श्रीमद्भगवद्गीता त्रयोदश अध्याय
अध्याय १३
[सम्पादन गर्नुहोस्]क्षेत्रक्षेत्रज्ञविभाग योग
[सम्पादन गर्नुहोस्]
यस अध्यायमा अचानक वार्तालापको प्रसङ्ग बदलिए जस्तो देखिन्छ । त्यसैले केही विद्वानहरुले के मान्दछन् भने यहाँ अर्जुनले प्रकृति–पुरुष, शरीर–शरीरी वा क्षेत्र–क्षेत्रज्ञलाई कसरी चिन्ने भन्ने जिज्ञासा गरेको हुनुपर्छ किनभने अध्याय सातमा परा–अपरा प्रकृतिको चर्चा गरेपनि क्षेत्र– क्षेत्रज्ञको समीक्षा गरिएको छैन तर यस अध्यायमा सो कुराको सविस्तार व्याख्या गरिएको छ ।
कुनै कुनै पुस्तकमा विषय वस्तुको क्रम निरन्तरताका लागि निम्नलिखित थप श्लोक दिने गरिन्छ–
अर्जुन उवाच
प्रकृतिं पुरुषं चैव क्षेत्रंक्षेत्रज्ञमेव च ।
एतद्वेदितुमिच्छामि ज्ञानं ज्ञेयं च केशव ।।
‘हे केशव, प्रकृति र पुरुष, क्षेत्र र क्षेत्रज्ञ, ज्ञान र ज्ञेय यो सबै जान्ने जान्ने इच्छा छ ।’
यस श्लोकलाई थप्दा गीताको जम्मा श्लोक संख्या ७०१ हुन जान्छ । त्यसैले यस श्लोकलाई क्षेपक भनिन्छ ।
श्रीभगवानुवाच
[सम्पादन गर्नुहोस्]इदं शरीरं कौन्तेय क्षेत्रमित्यभिधीयते ।
एतद्यो वेत्ति तं प्राहु क्षेत्रज्ञ इति तद्विदः ।।१।।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]श्रीभगवानुवाच (श्रीभगवानले भन्नु भयो)
इदम् (यो) शरीरम् (शरीर) कौन्तेय (हे कुन्ती पुत्र अर्जुन) क्षेत्रम् (क्षेत्र, खेत) इति अभिधीयते (यस प्रकार प्रकार भनिएको छ) एतत् यः (जसले यो) वेत्ति (जान्दछ) तम् (त्यसलाई) तत् विदः (क्षेत्र–क्षेत्रज्ञलाई जान्ने, विद्वानहरुले) क्षेत्रज्ञ (क्षेत्रज्ञ) इति (यस प्रकार) प्राहु (भनिन्छ) ।
श्रीभगवानले भन्नु भयो–
हे कौन्तेय, यो शरीर क्षेत्र हो । यस शरीर तत्त्वलाई जसले जान्दछ त्यसलाई क्षेत्रक्षेत्रज्ञजान्नेहरुले क्षेत्रज्ञ भन्दछन् ।। १ ।।
क्षेत्रज्ञं चापि मां विद्धि सर्वक्षेत्रेषु भारत ।
क्षेत्रक्षेत्रज्ञयोर्ज्ञानं यत्तज्ज्ञानं मतं मम ।।२ ।।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]भारत (हे भारत) सर्वक्षेत्रेषु (सबै क्षेत्रहरुमा) क्षेत्रज्ञम् (क्षेत्रज्ञ अपि (पनि) माम् विद्धि (मलाई जान)) च (तथा) क्षेत्रक्षेत्रज्ञयोः (क्षेत्रक्षेत्रज्ञको) यत् (यो) तत् (जुन) ज्ञानम् (ज्ञान छ) ज्ञानम् (ज्ञान हो) मम (मेरो) मतम् (मत छ) ।
हे भारत, सबै क्षेत्रहरुमा क्षेत्रज्ञ पनि पनि मलाई नै बुझ । क्षेत्रक्षेत्रज्ञको जसले ज्ञान राख्छ, त्यो नै ज्ञान हो यो मेरो मत छ ।।२।।
व्याख्या
[सम्पादन गर्नुहोस्]क्षेत्र जस्तो छ, यसको व्याख्या श्लोक ५ मा, जस्तो छ भन्ने कुराको व्याख्या श्लोक २६, २७ मा, जुन विकारयुक्त छ भन्ने कुराको व्याख्या श्लोक ६ मा, यो क्षेत्र जुन कारणबाट उत्पन्न भएको छ भन्ने कुराको व्याख्या श्लोक १९ मा, यसको जुन प्रभाव छ भन्ने कुराको व्याख्या श्लोक ३१, ३२ मा गरिएको छ ।
यो शरीर क्षेत्र हो । वास्तवमा यो शरीर नै धर्म क्षेत्र तथा कुरु क्षेत्र दुवै हो । यस कुराको संकेत अध्याय एकको सुरुमा गरिएको छ ।
ईश्वरलाई जान्न छ भने क्षेत्र र क्षेत्रज्ञको राम्ररी ज्ञान लिनु पर्छ किनभने वास्तवमा ज्ञान भनेको नै त्यही हो ।
अन्य अध्यायहरुमा जसलाई प्रकृति र पुरुष तथा अपरा र परा प्रकृति भनिएको छ, यस अध्यायमा त्यसैलाई क्षेत्र र क्षेत्रज्ञ भनिएको छ ।
तत्क्षेत्रं यच्च यादृक्च यद्विकारी यतश्च यत् ।
स च यो यत्प्रभावश्च तत्समासेन मे शृणु ।। ३ ।।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]तत् क्षेत्रम् (त्यो क्षेत्र) यत् च (अनि जे छ) यादृक् च (अनि जस्तो छ) यत् विकारी (जस्तो विकारयुक्त छ) यतः च (जेबाट छ) सः च यः (अनि त्यो जुन स्वरुपको छ) यत् प्रभावः च (अनि त्यो जुन प्रभावयुक्त छ) तत् (त्यो) मे (मबाट) समासेन (संक्षेपमा) शृणु (सुन) ।
यो क्षेत्र जे छ, जस्तो छ र जुन विकारयुक्त छ र जुन कारणले उत्पन्न भएको छ र त्यो (क्षेत्रज्ञ) जुन र जस्तो प्रभावयुक्त छ त्यो सबै मैले सारमा भन्छु, सुन ।।३।।
व्याख्या
[सम्पादन गर्नुहोस्]क्षेत्र के हो ? त्यो कस्तो छ ? त्यसका विकार के हुन्? के बाट उत्पन्न हुन्छन् ? क्षेत्रज्ञ के हो ? त्यसको प्रभाव के छ ? यी सबैको बारेमा यस अध्यायमा छोटकरीमा बताइएको छ ।
क्षेत्र भनेको के हो ? सरल रुपमा क्षेत्रको अर्थ हो खेत । खेतमा जे जस्तो बाली रोपिन्छ, त्यही अनुरुप प्राप्त हुन्छ । तर जुनसुकै बाली जुनसुकै खेतमा सप्रिँदैन । खेतको प्रकृति बुझेर मात्र बाली रोप्नु पर्छ । यही नियम शरीररुपी क्षेत्रलाई लागू हुन्छ । यसको विस्तार, प्रकृति र सीमा बुझेर मात्र सो अनुरुप साधना गर्नु पर्छ ।
खेतको राम्रो रेखदेख गर्ने हो भने राम्रो उत्पादन प्राप्त हुन्छ । लापरवाही गरेको खेतमा प्रतिफल राम्रो प्राप्त हुँदैन । राम्रो खेतीमा निरन्तर गोडमेल, आवश्यक सिंचाई र मल हाल्नु पर्छ । त्यही नियम यस शरीरलाई लागू हुन्छ । यसलाई उचित रेखदेख गर्दै जुन कर्म गरिन्छ त्यसको फल हामीलाई भविष्यमा प्राप्त हुन्छ । जसमा आफूले रोपेको राम्रो वा नराम्रो संस्कारको बीउ उम्रन्छ र झाङ्गिन्छ ।
सांख्य दर्शनमा विकृतिको अर्थ मिसिएको प्रकृति हो किनभने शुद्ध प्रकृतिले सृष्टि हुँदैन । यसलाई पञ्चीकरण भनिन्छ । मनसहितका दस इन्द्रिय र पञ्चीकृत महाभूतलाई विकृति पनि भनिन्छ ।
ऋषिभिर्बहुधा गीतं छन्दोभिर्विविधै पृथक ।
ब्रह्मसूत्रपदैश्चैव हेतुमद्भिर्विनिश्चितैः ।।४।।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]ब्रह्मसूत्रपदैः (ब्रह्मसूत्रका पदहरुले) गीतम् ( गाइएको छ) ऋषिभिः (ऋषिहरुद्वारा) बहुधा (अनेक प्रकारका) छन्दोभिः (वेदमन्त्रहरुद्वारा) विविधैः (नाना प्रकारले) पृथक् (अलग अलग) च एव (पनि) हेतुमद्भिः (युक्तिपूर्वक, कार्य कारणरुप हेतु सहित) विनिश्चितैः (राम्ररी निश्चित गरिएको छ) ।
ब्रह्मसूत्रका पदहरुले यो विषय गाइएको छ । यसलाई ऋषिहरुद्वारा नाना प्रकारसँग अनेक छन्दमा पृथक पृथक गरेर कार्यकारणस्वरुप हेतु सहित राम्ररी निश्चित गरिएको छ ।। ४ ।।
व्याख्या
[सम्पादन गर्नुहोस्]जुन कुरा भगवान् कृष्णले बताउनु भएको छ त्यस क्षेत्र क्षेत्रज्ञको चर्चा ब्रह्मसूत्र , वेद र उपनिषदका मन्त्रहरुमा गाइएको छ । ऋषिहरुद्वारा नाना प्रकारका अनेक छन्दमा पृथक् पृथक गरेर तार्किक र विशिष्ट विधिद्वारा कार्यकारणसहित पूर्ण रुपमा निश्चित गरिएको छ ।
यहाँ ब्रह्मसूत्रको अर्थ बादरायणकृत ब्रह्मसूत्र होइन किनभने यो धेरै पछिको रचना हो । जसको रचना ५०० वि.पू. भएको अनुमान गरिएको छ । यहाँ ब्रह्मसूत्रको अर्थ हो वेद र उपनिषदका मन्त्र, जस्तै अयमात्मा बह्म, (माण्डूक्य उपनिषद १.२, आत्मेत्येवोपासीत (बृहदारण्यक उपनिषद १.४.७) इत्यादि ।
यस श्लोकमा भगवानले के संकेत गर्नु भएको छ भने यदि कसैले क्षेत्र र क्षेत्रज्ञको विषयमा अझ विस्तृत अध्ययन गर्न चाहन्छ भने उसले वेद, उपनिषद, पुराण आदि शास्त्र अध्ययन गर्नु पर्छ ।
महाभूतान्यहङ्कारो बुद्धिरव्यक्तमेव च ।
इन्द्रियाणि दशैकं च पञ्च चेन्द्रियगोचराः ।।५।।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]महाभूतानि (पृथ्वी आदि महाभूतहरु) अहङ्कारः (अहंकार) बुद्धिः (बुद्धि) च (र) अव्यक्तम् एव (अव्यक्त नै) दश इन्द्रियाणि (दश इन्द्रियहरु) च (अनि) एकम् (एक मन) च (तथा) पञ्च (पाँच) इन्द्रिय गोचराः (इन्द्रियका विषय) ।
(पाँच) महाभूत, अव्यक्त (मूल प्रकृति), अहङ्कार, बुद्धि, एक मन, १० (सूक्ष्म) इन्द्रिय, पाँच (सूक्ष्म) विषय र ।। ५।।
इच्छा द्वेषः सुखं दुःखं सङ्घातश्चेतना धृतिः ।
एतत्क्षेत्रं समासेन सविकारमुदाहृतम् ।।६।।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]इच्छा (इच्छा), द्वेषः (द्वेष), सुखं (सुख), दुःखं (दुख), सङ्घातः ( देह र इन्द्रियको समूह, स्थूल देहको पिण्ड), चेतना (चेतना), धृति ः (धृति), एतत् (यति थप कुरा) सविकारम् (विकारसहितको) क्षेत्रम् (क्षेत्र) समासेन (सक्षेपमा) उदाहृतम् (भनिएको छ) ।
यसका साथै इच्छा, द्वेष, सुख, दुख, सङ्घात, (स्थूल देहको पिण्ड), चेतना, र धृति, यी सात गरी ३१ तत्त्वलाई विकारसहितको क्षेत्र भनिएको छ ।। ६ ।।
व्याख्या
[सम्पादन गर्नुहोस्]आधुनिक चिकित्सा पद्धतिले मानव शरीरको संरचनालाई कोश, तन्तु, अङ्ग, तथा तन्त्र (जस्तै पाचन तन्त्र) इत्यादि गरेर अध्ययन गर्छ । आयुर्वेदले मानव शरीरलाई तीन दोष, सात धातु, दुई अग्नि, दश इन्द्रिय, र उत्सर्जनतन्त्रको एक समन्वयको रुपमा अध्ययन गर्छ।
यस अध्यायमा निम्नलिखित सबै तत्त्वलाई विकार सहितको क्षेत्र भनिएको छ –
– अव्यक्त (मूल प्रकृति)
–एक (मन)
- बुद्धि
–अहंकार
– पाँच महाभूत
– पाँच ज्ञानेन्द्रिय तथा पाँच कर्मेन्द्रिय र
– ज्ञानेन्द्रियका पाँच विषय– शब्द, स्पर्श, रुप, रस, गन्ध
– थप सात तत्त्व– इच्छा, द्वेष, सुख, दुख, यिनीहरुको संघात अर्थात् स्थूल देहको पिण्ड, अनि चेतना र धृतिको समुच्चय
जसले यो सब राम्ररी जान्दछ, त्यो क्षेत्रज्ञ हो । क्षेत्रज्ञ मात्र अविकारी हुन्छ । यस अविकारी क्षेत्रज्ञलाई आचार्य शङ्करले शारीरक भनेका छन् । शारीरक शरीरको संरचनालाई जान्ने ।
