सामग्रीमा जानुहोस्

श्रीमद्भगवद्गीता सप्तम अध्याय

नेपाली विकिपुस्तकबाट, स्वतन्त्र पुस्तकालय

ज्ञान विज्ञान योग

[सम्पादन गर्नुहोस्]

श्रीभगवानुवाच

[सम्पादन गर्नुहोस्]


मय्यासक्तमनाः पार्थ योगं युञ्जन्मदाश्रयः ।
असंशयं समग्रं मां यथा ज्ञास्यसि तच्छृणु ।।१

पदच्छेद र शब्दार्थ

[सम्पादन गर्नुहोस्]

श्रीभगवान् उवाच (भगवान्ले भन्नु भयो) पार्थ (हे पार्थ) मयि (मलाई) आसक्त मनाः (चित्त लगाउने) मत् आश्रयः (मेरो आश्रय लिने) योगम् युञ्जन् (कर्मयोग आचरण गर्ने) माम् (मलाई) असंशयम् (संशयरहित तरिकाले) यथा (जसरी) समग्रम् (समग्रमा) ज्ञास्यसि (ाजान्ने छौ) तत् शृणु (त्यो सुन) ।
भगवान् श्रीकृष्णले भन्नु भयो – हे पार्थ, ममा चित्त लगाउने, मेरो आश्रय लिने र कर्मयोगको आचरण गर्ने तिमीले संशयरहित तरिकाले जसरी मलाई समग्रमा जान्ने छौ, त्यो सुन ।। १।।


अध्याय छ मा आरुरुक्षु (योग सिद्धिका लागि इच्छुक), योगारुढ (योग संसिद्ध) तथा योगभ्रष्ट (योग पथबाट विचलित) को सविस्तार चर्चा गरे पछि भगवान् श्रीकृष्णले वार्तालापलाई निरन्तरता दिँदै श्रद्धावान् योगीले जान्नु पर्ने कुरा बताउँदै हुनुहुन्छ । अर्जुनलाई यो विशेष कुरा बताउनुको कारण सुरुमा उल्लेख गरिएको छ ।
जसले सम्पूर्ण विश्वास र प्रेम गर्छ त्यसलाई संशय नरहने गरी बताउनु प्रेमीको कर्तव्य हो। भगवान् अर्जुनले भगवान् कृष्णमाथि पूरै भरोसा गरेका छन् । साथै अर्जुनलाई के कुरा राम्ररी थाहा छ भने उनको संशय समाधान गर्नसक्ने भगवान् कृष्णबाहेक अर्को कोही छैन।
अध्याय छ मा अर्जुनले संशय व्यक्त गर्दै भनेका छन्– जसले श्रद्धा गर्छ तर संयमी छैन, यस्ताले योगको सिद्धि प्राप्त गर्न सक्छ कि सक्दैन ? कतै उसको सिद्धि बादल झैं छिन्न भिन्न भइ नष्ट हुने त होइन ? मेरो यो संशयलाइ केवल तपाईंले निराकरण सक्नुहुन्छ, अरुले सक्दैनन् ।।३७–३९।। यहाँ सोही कुरालाई संकेत गरिएको छ । ।
ज्ञानं तेऽहं सविज्ञानमिदं वक्ष्याम्यशेषतः ।
यज्ज्ञात्वा नेह भूयोऽन्यज्ज्ञातव्यमवशिष्यते ।।२।।

पदच्छेद र शब्दार्थ

[सम्पादन गर्नुहोस्]

ज्ञानम् सविज्ञानम् (ज्ञानविज्ञानसहित) इदम् (यो) अशेषतः (पूर्ण रुपमा) ते (तिम्रालागि) अहम् (मैले) वक्ष्यामि (बताउँछु) यत् (जसलाई) ज्ञात्वा (जानेर) इह (यस संसारमा) भूयः (फेरि) अन्यत् (अरु केही) ज्ञातव्यम् (जान्नु पर्ने) न अवशिष्यते (बाँकी रहने छैन) ।
विज्ञानसहितको यो पूर्ण ज्ञान मैले तिमीलाई बताउँछु। जसलाई जानेर फेरि यस संसारमा जान्नु पर्ने केही बाँकी रहने छैन ।। २ ।।

यस अध्यायमा जुन कुरा बताइएको छ, त्यसलाई विज्ञानसहितको ज्ञान भनिएको छ। ज्ञानको अर्थ हो सैद्धान्तिक विवरण र विज्ञानको अर्थ हो त्यो ज्ञान जसलाई प्रयोग गर्न सकिन्छ । विज्ञानसहितको ज्ञानलाई एउटा उदाहरणबाट स्पष्ट गर्न सकिन्छ । चिया कसरी पकाउने? यसको सैद्धान्तिक ज्ञान निम्नलिखित छ– आफूलाई चाहिने पानी भाँडोमा राख्ने, तताउने, आवश्यकता अनुसार चिनी र चियापत्ती राख्ने, दूध मिसाउने। दुई तीन पटक उमाल्ने । चिया तैयार भयो ।
यति जानेपछि जब वास्तवमै चिया पकाइन्छ अनि त्यो विज्ञानसहितको ज्ञान हुन्छ । त्यसैले सैद्धान्तिक विवरण ज्ञान हो भने अनुभवजन्य प्रयोग हुनासाथ त्यो विज्ञान बन्न जान्छ । दाउरामा आगो हुन्छ भन्ने ज्ञान मात्र पर्याप्त छैन । त्यस अग्निको प्रयोगले खाना पकाउन जाने पछि मात्र ज्ञानको पूर्णता हुन्छ । दुवै सँगै हुनु ज्ञानविज्ञान योग हो । त्यसैले यो व्यावहारिक ज्ञान हो । जब कुनै ज्ञानलाई व्यवहारमा लागू गरिन्छ भने त्यो विज्ञानसहितको ज्ञान हुन्छ ।
यसलाई जानेपछि संसारमा अरु केही जान्नु आवश्यक छैन भन्ने वाक्यांश बडो महत्त्वपूर्ण छ । यो कस्तो ज्ञान हो भने यसलाई जाने पछि अरु ज्ञान स्वतः प्राप्त हुन्छन्, ठीक मूल साँचो– मास्टर की जस्तो । एउटा साँचो भए पछि सबै ताल्चा खुल्छन् । अलग अलग साँचो चाहिँदैन किनभने ज्ञान त अनन्त छ । यसलाई पूरै जान्न सकिंदैन । तर भगवानले बताएको यो विज्ञानसहितको ज्ञान जाने पछि फेरि यस संसारमा ज्ञातव्य अरु केही शेष रहने छैन ।
मनुष्याणां सहस्रेषु कश्चिद्यतति सिद्धये ।
यततामपि सिद्धानां कश्चिन्मां वेत्ति तत्त्वतः ।।३

