्यका लागि योग्यता पूरा हुन्छ अनि मात्र ईश्वर दर्शन हुन्छ । तर सत्यको दर्शन जसलाई हुन्छ उसले सधैं के अनुभव गरेको छ भने यो परमात्माको अनुग्रह हो । कृपा प्रसाद हो । तर अर्कोतर्फ के कुरा पनि सत्य हो भने जसले बिना श्रम परमात्मा पाइन्छ भनेर बस्छ, उसले कहिल्यै त्यो सत्य प्राप्त गर्न सक्दैन । त्यसैले बौद्ध भिक्षु र जैन साधकहरुलाई श्रमण भनिन्छ ।
भगवान् श्रीकृष्णले अध्याय दुईको ११ औं श्लोकको अशोच्यानन्वशोचस्त्वंबाट अहिलेसम्म जुन उपदेश दिनु भएको छ त्यसैलाई अध्यात्म सञ्ज्ञितम् (अध्यात्म विषयक ज्ञान) भनिएको हो तथा गुह्यको अर्थ हुन्छ आफ्ना निकटतमलाई बताउने कुरा । भगवान् कृष्णले अर्जुनलाई प्रिय मानेकोले यो बताइहनु भएको छ ।


भवाप्ययौ हि भूतानां श्रुतौ विस्तरशो मया ।
त्वत्तः कमलपत्राक्ष माहात्म्यमपि चाव्ययम् ।।२।।

पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]

हि (किनभने) कमलपत्राक्ष (कमलनयन) भूतानाम् (प्राणीहरुको) भव अप्ययौ (उत्पत्ति र प्रलयबारे) मया (मैले) विस्तरशः (सविस्तार) श्रुतौ (सुनें) त्वत्तः (तपाईंको) च (तथा) अव्ययम् (अविनाशी) माहात्म्यम् (महात्म्य) अपि (समेत) सुनें ।
किनभने हे कमलनयन, मैले हजुरबाट प्राणीहरुको उत्पत्ति र प्रलय तथा हजुरको अविनाशी महिमा समेत सविस्तार सुनें ।


एवमेतद्यथात्थ त्वमात्मानं परमेश्वर ।
द्रष्टुमिच्छामि ते रुपमैश्वरं पुरुषोत्तम ।।३।।

पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]

परमेश्वर (हे परमेश्वर) एवम् (यसै प्रकार छ) एतत् (यो) यथा (जस्तो) आत्थ (भन्नु भएको छ) त्वम् (तपाईं) आत्मानम् (आफ्नो रुप) पुरुषोत्तम (हे पुरुषोत्तम) ते रुपम (तपाईंको रुप) ऐश्वरम् (ईश्वरीय) द्रष्टुम् इच्छामि (हेर्ने इच्छा छ) ।
हे परमेश्वर, तपाईंले आफ्ना (विभूतिका) बारेमा जे जे भन्नु भएको छ, त्यो जस्ताको तस्तै छ । हे पुरुषोत्तम, तपाईंको त्यस ईश्वरीय रुपको प्रत्यक्ष दर्शन गर्ने इच्छा छ ।। ३ ।।


मन्यसे यदि तच्छक्यं मया द्रष्टुमिति प्रभो ।
योगेश्वर ततो मे त्वं दर्शयात्मानमव्ययम् ।।४।।

पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]

प्रभो (हे प्रभो) योगेश्वर (योगेश्वर) तत् (त्यो–रुप) मया (मैले) द्रष्टुम् (हेर्न) इति (यस्तो) शक्यम् (सक्छु) मन्यसे ( भन्ने ठान्नु हुन्छ) यदि (भने) ततः (त्यसो भए) मे (मलाई) त्वम् (तपाईंले) आत्मानम् (आफ्नो) अव्ययम् (अविनाशीरुप, विश्वरुप) दर्शय (देखाउनु होस्)।
हे योगश्वर प्रभो, यदि तपाईंले त्यो रुप मैले हेर्न सक्छु भन्ने ठान्नु हुन्छ भने आफ्नो त्यो अव्यय रुप अर्थात् विश्वरुप देखाउनुहोस् ।। ४ ।।

जसरी कुनै योग्य स्वर्णकारले तौलेर दिएको सुन उसले जति भन्छ, त्यत्ति हुन्छ, त्यसभन्दा एक रत्ती कम पनि हुँदैन र एक रत्ती बढी पनि हुँदैन, त्यस्तै विभूतियोगमा भगवान्ले आफ्नो बारेमा जे भन्नु भएको छ, त्यो जस्ताको तस्तै तथ्यपूर्ण र सही छन् । अर्जुनले श्रद्धा व्यक्त गर्दै भनेका छन्– ‘हे प्रभो...।’
प्रभोको अर्थ हो सम्पूर्ण प्राणीका स्वामी र ऐश्वर्यको अर्थ हुन्छ– ज्ञान, बल, शक्ति, वीर्य, तेज, र वैभव यी छ प्रकारका सम्पत्ति । यी सबै शक्तिको स्रोत ईश्वर हुन् । अर्जुनका यी भनाइले के स्पष्ट हुन्छ भने अर्जुनको समर्पण पूरा भएको छ । अर्जुनको अज्ञान नष्ट भइसकेको छ तर ज्ञान प्राप्त भइसकेको छैन । रोगीको रोग समाप्त भइसक्यो तर तङ्ग्रिएको छैन ।
अर्जुनले भन्छन्– ‘तपाईंका वचनले मेरो मोह गयो ।’ अर्जुनका यी भनाईले उनीमा विनम्रता निर्माण भएको छ भन्ने स्पष्ट हुन्छ ।
शिष्यत्वका लागि पहिलो शर्त हो पात्रता सिर्जना गर्नु, विनम्रता । योग्यताको लक्षण हो अयोग्यताको बोध । अयोग्यताको लक्षण हो योग्य छु भन्ने दम्भ । आफ्नो योग्यताको परीक्षण आफूभन्दा योग्यलाई गर्न दिनु नै सर्वोत्तम स्वमूल्याङ्कन हो । कुनै पनि रोगीले आफ्नो रोगको निदान आफैं गर्न सक्दैन । ऊ चिकित्सककहाँ जानु पर्छ । अर्जुनका विनम्रता र शिष्यत्वको उदाहरण हो यो वचन– ‘हे योगेश्वर, यदि मलाई योग्य ठान्नु हुन्छ र मभित्र पात्रता निर्माण भएको अनुभव
गर्नुहुन्छ भने मलाई त्यो स्वरुप देखाउनुहोस् ।’
यहाँ गुरुसँग प्रश्न सोध्ने उत्कृष्ट सीप पनि सिकाइएको छ । सन्तहरुले भन्ने गरेका छन्– गुरुको ज्ञानको गहिराई पत्ता लगाउनु, पृथ्वीको केन्द्र पत्ता लगाउनु जस्तै गाह्रो विषय हो । त्यसैले मुख्य कुरा हो गुरु प्रति श्रद्धा ।
टाढाको परमात्मालाई मान्न जति सजिलो छ, नजिकको परमात्मा मान्न त्यत्ति नै कठिन छ। अझ पतिमा, पत्नीमा, दाजुभाईमा, साथीमा, र पुत्रमा भएको परमेश्वरलाई सम्मान दिंदा अहङ्कारले रोक्छ । तर अर्जुनले नजिकका भए पनि श्रीकृष्णलाई सम्मान गरेका छन् । यो अर्को महत्त्वपूर्ण घटना हो । अर्जुनको यस गुणले गर्दा अर्जुन पनि कृष्णका साथ पूजनीय बनेका छन्– नारायणं नमस्कृत्य नरं चैव नरोत्तमम्...।

श्रीभगवानुवाच
[सम्पादन गर्नुहोस्]

पश्य मे पार्थ रुपाणि शतशोऽथ सहस्रशः ।
नानाविधानि दिव्यानि नानावर्णाकृतीनि च ।। ५ ।।

पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]

श्रीभगवान् उवाच (भगवान् श्रीकृष्णले भन्नु भयो)
पार्थ (हे पार्थ) मे (मेरा) शतशः सहस्रशः (सयौं हजारौं) अथ (अनि) नाना विधिानि (अनेक प्रकारका) रुपाणि (रुपहरु) च (तथा) दिव्यानि (दिव्य) नाना वर्ण (अनेक रंगका) र आकृतीनि (आकारका) पश्य (हेर) ।
भगवान् श्रीकृष्णले भन्नु भयो–
हे पार्थ, अब मेरा अनेक प्रकारका, अनेक रंगका र आकारका सयौं–हजारौं (अर्थात् लाखौं) दिव्य रुप तिमीले हेर ।।५।।

यस अध्यायमा अर्जुनलाई परमसत्यको अनुभव हुनै लागेको छ त्यसैले अर्जुनलाई गुडाकेश भनेर सावधान गराईंदै छ ।
गुडाका अर्थात् आलस्य तथा ईश अर्थात् विजयी । आलस्यले अज्ञानलाई बल प्रदान गर्छ ।
बुद्धले आफ्ना उपदेशमा भनेका छन्– अल्छीलाई मारले प्रहार गर्छ । ज्ञान चाहने व्यक्ति गुडाकेश हुनु पर्छ । असंयत जीवनको परिणाम हो आलस्य र यसले जीवन ऊर्जालाई गलत दिशातिर प्रवाहित गर्छ । त्यसैले यहाँ गुडाकेशको अर्थ हुन्छ– आलस्यरुपी अज्ञानलाई विजय गरेर ज्ञान लिन तत्पर अर्जुन ।


पश्यादित्यान्वसून् रुद्रानश्विनौ मरुतस्तथा ।
बहून्यदृष्टपूर्वाणि पश्याश्चर्याणि भारत ।।६।।

पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]

भारत (हे भारत) पश्य (हेर) आदित्यान् (आदित्यहरु) वसून् (वसुहरु) रुद्रान् (रुद्रहरु) अश्विनौ (दुई अश्विनीकुमार) मरुतः (मरुत्गण) तथा बहूनि (तथा अनेक) अदृष्टपूर्वाणि (आजसम्म नदेखेका) आश्चर्याणि (आश्चर्यका कुरा) पश्य (हेर) ।
हे भारत, सबै (१२) सूर्य, सबै (८) वसु, सबै (११) रुद्र, दुई अश्विनीकुमारहरु तथा सबै (४९) मरुत् हेर । (यति मात्र होइन) ती अनौठा कुरा पनि हेर जुन तिमीले आजसम्म देखेका छैनौ ।। ६ ।।

हुन त ईश्वर कण कणमा छन् तथापि अध्याय १० मा भनिएका विभूतिसँग जोड्दै भनिएको छ– हे भारत, सबै आदित्य, सबै वसु, सबै रुद्र, दुई अश्विनीकुमारहरु, तथा सबै मरुतलाई हेर ।
शास्त्रहरुमा आदित्यहरुको कुल संख्या १२, रुद्रहरुको ११,वसुहरुको ८ र अरुद्गणको संख्या ४९ बताइएको छ। अश्विनीकुमार दुई जना छन् । यिनीहरुलाई स्वास्थ्यको देवता मानिएको छ । यिनले ऋषि च्यवनलाई गरेको औषधि आयुर्वेदमा निकै प्रसिद्ध मानिन्छ । सूर्य पत्नी अश्विनीबाट उत्पन्न भएकोले यिनको यो नाम प्रसिद्ध भएको हो ।
महाभारत अनुशासन पर्व (१५०.१२–१८) मा मरुत बाहेकका अन्य सबैलाई तेंत्तिसकोटि देवता भनिएको छ । बृहदारण्यक उपनिषद् ३, शतपथ ब्राह्मण ३.९.९ र साङ्ख्यायन श्रौत सूत्रमा भने दुई अश्विनी कुमारको सट्टा प्रजापति र इन्द्रलाई उल्लेख गरिएको छ ।

तालिका ११.१ तेंत्तिसकोटि देवता
आदित्य वसु अश्विनी कुमार रुद्र
(१२) (८) (२) (११)
अंश,अर्यमा,इन्द्र,जयन्त,

वरुण,त्वष्टा,धाता,पूषा,
भग,भास्कर,मित्र,विष्णु

अनल,अनिल,धर,ध्रुव,

प्रत्यूष,प्रभास,सावित्र,सोम

दस्र,नासत्य अजैकपाद,अपराजित,अहिर्बुध्न्य,

ईश,ऋत्, त्रयम्बक, पिनाकी, महेश्वर,
वृषाकपि,शम्भु, हवन


यस दिव्यरुपका अनेकौं आँखा छन् । त्यसले कुनै एउटा आँखा खोल्दा १२ आदित्य उदाउँछन्। आँखा बन्द गर्दा सबै सूर्य अस्ताउँछन् । कुनै एउटा मुखले साँस फेर्दा आठ प्रकारका वसुहरु निस्कन्छन् । कुनै एउटा आँखी भौंमा ११ रुद्र देखिन्छन् । नाकमा दुवै अश्विनीकुमार छन्, कानमा सबै ४९ मरुत् गण गतिमान छन् । यस्तो एक होइन अनेक शरीर छन् । ती सबै अनेकौं ब्रह्माण्डमा गतिशील छन् ।
दिव्य भएकोले यहाँ व्याख्या गरिएका शब्द, रुप, रंग आदिलाई नजिकको कुनै अर्को उदाहरण छैन । द्रौपदीको चीरहरणमा असीमित वस्त्र जम्मा हुनु, गजेन्द्र आर्त हुनासाथ चक्र लिएर उपस्थित हुनु, गोवर्धन पर्वतलाई औंलाले उचाल्नु जस्ता घटनाहरुलाई मात्र नजिकका उदाहरण भन्न सकिन्छ।
इहैकस्थं जगत्कृत्स्नं पश्याद्य सचराचरम् ।
मम देहे गुडाकेश यच्चान्यद्द्रष्टुमिच्छसि ।। ७ ।।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]

गुडाकेश (हे निद्राविजयी अर्जुन) इह (यस) एकस्थम् (एकै ठाउँमा) जगत् (जगत्) अद्य (अब) कृत्स्नम् (सम्पूर्ण) सचर अचरम् (चल, अचलसहित सबै) यत् (जुन) च अन्यत् (जे जे अन्य कुरा) द्रष्टुम् (हेर्न) इच्छसि (इच्छा गर्छौ) मम देहे (मेरो देहमा) पश्य (हेर) ।
हे गुडाकेश, यहीं यसै ठाउँमा मेरो यस विराट देहमा स्थित सम्पूर्ण चल र अचल सहित सबै जगत् हेर । त्यो मात्र होइन तिमीलाई अरु जेजति हेर्ने इच्छा छ, त्यो सबका सब मेरो शरीरमा देख्न सक्छौ ।। ७ ।।

आधुनिक कम्प्युटर प्रविधिमा केवल तीन रंग (रातो, हरियो, नीलो) आधारभूत रंग मानिन्छ तर प्रकृतिमा भएका सबै रङ्गको संख्या अनन्त छ । मानिसका सामान्य आँखाले समेत लाखौं रङ्ग देख्न सक्छ तर मस्तिष्कले ती सबै स्मरण गर्न सक्दैन । दस हजार प्रकारका रङ्गहरुको व्यावसायिक उत्पादन भइरहेको कुरा विश्वास गरिन्छ। कैयौं रङ्ग यस्ता पनि हुन्छन् जुन आँखाले पत्ता लगाउन सकिंदैन । कैयौं रङ्ग छुट्ट्याउन सकिंदैन । इन्द्रेणीमा सात रङ्ग हुन्छन् र पनि ती सबैलाई छुट्ट्याउन सजिलो छैन । रातिमा तर्कारीमा परेको बेसारको रंग देखिन्न।
इम्फाल, मणिपुरको नगर न्यायाधीशल वि.सं. १९०९ देखि वि.सं. १९२८ को १९ वर्षसम्म टाउकाले टेकेर मुद्दाको छिनोफानो गरे बिनभने उनीलाई सबै कुरा उल्टो देखिने रोग लागेको थियो ।
आँखाले देख्न नसक्ने कुरा एक्स–रेद्वारा देख्न सकिन्छ । किर्लियन फोटोग्राफीले प्राणीका तेजको फोटो खिच्न सक्छ । बायो इलेक्ट्रोग्राफीले मानिसका शरीरको स्वस्थ ऊर्जा र अस्वस्थ ऊर्जा देख्न सक्छ ।
यस स्वरुपको व्याख्या गर्दै राधाकृष्णनले लेखेका छन्– ‘उपनिषद्को भनाई के छ भने जसले सुनेर पनि सुन्दैनन्, जसले जानेर पनि जान्दैनन्, र देखेर पनि देख्दैनन् । उनीहरुले केवल ज्ञानका आँखाले देख्छन् ।’
कुरानमा भनिएको छ– ‘प्रभु, उसका आँखा खोलिदिनु होस्, जसले गर्दा उसले देख्न सकोस् ।’ मार्क ९.२.८ मा सेन्ट हिल्डेगार्डले पनि एउटा सुन्दर पुरुषको दिव्य दर्शनको उल्लेख छ । त्यहाँ पनि दिव्य प्रकाशको विवरण दिइएको छ ।


न तु मां शक्यसे द्रष्टुमनेनैव स्वचक्षुषा ।
दिव्यं ददामि ते चक्षु पश्य मे योगमैश्वरम् ।।८।।

पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]

मे (मेरो) योगम् ऐश्वरम् (योगको ऐश्वर्य) पश्य (हेर) तु (तर) माम् (मलाई) द्रष्टुम् (देख्न) न शक्यसे (सक्दैनौ) अनेन एव (यिनै) स्वचक्षुषा (आफ्ना आँखाले) ते (तिमीलाई) दिव्यम् चक्षु (दिव्य आँखा) ददामि (दिन्छु) ।
तर, तिमीले आफ्ना यी आँखाले मलाई देख्न सक्दैनौ । त्यसैले तिमीलाई मैले दिव्य दृष्टि दिन्छु । त्यसको सहायताले मेरो योगको ऐश्वर्य (विश्वरुप) हेर ।। ८ ।।