वेदान्त दर्शनमा साङ्ख्यभन्दा थोरै फरक माया (प्रकृति) लाई परमेश्वरको शक्ति मानिन्छ । त्यसैलाई यहाँ अव्यक्त भनिएको छ । यस अव्यक्त मायाले युक्त ईश्वरको सृष्टि गर्ने इच्छालाई बुद्धि वा समष्टि बुद्धि भनिन्छ । यसैलाई महत्तत्व पनि भनिन्छ ।
श्रुतिका अनुसार, ईश्वरले ‘एकोऽहं बहुस्याम’ भन्ने इच्छा गरेकोले नै एकबाट अनेक भए । यस संकल्पलाई समष्टि अहङ्कार भनिएको छ । सामान्य जीवनमा प्रयोग हुने शब्द अहङ्कारभन्दा यो थोरै फरक छ । चलन चल्तीमा अहङ्कार भनेको अभिमान हो भने दर्शनमा परमेश्वरको संकल्प नै अहंकार हो ।
यस अहंकारबाट आकाश उत्पत्ति भयो । आकाशबाट वायु, वायुबाट तेज, तेजबाट जल र जलबाट पृथ्वीको उत्पत्ति भयो । आकाशको गुणबाट शब्द, वायुको गुणबाट शब्द र स्पर्श, तेजको गुणबाट शब्द–स्पर्श–रुप, जलबाट शब्द–स्पर्श–रुप–रस, पृथ्वीबाट शब्द–स्पर्श–रुप–रस–गन्ध उत्पत्ति हुँदै गयो ।
पाँच महाभूतलाई तीन गुण–सत्त्व, रज र तमो गुणले प्रभावित गर्ने हुँदा यी पञ्च महाभूत तीन गुणयुक्त हुन्छन् । संसारमा शुद्ध महाभूत पाईंदैन प्रत्येक महाभूत अन्य चार सँग मिसिएको हुन्छ जसलाई पञ्चीकृत महाभूत भनिन्छ । यस प्रकारको पञ्चीकृत मिश्रणबाट प्राणीको स्थूल शरीर वा पिण्ड बन्छ । जसलाई संघात भनिन्छ ।
सांख्य दर्शनमा मानव शरीरलाई व्यष्टि, समष्टि, र दुवैको मिश्रित स्वरुपको रुपमा व्याख्या गरिन्छ । जसरी छाल (व्यष्टि) समुद्रमा नै उत्पत्ति हुन्छ अनि त्यहीं बिलाउँछ ठीक त्यसै गरी यो शरीर सम्पूर्ण ब्रह्माण्ड (समष्टि) बाट उत्पन्न भएर त्यहीं बिलाउँछ, त्यसैले यो दुवैको मिश्रण पनि हो ।
पिण्ड र ब्रह्माण्डको सृष्टि विधि एउटै छ ।
जसरी ब्रह्माण्डमा सात ठूला द्वीप मानिएका छन्– जम्बु, प्लक्ष, शाल्मलि, कुश, क्रोञ्च, शाक र पुष्कर । त्यसै गरी शरीरका सात द्वीप मानिएका छन्, हाड, रौं, छाला, मासु, नाडी, मासी, नङ् ।
ब्रह्माण्का सात समुद्र यस प्रकार छन्, क्षार, इक्षुरसोद, सुरा,घृत, क्षीर, दधि, शुद्ध । शरीरका सात समुद्र यस प्रकार छन्, मूत्र, दुध, रक्त, कफ, बोसो, रस, पसिना ।
मनोवैज्ञानिकहरुले ब्रह्माण्डको कम्पयुटरीकृत सानो बनाइएको चित्र र मस्तिष्कको ठूलो बनाइएको चित्रको तुलना गर्दा उनीहरुले त्यसमा अद्भुत समानता पाए अर्थात् दुवै संरचनाको चित्र मिल्दो जुल्दो देखिन्छ ।
सांख्य दर्शन अनुसार यो विकृति नै इच्छा, द्वेष आदि उत्पन्न हुने कारण हो । विकारको अर्को अर्थ हो प्रकृतिको रुपान्तरण, मन बुद्धि, इन्द्रिय आदि सबै प्रकृतिका रुपान्तरित स्वरुप हुन् । अविकारी त केवल परमात्मा हुन्छ, प्रकृति र यसका रुपान्तरण सबै विकारी हुन् ।
पाँच महाभूतका व्यष्टि सात्त्विक अंशबाट कान, छाला, आँखा, जिब्रो, नाक यी पाँच ज्ञानेन्द्रिय उत्पन्न भए । यिनले कर्म गर्नेभन्दा पनि केही कुराको नाप वा ज्ञान प्राप्त गर्ने काम गर्छन्। त्यसैले यी सबैलाई तन्मात्रा भनिन्छ ।
कानको काम सुन्नु हो । अर्थात् केवल शब्द मात्र ग्रहण गर्नु हो । छालाको काम चिसोतातो, साह्रो नरमको ज्ञान लिनु हो । आँखाको काम रातो हरियो चिन्नु, उज्यालो अँध्यारो थाहा पाउनु हो । जिब्रोको काम गुलियो, अमिलोको स्वाद लिनु हो । नाकको काम सुगन्ध, दुर्गन्ध थाहा पाउनु हो ।
विषय (तन्मात्रा) | महाभूत (पञ्चतत्त्व) | ज्ञानेन्द्रिय (अध्यात्म) | अधिभूत (काम) | देवता (अधिदैव) |
---|---|---|---|---|
शब्द | आकाश | कान | आवाज थाहा पाउनु | दिक् |
स्पर्श | वायु | छाला | चिसो तातोको अनुभव | वायु |
रुप | तेज | आंखा | विभिन्न रङ्गको जानकारी | सूर्य |
रस | जल | जिब्रो | स्वाद छ्ट्ट्याउनु | वरुण |
गन्ध | पृथ्वी | नाक | बास्ना थाहा पाउनु | अश्विनीकुमार |
कानका देवता अर्थात् अधिदैव दिक् हुन् । शब्द सुने पछि कताबाट आयो भनी हेरेर पत्ता लगाइन्छ । चिसो तातोको ज्ञान छालालाई छोएर प्राप्त हुने भएकोले वायुलाई स्पर्शका देवता भनिन्छ । सूर्यको सहायताले देखिने हुँदा आँखाका देवता सूर्यलाई भनिन्छ । जलका देवता वरुण हुनाले जिब्रोमा पानी रहन्छ । सूर्यपत्नी अश्विनी अर्थात् घोडीबाट जन्मेकाले दुईजनालाई अश्विनी कुमार भनिएको हो । यी दुवैलाई स्वास्थ्यका देवता भनिन्छ । घोडाले नाकद्वारा सुँघेर जान्ने भएकाले नाकका देवता अश्विनीकुमार भनिएको छ ।
पाँच ज्ञानेन्द्रियले भनेको कुरा हात गोडा आदि इन्द्रियले सेवक झैं पालन गर्दछन् । त्यसैले यिनलाई कर्मेन्द्रिय भनिएको हो । जस्तै छालाले कुनै तातो कुरा छोयो भने हातले तुरुन्तै प्रतिक्रिया दिन्छ । आँखाले कुनै पाकेको फल देख्छ, गोडाले त्यहाँ पुर्याइदिन्छ, हातले टिप्छ, मुखले खान्छ, नाकले गन्ध लिन्छ, जिब्रोले स्वाद लिन्छ । मलेन्द्रियले त्यसलाई फाल्छ । त्यसैले ज्ञानेन्द्रिय मालिक र कर्मेन्द्रिय सेवक हुन् ।
वाणीका देवता अग्नि हुन् । जसरी अग्निले वस्तुलाई प्रकाशित गर्दछ र हामीलाई वस्तु देखिन्छन्, त्यसैगरी वाणीले हामीलाई वस्तुहरु देखाउँछ । हातका देवता इन्द्र हुन् । जसरी इन्द्रले स्वर्ग, मर्त्य, पाताल तीनै लोकको रक्षा गर्छन्, हातले पनि त्यसै गरी सिरदेखि पाउसम्म सम्पूर्ण शरीरको रक्षा गर्छ ।
ज्ञानेन्द्रिय, अधिदैव, महाभूत र विषय आपसमा सम्बन्धित हुन्छन् ।
कर्मेन्द्रिय (अध्यात्म) | कर्म (अधिभूत) | देवता (अधिदैव) |
---|---|---|
वाक्– वाणी | बोल्नु | अग्नि |
पाणि– हात | लिनु दिनु | इन्द्र |
पाद– गोडा | हिँड्नु | विष्णु |
पायु– मलेन्द्रिय | मलत्याग गर्नु | यम |
उपस्थ– जननेन्द्रिय | आनन्द दिनु | प्रजापति |
विष्णुले जसरी ब्रह्माण्ड धारण गरेका छन्, त्यसै गरी गोडाले देहरुपी ब्रह्माण्ड धारण गरेको छ । त्यसैले पाउमा ढोगेदेखि सम्पूर्ण ब्रह्माण्ड धारण गर्ने विष्णुलाई ढोगे जस्तै हुन्छ भन्ने मान्यता गरेर पाउमा ढोग्ने चलन चलेको हो ।
प्रजापति ब्रह्माले जसरी सृष्टि गर्छन्, जननेन्द्रिय (उपस्थ) ले पनि त्यसै गरी सृष्टि गर्छ । यमराजले जसरी प्राणीलाई संहार गर्छन्, मलेन्द्रिय बिग्रियो भने त्यसै गरी त्यसले प्राणीलाई संहार गर्छ, त्यसैले पायुका देवता यमराज हुन् ।
पाँच महाभूतका समष्टि सात्त्विक अंशका मिश्रणबाट अन्तःकरण उत्पन्न भयो । यो एउटा भएर पनि वृत्तिभेदले मन, बुद्धि, अहङ्कार तीन प्रकारको मानिएको छ । वास्तवमा यी सबै मन अथवा अन्तःकरणका विभिन्न भाग नै हुन् ।
पछिका दार्शनिकहरुले यसमा चित्त पनि थपेर मन, बुद्धि, चित्त र अहङ्कार चारवटा वृत्ति मान्दछन् । जसले स्मृतिमा वृत्ति सुरक्षित राख्छ, त्यसलाई चित्त भनिएको छ अर्थात् चित्त भनेको स्मृति राख्ने अन्तःकरण हो । उदाहरणका लागि कुनै गीत स्मृतिमा छ भने त्यससँग मिल्दो जुल्दो ध्वनि सुन्ना साथ पुरानो गीत सम्झना हुन्छ ।
चित्तले पनि शान्त भएको अवस्थामा स्मृतिको आधारमा उचित तर्क वितर्क गर्छ । त्यसैले चित्तका देवता नारायण हुन् ।
मनको देवता चन्द्रमा हो । जसरी चन्द्रमा एकनास रहँदैन, घटबढ भइरहन्छ, मन पनि एकनास रहँदैन ।
जसरी रुद्रले सम्पूर्ण संहार गर्छन्, अहङ्कारले पनि त्यसै गरी सम्पूर्ण नाश गर्छ । त्यसैले अहङ्कारका देवता रुद्र हुन् ।
सांख्य दर्शनमा मन भनेको इन्द्रियको स्वामी हो । कुनै पनि प्रकारको ज्ञान प्राप्त गर्न मन, इन्द्रिय र विषयको संयोग हुनु पर्दछ । मन छैन भने आँखाले देख्दा पनि त्यो कुरा देखिन्न, कानले सुनेर पनि सुनिन्न । सांख्य अनुसार, मन अन्तःकरणको त्यो वृत्ति हो जसले कुनै पनि विषयलाई इन्द्रिय मार्फत् ग्रहण गरेर संकल्प–विकल्प गरिरहन्छ ।
मनले शरीरको जुन अङ्गका मद्दतले ज्ञान प्राप्त गर्छ, तिनीहरुलाई ज्ञानेन्द्रिय भनिन्छ । मनले जुन इन्द्रियलाई काम गर्न अह्राउँछ तिनीहरुलाई कर्मेन्द्रिय भनिन्छ ।
बुद्धिको कार्य हो ठीक बेठीक छ्ट्ट्याउनु । निद्रा, मूर्छा, र मातेको समयमा बुद्धि निष्क्रिय रहन्छ । विनाशकालमा बुद्धि विपरीत हुनजान्छ । आत्माका लागि बुद्धिले मन्त्रीसरह काम गर्छ । जसरी ब्रह्माले संकल्पद्वारा सारा सृष्टि गर्छन्, बुद्धिले पनि कल्पनाद्वारा सृष्टि गर्छ ।
अन्तःकरणको त्यो वृत्ति जसमा म र मेरो यस्तो भावना हुन्छ, त्यसलाई अहङ्कार भनिन्छ । यसले कर्तापनको भाव देखाउँछ । मैले अमुक काम गरें वा अमुक काम गरिनँ, कर्तापनको यस भावलाई नै अहङ्कार भनिन्छ ।
अन्तःकरण | काम | देवता |
---|---|---|
मन | संकल्प–विकल्प | चन्द्रमा |
बुद्धि | निश्चय | ब्रह्मा |
अहङ्कार | अभिमान | रुद्र |
अमानित्वमदम्भित्वमहिंसा क्षान्तिरार्जवम् ।
आचार्योपासनं शौचं स्थैर्यमात्मविनिग्रहः।।७।।
पदच्छेद र शब्दार्थ–
[सम्पादन गर्नुहोस्]अमानित्वम् (अभिमान नहुनु, अतिमानितको अभाव) अदम्भित्वम् (ढोंगी आचरण नगर्नु) अहिंसा (परपीडा नगर्नु) क्षान्तिः (क्षमाभाव, सहनशीलता) आर्जवम् (सरलता) आचार्योपासनम् (गुरुसेवा) शौचम् (शुद्धता) स्थैर्यम् (स्थिरता) आत्मविनिग्रहः (मनलाई नियन्त्रण) ।
अतिमानरहित हुनु, ढोंगी आचरण नगर्नु, परपीडा नगर्नु, सहनशीलता, सरलता, गुरुसेवा, शुद्धता, स्थिरता, मनलाई नियन्त्रण, क्षमाभाव, सरलता, आचार्यसेवा, शुद्धता अर्थात् बाह्य र आन्तरिक शुद्धता, स्थिरता र अचञ्चलता, तथा आत्म नियन्त्रण अर्थात् मनलाई नियन्त्रण।।७।।