पदच्छेद र शब्दार्थ

[सम्पादन गर्नुहोस्]

सहस्रेषु (हजारौं) मनुष्याणम् (मानिसहरुमा) कश्चित् (कोही एकाधले) सिद्धये (सिद्धिका लागि) यतति (प्रयास गर्छन्) यतताम् (प्रयास गर्ने) सिद्धानाम् (सिद्ध पुरुषहरुमध्ये) अपि (पनि) कश्चित् (कोही एकाधले) माम् (मेरो) तत्त्वतः (तत्त्व ज्ञान) वेत्ति (प्राप्त गर्छ) ।
हजारौं मानिसहरुमा कोही एकाधले सिद्धिका लागि प्रयास गर्छ । प्रयास गर्ने सिद्ध पुरुषहरुमध्ये कोही एकाधले मात्र मेरो तत्त्व ज्ञान प्राप्त गर्छ ।। ३ ।।

ज्ञानको चाहना कतिले गर्छन् ? र कतिले वास्तवमा प्राप्त गर्छन् ? यस जिज्ञासाको उत्तर हो यो । ज्ञानका पथिक दुर्लभ हुन्छन् । हजारौंमा एकाध कोही ज्ञानको पथमा हिँडन् तैयार हुन्छन् । यस पथमा यात्रा गर्नेमध्ये जुनसुकै दुखकष्ट बेहोरेर निरन्तर लाग्नेको संख्या अझै कम हुन्छ । शैक्षिक क्षेत्रमा शोध गर्नेहरुले के पत्ता लगाएका छन् भने कक्षा १ मा भर्ना भएका मध्ये ३० प्रतिशत मात्रले १० कक्षासम्म पढ्छन् । कोहीले स्कूल छोड्छन् कसैले कक्षा पार गर्न सक्दैनन् । ती ३० प्रतिशत कक्षा १० को परीक्षामा समावेश हुने मात्र हुन् । उत्तीर्ण हुने संख्या अझै कम हुन्छ । यसलाई पार गर्नेमध्ये उच्च शिक्षा अध्ययन गर्ने झनै कम हुन्छन् ।
अन्टार्कटिकामा दुई पटक गएर छ छ महिना बसोबास गरेर एक वैज्ञानिक अभियान दललाई सहयोग गर्ने भुवनसिंह विश्वकर्माले आफ्नो अनुभव सुनाउँदै भन्दछन्– ‘वि.सं.२०४३ मा अन्टार्कटिक महादेशको वैज्ञानिक अभियानमा जान लगभग २०० जना छनौट भए । यस पछि विभिन्न प्रकारका प्रशिक्षण पार गर्दै जाँदा सबै परीक्षणहरुमा उत्तीर्ण हुने केवल २० जना भए । अन्टार्कटिकको शून्यभन्दा पनि ९० डिग्री सेल्सियस कम अर्थात् अत्यन्त चिसो। मानिसको त के कुरा प्राणीहरु पनि देख्न मुश्किल । सील, ह्वेल र पेङ्गुइन बाहेक अन्य प्राणी नपाइने निर्जन ठाउँ । ह्वेल चिसो पानी भित्र बस्छ । सील पनि प्रायः पानी भित्रै रहन्छ । ग्लेसियरमा कहिलेकाहीं मात्र आउँछन् । केवल पेंगुइन यस्तो चरा हो जुन बाहिर बढी देखिन्छ, यद्यपि त्यो पनि पानीमा पौडिने गर्छ ।
त्यस्तो स्थानमा छ महिनाको उराँठ लाग्दो उज्यालो दिन र छ महिनाको लामो निस्सासिंदो रात बिताउने हो । यस्तो सुनसान ठाउँमा आफ्नो परिवार र नातेदारसँग महिर्नौंको सम्बन्धविहीनता र त्यसबाट उत्पन्न अनेक प्रकारका डरलाग्दा कल्पनाहरुले गर्दा मानिसहरु यस्ता अभियानमा भाग लिने आँट गर्दैनन् ।’
भौतिक जगत होस् वा अध्यात्म दुवैमा यो नियम लागू हुन्छ । सयौंमध्ये केही थोरैले आँट गर्छन् । आँट गर्नेमध्ये पनि सबैले लक्ष्य प्राप्त गर्न सक्दैनन् । केवल लगनशीलले मात्र लक्ष्य प्राप्त गर्न सक्छन् ।
यसको सुन्दर वर्णन गर्दै कठोपनिषद्ले भनेको छ–
उत्तिष्ठत जाग्रत प्राप्य वरान्निबोधत ।
क्षुरस्य धारा निशिता दुरत्यया दुर्गं पथस्तत्कवयो वदन्ति ।। १.३.१४ ।।
उठ, जाग, त्यस श्रेष्ठ ज्ञानलाई प्राप्त गर । ज्ञानको यो पथ छुरीको तिखो धारमा हिंड्नु समान कठिन छ । ज्ञानको लक्ष्यमा उही पुग्छ जो यस छुरी धारमा हिँड्न तैयार छ ।
भूमिरापोऽनलोवायुः खं मनो बुद्धिरेव च ।
अहङ्कार इतीयं मे भिन्ना प्रकृतिरष्टधा ।।४।।

