श्रीमद्भगवद्गीता षष्ठ अध्याय
अध्याय ६
[सम्पादन गर्नुहोस्]आत्मसंयम योग
[सम्पादन गर्नुहोस्]श्रीभगवानुवाच
[सम्पादन गर्नुहोस्]
अनाश्रितः कर्मफलं कार्यं कर्म करोति यः ।
स सन्न्यासी च योगी च न निरग्निर्न चाक्रियः ।। १ ।।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]श्रीभगवान् उवाच (श्रीभगवानले भन्नु भयो)
यः (जसले) कर्मफलम् (कर्मफलको) अनाश्रितः (आश्रय नगर्दै) कार्यम् (शास्त्र अनुरुपका कार्य) कर्म (कर्तव्य कर्म) करोति (गर्छ) सः (त्यो) सन्न्यासी (सन्न्यासी) च योगी (र योगी) च (तथा) निः अग्निः (अग्निको त्याग, यज्ञ विधिको त्याग गर्ने) न (होइन) च (तथा) अक्रियः (तप, दान आदि कर्म नगर्नु, शारीरिक रुपमा निष्क्रिय रहनु) न (सन्न्यासी वा योगी होइन)।
श्रीभगवानले भन्नुभयो–
जसले कर्म गर्ने बेलामा फलको आशा नराखी शास्त्रविधि अनुरुप आफ्नो कर्तव्य गर्छ, त्यो नै सन्न्यासी हो । अग्निहोत्रादि वा तप दान आदि कर्म त्याग गरी निष्क्रिय रहने मानिस न सन्न्यासी हो न योगी हो ।।१।।
व्याख्या
[सम्पादन गर्नुहोस्]निरग्निको अर्थ हो अग्निहोत्र आदि कार्य तथा अक्रियको अर्थ हो बिना अग्नि सम्पन्न हुने तप र दानका क्रियाहरु । विस्तृत अर्थमा निरग्निको अर्थ हो गृहस्थ जीवनका लागि अनिवार्य सबै कृत्यको त्याग, किनभने यी कृत्य कुनै न कुनै रुपमा अग्निसँग सम्बन्धित छन् । त्यसै गरी दान र तपका क्रिया पनि त्याग गरेर भिक्षाको अन्न खाएर मात्र जीवन निर्वाह गर्नु सन्न्यास हो ।
सृष्टिको सुरुमा प्रजापति ब्रह्माले विभिन्न मानिस र देवहरू बीचको एक कडीको रुपमा यज्ञको प्रवर्तन गरेका थिए । यसबाट देवता र मानिस दुवैको उन्नति हुने बताइएको थियो। तर भगवान् कृष्णका अनुसार, यज्ञ वा बलिदान केवल विशिष्ट अग्निमा नै गर्नु पर्छ छैन। व्यक्तिको कुनै पनि कार्य, जसमा स्वार्थको त्याग निहित छ तथा जुन मानव कल्याणका लागि गरिन्छ, यज्ञ हुन सक्छ । यसमा प्रचलित यज्ञलाई स्वीकार गर्दै अझ श्रेष्ठतातर्फ उन्मुख हुने सजिलो बाटो पहिल्याइएको छ ।
यं सन्न्यासमिति प्राहुर्योगं तं विद्धि पाण्डव ।
न ह्यसन्न्यस्तसङ्कल्पो योगी भवति कश्चन ।। २ ।।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]पाण्डव (हे पाण्डव) यम् (जसलाई) सन्न्यासम् (सन्न्यास) इति (यसरी) प्राहुः (भनिन्छ) तम् (त्यसैलाई) योगम् (योग, कर्मयोग) विद्धि (बुझ) हि (किनभने) सङ्कल्पः (फल प्राप्तिको इच्छा) असन्न्यस्त (त्याग नगरिकन) कःचन (कोही पनि) योगी (कर्मयोगी) भवति न (हुँदैन) ।
हे पाण्डव, जसलाई सन्न्यास भनिन्छ, त्यसैलाई तिमीले कर्मयोग भन्ने बुझ किनभने फल प्राप्तिको इच्छा त्याग नगरीकन कोही पनि कर्मयोगी हुन सक्दैन अर्थात् फल प्राप्तिको इच्छा त्याग गरेर जसले कर्म गर्छ, त्यो सन्न्यासी पनि हो र योगी पनि हो ।।२।।
व्याख्या
[सम्पादन गर्नुहोस्]फलको आशा राखेर गर्ने कर्महरु नै संकल्पयुक्त कर्म हुन् । यहाँ सन्न्यासको अर्थ हो सम्पूर्ण कर्मको त्याग गरेर केवल तत्त्व चिन्तन मात्र गरिरहनु, यज्ञ मात्र होइन, दान र तपका काममा पनि निष्क्रिय रहनु ।
वास्तवमा व्यक्तिलाई कर्मले होइन, त्यसका फलको आशाले बन्धनमा पार्छ। शरीरधारीका लागि कर्म अपरिहार्य भएको तथ्यलाई सहजै स्वीकार गरी आत्मसंयम राखेर तथा फलकामना त्यागेर यज्ञ रुपमा कर्महरू सम्पन्न गर्नु नै श्रेयस्कर छ । यज्ञरुपमा कर्म गर्नु भनेको ईश्वर समर्पित कर्म गर्दै त्यसको परिणाम पनि उनैलाई अर्पित गरीदिनु हो । यसरी जसले कर्म गर्छ ऊ कर्मयोगी हो, र जो कर्मयोगी हो उही सन्न्यासी पनि हो, बाह्य आवरण गौण कुरा हो ।
लोकसंग्रहका दृष्टिले पनि कर्म गर्नु आवश्यक छ किनभने सर्वसाधारण मानिसलाई सन्मार्गको बाटो देखाउनु अर्जुन जस्ता समाजका अगुवाहरूको अनिवार्य कर्तव्य हो ।
गीताले सन्न्यासमा रहेको त्यागको भावनालाई कर्मयोगमा रहेको सक्रियताको भावनासँग समावेश गरेर त्यागपूर्ण कर्मको जुन सिद्धान्त प्रतिपादन गरेको छ यसले वेदमा प्रतिपादित यज्ञ र उपनषिदमा प्रतिपादित सन्न्यास दुवैको अभूतपूर्व समन्वय हुन गएको छ । यसलाई गीतामा निष्काम कर्मयोग भनिएको छ ।
आरुरुक्षोर्मुनेर्यागं कर्म कारणमुच्यते ।
योगारुढस्य तस्यैव शमः कारणमुच्यते ।। ३ ।।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]योगम् (योगमा) आरुरुक्षः (आरुढ हुन चाहने) मुनेः (मुनिका लागि) कर्म (कर्म गर्नु नै) कारणम् (कारण) उच्यते (भनिएको छ) तस्य (त्यस) योगारुढस्य (योगारुढ, योगसिद्धको) शमः (कर्मनिवृत्ति, शान्ति) एव (नै) कारणम् (कारण, साधन) उच्यते (बताइएको छ) ।
योगमा आरुढ हुन चाहने मुनिका निम्ति कर्मलाई नै शमको कारण अर्थात् साधन भनिएको छ भने योगारुढ (योगसिद्ध) भइसके पछि शम नै कर्मको साधन हुन्छ भनेर बताइएको छ।।३।।
यदा हि नेन्द्रियार्थेषु न कर्मस्वनुषज्जते ।
सर्व संकल्पसन्न्यासी योगारुढस्तदोच्यते ।। ४ ।।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]यदा हि (जुन समयमा) न इन्द्रियार्थेषु (न इन्द्रियभोगमा) न कर्मषु (न कर्महरुमा) अनुषज्जते (अनुरक्त हुन्छ) तदा (त्यसबेला) सर्व संकल्प (सबै संकल्प, फलको इच्छा) सन्न्यासी (त्याग गरेको) योगारुढः (योगारुढ, सूक्ष्म भावचिन्तनमा निमग्न, समाधिभाव) उच्यते (भनिन्छ) ।
जुन समयमा मानिस इन्द्रिय भोगमा अथवा कर्महरु कुनैमा पनि आसक्त हुँदैन, त्यस अवस्थामा पुगेको जुन मानिसले सबै संकल्प (फलको इच्छा) त्याग गरेको हुन्छ, उही सन्न्यासी हो र त्यसै योगारुढ पनि भनिन्छ ।।४।।
व्याख्या
[सम्पादन गर्नुहोस्]यहाँ साधन र साध्यको अन्तरको बडो सुन्दर उदाहरण दिइएको छ । योगमा आरुढ हुन चाहने अर्थात् आरुरुक्षुका लागि कर्म साधन हो भने र शम (लक्ष्य हो भने योगारुढ भइसकेपछि शम लक्ष्य र कर्म साधन हुन पुग्छ ।
आरुरुक्ष शब्द रुहबाट भनेको छ । आरुहको अर्थ हुन्छ सवारी गर्नु वा माथि चढ्नु जस्तै अश्वारोह वा पर्वतारोह । त्यसै गरी योगमा आरुढ हुन चाहनेलाई आरुरुक्षु भनिन्छ ।
आरुरुक्षुका तीनवटा विशेषता हुन्छन्–
१. योगारूढ हुने इच्छा । यो इच्छा नभई त्यस कार्यमा प्रवृत्त हुने छैन ।
२. त्यसका लागि उसंग शारीरिक र मानसिक कर्म गर्ने पनि हुनुपर्छ । किनभने यो एक लामो साधनाको कुरा हो । जसमा पर्याप्त समय र श्रम खर्च हुन्छ ।
३. योगसिद्ध हुनका लागि आफ्नो सबै क्षमता र शक्ति त्यसमा लगाउन प्रवृत्त हुनु ।
यी तीनवटा कुरा भएपछि योग साधनका लागि तयारी पूरा हुन्छ ।
योगशास्त्र अनुसार, योगारुढता पथमा अग्रसरले निम्नलिखित चरण पार गर्नु पर्छ (योगसूत्र समाधिपाद २९ देखि ५५) ।
१. यम– यमको अर्थ हुन्छ, अठोट । यो नै आरुरुक्ष हुनु हो । यसका पाँचवटा बाह्य अनुशासन यस प्रकार हुन्छन् –
(क) सत्य– आँखाले जस्तो देखिन्छ, कानले जे सुनिएको छ र मनले जे बुझिएको छ, त्यही बोल्नु ।
(ख) अहिंसा– प्राणी मात्रमा प्रेम राख्नु अहिंसा हो । सत्यपालन अहिंसाको आधार हो ।
(ग) अस्तेय– मन, वचन र कर्मले अर्काको सम्पत्तिको लोभ नगर्नु ।
(घ) अपरिग्रह– अनावश्यक सञ्चय नगर्नु अर्थात् भोगका साधनहरुको संचयको इच्छाको पूर्ण त्याग गर्नु ।
(ङ) ब्रह्मचर्य – ब्रह्मको जस्तो दिनचर्या बनाउनु ब्रह्मचर्य हो । यसका लागि आचरण शुद्धता र विवेकमा ध्यान दिनु पर्छ ।
२. नियम– अर्को चरण हो नियम । यस अन्तर्गत पाँचवटा आन्तरिक अनुशासन पालन गर्नु पर्छ –
(क) शुद्धता– मन, वचन, र शरीरको शुद्धता ।
(ख) सन्तोष– ईश्वरले जे जति दिन्छ, त्यसमा सन्तुष्ट रहनु ।
(ग) तप– लक्ष्य प्राप्तिका लागि कठिन परिश्रम ।
(घ) स्वाध्याय– आफ्नो अध्ययन गर्नु ।
(ङ) ईश्वर प्रणिधान– आफ्नो मन ईश्वरमा लगाउनु ।
३. प्रत्याहार– इन्द्रियलाई इन्द्रियार्थ गराउनु प्रत्याहारको उद्देश्य हो । भोगले इन्द्रिय नभोगुन् बरु इन्द्रियले भोगलाई भोगुन् । यसलाई प्रति आहार भनिन्छ । यस पछि इन्द्रियहरुमा पूर्ण विजय प्राप्त हुन्छ ।
४. आसन– यी सबै प्राप्ति पछि स्थिर र सुख आसनमा बसेर प्राणायाम र ध्यान गर्नु पर्छ।
५. प्राणायाम– प्राणायाम श्वास प्रश्वास क्रिया हो । श्वास प्रश्वास क्रियालाई शान्त भएर हेर्नु पर्छ यो नै प्राणायाम हो । यसका लागि विस्तारै सांस भित्र तान्ने– पूरक, शरीर भित्र एक छिन राख्ने– कुम्भक र विस्तारै बाहिर निकाल्ने– रेचक, क्रियाहरु क्रमशः गरिन्छ ।
६. धारणा– प्रत्याहार र प्राणायाम धारणाको योग्यता विकास हुन्छ । पछि योगी अन्तर्मुख हुन थाल्छ । उसको चित्त कुनै वस्तु विशेषमा स्थिर हुन थाल्छ । (विभूतिपाद १)
७. ध्यान– यस धारणालाई निरन्तर अविच्छिन्न बनाउने अभ्यासलाई ध्यान भनिन्छ । यस अघिका प्रत्येक चरण क्रिया हुन् तर ध्यानमा पुगेपछि त्यही क्रिया अब यही कुरा अक्रिया हुन जान्छ । (विभूतिपाद २)
८. समाधि– यस पछि आनन्दमय, ज्ञानमय, ज्योतिर्मय, शान्तिमय, पूर्ण तृप्ति, र मृत्युरहित पूर्ण आनन्दको अवस्था प्राप्त हुन्छ । (विभूतिपाद ६)
आरुरुक्षुको अन्तिम सोपान अर्थात् योगारुढ अवस्था यही हो ।
उद्धरेदात्मनात्मानं नात्मानमवसादयेत् ।