इन्द्रियार्थेषु वैराग्यमनहङ्कार एव च ।
जन्ममृत्युजराव्याधिदुःख दोषानुदर्शनम् ।।८।।
पदच्छेद र शब्दार्थ–
[सम्पादन गर्नुहोस्]एव च (साथै) इन्द्रियार्थेषु वैराग्यम् (इन्द्रियका विषयमा विरक्त) अनहङ्कार (अहंकारको अभाव) जन्ममृत्युजराव्याधि (जन्म, मृत्यु, बुढेसकाल, रोग) दुःख दोष (दुख दोषको) अनुदर्शनम् (दर्शन गर्नु, चिन्तन गर्नु) ।
यसका साथै इन्द्रियका विषयमा विरक्ति, अहङ्कारको अभाव, जन्म, मृत्यु, जरा र व्याधिका दुख दोषको चिन्तन ।। ८ ।।
असक्तिरनभिष्वंग पुत्रदारगृहादिषु ।
नित्यं च समचित्तत्वमिष्टानिष्टोपपत्तिषु ।।९।।
पदच्छेद र शब्दार्थ–
[सम्पादन गर्नुहोस्]असक्तिः (आसक्तिरहित हुनु) पुत्रदारगृहादिषु (पुत्र, स्त्री, घर आदिमा) अनभिष्वंग (लम्पटताको अभाव) च (तथा) नित्यम् (नित्य) इष्ट अनिष्ट (इष्ट र अनिष्टको) उपपत्तिषु (उपपत्तिमा, प्राप्तिमा) समचित्तत्वम् (चित्तवृत्ति समान) ।
आसक्तिरहित, पुत्र, स्त्री, धन र घर आदिमा लम्पट नहुनु, प्रिय र अप्रियको प्राप्तिमा सधैं चित्तवृत्ति सम रहनु ।। ९ ।।
मयि चानन्ययोगेन भक्तिरव्यभिचारिणी ।
विविक्तदेशसेवित्वमरतिर्जनसंसदि ।।१०।।
पदच्छेद र शब्दार्थ–
[सम्पादन गर्नुहोस्]मयि च (तथा ममा) अनन्ययोगेन (अनन्य भावले जोडिनु) भक्तिः अव्यभिचारिणी (अव्यभिचारिणी, अटल भक्ति गर्नु) विविक्तदेशसेवित्वम् (शान्त स्थानको सेवन) अरतिः जनसंसदि (भीडभाडमा नरमाउनु) । तथा ममा अनन्य भावले जोडिनु, ममा अटल भक्ति राख्नु, शान्त र शुद्ध स्थानको सेवन गर्नु, भीडभाडबाट टाढा रहने स्वभाव ।। १० ।।
अध्यात्मज्ञाननित्यत्वं तत्त्वज्ञानार्थदर्शनम् ।
एतज्ज्ञानमिति प्रोक्तमज्ञानं यदतोऽन्यथा ।।११।।
पदच्छेद र शब्दार्थ–
[सम्पादन गर्नुहोस्]अध्यात्मज्ञाननित्यत्वम् (नित्य अध्यामज्ञानमा रमाउनुु) तत्त्व ज्ञान अर्थदर्शनम् (परमसत्यको चिन्तन गर्नु) एतत् (यो सबै) ज्ञानम् (ज्ञान हो) अन्यथा (यस बाहेक) यदतः (अन्य जे छ) अज्ञानम् (अज्ञान हो) इति प्रोक्तम् (यसरी बताइएको छ) ।
नित्य अध्यात्मज्ञानमा रमाउनु, परमसत्यको चिन्तन गरिरहनु यो सबै कुरा ज्ञान हो, यस बाहेक अन्य जे छ त्यो सबै अज्ञान हो यस्तो भनिएको छ ।। ११ ।।
व्याख्या
[सम्पादन गर्नुहोस्]यदि क्षेत्रबाट उचित फल प्राप्त गर्ने चाहना छ भने २० वटा दिव्य गुणलाई धारण गर्नु पर्छ। अध्याय १२ मा यिनै गुणहरुलाई भक्तका गुण भनिएको छ–
१. अतिमानितारहित
[सम्पादन गर्नुहोस्]सम्मान र स्वाभिमानलाई सामान्य अर्थमा लिइन्छ । मानव जीवनका लागि चाहिने आवश्यकताको रुपमा आत्मसम्मानको आवश्यकता (एस्टीम नीड) मानिन्छ । यो मनोवैज्ञानिक आवश्यकता हो । सम्मान वा स्वाभिमान अतिमानभन्दा फरक हुन्छ ।
सम्मानको बारेमा एउटा भनाई छ– ‘रेस्पेक्ट इज पेड न’ट गिभन’ अर्थात् आदर भाव तिर्ने कुरा हो सित्तैंमा दिने कुरा होइन । यो एक प्रकारको लगानी हो, जसको प्रतिफल ढिलो चाँडो प्राप्त हुन्छ । देवता र दैत्यले मिलेर समुद्रमन्थन गरे । सुरुमा हलाहल विष निस्क्यो । जसले सारा संसार विदग्ध हुन थाल्यो । यसबाट बचाउन देवताहरुले भगवान् शिवको स्तुति गर्न थाले । भगवान् शिवले लोकलाई बचाउन र देवताहरुको मान राख्नका लागि विषपान गर्नु भयो । अनि सम्मानस्वरुप शिवको नाम महादेव हुन गयो । त्यसैले रहीमले भनेका छन्– मानसहित विष खाइ के शम्भु भए जगदीश ।
अयोग्यलाई जुन मान प्रदान गरिन्छ, त्यो खोक्रो हुन्छ, यस्तो मानलाई गीतामा अतिमानिता भनिएको छ । त्यसैले अमानिताको अर्थ हो– अतिमानिताको अभाव, घमण्डको अभाव । यसबाट बच्ने उपाय हो श्रेष्ठ मानिसका जीवन चरित्रको अध्ययन गर्नु र असल मानिसको संगत गर्नु ।
२. ढोंगी आचरण नगर्नु
[सम्पादन गर्नुहोस्]दम्भको अर्थ हुन्छ छलकपट, ढोंग । मान, प्रतिष्ठा, प्रशंसा, पूजा वा धनको लोभमा अरुलाई झुक्याइ आफूलाई धर्मात्मा, दानी, ज्ञानी, महात्मा प्रचारित गर्नुलाई दम्भित्व भनिन्छ । यसको अभाव अदम्भित्व हो । सरल आचरण गर्नु र सत्संग गर्नु अदम्भित्व गुण प्राप्त गर्ने उपाय हो ।
३. अहिंसा
[सम्पादन गर्नुहोस्]मन, वाणी वा शरीरबाट कुनै पनि बेला, कसैलाई पनि कष्ट दिने काम हिंसा हो । कठोर वचन, गाली गर्नु, निन्दा गर्नु अहितकारक वचन बोल्नु वाणीको हिंसा हो । कसैलाई पिट्नु, कष्ट दिनु शारीरिक हिंसा हो भने मनले कसैको कुभलो चिताउनु मानसिक हिंसा हो । यी सबैको अभाव नै अहिंसा हो । यस बाहेक लक्ष्य प्राप्तिका लागि आफूलाई समेत कष्ट नदिनु नै अहिंसा हुन्छ । त्यसैले गीतामा कुनै पनि प्रकारको अति गर्नेलाइ योग सिद्ध हुँदैन भनिएको छ । पतञ्जलि सूत्रका अनुसार, जसमा अहिंसाको भाव पूर्णतया घटित हुनजान्छ, उसको नजिकमा हिंसक प्राणी पनि शान्त हुन जान्छन् । अहिंसाको आचरण गर्न खानपान, मृदु वचन, सादा रहन सहनबाट सुरु गर्दै माथिल्लो तहको क्षमाशीलता विकास गर्नु पर्छ ।
४. सहनशीलता
[सम्पादन गर्नुहोस्]क्षान्तिको अर्थ हो धैर्य, प्रसन्नता, सहनशीलता वा आवेशको अभाव । जसरी आफ्नो जिब्रो आफैं टोकिएको खण्डमा कसैलाई दोष दिईंदैन, त्यसै गरी जीवनमा आइपर्ने सबै दुख कष्टको कारक तत्त्व अरु कोही होइन भन्ने जसले बुझेको हुन्छ, उसमा जुन सहनशीलता भाव उदय हुन्छ, त्यो नै क्षान्ति हो । दयामा यदि अहङ्कार छैन भने क्षमा भाव घटित हुन्छ ।
आइपरेको दुखको दोष अरुलाई दिनु दुखको कारक हो । यो नै अज्ञानता हो । यसको विपरीत आफूलाई आइपरेको दुखको दोषको कारण आाफैंभित्र खोज्नु ज्ञानी हुनु हो । यसबाट क्षमा भाव विकास हुन्छ। अहिंसा गुण वृद्धि हुँदा क्षमा भाव विकास हुन्छ ।
५. सरलता
[सम्पादन गर्नुहोस्]विवेकानन्दका गुरु रामकृष्ण परमहंसको जीवन सरलताको उदाहरण हो । कालीभक्तको रुपमा रानी रासमणिले समेत सम्मान गर्ने पुजारीको रुपमा उनी प्रसिद्ध थिए । बंगालभरि उनको प्रसिद्धि थियो तर कुनै पण्डितले आएर उनीलाई केही सिकाउन खोज्थ्यो भने तत्काल बालसुलभ उत्सुकता साथ सिक्न तयार हुन्थे । अरुको दुख देखेर रुन थाल्थे, अरुको खुशीमा प्रसन्न हुन्थे ।
६. गुरुसेवा
[सम्पादन गर्नुहोस्]विद्या र सदुपदेश दिने विशिष्ट व्यक्तिको नाम आचार्य वा सद्गुरु हो । श्रद्धाभक्ति सहित यस्ता सद्गुरुको आदर गर्नु र सेवाका लागि जुनसुकै बेला पनि तत्पर रहुनलाई आचार्यको सेवा भनिन्छ । आचार्यको सेवा गरेर ज्ञान लिएका अनेक घटनाहरु छन् । उपमन्युले भोकै रहेर पनि गुरु धौम्यको आज्ञा अनुसार गाईको सेवा गरेर आचार्यको वचन पूरा गरे । उद्दालक आरुणीले जाडो महिनाको रातभरि खेतको आलीमा सुतेर पानीको सुरक्षा गरे । युवा सन्न्यासी विवेकानन्दले गुरुको आज्ञापालन गर्दै विश्व भ्रमण गरे । खप्तडबाबाले गुरुको आज्ञानुसार नेपालमा आएर तपस्या गरे । त्यसैले आचार्योपासनम्को अर्थ हुन्छ शिष्यत्त्वको भाव ।
७. शुद्धता
[सम्पादन गर्नुहोस्]शुद्धताको अर्थ हो, बाह्य र आन्तरिक स्वच्छता । स्नानले शरीर स्वच्छ हुन्छ । उचित व्यवहारले आचरण स्वच्छ बन्छ । ईमानदारी र मेहनतले कमाएको धन स्वच्छ हुन्छ । यस्तो कमाईले प्राप्त गरेको अन्नले आहार स्वच्छ बन्छ । यी सबै बाह्य स्वच्छता हुन् । राग, द्वेष, छल कपट आदि मानसिक विकार नाश गर्दा आन्तरिक स्वच्छता हुनजान्छ । आन्तरिक स्वच्छताका लागि बाह्य स्वच्छता सहायक हुन्छ भने बाह्य स्वच्छता आन्तरिक स्वच्छताको परिणाम हुन्छ ।
८. चञ्चलताको अभाव
[सम्पादन गर्नुहोस्]स्थिरताको अर्थ हो मानसिक चञ्चलताको अभाव । यस गुणबाट काम, क्रोध, भय, लोभ आदिबाट विचलित नहुने आन्तरिक शक्ति विकसित हुनजान्छ । नीति शास्त्रमा महात्माको स्थिरता सूर्यसंग गरिएको छ, जुन बिहानको उदयकालमा र साँझको अस्त कालमा एकनासको, रातो रङ्गको हुन्छ । ठूलो खुशी वा ठूलो दुखमा एकनास व्यवहार गर्नु नै स्थैर्य हुनु हो । सत्पुरुषको संगत गर्नाले मानसिक चञ्चलता शान्त भई मन स्थिर हुन जान्छ ।
९.आत्म नियन्त्रण
[सम्पादन गर्नुहोस्]आफूलाई आफ्नै नियन्त्रणमा राख्नुलाई आत्म विनिग्रह भनिन्छ । यस श्लोकमा आत्मको अर्थ हो मन र इन्द्रियहरु । यी सबैमा ठीक त्यसै गरी नियन्त्रणमा राख्नु जस्तो गाडी चालकको हातमा गाडीको गति, गेयर, ब्रेक आदि हुन्छन्, त्यसैलाई आत्मविनिग्रह, आफूमा नियन्त्रण राख्नु भनिन्छ । मन, बुद्धि, र इन्द्रिय जसका अनुचर हुन्छन् त्यो आत्मविनिग्रही हो। यसको उपाय गीता ६.२६ मा सविस्तार वर्णन गरिएको छ ।
१०. यसलोक र परलोकका भोगहरुमा विरक्ति
[सम्पादन गर्नुहोस्]इन्द्रियार्थेषु वैराग्यको अर्थ हो इन्द्रियका विषयमा विरक्ति । चाहे त्यो यस लोकको होस् वा परलोकको । यस लोकका भोगहरु वास्तविक भए पनि क्षणिक हुन्छन् । उमेर, काल, परिस्थिति अनुरुप आज महत्त्वपूर्ण ठानिएका भोग केही समय पछि निरर्थक र कहिलेकाहीं दुखकारक हुनजान्छन् । त्यसैले जीवन निर्वाहका लागि आवश्यक भोग बाहेकका कुरा त्याग गर्नु पर्छ। यस लोकका भोग त्याग गरे जस्तै स्वर्गलोकका सम्भावित सुखको कामना पनि त्याग गर्नु गर्नु पनि इन्द्रिय भोगको परोक्ष कामना हो । यसको पनि त्याग गर्नु पर्छ ।
११. घमण्डको अभाव