पदच्छेद र शब्दार्थ

[सम्पादन गर्नुहोस्]

भूमिः (भूमि) आपः (जल) अनल (तेज) वायुः (वायु) खं (आकाश) एव च (तथा) मनः (मन) बुद्धिः (बुद्धि) अहङ्कार (अहङ्कार) इति (यसरी) इयम् (यो) मे (मेरो) प्रकृतिः (प्रकृति) अष्टधा (आठ प्रकारले) भिन्ना (अलग अलग बाँडिएको छ)।
भूमि, जल, तेज, वायु, आकाश यी पाँच सूक्ष्मभूत तथा मन, बुद्धि र अहङ्कार यी तीन गरी जम्मा आठ किसिमको मेरो प्रकृति अलग अलग बाँडिएको छ ।।४।।
अपरेयमितस्त्वन्यां प्रकृतिं विद्धि मे पराम् ।
जीवभूतां महाबाहो ययेदं धार्यते जगत् ।। ५ ।।

पदच्छेद र शब्दार्थ

[सम्पादन गर्नुहोस्]

महाबाहो (हे महाबाहु) अपरा ः (अपरा) प्रकृतिम् (प्रकृति) इयम् (यो) तु (तर) विद्धि (जान) मे (मेरो) जीवभूताम् (जीवरुपिणी) इतः (यसभन्दा) अन्याम् (फरक, अर्को) पराम् (परा प्रकृति, अलि माथिको प्रकृति) यया (जसबाट) इदम् (यो) जगत् (सारा जगत्) धार्यते (धारण गरिएको छ, विकास भएको छ)।
हे महाबाहु, यो अपरा (कम माथिको, वरको) प्रकृति हो तर यसभन्दा फरक अर्को परा (अलि माथिको, अलि परको) उच्च श्रेणीको जीवरुपिणी मेरो अर्को प्रकृतिलाई राम्ररी बुझ, जसबाट यो सारा जगत् धारण गरिएको छ ।।५।।