आत्मैव ह्यात्मनो बन्धुरात्मैव रिपुरात्मनः ।।५।।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]आत्मना (आफैंले) आत्मानम् (आफ्नो) उद्धरेत् (उद्धार गर्नु पर्छ) आत्मानम् (आफूलाई) न अवसादयेत् (अधोगतिमा, खस्न दिनु हुँदैन) हि (किनभने) आत्मा एव (आफू नै) आत्मनो (आफ्नो) बन्धुः (मित्र हो) आत्मा एव (आफैं नै) आत्मनः (आफ्नो) रिपुः (शत्रु हो) ।
मानिस आफैंले आफ्नो उद्धार गर्नु पर्छ । आफूलाई खस्न दिनु हुँदैन किनभने आफ्नो मित्र पनि आफैं हो र आफ्नो शत्रु पनि आफैं हो अर्थात् आफु बाहेक न कोही मित्र छ, न शत्रु।।५।।
बन्धुरात्मात्मनस्तस्य येनात्मैवात्मना जितः ।
अनात्मनस्तु शत्रुत्वे वर्तेतात्मैव शत्रुवत् ।। ६ ।।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]येन (जसले) आत्मा एव आत्मना (आफ्नो मन र इन्द्रिय, अन्तःकरण) जितः (जितेको छ) तस्य (त्यो) आत्मा आत्मनः (आफैं आफ्नो) बन्धुः (मित्र हो) तु (तर) अनात्मनः (आफूलाई, अन्तःकरणलाई, मन र इन्द्रियलाई ) आत्मा एव (आफैं नै) शत्रुवत् (शत्रुवत् भई) शत्रुत्वे (शत्रुताको) वर्तेत (व्यवहार गर्छ) ।
जसले आफ्नो अन्तःकरण जितेको छ त्यो आफैंमा आफ्नो मित्र हो । तर जसले आफ्नो मन र इन्द्रिय जित्न सक्दैन, ऊ आफ्नालागि आफैं शत्रुवत् हो ।।६।।
जितात्मानः प्रशान्तस्य परमात्मा समाहितः ।
शीतोष्णसुखदुःखेषु तथा मानापमानयोः ।। ७ ।।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]शीत उष्णसुखदुःखेषु (जाडो, गर्मी सुख र दुखमा) तथा (तथा) मान अपमानयोः (मान र अपमानमा) प्रशान्तस्य (एकनासले शान्त) जित आत्मानः (आफूलाई जितेको, प्रत्याहार पूर्वक अन्तःकरणका वृत्तिहरु आफ्नै अधीनमा लिएको छ) परमात्मा (परमात्मामा) समाहितः (समाहित रहन्छ, स्थित हुन जान्छ) ।
जसले जाडो गर्मी, दुख सुख, मान र अपमानमा एक नासले शान्त छ । जसले आफ्नो अन्तःकरणलाई आफ्नो अधीनमा राखेको छ अन्तःकरणका वृत्तिहरु राम्ररी शान्त गरेको छ, त्यस्तो योगी परमात्मा स्थित हुन जान्छ ।।७।।
व्याख्या
[सम्पादन गर्नुहोस्]योगमा आरुढ हुन किन इच्छा गर्नु पर्छ ?आरुरुक्षु आफ्नो मित्र किन हो ? किनभने योगले निम्नलिखित काम गर्छ –
१. शारीरिक क्लेशहरुको परिशमन
२. चित्त वृत्तिको निरोध अर्थात् तनावबाट मुक्ति
३. परम शान्तिको प्राप्ति
मानिसले श्रेष्ठ हुन चाहन्छ भने योग साधनमा प्रवृत्त हुनै पर्छ । यसको अर्थ के हो भने इन्द्रिय संयम, शारीरिक र मानसिक सहनशीलता नगरी जीवनमा उच्चतम उपलब्धि हासिल गर्न सकिँदैन ।
आफूलाई संयमित र इन्द्रिय निग्रह गरे पछि जुन प्रत्याहारको अवस्था प्राप्त हुन्छ त्यस अवस्थामा साधकले समबुद्धि प्राप्त गर्छ ।
ज्ञानविज्ञानतृप्तात्मा कूटस्थो विजितेन्द्रियः ।
युक्त इत्युच्यते योगी समलोष्टाश्मकाञ्चन ः ।। ८ ।।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]ज्ञानविज्ञानतृप्त (ज्ञानविज्ञानले तृप्त) आत्मा (अन्तःकरण) कूटस्थः (स्थिर अवस्था) विजित इन्द्रियः (इन्द्रियलाई विशेषरुपमा जितेको) योगी (योगी) लोष्ट अश्म काञ्चन (माटोे, ढुंगा, र सुवर्णमा) सम (एक समान हुन्छ) युक्त (युक्त, योगसिद्ध) इति (यस प्रकार) उच्यते (भनिएको छ) ।
जसको अन्तःकरण ज्ञानविज्ञानले तृप्त छ, जसले इन्द्रियहरुलाई विशेषरुपबाट जितिसकेको छ, जो कूटस्थ अवस्थामा पुगेर उसको दृष्टिमा माटो, ढुंगा, र सुन एकसमान भएका छन्, त्यस्तो योगी पुरुषलाई युक्त अर्थात् सिद्धि प्राप्त गरेको भनिन्छ ।।८।।
सुहृन्मित्रार्युदासीनमध्यस्थद्वेष्यबन्धुषु ।
साधुष्वपि च पापेषु समबुद्धिर्विशिष्यते ।। ९ ।।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]सुहृत् (हृदयबाट सहायता गर्ने), मित्र (सुख र दुखमा हरदम साथ दिने), उदासीन (बेवास्ता गर्ने) मध्यस्थ (मध्यस्थकर्ता, सबैलाई मिलाउने) द्वेष्य (रिस गर्ने) बन्धुषु (विभिन्न समयमा चाहिने नातेदार) साधुषु (सज्जनहरु) च (तथा) पापेषु (पापीहरुमा) अपि (पनि) समबुद्धिः (समान बुद्धि राख्ने) विशिष्यते (विशिष्ट छ) ।
सुहृत्, मित्र, उदासीन, द्वेषी, बन्धु, धर्मात्मा, तथा पापीहरुमा पनि समबुद्धि भएको छ भने त्यो पुरुष विशिष्ट योग्यताको हुन्छ ।।९।।
व्याख्या
[सम्पादन गर्नुहोस्]इन्द्रियलाई राम्ररी जितेको मानिसलाई प्रेरणा दिने काम प्राण र मनले गर्छन् । प्राणले दिनरात शरीरलाई गतिशील राख्दछ । शारीरिक र मानसिक दृढता तथा मनको एकाग्रतामा प्राणको नियमन महत्त्वपूर्ण छ । प्राणको नियन्त्रण गरे पछि मन र इन्द्रियहरुमा स्वतः नियन्त्रण हुन जान्छ । प्राण नियमन गर्ने यस क्रियालाई नै योगमा प्राणायाम भनिएको हो ।
प्राणायाम पछि धारणा, ध्यान र समाधिमा पुग्न जुन उच्च अवस्था प्राप्त हुन्छ त्यो नै साधकको विशेष योग्यता हो ।
योगी युञ्जीत सततमात्मानं रहसि स्थितः ।
एकाकी यतचित्तात्मा निराशीरपरिग्रहः ।। १० ।।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]योगी (योगीले) रहसि (एकान्तमा) स्थितः (बसेर) एकाकी (एक्लै) यतचित्तात्मा (चित्त र अन्तःकरणलाई वशमा राखी) निराशीः (वासनारहित) अपरिग्रहः (परिग्रहरहित) आत्मानम् (आफूलाई) सततम् (निरन्तर) योगम् (योगाभ्यासमा) युञ्जीत (लगाओस्) ।
योगीले एक्लै एकान्तमा बसेर चित्त र अन्तःकरणलाई वशमा राख्नु पर्छ । मन, इन्द्रिय, र शरीरलाई वशमा राखेर, वासना, र संग्रहरहित भएर आफूलाई योगाभ्यासमा लगाओस् ।।१०।।
शुचौ देशे प्रतिष्ठाप्य स्थिरमासनमात्मनः ।
नात्युच्छ्रितं नातिनीचं चैलाजिन कुशोत्तरम् ।।११।।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]शुचौ (सफा र पवित्र) देशे (स्थानमा) आत्मनः (आफ्नो) स्थिरम् (स्थिर) आसनम् (आसन) प्रतिष्ठाप्य (राखेर) न अति उच्छ्रितम् (अति अग्लो, बिझाउने, असजिला न होस्े) न अतिनीचम् (होचो, खाडल नहोस्) चैल (वस्त्र) अजिन (बाघ, हात्ती वा मृगको छाला) कुश (कुश) उत्तरम् (एक पछि अर्को बिछाओस्) ।
शुद्ध स्थानमा अग्लो, होचो (बिझाउने वा असजिलो) नभएको स्थिर आसनमा कुश, मृगछाला, र वस्त्रलाई एउटामाथि अर्को मिलाएर बिछाएर राखोस् ।।११।।
तत्रैकाग्रं मनः कृत्वा यतचित्तेन्द्रियक्रियः ।
उपविश्यासने युञ्ज्याद्योगमात्मविशुद्धये ।। १२ ।।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]तत्र (त्यहाँ) मनः (मन) एकाग्रम् (एकाग्र) कृत्वा (गरेर) यत–चित्त–इन्द्रिय–क्रियः (चित्त र इन्द्रियका क्रियाहरुलाई वशमा राखेर, शान्त भई) उपविश्य (बसेर) आसने (आसनमा) आत्मविशुद्धये (आन्तरिक शुद्धिका लागि) युञ्ज्यात् योगम् (योगमा जोडोस, योग गरोस्) ।
त्यस आसनमा बसेर मनलाई एकाग्र गरेर चित्त र इन्द्रियहरुका क्रियालाई वशमा गर्दै आन्तरिक शुद्धिका लागि योगाभ्यास (ध्यानको अभ्यास) गरोस् ।।१२।।
व्याख्या
[सम्पादन गर्नुहोस्]ध्यानका लागि स्थान, आसन र आहारको ठूलो महत्त्व छ । स्थान शुद्ध र पवित्र हुनुपर्छ । कुनै बगैंचा, सुरक्षित फुलवारी, नदी किनार, एकान्त पर्वत, मन्दिरको कुनो, सन्त पुरुषहरुले ध्यान र पूजा गर्ने आश्रम इत्यादि कुनै स्थान छनौट गर्न सकिन्छ । यदि कुनै एक शुद्ध सफा ठाउँलाई ध्यानका लागि रोजिएको छ भने त्यसैमा निरन्तरता दिनु पर्छ । ठाउँ फेरिरहनु हुँदैन। किनभने एक स्थानमा ध्यानमा नियमित बस्दा छिटो मन एकाग्र हुन सक्छ ।
ध्यानमा मन केन्द्रित हुनका लागि आसन आरामदायी हुनुपर्छ, त्यसैले कुश, मृगचर्म, र नरम वस्त्र मिलाएर राख्ने भनिएको छ । यसरी राख्दा बढीभन्दा बढी ऊर्जा भित्र संग्रह हुन जाओस् र ध्यानबाट प्राप्त ऊर्जा जमीनमा चुहिएर नजाओस् भन्ने कुरालाई पनि ध्यानमा राखिएको छ । जसरी बिजुलीको जमीनसंगको प्रत्यक्ष सम्बन्ध हुन गई ऊर्जा पृथ्वीमा जान्छ, सोही सिद्धान्त ध्यान ऊर्जाका सन्दर्भमा मानिएको छ । आसनले ऊर्जालाई जमीनमा जानबाट रोक्छ । उचित आसन भयो भने ध्यानबाट प्राप्त ऊर्जा संकलन भई छिटो मन छिटो एकाग्रचित्त हुन जान्छ ।
धेरै अग्लो र होचो नहोस् भन्नुका विभिन्न अर्थ हुन्छन् । आसन आरामदायक होस् कहीं होचो कहीं अग्लो भयो भने असजिलो हुन्छ । ध्यानमा बस्ने स्थान अरु भूमिसंग लगभग बराबर होस् । कसैलाई अग्लो आसनमा ध्यान गर्न रुचि छ भने दुई तीन अङ्गुलभन्दा बढी नहोस् । यही कुरा होचो जमीन रोज्नेका लागि पनि हो । तर सामान्यतया अग्लो होचो जमीनलाई प्राथमिकता दिईंदैन । त्यसैले समथर जमीन हुनु सबभन्दा राम्रो मानिएको छ ।
ध्यानका लागि समयको पनि महत्त्व हुन्छ । बिहान र साँझको सन्ध्याकाल ध्यानका लागि उचित हुन्छ । सन्ध्याकालमा मानिसहरु शारीरिक र मानसिक रुपमा विश्रामको आवश्यकता अनुभव गर्छन् । शास्त्रहरुमा पनि यस समयलाई ईश्वरीय चिन्तनमा बिताउनका लागि उपयुक्त भनिएको छ ।
सन्तहरुले भन्ने गरेका छन्– ‘मानिस दुई कारणले पशुभन्दा उच्च श्रेणीको हुन सकेको हो । पहिलो, ऊ हाँस्न सक्छ, र अर्को उसले ध्यान गर्न सक्छ ।’ स्पष्टतः ध्यान मानव जीवनको एक महत्त्वपूर्ण आविष्कार हो । जसबाट अविश्वसनीय उपलब्धि हासिल हुन सक्छन् । अर्को कुरा, ध्यानको यो विधि प्रयोगमा आधारित छ । जसको अभ्यास प्रत्येकले गर्न सक्छ ।