[सम्पादन गर्नुहोस्]अहङ्कारको विपरीत अवस्था अनहङ्कार हो । साङ्ख्यमा अहङ्कार सृष्टिको एक तत्त्व मानिएको छ । यस अर्थमा कर्तापनको अहंता नहुनु अनहङ्कार हो । अहंकारको एउटा अर्थ हो घमण्ड । यसको विपरीत अवस्था हो– अनहंकार । त्यसैले अनहंकारको अर्थ हो– धन, पद वा शक्तिका घमण्डको अभाव, आत्मश्लाघाको अभाव, देहाभिमानको अभाव ।
आध्यात्मिक ज्ञान हुनासाथ अहङ्कार त्यसै गरी विलीन हुन्छ जसरी बत्ती बाल्ना साथ अन्धकार विलीन हुनजान्छ ।
१२. जन्म,मृत्यु, जरावस्था र रोगमा दुखदोषको अनुभव
[सम्पादन गर्नुहोस्]सामान्यतया मृत्यु, वृद्धावस्था, रोगलाई दोषको रुपमा देख्नु सरल छ । तर जन्म पनि दुखको कारक हो । बाल्यावस्था र वृद्धावस्था दुवै परनिर्भताको अवस्था हो । बालकको परनिर्भरता युवा भएपछि र वृद्धको परनिर्भरता मृत्युपछि समाप्त हुन्छ । जुनसुकै उमेरको भए पनि परनिर्भरता दुखदायक छ । अर्को शब्दमा जन्म, मृत्यु, जरावस्था आदि पुनर्जन्मको परिणाम हो । त्यसैल पुनर्जन्मबाट मुक्तिको प्रयास गर्नु आध्यात्मिक जीवनको लक्ष्य मानिएको छ । कुनै मानिसको मृत्युको खबरले प्रायः मानिसको मनमा एकैछिनलाई भए पनि वैराग्यको भावना उत्पन्न हुन्छ । भगवान् बुद्धले बाल, वृद्ध, रोगी र मृतक देखेपछि उनको मनमा वैराग्य उत्पन्न भएको थियो भनिन्छ । यही उनको संन्यासको कारण बनेको हो ।
१३. आसक्तिरहित
[सम्पादन गर्नुहोस्]मुख्यतः स्त्री, पुत्र आदिमा रहेको राग र आसक्ति नहुनु नै असक्ति हो । यो अनभिष्वङ्गः पुत्रदारगृहादिषुको सहायक वाक्यांश हो । सोही कुराको उदाहरण वा थप व्याख्याको लागि मात्र यो वाक्यांश प्रयोग गरिएको छ । यस वाक्यांशलाई इन्द्रियार्थेषु वैराग्यम्को उपसाध्य भने पनि हुन्छ । कहिले काहीं इन्द्रिय विरक्तहरुमा पनि आसक्तिको भावना सूक्ष्म रुपमा बाँकी रहन जान्छ ।
१४. वासनाको अभाव
[सम्पादन गर्नुहोस्]स्त्री पुत्रादिमा वासनाको अभाव हुनु अनभिष्वङ्ग हुनु हो । अनभिष्वङ्ग स्वञ्जबाट बनेको छ । यसको अर्थ हुन्छ अँगालो हाल्नु, घनिष्ठता त्यसैले अभिष्वङ्गको अर्थ हुन्छ– स्त्री, पुत्र, धन आदिसंग जोडिएको अति घनिष्ठताको भाव, वासना, लम्पटता । वानप्रस्थ पछि विधिवत् सन्न्यासी भइसकेका मानिसहरुमा पनि स्त्री, पुत्रादि प्रतिको आसक्ति रहन जान्छ यो ममता वा मोहको सूक्ष्म प्रभाव हो । त्यसैले जुन जुनसँग घनिष्ठता भाव हुन्छ, उनीहरुको सेवा गर्नु पर्छ तर उनीहरुबाट सेवा लिने चाहना गर्नु हुँदैन ।
१५. इष्ट र अनिष्टमा समभाव
[सम्पादन गर्नुहोस्]आफूलाई चाहिएको कुरा इष्ट हो । मानिसले त्यो प्राप्त भइदिए हुन्थ्यो भन्ने चाहना गर्छन्। अनिष्ट त्यसको विपरीत हो । जुन कुरा नभइदिए हुन्थ्यो भन्ने मानिसले चाहन्छन् त्यो अनिष्ट हो । संक्षेपमा अनुकूलको संयोग र प्रतिकूलको वियोग इष्ट हो भने अनुकूलको वियोग र प्रतिकूलको संयोग अनिष्ट हो । त्यसैले इष्ट प्रिय र अनष्टि अप्रिय हुन्छ । दुवै अवस्थामा चित्त सम हुनु नै निर्विकार रहनु, समचित्तत्वम् इष्ट अनिष्ट उपपत्तिषु हो । यसबाट बच्न सांसारिक उपलब्धिलाई समाजको कल्याणमा नै लगाउने अभ्यास गर्नु पर्छ ।
१६. ईश्वरमा अनन्य भक्ति
[सम्पादन गर्नुहोस्]यहाँ बताइएका सबै गुणले जुन कुरा तर्फ संकेत गरेका छन्, त्यो हो– ईश्वरमा अनन्य रुपमा जोडिनु । मन एक ईश्वरबाहेक अन्यत्र नजानु अव्यभिचारिणी र अटल भक्ति हो । बाँदरको बच्चाले आफ्नो आमालाई जसरी समाएको हुन्छ भक्तले पनि ईश्वरलाई त्यसै गरी समात्नु अनन्य योग हो । अव्यभिचारिणी भक्ति हुनासाथ अन्य गुणहरु स्वतः उत्पन्न हुन्छन्।
एउटा कथा छ– गाई चराउन गएका शिष्यहरु गाई हराएर आश्रममा फर्के ।
गुरु– ‘जंगलमा गाईको खोजी गरनौ ? ’
शिष्य– ‘खोज्यौं, निकै खोज्यौं तर भेटाउन सकेनौं ? ’
गुरु– ‘गाई कसरी खोज्यौ त? ’
शिष्य– ‘एउटा गोरेटो गयौं । नभेटाए पछि त्यसबाट फर्केर आयौं र अर्को गोटो गएर खोज्यौं। अलिअलि सबै गोरटो खोज्यौं तर गाई भेटिएनन् ।’
गुरु– ‘त्यसरी खोजेर कहाँ गाई भेटिन्छन् । एउटा बाटोमा गए पछि त्यो बाटो जहाँसम्म छ, त्यहाँ सम्म जंगलको भित्रै पुगेर मात्र फर्कनु पर्नेमा आधाबाटो पुगेर फर्क्यौ ।’
जसरी गाईलाई थोरै बाटो खोजेर भेटाउन सकिंदैन, विद्या पनि थोरै पढेर ज्ञान हुँदैन । त्यसलाई राम्ररी गहिरिएर अध्ययन गर्नु पर्छ ।
१७. एकान्त सेवन
[सम्पादन गर्नुहोस्]विविक्त देश सेवित्वम्को अर्थ हो भीडभाड मन नपराउनु, एकान्त सेवन गर्नु । सुरक्षित, सुन्दर, र शान्त प्राकृतिक दृश्य, नदी, बर, पीपल वृक्षको मुनिको स्थान यी सबै विविक्तदेशका उदाहरण हुन् । देवालय, तीर्थस्थल र आफूले नियमित गर्ने पूजा आराधनाका शान्त स्थल पनि यसै अन्तर्गत सम्झनु पर्दछ । शान्तचित्तका लागि यस्ता स्थानमा बढीभन्दा बढी समय बिताउनु पर्दछ । यसबाट मन एकाग्रचित्त हुन मद्दत पुगछ । भीडमा मानिसको मन छरिन जान्छ ।
अष्टावक्रगीता (१७.१) मा भनिएको छ– जसले ज्ञान र योग दुवैको फल प्राप्त गरेका छन् उनीहरु सदा सन्तुष्ट, शुद्ध इन्द्रिययुक्त तथा एकान्तमा रमाउने हुन्छन् ।
१८. भीडभाडमा नरमाउनु
[सम्पादन गर्नुहोस्]अरति जनसंसदिको अर्थ हुन्छ मानिसहरुको भीडमा बस्न अरुचि । अरति जनसंदि गुण विविक्त देश सेवी गुणको परिपूरक गुण हो । जो मानिस भीडभाडमा बढी रुचि राख्छन्, त्यस्तोलाई मनोविज्ञानमा एक्स्टोवर्ट (बहिर्मुखी) भनिन्छ । जुन मानिसले भीडभाड मन पराउँदैन, उसलाई इन्ट्रोवर्ट (अन्तर्मुखी) भनिन्छ ।
धेरै मानिसहरुको बीचमा रमाउने बानी भयो भने मानिसले साधनाका लागि ध्यान एकाग्र गर्न सक्दैन, त्यसैले अरति जनसंसदि भनिएको हो। यो कुनै मनोविकार भने होइन । मनका तरङ्ग शान्त हुन यसले मद्दत पुर्याउँछ । तर केवल बाह्य भीडबाट मुक्त हुनु पर्याप्त हुँदैन । बाह्यभीड जस्तै आन्तरिक भीडबाट पनि अलग रहने मानिस वास्तवमा एकान्तसेवी हुन्छ । अन्यथा एकान्तमा त्यस्ता मानिस मनोविकारले गर्दा एक्लै बर्बराउन थाल्ने छन् ।
१९.सत् असत् विवेकको नित्य विचार गर्नु
[सम्पादन गर्नुहोस्]अध्यात्मका दुई अर्थ हुन्छन्– पहिलो, निरन्तर सत् असत् विवेकको विचार गरिरहनु र दोस्रो, आफ्नो अध्ययन, आफूलाई जान्नु । वास्तवमा ज्ञान भनेकै अध्यात्म ज्ञान हो र अन्य सबै अज्ञान कै विविध रुप हुन् । अध्यात्म ज्ञानको आलोकमा मात्र यो कुरा अनुभवमा आउँछ । सूर्य उदय हुनासाथ अन्धकार समाप्त भए जस्तै आफूलाई चिन्नासाथ अज्ञान र तद्जन्य अन्य भ्रान्ति हट्दै जान्छन् । वास्तवमा जान्नु पर्ने कुरा नै यही हो । अन्य कुरा जानेर मुक्ति हुँदैन ।
२०. परम सत्यको चिन्तन
[सम्पादन गर्नुहोस्]तत्त्वज्ञान अर्थात् परम सत्यको गहन चिन्तन । मानव जीवनको सार्थकता र उद्देश्यमाथि चिन्तन गर्नुलाई तत्त्वज्ञानको चिन्तन भनिन्छ । परमप्रभु परमात्माको चिन्तन गर्नु नै तत्त्व ज्ञानको अर्थ दर्शन गर्नु हो ।
तत्त्व ज्ञानले सृष्टिको रहस्य, हाम्रो अस्तित्त्वको उद्देश्य अर्थात् आत्माको सत्यबाट हामीलाई परिचित गराउँछ । यस पछि मात्र सृष्टिको रहस्य र हाम्रो अस्तित्वको उद्देश्य जानिन्छ । म को हूँ, कुन उद्देश्यका लागि जन्म भयो र त्यसलाई कसरी प्राप्त गर्न सकिन्छ । को, किन र कसरी यति कुरा जानेपछि तत्त्व ज्ञानको दर्शन हुन्छ ।
माथि भनिएका गुणहरु यी सबै गुण ज्ञान हुन् र यस बाहेक अन्य सबैलाई अज्ञान भनिएको छ ।
भगवान् कृष्णले यी ज्ञानका बीउ आफ्नो शरीर रुपी क्षेत्रमा लगाउने सुझाव दिनु भएको छ । ज्ञानबाट जुन प्रतिफल प्राप्त हुन्छ त्यो बढ्दो प्रतिफलमा प्राप्त हुन्छ, घट्दैन । ज्ञानमा कहिल्यै उत्पादन ह्रास नियम लागु हुँदैन ।
यी बीस गुणहरु अन्योन्याश्रित गुण हुन् । त्यसैले कुनै एउटा गुण विकास गर्नासाथ अर्को गुण आफैं विकास हुन्छ । ईश्वर प्राप्तिका लागि सुरुमा साधकले यी गुणको विकास गर्नु पर्छ । ईश्वरको उपलब्धि पछि यी गुण स्वाभाविक हुनजान्छन् ।
ज्ञेयं यत्तत्प्रवक्ष्यामि यज्ज्ञात्वामृतमश्नुते ।
अनादिमत्परं ब्रह्म न सत्तन्नासदुच्यते ।।१२ ।।
पदच्छेद र शब्दार्थ–
[सम्पादन गर्नुहोस्]ज्ञेयम् (ज्ञेय छ) यत् (जो) तत् (त्यो) प्रवक्ष्यामि (बताउँछु) यत् (जो) ज्ञात्वा (जानेर) अमृतम् (अमरता) अश्नुते (प्राप्त हुन्छ) अनादिमत् (आदि अन्तर रहित) परम् ब्रह्म (परम् ब्रह्म) न सत् (न सत हो) तत् ् (त्यो) न असत (न असत् हो) उच्यते (यसरी भनिन्छ) ।
जुन ज्ञेय छ र जसलाई जानेर अमृत (परमानन्द) प्राप्त हुन्छ त्यसलाई बताउँछु । त्यस अनादि परम् ब्रह्मलाई सत् पनि भनिंदैन र असत् पनि भनिंदैन ।। १२ ।।
व्याख्या
[सम्पादन गर्नुहोस्]ज्ञेयको अर्थ हुन्छ जसलाई जान्न सकिन्छ । यस क्षेत्रमा माथि भनिएका ज्ञानरुपी बीउ लगाए पछि बल्ल ज्ञेय तत्त्वको जानकारी हुन्छ । यिनै ज्ञानले त्यो ज्ञान गम्य भई ज्ञेय हुन जान्छ । ऋग्वेद नासदीय सूक्त १०.१२९ मा के भनिएको छ भने ब्रह्माण्ड निर्माण हुनु अघि सत् पनि थिएन र असत् पनि थिएन । जब यो सृष्टि सुरु भयो, त्यस पछि सूर्य उत्पत्ति भयो। त्यसभन्दा पहिले अन्तरिक्षमा कस्तो थियो होला ? त्यस बेलाको अवस्थालाई आधुनिक विज्ञानले जसरी व्याख्या गर्छ त्यो नासदीय सूक्तसंग मिल्छ । त्यो सत् र असत् दुवैभन्दा टाढा, ज्योतिको पनि ज्योति तथा तमस्भन्दा अत्यन्त पर छ अर्थात् त्यो ज्योतिभन्दा पनि पर छ तथा अन्धकारभन्दा पनि पर छ । तर ज्ञेय छ ।