भूमि, जल, वायु, तेज, आकाश यी पाँच महाभूत, तथा मन, बुद्धि र अहङ्कार गरेर मेरो अपरा प्रकृति आठ अलग अलग भागमा विभाजित छ । यी सबै प्रकृति हुन् तर अपरा, अर्थात् अलि वरको, अलि कमतर श्रेणीको । यसभन्दा फरक परा प्रकृति हुन्छ । परा प्रकृतिको अर्थ हो त्यसभन्दा परको वा माथिको, उच्च श्रेणीको । अपरा प्रकृति भन्दा पर त्यो परा प्रकृति छ जसलाई हामीले चेतन शक्ति, परम शक्ति वा परमात्मा भन्छौं । अर्को शब्दमा एक ईश्वरको शक्ति नै पाँच महाभूत तथा मन, बुद्धि र अहंकार सर्वत्र विभाजित भएको छ।
यहाँ भनिएका आठ अपरा प्रकृति र ११ इन्द्रिय, पाँच महाभूत गरेर साङ्ख्य दर्शनमा सृष्टि विस्तारका २४ तत्त्व मानिएका छन् । (यसमा साक्षी पुरुषलाई समावेश गर्दा जम्मा २५ तत्त्व हुन्छन्) प्रकृतिको विस्तार निम्नलिखित छ–
१.एक मूल प्रकृति
२.तीन अन्तःकरण– मन , बुद्धि, अहङ्कार
३.पाँच महाभूत– आकाश, वायु, अग्नि, जल, भूमि
४.पाँच तन्मात्रा– शब्द, स्पर्श, रुप, रस, गन्ध
५.पाँच ज्ञानेन्द्रिय– कान, छाला, आँखा, जिब्रो, नाक
६.पाँच कर्मेन्द्रिय– वाणी, जननेन्द्रिय, मलेन्द्रिय, हात, खुट्टा कर्मेन्द्रियसँग सम्बन्धित हुन्छ यो कर्मेन्द्रिय भइदिन्छ ।
गीतामा मन, बुद्धि र अहङ्कारलाई अन्तःकरण वा चित्त भनिएको छ तर पछिका दार्शनिकहरुले अन्तःकरणका चार विभाग गरेका छन् – मन, बुद्धि, चित्त, र अहङ्कार । गन्धको प्रभाव मनमा, रसको प्रभाव बुद्धिमा, स्पर्शको प्रभाव अहंकारमा तेजको प्रभाव चित्तमा पर्छ भन्ने मानिएको छ ।
मन के हो ? यसको सम्पूर्ण व्याख्या कठिन छ तर मनले कसरी काम गर्छ यस बारेमा विवरण उपलब्ध छ । मन एक ठोस वस्तु नभएर एक प्रक्रियाको नाम हो । जुन जागारहँदा विचारको रुपमा (चेतन) र निद्रामा स्वप्नको रुपमा (अचेतन) सतत् क्रियाशील रहन्छ । यो अन्तःकरणको एक भाग हो । अन्तःकरणको त्यो भाग जसले संकल्प–विकल्पको कार्य गर्छ, त्यसलाई मन भनिन्छ । यसले सधैं दुई विपरीत कुरासँग सम्बन्ध जोडिहाल्छ त्यसैले हुन्छ र हुन्न यी दुई कुरामा मन डुलिरहन्छ । मनको अधिदेवता चन्द्रमा मानिएका छन् । चन्द्रमाले मनको घटबढको अवस्थालाई चित्रित गर्छ । मन जुन इन्द्रियसँग सम्बन्धित हुन्छ, त्यही भइदिन्छ । ज्ञानेन्द्रियसँग सम्बन्धित हुँदा यो ज्ञानेन्द्रिय भइदिन्छ जसले गर्दा वस्तुहरुको ज्ञान हुन्छ ।
साङ्ख्य दर्शनमा अन्य तत्त्वसंग नमिसिएको, शुद्ध र मूल तत्त्वको नाम महाभूत हो । शुद्ध रुपमा भूमि भनेको केवल गन्ध हो । जसरी अर्थशास्त्रमा भूमि भनेको ती सबै वस्तुहरू हुन् जुन प्रकृतिले मानिसलाई निःशुल्क उपहारको रूपमा प्रदान गरेको छ । त्यसै गरी यहाँ भूमि भनेको माटो होइन, माटोमा रहेको भूमि तत्त्व हो जुन गन्धको रुपमा प्रकट हुन्छ ।महाभूतको रुपमा भूमिको यस विशेषतालाई भूमि तन्मात्रा (वा तन्मात्र) भनिन्छ ।
तन्मात्राको अर्थ हो– केवल त्यही मात्र, शुद्ध भूमि अर्थात् गन्ध मात्र । भूमिको यस विशेषतालाई नाकले थाहा पाउँछ । यसको कर्मेन्द्रिय उपस्थ (गुदा) हो । त्यसै गरी जलको तन्मात्रा रस, सम्बन्धित ज्ञानेन्द्रिय जिब्रो, र कर्मेन्द्रिय पायु (जननेन्द्रिय) हो । वायुको तन्मात्रा स्पर्श, सम्बन्धित ज्ञानेन्द्रिय छाला र कर्मेन्द्रिय पाणी (हात) हो । तेजको तन्मात्रा रुप, यसलाई जान्ने इन्द्रिय आँखा, कर्मेन्द्रिय गोडा हो ।
आकाशको तन्मात्रा शब्द, ज्ञानेन्द्रिय कान र कर्मेन्द्रिय वाणी हो । ज्ञानेन्द्रिय, तन्मात्रा र महाभूतको सम्बन्धलाई नै इन्द्रिय भनिन्छ ।
प्रकृतिका तीन गुण सत्त्व, रजस् र तमस् हुन्छन, जुन परस्पर विपरीत स्वभावका तर एक साथ हुन्छन् छन् । यिनीहरुको असन्तुलन र गति सुरु हुन्छ । सत्त्वगुणको वृद्धि हुँदा महत् तत्त्व (बुद्धि) उत्पन्न हुन्छ ।
महत् तत्त्वमा रजोगुणको प्रधानताले अहङ्कारको र अहङ्कारमा तमोगुणको प्रधानताले पञ्च तन्मात्रा शब्द, स्पर्श, रुप, रस तथा गन्धको उत्पत्ति हुन्छ । सूक्ष्म तन्मात्राहरुबाट आकाश, वायु, अग्नि, जल, र पृथ्वीको उत्पत्ति हुन्छ ।
यस विस्तारले सृष्टिको क्रम पनि स्पष्ट गरेको छ । सुरुमा शब्द अर्थात् आकाशको उत्पत्ति हुन्छ । त्यस पछि क्रमशः वायु, तेज, जल र पृथ्वीको उत्पत्ति हुन्छ । यो भनाई आधुनिक विज्ञानको सृष्टि विकास अवधारणासँग मिल्छ । आधुनिक चिकित्सा शास्त्रको दृष्टिले हेर्दा मानव शरीरमा ७२ प्रतिशत पानी, १२ प्रतिशत भूमि, ६ प्रतिशत वायु, ४ प्रतिशत अग्नि, र ६ प्रतिशत आकाश हुन्छ । यसमध्ये अग्निको मात्रामा घटबढ हुन्छ भने वायु तत्त्व निरन्तर गतिशील हुन्छ । त्यसैले यस अध्यायमा उद्विकास सिद्धान्तको प्रतिपादन गरिएको भन्न सकिन्छ ।

तालिका ७.१ मा साङ्ख्य दर्शनमा विषय विस्तार र यसको क्रम
शब्द शब्द
स्पर्श शब्द स्पर्श
रुप शब्द स्पर्श रुप
रस शब्द स्पर्श रुप रस
गन्ध शब्द स्पर्श रुप रस गन्ध


एउटा उदाहरणबाट यस कुरालाई स्पष्ट गर्न सकिन्छ । जलमा रस अर्थात् स्वादको गुण हुन्छ तर जललाई देख्न सकिन्छ त्यसैले यसमा रुप गुण पनि हुन्छ । तातो वा चिसो रुपमा यसमा स्पर्श गुण हुन्छ भने जलमा भएको गन्धले यसमा भूमि गुण पनि हुन्छ । यसरी सृष्टिमा पाइने जलमा पाँचवटै महाभूतका गुण पाइन्छन् । यो नै पञ्चीकरण हो ।
यस पञ्चीकरणलाई सङ्घात पनि भनिन्छ । साङ्ख्य सिद्धान्त अनुसार, जुन तत्त्वको पञ्चीकरण हुन्छ त्यो कुल मिश्रणको आधा (५० प्रतिशत) हुन्छ । बाँकी आधामा अन्य चार तत्त्व बराबर अनुपातमा मिसिएका हुन्छन् ।
पञ्चीकृत जललाई गणितीय समीकरणमा निम्नलिखित प्रकारले व्यक्त गर्न सकिन्छ–
पञ्चीकृत जल . ५० प्रतिशत जल + १२.५० प्रतिशत भूमि + १२.५० प्रतिशत तेज + १२.५० प्रतिशत वायु + १२.५० प्रतिशत आकाश ।