समं कायशिरोग्रीवं धारयन्नचलं स्थिरः ।
सम्प्रेक्ष्य नासिकाग्रं स्वं दिशश्चानवलोकन ।। १३ ।।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]काय–शिरः–ग्रीवम् (शरीर, गर्दन र सिरलाई) समम् (सीधा, एकनास) धारयन् राखेर) अचलम् (नचलिकन) स्थिरः (स्थिर) सम्प्रेक्ष्य (दृष्टि केन्द्रित गरेर) स्वम् (आफ्नो) नासिका अग्रम् (नासिकाको अग्रभागमा) दिशः च अन् अवलोकन (यताउता हेर्ने चञ्चलता नगरिकन) ।
शरीर, गर्दन र सिरलाई सीधा र अचल राखेर नाकको अग्रभागमा दृष्टि केन्द्रित गर्नु पर्छ दायाँ बायाँ हेर्ने चञ्चलता नगरोस् ।।१३।।
प्रशान्तात्मा विगतभीर्ब्रह्मचारिव्रते स्थितः ।
मनः संयम्य मच्चित्तो युक्त आसीत मत्परः ।। १४ ।।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]प्रशान्त आत्मा (प्रसन्नचित्त, शान्त अन्तःकरण) विगतभीः (भयरहित) ब्रह्मचारिव्रते (ब्रह्मचर्य व्रतमा) स्थितः (रहेर) मनः (मनलाई) संयम्य (संयम गरेर) मत् चित्तः (चित्त ममा केन्द्रित गर्दै) मत्परः (पत्परायण भई, म बाहेक अरु कुरा नसोचेर) युक्त आसीत (युक्त भई बसोस्)।
भयरहित र राम्रो ढंगले शान्त अन्तःकरणले ब्रह्मचर्य व्रत पालन गर्दै मनलाई संयत राख्दै मसंग लागेको चित्तले मेरो परायण भएर युक्त भई बसोस् ।।१४।।
युञ्जन्नेवं सदात्मानं योगी नियतमानसः ।
शान्तिं निर्वाणपरमां मत्संस्थामधिगच्छिति ।। १५।।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]एवम् (यसरी) युञ्जन् (समाहित गर्दै, लगाउँदै) सदा आत्मानम् (निरन्तर आफूलाई) योगी (योगीले) नियतमानसः (मनलाई वशमा गरेर) निर्वाण (लीन भएर) परमाम् शान्तिम् (परम शान्ति) मत्संस्थाम् (मेरो स्वरुपको, ममा रहेको) अधिगच्छिति (प्राप्त गर्छ, छिटै पुग्छ) ।
यस प्रकार आफूलाई निरन्तर त्यसै चिन्तनमा लगाउँदै, संयत मन भएको योगी निर्वाण पद अर्थात् मेरै स्वरुपमा लीन गराउने परम् शान्तिलाई प्राप्त गर्दछ ।।१५।।
व्याख्या
[सम्पादन गर्नुहोस्]ध्यानको अभ्यासका तरीका यी श्लोकमा बताइएको छ ।
ध्यान गर्दा शरीर, गर्दन र सिर जमीनसँग सीधा सरल रेखीय, शान्त र अचल राख्नु पर्छ । इन्द्रियहरुका क्रियालाई वशमा राख्नु पर्छ । यसको अर्थ के हो भने ध्यानमा बस्दा शरीर कन्याउने, कोट्ट्याउने, खोक्ने, दायाँबायाँ तलमाथि हेर्नेकाम गर्नु हुँदैन । दृष्टिको चञ्चलता हटाउन नाकको अग्रभागमा दृष्टि केन्द्रित गर्नु पर्छ ।
ध्यानमा बस्ना साथ केही जिज्ञासा सुरु हुन्छ, हेर्न मन लाग्छ । मानिसलाई चञ्चल बनाउने मन हो । शरीरको चञ्चलता केवल मनको प्रतिबिम्ब हो ।
ध्यानमा आँखा बन्द गर्ने कि खुल्ला राख्ने ? गीतामा यस बारेमा भनिएको छ, नाकको अग्रभागमा हेर्नु पर्छ । यसको अर्थ हो, आँखालाई बन्द पनि नराख्नु र खुल्ला पनि नराख्नु । यस्तो मुद्रालाई अर्धमुदित, शाम्भवी मुद्रा भनिन्छ । आचार्य विनोबा भावेले भनेका छन्– ‘आँखा चिम्लिनु तमो प्रधान भएकोले निद्रा लाग्ने हुन्छ । आँखा खुल्ला राख्नु रजो प्रधान हो । किनभने आँखा खुल्ला राख्दा मन चञ्चल हुन गई यताउता हेर्ने सम्भावना हुन्छ । यसको बीचको बाटो सत्त्व गुण हो । थोरै बन्द थोरै खुल्ला । नाकको अग्रभागमा केन्द्रित गर्नु भनेको अर्धमुदित नेत्र हो ।’
नाकको अग्रभागमा हेर्नुको अर्को अर्थ पनि हुन्छ । नाकको अग्रभागबाट श्वास र प्रश्वास भइरहन्छ, त्यसैले श्वास प्रश्वासको गतिलाई अनुभव गर्नु पनि अग्रभागमा हेर्नु हो । प्राणायामको यस क्रियामा विचारहीनताको अभ्यास गर्न स्वास प्रश्वासको गतिमा ध्यान केन्द्रित गरिन्छ ।
ध्यानको प्रथम पटक अभ्यास गर्नेलाई विचारहीन अवस्थामा पुग्नु ज्यादै कठिन छ । त्यसैले मौन रहने, मनमनै ॐ (प्रणव) वा कुनै मन्त्रको जाप गर्नु लाभदायक हुन्छ । आफ्नो इष्ट देवको बिम्बलाई मनमा स्थापित गरेर पनि एकाग्रता उत्पन्न गर्न सकिन्छ । ज्योतिबिन्दुको कल्पना गरेर मन त्यसमा एकाग्र गर्न सकिन्छ । मनमा आउने जाने गर्ने विचारलाई साक्षी भावले हेरेर पनि ध्यान गर्न सकिन्छ । अचानक र नपत्याइँदो गरी मनमा विचार उत्पन्न हुन्छन् र त्यसै गरी त्यो विचार हराउँछ पनि । फेरि अर्को विचार आउँछ । सामान्य अवस्थामा थाहा नभएका विचार ध्यान गर्दा आउँछन् । वास्तवमा विचारका तरङ्ग सधैं चलिरहन्छन् । अरु बेला त्यो थाहा पाइँदैन तर ध्यानमा स्पष्ट देखिन्छन् । मनमा विचार आउने जानेलाई साक्षी भावले हेर्नु पनि एक मनोरञ्जक खेल बन्न सक्छ । तर समाधिको आनन्द केवल त्यसबेला प्राप्त हुन्छ जब मनलाई विचारशून्य अवस्थामा पुर्याइन्छ । विचार शून्य तर जाग्रत । यस अवस्थालाई प्राप्त गर्न लामो साधना आवश्यक पर्न सक्छ ।
वास्तवमा, कर्मकाण्ड, सत्सङ्ग, भजनकीर्तन सबै क्रियाकलाप त्यस लक्ष्यमा पुग्ने साधन हुन् । सुरुमा मन एकाग्र गर्न सबै साधन आवश्यक हुन्छन् । साकारको ध्यान पनि त्यसमा सहायक हुन्छ । कुन कुराले मनको चञ्चलता कम हुन्छ त्यसको उपयोग साधकले गर्नु पर्छ ।
ध्यानका लागि ब्रह्मचर्यव्रतमा स्थित हुनु पर्ने बताइएको छ । ब्रह्मचर्यको उर्वराभूमिमा नै अविश्वसनीय शारीरिक, मानसिक र आत्मिक शक्तिको विकास हुन्छ । ब्रह्मचर्य व्रतमा ईश्वर उपासना, ज्ञान आर्जन, वीर्यादिको सप्रयास संरक्षण र संवर्धन पर्दछन् । पुरुषद्वारा नारी जाति प्रति सम्मानको भावना पनि ब्रह्मचर्य व्रतमा निहित छ । एक पत्नीव्रत पुरुष र एक पुरुषनिष्ठ स्त्री जो ऋतुगामी छन् तिनीहरुलाई पनि हिन्दुशास्त्रकारहरुले ब्रह्मचारी मान्दछन् । तर यहाँ ब्रह्मचर्यव्रतको एक विशेष अर्थ छ । ध्यानमा बस्नु भनेको ऊर्जा भृकुटीमा केन्द्रित गर्नु हो । मानिसको ऊर्जाको स्रोत कामकेन्द्रमा हुन्छ । यसलाई विस्तारै माथि ल्याउँदै दुई नेत्रको बीचमा केन्द्रित गर्नु हो । यसैलाई ब्रह्मचर्यमा स्थित हुनु भनिएको हो ।
नात्यश्नतस्तु योगोऽस्ति न चैकान्तमनश्नतः ।
नचाति स्वप्नशीलस्य जाग्रतो नैव चार्जुन ।। १६ ।।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]अर्जुन (हे अर्जुन) तु (तर) योगः (योग, ध्यान योग) अति अश्नतः (अति खानेको) न अस्ति (हुँदैन) च (तथा) एकान्तम् अनश्नतः (बिल्कुल नखाने, बढी उपवास गर्ने) न च (को पनि हुँदैन) अति स्वप्नशीलस्य (धेरै सुत्नेको) न जाग्रतः (सुत्दै नसत्ने, जागा बस्ने) न एव च (को पनि हुँदैन) ।
हे अर्जुन, यस्तो योग धेरै खाने वा भोकै बस्ने, धेरै सुत्ने वा जागा रहने यस्तो कुनै पनि अति गर्नेलाई सिद्ध हुँदैन ।।१६।।
युक्ताहारविहारस्य युक्तचेष्टस्य कर्मसु ।
युक्तस्वप्नावबोधस्य योगो भवति दुःखहा ।।१७।।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]युक्त (सन्तुलित, उचित) आहारविहारस्य (आहार विहार गर्नेको) कर्मसु (कर्महरुमा) युक्तचेष्टस्य (ठीक चेष्टा गर्नेहरुको) युक्तस्वप्न अवबोधस्य (उचित शयन जागरण भएको) दुःखहा (दुख हरण गर्ने, आनन्द दिने) योगः (यस्तो योग, ध्यान) भवति (सिद्ध हुन्छ)।
जसको आहार विहार सन्तुलित छ, कर्महरुको आचरण पनि ठीक छ, कर्ममा उपयुक्त चेष्टा छ, र उचित शयन र जागरण छ, उसको मात्र यो दुख हरण गर्ने योग सिद्ध हुन्छ ।।१७।।
व्याख्या
[सम्पादन गर्नुहोस्]मनलाई वशमा राख्न शरीर स्वस्थ राख्नु पर्छ । यसका लागि उमेर, शरीर र अवस्था अनुसारको आहार, आराम र उचित निद्रा जरुरी हुन्छ । कुनै पनि अति गर्नेलाई ध्यान सिद्ध हुँदैन । यो केवल उसलाई सिद्ध हुन्छ जसले सम्यक् जीवनयापन गर्छ । भोकै बस्नेहरुले बलपूर्वक इन्द्रिय नियन्त्रण गर्न सक्छन् तर कल्पनामा मीठा मीठा परिकार घुमिरहेका हुन्छन्।
मनलाई स्वस्थ राख्न त्यसलाई पौष्टिक आहारका गुण दिनु पर्छ । गुण अनुसार आहार तीन प्रकारका हुन्छन् । सात्त्विक, राजस् र तामस् । सात्त्विक भोजनले मनलाई पौष्टिकता प्रदान गर्छ । छान्दोग्य उपनिषदका अनुसार, जुन ठोस भोजन शरीरले लिन्छ, त्यसको स्थूल भाग मल बन्छ, मध्यम भाग मासु र सूक्ष्म भाग मनमा पुग्छ । त्यसैले मनलाई अन्नमय कोष भनिन्छ ।
ग्रहण गरिएको पानी तीन भागमा बाँडिन्छ । स्थूल भाग मूत्र, मध्यम भाग रगत, र सूक्ष्म भाग प्राणमा रुपान्तरित हुन्छ । घिउ तेलको स्थूल भाग हाड, मध्यम भाग मज्जा, र सूक्ष्म भाग वाणीमा रुपान्तरित हुनजान्छ । यस प्रकार आहारको शुद्धताले असल स्वास्थ्यका साथै अन्तःकरण पनि शुद्ध हुनजान्छ । आहारको अर्थ हुन्छ ग्रहण गर्नु । यस दृष्टिले पाँच इन्द्रिय र पाँच ज्ञानेन्द्रियले ग्रहण गर्ने सबै कुरा आहार हुन्छन्। त्यसैले रुप, रस, गन्ध सबै शुद्ध हुनु मनको एकाग्रताका लागि आवश्यक छ ।
मन जति एकाग्र हुन्छ, यो विस्तारै विलीन हुँदै जान्छ । योगारुढ अर्थात् समाधि प्राप्त स्थिर मनको कस्तो अवस्था हुन्छ । यो कुरा आउने श्लोकमा वर्णन गरिएको छ ।
यदा विनियतं चित्तमात्मन्येवावतिष्ठते ।
निःस्पृह सर्वकामेभ्यो युक्त इत्युच्यते तदा ।। १८।।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]इति (यस प्रकार) यदा (जसरी) विनियतम् (विशेषरुपले वशमा गरिएको) चित्तम् (चित्त, मन) आत्मनि एव (आफैमा, आत्मामा नै) अवतिष्ठते (एकाग्र हुन्छ, बस्छ) सर्वकामेभ्यः (सबै कामनाहरुबाट) निःस्पृह (निस्पृह) तदा (त्यसबेला)युक्त (योग युक्त भएको) उच्यते (भनिन्छ) ।