तर गीताको मान्यता के छ भने त्यो प्रयास गरेपछि जानिने, ज्ञानगम्य छ । यो सबैको हृदयमा छ त्यसैले प्रयास गरेपछि जान्न सकिन्छ । जुन कुराको साक्षात्कार गरिन्छ त्यो ज्ञान हो । ज्ञान हुनका लागि त्यो ज्ञेय हुनु पर्छ । कुनै कुरा एउटाले जसरी जानेको छ अर्काले पनि त्यसै गरी जान्न सक्छ भने त्यसलाई ज्ञेय भनिन्छ । यसको अर्थ के हो भने भन्न खोज्नेले जे भन्न खोजेको हो बुझ्न चाहनेले पनि सोही बुझ्न सक्छ । प्रयास गरेपछि जुन कुरा जानिन्छ त्यो ज्ञानगम्य हुन्छ । भगवान् श्रीकृष्णका अनुसार, वास्तविक ज्ञान भनेकै तत्त्वज्ञान हो तथा त्यसको ज्ञान प्राप्त गर्ने कुरा अत्यन्त सरल र सहज छ । त्यसलाई सबैले प्राप्त गर्न सक्छन् ।
ज्ञान, ज्ञेय, र ज्ञाताको व्याख्या १८.१८ मा गरिएको छ ।
सर्वतः पाणिपादं तत्सर्वतोऽक्षिशिरोमुखम् ।
सर्वतःश्रुतिमल्लोके सर्वमावृत्य तिष्ठति ।।१३ ।।
पदच्छेद र शब्दार्थ–
[सम्पादन गर्नुहोस्]सर्वतः (सबैतिर) पाणि पादम् (हात गोडा छन्) तत् (तये) सर्वतः (सबैतिर) अक्षि शिरः मुखम् (आँखा, शिर र मुख एको) सर्वतः (सबैतिर) श्रुतिम् (कान भएको) लोके (संसारमा) सर्वम् (सबै) आवृत्य (ढाकेर) तिष्ठति (स्थित छ) ।
त्यस (ब्रह्म) का चारैतिर हात गोडा छन् । सबै तिर आँखा, सिर र मुख छ । सबैतिर कान भएको छ । त्यो (विश्वरुप) संसारमा सबैतिर व्याप्त छ ।। १३ ।।
व्याख्या
[सम्पादन गर्नुहोस्]तत्त्वज्ञानको चिन्तन क्षेत्रज्ञका लागि हो । यो नै ज्ञेय हो र यसलाई प्राप्त गरेपछि जुन कुरा प्राप्त हुन्छ त्यसलाई सन्तहरुले ब्रह्मानन्द भन्ने गरेका छन् । त्यस ज्ञेयलाई कुनै नाम दिनु परेमा ईश्वर नाम दिइन्छ । र त्यसको स्वरुप बताउनु परेमा कि त निराकार छ भनिन्छ कि फेरि यो सारा संसार नै त्यही ईश्वर हो भनिन्छ । त्यसैले भनिएको छ– त्यो सबैतिर हात गोडा भएको (विश्वरुप) सबै तिर आँखा, सिर र मुख भएको, सबैतिर कान भएको छ । त्यो संसारमा सबैतिर व्याप्त रहेको छ । यस स्वरुपको विस्तृत विवरण गीताको विश्वरुपमा अध्यायमा गरिएको छ । यहाँ त्यही कुरा संक्षेपमा दोहोर्याइएको छ ।
सर्वेन्द्रियगुणाभासं सर्वेन्द्रियविवर्जितम् ।
असक्तं सर्वभृच्चैव निर्गुणं गुणभोक्तृ च ।।१४।।
पदच्छेद र शब्दार्थ–
[सम्पादन गर्नुहोस्]सर्व (सबै) इन्द्रियगुण (इन्द्रियहरुको गुण, विषय) आभासम् (आभास छ) सर्व (सबै) इन्द्रिय (इन्द्रिय भोग) विवर्जितम् (त्याग गरेको छ),असक्तम् (आसक्तिरहित, अलग छ) सर्वभृत् (सबै धारण गरेको छ) च एव (अनि) निर्गुणं (गुणरहित छ) च (तथा) गुणभोक्तृ (गुणको भोक्ता छ) ।
यस (ब्रह्म) मा सबै इन्द्रियहरुका गुणको आभास छ तर पनि सबै इन्द्रियभोगलाई त्याग गरेको अर्थात् इन्द्रियरहित छ । यसै गरी सबैबाट अलग र आसक्तिरहित छ, साथै सबैको धारणपोषण पनि गर्छ, निर्गुण छ र पनि गुणको भोग गर्छ ।। १४ ।।
बहिरन्तश्च भूतानामचरं चरमेव च ।
सूक्ष्मत्वात्तदविज्ञेयं दूरस्थं चान्तिके च तत् ।।१५ ।।
पदच्छेद र शब्दार्थ–
[सम्पादन गर्नुहोस्]तत् (त्यो) बहिः (बाहिर छ) च (र) अन्तः (भित्र पनि छ,) भूतानाम् (प्राणीहरुको) अचरम् (अचल) चरम् (चल) एव (पनि) च (तथा) सूक्ष्मत्वात् (सूक्ष्मभन्दा पनि सूक्ष्म) तत् (त्यो) अविज्ञेयम् (जान्न नसकिने छ) च (अनि) दूरस्थं (टाढा छ) च (तथा) अन्तिके (नजिक पनि छ) ।
चराचर सबै प्राणीको बाहिर छ भित्र छ, चल छ , अचल छ, र त्यो सूक्ष्म भएकोले जान्न नसकिने छ । त्यो अति समीप छ र अति टाढा छ ।। १५ ।।
अविभक्तं च भूतेषु विभक्तमिव च स्थितम् ।
भूतभर्तृ च तज्ज्ञेयं ग्रसिष्णु प्रभविष्णु च ।। १६ ।।
पदच्छेद र शब्दार्थ–
[सम्पादन गर्नुहोस्]अविभक्तम् (त्यो अखण्डित छ) च (तथा) भूतेषु (प्राणीहरुमा) विभक्तम् इव च (विभक्त पनि छ) स्थितम् (स्थित छ) भूतभर्तृ (प्राणीहरुको भरण पोषण गर्छ) च (तथा) तत् (त्यसलाई) ग्रसिष्णु (संहारकर्ता) च (र) प्रभविष्णु (सृष्टिकर्ता ) ज्ञेयम् (बुझ्नु पर्छ) ।
यो अविभक्त छ र पनि प्राणीहरुमा विभक्त जस्तै भएर स्थित छ, त्यसलाई प्राणीहरुको भरण पोषण गर्ने, र संहार गर्ने हो भनी बुझ्नु पर्छ ।। १६ ।।
व्याख्या
[सम्पादन गर्नुहोस्]यस ब्रह्मले सबै कुरा जानेको छ, त्यसैले इन्द्रिययुक्त छ, तर इन्द्रियरहित छ किनभने यो इन्द्रियभन्दा पर छ । सबैको पालन पोषण गर्छ तर आसक्तिरहित छ, गुणको उपयोग गर्छ तर स्वयं गुणरहित छ ।
यो अति समीप पनि छ र अति टाढा पनि छ । यो अति विशाल पनि छ र अति सूक्ष्म पनि छ । सार के हो भने ईश्वर हरेक स्वरुपमा छ ।
ब्रह्म वास्तवमा अखण्डित छ तर सबै प्राणीमा मानौं अलग अलग खयिडत भएर रहेको छ। त्यो ज्ञेय पनि छ, पालनकर्ता पनि हो तथा संहारकर्ता पनि हो ।
ईश्वरको व्यक्त स्वरुप पनि छ र अव्यक्त स्वरुप छ । सत् पनि हो र असत् पनि हो । जबसम्म त्यो अलग छ त्यसबेलासम्म त्यो सत् हो तर जब मानिस त्यसैमा समाहित भइसक्छ अनि कसले कसलाई भन्ने ? सबै एउटै हुनजान्छ । अर्काको आभास पनि हुँदैन । यस्तो स्थितिमा ब्रह्म न सत् हो, न असत् हो । जबकि जुन स्वयं सहज छ, त्यो त्यही हो । यस विषयमा भगवान् श्रीकृष्णले के भनिसक्नु भएको छ भने यज्ञ र तपको भोग गर्ने पनि म नै हो । अन्तमा सबै गुण ममा नै विलीन हुनजान्छन् ।
सबै प्राणीको बाहिर शरीर रुपमा छ, भित्री स्वरुप शरीर सञ्चालक रुपमा छ । त्यो चल पनि छ, अचल पनि छ । यो अविभक्त छ र इन्द्रियहरुमा विभक्त भएर पनि रहेको छ । त्यसैले प्राणीहरुको भरण पोषण गर्छ, संहार गर्छ, र सिर्जना पनि गर्छ । यहाँ बाहिरी र आन्तरिक दुवै भावहरुलाई व्याख्या गरिएको छ । उदाहरणका लागि बाहिर जन्म र भित्र जागृति, बाहिर पालन र भित्र योगक्षेमको निर्वाह, बाहिर शरीरको परिवर्तन र भित्र सर्वस्वको विलय अर्थात् प्राणीहरुको उत्पत्ति हुने कारणको लय र त्यस लयको साथै आफ्नो स्वरुपलाई प्राप्त गर्छ । यो बिउ पनि हो र वृक्ष पनि हो । यी सबै ब्रह्मका लक्षण हुन् । तर नित्य, अविनाशी, अप्रमेय भएको स्वरुपलाई जान्ने कुनै पनि तार्किक विधिले प्रमाणित गर्न सकिँदैन।
ज्योतिषामपि तज्ज्योतिस्तमसः परमुच्यते ।
ज्ञानं ज्ञेयं ज्ञानगम्यं हृदि सर्वस्य विष्ठितम् ।।१७।।
पदच्छेद र शब्दार्थ–
[सम्पादन गर्नुहोस्]ज्योतिषाम् अपि (ज्योतिको पनि) तत् ज्योतिः (त्यो ज्योति हो) तमसः (अन्धकारभन्दा) परम् (धेरै टाढा) उच्यते (भनिन्छ) ज्ञानम् (ज्ञान) ज्ञेयम् (ज्ञेय, जान्ने योग्य) ज्ञानगम्यम् (बोधगम्य, ज्ञानले जान्न सकिने) हृदि (हृदयमा, अन्तरमा) सर्वस्य (सबैका) विष्ठितम् (बसेको छ) ।
त्यस ब्रह्मलाई ज्योतिको पनि ज्योति र अन्धकारभन्दा धेरै टाढा भनिएको छ । साथै जो ज्ञान, ज्ञेय, र ज्ञानगम्य छ त्यो नै सबैका हृदयमा बसेको छ ।। १७ ।।
व्याख्या
[सम्पादन गर्नुहोस्]कठोपनिषद्मा भनिएको छ– ‘जसको प्रकाशले प्रकाशित भएर सूर्यले संसारलाई प्रकाशित गर्छ, त्यसलाई ज्योतिको पनि ज्योति भनिन्छ ।’ यसै कुरालाई गायत्री मन्त्रमा भनिएको छ– तत्सवितुर्वरेण्यम्– ‘अन्धकारलाई नाश गर्ने सूर्यद्वारा पनि वरणीय ईश्वर ।’
चन्द्रमा सूर्यको प्रकाशले प्रकाशित छन् । तर स्वयं सूर्य पनि जसका कारणले प्रकाशित छ त्यो परमेश्वर हो । यदि सूर्यको आफ्नै प्रकाश हुन्थ्यो भने सूर्य सधैं प्रकाशित रहन्थ्यो तर वैज्ञानिकहरुले के मान्दछन् भने सूर्यको प्रकाश एक दिन सकिन्छ ।
त्यो पूर्ण ज्ञानस्वरुप छ, पूर्ण ज्ञाता छ, जान्न योग्य छ, र ज्ञानद्वारा नै प्राप्त गर्न सकिन्छ । जस्तै झिसमिसे उज्यालोमा केही टाढाको वस्तु बुझिंदैन तर उज्यालो बढ्यो भने त्यो चिनिन्छ । जुन चिनिन्छ, जानिन्छ त्यो ज्ञेय वस्तु हो । साक्षात्कारका साथै प्राप्त हुने जानकारीलाई नै ज्ञान भनिन्छ । यस जानकारीद्वारा नै ब्रह्म साक्षात्कार हुन्छ । त्यो सबैका हृदयमा स्थित छ र उसको निवास स्थान हृदय हो । अन्यत्र खोजेर प्राप्त गर्न सकिंदैन । त्यसैले हृदयमा ध्यान र योगाचरण नै त्यस ब्रह्म प्राप्तिको विधान हो ।
इतिक्षेत्रं तथा ज्ञानं ज्ञेयं चोक्तं समासतः ।
मद्भक्त एतद्विज्ञाय मद्भावायोपपद्यते ।। १८ ।।
पदच्छेद र शब्दार्थ–
[सम्पादन गर्नुहोस्]इति (यस प्रकार) क्षेत्रम् (क्षेत्र) तथा (तथा) ज्ञानम् (ज्ञान) च (अनि) ज्ञेयम् (ज्ञेय) उक्तम् भनिएको छ) समासतः (संक्षेपमा) मद्भक्त (मेरो भक्त) एतत् (यो) विज्ञाय (जानेर) मद्भावाय (मेरो भावलाई) उपपद्यते (प्राप्त गर्छ) ।
यस प्रकार क्षेत्र, ज्ञान र ज्ञेयलाई अहिलेसम्म संक्षेपमा बताएँ । मेरो भक्तले यो सब जानेर बुझेर मेरो भावलाई अर्थात् मलाई प्राप्त गर्छ ।।१८।।
प्रकृतिं पुरुषं चैव विद्ध्यनादि उभावपि ।
विकारांश्च गुणांश्चैव विद्धि प्रकृतिसम्भवान् ।।१९ ।।
पदच्छेद र शब्दार्थ–
[सम्पादन गर्नुहोस्]प्रकृतिम् (प्रकृति) पुरुषम् च एव (तथा पुरुष) उभौ (दुवै) अनादि आदिरहित) अपि (पनि) विद्धि (जान) विकारान् च (सबै विकार) गुणान् च एव (साथै गुणहरु) प्रकृतिसम्भवान् (प्रकृतिबाट उत्पन्न) विद्धि (बुझ) ।