चित्र ७.१ जल तत्त्वको पञ्चीकरण


यसै गरी अन्य महाभूत पनि पञ्चीकृत हुन्छन् । यसरी मिसिएको तत्त्वलाई विकृति अर्थात् विकार युक्त प्रकृति भनिन्छ । यो विकृति नै सृष्टिको कारक हो । शुद्ध महाभूतले सृष्टि गर्न सक्दैन भन्ने मानिएको छ । महाभूत, ज्ञानेन्द्रिय, कर्मेन्द्रिय र यी सबैको प्रकृतिसँग सम्बन्ध हुन्छ । ज्ञानेन्द्रिय र कर्मेन्द्रियहरुको यस अन्तर्सम्बन्धलाई गीतामा इन्द्रियग्राम, अर्थात् इन्द्र्रियहरुको संजाल, भनिएको छ । यसलाई उल्टो अश्वत्थ वृक्षसँग पनि तुलना गर्न सकिन्छ।
परमाणु वैज्ञानिक नील बोहरले परमाणु विज्ञानका गूढ रहस्य पत्ता लगाउन उपनिषद्को सहयोग लिएको कुरा स्वीकार गर्दै भनेका छन्– मलाई जब जब शंका लाग्छ । अरु कहीं समाधान पाईंदैन । अनि उपनिषद् खोलेर पढ्छु । सुप्रसिद्ध भौतिक शास्त्री ज्याक
एतद्योनीनि भूतानि सर्वाणीत्युपधारय ।
अहं कृत्स्नस्य जगतः प्रभव प्रलयस्तथा ।। ६।।

पदच्छेद र शब्दार्थ

[सम्पादन गर्नुहोस्]

एतत् (यिनी) योनीनि (सृष्टि) भूतानि (प्राणीहरु) सर्वाणी (सबै) इति (यस प्रकार) उपधारय (बुझ) अहम् (म) कृत्स्नस्य (सम्पूर्ण) जगतः (जगत्को) प्रभव (उत्पत्ति) तथा (तथा) प्रलयः (नाश, अन्त्य, लीन) ।
के कुरा बुझ भने यिनी दुई प्रकृतिबाट सबै प्राणीहरु उत्पन्न हुन्छन् अनि सम्पूर्ण जगतको प्रभव अर्थात् उत्पत्ति स्थान र प्रलय अन्त्यको कारण म नै हूँ ।।६।।
मत्तः परतरं नान्यत्किञ्चिदस्ति धनञ्जय ।
मयि सर्वमिदं प्रोतं सूत्रे मणिगणा इव ।।७।।

पदच्छेद र शब्दार्थ

[सम्पादन गर्नुहोस्]

धनञ्जय (हे धनञ्जय, अर्जुन) मत्तः (मभन्दो) परतर् (पर, भिन्नतर) अन्यत् (अरु) किञ्चित् (केही) न अस्ति (छैन) सर्वम् इदम् (यो सबै) मयि (मद्वारा) मणिगणा (मणिहरु, मणिका दानाहरु) सूत्रे (धागोमा) इव (जस्तै) प्रोतम् (बुनिएको, गाँसिएको छ)।
हे धनञ्जय, मभन्दा पर भिन्न अर्को केही छैन । जसरी धागोमा सारा मणि उनिएका हुन्छन् त्यसै गरी यो सबै जगत् म एकमा नै बुनिएको छ ।। ७ ।।

परा र अपरा यी दुवै प्रकृति मबाट उत्पन्न हुन्छन् । तर परा र अपरा प्रकृति यी दुई भए पनि त्यो सबै अद्वैत परमात्माबाट उत्पन्न भएको छ । त्यसले जगत्को उत्पत्ति र विनाशको आधार र कारण एक परमात्मा हो भन्ने स्पष्ट हुन्छ ।
परमात्माभन्दा पर अर्को कोही र केही छैन । त्यसैले त्यो सर्वशक्तिमान हो । तर ईश्वर मणि होइन मणिको रहस्य हो । वास्तवमा विज्ञान त्यो हो जसमा सबै कुरा स्पष्ट परिभाषित छ तर धर्म त्यो हो जसको जति परिभाषा गरे पनि केही रहस्य बाँकी रहन्छ । धर्म यही लुकेको धागोको विज्ञान हो ।
रसोऽहमप्सु कौन्तेय प्रभास्मि शशिसूर्ययोः ।
प्रणवः सर्ववेदेषु शब्दः खे पौरुषं नृषु ।।८।।

पदच्छेद र शब्दार्थ

[सम्पादन गर्नुहोस्]

अहम् (म) अप्सु (जलमा) रसः (रस हूँ) कौन्तेय (हे कौन्तेय) प्रभा (उज्यालो) अस्मि (हूँ) शशि सूर्ययोः (चन्द्रमा र सूर्यमा) प्रणवः (प्रणव, ॐकार) सर्ववेदेषु (सबै वेदमा) शब्दः (ध्वनि) खम् (आकाशमा) पौरुष (पुरुषत्त्व) नृषु (पुरुषहरुमा) ।
हे कौन्तेय, जलमा रस म हूँ, सूर्य चन्द्रमामा प्रभा म हूँ, सबै वेदमा प्रणव (ओंकार) म हूँ, आकाशमा शब्द म हूँ र पुरुषको पुरुषत्व अर्थात् पौरख म हूँ ।।८।।