सम्भवतः यति भन्दा पनि अर्जुनलाई केही देखिएन किनभने सामान्य दृष्टिका सीमा हुन्छन्। संसारमा काम लाग्ने बौद्धिक दृष्टिले परमसत्यको अनुभव प्राप्त गर्न सकिंदैन । त्यसका लागि जुन विशेष दृष्टि चाहिन्छ, त्यो भगवान् कृष्णले प्रदान गर्दै भन्नु हुन्छ– ‘त्यस विशेष रुपलाई हेर्न मैले तिमीलाई दिव्य दृष्टि दिन्छु ।’
ईश्वरका वास्तविक स्वरुपको दर्शन सामान्य दृष्टिले सम्भव छैन, दिव्य दृष्टि चाहिन्छ । ईश्वरले रुप देखाउँदैमा दर्शन हुँदैन, त्यसका लागि त्यो देख्न सक्ने दृष्टि, दिव्य दृष्टि चाहिन्छ। यो कुनै यन्त्र, चश्मा वा इलेक्ट्रोनिक सूक्ष्मदर्शक यन्त्र होइन । यो दृष्टि विशेष हो, आध्यात्मिक हो ।
अर्को कुरा सत्य पत्ता लगाउने आँखाले हो, कानले होइन । त्यसैले दिव्यदृष्टि भन्नु परेको हो।
बीरबललाई अकबरले सोधे– ‘बीरबल सही र गलतमा कति फरक हुन्छ ? ’
बीरबल– ‘केवल चार औंला । ’
अकबर– ‘किन ?’
बीरबल– ‘आँखाले देखिएको सत्य, कानले सुनेको असत्य । ’
दिव्य दृष्टिको साधकका लागि विशेष अर्थ छ, त्यो के भने प्रकृति र पुरुषको एक सीमा छ, जुन बेलासम्म प्रकृतिका परमाणुहरुको दबाव बढी छ, त्यस बेलासम्म मायाले नै प्रेरणा गर्दछ । जब साधक त्योभन्दा माथि पुग्छ, ईश्वर, इष्ट वा सद्गुरुको कार्यक्षेत्रमा प्रवेश गर्दछ अनि उसको हृदयमा बसेको परमात्माले सारथी भई सञ्चालन गर्न थाल्नु हुन्छ ।
यसबाट के कुरा स्पष्ट हुन्छ भने जबसम्म साधकले दिव्य दृष्टि प्राप्त गर्दैन त्यसबेलासम्म उसले आफू भित्र बसेको ईश्वरका स्वरूपको दर्शन गर्न सक्दैन । तर यो दिव्यदृष्टि पनि बिना प्रभु कृपा प्राप्त हँुदैन । प्रभु कृपाले दिव्यदृष्टि प्राप्त हुनासाथ ईश्वरका स्वरूपको दर्शन हुन जान्छ।
योगमैश्वरम्को अर्थ ज्ञानयोग, कर्मयोग वा अष्टाङ्ग–योग होइन, योगमायाको चामत्कारिक शक्ति हो अर्थात् यस्तो शक्ति जसले असम्भवलाई सम्भव गर्नसक्छ ।
श्रीकृष्णको योगेश्वर शक्ति, राधा, र रासलीलामा विशेष सम्बन्ध हुन्छ । राधा एक अनौठो शब्द हो । राधा र आराधना दुवै संस्कृतको राध् शब्दले बनेका छन् । राधाको विपरीत धारा हुन्छ । जीवन धारालाई यौगिक क्रियाद्वारा जगत्को विपरीत दिशा, अर्थात् आफूभित्र, गतिमान बनाउनु नै राधा नाम गरेको शक्ति प्राप्त हुनु हो । यसबाट प्राप्त अनन्त आनन्द नै रासलीला हो ।
भगवान् साधकमा दृष्टि बने पछि दिव्य दृष्टि प्राप्त हुन्छ अनि ईश्वर दर्शन हुन्छ । सबैका भित्र भगवान् श्रीकृष्ण– साक्षात् परमेश्वरको निवास छ । सङ्क्षेपमा योगीका हृदयमा ईश्वरले दिएको दिव्य अनुभूति नै विश्वरुप दर्शन हो ।
अघटनघटना चातुर्य वा योगमायाको शक्ति भनेको त्यो हो जसमा असम्भव कुरालाई उहाँले सम्भव बनाएर देखाइदिनु हुन्छ । जुन कुरालाई सामान्यतः हामीले असम्भव ठान्छौं परमसत्तालाई त्यो सबै सम्भव छ ।
एउटा उदाहरणद्वारा पुष्टि गर्न सकिन्छ । गरीबले जीवनभर लगाएर एउटा घर बनाउन सक्दैन । धनीले केही महिनामा महल ठड्याउन सक्छ । निकै धन र शक्ति सम्पन्न छ भने अझै छिटो महल तयार गर्न सक्छ । यो सबै शक्ति र सामथ्र्यमा भरपर्छ । सम्पूर्ण योग शक्तिको मालिक भएकाले ईश्वरले एक छिनमा तिललाई पहाड बनाउन सक्नु हुन्छ ।

एवमुक्त्वा ततो राजन्महायोगेश्वरो हरिः ।
दर्शयामास पार्थाय परमं रुपमैश्वरम् ।।९।।

पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]

सञ्जय उवाच (सञ्जयले भने)
एवम् (यसरी) उक्त्वा (भनेर) ततः (त्यसपछि) राजन् (हे राजा धृतराष्ट्र) महायोगेश्वरः (महायोगेश्वर) हरिः (हरिले) पार्थाय (अर्जुनलाई) परमम् (सर्वोच्च) ऐश्वरम् (ईश्वरीय) रुपम् (स्वरुप) दर्शयामास (देखाउनु भयो) ।
सञ्जयले भने–
हे राजा धृतराष्ट्र, यति भनेपछि महायोगेश्वर हरिले अर्जुनलाई आफ्नो सर्वोच्च ईश्वरीय स्वरुप देखाउनु भयो ।।९।।

आचार्य शंकरले भनेका छन्, महायोगेश्वर हरिले आफ्नो परम ईश्वरीय स्वरुप देखाउनु भयो यो भनाई यस श्लोकको वाच्यार्थ हो र यस वाक्यको लक्षणार्थ हो अर्जुनले हेरे तर यसको व्यञ्जनार्थ हो– ईश्वरले दिएको क्षमताका आधारमा अर्जुनले हेर्न सके । यसरी श्लोक नौमा अभिधा, लक्षणा र व्यञ्जना सँगै प्रयोग भएको छ ।
सञ्जयको स्वामीभक्ति श्रीकृष्ण प्रति थिएन, धृतराष्ट्र प्रति थियो । उनले धृतराष्ट्रलाई सम्मानपूर्वक भनेको महाराज सम्बोधनबाट नै यो कुरा स्पष्ट हुन्छ । तथापि श्रीकृष्णलाई उनले महायोगेश्वर– असामान्य शक्तिहरुका मालिक– भन्न बिर्सेका छैनन् । उनको रुपलाई परम ईश्वरीय रुप भनी प्रशंसा गरेका छन् । यी यस्ता कुरा हुन् जसले पाठकलाई विश्वरुपको असामान्यतामाथि श्रद्धा र विश्वास गर्ने आधार प्रदान गर्छन् ।


अनेकवक्त्रनयनमनेकाद्भुतदर्शनम् ।
अनेक दिव्याभरणं दिव्यानेकोद्यतायुधम् ।।१०।।

पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]

अनेक वक्त्र (अनेक मुख) नयनम् (आँखा) अनेक (अनेक) अद्भुतदर्शनम् (अद्भुत दृश्य) अनेक (अनेक) दिव्य आभरणम् (दिव्य आभूषण भएका) अनेक (अनेक) दिव्य (दिव्य) आयुधम् (आयुधले) उद्यत (उद्यत, सजिएका) ।
त्यस विश्वरुपका अनन्त मुख, अनन्त आँखा भएका अद्भुत दृश्य, अनन्त आभूषण, हान्न उज्याइएका अनेक दिव्य आयुधले सजिएका थिए ।। १० ।।


दिव्यमाल्याम्बरधरं दिव्यगन्धानुलेपनम् ।
सर्वाश्चर्यमयं देवमनन्तं विश्वतोमुखम् ।।११।।

पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]

विश्वतोमुखम् (जताततै मुहारै मुहार भएका) देवम् (परमदेव) दिव्यमाल्य (दिव्य माला) सर्व आश्चर्यमयम् (सबै प्रकारका आश्चर्यजनक कुराहरुले भरिएका) अनन्तम् (अनन्त, असीम) दिव्यगन्ध (अलौकिक गन्धले) अनुलेपनम् (सुवासित) अम्बर धरम् (अलौकिक वस्त्रले सजिएका) थिए ।
सर्वतोमुख भएका परमदेव अनन्त, दिव्य माला लगाएका, सबै प्रकारका आश्चर्यजनक कुराहरुले भरिएका, अलौकिक गन्धले सुवासित तथा अलौकिक वस्त्रहरुले सजिएका थिए ।११ ।।


दिवि सूर्य सहस्रस्य भवेद्युगपदुत्थिता ।
यदि भाः सादृशी सा स्याद्भासस्तस्य महात्मनः ।।१२।।

पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]

यदि (यदि) तस्य महात्मनः (त्यस महात्माको) भाः (तेज, प्रकाश) दिवि (आकाशमा) सूर्य सहस्रस्य (हजारौं सूर्य) भवेद् युगपद् (एकसाथ हुँदा) उत्थिता (उदाएका) भासः (तेजको, प्रकाशको) सा (त्यो तेज) सादृशी स्याद् (सायदै बराबरी गर्न सक्ला) ।
यदि आकाशमा हजारौं सूर्य एक साथ उदाए भने पनि त्यस महात्माका तेज (प्रकाश) को बराबरी गर्न सायदै सक्ला ।।१२।।


तत्रैकस्थं जगत्कृत्स्नं प्रविभक्तमनेकधा ।
अपश्यद्देवदेवस्य शरीरे पाण्डवस्तदा ।।१३।।

पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]

तदा (त्यसबेला) पाण्डवः (पाण्डुपुत्र अर्जुनले) अनेकधा (अनेक विधामा, भिन्न भिन्न किसिमले) प्रविभक्तम् (बाँडिएको) तत्र (त्यस) जगत् कृत्स्नम् (सम्पूर्ण जगत्लाई) अपश्यद् (देखे) देवदेवस्य (देवाधिदेवका) शरीरे (शरीरमा) एकस्थम् (एकै स्थानमा) ।
त्यसबेला अर्जुनले भिन्न भिन्न किसिमले बाँडिएको यो सम्पूर्ण जगत्लाई देवाधिदेव श्रीकृष्णका शरीरमा एकै स्थानमा देखे ।।१३।।


ततः स विस्मयाविष्टो हृष्टरोमा धनञ्जय ।
प्रणम्य शिरसा देवं कृताञ्जलिरभाषत ।। १४ ।।

पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]

ततः (अनि) सः (त्यस) विस्मय आविष्टः (विस्मयले उत्तेजित) हृष्टरोमा (रोमाञ्चित भएका) धनञ्जय (धनञ्जय, अर्जुनले) कृत अञ्जलिः (अञ्जलि बनाएर, हात जोडेर) प्रणम्य शिरसा (शिर झुकाई प्रणाम गरेर) कृत अञ्जलिः (अञ्जलि बनाएर, हात जोडेर) देवम् (परमेश्वरलाई, विश्वरुप देवलाई) अभाषत (भन्न थाले) ।
विस्मयले उत्तेजित भएका धनञ्जय रोमाञ्चित भए । अनि हात जोडेर सिर झुकाई प्रणाम गर्दै परमेश्वरलाई भन्न थाले...।।१४।।

बिरालो र कुकुरसंगै घाम ताप्दै बसेका थिए । बिरालो मुसक्क हाँस्यो ।
कुकुरले सोध्यो– ‘किन हाँसेको ?’
बिरालो– ‘सपनामा मैले घैंटो र बाछिटो वर्षा भइरहेको देखें । तर आकाशबाट पानी परेको थिएन । पानीको सट्टा आकाशबाट धमाधम मूसा खसिरहेका थिए ।’
कुकुर– ‘सपना त हेर्नु तर यति बेकारको सपना नहेर्नु । हुनै नसक्ने कुरा देखेर अझ मक्ख पर्ने ? आकाशबाट मूसा खसेको कुरा आजसम्म कसैले पनि सुनेको वा देखेको छैन । तर कहिले काहीं हाड खस्छ भन्ने कुरा मैले पनि सुनेको छु । मूसा खस्ने कुरा त आजसम्म सुनेको छैन ।’
वास्तवमा दृश्य भनेको दृष्टिकोण हो । दृष्टि नै सृष्टि हो । अर्थात् मानिसले बाहिर देख्ने कुरा उसको अन्तज्र्ञानको प्रक्षेपण मात्र हो । दृष्टिकोण परिवर्तन हुनासाथ सामान्य दृष्टि पनि दिव्य हुन पुग्छ ।
ईराकमा एक जना प्रसिद्ध सन्त भएकी छन्– राबिया बसरी । उनले ईश्वरलाई अति नै प्रेम गर्थिन् । मीराले श्रीकृष्णलाई प्रेम गरे जस्तै । उनले सधैं कुरान पढ्ने गर्थिन् ।
एउटा फकीर घुम्दै राबिया कहाँ वास बस्न पुग्यो । त्यहाँ उसले कुरानको एउटा वाक्य केरिएको देख्यो । त्यो वाक्य थियो – ‘शैतानसंग घृणा गर्नु पर्छ ।’
ऊ ज्यादै रिसायो– कुरानको वाक्य कसले केर्यो ?
कुरानमा केरमेट इसलामका दृष्टिमा महापाप हो । इसलाममा यस्तो गर्नु ईश्वर विरोधी कृत्य हो ।
राबिया विनम्र भएर भनिन्– ‘यो काम अरु कसैको होइन, मेरो हो ।’
फकीरले आश्चर्यचकित भएर भन्यो– ‘यति ठूलो भक्त भएर पनि परमात्माका अन्तिम वाक्यलाई यसरी केर्ने ?’
राबिया– ‘मलाई परमात्मासंग कति प्रेम छ भने मलाई सर्वत्र परमात्मा देखिन्छ शैतानमा पनि मैले परमात्मा देख्छू । अनि घृणा कसरी गर्ने ? को संग गर्ने ? किन गर्ने ? त्यही भएर त्यो वाक्य मलाई काम लाग्दैन । अनि मैले केरें ।’ सर्वत्र ईश्वर देख्ने दृष्टिले शैतानमा पनि ईश्वर देख्न थाल्छ ।

अर्जुन उवाच
[सम्पादन गर्नुहोस्]

पश्यामि देवांस्तव देवदेहे,
सर्वांस्तथा भूतविशेषसंघान् ।
ब्रह्माणमीशं कमलासनस्थं,
ऋषींश्च सर्वानुरगांश्च दिव्यान् ।।१५।।

पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]

अर्जुन उवाच (अर्जुनले भने)
तव (तपाईंका) देव देहे (विश्वरुप देहमा) सर्वान् (सबै) देवान् (देवताहरु) तथा (तथा) भूत विशेष संघान् (विशेष प्राणीहरुको समूह) ब्रह्माणम् ईशम् (ब्रह्मा र शिव) कमल आसनस्थम् (कमलापति विष्णु) ऋषीन् च (तथा ऋषिहरुलाई) सर्वान् (सबै) उरगान् (नागहरु– जस्तै वासुकी, अनन्त, तक्षक) च (तथा) दिव्यान् (दिव्यहरु) पश्यामि (देखिरहेको छु) ।
अर्जुनले भने–
हे देव, तपाईंका विराट शरीरमा सम्पूर्ण देवताहरु, विशेष प्राणीहरुको समूह, ब्रह्मा, शिव, कमलासन स्थित विष्णु, तथा दिव्य नागहरुलाई देखिरहेको छु ।। १५ ।।


अनेक बाहूदरवक्त्रनेत्रं,
पश्यामि त्वां सर्वतोऽनन्त रुपम् ।
नान्तं न मध्यं न पुनस्तवादिं,
पश्यामि विश्वेश्वर विश्वरुप ।।१६।।

पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]

विश्वेश्वर (हे विश्वेश्वर) विश्वरुप (हे विश्वरुप) पश्यामि (देखिरहेको छु) अनेकौं बाहु (अनेकौं हात) अनन्त रुपम् (अनन्त रुपमा) उदर वक्त्र नेत्रम् (अनेकौं हात, पेट र आँखै आँखा भएका) त्वाम् (तपाईंलाई) सर्वतः( चारैतिर) पश्यामि (देखिरहको छु) न अन्तम् (अन्त छैन) न मध्यम् (मध्य छैन) पुनः (फेरि) तव (तपाईंको) न आदिम् (आदि पनि छैन) ।
हे विश्वेश्वर, अनेकौं हात, उदर र अनेकौं आँखा भएका तपाईंलाई चारैतिर असङ्ख्य रुपमा देखिरहेको छु । तर हे विश्वरुप, यस अनन्त रुपमा तपाईंको आदि, मध्य र अन्त केही पनि देखिदन ।।१६।।


किरीटिनं गदिनं चक्रिणं च,
तेजोराशिं सर्वतो दीप्तिमन्तम् ।
पश्यामि त्वां दुर्निरीक्ष्यं
समन्ताद्दीप्तानलार्कमप्रमेयम् ।। १७ ।।

पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]

किरीटिनम् (मुकुट) गदिनम् (गदा) चक्रिणम् (चक्र) च (तथा) तेजोराशिम् (तेजको पुञ्ज) समन्तात् (सबैतिर) अनल (आगो) अर्कम् (सूर्य) दीप्त (उज्यालो, तेजपुञ्ज) दीप्तिमन्तम् (धपक्क बलेको) दुःनिरीक्ष्यम् (हेर्न नसकिने) अप्रमेयम् (अपरम्पार छ) त्वाम् (तपाईंलाई) सर्वतः (चारैतिर) पश्यामि (देखिरहेको छू) ।
मुकुट, गदा र चक्र धारण गर्नु भएका, चारैतिर तेजको पुञ्जले झल्मलाउँदो अग्नि र सूर्यको समान धपक्क बलेको , आँखाले हेर्नै नसकिने र अपरम्पार हुनुहुन्छ । मैले जताततै तपाईंलाई देखिरहेको छू ।। १७ ।।