प्रकृति र पुरुष दुवैलाई तिमीले अनादि जान र सबै विकार र गुणहरु त्यही प्रकृतिबाट उत्पन्न भएका हुन् भन्ने बुझ ।।१९।।
कार्यकरणकर्तृत्वे हेतुः प्रकृतिरुच्यते ।
पुरुष सुखदुःखानां भोक्तृत्वे हेतुरुच्यते ।।२० ।।
पदच्छेद र शब्दार्थ–
[सम्पादन गर्नुहोस्]कार्यकरणकर्तृत्वे (कार्य र कारणको कर्ता रुप) हेतुः (कारण) प्रकृतिः (प्रकृतिलाई) उच्यते (भनिएको छ) सुखदुःखानाम् (सुखदुखको) भोक्तृत्वे (भोगका लागि) पुरुष (पुरुषलाई) हेतुः (कारण) उच्यते (भनिएको छ) ।
कार्य अर्थात् शरीर र कारण (दस इन्द्रिय तथा मन, बुद्धि अन्तःकरण यी तेरह कारण) को कर्तृत्वका लागि प्रकृतिलाई कारण बताइन्छ । त्यसै गरी सुखदुख भोग गर्नका लागि भने पुरुषलाई कारण मानिएको छ ।।२०।।
व्याख्या
[सम्पादन गर्नुहोस्]श्लोक ५ र ६ मा क्षेत्रको, श्लोक ७ –११ सम्म ज्ञानको, र १२–१७ सम्म ज्ञेयको विवरण प्रस्तुत गरेर भगवान् श्रीकृष्णले यसको अधिकार कसलाई छ भन्ने व्याख्या गर्दै भन्नु हुन्छ– शरीर र इन्द्रिय तथा अन्तःकरणका कर्तृत्वको कारण प्रकृति लाई मानिएको छ । यसै गरी सुखदुखको भोग गर्ने निमित्त पुरुषलाई मानिएको छ ।
कार्यको अर्थ हो शरीर तथा करण भनेको दस इन्द्रिय, तथा मन, बुद्धि, अन्तःकरण गरी तेरह हो । इन्द्रिय, अन्तःकरण र महाभूत सबैलाई विकार भनिन्छ । श्लोक ५–६ मा यसमा इच्छा, द्वेष, सुख, दुख आदि सात तत्त्व थपेर ३१ तत्त्वको समुच्चयलाई विकारयुक्त क्षेत्र भनिएको छ ।
माण्डूक्य उपनिषदका अनुसार, पाँच ज्ञानेन्द्रिय, पाँच कर्मेन्द्रिय, पाँच प्राण, चार अन्तःकरण यी १९ तत्त्व मिलेर जीवको सूक्ष्म शरीर बन्छ (माण्डूक्य उपनिषद ३)।
प्रकृतिको सक्रियताले यी कुराहरु उत्पन्न हुादै जान्छन् तर प्रकृतिको यस सक्रियताका लागि शरीरमा पुरुषको उपस्थिति चाहिन्छ । यस पुरुषले प्रकृतिका तीन गुणलाई आफैंले भोगेको ठानेर सुख दुख अनुभव गर्छ । गुणको यस आभासी संगतले गर्दा नै जीवात्माले विभिन्न योनिमा जन्म लिनु पर्ने हुन्छ ।
महाभारत स्वर्गारोहण पर्वमा एउटा निकै रमाइलो प्रसंग छ । पाण्डव दाजुभाई द्रौपदी सहित हिमालय पर्वतमा प्रस्थान गरे । द्रौपदी लगायत सहदेव, नकुल, अर्जुन र भीमको मृत्यु भयो। धर्मात्मा युधिष्ठिर मात्र जीवित बचे ।
उनी पत्नी र भाईहरुको वियोगले दुखी भइरहेका थिए ।
यसै बेला देवगण आइ इन्द्रको विमानमा बसाली उनलाई स्वर्ग लिएर गए । युधिष्ठिरले त्यहां सर्वप्रथम दुर्योधनलाई देखे । तर आफ्ना भाइहरुलाई देखेनन् । यसबाट उनी आश्चर्यचकित मात्र भएनन्, दुखी पनि भए । दुखी भएर सोधे– ‘कर्णजस्ता वीरवर अर्जुन जस्ता धनुर्धारी छैनन् तर दुर्योधन सबभन्दा पहिले स्वर्गमा ?’
नारदले भने– ‘राजन, अब स्वर्गमा कुनै प्रकारको वैर विरोध हुँदैन । तिमी अब दुर्योधनसंगै बस्नु पर्छ ।’
युधिष्ठिरले दुखी भएर भने– ‘मलाई स्वर्ग चाहिएन, त्यहाँ लैजानुहोस जहाँ मेरा भाई छन्, मेरी पत्नी द्रौपदी छन् । ’
देवगणले भने– यदि भाईहरुमा नै तिम्रो श्रद्धा छ भने हिंड जाउँ ।’
युधिष्ठिर देवगणका पछि हिंड्न थाले । उनीहरु डरलाग्दो स्थानमा पुगे । अन्धकार, दुर्गन्ध, हिंसक जीवजन्तुले भरिएको । यत्रतत्र छरिएका लाश । डरलाग्दो गरि उम्लिरहेको पानी, तातो बालुवा ।
युधिष्ठिरले सोधे– ‘यो कुन देश हो ? मेरा भाईहरु कहाँ छन् ? ’
देवदूतले भने – ‘मलाई के भनिएको छ भने जब युधिष्ठिर थाक्छन् अनि फर्काएर ल्याउनु । अब फर्कौं ।’
उनीहरु फर्कन थाल्दा वरिपरिबाट मानिसहरु कराएको सुनियो– ‘नजानुस् । यहीं बस्नुस् । तपाईं यहाँ बस्दा हामीलाई आराम भएको छ । एक छिन भएपनि शीतलता अनुभव गरेका छौं । ’
युधिष्ठिरले केही नबुझेर भने – ‘तपाईंहरु को हुनुहुन्छ ? यहाँ किन बस्नु भएको छ ?’
आवाज आउन थाल्यो – म भीम हूँ, म अर्जुन हूँ । हामी द्रौपदीपुत्र इत्यादि।
यो सुनेपछि युधिष्ठिरले दुखी भएर भने– दुर्योधन स्वर्गमा सम्पूर्ण सुखभोगका साथ बसेको छ यहाँ मेरा भाईहरुको यो दुर्दशा ? भो तपाईं इन्द्रकहाँ फर्कनुहोस् । म यहीं बस्छु ।
देवदूत फर्केर गयो । देवदूत अन्तर्धान हुनासाथ इन्द्र र सम्पूर्ण देवगण उनलाई लिन आए र भने– ‘राजन्, तपाईंले छलपूर्वक गुरु द्रोणाचार्य पुत्र अश्वत्थामाको विषयमा मृत्युको भ्रम उत्पन्न गर्नु भएको थियो । त्यसैले नर्कको यो भ्रम उत्पन्न गरिएको हो । तपाईंका सबै भाईहरु सुखपूर्वक स्वर्गमा नै छन् ।’
युधिष्ठिरले अश्वत्थामा हताहतः नरो वा कुञ्जरो वा भनेर दुई अर्थी वाक्य बोलेको वाक्यले नर्कका कष्टको भ्रम भोग्नु परेको हो ।
पुरुषः प्रकृतिस्थो हि भुङ्क्ते प्रकृतिजान्गुणान् ।।
कारणं गुणसंगोऽस्य सदसद्योनिजन्मसु ।।२१ ।।
पदच्छेद र शब्दार्थ–
[सम्पादन गर्नुहोस्]हि (किनभने) प्रकृतिस्थः (प्रकृतिमा स्थित) पुरुषः (पुरुष) प्रकृतिजान् (प्रकृतिजन्य) गुणान् (गुणहरु) भुङ्क्ते (भोग गर्छ) गुणसंगः (गुणहरुको संयोग नै) अस्य (यसको) सत् असत् (असल र खराब) योेनि (योनिमा) जन्मसु (जन्मलिने) कारणम् ( कारण बन्छ) ।
प्रकृतिस्थ पुरुष नै प्रकृतिजन्य तीन गुणलाई भोग्छ । प्रकृतिका गुणहरु सहितको यो संयोग नै यस जीवात्माको सत् वा असत् योनिमा जन्म लिने कारण बन्छ ।।२१।।
व्याख्या
[सम्पादन गर्नुहोस्]शरीर नै कार्य हो । जुन महाभूत, त्यसका विषय, अन्तःकरण र यी सबैको संयुक्तरुपले गर्ने विविध कार्यहरु गर्छ । यस प्रकृतिमा निवास गर्ने पुरुषमा प्रकृतिका तीन गुणको प्रभाव पर्छ। पुरुष (जीवात्मा) सुखदुखको भोक्तापनमा हेतु (कारण) भनिन्छ यसको अर्थ के हो भने जीवात्माले आफूलाई कर्ता ठान्छ । प्रकृति भित्र रहेको पुरुषले अविद्यारुप प्रकृतिलाई आफ्नो स्वरुप मान्दछ ।
यस मोहले म सुखी छु, म दुखी छु, म पण्डित छु यस्तो भावले ऊ सुखी वा दुखी भइरहेको हुन्छ । यस मोहको कारणले उसले जस्तो विचार गर्छ, उस्तै भइरहेको हुन्छ । यी गुणहरुमा उसको आसक्ति नै उसले पुनर्जन्म लिने कारण बन्छ । यहाँनिर शंका हुनसक्छ त्यसो भए सुखदुख सधैं भोग गरिरहनु पर्छ कि त्यसबाट मुक्ति पाउने उपाय पनि छ ? यस आशंकाको निवारण गर्दै भगवान् श्रीकृष्णले भन्नु हुन्छ– यस देह भित्र रहेको पुरुष नै प्रकृतिबाट उत्पन्न गुणहरुको कार्यरुप पदार्थलाई भोग्छ र यी गुणहरुको संगत नै यस जीवात्मालाई राम्रो र नराम्रो योनिहरुमा जन्मलिने कारण बन्दछ । यो कारण अर्थात् प्रकृतिका गुणहरुको आसक्ति समाप्त भएपछि जन्ममृत्युबाट मुक्ति पाइन्छ ।
उपद्रष्टानुमन्ता च भर्ता भोक्ता महेश्वरः ।
परमात्मेति चाप्युक्तो देहेऽस्मिन् पुरुषः परः ।। २२ ।।
पदच्छेद र शब्दार्थ–
[सम्पादन गर्नुहोस्]उपद्रष्टा (नजिक बसेर हेर्ने, साक्षी) अनुमन्ता (अनुमोदन गर्ने, उचित सम्मति दिने, सल्लाहकार) भर्ता (भरण पोषण गर्ने) च (अनि) भोक्ता (भोग गर्ने) महेश्वरः (ईश्वरको पनि ईश्वरलाई) देहे अस्मिन् (यस देहमा) परः (परम्) पुरुषः (पुरुष) परमात्मा (परमात्मा) इति च अपि (इत्यादि रुपमा) उक्तः (भनिएको छ) ।
उपद्रष्टा अर्थात् नजीकै बसेर हेर्ने साक्षी, उचित सम्मति दिने सल्लाहकार, प्रकृतिका गुण्लाई बढाउने भर्ता र भोग गर्ने भोक्तालाई नै यस देहमा परम् पुरुष महेश्वर र परमात्मा भनिन्छ।।२२।।
य एव वेत्ति पुरुषं प्रकृतिं च गुणैः सह ।
सर्वथा वर्तमानोऽपि न स भूयोऽभिजायते ।। २३ ।।
पदच्छेद र शब्दार्थ–
[सम्पादन गर्नुहोस्]यः एव वेत्ति (जसले यसलाई सोही रुपमा जान्दछ) पुरुषं (पुरुष) प्रकृतिं च (तथा प्रकृति) गुणैः सह (गुणसहति) सर्वथा (जस्तोसुकै) वर्तमानः अपि (आचरण गरे पनि) सः (त्यसको) भूयः (फेरि) न अभिजायते (जन्म हुँदैन) ।
यस प्रकार जसले पुरुष (आत्मा) लाई निर्गुण र प्रकृतिलाई गुण सहित जान्दछ त्यसले जस्तो सुकै आचरण गरे पनि पुनर्जन्म हुँदैन ।।२३।।
व्याख्या
[सम्पादन गर्नुहोस्]जीवात्माले सुख दुख कसरी सुखदुख भोग्छ ? यसको व्याख्या गर्दै यहाँ भनिएको छ– यो उपद्रष्टाको रुपमा रहन्छ । उपद्रष्टाको अर्थ हो साक्षी– छेउमा उभिएको केवल दर्शक । यस्तो साक्षी जसबाट कुनै कुरा छिपेको छैन । प्रतिक्षण साक्षीरुपमा उपस्थित । ऊ घटनाको कति नजिक छ भने उसले प्रकृतिले गरेका कृत्यलाई आफूले गरेको ठानेको हुन्छ । जस्तै शरीर, आँखा, मन, बुद्धि र आत्मा यी सबै द्रष्टा हुन् । सबभन्दा बाह्य द्रष्टा शरीर हो भने सबभन्दा अन्तरतम द्रष्टा अन्तरात्मा हो ।
शंकराचार्यले यसको उदाहरण दिँदै भनेका छन् जसरी यज्ञमा कुशल मानिसले यज्ञ गर्ने अन्य शरीर र मनका क्रियाहरुको अनुगमनकर्ता र सल्लाहकर्ता यही हो । भोग गर्ने भोक्ता पनि हो । हरेक क्रियाको प्रमुख पनि त्यही हो त्यसैले महेश्वर पनि हो ।
त्यो पुरुष शरीर, र मनभन्दा पनि नजिक द्रष्टा भएर बसेको छ । त्यसको प्रकाशमा हामीले जे गरे पनि हुन्छ उसले अवरोध गर्दैन तर साक्षीरुपमा उपस्थित रहन्छ । साधनाको क्रममा जति विकास हुन्छ, त्यत्ति नै उपद्रष्टाको क्रममा परिवर्तन हुनजान्छ । त्यो अनुमन्ता बन्छ, अनुमति दिनथाल्छ, अनुभव दिन थाल्छ । अझ बढी साधना भए पछि त्यसले भर्ता बनेर गुण वृद्धि गर्न थाल्छ, योगक्षेमको व्यवस्था गरीदिन्छ । साधना अझै सूक्ष्म भएमा त्यही भोक्ता भइदिन्छ । यज्ञ र तपबाट जति प्राप्त हुन्छ, त्यो सबै त्यसैले भोग्छ । यसभन्दा उन्नत अवस्था भनेको महेश्वर महान ईश्वरको रुपमा परिणत हुने अवस्था हो । त्यो प्रकृतिको स्वामी बन्छ । यसभन्दा उन्नत अवस्थामा जब परम्बाट संयुक्त हुन्छ अनि त्यसलाई परमात्मा भन्ने गरिन्छ । यस प्रकार शरीरमा रहेर पनि पर नै छ । सर्वथा यस प्रकृतिबाट पर छ । फरक के हो भने सुरुमा यो द्रष्टा थियो विस्तारै परमात्मामा परिणत हुन्छ ।