सृष्टि विकासका दार्शनिक सिद्धान्तको परिचय दिए पछि भगवान्ले सृष्टिको कण कणमा ईश्वरीय शक्ति व्याप्त छ भन्ने कुरा तर्फ संकेत गर्दै के भन्नु भएको छ भने जगत्मा जेजति चल अचल कुराहरु छन् सबमा ईश्वरको शक्ति छ – ‘जलमा रस, सूर्य र चन्द्रमामा उज्यालो, आकाशमा शब्द र वेद मन्त्रमा प्रणवको रुपमा जुन शक्ति छ, त्यो परमात्माको शक्ति नै हो ।’
जलको सूक्ष्म गुण रस हो र दृश्यगुण तरलता हो । त्यसैले रसको अर्थ हो– तरलता, स्वाद र सन्तुष्टि । यस गुणको आधारमा पानीमा बग्ने गुण, तिर्खा मेटेर तृप्ति दिने गुण तथा आहारहरुमा विभिन्न स्वाद प्रदान गर्ने शक्ति हुन्छ । रसका पनि अनेक प्रकार हुन्छन् – मीठो, नुनिलो, अमिलो इत्यादि ।
जल एक यस्तो तत्त्व हो जुन पृथ्वीमा आफ्नो शुद्ध रुपमा रङ्गहीन, गन्धहीन, र स्वादहीन मानिन्छ । सामान्यतया यो तरल रुपमा पाइन्छ तर सामान्य तापक्रममा ठोस र ग्यास दुवै रुपमा पृथ्वीमा पाइने एक मात्र तत्त्व हो । एकै पटक तीन स्वरुपमा पाइने एक मात्र पदार्थ पानी हो । जीवनका लागि पानी सर्वाधिक महत्त्वपूर्ण मानिएको छ । अन्तरिक्षमा जहाँ जहाँ पानी छ, त्यहाँ सृष्टि विकास हुन सक्छ भन्ने मानिएको छ । सूर्य र चन्द्रमाको उज्यालोपनलाई प्रभा गुण भनिएको छ । प्रभाको अर्थ हो प्रकाश, उज्यालोपन । सूर्यको प्रभा (तेज) यस्तो गुण हो जसले गर्दा अन्य वस्तु देखापर्छन् तर स्वयं त्यस प्रभालाई हामीले देख्न सक्दैनौं । चन्द्रमाको प्रभाले अन्न, फलफूल र औषधिमा शक्ति र पोषण प्रदान गर्छ भन्ने मानिएको छ ।
तपस्वीहरुको अनुहारमा देखिने तेजमा सोही आभा गुण हुन्छ भन्ने मानिएको छ । देवताका चित्रको वरिपरि जुन प्रकाश देखाइन्छ, त्यो नै आभा हो । यसलाई अङ्ग्रेजीमा औरा (aura) भनिन्छ । यस्तो आभा सामान्य दृष्टिले देखिंदैन । तर अतिमानवीय र विशिष्ट कार्य गर्नेको अनुहारमा आन्तरिक शक्तिको तेज निर्माण हुन्छ भन्ने मानिन्छ ।
आकाश वा अवकाशको अर्थ हो रिक्त स्थान, खालीपन । आकाश गुण (रिक्त स्थान) ले गर्दा हामीले त्यहाँ सामान राख्न सक्छौं । आकाश गुणले सर्वव्यापकताको शक्ति प्रदान गर्छ । न्युटनले आकाश जस्तै एक तत्त्वको कल्पना गरेका थिए । जसलाई ईथर नाम दिएका थिए। आकाश सृष्टिको त्यो आवश्यक तत्त्व हो जसले गर्दा सृष्टि हुन्छ। सृष्टि जहाँबाट सुरु हुन्छ र जहाँ लय हुन्छ, त्यस अन्तरिक्षको प्रतिक हो आकाश । आकाशको सूक्ष्म रुप ध्वनि हो र ध्वनिको मौन रुप हो ओंकार । यसलाई अनाहत नाद पनि भनिन्छ किनभने यसको उच्चाण गर्दा जिब्रोले मुखको भित्र कतै आहत गर्दैन । यसैको नाम हो प्रणव ।
प्रणवको शाब्दिक अर्थ हुन्छ त्यो कुरा जुन नित्य नवीन छ । नम्रता साथ जसको स्तुति गरिन्छ अथवा भक्तद्वारा जसको उत्तमता साथ स्तुति गरिन्छ त्यो पनि प्रणव हो । ॐ र प्रणवमा थोरै अन्तर छ त्यो के हो भने प्रणव ध्यान स्वरुप हो भने ॐ नादस्वरुप हो ।
स्वर र व्यञ्जन वर्णलाई अनेक प्रकारले व्यक्त गरिन्छ । क देखि ङ सम्मका अक्षरलाई कवर्ग भने जस्तै अ, उ र म् को संयुक्त ध्वनि जसलाई ॐ लेखिन्छ, यो स्वर अथवा व्यञ्जन वर्णमा पर्दैन । त्यसैले वर्णमालामा यसको गणना हुँदैन किनभने यो अ, उ र म्को मिश्रित ध्वनि हो, एउटा अक्षर होइन । तथापि यसलाई अकार वा अक्षर पनि भनिन्छ तथापि केवल अकार ॐ होइन । त्यसैले वर्णमालामा सर्वप्रथम पनि यसलाई मानिन्छ । प्रणव अ पनि हो, उ पनि हो र म पनि हो र यस पछिको शान्त हुँदै जाने स्वर पनि हो ।
ॐ को अन्तिम उच्चारण म पछिको ध्वनि केवल नाकबाट हुँदै विस्तारै शान्त हुँदै जान्छ त्यसलाइ ओंकारको चौथो पद भनिन्छ । सृष्टि, स्थिति र प्रलय तथा त्यसभन्दा परको प्रतीक समेत मानेर यसलाई ब्रह्मको स्वरुप पनि भनिन्छ । वर्ण र शब्द मायाका संज्ञा हुन् । तिनीहरु लक्ष्यका लागि मायामा छन् तर अधिष्ठानस्वरुप मायातीत छन् । नाम नहुने यस्तो एक ॐ नै परब्रह्म एकाक्षर हो । यसको अकार भनेको सृष्टिकर्ता ब्रह्मा (generator), उकार भनेको पालनकर्ता विष्णु (operator), र मकार भनेको संहारकर्ता शिव (Destroyer) हो । तर परब्रह्म स्वरुप ॐकारमा यी तीनै स्वरुप एकै ठाउँमा मिसिएका छन् । त्यसैले ॐ भनेको नै परब्रह्म परमेश्वर (GOD) विश्वरुप पनि हो । यस दृष्टिले पनि ईश्वरको सबभन्दा राम्रो र नजीकको प्रतीक प्रणव नै हो ।
पुरुषहरुमा पौरुष हूँ । नेतृत्व गर्ने साहस, स्वाभिमान र बहादुरीका आन्तरिक गुणहरुलाई पौरुष गुण भनिन्छ । त्यसैले यो लैंगिकता नभएर गुणको सन्दर्भमा हो । यो गुण स्त्रीमा पनि हुन सक्छ । दुर्गासप्तशतीमा देवीमा यी सबै गुण देखाइएको छ ।