जुन बेला विशेष रुपले वशमा गरिएको मन आत्मामा नै राम्ररी स्थिर तथा कामनाहरुबाट निःस्पृह हुनजान्छ अर्थात् कुनै पनि कामना पूर्तिको तृष्णा बाँकी रहँदैन, त्यस बेला त्यस्तो मानिसलाई योगयुक्त भयो भनी बताइन्छ ।।१८।।
यथा दीपो निवातस्थो नेङ्गते सोपमा स्मृता ।
योगिनो यतचित्तस्य युञ्जतो योगमात्मनः ।। १९ ।।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]यथा (जसरी) दीपः (बत्ती, दियोको ज्योति) निवातस्थः (हावा नचल्ने स्थानमा) न इङ्गते (कम्पित हुँदैन, निश्चल हुन्छ) सा उपमा (त्यसै गरी, सोही उपमा) यतचित्तस्य (चित्त संयत गरेका) योगम् युञ्जतः (योगमा जोडिएका, योगाभ्यासी) स्मृता (बुझ्नु पर्छ) योगिनः (योगीहरु) आत्मनः (आत्मतत्त्वमा निश्चल हुन्छन्)।
जसरी हावा नचल्ने स्थानमा बलेको बत्तीको ज्योति निश्चल हुन्छ । सोही उपमा चित्त संयत गरेका योगाभ्यासीको हुन्छ । यस्ता योगीहरुको चित्त आत्मतत्त्वमा निश्चल हुन्छ ।।१९।।
व्याख्या
[सम्पादन गर्नुहोस्]ध्यानबाट समाधिमा प्रवेश गरिरहेको बुद्धि वस्तुतः संसारबाट अध्यात्ममा प्रवेश गरिरहेको हुन्छ । समाधिमा पुगेपछि पनि बुद्धिको रुपान्तरण अवरुद्ध हुँदैन । प्रारम्भ स्थितिको फलस्वरुप बुद्धिको जुन परिष्कृत क्रान्तिदर्शी रुप प्रकट हुन्छ त्यसलाई ऋतम्भरा प्रज्ञा भनिएको छ । समाधिमा पुग्दा नपुग्दै केवल ध्येयको अस्तित्व रहन जान्छ । ध्याता र ध्यानको स्वरुप शून्य झैं हुन पुग्छ ।
यस प्रकार आफूलाई निरन्तर त्यसै चिन्तनमा लगाउँदै, संयत मन भएको योगी ईश्वर भित्र स्थितिरुपी पराकाष्ठा भएको मानिसले परम शान्ति प्राप्त गर्दछ । त्यसै अवस्थालाई समाधि भनिन्छ ।
योगाभ्यासी योगीको एकाग्रचित्तलाई गीतामा बडो सुन्दर उपमा दिइएको छ, निवात् स्थानका ज्योतिको । जसले यो अवस्था प्राप्त गरेर सामान्य अवस्थामा रहन सिकेको हुन्छ उसको मन सधैं निवात स्थानको बत्ती जस्तो भयरहित, अविचलित र एक नास हुन्छ किनभने त्यो योगारुढ अवस्था हो ।
यत्रोपरमते चित्तं निरुद्धं योगसेवया ।
यत्र चैवात्मनात्मानं पश्यन्नात्मनि तुष्यति ।। २० ।।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]यत्र (जुन ठाउँमा, अवस्थामा) उपरमते (रमाउँछ, विश्राम हुन्छ) चित्तम् (चित्त) निरुद्धम् (निरुद्ध) योगसेवया (योगको सेवाले, योगको अभ्यासले) यत्र च (तथा जहाँ, जुन ठाउँमा) आत्मन एव (शुद्ध मनद्वारा) आत्मनि (आफैंमा) आत्मानम् (आत्मा) पश्यन् (देखेर) तुष्यति (सन्तुष्ट हुन्छ) ।
योगको अभ्यासले निरुद्ध अर्थात् स्थिर गरिएको चित्त जुन ठाउँमा रमाउँछ र जुन ठाउँमा आफूमा आत्मा देखे पछि र आफैंमा सन्तुष्ट पनि हुन्छ (त्यही योगारुढता हो) ।। २० ।।
सुखमात्यन्तिकं यत्तद्बुद्धिग्राह्यमतीन्द्रियम् ।
वेत्ति यत्र न चैवायं स्थितश्चलति तत्त्वतः ।। २१ ।।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]सुखम् (आनन्द) आत्यन्तिकम् (अनन्त) यत् (यो) तत् (जुन) बुद्धिग्राह्यम् (शुद्ध र सूक्ष्म बुद्धिबाट ग्राह्य) अतीन्द्रियम् (इन्द्रियभन्दा परको) वेत्ति (बुझ्छ) यत्र (जुन अवस्थामा) च (तथा) अयम् (यो) स्थितः (स्थित भएर) तत्त्वतः (परमार्थ तत्त्वबाट) न एव चलति (विचलित हुँदै हुन्न) ।
जुन अवस्थामा योगीले बुद्धिद्वारा अनुभव गर्न सकिने तर इन्द्रियहरुको गति नपुग्ने, जुन अनन्त आनन्द उसलाई अनुभव हुन्छ, र जुन अवस्थामा स्थिर भएर त्यो योगी परमार्थ तत्त्वबाट कहिल्यै विचलित हुँदैन (त्यसैलाई योगारुढ हुनु भनिन्छ) ।।२१।।
यं लब्ध्वा चापरं लाभं मन्यते नाधिकं ततः ।
यस्मिन्स्थितो न दुःखेन गुरुणापि विचाल्यते ।। २२ ।।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]यम् (जुन कुरा) लब्ध्वा (प्राप्त गरेपछि) अपरम् अधिकम् (त्यसभन्दा बढी अर्को) लाभम् (लाभ, उपलब्धि) मन्यते न (केही छैन भन्ने मान्छ) च (तथा) ततः (त्यसलाई) यस्मिन् (जुन अवस्थामा) स्थितः (स्थित भएर) दुःखेन गुरुणा (ठूलो दुखले) अपि (पनि) न विचाल्यते (डगाउन सक्दैन, विचलित गराउँदैन) ।
जुन आनन्दको अवस्था प्राप्त गरेर योगीले त्यसभन्दा बढी अर्को आनन्द, केही छैन भन्ने मान्दछ तथा जुन अवस्थामा पुगेको योगीलाई ठूलै दुखले पनि विचलित गराउन सक्दैन अर्थात् जुन अवस्था प्राप्त भए पछि त्यसभन्दा श्रेष्ठतर अवस्था अर्को हुँदैन ( त्यसैलाई योगारुढ हुनु भनिन्छ) ।।२२।।
तं विद्याद्दुःखसंयोगवियोगं योगसञ्ज्ञितम् ।
स निश्चयेन योक्तव्यो योगाऽनिर्विण्णचेतसा ।। २३ ।।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]तम् (त्यसलाई) दुःखसंयोगवियोगम् (दुखको संयोगलाई वियोग गराउने, दुख हटाउने) योग (योग) सञ्ज्ञितम् (जान्नु पर्छ) सः (त्यस) योगः (योगलाई) विद्यात् (बुझ्नु पर्छ) अनिर्विण्ण (नहडबडाउने, कत्ति पनि विचलित नहुने) चेतसा (मनले, चित्तले) निश्चयेन (निश्चयपूर्वक) योक्तव्यः (योगमा लाग्नु पर्छ, आचरण गर्नु पर्छ) ।
त्यसैलाई दुखको संयोगलाई नाश गर्ने अर्थात् दुखबाट अलग्ग्याउने योगको अवस्था बुझ्नु पर्छ । तथा मनलाई कत्ति पनि हडबडाउन नदिई निश्चयपूर्वक त्यस योगको आचरण गर्नुपर्दछ ।।२३।।
व्याख्या
[सम्पादन गर्नुहोस्]योगाभ्यासबाट जसको योग संसिद्ध हुन्छ उसले अनन्त आनन्द अनुभव गर्छ । जसले समाधि प्राप्त गरेको छ, यस सम्पूर्ण जगतमा ऊभन्दा ठूलो अर्को कोही हुँदैन । यो नै आत्मालाई प्राप्त गर्नु वा आफूलाई जित्नु हो ।
जुन साधकले आफ्नो खोजीको यो लक्ष्य प्राप्त गर्यो, त्यो सम्पूर्ण विजेताहरुभन्दा ठूलो हुन्छ र उसले के जान्दछ भने ऊभन्दा ठूलो ब्रह्माण्डमा कोही हुँदैन । यो नै अहं ब्रह्मास्मिको अनुभव हो । यस अवस्थामा मानिसले चेतनाको जुन अवस्था प्राप्त गर्छ– अविनाशी परमानन्दको अवस्था– त्यस अवस्थामा मानिसले सबै प्रकारका बन्धन र सीमाहरु पार गर्दछ । यी सबैबाट पार भएकोले समाधिाको अवस्थामा समय र स्थान स्थिर भइदिन्छन् अर्थात् उसमा मृत्युको प्रभाव पर्दैन, ऊ अमर भइदिन्छ । यसको अर्थ हो अब बीईङ्ग (अस्तित्त्व) मात्र बाँकी रहन्छ । त्यस अवस्थामा केवल चेतना र आनन्द बाँकी रहन्छ । अर्को कुरा मानव जीवनमा नै यो सम्भव हुन्छ । यसै अवस्थालाई समाधि, ब्रह्मनिर्वाण, आत्यन्तिक आनन्द, परमानन्द पनि भनिन्छ । यो सर्वोच्च आनन्दको अवस्था हो ।
परमहंस रामकृष्णले आनन्दका तीन श्रेणी बताएका छन्– विषयानन्द, भजनानन्द र ब्रह्मानन्द । इन्द्रियसुखका वस्तुहरु विषयानन्द हुन् । मानिसहरुले सामान्यतया जुन काम, काञ्चनको सुखमा मस्त छ, त्यो विषयानन्द हो । ईश्वरका नामको गुणगान गर्नमा जुन आनन्द छ, त्यो भजनानन्द हो । तथा ईश्वरको दर्शनले जुन आनन्द प्राप्त हुन्छ, त्यो ब्रह्मानन्द हो ।
ब्रह्मानन्दको अवस्थामा योगी आफैंमा रमाउँछ, आफैंमा सन्तुष्ट हुन्छ, उसलाई जतिसुकै ठूलो दुखले पनि विचलित गर्न सक्दैन ।
संकल्पप्रभवान्कामाँस्त्यक्त्वा सर्वानशेषतः ।
मनसैवेन्द्रियग्रामं विनियम्य समन्ततः ।। २४ ।।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]संकल्प (संकल्पको) प्रभवान् (प्रभावले) सर्वान् (सबै) अशेषतः (अशेषपूर्वक, पूर्णतया) कामान् (कामनाहरु) त्यक्त्वा (त्यागेर) मनसा एव (मनले नै) इन्द्रियग्रामम् (सबै इन्द्रिय र उसका विषयहरु) समन्ततः (चारैतिरबाट) विनियम्य (नियन्त्रित गराउँदै जानु पर्छ) ।
संकल्प अर्थात् मानसिक दृढताको प्रभावले सबै कामनाहरुलाई पूर्णतया त्यागेर मनले नै सम्पूर्ण इन्द्रियग्राम अर्थात् इन्द्रिय र उनका विषयतिरबाट नियन्त्रित गरोस् ।। २४ ।।
शनैः शनैरुपरमेद्बुद्धया धृतिगृहीतया ।
आत्मसंस्थं मनः कृत्वा न किञ्चिदपि चिन्तयेत् ।। २५ ।।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]धृतिगृहीतया (धैर्ययुक्त, सात्त्विक र एकाग्र मनले) बुद्ध्या (बुद्धिद्वारा) शनैः शनैः (विस्तारै) मनः (मनलाई) उपरमेत् (विश्रामको अभ्यास गरोस्, शान्त होस् ) आत्मसंस्थम् (आफैंमा स्थिर, आत्मामा स्थिर) कृत्वा (गरेर) किञ्चित् अपि (केही पनि) न चिन्तयेत् (चिन्तन गर्नु हुँदैन) ।
धैर्ययुक्त बुद्धिले विस्तारै विश्रामको अभ्यास गर्दै (शान्त हुँदै) मनलाई आत्मामा स्थिर गरेर अन्य कुनै पनि विचार मनमा आउन दिनु हुँदैन ।।२५।।
व्याख्या
[सम्पादन गर्नुहोस्]संकल्पको अर्थ हुन्छ कुनै काम पूरा गर्ने दृढ निश्चय गर्नु, अठोट गर्नु । प्रतिज्ञा र संकल्पमा मुख्य अन्तर के छ भने प्रतिज्ञा सबैलाई सुनाएर गरिन्छ भने संकल्प मनमनै गरिन्छ ।
संकल्पको प्रभावले सबै कामनाहरुलाई त्याग गर्दै मनले इन्द्रिय ग्रामलाई सबैतिरबाट राम्रो ढंगले वशमा राख्दै विस्तारै शान्त हुने अभ्यास गर्नु पर्छ । कुनै पनि इन्द्रियको सम्बन्ध एक संजालको रुपमा त्यसका विषय शब्द, स्पर्श, रुप आदि अन्य ज्ञानेन्द्रिय र कर्मेन्द्रियसँग एक सेटको रुपमा रहेको हुन्छ र आपसमा संजाल (नेटवर्क) को रुपमा जोडिएको हुन्छ, त्यसलाई गीतामा इन्द्रियग्राम भनिएको छ । यो सबै संजालको नियन्त्रण गर्न जुन अठोट चाहिन्छ, त्यसलाई यहाँ संकल्प भनिएको हो ।