यस प्रकार पुरुषलाई र प्रकृतिलाई गुण सहित जुन मानिसले जान्दछ त्यसले जस्तो व्यवहार गरे पनि अर्थात् उसले जीवित अवस्थामा नै मुक्ति प्राप्त गर्छ ।
ध्यानेनात्मनि पश्यन्ति केचिदात्मानमात्मना ।
अन्ये सांख्येन योगेन कर्मयोगेन चापरे ।। २४ ।।
पदच्छेद र शब्दार्थ–
[सम्पादन गर्नुहोस्]केचित् (कुनै मानिसले) ध्यानेन (ध्यान गरेर) आत्मनि (आफ्नै) आत्मना (अन्तःकरणमा) आत्मानम् (आफूलाई, आत्मालाई) पश्यन्ति (देख्छन्) अन्ये (अन्य कुनैले) सांख्येन योगेन (ज्ञानयोगद्वारा) च (अनि) अपरे (अरुले) कर्मयोगेन (कर्मयोगले देख्छन्) ।
कुनै मानिसले ध्यान गरेर आफ्नै अन्तःकरणमा आत्मालाई देख्छन् । त्यसै गरी अन्य कुनैले ज्ञानयोगद्वारा देख्छन् र अरु कुनैले कर्मयोगद्वारा देख्छन् ।। २४ ।।
अन्ये त्वेवमाजानन्तः श्रुत्वान्येभ्य उपासते ।
तेऽपि चातिरन्त्येव मृत्युं श्रुतिपरायणा ः ।।२५।।
पदच्छेद र शब्दार्थ–
[सम्पादन गर्नुहोस्]तु (तर) अन्ये (अन्य मानिसहरुले) एवम् (यसरी) अजानन्तः (जान्दैनन्) ते (तिनी) श्रुतिपरायणाः (श्रुतिपरायणहरु) अपि (पनि) अन्येभ्य (अरु कसै) लाई श्रुत्वा (सुनेर) उपासते (उपासना गर्छन्) च (तथा) एव (यस प्रकार) मृत्युं (मृत्युलाई) अतितरन्ति (पार हुन्छन्) ।
तर अन्य मानिसहरु जसले यसरी आफू भित्रको परमात्मालाई जान्दैनन् उनीहरुले तत्त्वज्ञानीहरुको कुरा सुनेर उपासना (भजन) गर्छन् । यस्ता श्रुतिपरायण मृत्युबाट पार हुन्छन् ।।२५।।
व्याख्या
[सम्पादन गर्नुहोस्]यस कैयौं मानिसले ध्यानले आफ्नो भित्रको आत्मालाई देख्छन् । यही कुरा अन्य केहीले ज्ञानद्वारा देख्छन् र अन्य मानिसहरुले कर्मयोगद्वारा देख्छन् । तर जसले यस उपायले जान्दैनन् तर श्रुतिपरायण छन्, उनीहरुले तत्त्वज्ञानीहरुको कुरा सुनेर पूजा, अर्चना, र भजन गर्छन् उनी पनि मुक्त हुन्छन् । श्रुति परायणको अर्थ हो एकाग्रचित्त भएर, ध्यानले सुन्ने । यसबाट के स्पष्ट हुन्छ भने अरु केही नजान्ने तर केवल ध्यानले सुन्ने मात्र पनि तर्न सक्छन् ।
यावत्सञ्जायते किञ्चित्सत्त्वं स्थावरजंगमम् ।
क्षेत्रक्षेत्रज्ञसंयोगात्तद्विद्धि भरतर्षभ ।। २६ ।।
पदच्छेद र शब्दार्थ–
[सम्पादन गर्नुहोस्]भरतर्षभ (भरतश्रेष्ठ भरत कुलमा श्रेष्ठ) स्थावर जंगमम् (चल अचल) यावत् (सबै) किञ्चित् (जुनसुकै) सत्त्वम् (वस्तु, कुरा) सञ्जायते (उत्पन्न हुन्छ) तत् (त्यसलाई) क्षेत्रक्षेत्रज्ञ (क्षेत्र र क्षेत्रज्ञको) संयोगात् (सयोगबाट भएको) विद्धि (बुझ)।
हे अर्जुन् जे जति चल अचल जुनसुकै वस्तु उत्पन्न हुने गर्छ त्यसलाई क्षेत्रक्षेत्रज्ञको संयोगले भएको हो भनी बुझ ।।२६।।
समं सर्वेषु भूतेषु तिष्ठन्तं परमेश्वरम् ।
विनश्यत्स्वविनश्यन्तं यः पश्यति स पश्यति ।। २७ ।।
पदच्छेद र शब्दार्थ–
[सम्पादन गर्नुहोस्]सर्वेषु भूतेषु (सबै प्राणीहरुमा) समम् (एकनासले) तिष्ठन्तम् (बसेका, रहेका) विनश्यत्सु (प्राणी नाश भए पनि) अविनश्यन्तम् (अविनाशी) परमेश्वरम् (परमेश्वर छ) यः पश्यति (जसले बुझ्छ) सः पश्यति (उसले यथार्थ कुरा जान्दछ) ।
जसले सबै प्राणीहरुमा एक नासले रहने तथा प्राणी नाश भए पनि नाश नहुने परमात्मालाई जान्यो, उसले यथार्थ तत्त्व कुरा जान्दछ ।।२७।।
व्याख्या
[सम्पादन गर्नुहोस्]स्थावर जंगम जुनसुकै वस्तु उत्पन्न हुन्छ त्यो क्षेत्रक्षेत्रज्ञको संयोगले गर्दा हो । सम्पूर्ण चराचर नाशवान प्राणीहरुमा जसले अविनाशी परमात्मालाई एकनासले अवस्थित देख्छ उसले यथार्थ देख्छ । वस्तुहरु निर्माण हुन्छन् र नाश हुन्छन् तर त्यस भित्र रहेको परमात्मा नाश हुँदैन । यस अघि ८.२० मा पनि चराचर जगत् नाश हुँदा पनि सनातन अव्यक्त नाश कुरा नाश हुँदैन, भनिएको छ । तर गीता (८.३) अनुसार भूतहरुको त्यो भाव जुन राम्रो वा नराम्रो जे जति संस्कार संरचना गर्छ, त्यो समाप्त हुनु नै कर्मको पराकाष्ठा हो । त्यसैले यहाँ के कुरा स्पष्ट गरिएको छ भने चराचर भूतप्राणीहरुलाई नष्ट हुँदै गरेको र परमेश्वरलाई समभावले स्थित जसले देख्छ, उसले बल्ल सही अर्थमा देख्छ । किनभने सबैमा एकनासले स्थित ईश्वरले सम रहेर आफैंले आफैंलाई नष्ट गर्दैन । यही परम गति प्राप्ति हुनु, याथर्थ जान्नु वा जाग्नु हो ।
समं पश्यन्हि सर्वत्र समवस्थितमीश्वरम् ।
न हिनस्त्यात्मनात्मानं ततो याति परां गतिम् ।। २८ ।।
पदच्छेद र शब्दार्थ–
[सम्पादन गर्नुहोस्]ईश्वरम् (ईश्वर) सर्वत्र (सर्वत्र) समम् (एक नास) समवस्थितम् (अवस्थित) पश्यन् हि (देखेर, बुझेर नै) आत्मना (आफैं) आत्मानम् (आफूलाई) न हिनस्ति हिंसा, घात गर्दैन) ततः (त्यसरी गर्नाले) पराम् गतिम् (परम गति) याति (प्राप्त गर्छ) ।
ईश्वरलाई सर्वत्र एकनासले स्थित बुझेर नै जुन मानिसले आत्मघाती काम गर्दैन, त्यसरी गर्नाले उसले परम गति प्राप्त गर्छ ।।२८।।
व्याख्या
[सम्पादन गर्नुहोस्]जाग्रत व्यक्तिले परमगति प्राप्त गर्छ । जो मानिस यस परमगतिमा पुग्छ, उसले आत्मघाती कार्य गर्दैन । जसले यो कुरा मान्दै मान्दैन, त्यसलाई के भन्ने ? जसले आफूलाई असल हुने कुरा मान्दैन उसको कामलाई आत्मघाती काम भनिन्छ । यदि कसैले खराब काम गर्न सारै जिद्दी गर्यो र सम्झाउँदा मानेन भने त्यसलाई भनिन्छ– जा, आफूलाई आफैंले नष्ट गर ।
मानिसहरुले जीवनभर जे गरिरहेका छन् त्यसको मूल्याङ्कन मर्ने समयमा गर्छन् । बार्नी ग्लेसर तथा एन्सेम स्ट्रासले अस्पतालमा जीवनका अन्तिम दिन पर्खेर बसेका बिरामीहरुसँग कुरा गरे । यस कुराकानीको सार उनीहरुले अवेयरनेस अफ डाईङ्ग भन्ने पुस्तकमा प्रकशित गरे । यो पुस्तक सन् १९६५ मा प्रकाशित भयो । यस पुस्तकमा अधिकांश मानिसहरुले जीवनभर आफूले आफैंलाई नष्ट गरेको अनुभव गरे । प्रायः बिरामीहरु आफ्नो अन्तिम दिनमा दुखी देखिए । उनीहरुले के गुनासो गरे भने उनीहरुले धन कमाए, परिवार बढाए, सन्तानका लागि केही योगदान गरे तर आफ्नालागि केही गर्न जानेनन्, भ्याएनन् । यस सिद्धान्तलाई अचेल ग्राउन्डेड सिद्धान्त भनिन्छ ।
प्रकृत्यैव च कर्माणि क्रियमाणानि सर्वशः ।
यः पश्यति तथात्मानमकर्तारं स पश्यति ।। २९ ।।
पदच्छेद र शब्दार्थ–
[सम्पादन गर्नुहोस्]कर्माणि (सबै काम) सर्वशः (सबै प्रकारले) प्रकृति एव च (प्रकृतिद्वारा नै) क्रियमाणानि (कार्यान्वयन भएको) तथा (तथा) आत्मानम् (आफूलाई) अकर्तारम् (अकर्ता) यः पश्यति (जसले देख्छ) स पश्यति (उसले देख्छ, जान्दछ) ।
सबै काम सबै प्रकारले प्रकृतिद्वारा नै कार्यान्वयन भएको र आत्मा अकर्ता छ भनी जसले बुझ्छ, उसैले खास तत्त्व जान्दछ भन्ने बुझ्नु पर्छ ।।२९।।
यदा भूतपृथग्भावमेकस्थमनुपश्यति ।
तत एव च विस्तारं ब्रह्म सम्पद्यते तदा ।।३०।।
पदच्छेद र शब्दार्थ–
[सम्पादन गर्नुहोस्]यदा (जुन बेला) भूत (प्राणीको) पृथक् भावम् (भिन्नतालाई) एकस्थम् (एउटैमा स्थित) च (तथा) तत एव (त्यस एकबाट नै) विस्तारम् (भिन्न भिन्नमा विस्तार भएको) अनुपश्यति (जसले हेर्छ, बुझ्छ) तदा (त्यसै बेला) ब्रह्म (ब्रह्म) सम्पद्यते (प्राप्त हुन्छ) ।
जुन बेला प्राणीको भिन्नतालाई एउटैमा स्थित र त्यस एक परमात्माबाट भिन्न भिन्नमा विस्तार भएको बुझ्छ। त्यसैबेला ब्रह्म प्राप्त हुन्छ ।।३०।।
अनादित्वान्निर्गुणत्वात्परमात्मायमव्ययः ।
शरीरस्थोऽपि कौन्तेय न करोति न लिप्यते ।। ३१ ।।
पदच्छेद र शब्दार्थ–
[सम्पादन गर्नुहोस्]कौन्तेय (हे कौन्तेय, कुन्ती पुत्र अर्जुन) अनादित्वात् (आदिरहित) निर्गुणत्वात् (गुणरहित भएकोले) परमात्मा (ईश्वर) अयम् (यो) अव्ययः (अविनाशी) शरीरस्थः अपि (शरीरमा भइकन पनि) न करोति (केही गर्दैन) न लिप्यते (लिप्त पनि हुँदैन) ।
हे कौन्तेय, अनादि र निर्गुण भएकोले यो अविनाशी परमात्मा शरीरमा रहेर पनि त्यसले केही गर्दा पनि गर्दैन तथा त्यसलाई कर्मको लेप पनि लाग्दैन अर्थात् कर्मको बन्धन हुँदैन ।। ३१ ।।
व्याख्या
[सम्पादन गर्नुहोस्]जसरी आत्मा सर्वत्र शरीरमा व्याप्त छ, त्यसै गरी परमात्मा सबै प्राणीमा व्याप्त छ । जसरी परमात्मा साक्षी रुपमा सृष्टिमा उपस्थित छ, त्यसै गरी यो आत्मा शरीरमा रहेर पनि गर्दैन। सारा कर्म सबै प्रकारले प्रकृतिद्वारा गराइन्छ, शरीरमा स्थित आत्मा यसबाट निर्लिप्त छ भनेर जसले देख्यो उसैले वास्तविक कुरा बुझ्यो ।
मानिसले देखेका सबै कुरा यथार्थ हुँदैनन् । सपनामा हात्ती देखिन्छ । बजार देखिन्छ । ऐना भित्र मानिस हिंडेको देखिन्छ । तर त्यो यथार्थ होइन । सपनामा देखिएको हात्ती जागेपछि हराउँछ । ऐना भित्रको मानिसको वास्तविकता दृष्टि फर्काए पछि थाहा पाइन्छ ।
खडानन्दले सपनामा एउटा दामी ग्राहक आएको देख्यो । सामान हेरे पछि ग्राहकले त्यसको मूल्य सोध्यो ?