पुण्यो गन्धः पृथिव्यां च तेजश्चास्मि विभावसौ ।
जीवनं सर्वभूतेषु तपश्चास्मि तपस्विषु ।।९ ।।

पदच्छेद र शब्दार्थ

[सम्पादन गर्नुहोस्]

पुण्यः गन्धः (पवित्र गन्ध, सुगन्ध) पृथिव्याम् (पृथ्वीमा, भूमिमा) च (तथा) तेजः (तेज) अस्मि (हूँ) विभावसौ (अग्निमा) च (तथा) जीवनम् (जीवन हूँ) सर्वभूतेषु (सबै प्राणीहरुको) च (र) तपस्विषु (तपस्वीहरुको) तपः (तप) अस्मि (हूँ) ।
पृथ्वीमा पवित्र गन्ध म हूँ । अग्निको तेज म हूँ । सबै भूतप्राणीहरुको जीवनी शक्ति र तपस्वीहरुको तप म हूँ ।।९।।
बीजं मां सर्वभूतानां विद्धि पार्थ सनातनम् ।
बुद्धिर्बुद्धिमतामस्मि तेजस्तेजस्विनामहम् ।।१०।।

पदच्छेद र शब्दार्थ

[सम्पादन गर्नुहोस्]

पार्थ (हे पार्थ) सर्वभूतानाम् (सबै प्राणीहरुमा) सनातनम् (सनातन) बीजम् (बीज, सृष्टिको आधार) माम् (मलाई) विद्धि (जान) बुद्धिमताम् (बुद्धिमानहरुको) बुद्धिः (बुद्धि) तेजस्विनाम् (तेजस्वीहरुको) तेजः (तेज) अहम् (म) अस्मि (हूँ) ।
हे पार्थ, सबै प्राणीहरुको सनातन बीज मलाई नै जान । म नै बुद्धिमानहरुको बुद्धि र तेजस्वीहरुको तेज हूँ ।। १० ।।

चल अचल हरेक वस्तुको सबभन्दा मुख्य तत्त्वमा ईश्वरीय शक्ति लुकेर रहेको छ भन्ने संकेत गर्दै भगवान्ले भन्नु हुन्छ– भूमिमा पुण्य गन्ध र अग्निमा जुन तेज देखिन्छ, त्यो मेरो शक्ति हो । जीवित प्राणीहरुको जीवन तथा तपस्वीहरुको तप तथा सृष्टिको आदि बीज म हूँ । यसका साथै बुद्धिमानहरुको बुद्धि र तेजस्वीको तेज म हूँ । भूमिको सूक्ष्म गुण हो सुगन्ध । यो प्रकृतिको पाँचवटा आधारभूत तत्त्वमध्ये एक हो । अग्निको सूक्ष्म स्वरुप हो– तेज । तेजको अर्थ हो उज्ज्वलता, ऊर्जा ।