उपरामताको अर्थ हो रमाउन्ु वा विश्राम लिनु, आराम गर्नु ।
इन्द्रिय उपरामको अर्थ हो मानसिक आराम, चञ्चलता र बेचैनीको समाप्ति, शान्ति । जस्तै पूर्णतया शान्त पोखरी कुनै पनि तरङ्ग उत्पन्न हुँदैन, त्यस्तो शान्त र स्थिर । यस अघि १९ औं श्लोकमा त्यस्तो मनलाई निवात स्थानको ज्योतिसंग तुलना गरिएको छ । यहाँ तरंग
नभएको पोखरीसँग फेरी सोही तुलना गरिएको छ ।
मानिसलाई सुखपूर्वक बाँच्न अनेक कुराको आवश्यकता पर्छ । धनसम्पत्ति, इष्टमित्र, पद, यश, आरोग्य इत्यादि । तर यी सबैको उद्देश्य हो मनको सुख । तर मनको सुखको आधार शान्ति हो । तर मन एकाग्र नभएमा शान्तिको यो अवस्था प्राप्त हुँदैन, त्यसैले आउने श्लोकहरुमा मनको एकाग्रताका विषयमा चर्चा गरिएको छ ।
यतो यतो निश्चरति मनश्चञ्चलमस्थिरम् ।
ततस्ततो नियम्यैतदात्मन्येव वशं नयेत् ।। २६ ।।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]यतः यतः (जता जता) एतत् (यो) चञ्चलम् (चञ्चल) अस्थिरम् (अस्थिर) मनः (मन) निश्चरति (विचरण गर्छ, छरिन्छ) ततःततः (त्यता त्यताबाट) नियम्य (रोकेर, नियमन गरेर) आत्मनि एव (आफ्नै, आत्माको नै) वशम् (वशमा) नयेत् (लैजानु पर्छ) ।
यस प्रकार, यो अस्थिर मन जता जता छरिन्छ त्यता त्यताबाट रोकेर आफ्नै वशमा अर्थात् आत्माको वशमा राख्नु पर्छ ।।२६।।
व्याख्या
[सम्पादन गर्नुहोस्]मनको एकाग्रता प्राप्त गर्नका लागि धैर्ययुक्त बुद्धिद्वारा त्यसलाई परमात्मामा स्थिर गर्नु पर्छ र यसको निरन्तर अभ्यास गर्नु पर्छ । सुरुसुरुमा मन लाग्दैन । त्यसैले भगवान् श्रीकृष्णले भन्नु हुन्छ– यो अस्थिर र चञ्चल मन जुनजुन कारणले सांसारिक पदार्थहरुमा विचरण गर्दछ, त्यस–त्यसबाट रोकेर बारम्बार अन्तरात्मामा नै निरोध गर्नु पर्छ, मनको केन्द्रीकरणको विधि टर्चलाइटको प्रकाश फोकस गरे जस्तै अथवा लेन्सबाट प्रकाश केन्द्रीकरण गरेर काज जलाए जस्तै हो । प्रायः मानिसहरुले के भन्ने गर्छन् भने मन जहाँ जान्छ जान दिनु किनभने प्रकृतिमा विचरण गर्ने मन ब्रह्म बाहिर हुन सक्दैन । तर गीताले यस भनाईलाई समर्थन गर्दैन । गीताको मान्यता के छ भने मन जताजता जान्छ त्यसबाट निरोध गरेर परमात्मामा लगाउनु पर्छ । गीताले मनलाई विरोध वा निषेध भनेको छैन । मनको गति नियन्त्रण गर्ने होइन, दिशा परिवर्तन मात्र गर्ने हो । पानीको दिशा परिवर्तन हो बाँध बाँधेर गति रोक्ने होइन । गतिलाई ईश्वरतर्फ केन्द्रीकृत गर्नु नै दिशा परिवर्तन गर्नु हो ।
प्रशान्त मनसं ह्येनं योगिनं सुखमुत्तमम् ।
उपैति शान्तरजसं ब्रह्मभूतमकल्मषम् ।। २७ ।।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]प्रशान्त (शान्त) मनसम् (चित्त) रजसम् (रजोगुण, सबै चञ्चलता) शान्त (शान्त) एनम् (यस) ब्रह्मभूतम् (ब्रह्मरुप, ब्रह्मभूत) अकल्मषम् (पापरहित) योगिनम् (योगीले) हि (नै) सुखम् उत्तमम् (उत्तम सुख, दिव्य आनन्द) उप एति (प्राप्त गर्छ) ।
यसरी शान्त चित्त, रजोगुण शान्त भएको, यस्तो पापरहित ब्रह्मभूत योगीले नै दिव्य आनन्द प्राप्त गर्छ ।। २७ ।।
युञ्जन्नेवं सदात्मानं योगी विगतकल्मषः ।
सुखेन ब्रह्मसंस्पर्शमत्यन्तं सुखमश्नुते ।। २८ ।।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]एवम् (यस प्रकार) सदा (निरन्त) आत्मानम् (आफ्नो) युञ्जन् (योगाभ्यास गर्ने, योगमा जोडिएको) योगी (योगीले) विगतकल्मषः (पाप समाप्त भई) सुखेन (सजिलै) ब्रह्मसंस्पर्शम् (ब्रह्मसंयोगले पाइने) अत्यन्तम् सुखम् (अनन्त सुख, ब्रह्मानन्द) अश्नुते (भोग गर्छ) ।
यस प्रकार निरन्तर आफ्नो योगाभ्यास गर्ने कर्मयोगीले पाप समाप्त भइ ब्रह्मसंयोगले पाइने अनन्त सुख अर्थात् ब्रह्मानन्दको भोग गर्छ ।।२८।।
सर्वभूतस्थमात्मानं सर्वभूतानि चात्मनि ।
ईक्षते योगयुक्तात्मा सर्वत्र समदर्शनः ।। २९ ।।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]योगयुक्त आत्मा (जुन योगीको आत्मा योग युक्त भएको छ) सर्वत्र (सर्वत्र) समदर्शनः (समदर्शी छ) आत्मानम् (आफूलाई) सर्वभूतस्थम् (सबै भूतप्राणीमा) च (तथा) सर्वभूतानि (सबै भूतप्राणीलाई) आत्मनि (आफैंमा) ईक्षते (देख्छ) ।
यसरी जसको आत्मा योगयुक्त भएको छ, जो सर्वत्र समदर्शी छ, यस्तो योगीले आफूलाई सबै भूतप्राणीमा र सम्पूर्ण भूतप्राणीलाई आफू भित्र देख्न थाल्छ ।।२९।।
व्याख्या
[सम्पादन गर्नुहोस्]रजोगुणी वृत्ति शान्त भएपछि योगीले जुन अलौकिक आनन्द प्राप्त गर्छ, त्यो नै उसको ब्रह्मभूत भएको अवस्था हो । एक पटक प्राप्त यस्तो आनन्द फेरी कहिल्यै कम हुँदैन, अनन्त सुख अर्थात् कहिल्यै नाश नहुने गरी त्यस योगीले उपभोग गर्न पाउँछ । यसका साथै त्यस योगीमा जुन भाव विकास हुन्छ त्यो सर्वत्र समदर्शी स्वभाव । यस्तो स्वभाव त्यस बेला विकास हुन्छ जब उसले सर्वत्र, सबै प्राणीहरुमा आफूलाई र सबै प्राणीहरु भित्र आफ्रूलाई देख्न थाल्छ ।
परमहंस रामकृष्ण परमहंस जब यस्तो अवस्थामा पुगेका थिए उनले कालीको पूजा गर्दा गर्दै आफैंले आफ्नो पूजा गरीदिएका हुन्थे । कालीको प्रसाद आफैं खाने गर्थे । पूजाका लागि फूल टिप्दा आफूभित्र दुखेको अनुभव गर्थे । फलस्वरुप उनले विस्तारै यी काम गर्न छोडिदिएका थिए ।
यो मां पश्यति सर्वत्र सर्वं च मयि पश्यति ।
तस्याहं न प्रणश्यामि स च मे न प्रणश्यति ।। ३० ।।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]यः (जसले) माम् (मलाई, परमेश्वरलाई) सर्वत्र (सर्वत्र) पश्यति (देख्छ) च (तथा) सर्वम् (सबै प्राणीलाई) मयि (ममा) पश्यति (देख्छ) तस्य (त्यसका लागि) अहम् (म) न प्रणश्यामि (अदृश्य छैन, अलग छैन) च (तथा) सः (त्यो) मे (मेरा लागि) न प्रणश्यति (अदृश्य छैन, अलग छैन) ।
जसले मलाई अर्थात् परमेश्वर परमात्मालाई सर्वत्र देख्छ र सबै प्राणीलाई ममा रहेको देख्दछ, उसका लागि म अदृश्य छैन र मेरालागि ऊ अदृश्य छैन अर्थात् ईश्वरका लागि त्यो मानिस र त्यसका लागि ईश्वर अलग हुँदैन ।।३०।।
सर्वभूतस्थितं यो मां भजत्येकत्वमास्थितः ।
सर्वथा वर्तमानोऽपि स योगी मयि वर्तते ।। ३१ ।।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]यः (जसले) एकत्वम् आस्थितः (एकत्व भाव, सबैमा ईश्वर देख्ने बुद्धिलाई) सर्वभूतस्थितम् (सारा प्राणीहरुमा भएको) माम् (मलाई) भजति (भजन गर्छ) सः (त्यस) योगी (योगीले) सर्वथा (सबै प्रकारका, सामान्य जन जस्तै) वर्तमानः अपि (व्यवहार गर्दा पनि) मयि (मलाई) वर्तते (व्यवहार गर्दछ, ममा नै रहेको हुन्छ) ।
जुन मानिसले एकत्वभाव भएको बुद्धिले सारा प्राणीहरुमा भएको म परमेश्वरलाई भजन गर्छ, त्यस योगीले जे जस्तो अर्थात् सामान्य जन जस्तो व्यवहार गरे पनि ममा नै रहेको हुन्छ ।। ३१ ।।
व्याख्या
[सम्पादन गर्नुहोस्]जसले ईश्वरलाई सर्वत्र देख्छ, र सबै भूतप्राणीलाई ईश्वरमा देख्दछ, उसका लागि ईश्वरसधैं सँगै रहन्छ बिनभने ऊ स्वयं ईश्वरसरह भइसकेको हुन्छ । यस्तो मानिसलाई सर्वभूतात्म एक्यबुद्धि भएको भनिन्छ । यस्तो मानिस सामान्य मानिस जस्तो व्यवहार गर्दा गर्दै पनि विशेष हुन्छ । किनभने उसले अनन्त सुख प्राप्त गरिसकेको हुन्छ र आफूलाई निरन्तर परमात्माको भजनमा लगाउँछ । त्यसले एक प्रफुल्लित कर्मयोगी जस्तो व्यवहार गर्छ । यस श्लोकले ईश्वरको प्राप्तिको बाटोमा भजन अनिवार्य छ भन्ने कुरा संकेत गरेको छ ।
जसले सर्वत्र ईश्वर देख्छ, उसले सबैलाई आफूसरह देख्छ ।
आत्मौपम्येन सर्वत्र समं पश्यति योऽर्जुन ।
सुखं वा यदि वा दुःखं स योगी परमो मतः ।। ३२ ।।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]अर्जुन (हे अर्जुन) सुखम् (सुखमा) वा (अथवा) यदि वा (अथवा) दुःखम् (दुखमा) यः (जसले) आत्मौपम्येन (आफ्नै उपमाले, मलाई जस्तै अरुलाई पनि हुन्छ भन्ने उपमाले) सर्वत्र (सबै भूतप्राणीहरुलाई) समम् (समान) पश्यति (देख्छ) सः (त्यो) योगी (योगी, कर्मयोगी) परमः (सबभन्दा श्रेष्ठ) मतः (मानिएको छ) ।
हे अर्जुन, सुख होस् कि दुख मलाई जस्तै अरुलाई पनि हुन्छ, जसले यस्तो आफ्नै उपमाले सर्वत्र देख्छ, त्यस बेला त्यो कर्मयोगी सबभन्दा श्रेष्ठ मानिएको छ ।।३२।।
व्याख्या
[सम्पादन गर्नुहोस्]गीताको श्लोक ६.३२ ले जीवनको एक उत्कृष्ट नियम प्रदान गर्छ– जस्तो मलाई हुन्छ, त्यस्तै अरुलाई पनि हुन्छ, यो नै जीवनको श्रेष्ठ व्यवहार हो ।
देवगुरु बृहस्पतिले भनेका छन्– जुन कुरा आफूलाई मन पर्दैन, त्यो अरुका प्रति पनि गर्नु हुँदैन । यो नै धर्मको संक्षिप्त लक्षण बताएँ । यस बाहेकका अन्य व्यवहार कामनामूलक हुन्छन् ।
ठीक यस्तै विचार विदुरले पनि व्यक्त गरेका छन्– सबै प्राणी संग त्यो व्यवहार गर्नु पर्छ जुन तिमीले आफू प्रति गर्छौ । (महाभारत १६७.९)
हितोपदेशमा भनिएको छ– आत्मौपम्येन भूतेषु दया कुर्वन्ति साधवः । (हितोपदेश १.१२)
सर्वत्र ईश्वर देख्ने मानिसले आफू सरह मानेर सबै प्राणीहरुमा प्रेमभाव राख्छन् । यी विचारहरुलाई जीवनको स्वर्णिम नियम भनिएको छ । यस्तो उपदेश सर्वत्र पाइन्छ तर चीनियाँ धर्म गुरु कन्फ्युसियसले यसलाई सकारात्मक र नकारात्मक निम्नलिखित दुवै तरीकाले व्यक्त गरेका छन्–