खडानन्दले भन्यो– ‘११० रुपैयाँ । ’
ग्राहक– ‘यो त अलि महँगो भयो नि ? ’
खडानन्दले भन्यो ‘महँगो छैन, ठीक दाम लगाएको छु । हजुरले पाँच रुपैयाँ कम गरेर १०५ रुपैयाँ दिनुस न त ।’
ग्राहकले अझ मूल्य घटाउने कोशिश गर्यो । यस मोलमोलाईमा खडानन्दको आँखा खुलेछ ।
खडानन्द दिक्क पर्यो– ‘पाँच रुपैयाले गर्दा सपनाको ग्राहक पनि फुत्क्यो ।’
आँखा चिम्म गर्दै बोल्यो– ‘लौ भयो । १०० रुपैयाँ नै भयो । पैसा त दिनुस् ।
सपनामा जे देखिन्छ त्यो अयथार्थ हो । यस संसारलाई हामीले जसरी देख्छौं ज्ञानीले त्यसरी देख्दैन । त्यसैले ज्ञानीलाई हामीले जाग्रत पुरुष भन्छौं ।
यथा सर्वगतं सौक्ष्म्यादाकाशं नोपलिप्यते ।
सर्वत्रावस्थितो देहे तथात्मा नोपलिप्यते ।।३२ ।।
पदच्छेद र शब्दार्थ–
[सम्पादन गर्नुहोस्]यथा (जसरी) सर्वगतम् (सर्वत्र पुगेको, सर्वव्यापक) आकाशम् (आकाश) सौक्ष्म्यात् (सूक्ष्म भएकोले) न उपलिप्यते (लिप्त हुँदैन) तथा (त्यसै गरी) देहे (देहमा) आत्मा (आत्मा) सर्वत्र अवस्थितः (सर्वत्र स्थित हुँदा पनि) न उपलिप्यते (लिप्त हुँदैन) ।
जसरी सर्वत्र व्याप्त आकाश सूक्ष्म भएकोले नै लिप्त हुँदैन त्यसैगरी देहमा अवस्थित आत्मा (निर्गुण भएकोले) सर्वत्र हुँदा पनि लिप्त हुँदैन अर्थात् त्यसलाई कुनै कर्मबन्धन लाग्दैन ।।३२।।
यथा प्रकाशत्येकः कृत्स्नं लोकमिमं रविः ।
क्षेत्रं क्षेत्री तथा कृत्स्नं प्रकाशयति भारत ।। ३३ ।।
पदच्छेद र शब्दार्थ–
[सम्पादन गर्नुहोस्]भारत (हे भारत, भरतवंशी अर्जुन) यथा (जसरी) एकः (एक) रविः (सूर्यले) कृत्स्नम् (सम्पूर्ण) लोकम् (लोकलाई) प्रकाशति (प्रकाशित गर्छ) तथा (त्यसै गरी) इमम् (यो) क्षेत्री (क्षेत्रज्ञ, आत्माले) क्षेत्रम् (क्षेत्र, शरीर) कृत्स्नम् (सम्पूर्ण) प्रकाशयति (प्रकाशित गर्छ) ।
हे भारत, जसरी एउटै सूर्यले सम्पूर्ण ब्रह्माण्डलाई प्रकाशित गर्छ त्यसै गरी एउटै क्षेत्रज्ञले अर्थात् आत्माले सम्पूर्ण क्षेत्रलाई अर्थात् शरीरलाई प्रकाशित गर्छ ।।३३।।
व्याख्या
[सम्पादन गर्नुहोस्]बिजुलीको पंखाले हावा दिन खाली पाता, तार, ब्याट्री, क्वायल मात्र भएर पुग्दैन । तिनीहरु एक ठाउँमा जम्मा भएर मात्र पनि हुदैन, निश्चित नियम अनुसार सबै कुरा व्यवस्थित हुनु पर्छ बल्ल त्यसले हावा दिन्छ । त्यसै गरी शरीरका सबै अवयव निश्चित नियम अनुसार त्यसबेला कार्य गर्छन् जब शरीर भित्र परमात्मा हुन्छ ।
यस कुरालाई बुझाउन गीतामा दृष्टान्त अलंकार प्रयोग गर्दै के बताइएको छ भने जसरी सर्वत्र व्याप्त भएको आकाश सूक्ष्म भएको कारणले लिप्त हुँदैन, ठीक त्यसैगरी सर्वत्र शरीरमा अवस्थित भए पनि आत्मा निर्गुण भएकोले गुणहरुबाट लिप्त हुँदैन । यहाँ ध्यान दिनु पर्ने कुरा के हो भने आकाश सूक्ष्म भएको कारणले नै उसमा व्यापकताको गुण हुन्छ ।
चउरमा बालेको आगोले आकाशलाई कालो गराउँदैन तर कोठामा बालेको आगोले छानोलाई कालो बनाउँछ । यही नियम क्षेत्रज्ञका लागि लागू हुन्छ । सर्वत्र भइकन पनि शरीरका विशेषताले आत्मालाई प्रभावित गर्दैन ।
पदार्थको न्यूतम एकाई इलेक्ट्रोन, प्रोटोन र न्युट्रनका बीचमा पनि त्यही आकाश हुन्छ जुन चन्द्रमा र सूर्य बीच देखिन्छ । ब्रह्माण्ड जहाँसम्म फैलिएको छ, त्यो त्यही आकाश हो जुन ठिक हाम्रो दुई हातको बीचमा छ । अनि यो नै वारपार सबैतिर जोडिएको छ ।
आकाश सम्बन्धी गीतामा उल्लेखित उक्त वाक्यलाई मानक मान्दा, यदि आकाश तत्त्व भएको ए नामको अति सूक्ष्म पदार्थको निर्माण गर्ने हो भने त्यो एकै समयमा एक्स, वाइ र जेड तीनवटै आयाममा एक नासले फैलिएको हुनेछ ।
क्षेत्रक्षेत्रज्ञयोरेवमन्तरं ज्ञानचक्षुषा ।
भूतप्रकृतिमोक्षं च ये विदुर्यान्ति ते परम् ।। ३४ ।।
पदच्छेद र शब्दार्थ–
[सम्पादन गर्नुहोस्]ज्ञानचक्षुषा (ज्ञानरुपी चक्षुले, ज्ञानले) क्षेत्रक्षेत्रज्ञयोः (क्षेत्र र क्षेत्रज्ञको) एवम् (यस्तो) अन्तरम् (अन्तर) भूतप्रकृतिमोक्षम् (भूत प्राणी र मूल प्रकृतिको मोक्षलाई) च (तथा) ये (जसले) विदुः (जान्दछन्) ते (उनीहरु) परम् (परमगति) यान्ति (प्राप्त गर्छन्) ।
यस प्रकार आफ्ना ज्ञानरुपी चक्षुले क्षेत्र र क्षेत्रज्ञको फरकलाई तथा यसै गरी भूत प्राणी र मूल प्रकृतिको मोक्षलााई जसले जान्दछन् उनीहरुले परमगति प्राप्त गर्छन् ।। ३४ ।।
व्याख्या
[सम्पादन गर्नुहोस्]क्षेत्र–क्षेत्रज्ञलाई देख्ने आँखा ज्ञान हो । ज्ञान आत्म साक्षात्कारको पर्याय हो । ज्ञानको आँखा र स्थूल आँखामा अन्तर छ । जसरी जसरी चिम्टाले अर्थोक समाउँंछ तर आफूलाई समाउन सक्दैन त्यसै गरी आँखाले अरु सबथोक देख्छ तर आफूलाई देख्न सक्दैन । तर जब क्षेत्रज्ञलाई जानिन्छ अनि सम्पूर्ण क्षेत्र राम्रै गरी जानिन्छ, हात जानिन्छ, खुट्टा जानिन्छ, मन जानिन्छ । त्यसैले क्षेत्रज्ञ जानेपछि, फेरि केही जान्नै बाँकी रहँदैन ।
मूल प्रकृति, महत्तत्त्व (बुद्धि), अहङ्कार, शब्द, स्पर्श, रुप, रस तथा गन्ध यी आठलाई प्रकृति भनिन्छ । यसमा पाँच स्थूलभूत, पाँच ज्ञानेन्द्रिय, पाँच कर्मेन्द्रिय तथा मन सृष्टि विस्तार गर्ने यी १६ तत्त्वहरुलाई विकार भनिएको हो ।
म स्थूल शरीर हूँ भन्ने जीवको भावलाई अहङ्कार भनिन्छ । यो जीव भन्ने भाव वास्तवमा ब्रह्मको प्रतिबिम्ब हो । हुनत, जीव र ब्रह्म एकै हो तर मायाको प्रभावले ईश्वरदेखि भिन्न छु भन्ने ठानेको हुन्छ । अनि विद्याको सम्बन्धले गर्दा आत्मा पनि जीव भनेर कहलाउँछ । हुनत जीव पनि ब्रह्म हो तर अभिमानले गर्दा यसलाई जीव भनिन्छ । ऐनामा आफ्नो अनुहारको प्रतिबिम्ब पर्दा जसरी आफ्नो आफ्नो अनुहार र ऐनाको अनुहार गरेर दुईवटा अनुहार हुनजान्छन् तर ऐना हटाए पछि ऐनाको अनुहार वास्तविक अनुहारमा लोप हुन जान्छ, त्यसै गरी अज्ञान हटेपछि जीव ब्रह्मस्वरुप बन्दछ ।
ॐ तत्सत् इति श्रीमद्भगवद्गीतासूपनिषत्सु बह्मविद्यायां योगशास्त्रे श्रीकृष्णार्जुन संवादे क्षेत्रक्षेत्रज्ञविभागयोगो नाम त्रयोदशोऽध्यायः।।
यस प्रकार श्रीमद्भगवद्गीता उपनिषद् यस ब्रह्मविद्यारुपी योगशास्त्रमा श्रीकृष्ण र अर्जुन संवाद अन्तर्गत क्षेत्रक्षेत्रज्ञविभागयोग नाम गरेको अध्याय १३ समाप्त भयो ।। ॐ तत् सत्।।
सन्दर्भ
[सम्पादन गर्नुहोस्]अडगडानन्द, (सन् १९८०), यथार्थगीता, श्रीमद्भगवद्गीता http://yatharthgeeta.com वि.सं.२०७३
अधिकारी, कोमलनाथ, (वि.सं.२०१८), पञ्चरत्नगीता, कोमलगीता, नेपाली पद्यानुवाद र व्याख्या वाराणसी ः यशोदा प्रेस ।
अर्याल, मदन प्रसाद, (वि.सं.२०६३), विदुर, चाणक्य र भर्तृहरिका नीतिहरू, काठमाडौं ः रमादेवी अर्याल ।
आचार्य, श्रीराम शर्मा, (सन् २०११), सांख्य एवं योग, मथुरा ः युग निर्माण योजना ।
आचार्य, श्रीराम शर्मा, (सन् २०१०), माण्डूक्य उपनिषद, बृहदारण्यक उपनिषद (१०८ उपनिषद्), मथुरा ः युग निर्माण योजना ।
आदि शंकराचार्य, (वि.सं.२०६७), श्रीमद्भगवद्गीता शांकरभाष्य, गोरखपुर ः गीताप्रेस ।
ईश्वरानन्द, (वि.सं. २०५१) गीता तात्पर्य, संस्कृत, अन्वय, अर्थ र व्याख्या, स्वयम्भू ः गीता अध्ययन मण्डल ।
ओशो, (सन् १९८०), गीता दर्शन, पूना ःरेबेल बुक्स ।
खप्तड बाबा (सच्चिदानन्द सरस्वती), (वि.सं.२०५६), आत्मबोध, काठमाडौं ः खप्तड आश्रम समिति ।
गीताप्रेस, (वि.सं.२०६५), महाभारत खण्ड ६, गोरखपुर ः गीताप्रेस ।
गीताप्रेस, (वि.सं.२०६५), कल्याण, सन्तवाणी अङ्क, अङ्क २९, (संशोधित), गोरखपुर ः गीताप्रेस ।
ज्ञवाली, बाबुराम (२०७३), सहज ज्ञानले दुख निवारण, रुपन्देही ः ज्ञानज्योति प्रकाशन, रुन्धती ट्रष्ट ।
दयानन्द सरस्वती, (सन् २०१३), सत्यार्थ प्रकाश, दिल्ली ः आर्ष साहित्य प्रचार ट्रष्ट ।
पन्त, शंकरराज, (वि.सं. २०७८), श्रीरामकृष्णवचनसुधा, मुल लेखक श्री म, काठमाडौं ः रामकृष्ण आश्रम नेपाल ।
बेनेट, जे जे र ठाकुरलाल मानन्धर, (वि.सं.२०६७), अनन्तको यात्रा, काठमाडौं ः योगेन्द्रभक्त श्रेष्ठ ।
शर्मा, डी एस, (वि.सं.२०५५), हिन्दु धर्मको क ख ग अनुवादक कुलशेखर शर्मा, गीता समुदय प्रकाशन ।
सदानन्द, (सन् २००९), वेदान्तसार, नागपुर ः रामकृष्ण मठ । ८,१०