अर्जुनले देखेको विश्वरुप आश्चर्यजनक छ । जताततै अनगन्ती अनुहारहरुमा अलग अलग प्रकारका अनगन्ती आँखा, यस अघि नदेखेका अनेक प्रकारका अलौकिक आभूषण, अनेकौं हातहतियार, अनेकौं वस्त्र, अनेक दिव्य मालाहरु, अनेक प्रकारका दिव्य सुगन्ध छ । जता हेर्यो उतै आश्चर्यजनक वस्तुहरु छन् ।
यो सर्वव्यापक स्वरुप सीमारहित रुपमा आकाशदेखि पृथ्वीसम्म जताततै त्यसै गरी फैलिएको छ जसरी वातावरणमा वायु, गन्ध वा सूर्यको प्रकाश सर्वत्र फैलिएको हुन्छ । सर्वतोमुखको अर्थ हुन्छ सबै दिशामा व्याप्त, सबैतिर फर्केको ।
संस्कृत ग्रन्थहरुमा पूर्व पश्चिम, उत्तर र दक्षिणबाहेक अन्य छवटा दिशाहरु मानिन्छ– आग्नेय (दक्षिणपूर्व), नैर्ऋत्य (दक्षिणपश्चिम), वायव्य (पश्चिमोत्तर), ईशान (पूर्वोत्तर), आकाश (माथि) र पाताल (जमीनमुनि) । यी सबै ढाकेको स्वरुप नै विश्वतोमुख हो ।
स्वामी योगानन्दका अनुसार आन्तरिक आकाशमा कुण्डलिनी जागरण नै अलौकिक नागको दर्शन हुनु हो । यो जाग्रत भए पछि ईश्वर साक्षात्कारको अनुभव एक योगीले गर्दछ । त्यसैले यो विश्वरुप समाधिका अवस्थाको अनुभव हो ।
सर्वत्र ढाकेको अनेकौं अनुहार, हात, पेट आदि चारैतिर फैलिएका देखिरहेको बताउँछन् । ती अनुहारमा वीर, भयानक, वीभत्स, अद्भुत, उत्साह, भय, घृणा, आश्चर्य अनेकौं भाव छन् । करुणावान् अनुहारले करुणापूर्ण दृष्टिले हेर्दै छन् भने रौद्र अनुहारले डरलाग्दो कृत्य गरेका छन् । कसैले डरलाग्दो गरी मुख बाएका छन्, कसैले वीभत्स तरीकाले खाँदै गरेको छ, कोहीले मरणान्त ध्वनि गर्दैछन्, कोही गुहार माग्दै छन्, र कोही आतङ्कित छन् ।
त्यसै गरी नयनको अर्थ पनि सामान्य आँखा होइन । आँखाको स्थानमा अद्भुत दर्शन छन्– कुनै आँखामा सूर्य, कुनैमा चन्द्रमा, र कहीं आगाको लपलपाउँदो राँको । कोही काल भैरवका आँखा जस्ता रगत उम्लिएका देखिन्छन् । अनेकौं मुखका अनेकौं भाव छन् । सन्त ज्ञानेश्वरले यी विभिन्न भावहरुको बडो सुन्दर वर्णन गरेका छन् । तर उनले पनि के मान्दछन् भने ती अनन्त भावको वर्णन असम्भव छ ।
गीताको विश्वरुपले ऋग्वेद १०.९०, शुक्लयजुर्वेद, रुद्राष्टाध्यायी अध्याय दुई, मुण्डकोपनिषद् आदिमा वर्णन गरिएको हजारौं शिर, हजारौं नेत्र, र हजारौं चरण र ब्रह्माण्ड भन्दा पनि व्यापक त्यस विराट स्वरुपको स्मरण हुन्छ जसबाट यो सृष्टि भएको हो ।
यस विश्वरुपमा सृष्टिकर्ताको रुपमा ब्रह्मा, पालनकर्ताको रुपमा विष्णु र संहारकर्ताको रुपमा शङ्कर एकै स्थानमा छन् । त्यसैले यो विश्वरुप सृष्टि स्थिति र प्रलय तीन स्वरुपको मिश्रण हो तथापि भयभीत अर्जुनले प्रलयंकारी स्वरुपमा मात्र देख्न सकेका छन् ।
त्यस विश्वरुपबाट हजारौं सूर्य एकै चोटि उदाउँदाको असहनीय प्रकाश निस्कीरहेको थियो। एकै चोटि हजारौं सूर्य उदय हुँदाको असहनीय प्रकाश एक यस्तो असम्भव तुलना हो जसको कल्पना गर्न सकिंदैन । अन्य कुनै पनि कुराको प्रकाशको तुलना सूर्यको प्रकाशसंग गरिन्छ। स्वयं सूर्यको प्रकाश कुन कुरासंग तुलना गर्नु ? त्यसमाथि हजारौं सूर्यको तुलना ? यसको अर्थ के हो भने त्यो प्रकाश अर्कै हो । जुन प्रकाश हाम्रो आँखाले जानेको छ, त्यो प्रकाश होइन ।
एउटै सूर्यलाई सोझो हेर्यो भने आँखाले केही देख्दैन । हजारौं सूर्य एकै चोटि उदाउँदा आँखा अगाडि अन्धकारबाहेक अरु के होला ? जसरी मधुरो आवाज भए पनि कानको क्षमताले गर्दा सुनिँदैन र चर्को भए पनि सुनिँदैन त्यसै गरी आँखाको पनि एक सीमा हुन्छ, निश्चित तरंगको उज्यालोभन्दा कम र बढी दुवै अवस्थामा केही देखिंदैन, केवल अन्धकार देखिन्छ ।
श्लोक १७ मा प्रलयको आगो झैं बलेको राँको, दीप्त, अनल, र अर्क भन्नुका पछाडि अर्जुनको मनोभावमा विस्मय, आतङ्क र हर्ष सबै कुराको उत्तेजना देखिन्छ किनभने यी सबै आगोको पर्याय हुन् ।
विश्वरुप कस्तो हुन्छ ? यस बारेमा विद्वान बीच विभिन्न मत छन् । पहिलो अवधारणा अनुसार, यो सम्पूर्ण ब्रह्माण्ड नै ईश्वर हो । त्यसमा ब्रह्मा, रुद्र, वसु, इन्द्र, आदित्य आदि सबै देवताहरु छन् । हाम्रा आँखाको क्षमता नभएकोले हामीले हेर्न नसकेको मात्र हो ।
दोस्रो अवधारणा अनुसार, विश्वरुप आत्मसाक्षात्कारको अवस्था हो । यसको पक्षमा तर्क दिनेहरुले गीताको त्यो वाक्य प्रस्तुत गर्छन् जसमा भनिएको छ– जे तिमी हेर्न चाहन्छौ त्यो हेर । बाहिर जे जे छ त्यो हेर होइन । यो ध्यानको अवस्था हो ।
तेस्रो अवधारणा अनुसार, भगवान श्रीकृष्ण छवटै ऐश्वर्यका मालिक भएकाले उहाँले नै विश्वरुप देखाउनु भएको हो । यस्तो स्वरुप आफ्नो जीवनकालमा यस अघि माता यशोदा र दुर्योधनलाई देखाउनु भएको छ ।
सर्वव्यापी स्वरुपका अनेक बाहु, नयन इत्यादि उल्लेखलाई सर्वपल्ली राधाकृष्णनले भगवानको सार्वभौमसत्ता र सर्वत्र विधानतालाई ध्वनित गर्नका लागि रचिएको काव्योचित अत्युक्ति मानेका छन् ।
सन्त ज्ञानेश्वरका अनुसार, जाग्रत व्यक्ति स्वप्नको शक्तिमा पुगे पछि जसरी आफैंले सारा संसार देख्छ त्यसै गरी ईश्वरले अर्जुनलाई आफ्नो ऐश्वर्य देखाइरहनु भएको छ । जयदयाल गोयन्दका र स्वामी ईश्वरानन्दले यसलाई अघटित घटना दर्शनको रुपमा व्याख्या गर्छन् । उनीहरुले विराट ईश्वरको सर्वव्यापी शरीरमा यी सबै कुरा अर्जुनले देखिरहेको मान्दछन् ।
जसरी एक कथाकार आफ्ना सम्पूर्ण पात्रहरुमा फैलिएको हुन्छ, विश्वरुपको तुलना त्यससंग गर्न सकिन्छ । कथाकारले अलग अलग पात्र, अलग अलग घटना र अलग अलग चरित्र निर्माण गरे पनि मुख्य पात्र त्यो आफैं हुन्छ । आफू पात्रभन्दा अलग पनि हुन्छ र पात्रमा पनि हुन्छ । ठीक त्यसै गरी सुरमुनिदेखि भुसुनासम्म प्रत्येकको घटमा विश्व ब्रह्माण्डको रचयिता टम्म परेर रहेको हुन्छ र अलग पनि हुन्छ ।
मनोवैज्ञानिक दृष्टिले प्रत्येक व्यक्ति आफैंमा विश्वरुप हो । प्रत्येक मानिस भित्र क्षण क्षणमा बदलिने असङ्ख्य व्यक्तित्व हुन्छन् । जति व्यक्तित्व हुन्छन्, उति दृष्टिकोण हुन्छन् र जति दृष्टिकोण हुन्छन् उतिवटा दृष्टि हुन्छन् । जति दृष्टि हुन्छन्, उत्तिनै सृष्टि हुन्छन् । यी सबै नानाथरी रुप मानिस भित्रै छन् ।
सूर्यका प्रकाशको तुलनामा अझ बढी गतिमा हिंड्नसक्ने अवस्थामा काल पनि स्थिर हुन्छ भन्ने मानिन्छ । तर भूत, वर्तमान, र भविष्यलाई एक स्थानमा बनाउन सकिने कुरा वैज्ञानिक परिकल्पनाभन्दा बाहिरको कुरा हो ।
विश्वमा प्रचलित सबै धर्म–समप्रदायले परमात्माको अनुभूतिलाई अद्भुत प्रकाश मानेका छन् । आजसम्म जसले पनि ईश्वरको साक्षात्कार गरेका छन् उनीहरुले यसलाई प्रकाशस्वरुप नै भनेका छन् । साथै यो प्रकाश बाहिर देखिने प्रकाश जस्तो होइन पनि भनेका छन् । यस्तो प्रकाशलाई क्रिस्तान सन्तहरुले डार्क लाइट अफ् द सोल भनेका छन् ।


त्वमक्षरं परमं वेदितव्यं,
त्वमस्य विश्वस्य परं निधानम् ।
त्वमव्ययः शाश्वतधर्मगोप्ता,
सनातनस्त्वं पुरुषो मतो मे ।।१८।।

पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]

त्वम् (तपाईं नै) वेदितव्यम् (जान्न योग्य) अक्षरम् परमम् (अक्षर ब्रह्म) त्वम् (तपाईं) अस्य विश्वस्य (यस जगत्को) परम् निधानम् (परम् आधार) त्वम् अव्ययः (तपाईं अविनाशी) शाश्वत (सनातन) धर्मगोप्ता (धर्मको रक्षक) मे (मेरो) मतः (विचारमा) त्वम् (तपाईं) सनातनः (सनातन) पुरुषः (पुरुष) हुनुहुन्छ ।
तपाईं नै अन्तिममा जान्ने योग्य अक्षर अर्थात् ब्रह्म, तपाईं नै संसारको अन्तिम आधार, तपाईं नै अव्यय र शाश्वत धर्मको रक्षक हुनुहुन्छ । मेरो विचारमा तपाईं नै सनातन पुरुष हुनुहुन्छ ।। १८ ।।


अनादिमध्यान्तमनन्तवीर्य
मनन्तबाहुं शशिसूर्यनेत्रम् ।
पश्यामि त्वां दीप्तहुताशवक्त्रं,
स्वतेजसा विश्वमिदं तपन्तम् ।।१९।।

पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]

अनादि मध्य अन्तम् (आदि, मध्य, र अन्त नभएको) अन्तवीर्यम् (अनन्त सामथ्र्य शक्ति भएको) अनन्तबाहुम् (अनगन्ती हात) शशिसूर्यनेत्रम् (चन्द्रसूर्य नेत्र भएको) दीप्त हुताश वक्त्रम् (धप्धप् बलेको अग्नि जस्तो मुहार) त्वाम् (तपाईं) स्वतेजसा (आफ्ना तेजले) इदम् (यो) विश्वम् (विश्व) तपन्तम् (दनदनी गरेर बाल्न लाग्नु भएको) पश्यामि (मैले यस्तो देखिरहेको छु) ।
जसको आदि, मध्य, र अन्त छैन, जसका अनगन्ती हातहरु छन्, चन्द्रसूर्य जसका नेत्र छन्, जसको मुहार धप्धप् बलेको अग्नि जस्तो छ, यस्तो अनन्त शक्ति भएका तपाईंले नै आफ्ना तेजले यो सम्पूर्ण जगत्लाई दनदनी बाल्न लाग्नु भएको छ । तपाईंलाई मैले यस्तो देखिरहेको छु ।। १९ ।।

तपाईं शाश्वतधर्मगोप्ता र सनातन पुरुष तपाईं नै हुनुहुन्छ । गोप्ता शब्दको एउटा अर्थ हुन्छ जोगाएर राख्ने व्यक्ति । त्यसैले शाश्वतधर्मगोप्ताको अर्थ हुन्छ सधैं जोगाएर राख्ने धर्मको अमर प्रहरी, अन्तिम रक्षक ।
यस्तो मेरो विचार छ, इत्यादि अर्जुनका वाक्यले अर्जुनको विनम्रता, शिष्यता र वाक्पटुता अभिव्यक्त भएको छ । उनले कुनै निर्णय दिएका छैनन्, आफ्नो मत दिइरहेका छन्, त्यो मत अरुका मतसंग मिल्नु पर्छ भन्ने छैन ।
जसले केही जान्यो त्यो विनम्र हुनजान्छ । जसले जान्दैन उसमा अहंकार प्रदर्शन हुन्छ । विनम्र शिष्यले भन्ने तरिका त्यही नै हो । त्यसैले यस अध्यायमा गुरु शिष्यको संवाद गर्ने विधि, आर्ट अफ् स्पीकिङ्ग पनि सिकाइएको छ ।   


द्यावापृथिवीव्योरिदमन्तरं हि,
व्याप्तं त्वयैकेन दिशश्च सर्वाः ।
दृष्ट्वाद्भुतं रुपमुग्रं तवेदं,
लोकत्रयं प्रव्यथितं महात्मन् ।।२०।।

पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]

महात्मन् (हे महात्मन्) द्यावापृथिवीव्याः (आकाशदेखि र पृथिवी सम्म) इदम् (यो) अन्तरम् (दुवै स्थानको अन्तरमा) त्वया (तपाईं) एकेन (एउटा) हि (नै हुनुहुन्छ) दिशः च सर्वाः (सबै दिशामा, सर्वत्र) व्याप्तम् (व्याप्त हुनुहुन्छ) दृष्ट्वा (देखेर) अद्भुतम् (अद्भुत) रुपम् उग्रम् (उग्र रुप) तव (तपाईंको) इदम् (यो) लोकत्रयम् (तीन लोक) प्रव्यथितम् (व्याकुल भइरहेका छन्) ।
हे महात्मन्, तपाईं एक हुनुहुन्छ तर आकाशदेखि र पृथिवीका बीचको यो अन्तर ढाकी सबै दिशाहरुमा एउटै तपाईंले ढाकिएका छन् । तपाईंको यस अद्भुत र उग्ररुपलाई देखेर तीन लोकका प्राणीहरु व्याकुल भइरहेका छन् ।। २० ।।

सामान्य दृष्टि समाप्त भए पछि मात्र सर्वत्र ईश्वर देखिने दिव्य दृष्टि सुरु हुन्छ । यो त्यही अवस्था हो जब सबै कुरा आफू भित्र अनुभव हुन्छ । स्वामी रामतीर्थले भनेका थिए– समाधिमा एक पटक मैले आफू भित्र सूर्य–चन्द्र र सारा ब्रह्माण्ड देखेको हूँ ।
त्यस अवस्थामा दृष्टि र द्रष्टा एउटै हुन्छ । संसार विलीन हुनजान्छ । मोतीरामले त्यस अनुभवलाई यसरी व्यक्त गरेका छन्–
यता हेर्यो यतै मेरा नजर्मा राम प्यारा छन्,
उता हेर्यो उतै मेरा नजर्मा राम प्यारा छन् ।
यसो भन्छौ त फल्फुलमा उसो भन्छौ त जल्थल्मा,
जता हेर्यो उतै मेरा नजर्मा राम प्यारा छन् ।


अमी हि त्वां सुरसंघा विशन्ति,
केचिद्भीता प्राञ्जलयो गृणन्ति ।
स्वस्तीत्युक्त्वा महर्षिसिद्धसंघाः,
स्तुवन्ति त्वां स्तुतिभिः पुष्कलाभिः ।।२१।।

पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]

अमी (ती सबै) हि (नै) त्वाम (तपाईंमा) सुरसंघा (देवताहरुको समूह) विशन्ति (प्रवेश गर्छन्) केचिद् (कोही) भीता (डराएर) प्राञ्जलयः (हात जोडेर) गृणन्ति (प्रार्थना गर्छन्) महर्षिसिद्धसंघाः (महर्षि, सिद्धका समूह) त्वाम् (तपाईंलाई) स्वस्ति (स्वस्ति) इति (यस प्रकार) उक्त्वा (भनेर) पुष्कलाभिः (श्रेष्ठ) स्तुतिभिः (स्तोत्रले) स्तुवन्ति (स्तुति गर्छन्) ।
अहो, ती सबै देवताहरुको समूह तपाईंमा प्रवेश गरिरहेका छन्, कोही डराएर फूल लिएर हात जोडेर प्रार्थना गरिरहेका छन् । महर्षि र सिद्धका संघहरुले ‘स्वस्ति’ भन्दै श्रेष्ठतम स्तोत्रले स्तुति गरिरहेका छन् ।। २१ ।।


रुद्रादित्या वसवो ये च साध्या,
विश्वेऽश्विनौ मरुतश्चोष्मपाश्च ।
गन्धर्व यक्षासुरसिद्धसंघा,
वीक्षन्ते त्वां विस्मिताश्चैव सर्वे ।।२२।।

पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]

रुद्र–अदित्याः (रुद्रगण, आदित्य) वसव (वसु) ः साध्याः (साध्यगण) विश्वे (विश्वेदेवहरु) अश्विनौ (अश्विनीकुमार) मरुतः च (तथा मरुत्गण) ऊष्मपाः (पितृगण) ये (जुन) च (तथा) च गन्धर्व (तथा गन्धर्व) यक्ष (यक्ष) असुर ( असुर) च एव (तथा) सिद्ध (सिद्धहरु) सर्वे (सबैसंघा (समूह समूहमा) त्वाम् (तपाईंलाई) विस्मिताः (विस्मित भएर) वीक्षन्ते (हेर्छन्) ।
रुद्रगण, आदित्य, वसुहरु, साध्यगण, विश्वेदेवहरु, अश्विनीकुमारहरु, मरुत्गण, पितृगण, गन्धर्व, यक्ष, राक्षस, र सिद्ध सबै समूहसमूहमा विस्मित भएर तपाईंलाई हेरिरहेका छन् ।। २२ ।।


रुपं महत्ते बहुवक्त्रंनेत्रं,
महाबाहो बहुबाहुरुपादम् ।
बहूदरं बहुदंष्ट्रा करालं,
दृष्ट्वा लोकाः प्रव्यथितास्तथाहम् ।।२३।।

पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]

रुपम् महत् (विशाल रुप) ते (तपाईंको) बहुवक्त्रनेत्रम् (अनकौं मुख र आँखा) महाबाहो (हे महाबाहु) बहुबाहुः उरुपादम् (अनेक हात, जङ्घा र गोडाहरु) बहु उदरम् (अनेक पेट) बहुदंष्ट्रा करालम् (अनेक दाँत र दाह्रा) दृष्ट्वा (देखेर) लोकाः (ससार) प्रव्यथिताः (डराई रहेको छ) तथा अहम् (म पनि त्यसै गरी डराई रहेको छु) ।
हे महाबाहू, तपाईंको विशाल स्वरुपमा निकै धेरै मुख, निकै धेरै आँखा, निकै धेरै हात, पेट र खुट्टा छन् । यसलाई देखेर (जसरी) सारा लोक डराई रहेको छ, त्यसै गरी म पनि डराई रहेको छु ।।२३।।


नभः स्पर्शं दीप्तमनेकवर्णं,
व्यात्ताननं दीप्तविशालनेत्रम् ।
दृष्ट्वा हि त्वां प्रव्यथितान्तरात्मा,
धृतिं न विन्दामि शमं च विष्णो ।। २४।।

पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]

नभः स्पर्शम् (आकाश छुने) दीप्तम् ( धपधप बल्दो) अनेकवर्णम् (नानाथरी रङ्गका) व्यात्त आननम् (मुख पूरै खोलेका) दीप्त (आगो झैं बलेका) विशालनेत्रम् (विशाल आँखाहरु) दृष्ट्वा (देखेर) हि (नै) त्वाम् (तपाईंको) प्रव्यथित अन्तरात्मा (भित्रैबाट भयभीत) विष्णो (हे विष्णो) शमम् (शान्ति) च (र) धृतिम् (धैर्य) न विन्दामि (मलाई भएको छैन) ।
आकाश छुने, धपधप् बल्दो, नानाथरी रङ्गका, पूरै मुख खोलेका, आगो झैं बलेका विशाल आँखाहरु भएको तपाईंलाई देखेर म भित्रैबाट भयभीत भएको छु । हे विष्णो, मलाई धैर्य र शान्ति छैन ।। २४ ।।