१. अरुसंग त्यो व्यवहार गर्नु पर्छ जुन अरुले तिमीलाई गरीदिए हुन्छ जस्तो लाग्छ ।
२. अरुसंग तिमीले त्यो व्यवहार नगर जुन अरुले तिमी प्रति नगरुन् भन्ने चाहन्छौ ।
अर्जुन उवाच
[सम्पादन गर्नुहोस्]
योऽयं योगस्त्वया प्रोक्त साम्येन मधुसूदन ।
एतस्याहं न पश्यामि चञ्चलत्वात्स्थितिं स्थिराम् ।। ३३ ।।
चञ्चलं हि मनः कृष्ण प्रमाथि बलवद्दृढम् ।
तस्याहं निग्रहं मन्ये वायोरिव सुदुष्करम् ।। ३४ ।।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]अर्जुन उवाच (अर्जुनले भने)
मधुसूदन (हे मधुसूदन) साम्येन (साम्य बुद्धिले प्राप्त) अयम् (यो) यः (जुन) योगः (योग) त्वया (तपाईंले) प्रोक्त (बताउनु भयो) चञ्चलत्वात् (मनको चञ्चलताले गर्दा) एतस्य (यसकोे) स्थितिम् स्थिराम् (स्थिर स्थिति) अहम् (मैले) न पश्यामि (देख्दिनँ) ।
अर्जुनले भने –
हे मधुसूदन, साम्य बुद्धिले प्राप्त हुने यो जुन योग तपाईंले बताउनु भयो, त्यो मनको चञ्चलताले गर्दा स्थिर रहन सक्ला जस्तो मैले त देख्दिनँ ।। ३३ ।।
चञ्चलं हि मनः कृष्ण प्रमाथि बलवद्दृढम् ।
तस्याहं निग्रहं मन्ये वायोरिव सुदुष्करम् ।। ३४ ।।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]हि (किनभने) मनः (मन) चञ्चलम् (चञ्चल छ) कृष्ण (हे कृष्ण) प्रमाथि (प्रमथन स्वभाव, हठी) बलवत्–दृढम् (बलवान् र दृढ) तस्य (त्यसलाई) निग्रहम् (वशमा गर्ने, नियममा राख्ने काम) वायो ः इव (वायुलाई बाँध्नु जस्तै) सुदुष्करम् (अत्यन्त दुष्कर) अहम् (मैले) मन्ये (मान्दछु) ।
किनभने हे कृष्ण, यो मन बडो चञ्चल, हठी, प्रमथन गर्ने, बलवान् र दृढ छ उसलाई निग्रह गर्नु वायुलाई बाँधेर राख्नु सरह अत्यन्त कठिन ठान्दछु ।। ३४ ।।
व्याख्या
[सम्पादन गर्नुहोस्]मन अनेक कारणले विचलित भइरहन्छ, जुन सबैले अनुभव गर्छन् । यस समस्यालाई अर्जुनले भनेका छन् –
१. मन चञ्चल र हठी मात्र छैन दृढ र बलवान छ ।
२. त्यसैले मनलाई बाँधेर राख्नु हावालाई बाँधेर राख्नु सरह दुष्कर कार्य हो ।
मनले हामीमाथि सर्वाधिक प्रभाव पार्छ । युद्ध भूमिमा हतियार उठाइसकेका अर्जुनलाई बाटो बिराउने गरी विचलित गराएको उनको मनले नै हो । मनको चञ्चलताले गर्दा नै जीवनमा अस्थिरता उत्पन्न हुनगई मानिसले आफूले जीवनमा असफलताको अनुभव गर्नु पर्दछ । मनको चञ्चलता र अस्थिरता असफलताको कारक हो । असफलता निराशाको कारण बन्छ। यसको परिणाम मनस्ताप तथा शारीरिक र मनोरोग हुन्छ । यी सबैबाट बच्न मनोनिग्रह आवश्यक छ । मनोनिग्रहको सरल अर्थ हो मनलाई वशमा गर्नु ।
श्रीभगवानुवाच
[सम्पादन गर्नुहोस्]
असंशयं महाबाहो मनो दुर्निग्रहं चलम् ।
अभ्यासेन तु कौन्तेय वैराग्येण च गृह्यते ।। ३५ ।।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]
श्रीभगवान् उवाच (श्रीभगवान् ले भन्नु भयो)
असंशयम् (निःसन्देह) महाबाहो (हे महाबाहु, अर्जुन) मनः (मन) चलम् (चञ्चल छ) दुर्निग्रहम् (निग्रह गर्नु कठिन) च (तथा) अभ्यासेन (अभ्यासले) तु (तर) कौन्तेय (हे कौन्तेय) वैराग्येण (वैराग्यले) गृह्यते (वशमा गर्न, भनेको मान्ने बनाउन सकिन्छ) ।
श्रीभगवान् ले भन्नु भयो–
हे महाबाहो, निःसन्देह, मन चञ्चल छ, निग्रह गर्नु कठिन छ, तर हे कौन्तेय अभ्यास र वैराग्यले विस्तारै वशमा ल्याउन (भनेको मान्ने बनाउन) सकिन्छ।।३५।।
असंयतात्मना योगो दुष्प्राप इति मे मतिः ।
वश्यात्मना तु यतता शक्योऽवाप्तुमुपायतः ।।३६ ।।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]असंयत (असंयमी) आत्मना (मानिसहरुका लागि) योगः (साम्यबुद्धि रुप योग) दुष्प्राप ( दुष्प्राप्य छ) इति (यस्तो) मे मतिः (मेरो विचार छ) तु (तर) वश्य आत्मना (अन्तःकरण वशमा राख्नेका लागि) यतता (प्रयत्नद्वारा) उपायतः (उपाय गरेर) अवाप्तुम् (प्राप्त गर्न) शक्यः (सम्भव छ) ।
जसको अन्तःकरण वशमा छैन उसका लागि योग दुष्प्राप्य छ यस्तो मेरो विचार छ। तर अन्तःकरणलाई संयम गर्नेहरुका लागि प्रयत्न गर्दै रहेमा उपाय गरेर यो योग प्राप्त हुनु सहज छ ।।३६।।
व्याख्या
[सम्पादन गर्नुहोस्]भगवान् कृष्णले अर्जुनले व्यक्त गरेको समस्या सही हो भनेर स्वीकार गर्दै मनलाई वशमा ल्याएर भनेको मान्ने बनाउने दुई उपाय बताउनु भएको छ– अभ्यास र वैराग्य । मानिसका कामनाहरुले नै मनको स्थिरतालाई कमजोर र यसको चञ्चलपनलाई बलियो बनाउँछन् । मनको यस चंचले स्वभावले गर्दा यो प्रमथनशील र बलशाली हुनजान्छ । मनलाई वशमा गर्न निम्नलिखित उपाय गर्नु पर्दछ–
१. सर्व प्रथम चेतन र अचेतन मनलाई जान्ने प्रयास गर्नु पर्छ ।
२. त्यसलाई नियमित र नियन्त्रित बनाउन इच्छा शक्ति (विल पावर) बढाउनु पर्छ ।
३. अभ्यास र वैराग्यका लागि निश्चित साधना पद्धतिहरु पालन गर्नु पर्दछ ।
४. ती पद्धतिलाई पूर्ण मनोयोग साथ जीवनमा लागू गर्नु पर्छ ।
मन एकै चोटि वशमा आउँदैन, निरन्तर अभ्यास गरिरहनु पर्छ । योगशास्त्रको भाषामा अभ्यासको अर्थ हो– मनलाई निरन्तर दीर्घकालसम्म वशमा राख्ने चेष्टा गर्नु । वैराग्यको अर्थ हो– कुनै प्रकारको असन्तोष नराख्नु । मनलाई वशमा गर्न असन्तोषको भाव त्याग गर्नु पर्छ । त्यसैले जो संयमी छ उसले विस्तारै मनलाई वशमा गर्छ तर जुन मानिस असंयमी छ उसले मनलाई वशमा गर्न सक्ने छैन ।
संयमीका लागि सुलभ छ तर असंयमीहरुका लागि यो स्थिरता र अचञ्चलता अप्राप्त छ । मनको चञ्चलता पनि बडो विचित्र हुन्छ, ध्यान गर्दा, सत्संगमा बस्दा कि त मानिसलाई निद्राले सताउँछ कि मन यता उता हिंडिहाल्छ । निद्रा लाग्नु पनि चित्तको विक्षेप हो । त्यो एकाग्रता वा ध्यान होइन । त्यो तमोगुण हो । त्यही मानिस जब शयन कक्षका सुन्दर र नरम गद्दीदार बिछ्यौनाम पल्टिन्छ अनि त्यसलाई निद्रा लाग्दैन नानाथरी विचार तरङ्ग मनमा दगुर्छन् । यी दुवै एउटै अवस्था हो ।
तर मनलाई वशमा गर्नु एक आनन्ददायी खेल हो र यो खेल अन्तर्जगतको विशाल फाँटमा खेल्नु पर्छ । यस खेलमा विजयी भएमा मन वशमा हुनजान्छ र पराजय हुँदा पनि अनेक रमाइला अनुभव प्राप्त हुनजान्छन् । यदि यस खेललाई उत्कृष्ट बनाउनु छ भने कुशलता, सतर्कता, विनोदप्रियता, सहृदयता, रणचातुर्य, धैर्य, र केही मात्रामा शौर्यका गुण आफू भित्र विकास गर्नु पर्छ । मनलाई वशमा गर्ने प्रयासका आनन्दको व्याख्या गर्दै उमेशपुरीले आफ्नो पुस्तकमा लेखेका छन्– ‘कुनै खेलाडी खेलमा विजयी हुँदा उसलाई जुन आनन्द र खुशीको अनुभव हुन्छ, मनलाई वशमा राख्दा त्यसभन्दा कैयौं गुना बढी आनन्दको अनुभूति हुन्छ । यसबाट मनमा एक अलौकिक आभा उत्पन्न हुन गई यसले तपाईंलाई आत्मासंग तद्रुप बनाइदिने छ ।’
अर्जुन उवाच
[सम्पादन गर्नुहोस्]अयतिः श्रद्धयोपेतो योगाच्चलितमानसः ।
अप्राप्य योगसंसिद्धिं कां गति कृष्ण गच्छति ।।३७ ।।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]अर्जुन उवाच (अर्जुनले भने)
कृष्ण (हे कृष्ण) श्रद्धया (श्रद्धा) उपेतः (राख्छ) अयतिः (राम्ररी संयम गर्न नसकेको स्वभाव) योगात् (योगाभ्यासबाट) चलितमानसः (विचलित मन) योगसंसिद्धिम् (योगसिद्धि) अप्राप्य (प्राप्त नगरेर) काम् गतिम् (कुन गति) गच्छति (जान्छ) ।
अर्जुनले भने –
हे कृष्ण, कुनै मानिसले श्रद्धा गर्छ तर राम्ररी मेहनत गर्न सक्दैन, राम्ररी संयम गर्न सक्दैन, र यसको फलस्वरुप योगाभ्यासबाट मन विचलित भएर उसको कर्मयोग सिद्ध भएन भने त्यसको के गति हुन्छ ? ।। ३७ ।।
कच्चिन्नोभयविभ्रष्टश्छिन्नाभ्रमिव नश्यति ।
अप्रतिष्ठो महाबाहो विमूढो ब्रह्मणः पथि ।। ३८ ।।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]महाबाहो (हे महाबाहु) विमूढः (मोहग्रस्त) ब्रह्मणः पथि (ब्रह्मको पथिक, योगको साधक) छिन्न (छिन्न) आभ्रम् इव (बादल जस्तै) अप्रतिष्ठः आश्रयरहित भएर) उभयविभ्रष्टः (दुवै तर्फ भ्रष्ट, स्वर्ग र मोक्ष, बाट भ्रष्ट भएर) कच्चित् (कतै) न नश्यति (नष्ट त हुँदैन) ।
हे महाबाहो, मोह ग्रस्त भएर ब्रह्मको मार्गको त्यो मानिस बाटो बिराएर दुवैतिरबाट छिन्न भिन्न भएको बादल झैं लक्ष्यमा नपुगीकनै नष्ट हुने त होइन ?३८।।
एतन्मे संशय. कृष्ण छेत्तुमर्हस्यशेषतः ।
त्वदन्यः संशयस्यास्य छेत्ता न ह्युपपद्यते ।।३९ ।।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]कृष्ण (हे कृष्ण) एतत् (यस) मे (मेरो) संशय. (संशयलाई) अशेषतः छेत्तुम् (बाँकी नराखी छेदन गर्न, निर्मूल गर्न) अर्हसि (योग्य हुनुहुन्छ, सक्नु हुन्छ) हि (किनभने) त्वत् अन्यः (तपाईं बाहेक अरु कोही) संशयस्य अस्य (यो संशय) छेत्ता (छेदन गर्न, मेटिदिन) न उपपद्यते (योग्य छैन, सक्दैन) ।
हे कृष्ण, मेरो यस संशयलाई निर्मूल गरेर हटाइदिनु पर्छ, किनभने तपाईं बाहेक मेरो यो संशय मेटिदिने अरु कोही छैन ।। ३९ ।।
व्याख्या
[सम्पादन गर्नुहोस्]अर्जुनले गरेको शंका प्रायः साधकहरुको मनमा पनि उत्पन्न हुने गर्छ । कुनै साधनामा लागि पछि निश्चित दिनचर्या हुनु पर्छ । तर साधकले जे सोचेको हुन्छ सो अनुसार यस दिनचर्यालाई नियमित गराउन सकिएन र निरन्तरता दिन सकिएन भने के हुन्छ ?