दँष्ट्राकरालानि च ते मुखानि,
दृष्ट्वैव कालानल सन्निभानि
दिशो न जाने न लभे च शर्म,
प्रसीद देवेश जगन्निवास ।।२५।।

पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]

दँष्ट्राकरालानि (दाह्राले विकराल) च (तथा) ते (तपाईंका) दृष्ट्वा एव (देखेर नै) मुखानि (मुहार, मुख) काल– अनल सन्निभानि (प्रलयकालीन अग्नि जस्तो) दिशः न जाने (दिशाविदिशाको ज्ञान हुँदैन) न लभे च शर्म (सुख शान्ति प्राप्त भएन) देवेश (हे देवाधिदेव) जगन्निवास (हे जगन्निवास) प्रसीद (प्रसन्न हुनुहोस्) ।
दाह्राले विकराल र प्रलयकालीन अग्निको जस्तो तपाईंको मुहार देखेर मलाई दिशाविदिशा ज्ञान भएन (रिंगटा लागिरहेछ) । सुख–शान्ति छैन । हे देवाधिदेव, हे जगन्निवास, प्रसन्न हुनुहोस् ।।२५।।

विश्वमा जति हातखुट्टा, आँखामुख अवयव छन् ती सबै विराटकै अङ्ग प्रत्यङ्ग हुन्। जति पनि सुन्दर र डरलाग्दा रुप छन् ती पनि सोही विराट्का अङ्ग प्रत्यङ्ग हुन् । शृङ्गार, हास्य, करुण, रौद्र, प्रेम, हाँसो, शोक, क्रोध लगायत सबै भाव विराटदेखि भिन्न छैनन् । तर अर्जुन भयभीत भएकोले विश्वरुपको उग्र भाव मात्र देखिरहेका छन् ।
मानव, ऋषि, देव, पितर, यक्ष, सिद्ध आदि अर्जुनले जाने जतिका प्राणी समुदाय पनि यस स्वरुपमा अर्जुनले देखिरहेका छन् ।
ऋषि–महर्षि– दिव्य ज्ञान र गहन अन्तर्दृष्टि हुने र सत्यको साक्षात्कार गर्ने व्यक्तिलाई ऋषि भनिन्छ । शास्त्रहरुमा देवर्षि, राजर्षि, ब्रह्मर्षि आदिको उल्लेख पाइन्छ । ऋग्वेदका मन्त्रहरुमा गार्गी, अपाला, घोषा, लोपामुद्रा आदि ३० वटा ऋषिकाहरु तथा ४०० ऋषिहरुको नाम पाइन्छ । गीतामा भृगुलाई महर्षिहरुमा प्रमुख (१०.२५) र नारदलाई देवर्षिमा प्रमुख (१०.२६) भनिएको छ ।
सिद्ध– सिद्धको सामान्य अर्थ हो शारीरिक, मानसिक तथा अतीन्द्रिय साधनालाई पूर्ण गरिसकेको साधक वा ज्ञान प्राप्त व्यक्ति । गीता (१०.२६) मा कपिल मुनिलाई सिद्ध भनिएको छ । जैन दर्शनमा जन्म मृत्युको चक्रबाट मुक्त पुरुषलाई सिद्ध भनिन्छ । नाथ सम्प्रदायमा सिद्ध भनेको विशेष सिद्धि प्राप्त व्यक्ति हो । यस सम्प्रदायमा सिद्धहरुको संख्या ८४ मानिएको छ ।
ऊष्मपा– पितृसमुदायलाई ऊष्मपा (तातो बाफ उड्ने खाना मनपराउने) भनिन्छ । यिनको संख्या सात छ– कव्यवाह, अनल, सोम, यम, अर्यमा, अग्निस्वात्त, बर्हिषद् । गीता (१०.२९) मा पितृहरुमा अर्यमालाई प्रमुख बताइएको छ ।
गन्धर्व– कश्यप ऋषिका तीन पत्नीबाट सुरु भएको सृष्टिमा क्रमशः गन्धर्व, यक्ष, र राक्षस (असुर) बने । गन्धर्व विशिष्ट शक्तियुक्त मानवेतर प्राणी हुन् । गन्धर्वलाई संगीत र कलाका विशिष्ट शक्ति प्राप्त छन् । यिनीहरु स्वर्गमा बस्छन् । यिनका सुन्दर पत्नीहरुलाई अप्सरा भनिन्छ । गीता (१०.२६) मा चित्ररथलाई प्रमुख गन्धर्व बताइएको छ ।
यक्ष र राक्षस– यक्ष र राक्षस विशेष शक्ति युक्त मानवेतर प्राणी हुन् । यी दुईमा फरक के भने राक्षसहरु आसुरी सम्पदा प्रधान प्राणी हुन् र यिनीहरुले मायावी शक्ति अरुलाई हानि पुर्याउने कामका लागि उपयोग गर्छन्ल। गन्धर्व, यक्ष, र किन्नर आदिमा मायावी शक्ति हुन्छ तर उनीहरुले अरुलाई भ्रममा पार्नका लागि यसको प्रयोग गर्छन् भन्ने मानिन्छ । केन उपनिषदमा ब्रह्मले यक्ष रुपमा वायु, अग्नि आदि देवताको परीक्षा लिएको विवरण पाइन्छ। महाभारतमा युधिष्ठिर यक्षको प्रश्नोत्तर प्रसिद्ध छ । भगवान् शिवका गणमा पनि धेरै यक्षहरु छन् ।
केही असल राक्षसको वर्णन पनि पाइन्छ । भीमकी पत्नी हिडिम्बालाई राक्षस कुलकी बताइएको छ । हिडिम्बाको छोरो बर्बरीकलाई भगवान् कृष्णको स्वरुप (खाटू स्याम) मानिन्छ। गीतामा प्रह्लादलाई दैत्यमा (१०.३०) र यक्ष तथा राक्षसहरुमा कुबेरलाई श्रेष्ठ (१०.२३) बताइएको छ ।

तालिका ११.२ ऋषि, पितृ, सिद्ध, गन्धर्व, यक्ष र राक्षस
नाम शक्ति उदाहरण
सिद्ध साधनाको पूर्णता प्राप्त व्यक्ति कपिल (१०.२६), मनु, व्यास
विश्वे गृहस्थीको सम्पन्नताका देवता विश्वेदेव (११.२२)
ऋषि–महर्षि दिव्य ज्ञान र गहन अन्तर्दृष्टि हुने व्यक्ति,

देवर्षि, राजर्षि, ब्रह्मर्षि||

महर्षि भृगु (१०.२५), देवर्षि नारद (१०.२६), राजर्षि जनक
पितृ ऊष्मपा, तातो बाफयुक्त खाना रुचाउने अर्यमा (१०.२९)
गन्धर्व संगीत र कलाका विशिष्ट शक्ति चित्ररथ (१०.२६)
यक्ष र राक्षस मायावी शक्ति, मुख्यतः आसुरी सम्पदा प्रधान प्रह्लाद (१०.३०) र कुबेर (१०.२३)


तामसिक शक्तिका प्राणीहरुले चकित र भयभीत भएर त्यस दिव्यस्वरुपलाई त्यहीं भित्रैबाट हेरिरहेका छन् । ऋषि, महर्षि र सिद्ध आदि आध्यात्मिक समूहले प्रसन्न भई उपासना र स्तुति (मन्त्रोच्चार) गरिरहेका छन् । कोही भयभीत भई भागाभाग गरिरहेका छन् ।
अर्जुनले संसारलाई त्रस्त भएको देखिरहेका छन् । भय र विस्मातले थर्थर काम्दै विचलित भएर विन्ती गर्दै छन्– हे महेश्वर, हे उग्ररुप, प्रसन्न हुनुहोस् ।
हुनत, वराह र नर्सिंह अवतार भगवान् विष्णुका उग्ररुप हुन्, तथापि महादेवको उग्ररुप धेरै प्रसिद्ध छ । त्यसैले यहाँ महेश्वर भनिएको छ ।


अमी च त्वां धृतराष्ट्रस्य पुत्राः,
सर्वे सहैवावनिपालसंघै ।
भीष्मो द्रोणः सूतपुत्रस्तथासौ,
सहास्मदीयैरपि योधमुख्यैः ।।२६।।


वक्त्राणि ते त्वरमाणा विशन्ति,
दंष्ट्राकरालानि भयानकानि ।
केचिद्विलग्ना दशनान्तरेषु,
संदृश्यन्ते चूर्णितैरुत्तमांगैः।।२७।।

पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]

अमी (यी) च (तथा) त्वाम् (तपाईंमा) धृतराष्ट्रस्य पुत्राः (धृतराष्ट्रका छोराहरु) सर्वे (सबै) अवनिपालसंघै (राजाहरुको फौज) सह (सहित) एव (नै) भीष्मः द्रोणः (भीष्म, द्रोण) तथा (तथा) सूतपुत्रः (सूत पुत्र कर्ण) असौ (त्यो पनि) सह (साथमा) अस्मदीयैः (हाम्रो पक्षका) अपि (पनि) योधमुख्यैः (मुख्य योद्धाहरु) ते (तपाईंका) वक्त्राणि (मुखमा) भयानकानि (भयानक) दंष्ट्राकरालानि (विकराल दाह्रा) त्वरमाणा (तीव्रगतिका साथ) विशन्ति (प्रवेश गर्छन्) केचित् (केही) चूर्णितैः (चकनाचूर, छिया छिया परेका) उत्तम अङ्गै ः (सिरहरुसहित) विलग्ना (लागेका, अड्केका) दशन अन्तरेषु दाँतहरुको बीचमा) संदृश्यन्ते (देखिन्छन्) ।
यी सबै राजाहरुका फौजसहित धृतराष्ट्रका सबै पुत्रहरु, पितामह भीष्म, आचार्य द्रोण, सूतपुत्र कर्ण (अर्को पक्षका) अनि हाम्रो पक्षका पनि सबै मुख्य मुख्य योद्धाहरु तपाईंको भयानक दाह्रा भएको मुखमा तीव्रगतिले प्रवेश गरिरहेका छन् । कुनै कुनै त दाँतका अन्तरमा अड्किएर टाउको चकनाचूर भएको देखिन्छन् ।। २६–२७ ।।


यथा नदीनां बहवो अम्बुवेगाः,
समुद्रमेवाभिमुखा द्रवन्ति ।
तथा तवामि नरलोकवीरा,
विशन्ति वक्त्राण्यभिविज्वलन्ति ।।२८।।

पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]

यथा (जसरी) नदीनाम् (नदहिरुका) बहवो अम्बुवेगाः (तीव्रगतिमा बग्ने पानी) समुद्रम् एव (समुद्रतिर) अभिमुखाः (मुख गरेर) द्रवन्ति (बग्छन्) तथा (त्यसै गरी) नरलोकवीरा (मनुष्यलोकका वीर योद्धा) अभिविज्वलन्ति (प्रज्ज्वलित) तव (तपाईंका) वक्त्राणि (मुखहरुमा) अमि (उनीहरु) विशन्ति (प्रवेश गर्छन्)।
तीव्र गतिमा बग्ने नदीको पानी जसरी समुद्रमा प्रवेश गर्छ, त्यसै गरी मनुष्यलोकका वीरयोद्धा बगेर तपाईंको प्रज्ज्वलित मुखहरुमा त्यसै गरी पसेर विलीन भइरहेका छन् ।।२८।।


यथा प्रदीप्तं ज्वलनं पतंगा,
विशन्ति नाशाय समृद्धवेगाः ।
तथैव नाशाय विशन्ति लोका
स्तवापि वक्त्राणि समृद्धवेगाः ।।२९।।

पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]

पतंगा (पुतलीहरु) नाशाय (मर्नका लागि) यथा (जसरी) प्रदीप्तम् (बलेको) ज्वलनम् (अग्निमा) समृद्धवेगाः (तीव्र गतिमा) विशन्ति (प्रवेश गर्छन्) तथा एव (त्यसै गरी) लोकाः (लोक) अपि (पनि) तव (तपाईंका) वक्त्राणि (मुखहरुमा) समृद्धवेगाः (तीव्रवेगमा) विशन्ति (प्रवेश गर्छन््)।
पुतलीहरु मर्नका लागि बेतोडसँग उडेर गई बलेको अग्निमामा जसरी पर्छन्, त्यसै गरी त्यसै गरी तपाईंको मुखमा यो सारा लोक मर्नकै लागि दौडेर प्रवेश गरेका छन् ।।२९।।


लेलिह्यसे ग्रसमानःसमन्ता
ल्लोकान्समग्रान्वदनैज्र्वलद्भिः ।
तेजोभिरापूर्य जगत्समग्रं,
भासस्तवोग्रा प्रतपन्ति विष्णो ।।३०।।

पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]

विष्णो (हे विष्णो, हे भगवन्) ज्वलद्भिः (बलेको) वदनैः (मुखहरुद्वारा) समन्तात् (सबैतिरबाट) समग्रान् (सम्पूर्ण) लोकान् (संसारहरुको) ग्रसमानः (गाँस हालिरहेको) लेलिह्यसे (चाटेर स्वाद लिइरहेका छन्) तव (तपाईंको) उग्रा (उग्र) तेजोभिः (तेजद्वारा) आपूर्य (परिपूर्ण) जगत् समग्रम् (समग्र जगत्) भासः (प्रकाशित) प्रतपन्ति (तताई रहेको छ)।
हे भगवन्, चारैतिरबाट सबैलाई बलिरहेका मुखहरुमा गास हालेर स्वाद लिनु भएको छ । तपाईंको आफ्नै उग्रप्रभाव र तेजले समस्त विश्वलाई व्याप्त गरेर तताईरहेको छ ।।३०।।


आख्याहि मे को भवानुग्ररुपो,
नमोऽस्तु ते देववर प्रसीद ।
विज्ञातुमिच्छामि भवन्तमाद्यं,
न हि प्रजानामि तव प्रवृतिम् ।।३१।।

पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]

भवान् (तपाईं) उग्ररुपः (उग्ररुपमा) को (को हुनुहुन्छ) मे (मलाई) आख्याहि (बताउनुहोस्) देववर (हे देवश्रेष्ठ) नमः अस्तु ते (तपाईंलाई नमस्कार छ) प्रसीद (प्रसन्न हुनुहोस्) भवन्तम् (तपाईंलाई) विज्ञातुम् (जान्न) इच्छामि (मैले चाहन्छु) आद्यम् (आदि पुरुष) तव (तपाईंको) प्रवृतिम् (प्रवृत्ति, रुप) न हि प्रजानामि (जानिन) ।
(कृपया) मलाई बताउनुहोस् । उग्ररुप धारण गर्ने तपाईं को हुनुहुन्छ ? हे देवश्रेष्ठ, तपाईंलाई नमस्कार छ, प्रसन्न हुनुहोस् । मैले के जान्न चाहन्छु भने आदि पुरुष हजुर को हुनुहुन्छ (के हुनुहुन्छ), किनभने तपाईंको यस प्रवृत्तिको कारण के हो, त्यो मैले बिलकुलै जान्निन ।। ३१।।

अर्जुनले भन्छन्– जसरी बत्ती देखेर पुतली मर्नलाई वेगले हामफाल्छ त्यसै गरी दुवै सेनाका योद्धाहरु तीव्र वेगले बगेको नदी समुद्रमा विलीन भए झैं विश्वरुपका मुखमा रुँदै कराउँदै प्रवेश गरिरहेका छन् । कोही कोही योद्धाहरु दाँतमा अड्किएर छटपटाएका छन् । कराल मुखले यो सबै स्वाद मानेर चपाइरहेको छ ।
अर्जुनले लिएका नामहरुको प्रतीकात्मक अर्थ पनि छ । उनले लिएका नामहरु धृतराष्ट्रका सबै पुत्रहरु, पितामह भीष्म, आचार्य द्रोण, र सूतपुत्र कर्ण हुन् । धृतराष्ट्र मोहरुपी अज्ञानका प्रतीक हुन् । दुर्योधन (अहङ्कार), दुःशासन (अविवेक) क्रोध आदि सयौं विकारलाई यहाँ धृतराष्ट्रका पुत्रहरु भनिएको छ । यी सबै अज्ञानबाट जन्मिन्छन् । यिनमा विजय प्राप्त गर्नु नै लक्ष्य हो । यी विकारलाई विजय गर्नै पर्छ अन्यथा साधना सफल हुँदैन ।
यस वर्णनबाट अर्जुनले सोचेको, कौरवलाई मैले मारें भन्ने, कुरा गलत रहेछ । मार्ने त अर्कै रहेछ ।
अर्जुन विश्वरुप हेरेर भयभीत पनि भइरहेका छन् । अनि भन्छन्– हजुर को हुनुहुन्छ, तपाईंको प्रवृत्तिको के हो ? त्यो मैले बिलकुलै जानिन ।
गुहार माग्न नसकिने गरी प्राकृतिक वा मानवीय विपत्ति आइपर्दा, रोक्न नसक्ने डरलाग्दो महामारी फैलिंदा, तथा विश्वयुद्ध जस्तो ठूलो युद्ध घोषणा हुँदा, सर्वसाधारण मानिसहरु आतंकित, भयभीत, एवं किंकर्तव्यविमूढ हुन पुग्छन् ।
अमेरिकाको ट्विन टावरमा वि.सं. २०५८ मा जहाज ठोकाईंदा लगभग २५०० जना जलेर मरेका थिए । विश्वको सबभन्दा अग्लो जुम्ल्याहा टावर हेर्दा हेर्दै धराशायी भएको थियो । यस घटनालाई नाइन–इलेवेन घटना भनिन्छ । त्यो घटना घटित हुँदा प्रत्यक्षदर्शी मात्र होइन टी भी मा समाचार हेर्ने पनि आतङ्कित हुनपुगे ।
जापानमा आएको सुनामी एक सामुद्रिक भूकम्पको घटना थियो जुन घटना हुँदा सारा लोक वि.सं.२०६८ मा भयभीत बनेका थिए । अफ्रीकामा स्वाइन फ्लुको महामारी फैलिंदा जनजीवन त्रस्त बनेको थियो। वि.सं. २०७२ को भूकम्पमा नेपालमा त्राहि–त्राहि मच्चिएको थियो । वि.सं.२०७७–७८ मा कोविड महामारीले संसार भरिका मानिसहरुले लगभग एक वर्ष घरभित्र बसेर बिताउनु पर्यो ।

श्रीभगवानुवाच
[सम्पादन गर्नुहोस्]

कालोऽस्मि लोकक्षयकृत्प्रवृद्धो,
लोकान्समाहर्तुमिह प्रवृत्तः ।
ऋतेऽपि त्वां न भविष्यन्ति सर्वे,
येऽवस्थिताः प्रत्यनीकेषु योधाः ।। ३२।।

पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]

श्रीभगवान् उवाच (भगवान् कृष्णले भन्नु भयो) कालः अस्मि (काल हूँ) लोकक्षयकृत् (लोकलाई नाश गर्नका लागि) मप्रवृद्धो (निरन्तर बढ्दै गरेको) लोकान् समाहर्तुम् (संहार गर्न) इह (यहाँ) प्रवृत्तः (प्रवृत्त भएको) त्वाम् (तिमी) ऋते अपि (हत नभए पनि) ये (जुन) प्रति अनीकेषु (शत्रु सैन्यका) अवस्थिताः (अवस्थित) सर्वे (यी सबै) योधाः (योद्धाहरुमा) न भविष्यन्ति (हुने छैनन्)।
विश्वरुप भगवान् कृष्णले भन्नु भयो – लोकलाई नाश गर्नका लागि निरन्तर बढ्दै गरेको महाकाल भएर म आएको छु । सबै लोकलाई नाश गर्नका लागि प्रवृत्त भएको छु । तिमी नभए पनि शत्रु सैन्यमा भएका यी सबै योद्धाहरुमा कोही बाँकी रहने छैनन् ।।३२।।

ईश्वर भनेको छवटा शक्तिको अनन्त सामथ्र्य हो । यसै शक्तिले गर्दा सारा संसार, ग्रह–नक्षत्र, प्राणीहरु एक स्थानमा एकै चोटी देखाउन सक्नु हुन्छ । भूत, वर्तमान र भविष्यलाई पनि एक क्षणमा देखाइदिन सक्नु हुन्छ । समय र स्थान दुवै उहाँको नियन्त्रणमा छन् ।
परम सत्ताको रुपमा भगवान् श्रीकृष्णका लागि न कुनै भूत छ, न कुनै भविष्य छ । सबै वर्तमान छ । भूतकाल, वर्तमानकाल र भविष्यत्काल विश्वरुपभित्र रहेकोले नै यसलाई महाकाल भनिएको हो ।
द्वितीय विश्वयुद्ध आफ्नो चरम उत्कर्षमा थियो । अमेरिका युद्धमा प्रत्यक्ष सामेल थिएन । जर्मनलाई घुँडा टेकाउन आधुनिक विस्फोटक आविष्कार गर्ने उद्देश्यले अमेरिकामा म्यानहट्टन परियोजना सञ्चालित थियो जसलाई ट्रिनिटी नाम दिइएको थियो ।

चित्र ११.२ परमाणु बम

ओपेनहाइमरको संयोजकत्वमा त्यस परियोजनाले परमाणु बमको सफल परीक्षण गर्यो । पत्रकारहरुले उनलाई प्रश्न गरे– ‘यत्रो ठूलो सफलता तपाईंले पाउनु भयो । खुशीको चरम क्षणमा तपाईंले कसलाई सम्झनु भयो ?’ उनले विश्वरुपको स्मरण आएको बताउँदै अध्याय ११ को ३२ र ३३ औं श्लोकलाई दोहार्याउँदै दिएका थिए । यी दुई श्लोकलाई यस्ता श्लोक मानिन्छ जसको अनुभव स्वयं परमाणु वैज्ञानिक ओपेनहाइमरले गरेका हुन् ।
परमाणु बम संसार विध्वंस गर्नका लागि एकै छिनमा बढेको महाकाल साबित भयो । जर्मन पहिल्यै पराजित भएको थियो । जापान जस्तो शक्तिशाली योद्धाले भरिएको राष्ट्रले आत्मसमर्पण गर्यो । अमेरिकाले विजयको यश प्राप्त गर्यो ।


तस्मात्त्वमुत्तिष्ठ यशो लभस्व,
जित्वा शत्रून्भुङ्क्ष्व राज्यं समृद्धम् ।
मयैवैते निहताः पूर्वमेव,
निमित्त मात्रं भव सव्यसाचिन् ।।३३।।

पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]

तस्मात् (त्यसैले) त्वम् (तिमी) उत्तिष्ठ (उठ) यशः (यश) लभस्व (प्राप्त गर) जित्वा (जितेर) शत्रूुन् (शत्रुलाई) भुङ्क्ष्व (भोग गर) राज्यम् समृद्धम् ( समृद्ध राज्यको) मया एव (मैले नै) एते निहताः (यिनीहरुलाई मारिसकेको छु) पूर्वम् एव (पहिले नै) सव्यसाचिन् (हे अर्जुन) निमित्त मात्रम् (निमित्त मात्र) भव (होउ)।
त्यसकारण तिमी उठ, यश प्राप्त गर । शत्रुलाई जितेर समृद्ध राज्य भोग गर । मैले तिम्रा ती शत्रुलाई पहिले नै मारिसकेको छु । हे सव्यसाची, तिमी केवल निमित्त मात्र होउ ।।३३।।

निमित्त मात्र भव सव्यसाचिन्मा आलङ्कारिक प्रयोग भएको छ । कुनै कार्यसंग नगाँसिने तर सो कार्यका लागि नभई नहुने कारणलाई निमित्त भनिन्छ । पानी तताउनमा आगो कारण हो भाँडो होइन । भाँडो निमित्त हो । त्यो भाँडो नभए अर्को भाँडोमा तताउन सकिन्छ । कुरुक्षेत्र युद्धमा अर्जुन नभए अर्को निमित्त हुन्छ । तर युद्धको परिणाम निश्चित छ । महाभारतमा भीष्म पितामहलाई वास्तवमा मार्ने अर्जुन थिए, शिखण्डी निमित्त मात्र थियो । जयद्रथ वधको सम्पूर्ण रणनीतिकार भगवान् श्रीकृष्ण हुनुहुन्थ्यो ।
बाइबिल एक्सोडस २०.२–५ तुलना गर्नुहोस् – म तिमीहरुको परमात्मा हूँ जसले तिमीहरुलाई इजिप्टबाट उद्धार गर्यो । म बाहेक तिमीहरुको अर्को ईश्वर छैन । आफ्ना लागि मेरो कुनै मूर्ति नबनाउनु । मलाई घृणा गर्ने माथि मलाई रीस उठ्छ, मैले त्यसलाई कडा दण्ड दिन्छु । यी टेन कमान्डमेन्ट्सका वाक्यहरु हुन् ।
सव्यसाचीको अर्थ हो दुवै हातले हतियार चलाउन सिपालु । अस्त्रशस्त्रमा अत्यधिक सीप भएको । तर यति हुँदा पनि अर्जुन केवल निमित्त हो, कारण होइन ।
ओशो रजनीशले भनेका छन्– मानव स्वतन्त्रता र अधिकारको अन्तिम सीमा कहाँसम्म छ? कि अर्काको हत्या कि आफ्नो हत्या ? विध्वंशमा नै मानवले स्वतन्त्रता अनुभव गर्छ । तर नियतिलाई स्वीकार गर्नेले यसलाई गलत हो भन्ने कुरा बुझ्छ ।
जसले भविष्यलाई नियतिको हातमा छोड्छ ऊ मात्र वर्तमानमा आनन्दित हुनसक्छ । उसले वर्तमानलाई राम्ररी उपभोग गर्न सक्छ । भोलिको देखा जायगा भन्नेले आजको कमाईको आनन्द लिन सक्छ । जसले भोलि बनाउँछु भन्छ उसले आजको आनन्द पनि लिन सक्दैन । भोलि बनाउँछु भन्नेले भोलि त के हो के हो आजको दिन पनि बिगार्छ ।
विश्वरुपले कुरुक्षेत्र युद्धलाई अपरिहार्य नियति प्रमाणित गरेको छ । जसलाई भोग्न सबै बाध्य छन् । यसको सार के हो भने भविष्य हाम्रो हातमा छैन । वर्तमान हाम्रो हातमा छ । त्यसैले आफ्नो वर्तमान कर्तव्य पूरा गर्नु नै सबभन्दा उचित निर्णय हो । नियतिवादको सार नै के हो भने भविष्यमा जे हुने हो त्यो होस् तर वर्तमानलाई पूर्णताका साथ बाँच्नु पर्छ । त्यसैले गीताको दर्शन युद्धको दर्शन होइन शान्तिको दर्शन हो ।


द्रोणं च भीष्मं च जयद्रथं च,
कर्णं तथान्यानपि योधवीरान् ।
मया हतांस्त्वं जहि मा व्यथिष्ठा,
युध्यस्व जेतासि रणे सपत्नान् ।।३४।।

पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]

द्रोणं च भीष्मं च जयद्रथं च, कर्णं (द्रोण, भीष्म, अनि जयद्रथ र कर्ण) तथा अन्यान् अपि (अन्य पनि) योधवीरान् (लडाका वीर) मया (मद्वारा) हतान् (मारी सकिएका छन्) त्वम् (तिमीले) जहि (विजय लेउ) मा व्यथिष्ठा (व्यथित नहोउ) युध्यस्व (युद्ध गर) रणे (लडाईंमा) सपत्नान् (शत्रुहरुलाई) जेतासि (विजयी होउ) ।
द्रोण, भीष्म, जयद्रथ, कर्ण तथा अरु पनि जो जो लडाका वीरहरु छन् ती सबैलाई मैले मारिसकेको छु । उनैलाई तिमी मार, शोक नगर । युद्ध गर । लडाईंमा तिम्रो जीत हुनेछ।।३४।।

तस्मात्त्वमुत्तिष्ठ यशो लभस्व उठ, यश प्राप्त गर भन्ने वाक्यमा उत्साह रसको प्रयोग भएको छ । समाजका लागि कुनै विशेष कार्य गर्दा समाजले त्यस व्यक्तिको जयजयकार गर्छ । यश भनेको त्यही हो ।
जयद्रथ सिन्धुदेशको राजा र राजा वृद्धक्षत्रको पुत्र हो । धृतराष्ट्रकी छोरी दुश्शलासंग विवाह भएकोले नातामा जयद्रथ कौरव र पाण्डवको बैनी जुवाईं हो । पाण्डव वनवासमा जयद्रथले द्रौपदी अपहरणको दुष्कृत्य गरेको थियो । जसलाई भीमले सजायं स्वरुप तत्काल समातेर कपाल खौरेर पठाइदिएका थिए । शिवको तपस्या गरेर अर्जुनबाहेक अन्य पाण्डवहरुले हराउन नसक्ने वरदान जयद्रथलाई प्राप्त थियो ।
कुरुक्षेत्र युद्धमा अर्जुनलाई संशप्तकहरुसंग युद्ध गर्न लगाएर युधिष्ठिरलाई आत्म समर्पण गराउने योजना बनाएको दुर्योधनका लागि आचार्य द्रोणले सातद्वारको एक अभेद्य चक्रव्यूह बनाए । अर्जुन थिएनन् । गर्भमा पिता अजुृन र माताका चक्रव्यूह भेदनबारेका कुराकानी सुनेको भरमा बालक अभिमन्युले त्यस कामको नेतृत्वका लागि आफूलाई प्रस्तुत गर्यो । तर उसले के बतायो भने बाहिर निस्कने तरिका भने उसलाई आउँदैन । भीमले गदा उचालेर भने– भित्र प्रवेश गर्न सकियो भने त निस्कने बेलामा मेरो गदा छँदै छ ।
अभिमन्यु चक्रव्यूह भित्र छिर्नासाथ जयद्रथले छलपूर्वक भीम आदि महारथीलाई भित्र छिर्न दिएन । व्यूह भित्र एक्लो बनाएर अभिमन्युको नृशंस हत्या गराइदिएको कुरा संशप्तकहरुसंगको युद्ध पछि साँझ घर फर्केका अर्जुनले थाहा पाए । दुखित अर्जुनले शपथ लिए– भोलि पल्ट घाम अस्ताउनु अघि जयद्रथको सिर काटेर बदला लिन सकीन भने आगोमा हामफालेर मर्छु ।
त्यसदिनभरि जयद्रथ लुकेर बस्यो । साँझ पर्दा पनि जयद्रथ फेला नपरेकोले अर्जुनले आफ्नो प्रतिज्ञा अनुरुप अग्नि प्रवेशको तयारी गर्न थाले । अर्जुनले आत्महत्या गरेको हेर्न जयद्रथ चउरमा आयो । उसलाई देख्नासाथ कृष्णले अर्जुनलाई शपथ पूरा गर्न बाण चलाउन भने । त्यही बेला अस्ताउन थालेको घाम बाहिर निस्क्यो ।
भगवान कृष्णले चतुराईपूर्वक सुदर्शन चक्रको बादल बनाएर घाम अस्ताइदिएको लीला देखाउनु भएको रहेछ । घाम देखिनासाथ अर्जुनले बाण चलाएर जयद्रथको सिर काटिदिए । योगेश्वर भगवान् श्रीकृष्णको लीलाद्वारा काटिएको सिर जंगलमा वृद्धक्षत्रको काखमा पर्यो । काखबाट तल खस्ना साथ वृद्धक्षत्रको टाउको फुटेर सय टुक्रा भयो ।
धृतराष्ट्रकी छोरी दुश्शलासंग विवाह भएकोले जयद्रथ नातामा पाण्डवको पनि बैनी जुवाईं हो । जयद्रथलाई पनि कसैले मार्न नसकोस भनी विशेष वरदान प्राप्त थियो । जयद्रथको सिर भुईंमा खसाल्नेको टाउको शय टुक्रा भइजानेछ भन्ने वरदान उसका पिता वृद्धक्षत्रले तपस्या गरेर प्राप्त गरेका थिए ।
यहाँ उल्लेख गरेका नामहरु सर्वश्रेष्ठ योद्धाहरुको नाम हो । यस सम्बन्धमा एउटा कथा छ । कृष्णले कुरुक्षेत्र युद्ध हुनु अघि भीष्म, द्रोण, कर्ण र अर्जुनलाई सोध्नु भयो– युद्ध भएमा तपाईंले कतिदिनमा टुङ्ग्याइदिन सक्नु हुन्छ । भीष्मले २० दिनमा वारपार गराइदिनसक्ने बताए । द्रोणाचार्यले २५ दिन लाग्ने बताए, अर्जुनले २८ दिन लाग्ने अनुमान गरे भने कर्णले भने २४ दिनमा युद्ध वारपार गर्नसक्ने बताए ।
गीताले के मान्दछ भने परमात्मा कालको पनि काल हो । उसले सिर्जना मात्र गर्दैन विनाश पनि गर्छ । जुन सृष्टिले वृक्षको हाँगामा नयाँ कोपिला सिर्जना गर्छ, पुरानो पात खसाल्ने व्यवस्था पनि उसैले गर्छ । गीताले कुन सिद्धान्तलाई स्वीकार गर्दैन भने राम्रो जति परमात्माले र नराम्रो जति शैतान जस्तै कुनै शक्तिले गर्छ ।
गीताको विचारमा भूत, वर्तमान र भविष्य अलग अलग छैनन् । परस्पर सम्बन्धित छन् । त्यसैले सिर्जना विनाशको एक अंग हो । विनाश भूत हो भने सिर्जना भविष्य हो र दुवै एउटै निरन्तरताका अंग हुन् ।
भागवतको १२ औं स्कन्धमा के वर्णन छ भने यदुवंशमा आएको अहं र ठाडोपनले गर्दा दुखी बनेका भगवान् श्रीकृष्णले यदुवंश संहारका लागि साम्बलाई निमित्त बनाउनु भयो । फलस्वरुप यदुवंशी युवाहरु ऋषि दुर्वासालाई जिस्काउन गए । एउटा युवालाई दोजिया सुन्दरीको छद्मवेशमा सिंगारे । अनि ऋषिसंग त्यसलाई पुत्र प्राप्तिको आशीर्वाद दिन कपट अनुरोध गर्न थाले । त्रिकालर्शी दुर्वासाले आफूलाई जिस्काएको चाल पाइहाले अनि भने– यसबाट नौ महिना पछि मुसल जन्मने छ । त्यस मुसलले तिमी अहङ्कारी यदुवंशलाई सखाप गर्नेछ ।
नभन्दै नौ महिना पछि मुसल जन्म्यो । यदुवंशीहरुले समुद्रको तीरमा लगेर त्यसलाई घोटी घोटी पानीमा बगाइदिए । अन्तमा, मैरेयक मदिराले मातेका यदुवंशीहरु आपसमा लडेर समाप्त भए । स्वयं श्रीकृष्णलाई बाण हान्ने व्याधाका बाणको टुप्पोमा त्यही मुसलको अन्तिम टुक्रा थियो भनी भागवतमा उल्लेख छ । सङ्क्षेपमा भगवान् श्रीकृष्णले अनुशासनहीनता र कर्तव्यहीनताको शिकार बनेको आफ्नो वंशको समेत संहार गरीदिने व्यवस्था मिलाउनु भएको कुरा कथामा बताइएको छ । यस संहारका लागि नै भगवानले गान्धारीबाट ३६ वर्ष अघि शाप ग्रहण गरिसक्नु भएको थियो ।
भगवान् श्रीकृष्णले भन्नु हुन्छ– ‘द्रोण, भीष्म, जयद्रथ, कर्ण तथा अरु पनि जो जो लडाका वीरहरु छन् ती सबैलाई मैले मारिसकेको छु । यस भनाइका पछाडि परमात्माको समयमाथि पूर्ण नियन्त्रण देखाउँछ । किनभने भगवान् कालका पनि मालिक हुनुहुन्छ । उहाँका लागि भविष्य उत्तिकै स्पष्ट छ जति हामीलाई प्रत्यक्षको जानकारी हुन्छ । उनका लागि के भूत र के भविष्य । उहाँलाई कुन कारणको के परिणाम हुन्छ त्यो सबैपूर्व जानकारी छ ।
यसलाई एउटा उदाहरणबाट स्पष्ट गर्न सकिन्छ । जो मानिस रुखको टुप्पोमा बसेको छ उसले टाढाबाट आउँदै गरेको मानिसलाई पनि देख्छ र अगाडि पुगेको मानिसलाई पनि देख्छ। रुखमुनि बसेको मानिसले त्यस आउँदै गरेको मानिसलाई धेरै पछि मात्र देख्छ । अगाडि टाढा पुगिसकेको मानिसलाई त झन् देख्दैदेख्दैन । योगेश्वर श्रीकृष्ण टुप्पोमा हुनुहुन्छ । आउँदै गरेकालाई पनि देख्नुहुन्छ । गइसकेकालाई पनि देख्नुहुन्छ तर अर्जुनले रुख मुनि बसेको मानिसले झैं केही देख्दैन– कोही पनि छैन । कोही आएको पनि छैन, कोही गइरहेको पनि छैन ।
अर्जुन कालको सीमा भित्र छन् । योगेश्वर भगवान् श्रीकृष्ण कालको सीमाभन्दा पर हुनुहुन्छ– कालातीत । अर्जुनले अगाडि आए पछि मात्र देख्छन् । उनका लागि वर्तमान मात्र छ अरु छैन तर योगेश्वर भगवान् श्रीकृष्णले भूत पनि देख्नुहुन्छ र भविष्य पनि देख्नुहुन्छ । जुन कुरा भविष्यमा घटित हुनेवाला छ त्यो बताइरहनु भएको छ ।
यस विशाल प्रकृतिमा सबै निमित्त मात्र हुन् । आत्मनिर्धारणका सबै दाबी निरर्थक हुन् । प्रकृतिको निर्णयका अगाडि व्यक्तिको असहायता र क्षुद्रतालाई गीताले समर्थन गरेको छ । मानिसले योजना बनाउन सक्छ तर निर्णय परमेश्वरले नै गर्छन् । जुन कुरा निश्चित छ त्यसलाई बदल्न अर्जुनले केही गर्न सक्दैन तर ईश्वर पनि स्वेच्छाचारी र मनमौजी छैनन् । उनले नियम अनुसार निर्णय गर्छन् । वर्तमानमा जेजति परिणाम प्राप्त भएको छ, त्यसमा विगतका कुरा कारण छन् ।
योद्धाहरुले आआफ्नो गति पाइसकेका छन्, तिमीले केवल आफ्नो कर्तव्य गर्ने हो भन्ने कुरा भगवानले भन्दा नबुझेका अर्जुनले बल्ल देखे भीष्म, द्रोण, कर्ण, र जयद्रथ जस्ता योद्धाहरु कालकवलित भइसकेका रहेछन् ।
जयद्रथको अर्थ हुन्छ संग्रामविजयी । सबै संग्राम विजयी योद्धाहरु पनि कालकवलित भइसकेका छन् ।
मयैवैते निहताः पूर्वमेव मैले यी सबै पहिल्यै मारिसकेको छु । वास्तवमा काल त सबैको निश्चित छ । भागवत कथामा भनिए जस्तो सात दिनमा सबैको मृत्यु निश्चित छ । तक्षकरुपी काललाई जतिसुकै प्रयास गरे पनि कसैले रोक्न सक्दैन । किनभने कारणको परिणाम निश्चित छ ।
यस श्लोकले सेक्सपियरको त्यस वाक्यलाई संझना गराउँछ जसमा उनले हामी सबैलाई नाटकको पात्र बताएका छ्न् र सबै पूर्वनिर्धारित भूमिका खेल्न मात्र स्वतन्त्र छन् भनेका छन् । जापानी खेल जुजुत्सो– जुडो खेल भनेको विराटमा समर्पित भएर लड्नु हो । उनीहरुको युद्धकलाको आधार के हो भने जे गर्छ त्यस विराटले गर्छ । यसैले उनलाई अनन्त शक्ति प्राप्त हुन्छ । विश्वरुपको निहितार्थ नबुझ्ने हो भने दुई विश्व युद्ध बेहोरेको विश्वले तेस्रो विश्वयुद्ध बेहोर्नु पर्ने हुन्छ । 