आहार, विहार, स्वास्थ्य अनेक कारणले साधकको क्रममा बाधा पर्छ । लामो साधना आवश्यक पर्ने हरेक कुरामा मानिसहरुको मनमा सफलतालाई लिएर आशंका रहेको हुन्छ । त्यही आशंका अर्जुनले गरेका छन् । साधना पूरा भएन, बीचमा छोड्नु पर्यो, व्यतिक्रम भयो भने लक्ष्यमा पुग्न सकिन्छ कि सकिँदैन ? अथवा फेरि सुरुदेखि दोहोर्याउनु पर्छ ? कि सारा प्रयास बालुवाको घर जस्तो निरर्थक साबित हुन जाने हो कि?
श्रीभगवानुवाच
[सम्पादन गर्नुहोस्]
पार्थ नैवेह नामुत्र विनाशस्तस्य विद्यते ।
न हि कल्याणकृत्कश्चिद् दुर्गतिं तात गच्छति ।। ४० ।।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]श्रीभगवान् उवाच (श्रीभगवान् ले भन्नु भयो)
पार्थ (हे पार्थ) इह एव (यस लोकमा) न अमुत्र (न परलोकमा) विनाशः (विनाश) तस्य (त्यसको) न विद्यते (छैन) हि कल्याणकृत् (कल्याणकारी काम) कश्चित् (कुनै) दुर्गतिम् (दुर्गति) तात (प्रिय) न गच्छति (प्राप्त गर्दैन) ।
श्रीभगवान् ले भन्नु भयो–
हे पार्थ, यस लोकमा होस् कि परलोकमा यस्ता मानिसको विनाश छैन किनभने हे प्रिय अर्जुन कल्याणकारक कर्म गर्ने कुनै पनि मानिसको दुर्गति प्राप्त गर्न सक्दैन अर्थात् दुर्गति हुन सक्दैन ।। ४० ।।
व्याख्या
[सम्पादन गर्नुहोस्]योगाभ्यास गर्दागर्दै तत्त्व साक्षात्कार नभइकन शरीर छुट्नेहरुको अर्थात् योगभ्रष्टको के हुन्छ ? अर्जुनको शङ्का के छ भने योग सिद्ध नहुँदै मृत्यु भएमा सांसारिक सुखभोगबाट पनि वञ्चित र आध्यात्मिक सिद्धिबाट पनि वंचित भएर छिन्न भिन्न बादल जस्तै नष्ट भई दिने हो कि? जसको उत्तरमा भगवान् श्रीकृष्णले त्यो केही हुँदैन भन्नु हुन्छ । जहाँ साधक पुगेको थियो अर्को जन्ममा त्यसभन्दा अगाडि नै जान पाइन्छ पछाडि फर्कनु पर्दैन ।
योगको साधन एक यात्रा हो । यात्रा गर्दा जहाँ रात पर्छ त्यहाँ यात्रुले आराम गर्छ । बिहान उठेपछि उसको जुन यात्रा सुरु हुन्छ, सोही ठाउँबाट हुन्छ पुरानो उपलब्धि गुमाउनु पर्दैन । जो मानिस आफ्नो यस पार्थिव शरीरलाई नै रथ बनाएर लक्ष्यतिर अग्रसर छन्, उनीहरु सबै पार्थ–अर्जुन हुन् । यस्ता मानिसहरुको न यस लोकमा विनाश छ, न परलोकमा । किनभने कल्याणको काम गर्ने कुनै पनि मानिसको दुर्गति कदापि हुँदैन ।
प्राप्य पुण्यकृतां लोकानुषित्वा शाश्वतीः समाः ।
शुचीनां श्रीमतां गेहे योगभ्रष्टोऽभिजायते ।। ४१ ।।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]पुण्यकृताम् (धर्मात्मा मानिसहरुले पाउने) लोकान् (लोक, स्वर्गादि लोक) प्राप्य (प्राप्त गरेर) शाश्वतीः समाः (धेरै समयसम्म) उषित्वा (त्यहाँ वास बसेर) योगभ्रष्टः (कर्मयोगबाट भ्रष्ट साधक) शुचीनाम् (शुद्ध आचरणयुक्त) श्रीमताम् (श्रीमान्युक्त) गेहे (घरमा) अभिजायते (जन्म लिन जान्छ) ।
धर्मात्मा मानिसहरुले पाउने स्वर्गादि लोक प्राप्त गरेर त्यहाँ धेरै वर्षसम्म रहेर फेरि त्यो योगभ्रष्ट साधक शुद्ध आचरणयुक्त श्रीमान्हरुका घरमा जन्म लिन जान्छ ।। ४१ ।।
व्याख्या
[सम्पादन गर्नुहोस्]योगभ्रष्टको अर्थ हो योगको लक्ष्यमा नपुगी आधाबाटोमा विचलित भएको कर्मयोगी । योगभ्रष्ट मानिसहरु कि त संस्कारयुक्त परिवारमा जन्म लिन्छन् कि योगीको कुलमा प्रवेश गर्छन् । मन चलायमान भएर योगभ्रष्ट भएको मानिस पुण्यवानहरुको लोकमा वासनालाई भोगेर जुन वासनालाई लिएर त्यो योगभ्रष्ट भएको थियो भगवान् थोरैमा त्यसलाई सबैथोक देखाउनु हुन्छ, सुनाउनु हुन्छ । त्यसलाई भोगेर त्यो शुद्ध आचरणवाला मानिसले श्रीमान् पुरुषहरुको घरमा जन्मलिन्छ । श्रीमान् को अर्थ हो जसको आचरण शुद्ध छ । असल संस्कारी परिवारमा जन्म पाउनु पनि ईश्वरीय उपहारभन्दा कम होइन।
अथवा योगिनामेव कुले भवति धीमताम् ।
एतद्धि दुर्लभतरं लोके जन्म यदीदृशम् ।। ४२ ।।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]अथवा (अथवा) धीमताम् (बुद्धिमान्) योगिनाम् (कर्मयोगीका) एव कुले (कुलमा नै) भवति (जन्म हुन्छ) एतत् हि (यो पनि) यत् (यस) ईदृशम् (प्रकारको) जन्म (जन्म) जन्म (जन्म) लोके (यस लोकमा) दुर्लभतरम् (निकै दुर्लभ घटना हो) ।
अथवा बुद्धिमान् कर्मयोगीहरुको कुलमा नै जन्म लिन्छ । यस प्रकारको जन्म पाउनु पनि यस लोकमा निकै दुर्लभ घटना हो ।। ४२ ।।
तत्र तं बुद्धिसंयोगं लभते पौर्वदेहिकम् ।
यतते च ततो भूयः संसिद्धौ कुरुनन्दन ।। ४३ ।।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]कुरुनन्दन (हे कुरुनन्दन) तत्र (त्यहाँ) तम् (उसको) बुद्धिसंयोगम् (बुद्धिको संयोग, संस्कार) लभते (प्राप्त गर्छ) पौर्वदेहिकम् (पूर्व देहको) ततः च (त्यस पछि) भूयः (फेरि) संसिद्धौ (योगसिद्धि, पूर्णताका लागि) यतते (प्रयत्न गर्छ)।
हे कुरुनन्दन, यसरी प्राप्त भएको जन्ममा उसले पूर्वजन्मको बुद्धिको संयोग पाउँछ । अनि त्यस संस्कारको प्रभावले फेरि योग सिद्धिका लागि प्रयत्न गर्छ ।। ४३ ।।
व्याख्या
[सम्पादन गर्नुहोस्]यदि श्रीमानको घरमा जन्म लिन नपाएमा उसले सात्त्विक बुद्धि भएका योगीहरुका कुलमा जन्म लिन्छ । यो जन्म पनि सामान्य कुरा होइन । यो जन्म पनि लोकमा दुर्लभतर हुन्छ, थोरै मानिसले मात्र यस्तो जन्म पाउँछन् । यहाँ योगीका कुलमा भनिएको छ, घरमा होइन। योगीहरुको संगत, अर्ती वा शिष्यत्व प्राप्त हुनु नै योगीको कुलमा जन्मनु हो । कबीर, तुलसी, रैदास, वाल्मीकि इत्यादिलाई शुद्ध आचरण र श्रीमानको घरमा जन्म लिन अवसर प्राप्त भएन तर उनीहरुलाई योगीहरुको कुलमा प्रवेश प्राप्त भएको हो । उनले कर्मयोगी गुरुको संगत गरेर जुन बुद्धि संयोग प्राप्त गरे यसैले उनको जीवन सिद्धि तर्फ रुपान्तरण हुन गयो ।
पूर्वाभ्यासेन तेनैव ह्रियते ह्यवशोऽपि सः ।
जिज्ञासुरपि योगस्य शब्दब्रह्मातिवर्तते ।। ४४ ।।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]पूर्व अभ्यासेन (पूर्व जन्मका अभ्यासले) एव हि (नै) तेन (त्यस, योगभ्रष्ट, द्वारा) ह्रियते (आकर्षित गरिन्छ) अवशः (अवश भइ) अपि (पनि) सः (त्यो) जिज्ञासुः (जिज्ञासु) अपि (पनि) योगस्य (योगको) शब्दब्रह्म (वेदका सकाम कर्म) अतिवर्तते (पार गर्छ) ।
आफ्नो पूर्व जन्मका अभ्यासले नै पूर्ण सिद्धितर्फ आकर्षित भएर त्यो मानिस जसलाई कर्मयोगको जिज्ञासा मात्र पनि हुन्छ, त्यो मानिस शब्द ब्रह्म अर्थात् वेदमा भनिएका सकाम कर्मलाई पनि पार गर्छ ।। ४४ ।।
व्याख्या
[सम्पादन गर्नुहोस्]पूर्व जन्मको संस्कार नै वर्तमान जन्ममा फलित हुन्छ । गीताको यस निष्कर्षले केही यस्ता मनोवैज्ञानिक गाँठो फुकाउँछ जुन अन्य कुनै तर्कले फुकाउन सक्दैन । एक समान वातावरणमा शिक्षा आर्जन गर्ने दुई जना बालकमध्ये एउटा प्रतिभाशाली हुन्छ अर्को हुँदैन । यसको अर्थ के हो भने पूर्वजन्ममा जसका जति संस्कार थिए सोही आधारमा उसको यस जन्मको व्यवहार निर्धारित हुन्छ । त्यहाँ पूर्वदेहको बुद्धिका संयोग सजिलै प्राप्त गर्छ । अनि त्यसको प्रभावले फेरि योगको सिद्धिका लागि यत्न गर्छ । श्रेष्ठ घरमा जन्म लिने त्यस योगभ्रष्टले अवश भएर पूर्वजन्मको संस्कारले ईश्वर प्राप्तिका लागि आकर्षित गरिन्छ । यसरी समत्व बुद्धि रुप योगको जिज्ञासुले शब्द ब्रह्म अर्थात् वेदमा भनिएका सकाम कर्मलाई पनि पार गरीदिन्छ ।
प्रयत्नाद्यतमानस्तु योगी संशुद्ध किल्विषः ।
अनेक जन्मसंसिद्धस्ततो याति परां गतिम् ।।४५।।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]तु (तर) प्रयत्नात् (प्रयत्नपूर्वक) यतमानः (अभ्यास गर्दै) योगी (योगी) संशुद्ध किल्विषः (पापबाट शुद्ध भई) अनेक जन्मसंसिद्धः (अनेक जन्म पश्चात् सिद्धि पाएर) ततः (त्यसपछि, अन्तमा) पराम् गतिम् (परम् गति, समाधि) याति (प्राप्त गर्छ)।
यसरी प्रयत्नपूर्वक अभ्यास गर्दै पापबाट शुद्ध भई योगीले अनेक जन्म पश्चात् सिद्धि पाएर अन्तमा परमगति प्राप्त गर्छ अर्थात् समाधि लाभ गर्छ ।।४५।।
व्याख्या
[सम्पादन गर्नुहोस्]सिद्धि प्राप्त गर्नु जन्मौं जन्मका अभ्यासको प्रतिफल हो । सिद्धिको अर्थ लक्ष्य र परम गतिको अर्थ हो समाधि । परम गति भनेको अति चेतना वृत्त जाग्रत हुने अवस्था हो ।