एतच्छ्रुत्वा वचनं केशवस्य,
कृताञ्जलिर्वेपमानः किरीटी ।
नमस्कृत्वा भूय एवाह कृष्णं,
सगद्गदं भीतभीतः प्रणम्य ।।३५।।

पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]

सञ्जय उवाच (सञ्जयले भने)
केशवस्य (केशवका) एतत् (यस्ता) वचनम् (वचन) श्रुत्वा (सुनेर) कृत अञ्जलिः (हात जोडेर) वेपमानः (थर्थर गर्दै) किरीटी (अर्जुनले) नमस्कृत्वा (नमस्कार गर्दै) भूय एव (फेरि पनि) कृष्णम् (भगवान् कृष्णलाई) भीतभीतः (डराई डराई) सगद्गदम् (गद्गद् स्वरमा) प्रणम्य (प्रणाम गर्दै) आह (भन्न थाले)।
सञ्जयले भने–
(भगवान्) केशवका यस्ता वचन सुनेर दुई हात जोडेका भयले थर्थर गर्दै किरीटी (अर्जुन) ले श्रीकृष्णलाई नमस्कार गर्दै डराइ–डराइ (भयको अतिरेकले उत्पन्न अस्पष्ट) गद्गद् स्वरमा भन्न थाले ।।३५।।

अर्जुन डराएका छन् किनभने दिव्यरुप दर्शन गर्दाका कठिनाईहरु पनि छन् । स्वामी विवेकानन्दले पवहारी बाबाको उल्लेख गरेका छन् । उनको ठूलो घर चारैतिर बलियो परखालले बारिएको थियो । कोही भित्र पस्न सक्दैनथ्यो । उनी आफूले पनि कसैसंग कुराकानी गर्दैनथे । केवल हावा मात्र आहार थियो । धेरै प्रयास पछि उनी विवेकानन्दसंग परखालमा बनाइएको सानो प्वालबाट कुरा गर्न राजी भए । ईश्वर साक्षात्कारबारे विवेकानन्दका जिज्ञासाको उत्तर पछि दिने वाचा गरेका पवहारीले केही समयपछि भित्र आत्मदाह गरेर प्राण त्यागेको कुरा उल्लेख गरेका छन् । उनले किन त्यसो गरे त्यो रहस्य नै रह्यो ।
स्वामी विवेकानन्दको आफ्नो अनुभव छ । उनले रामकृष्णलाई प्रायः सोध्ने गर्थे– के तपाईंले ईश्वर देख्नु भएको छ ?
एक दिन रामकृष्णले उत्तरमा भने– तिमीलाई देखेभन्दा राम्रो गरी देखेको छु ।
विवेकानन्द– कहाँ छ ?
रामकृष्ण– तिमीभन्दा पनि नजीक छ ।
विवेकानन्द– मलाई देखाउन सक्नु हुन्छ ?
रामकृष्ण– सक्छु । तर त्यो देख्नका लागि तिम्रो क्षमता पुग्दैन । ईश्वर हेर्न चाहन्छौ, लौ हेर।
यस पछि अचानक आफ्नो दाहिने खुट्टा उचालेर विवेकानन्दको छातीमा लगाए । अचानकको घटनाबाट विवेकानन्द रन्थनिए । उनले बताएका छन्– त्यस पछि म जोडले चिच्याए जस्तो लाग्यो । अनि सारा कोठा, सारा दृश्य फनफनी नाच्न थाल्यो अनि मेरो चेत हरायो ।
जब विवेकानन्दको चेत खुल्यो उनले देखे रामकृष्ण गहन ध्यानमा छन् ।
अध्याय ११ का ३६ देखि ४५ का दश श्लोकहरुमा अर्जुनद्वारा गरिएको सुन्दर स्तुति छ । यस स्तुतिले अध्याय ११ लाई गीताको उपासना खण्डको रुपमा प्रस्तुत गर्छ । जुन श्लोक बोलेर अर्जुनले प्रत्यक्ष परमात्माको स्तुति गरेका छन्, ती श्लोकहरुको दिव्य प्रभावलाई शब्दले व्यक्त गर्न सकिंदैन ।


यु टयुब ः भगवान् श्रीकृष्णले अर्जुनलाई विश्वरुप देखाउनु भयो

www.Mahabharata73,74,75.com

अर्जुन उवाच
[सम्पादन गर्नुहोस्]

स्थाने हृषीकेश तव प्रकीर्त्या,
जगत्प्रहृष्यत्यनुरज्यते च ।
रक्षांसि भीतानि दिशो द्रवन्ति,
सर्वे नमस्यन्ति च सिद्धसङ्घाः ।।३६।।


कस्माच्च ते न नमेरन्महात्मन्,
गरीयसे ब्रह्मणोप्यादिकत्र्रे ।
अनन्त देवेश जगन्निवास,
त्वमक्षरं सदसतत्परं यत् ।।३७।।


त्वमादिदेवः पुरुषः पुराण
स्त्वमस्य विश्वस्य परं निधानम् ।
वेत्तासि वेद्यं च परं च धाम,
त्वया ततं विश्वमनन्तरुप ।।३८।।


वायुर्यमोsग्नि वरुण शशांकः,
प्रजापतिस्त्वं प्रपितामहश्च ।
नमो नमस्तेsस्तु सहस्रकृत्वः,
पुनश्च भूयोsपि नमो नमस्ते ।।३९।।


नमः पुरस्तादथ पृष्ठतस्ते,
नमोsस्तु ते सर्वत एव सर्व ।
अनन्तवीर्यामितविक्रमस्त्वं,
सर्वं समाप्नोषि ततोsसि सर्व ः ।।४०।।


सखेति मत्वा प्रसभं यदुक्तं,
हे कृष्ण हे यादव हे सखेति ।
अजानता महिमानं तवेदं,
मया प्रमादात्प्रणयेन वापि ।।४१।।


यच्चावहासार्थमसत्कृतोsसि,
विहार शयायासनभोजनेषु ।
एकोsथवाप्यच्युत तत्समक्षं,
तत्क्षामये त्वामहमप्रमेयम् ।।४२।।


पितासि लोकस्य चराचरस्य,
त्वमस्य पूज्यश्च गुरुर्गरीयान् ।
न त्वत्समोsस्त्यभ्यधिकः कुतोsन्यो,
लोकत्रयेsप्यप्रतिमप्रभाव ।।४३।।


तस्मात्प्रणम्य प्रणिधाय कायं,
प्रसादये त्वामहमीशमीड्यम् ।
पितेव पुत्रस्य सखेव सख्युः,
प्रियः प्रियायार्हसि देव सोढुम् ।।४४।।


अदृष्टपूर्वम् हृषितोsस्मि दृष्ट्वा,
भयेन च प्रव्यथितं मनो मे ।
तदेव दर्शय देवरुपं,
प्रसीद देवेश जगन्निवास ।।४५।।


किरीटिनं गदिनं चक्रहस्त
मिच्छामि त्वां द्रष्टुमहं तथैव ।
तेनैव रुपेण चतुर्भुजेन,
सहस्रबाहो भव विश्वमूर्ते ।।४६।।

अर्जुनले गरेको स्तुति
[सम्पादन गर्नुहोस्]

हे हृषीकेश, सबै जगत् तपाईंको गुण कीर्तनले प्रसन्न भएबो छ, र त्यसैमा अनुरक्त पनि छ। राक्षसहरु तपाईंका डरले दश दिशामा भाग्न लागेका छन् । सिद्ध पुरुषहरुको समाजले तपाईंलाई नमस्कार गरेका छन् ।। ३६ ।।
हे महात्मन, तपाईं ब्रह्माका पनि आदिकर्ता र उनीभन्दा पनि श्रेष्ठ हुनुहुन्छ । तपाईंलाई तिनीहरुले नमस्कार किन नगरुन् ? हे अनन्त, हे देवेश, हे जगन्निवास, सत् र असत् तपाईं नै हुनुहुन्छ । यी दुईदेखि परको जुन अक्षर ब्रह्म हो त्यो पनि तपाईं नै हो ।।३७।।
हे अनन्तरुप, तपाईं आदिदेव, अनादि पुरुष, यस विश्वको अन्तिम आधार, ज्ञाता, ज्ञेय, तथा परम धाम (श्रेष्ठ स्थान) हुनुहुन्छ । तपाईंद्वारा विश्व व्याप्त छ ।।३८।।
वायु, यम, अग्नि, वरुण, (आदि देवताका पिता) ब्रह्मा (तपाईं) अनि उनका पनि पिता तपाईं नै हो । तपाईंलाई हजारौंपटक नमस्कार छ । फेरि त्यो भन्दा पनि अझ धेरै नमस्कार छ।।३९।।
हे सर्वात्मा विश्वरुप, तपाईंलाई अगाडिबाट, पछाडिबाट वरिपरि (दायाँ बायाँ) जताततैबाट नमस्कार छ । हे अनन्त शक्ति भएका, तपाईंले आफ्नो अमित शक्तिले सारा ब्रह्माण्डलाई राम्ररी व्याप्त गर्नु भएको छ । त्यसैले, तपाईं सर्वरुप हुनुहुन्छ ।।४०।।
हे अच्युत, तपाईंको यस्तो प्रभावलाई नजानेर भूलवश साथी ठान्दै मैले लापरवाही वा प्रेम भावले हे कृष्ण, हे यादव, हे साथी इत्यादि भनेर जेजस्तो अटेरी (समानताको) सम्बोधन गरें तथा (संगै) खाँदा, बस्दा, सुत्दा, भोजन गर्दा, तपाईंको उपहासका लागि जो असम्मान गरें, त्यसको निम्ति तपाईंसंग क्षमा माग्दछु ।।४१,४२।।
तपाईं यस चराचर जगत्का पिता, गरिमामय र पूजनीय गुरु हुन्छ । हे अप्रतिम प्रभाव भएका परमात्मा, तीन लोकमा तपाईं बराबर नै कोही छैन भने तपाईं भन्दा बढ्ता अर्को को होला ? ।। ४३ ।।
हे देव, तपाईं स्तुति योग्य र सामाथ्र्यवान् हुनुहुन्छ, त्यसैले मैले शरीर निहुराएर नमस्कार गर्दै प्रार्थना गर्छु– प्रसन्न भइजानुहोस् । जसरी पिताले आफ्नो पुत्रका, साथीले साथीका, प्रेमीले प्रियतमाका अपराधलाई सहन गर्छन् । त्यसै गरी तपाईंले मेरा अपराध सहन गर्नुहोस्।।४४।।
यस अघि कहिल्यै नदेखेको तपाईंको यस आश्चर्यजनक स्वरुप देखेर मलाई हर्ष भएको छ । तर मेरो मन भयले व्याकुल भइरहेको छ । हे जगन्निवास (ममाथि) प्रसन्न हुनुहोस् र हे देवेश, आफ्नो पहिलेको देवरुपलाई नै देखाउनुहोस् ।।।४५।।
हे विश्वरुप, तपाईंलाई मैले पहिलेको जस्तै मुकुटधारी, गदा र चक्र हातमा लिनुभएको देख्न चाहन्छु । हे सहस्रबाहो, उही चतुर्भुज रुपको नै भइजानुहोस् ।। ४६ ।।

स्वामी ईश्वरानन्दका अनुसार, प्रियः प्रियायार्हसि देव सोढुम् श्लोकको प्रियायार्हसिमा इव शब्दको लोप र सन्धिकार्य छान्दस प्रयोग मानिएको छ । यसै गरी श्लोक ४८ र ५४ को शक्य अहंलाई पाणिनीय व्याकरणमा शक्योद्रहम् लेखिन्छ । यद्यपि यी छन्दहरु हेर्दा इन्द्रवज्रा, उपेन्द्रवज्रा जस्तै देखिन्छन् तर गणको नियम केही पनि छैन । जस्तै वेदमा एकादशाक्षरी त्रिष्टुप छन्द हुन्छन्, त्यस्तै यी छन् । त्यसैले के बुझिन्छ भने यी श्लोकहरुको रचना लौकिक छन्दहरुको विकास हुनुअघि भएको रहेछ । यसबाट गीता शास्त्रको प्राचीनता सिद्ध हुन्छ ।
निर्वासनमा परेका युवराजको एउटा कथा छ । हलुवाईको पसल अगाडि एउटा युवा भिखारी माग्न आयो– ‘धेरै दिनको भोको छु । केही खान दिनु होस् ।’
हलुवाईले त्यस युवा भिखारीलाई भन्यो– ‘तन्नेरी भएर काम गरेर पो खाने हो, मागेर खान लाज लाग्दैन ?’ यति भनेर तिरस्कारपूर्वक एउटा रोटी दियो ।
त्यसपछि सधैं त्यो युवा एउटा रोटीका लागि घण्टौं तिरस्कार सहेर बस्दो रहेछ ।
एक दिन त्यस देशको मन्त्री केही सिपाही र रथ लिएर त्यहाँ आइपुग्यो । हलुवाईलाई सोध्यो– ‘यहाँ कोही लक्का जवान देखेका छौ ? मागेर खान्छ रे ।’
देशको मन्त्री देखेपछि आदरभाव प्रकट गर्दै हल्वाई उभियो । मन्त्रीले फेरि भन्न थाल्यो– ‘त्यो युवा राजाको जेठो छोरो हो, युवराज । कुनै कारणले राजाले रिसाएर दरबारबाट निकालेका थिए । अब राजाको रीस शान्त भएको छ । युवराजलाई खोजेर ल्याउन पठाएका छन् ।’
राजाको छोरो भएकोले उसले केही काम गर्नै नजान्ने रहेछ । अरु कुनै सीप नभएकोले मागेर खाँदो रहेछ । यो कुरा बल्ल हलुवाईले बुझ्यो ।
अनि दौडेर युवा भिखारी भए ठाउँमा गयो । विगतमा गरेका अनादरका लागि पछुतो मान्यो । आदर सहित प्रणाम गर्यो– राजन्, मैले केही गलती गरेको भए माफी गर्नु होला । तपाईंको महिमा बल्ल जानें । आउनुहोस्, मेरा घरमा बसेर केही खाइदिनुहोस् । मलाई कृपा गर्नुहोस् ।’
कसैको महिमा थाहा पाउनासाथ आफ्ना गलतीहरु प्रति पछुतो हुन्छ र भित्रैबाट आदर सम्मान प्रकट हुनजान्छ । विश्वरुप देखेर अर्जुनले पछुतो मानेर स्तुति गर्दै छन्– ‘हे अच्युत, तपाईंलाई मामूली ठानेर के के न भनें हूँला । असत्कार गरें हूला । अनजानमा भएको गलती ठानेर क्षमा गर्नु होला । तपाईंभन्दा ठूलो को के कुरा तपाईंको बराबर पनि कोही हुनसक्दैन।’
जताततै परमात्माको स्वरुप मात्र देखिरहेका अर्जुन भय र आश्चर्यले थर्थर भइरहेका छन् । जताततै नमस्कार गरिरहेका छन् ।
शीशमहलमा झुक्किएर एउटा कुकुर पसेको कथा छ । त्यहाँ त्यो रातभरि बन्द भयो । बिहान जब ढोका खोलियो, त्यो कुकुर मृत फेला पर्यो । त्यस महलका भित्तामा जताततै ऐना लागेका थिए । भित्र पसेपछि उसले जता हेर्यो उतै कुकुर देखेछ । तर्सेर ऊ भुक्दा शीशा भित्रका हजारौं कुकुर झम्टिएर भुक्थे । चारैतिर कुकुर भुकेको देख्दा आफू आत्तिएछ । जताततै शीशामा झम्टिँदा घाइते र रगताम्य भएर मर्यो ।
अर्जुनले पनि जताततै परमात्मा देखिरहेका छन् । जुन स्वरुप जताततै छ, त्यसलाई कसरी नमस्कार गर्ने ? त्यसको एक मात्र तरिका अर्जुनले गरे जस्तै हो ।
‘सहस्रबाहु बन्नु भएका हे विश्वरुप, फेरि उही सुन्दर चतुर्बाहु स्वरुपको दर्शन गर्न पाउँ ।’ उही चतुर्भुजस्वरुप यस अघि कहाँ देखे ? यस आधारमा यो पनि एक जटिल हलोक हो । तथापि यस श्लोकका अर्थको सम्बन्धमा केही अनुमान गर्न सकिन्छ । मनुष्यरुप (द्विभुज) कृष्ण र अनन्तबाहु कृष्णको बीचमा कुनै समयमा चतुर्भुजरुप उनले अकस्मात् देखे होलान् किनभने त्यस समयमा उनले दिव्यदृष्टि प्राप्त गरेका थिए ।
यस अध्यायका स्तुतिमा भगवान् श्रीकृष्णका निम्नलिखित ३२ गुणको कीर्तन गरिएको छ–
१.असत्– अव्यक्त, नदेखिने, आभास हुने, सत्को विपरीत
२. अक्षर– जुन नाश हुँदैन, सच्चिदानन्द, ब्रह्म
३. अनन्तरुप– ज्ञात अज्ञात, देखिने नदेखिने सबै प्रकारका रुप
४. अग्नि– जीवन तत्त्वको आधार ऊर्जा
५.अनन्त– केवल एक त्यो मात्र, परमात्मा
६. अनन्तवीर्य– अनन्त सामथ्र्य
७. अमितविक्रम– अनन्त पराक्रमशाली
८. प्रतिमप्रभाव– अनुपम प्रभाव
९. अच्युत– जसबाट कहिल्यै त्रुटि हुँदैन
१०. आदिकत्र्रे– आदि कर्ता, पहिलो सृष्टिकर्ता, ब्रह्माको पनि सिर्जनकर्ता
११. आदिदेव– सबैभन्दा पहिले हुने देव, देवताहरुभन्दा पनि पहिलेका देव,
१२. गुरुर्गरीयान्– सबै कुराको गुरुताका आधार
१३. चराचरलोकस्यपिता– कालातीत भएकोले चल अचल सबैका जन्मदाता
१४. जगन्निवास– सृष्टिको अन्तिम आश्रय, जहांबाट यो सृष्टि सुरु र जहां गएर यो बिसाउँछ
१५. देवेश– देवताहरुका पनि देव, महादेव
१६. पुराण– सबै भन्दा सुरुको
१७. सनातन– जसको सुरु र अन्त दुवै छैन
१८. पुरुष– विष्णु, शिव
१९.परम्धाम– सर्वश्रेष्ठ आश्रय
२०.प्रजापति– जीव प्राणीहरुका स्वामी
२१. प्रपितामह– पितामह (ब्रह्मा) का पनि पिता २२. महात्मन्– विशाल मन भएको
२३. यम– नियम, विनाशकर्ता
२४.वेत्ता– सबै कुराको ज्ञाता
२५. वेद्यम– जान्नु पर्ने
२६. वायु– शुद्ध गर्ने शक्ति, जीवनी शक्ति,
२७.वरुण– सिर्जना गर्ने शक्ति, जल
२८. विश्वरुप– संसार नै परमात्माको रुपमा वा परमात्मामा सारा संसार देखिने रुप, सारा सृष्टि, सारा समय (भूत र भविष्य समेत) देखिनु
२९.शशाङ्क– रस र बीज उत्पादन गर्ने शक्ति, चन्द्रमा
३०.सत्– देखिने, यथार्थ
३१. सर्वंसमाप्नोषि– सारा संसारलाई व्याप्त गर्ने
३२. हृषीकेश– अन्तर्यामी, इन्द्रियका स्वामी, विवेक ।
अर्को संयोग के हो भने गीता ग्रन्थ भरिमा भगवान् श्रीकृष्णलाई निम्नलिखित ३२ वटा विभिन्न नामले बोलाइएको छ– अच्युत, अनन्तरुप, अप्रमेय, अप्रतिमप्रभाव, अरिसूदन, कमलपत्राक्ष, केशव, केशिनिसूदन, कृष्ण, गोविन्द, जगन्निवास, जनार्दन, देव, देवेश, परमेश्वर, प्रभु, प्रजापति, पुरुषोत्तम, मधुसूदन, भगवान्, महात्मन्, महायोगेश्वर, माधव, यादव, योगेश्वर, वार्ष्णेय, वासुदेव, विश्वमूर्ते, विश्वेश्वर, विष्णु, हरि, हृषीकेश ।
सहस्रबाहु र चतुर्बाहुको अर्को अर्थ पनि छ । सहस्रबाहु शिवको विशेषण हो र चतुर्बाहु विष्णुको । त्यसैले यो अनुरोध वर्तमान भयकारक रौद्ररुपबाट सौम्य विष्णुरुपमा परिवर्तन भइजाने अनुरोध पनि हो ।
यस श्लोकको साङ्केतिक अर्थ पनि छ त्यो के भने सहस्रबाहु रुप सृष्टिसंहारक रुप हो तथा चतुर्भुज रुप प्रेम र पालनको प्रतीक हो ।
जब बालकलाई आमाले प्रेमपूर्वक बोक्छिन् तब बालकका दुई काखीमा आमाका दुई हात जोडिएका हुन्छन् । यही भक्तवत्सल चतुर्भुजस्वरुपको सन्देश हो । भागवतमा भनिएको छ– यस स्वरुपले माता देवकीले आनन्द प्राप्त गरेकी थिइन् ।
आदि गुरु आचार्य शंकर आमाको अन्तिम दर्शनका लागि घर पुगे । आमाको मुक्तिका लागि परब्रह्म तत्त्व सुनाउँदै भने– ‘आमा, तपाईंले परब्रह्मको स्वरूप थाहा पाएपछि मोक्षलाभ गर्नुहुने छ ।’
आचार्यले सुनाएको तत्त्वोपदेशको केही अंश सुनेर विशिष्टादेवीले भनिन्– ‘छोरा, म अशिक्षित स्त्री हुँ । मन–वाणी बिना त्यस निर्गुण ब्रह्मलाई मैले कसरी बुझ्ने ? मलाई देव विग्रहको दर्शन गराउ । यसले मेरो जीवन सार्थक हुनेछ ।’
आमाको प्रीतिका लागि उनले भुजङ्गप्रयात छन्दमा अष्टमूर्ति महादेवको स्तोत्र रचेर पाठ गरे । महादेवले शङ्कराचार्यको स्तुतिबाट प्रसन्न भएर विशिष्टा देवीलाई शिवलोकमा लैजानका लागि अनुचरहरू पठाइदिए । तर शङ्करकी माता त्रिशूल–पिनाक–धारी भीषणमूर्ति शिवदूतहरूलाई देखेर भयभीत भइन् र भन्न थालिन्– ‘छोरा, यो मूर्ति बहुतै भयङ्कर छ । यसको साथमा जान मलाई डरलाग्छ ।’
आचार्यले विनयपूर्वक प्रार्थना गर्दै शिवदूतहरूलाई विदा गरे । शङ्करकी माता भगवान् विष्णुको चतुर्बाहु स्वरुपको भक्ति गर्थिन् । उनको अन्तिम इच्छा पूरा गर्नका लागि शङ्करले अत्यन्त कातर भएर श्रीविष्णुका चरणमा प्रार्थना गर्न थाले ।
उनको स्तुतिबाट प्रसन्न भएर शंख–चक्र–गदा–पद्मधारी श्रीभगवान् विष्णुले दिव्य ज्योतिद्वारा दश दिशाहरू उज्यालो गराउँदै आचार्य नजीक आएर उनको प्रार्थना अनुसार विशिष्टा देवीलाई दर्शन दिए । छोराको तपः प्रभावबाट विशिष्टादेवीले आनन्दपूर्वक परम–पद प्राप्त गरिन् ।
परमशक्तिको रुपमा शिव र विष्णुमा अन्तर छैन भन्ने कुरा स्पष्ट हुन्छ । शिवलाई योगेश्वर भने झैं गीतामा श्रीकृष्णलाई योगेश्वर तथा महायोगेश्वर भनिएको छ ।
विष्णुसहस्रनाममा विष्णुका लागि प्रयुक्त भएका केही नामहरु यस प्रकार छन्– स्थाणु, शम्भु, शिव, ईशान, सिद्ध, रुद्र, महादेव । भगवान् शिवको एक नाम विश्वरुप पनि हो किनभने उनको परिवारमा एकादश रुद्र, यक्ष, राक्षस, ऋषि र मुसा मात्र होइन कीरा–फट्याङ्ग्रा, गाई–गोरु, चरा, सर्प, बाघ सारा विश्व छ ।