चेतना केन्द्रमा आउने प्रत्येक वृत्तिले जाँदा जाँदा आफ्नो स्मृतिलाई केन्द्रमा राखिछोडेको हुन्छ । यस स्मृतिलाई अवचेतन मन भनिन्छ । यसका स्थायी भाव, बानी, र स्मृति मनको गहिराईमा बसेका हुन्छन् । उचित समयमा चेतना केन्द्रबाट चेतना वृत्तमा आउँछन् ।
उदाहरणका लागि चियाको बानी परेको मानिसले हरेक बेला चियाको खोजी गर्दैन । उचित समय आउँदा मात्र चियाको तलतल उत्पन्न हुन्छ अनि मानिसले चिया बनाउने तैयारी गर्न थाल्छ । यसलाई अवचेतन मन भनिन्छ भने यसभन्दा गहन रुपमा रहेको अचेतन भाग हुन्छ, जसले हाम्रा क्रिया प्रभावित हुन्छन् तर त्यसको कारण हामीले सितिमिति थाहा पाउँदैनौं । अतृप्त वासनाहरु दमित भई अचेतनमा बस्न जान्छन् । यस सम्बन्धमा मनोवैज्ञानिक फ्रायडले विस्तृत व्याख्या गरेका छन् ।
मानिसले सामान्य जनजीवनमा जुन चेतनाले काम गर्छ, त्यो उसको चेतन मन हो । यसका विशेषताहरु निम्नलिखित छन्
१. चेतनामा एकरुपता हुन्छ । एकता नभएमा मानिसको व्यक्तित्व नै खण्डित हुनजान्छ।
२. चेतनामा छनौटको प्रवृत्ति हुन्छ । अर्थात् अनेक प्रकारका चित्तवृत्तिमध्ये उसले कुनै विशेष वा महत्त्वपूर्ण विचारलाई छनौट गर्छ । समाज, नैतिकता जस्ता कुराले यस चेतनालाई असर पार्ने हुादा इच्छाहरुमा संघर्ष हुन्छ ।
३. चेतनामा परिवर्तनशीलता हुन्छ । एउटै विषयमा केन्द्रित भएर धेरै बेर रहन सक्दैन।
४. चेतनामा निरन्तरता रहन्छ, यो कहिल्यै शून्य हुन सक्दैन ।
मनका चेतन र अचेतन सबै स्तरलाई वशमा गरे पछि प्राप्त स्तरलाई अतिचेतन भनिन्छ। यस स्तरमा मनले काम गर्न सक्छ, यसमा पनि अहंभाव लुप्त हुन्छ तर यसमा र अवचेतन स्तरमा अन्तर छ । यस अवस्थामा मन आफ्ना शुद्ध अवस्थामा हुन्छ । त्यसैले मनलाई आत्मासँग एकाकार गर्न सकिन्छ । त्यसैले भनिन्छ, शुद्ध मन नै शुद्ध बुद्धि हो र शुद्ध बुद्धि नै आत्मा हो ।
यस अतिचेतन अवस्थालाई गीतामा योगारुढ अवस्था भनिएको हो । रामकृष्ण परमहंस जस्ता सन्तहरुले यो अवस्था प्राप्त गरिसकेको भनिन्छ ।
तपस्विभ्योऽधिको योगी ज्ञानिभ्योऽपि मतोऽधिकः ।
कर्मिभ्यश्चाधिको योगी तस्माद्योगी भवार्जुन ।। ४६।।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]अर्जुन (हे अर्जुन) तपस्विभ्यः (तपस्वीभन्दा) अधिकः (श्रेष्ठ छ) योगी (योगी) ज्ञानिभ्यः (ज्ञानीभन्दा) अपि (पनि) अधिकः (श्रेष्ठ छ) मतः (मेरो विचारमा) कर्मिभ्यः च (सकाम, वैदिक, स्मार्त, तान्त्रिक कर्म गर्ने कर्मकाण्डीभन्दा पनि) अधिकः योगी (योगी श्रेष्ठ छ) तस्मात् (त्यसैले) योगी (कर्मयोगी) भव (होउ) ।
हे अर्जुन, तपस्वीहरु, ज्ञानीहरु अर्थात् आत्मकलयाण लागि प्रयास मानिसहरु तथा काम्यकर्म गर्ने कर्मकाण्डीहरु भन्दा योगी अर्थात् कर्मयोगी श्रेष्ठ मानिएको छ । त्यसैले तिमी कर्मयोगी होऊ ।।४६।।
योगिनामपि सर्वेषां मद्गतेनान्तरात्मना ।
श्रद्धावान् भजते यो मां स मे युक्ततमो मतः ।। ४७ ।।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]सर्वेषाम् (सब) योगिनाम् (कर्मयोगीहरुमा) अपि (पनि) युक्ततमः (श्रेष्ठतम् कर्मयोगी) मे मतः (मैले ठान्दछु) सः (त्यो) यः (जसले) अन्तरात्मना (अन्तःकरण) मत् गतेन (ममा राखेर) श्रद्धावान् (श्रद्धापूर्वक) माम् (मेरो) भजते (भजन गर्छ) ।
सब कर्मयोगीहरुमा पनि श्रेष्ठतम कर्मयोगी मैले त्यसलाई ठान्दछु जसले ममा अन्तःकरण राखेर श्रद्धापूर्वक मेरो भजन गर्छ ।।४७।।
व्याख्या
[सम्पादन गर्नुहोस्]योग शास्त्रमा समाधिको अवस्थालाई अन्तिम उपलब्धि मानिएको छ । के त्यस पछि सबै काम सकियो ? भगवान् श्रीकृष्णले भन्नु हुन्छ– ‘कर्मयोगी ज्ञानी वा तपस्वीभन्दा श्रेष्ठ छ तर त्यो पनि ध्यानयुक्त हुनु पर्छ । जसले मनलाई निरन्तर ईश्वरमा लगाएर कर्ममा लागिरहन्छ त्यो श्रेष्ठतम कर्मयोगी हो । अर्थात् लौकिक कर्ममा व्यस्त रहँदा पनि मनलाई हरदम ईश्वरसंग जोडिरहनु पर्छ । यो नै श्रेष्ठ साधना हो ।
श्रेष्ठतम कर्मयोगीको उदाहरण भगवान् श्रीकृष्णको जीवनमा सर्वत्र पाइन्छ । जन्मबाट नै जीवन दुखले परिपूर्ण छ । जन्मनासाथ आमाको दूधबाट वञ्चित हुनु पर्यो । गुरुको आश्रममा विद्याध्ययन प्राप्त गर्ने उमेरमा उनले गाई चराउने, गोबर फाल्ने, घाँस काट्ने, गाई दुहुने गरेर दिन बिताउनु पर्यो । निकै पछि मात्र सान्दीपनि गुरुको आश्रममा पढ्ने अवसर प्राप्त भयो त्यो पनि थोरै समयका लागि ।
युद्ध गर्दा बारम्बार भागेर भगौडाको दोष बेहोर्नु पर्यो । मणि चोरेको आरोपमा सफाई दिनु पर्यो । तथापि भगवान् श्रीकृष्ण सधैं प्रसन्नचित्त रहनु भएको उदाहरण छ । व्याधाको हातबाट मृत्यु हुँदा पनि त्यस आततायी व्याधाका लागि आफू बैकुण्ठ जानु अघि उसका लागि पुण्यलोक प्राप्तिको व्यवस्था गरीदिनु भयो । (भागवत १०.३०.३९) त्यसैले गीताको समाधिको उद्देश्य अर्जुनलाई निष्काम कर्मयोगमा प्रवृत्त गराउनु हो ।
ॐ तत्सदिति श्रीमद्भगवद्गीतासूपनिषत्सु ब्रह्मविद्यायां योगशास्त्रे श्रीकृष्णार्जुनसंवादे आत्मसंयमयोगो नाम षष्ठोक्ध्यायः ।।
श्रीमद्भगवद्गीतारुपी उपनिषद् यस ब्रह्मविद्या र योगशास्त्रमा श्रीकृष्ण र अर्जुनका संवादको आत्मसंयमयोग नाम गरेको अध्याय छ समाप्त भयो ।।ॐ तत्सत् ।।
सन्दर्भ
[सम्पादन गर्नुहोस्]अधिकारी, कोमलनाथ, (वि.सं.२०१८), पञ्चरत्नगीता, कोमलगीता, नेपाली पद्यानुवाद र व्याख्या वाराणसी ः यशोदा प्रेस ।
अपूर्वानन्द, (सन् २००२), श्रीमद्भगवद्गीता पदच्छेद, अर्थ, व्याख्या, कलकत्ता ः रामकृष्ण मठ ।
अपूर्वानन्द, (वि.सं.२०७१), अनुवादक बाबु राम ज्ञवाली, शंकराचार्यको जीवनी, विद्यार्थी पुस्तक भण्डार।
आचार्य, श्रीराम शर्मा, (सन् २०११), सांख्य एवं योग, मथुरा ः युग निर्माण योजना ।
आचार्य, श्रीराम शर्मा, (सन् २०१०), गायत्री महाविज्ञान (तीन खण्ड), मथुरा ः युग निर्माण योजना ।
आदि शंकराचार्य, (वि.सं.२०६७), श्रीमद्भगवद्गीता शांकरभाष्य, गोरखपुर ः गीताप्रेस ।
आप्टे, वामन शिवराम, (मिति उल्लेख नभएको) संस्कृत–हिन्दी शब्दकोश, सम्पादक उमा प्रसाद पाण्डेय, नई दिल्ली ः कमल प्रकाशन ।
ईश्वरानन्द, (वि.सं. २०५१) गीता तात्पर्य, संस्कृत, अन्वय, अर्थ र व्याख्या, स्वयम्भू ः गीता अध्ययन मण्डल ।
ऋग्वेद संहिता भाग १ र २, (वि.सं.२०६७), सम्पादक प्रसन्नचन्द्र गौतम, काठमाडौं ः कुलचन्द्र गौतम स्मृति संस्था ।
ऋग्वेद संहिता भाग १ र २, (वि.सं.२०६७), सम्पादक प्रसन्नचन्द्र गौतम, काठमाडौं ः कुलचन्द्र गौतम स्मृति संस्था ।
ओशो, (सन् १९८०), गीता दर्शन खण्ड २, पूना ःरेबेल बुक्स ।
खप्तड बाबा (सच्चिदानन्द सरस्वती), (वि.सं.२०६०), विचार विज्ञान, काठमाडौं ः खप्तड आश्रम समिति ।
खप्तड बाबा (सच्चिदानन्द सरस्वती), (वि.सं.२०५६), आत्मबोध, काठमाडौं ः खप्तड आश्रम समिति ।
खप्तड स्वामी, (वि.सं.२०५१), धर्म विज्ञान सार संक्षेप, सम्पादक चूडानाथ भट्टराय, काठमाडौं ः बबी शाह ।
गीताप्रेस, (वि.सं.२०६५), महाभारत पाँच खण्ड, गोरखपुर ः गीताप्रेस ।
गीताप्रेस, (वि.सं.२०६४), ईशादि नौ उपनिषद्, गोरखपुरः गीताप्रेस ।
गोयन्दका, जयदयाल, (वि.सं. २०७०),गीता तत्त्व विवेचनी, गोरखपुर ः गीताप्रेस ।
ज्ञवाली, बाबु राम, (वि.सं.२०७०), ऋग्वेदबारे केही वैज्ञानिक तथ्यहरु, मिर्मिरे (सांस्कृतिक विशेषांक), वर्ष ४२, अंक १, पूर्णांक ३२०, बैशाख जेठ २०७०, काठमाडौं ः नेपाल राष्ट्र बैंक ।
ज्ञानेश्वर, उमेशपुरी, (सन् २०१४), मनको वशमें कैसे करें, (ध्यानके विकासकी मनोवैज्ञानिक साधना), हरिद्वार ः रणधीर प्रकाशन ।
जलोटा, अनूप, (वि.सं.२०७०), श्रीमद्भगवद्गीता (सी डी) ।
पन्थी, टीकाराम, (वि.सं.२०६५),सांस्कृतिक संवीक्षण, रूपन्देही ः विश्व हिन्दु महासंघ ।
फ्रायड, सिगमण्ड, (१९९७) एन इन्ट्रोडक्शन टु साइकोएनालिसिस
ब्रह्मानन्द, (सन् २०००), श्रीरामकृष्ण उपदेश, नागपुर ः रामकृष्ण मठ ।
बेनेट, जे जे र ठाकुरलाल मानन्धर,(वि.सं.२०६७), अनन्तको यात्रा, काठमाडौं ः योगेन्द्रभक्त श्रेष्ठ ।
म्याक्समुलर, एफ. (१९७१), रामकृष्ण, हिज लाइफ एन्ड सेईङ्ग्स, रामकृष्ण मठ, नागपुर ।
रामसुखदास, (वि.सं.२०६७), श्रीमद्भगवद्गीता साधक संजीवनी, गोरखपुर ः गीताप्रेस ।
शर्मा, डी एस, (वि.सं.२०५५), हिन्दु धर्मको क ख ग अनुवादक कुलशेखर शर्मा, गीता समुदय प्रकाशन ।