श्रीभगवानुवाच
[सम्पादन गर्नुहोस्]

मया प्रसन्नेन तवार्जुनेदं,
रुपं परं दर्शितमात्मयोगात् ।
तेजोमयं विश्वमनन्तमाद्यं,
यन्मे त्वदन्येन न दृष्टपूर्वम् ।।४७।।

पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]

श्रीभगवानुवाच (श्रीभगवानले भन्नु भयो) —
अर्जुन (हे अर्जुन) मया (मैले) प्रसन्नेन (प्रसन्न भएर) तव (तिमीलाई) आत्मयोगात् (आफ्नो अलौकिक योगशक्तिले) मे (मेरो, आफ्नो) तेजोमयम् (तेजोमय) अनन्तम् (अनन्त) आद्यम् (आद्य) विश्वम् (विश्वरुप) यत् (जुन) इदम् (यो) रुपम् परम् (परम रुप) दर्शितम् (देखाएँ) त्वत् (तिमी) अन्येन (बाहेक अन्य) न दृष्टपूर्वम् (यस अघि कसैले देखेको थिएन) ।
श्रीभगवानले भन्नु भयो–
हे अर्जुन, मैले प्रसन्न भएर आफ्नो अलौकिक योग सामथ्र्यद्वारा तेजोमय, अनन्त, आद्य, विश्वरुप तिमीलाई देखाएँ । यो स्वरुप तिमी बाहेक अरु कसैले देख्न सकेको थिएन ।।४७।।

आध्यात्मिक ज्ञान कहीं पनि घटित हुनसक्छ । अरविन्दले जेलमा आध्यात्मिक ज्ञान प्राप्त गरेका हुन् । कबीरले कपडा बुन्दाबुन्दै ज्ञान प्राप्त गरे । योगी नरहरिनाथले साधनाद्वारा ज्ञान प्राप्त गरे । स्वर्गद्वारी महाप्रभु जन्मँदै ज्ञानी थिए भनिन्छ । योगमायालाई जीवनका संघर्षले ज्ञान प्राप्त भयो । खप्तड बाबालाई आफ्नै पेशामा अचानक ज्ञान प्राप्त भयो ।
अर्जुनलाई यो आध्यात्मिक ज्ञान युद्धभूमि हतियार समाते पछि प्राप्त भएको छ ।
आध्यात्मिक दृष्टिले अर्जुन र सञ्जयको साङ्केतिक अर्थ पनि छ । कुरुक्षेत्र भनेको शरीर हो। यसै शरीरमा रहेर नै केही गर्न सकिन्छ । यस क्षेत्रका १० इन्द्रिय र एक मन गरेर ११ अक्षौहिणी सेना छन् । अर्जुन अनुरागका प्रतीक हुन् । अक्षको अर्थ दृष्टि पनि हो ।
धृतराष्ट्रको नेत्रहीनता अज्ञानताको प्रतीक हो । सञ्जय संयमका प्रतीक हुन् । योगेश्वर महात्मा श्रीकृष्ण सत्यका प्रतीक हुनुहुन्छ । सबैका भित्र साक्षी चैतन्य, सारथी भएर श्रीकृष्ण बस्नु भएको छ। जुन दिन हाम्रो मनमा अर्जुनको समर्पण गुण उत्पन्न हुन्छ, त्यसै दिन हामीभित्र विश्वरुप प्रकट हुनजान्छ । सत्य दर्शनका यी दुई उपाय हुन्– सञ्जयको संयम र अर्जुनको समर्पण । अर्जुनको समर्पणले नै उनलाई ईश्वर दर्शनका लागि दिव्यदृष्टि प्राप्त भएको हो ।


न वेदयज्ञाध्ययनैर्न दानै
र्न च क्रियाभिर्न तपोभिरुग्रैः ।
एवं रुपः शक्य अहं नृलोके,
द्रष्टुं त्वदन्येन कुरुप्रवीर ।।४८।।

पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]

कुरुप्रवीर (हे कुरुवीरहरुमा श्रेष्ठ) त्वत् अन्येन (तिमीबाहेक अन्य कुनैद्वारा) अहम् (मलाई) न वेद यज्ञ अध्ययनैः (न वेद पाठले, न यज्ञले, न स्वाध्यायले) न दानै (न दानकर्म) न तपोभिः उग्रैः (न उग्र तपस्याले) न च क्रियाभिः (न अन्य कुनै काम गरेर) एवम् (यो) रुपः (स्वरुप) नृलोके (मनुष्यलोकमा) द्रष्टुम् (देख्न) शक्यः (समर्थ छ) ।
हे कुरुवीरहरुमा श्रेष्ठ, तिमीले जुन रुप देख्यौ, वेदपाठ गरेर, यज्ञ गरेर, स्वाध्याय, दान कर्म, वा उग्र तपस्या वा अन्य कुनै काम गरेर मनुष्यलोकमा त्यो रुप कसैले देख्न सक्दैन, जुन रुपलाई तिमीले मात्र देखेका छौ ।।४८।।


मा ते व्यथा मा च विमूढ भावो,
दृष्ट्वा रुपं घोरमीदृङ्ममेदम् ।
व्यपेतभीः प्रीतमनाः पुनस्त्वं,
तदेव मे रुपमिदं प्रपश्य ।।४९।।

पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]

मम (मेरो) इद्म (यो) ईदृक् (यस प्रकारको) घोरम् (घोर) रुपम् (रुप) दृष्ट्वा (देखेर) ते (तिमी) व्यथा (व्यथित, दुखी) मा (नहोउ) च (तथा) विमूढ भावः (मूढ भावयुक्त) मा (नहोउ) व्यपेतभीः (निडर) प्रीतमनाः (प्रसन्न मन युक्त भई) पुनः (फेरि) त्वम् (तिमीले) तत् (त्यो, पहिलेको) एव (नै) मे (मेरो) इदम् (यो) रुपम् (रुप) प्रपश्य (दर्शन गर, हेर) ।
मेरो यस्तो डरलाग्दो रुप देखेर तिमी दुखी नहोउ, मूढ जस्तो पनि नहोउ, निडर र प्रसन्न मन युक्त भई मेरो पहिलेको स्वरुप नै हेर ।।४९।।

दिव्यरुप हेरेर अर्जुन व्यथित भइरहेका छन् ।
दिव्यको अर्थ हो– दैवी, स्वर्गीय, अलौकिक, वा असाधारण शक्तियुक्त, डिवाइन ।
दिव्य दृष्टि सबैले प्राप्त गर्न सक्दैनन् । जसलाई ईश्वरको दर्शन हुनु छ केवल उसले दिव्यदृष्टि प्राप्त गर्छ । किनभने ईश्वर केवल दिव्य दृष्टिबाट देखिन्छन्, सामान्य आँखाबाट देखिंदैनन् । तर यसका लागि साधना आवश्यक पर्छ । बिना साधना दिव्यदृष्टि प्राप्त हुनुमा जोखिम हुन्छ । बिना कुनै गुरु र बिना कुनै साधना परम सत्यको साक्षात्कार गर्ने परिस्थिति बेहार्नु परेकोले नै नीत्से विक्षिप्त भएको कुरा ओशोले बताएका छन् ।

इत्यर्जुनं वासुदेवास्तथोक्त्वा,
स्वकं रुपं दर्शयामास भूयः ।
आश्वासयामास च भीतमेनं,
भूत्वा पुनः सौम्य वपुर्महात्मा ।।५०।।

पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]

सञ्जय उवाच (सञ्जयले भने)
इति (यति भनेर) वासुदेवः (वासुदेव कृष्णले) अर्जुनम् (अर्जुनलाई) तथा (यस्तो) उक्त्वा (भनेर) स्वकम् (आफ्नो) रुपम् (रुप) दर्शयामास (देखाउनु भयो) च (तथा) भूत्वा (भएर) पुनः (फेरि) सौम्य (सौम्य) वपुः (छवि, रुप, शरीर) महात्मा (महात्मा, श्रीकृष्णले) भीतम् (भयभीत) एनम् (त्यस अर्जुनलाई) भूयः (फेरि) आश्वासयामास (धैर्य दिनु भयो, आश्वासन दिनु भयो)।
सञ्जयले (धृतराष्ट्रलाई) भने–
हे महाराज, यति भनेर श्रीकृष्णले अर्जुनलाई यस्तो भनेर फेरि पहिलेको आफ्नो देखाउनु भयो । र सौम्य स्वरुप धारण गरेर महात्मा श्रीकृष्णले भयभीत अर्जुनलाई आश्वासन (धैर्य) पनि दिनु भयो ।। ५० ।।

अर्जुन उवाच
[सम्पादन गर्नुहोस्]

दृष्ट्वेदं मानुषं रुपं तव सौम्यं जनार्दन ।
इदानीमस्मि संवृत्तः सचेताः प्रकृतिं गतः ।। ५१।।

पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]

अर्जुन उवाच (अर्जुनले भने)
जनार्दन (हे जनार्दन, तव (तपाईंको) इदम् (यो) सौम्यम् (शान्त, सौम्य ) मानुषम् (मनुष्य देह धारण गरेको) रुपम् (रुप) दृष्ट्वा (देखेर) इदानीम् (अब) सचेताः (चित्त सहित, प्रसन्नचित्त)संवृत्तः (स्थिर, सहज) अस्मि (भएँ) प्रकृतिम् (स्वाभाविक अवस्थामा) गतः (गएँ) ।
अर्जुनले भने–
हे जनार्दन, तपाईंको यो सौम्य मनुष्य शरीर धारण गरेको देह देखेर म सहज र प्रसन्नचित्त भएँ । अब म आफ्नो स्वभावमा गएँ ।।५१।।

अर्जुनको दिव्यदृष्टि कतिसम्म रह्यो ? यसबारे गीताले प्रष्ट केही नभने पनि ५१ औं श्लोकमा अर्जुनको दिव्य दृष्टि समाप्त भएको बुझिन्छ किनभने उनले आफ्नो स्वाभाविक अवस्था प्राप्त गरेका छन् । अर्जुनले भनेका छन्– ‘बल्ल मेरो मन ठेगानमा आयो, सचेत र स्वाभाविक भएँ ।’
अर्जुनलाई देखाइएको विश्वरुप कसकसले देखे ? गीता उपदेशको समापन (१८.७७) गर्ने क्रममा सञ्जयले धृतराष्ट्रलाई भनेका छन्– हे राजन्, श्रीहरिको यो अत्यन्त अद्भुत रुपलाई बारम्बार सम्झना हुन्छ । यसबाट हर्षातिरेक र विस्मयले उत्तेजित भइरहेको छु । सञ्जयको यस भनाईले उनले प्रभुको अद्भुत रुप दर्शन गरेकोले भावविभोर बनेका हुन् भन्ने तर्क जयदयाल गोयन्दकाको छ । तर अन्य केही लेखकहरुले सञ्जयले यो देखेका होइनन् उनले केवल अर्जुनले देखेको कुरा वर्णन गरेका हुन् भनेका छन् ।
यस विषयमा ओशो रजनीशको तर्क उचित छ, त्यो के भने दुवै दृष्टिमा अन्तर छ, एउटा दिव्य दृष्टि हो र अर्को दूरदृष्टि हो । अर्जुनको दृष्टि विश्वरुप संदर्शनका लागि हो भने सञ्जयको दृष्टि युद्धका दृश्य वर्णनका लागि । संजयको दूरदृष्टि हो ।

श्रीभगवानुवाच
[सम्पादन गर्नुहोस्]

सुदुर्दशमिदं रुपं दृष्ट्वानसि यन्मम ।
देवा अप्यस्य रुपस्य नित्यं दर्शनकाङ्क्षिणः ।।५२।।

पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]

श्रीभगवानुवाच (श्रीभगवानले भन्नु भयो)
सुदुर्दशम् (अति नै दुर्लभ) इदम् रुपम् (यो रुप) दृष्ट्वान्असि (तिमीले) देख्यौ) यत् (जुन) मम (मेरो) देवा (देवताहरु) अपि (पनि) अस्य रुपस्य (यस रुपको) नित्यम् (सधैं) दर्शनकाङ्क्षिणः (दर्शनका इच्छुक हुन्छन्)।
श्रीभगवानले भन्नु भयो–
मेरो जुन यो रुप तिमीले देखेका थियौ, त्यो अति नै दुर्लभ छ र देवताहरु पनि सधैं त्यस रुपको दर्शनका आकाङक्षी छन् ।।५२।।

भगवान् श्रीकृष्णले भन्नु हुन्छ– मेरो जुन यो रुप तिमीले देख्यौ, त्यो सुदुर्दर्श छ । दुर्दर्श अर्थात् दर्शन दुर्लभ र सुदुर्दर्श अर्थात् दर्शन अत्यधिक दुर्लभ । देवताहरु पनि सधैं त्यस रुपको दर्शन गर्न लालायित रहन्छन् । यस्तो दुर्लभ स्वरुप तिमीले देख्न पाउनु तिम्रालागि सौभाग्यको कुरा हो ।
कुन रुप ? चतुर्भुजरुप वा विश्वरुप ? भक्ति मार्गका साधकहरुले यस श्लोकको व्याख्यामा चतुर्भुज रुपलाई तथा ज्ञानमार्गीहरुले विश्वरुपलाई ध्यानमा राख्दछन् ।
जयदयाल गोयन्दकाले लेख्दछन्– यस चतुर्भुजरुपी मेरो स्वरुप, वेदाध्ययनले, उग्र तपले, दानले, वा यज्ञ सम्पादनले दर्शन गर्न पाईंदैन ।
कोमलगीतामा भनिएको छ– जस्तो तिमीले विश्वरुपी मलाई देख्यौ, त्यसरी वेदले, तपस्याले, दानले वा यज्ञले कोही मलाई देख्न सक्दैन ।
शंकराचार्यले बिना कुनै व्याख्या दुवै रुपलाई संकेत गरेका छन् । वास्तवमा दुवै रुप सु–दुर्लभ छन् । चतुर्भज रुप भक्तिको अन्तिम सीमा हो, विश्वरुप ज्ञानमा प्रवेशको अवस्था हो। ज्ञानमा प्रवेशपछि ज्ञाता र ज्ञेय समाप्त भइ केवल ज्ञान मात्र बाँकी रहन जान्छ ।
ब्रह्माण्डको चित्रलाई कम्प्युटरबाट सानो बनाउँदा र मस्तिष्कको न्युरोनलाई विस्तृत बनाउँदा प्राप्त चित्रको आश्चर्यजनक समानतालाई दृष्टिगत गर्दै मनोवैज्ञानिक कार्ल गुस्ताफ जुङ्गले भनेका छन्– ‘हाम्रो मस्तिष्कको संरचना ब्रह्माण्ड जस्तै छ । ब्रह्माण्डको अनन्तमा जसरी कुनै घटना घटित हुन्छ, हाम्रा मस्तिष्कको सूक्ष्मतामा पनि त्यसै गरी घटित हुन्छ ।’
ईश्वर दर्शनको वर्णन सजिलो छैन । यो एक व्यक्तिगत अनुभव हो, बिलकुल व्यक्तिगत । जसको अनुभवलाई साझा गर्न सकिंदैन । गन्धर्वराज आचार्य पुष्पदन्तका शब्दहरु सापटी लिएर यति मात्र भन्न सकिन्छ– ‘सारा समुद्रको पानीलाई मसि राख्ने भाँडो, सारा पर्वतहरुलाई मसि, पृथ्वीलाई कागत र कल्पवृक्षलाई लेखनी बनाएर रातदिन उहाँको गुणको व्याख्या गर्न आफैं सरस्वतीले लेख्न सुरु गरे पनि यस रुपको वर्णन गर्न असम्भव छ ।’


नाहं वेदैर्न तपसा न दानेन न चेज्यया ।
शक्य एवंविधो द्रष्टुं दृष्टवानसि मां यथा ।।५३।।

पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]

एवंविधः (यस प्रकारको) दृष्टवान् असि (तिमीले देख्यौ) माम् (मलाई) यथा (जसरी) न अहम् वेदैः (न वेद अध्ययन गर्नेलाई) न तपसा (न तपस्या गर्ने लाई) न दानेन (न दान गर्नेलाई) न च इज्यया (तथा न यज्ञ गर्नेलाई) द्रष्टुम् (देख्न) शक्य ः (शक्य छ) ।
जस्तो तिमीले मलाई देख्यौ, यस्तो रुपलाई वेदले, तपस्याले, दानले, अथवा यज्ञले पनि कसैले मलाई देख्न सक्दैनन् ।। ५३ ।।

ईश्वरलाई कसरी देख्न सकिन्छ ?
अकबरको दरबारमा टाढाका देशबाट एक बडो धनी मानिस आएर भनेछ– ‘जसले मेरो चित्र जस्ताको तस्तै बनाउन सक्छ, उसलाई मैले दशहजार स्वर्ण मुद्रा पुरस्कार दिने छु ।
दरबारमा चित्रकारहरुको प्रमुखले उसको चित्र बनाउन जिम्मा लियो । महिनौं मेहनत गरे पछि उसले चित्र पूरा गरेर लिएर गएछ । त्यस मानिसले चित्र हेरेर एक दुईवटा गलती निकालिदियो ।
उसले फेरि बनायो । फेरि पनि त्यस मानिसले गलती निकाल्यो । बारम्बार प्रयास गर्दा पनि सफल नभए पछि कलाकार निराश भयो । उसलाई आफ्नो कार्य प्रति कति घोर निराशा भयो भने उसले मर्ने विचार गर्यो। गंगा नदीमा पुगेर डुबेर आत्महत्या गर्न जोखना हेर्न थाल्यो । संयोगले बालक बीरबल त्यहीं रहेछ । निराश चित्रकारलाई देखेर बीरबलले निराशा र चिन्ताको कारण सोध्यो । धेरै पटक अनुरोध गरे पछि कलाकारले समस्या बतायो ।
बालक बीरबलले भन्यो– ‘चिन्ता नगर्नुस । मैले तपाईंलाई उपाय बताउँछु ।’
बीरबललले बजारबाट ठूलो ऐना किन्न लगायो । त्यसमा एक सुन्दर फ्रेम लगाएर फेरि दुवै जना संगै पुगे ।
त्यस मानिसले सोध्यो– ‘चित्र बनाएर ल्यायौ ?’
कलाकारले भन्यो– ‘यस पटक मैले विशेष मेहनत गरेर आएको छु ।’ अनि ऐना दियो । त्यस मानिसले ओल्टाइ पल्टाइ गरेर हेर्यो । अनि केही नभनी १० हजार स्वर्ण मुद्रा दियो ।
कलाकार घर फक्र्यो तर बीरबल त्यहीं बस्यो । अनि त्यस मानिसको गोडा समातेर भन्न थाल्यो– ‘मलाई आशीर्वाद दिनुस् । ’
त्यस मानिसले बारम्बार बीरबलबाट बच्ने कोशिश गर्यो। बीरबलले छोड्दै नछोडे पछि विवश भइ उसले आशीर्वाद दियो– ‘बीरबल तिम्रो बुद्धि बढेर जाओस् ।’
त्यसपछि समाजमा एउटा उखान प्रचलित भयो– ‘खुदाको अक्लसे पहचानो ।’ ईश्वरलाई विवेकले देख्न सकिन्छ, अर्को कुनै विधि छैन । दिव्यदृष्टि भनेको त्यही विवेक हो ।


भक्त्या त्वनन्यया शक्य अहमेवंविधोsर्जुन ।
ज्ञातुं द्रष्टुं च तत्त्वेन प्रवेष्टुं च परन्तपः ।। ५४।।

पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]

तु (तर) परन्तपः (हे परन्तप) अनन्यया (अनन्य) भक्त्या (भक्तिले) अहम् (म) एवम् विधः (यस प्रकार) ज्ञातुम् (जान्न) अर्जुन (हे अर्जुन) द्रष्टुम् (देख्न) च (तथा) तत्त्वेन (तत्त्वले) प्रवेष्टुम् च (तथा प्रवेश गर्न, प्राप्त गर्न) शक्य (सकिन्छ ।)
तर हे परन्तप अर्जुन, अनन्य भक्तिले भने मलाई तत्त्वले जान्न र देख्न सकिन्छ । यति मात्र होइन ममा प्रवेश गर्न अर्थात् प्राप्त गर्न पनि सकिन्छ ।। ५४।।

यज्ञ, तप, दान वा यस्तै कुनै क्रियाबाट मात्र ईश्वरको दर्शन हुँदैन । त्यसका लागि प्रेमपूर्ण तीव्र दर्शनको लालसा चाहिन्छ । अनि भगवानले भक्तको जस्तो प्रेम छ त्यही रुपमा दर्शन दिनुहुन्छ । यी सबै क्रियाहरु दर्शनको लालसाका लागि अभिप्रेरणा मात्र हुन् ।
ईश्वरको भक्ति प्राप्त गर्न श्लोक ११.५४–५५ को मन्त्र रुपमा पाठ विशेष लाभदायक मानिएको छ ।
ईश्वरीय शक्तिको अलौकिक प्रभावबारे अनेक अलौकिक घटनाहरु प्रख्यात छन् । मोहम्मदलाई ध्यानमग्न रहेको बेला अचानक आकाश वाणी सुनाइदियो– पढ । उनले भने– म अनपढले कसरी पढँु ? स्कूलको मुखै देखेको छैन ।
ईश्वरीय आदेश दोहोरियो– पढ ।
बाध्य भएर उनले पढ्न थाले । एक पछि अर्को गरेर जुन अभूतपूर्व काव्य उत्रियो, त्यो कुरान बन्यो । जीससले मृत् बालक जीवित बनाए । बोधिसत्त्वले आफ्ना शिष्यलाई यस्तो मन्त्र सिकाएका थिए जसलाई एकान्त स्थानमा वाचन गर्नासाथ आकाशबाट धनसम्पत्तिको वर्षा हुन्थ्यो । बालागुरु षडानन पानी माथि खाली खुट्टाले हिंड्ने सक्थे भन्ने जनश्रुति छ । हवनका लागि गाईको घिउ सकिंदा स्वर्गद्वारी महाप्रभुले भिंग्री खोलाबाट पानी सापटी लिएर हवन गर्थे र हवन गर्दा त्यो घिउ बन्थ्यो भन्ने कुरा प्रत्यक्षदर्शीका विवरणमा पाइन्छ । शिवपुरी बाबाले तीनवटा चामलका गेडाले काँचो दाउरामा आगो सल्काएको कुरा उनका शिष्यहरुले आफ्नो वर्णनमा उल्लेख गरेका छन् । योगी नरहरिनाथ एक दिनमा गोरखाबाट रोल्पा पुगेको चर्चा सरकारी स्तरमा नै भएको हो । यातायातको कुनै सुविधा नभएको बेलामा यो एक आश्चर्यजनक घटना हो । भौतिकवादीहरुका लागि आध्यात्मिक अनुभूति पूर्णतया अलौकिक हुन्छ । तर सिद्ध पुरुषहरुले यसलाई अनुभवजन्य घटना मान्दछन् । योगेश्वर श्रीकृष्णले यमुनातटमा जुन रासक्रीडा गरेका थिए त्यसमा प्रत्येक गोपिनीले पृथक पृथक रुपमा आफूसित श्रीकृष्ण रहेको कुरा अनुभव गरेको भनिएको छ । भगवान् श्रीकृष्णको जीवनका यस्ता अनेक यौगिक शक्ति तथा विभूतिहरुमा हामीले विश्वास गर्छौं ।
अनन्य भक्तिद्वारा असाध्य केही पनि छैन । महासिद्ध गोरखनाथले भन्छन्– प्रार्थनाको शक्ति अमोघ छ । धरती फाट्न सक्छ । त्यसैले प्रार्थना गर्नु पर्छ । भक्तिद्वारा रिझाइएका भगवानले भक्तको इच्छा पूरा गर्छन् । तर जहाँसम्म भेदभक्ति रहन्छ त्यहाँसम्म भगवान्को साकार मूर्तिकै दर्शन हुन्छ । यही उपासना परिपक्व भए पछि भक्ति परा भएर अभेद हुन्छ अनि भक्त भगवानको वास्तविक रुपलाई तत्त्वतः जान्न, सर्वत्र व्यापक देख्न र उहाँमा प्रवेश गर्न समर्थ हुन्छ, यही भक्तिको अन्तिम भूमि हो । यही विश्वरुप दर्शनको सन्देश हो ।
कवि श्रेष्ठ शेक्सपियरले भनेका छन्– पृथ्वी र स्वर्गमा यस्ता अनेक विषय छन् जसको बारेमा दर्शनशास्त्रलाई थाहा छैन ।


मत्कर्मकृन्मत्परमो मद्भक्तः संगवर्जितः ।
निर्वैरः सर्व भूतेषु यः स मामेति पाण्डवः ।।५५।।

पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]

पाण्डवः (हे पाण्डव) मत् (मेरा लागि) कर्मकृत् कर्म गर्छ) मत् (मलाई) परमः (परम आश्रय मान्छ) मत् भक्तः (मेरो भक्ति गर्छ) संगवर्जितः (आसक्ति त्यागेर) सर्व (सबै) भूतेषु (प्राणीहरुमा) निर्वैरः (शत्रुभावरहित, प्रेम गर्छ) यः (जसले) सः (त्यसले) माम् (मलाई) एति (प्राप्त गर्छ) ।
हे पाण्डव, जसले सबै कर्म मेरालागि अर्थात् ईश्वरका लागि गर्र्छ, ममा परायण छ, आसक्तिरहित छ, तथा प्राणीहरु प्रति वैरभावरहित छ यस्तो मानिसले मलाई प्राप्त गर्छ ।।५५।।

आसक्तिरहित भई मेरो निमित्त कर्म गर्ने तथा समस्त प्राणीहरुमा प्रेम राख्नेले मलाई प्राप्त गर्छ । यस आधारमा के भन्न सकिन्छ भने यस श्लोकको निहितार्थले युद्धलाई प्रेरित गर्दैन बरु आत्म साक्षात्कारलाई प्रेरित गर्छ । त्यसैले गीता युद्धलाई प्रेरित गर्ने शास्त्र होइन भन्ने प्रमाणित हुन्छ । निर्वैर हुनेले युद्ध गर्नै सक्दैन ।
अर्को कुरा कर्म त्यागलाई खारेज गर्दै के भनिएको भने ईश्वर दर्शन पछि आफ्नो कर्तव्य पूरा गर्न कर्तव्यरत रहनु नै वास्तविक कृष्ण भक्ति हो । जसले परम ज्ञान प्राप्त गर्छ उसको संसार प्रतिको जिम्मेवारी अझ बढी छ ।
जसले जनार्दन नै जगत, जगत नै जनार्दन यस दृष्टिले जगतको आराधनालाई नै हरिको आराधना ठान्दछ उही वास्तवमा भगवद्भक्त हो । अर्को शब्दमा ईश्वर दर्शन मानवीय साधनाको अन्तिम लक्ष्य होइन ।
जगत् छोडेर जंगल भाग्ने भगवद्भक्त होइन । यो केवल एक मार्ग हो, जसमा अगाडि हिंड्नु पर्ने काम बाँकी रहन्छ । प्रत्यक्ष ज्ञानलाई पूर्णता दिन पनि बाँकी रहन्छ । साँचो भगवद्भक्तले कर्तव्यलाई त्याग्दैन । यही गीताको कर्मयोग हो । विश्वरुप संदर्शनको सन्देश पनि त्यही हो ।


ॐ तत्सदिति श्रीमद्भगवद्गीतासूपनिषत्सु ब्रह्मविद्यायां योगशास्त्रे श्रीकृष्णार्जुनसंवादे विश्वरुपदर्शनयोगो नामैकादशोऽध्यायः।।
यस प्रकार श्रीमद्भगवद्गीतारुपी उपनिषद्, ब्रह्मविद्या, योगशास्त्र, एवं श्रीकृष्ण र अर्जुन वार्तालापमा विश्वरुप दर्शन नाम गरेको अध्याय ११ समाप्त भयो । ॐ तत् सत् ।



अधिकारी, कोमलनाथ, (वि.सं.२०१८), पञ्चरत्नगीता, कोमलगीता, नेपाली पद्यानुवाद र व्याख्या वाराणसी ः यशोदा प्रेस ।
अपूर्वानन्द, (सन् २००२), श्रीमद्भगवद्गीता पदच्छेद, अर्थ, व्याख्या, कलकत्ता ः रामकृष्ण मठ ।
अपूर्वानन्द, (वि.सं.२०७१), अनुवादक बाबु राम ज्ञवाली, शंकराचार्यको जीवनी, विद्यार्थी पुस्तक भण्डार।
आचार्य, श्रीराम शर्मा, (सन् २०११), सांख्य एवं योग, मथुरा ः युग निर्माण योजना ।
आदि शंकराचार्य, (वि.सं.२०६७), श्रीमद्भगवद्गीता शांकरभाष्य, गोरखपुर ः गीताप्रेस ।
आप्टे, वामन शिवराम, (मिति उल्लेख नभएको) संस्कृत–हिन्दी शब्दकोश, सम्पादक उमा प्रसाद पाण्डेय, नई दिल्ली ः कमल प्रकाशन ।
ईश्वरानन्द, (वि.सं. २०५१) गीता तात्पर्य, संस्कृत, अन्वय, अर्थ र व्याख्या, स्वयम्भू ः गीता अध्ययन मण्डल ।
ओशो, (सन् १९८०), गीता दर्शन , पूना ःरेबेल बुक्स ।
कबीर अमृतवाणी भाग १, भाग २, भाग ३, (वि.सं.२०७१), माघ २०,वि.सं.२०७१, यु टयुब (राकेश काला) ।
खप्तड बाबा (सच्चिदानन्द सरस्वती), (वि.सं.२०६०), विचार विज्ञान, काठमाडौं ः खप्तड आश्रम समिति ।
खप्तड बाबा (सच्चिदानन्द सरस्वती), (वि.सं.२०५६), आत्मबोध, काठमाडौं ः खप्तड आश्रम समिति ।
खप्तड स्वामी, (वि.सं.२०५१), धर्म विज्ञान सार संक्षेप, सम्पादक चूडानाथ भट्टराय, काठमाडौं ः बबी शाह ।
गीताप्रेस, (वि.सं.२०६५), महाभारत पाँच खण्ड, गोरखपुर ः गीताप्रेस ।
गीताप्रेस, (वि.सं.२०६४), ईशादि नौ उपनिषद्, गोरखपुरः गीताप्रेस ।
गोयन्दका, जयदयाल, (वि.सं. २०७०),गीता तत्त्व विवेचनी, गोरखपुरः गीताप्रेस ।
ज्ञवाली, बाबुराम (२०७४), जीव जगत र जनार्दन, रुपन्देही ः ज्ञानज्योति प्रकाशन, रुन्धती ट्रष्ट ।
ज्ञवाली, सलील, (सन् २००२), पूर्वीय सभ्यता, काठमाडौं ः ओरेन्टल प्रकाशन गृह ।
पन्त, शंकरराज, (वि.सं. २०७८), श्रीरामकृष्णवचनसुधा, मुल लेखक श्री म, काठमाडौं ः रामकृष्ण आश्रम नेपाल ।
पौड्याल, जयदेव, (वि.सं.२०४६) शङ्कराचार्य रचित तत्त्व बोधको अनुवाद, काठमाडौंः श्री ५ को सरकारको छपाखाना, सिंहदरबार ।
महाभारत एपिसोड ७५, बी आर चोपडा निर्मित महाभारत टी भी धारावाहिक, यु ट्युब . http://Mahabharata75.com
रामसुखदास, (वि.सं.२०६७), श्रीमद्भगवद्गीता साधक संजीवनी, गोरखपुरः गीताप्रेस ।
विष्णुशर्मा, सन् १९७९, पञ्चतन्त्र सम्पादक श्यामाचरण पाण्डेय, वाराणसी ः मोतीलाल बनारसी दास । १०
सन्त ज्ञानेश्वर, (वि.सं.२०७०), ज्ञानेश्वरी (गीता), https: GyaneshwariJnaneshwariGeeta जेठ ६ वि.सं.२०७३ मा इन्टरनेटबाट प्राप्त