बुद्धिमानहरुको बुद्धि र तेजस्वीको तेज हूँ । बुद्धि र शिक्षामा अन्तर हुन्छ । शिक्षाको अर्थ हो मानिसहरुसँग भएका निश्चित प्रमाण पत्र । कतिवटा प्रमाणपत्र छन् शिक्षा त्यही हो । तर त्यो केवल सूचनाको संकलन हो । धेरै पढ्दैमा कोही बुद्धिमान हुँदैन । जुन आन्तरिक क्षमताले कुनै काममा प्रवृत्त हुने र निवृत्त हुने कुराको निर्णय गर्छ त्यो नै बुद्धिमानहरुको बुद्धि हो ।। गीता १८.३० ।।
शकुन विद्या पढेर आएका मानिसको परीक्षा गर्न एउटा राजाले बन्द मुठीमा राखेको वस्तु कस्तो छ ? भनी प्रश्न गरेछ ।
ज्योतिषीले गणना गरे पछि भन्यो– ‘त्यो वस्तु गोलो छ ।’
राजाले भन्यो– ‘ठीक ।’
ज्योतिषी– ‘त्यसको बीचमा प्वाल छ ।’
राजाले भन्यो – ‘ठीक ।’
ज्योतिषी – ‘त्यस प्वालमा केही कुरा छिराएर राखिन्छ ।’
राजाले सहमतिमा मुन्टो हल्लायो अनि सोध्यो– ‘अब त्यस वस्तुको नाम बताउनुहोस्’
शकुन हेर्नेले एक छिन सोच्यो । गोलो, प्वाल हुने र प्वालबाट छिराएर कुनै कुरा राख्ने के होला? उसले घरको जाँतो, त्यसको प्वाल र मानेलाई सम्झ्यो र भन्यो, महाराज, जाँतो ।
राजाले मुठी खोल्यो । त्यसमा औंठी राखिएको थियो ।
मुठी भित्र जाँतो अटाउन सक्दैन । यति विवेक उसलाई भएन ।
तेजस्वीको तेजमा ईश्वर स्थित छ । ज्ञानी र तपस्वीहरुको तेजलाई ब्रह्म तेज भनिन्छ। वशिष्ठसँग तीव्र प्रतिस्पर्धा गरेका राजर्षि विश्वामित्रले भनेका छन्, क्षत्रिय तेजभन्दा ब्रह्म तेज उच्च हुन्छ । गीतामा यसै ब्रह्म तेजलाई संकेत गरिएको छ ।
सर्फातीले पनि यस कुराको समर्थन गर्दै भनेका छन्– सृष्टिको आधार स्पष्ट बुझाउन साङ्ख्य दर्शन बाहेक अरु कुनै सिद्धान्तले सक्दैन ।
बलं बलवतां चाहं कामरागविवर्जितम् ।
धर्माविरुद्धो भूतेषु कामोऽस्मि भरतर्षभ ।।११।।

पदच्छेद र शब्दार्थ

[सम्पादन गर्नुहोस्]

भरतर्षभ (हे भरतश्रेष्ठ) बलवताम् (बलवानहरुको) काम राग (काम र राग) विवर्जितम् (रहित) अहम् (म) बलम् (बल हूँ) भूतेषु (प्राणीहरुमा) च (तथा) धर्म अविरुद्धः (धर्मको विपरीत नहुने) कामः (काम) अस्मि (हूँ)।
हे भरतश्रेष्ठ, बलवान्हरुको म यस्तो बल हूँ जुन काम तथा रागरहित हुन्छ । सबै प्राणीहरुमा धर्मको अविरुद्ध काम अर्थात् धर्मानुसारको काम पनि मै हूँ ।।११।।


श्लोक ७.११को माथिको पंक्तिमा कामलाई दोषको सन्दर्भमा र तलको पंक्तिमा पुरुषार्थको सन्दर्भमा प्रयोग गरिएको छ । दोषको रुपमा कामको अर्थ हो अप्राप्त विषयको तृष्णा । पुरुषार्थको रुपमा कामको अर्थ हो प्रजनन ऊर्जा । कामसूत्रमा पनि यही दोस्रो अर्थ लिइएको छ । कामको सामान्य अर्थ हो कामना, चाहना, कामवासना । यो शब्द कम् धातुबाट बनेको छ जसको अर्थ हो प्रेम । गीतामा काम शब्दलाई निम्नलिखित अर्थमा गरिएको गरिएको छ–
१.कामना र इच्छाको रुपमा– कामान् २.५५, कामः २.६२, कामात् २.७१, कामकारेण ५.१२, कामम् १६.१०, कामकारतः १६.२३, कामराग १७.५, कामात्मानः २.४३, कामरुपेण ३.३९, कामसंकल्प ४.१९ ।
२. इन्द्रियका विषय तथा दोषको रुपमा– कामान् २.५, कामः ३.३७, कामकामा ९.२१, कामोपभोग १६.११, कामभोग १६.१६, कामात्मान २.४३, कामकामी २.७०, कामेप्सुना १८.२४, कामात् – २.६२, कामरुपम् ३.४३, कामक्रोध ५.२३, कामक्रोध १६.१२, कामम् १७.२१, १८.५३ ।
३. काम सम्बन्धको रुपमा– कामम्– ७.११, कामहैतुकम् १६.८ ।
४. पुरुषार्थको रुपमा– धर्मकामार्थान् १८.३४ ।
म धर्मको अविरुद्ध काम हूँ । भगवान् श्रीकृष्णको यो वक्तव्य सामान्य छैन । ईश्वरीय वाणीमा यसरी आफूलाई काम भनेर घोषित गर्ने वक्तव्य पूर्णावतार भगवान् श्रीकृष्णले बाहेक अरुले दिन सक्दैनन् । हिन्दु धर्ममा धर्मशास्त्र र अर्थशास्त्र जस्तै कामशास्त्र पनि प्रतिष्ठित छ । आचार्य शंकरले उभयभारतीसंग शास्त्रार्थ गर्दा काम सम्बन्धी प्रश्नको उत्तर दिन अनकनाउँदा धन्नै हार्नु परेको थियो । पछि परकाया प्रवेश गरेर कामकला सम्बन्धी सबै प्रश्नको उत्तर दिए पछि उभय भारतीले आफ्ना पति मण्डन मिश्रलाई आचार्यको शिष्यत्त्व स्वीकार गर्ने अनुमति प्रदान गरेकी हुन् ।
प्राणीहरुमा बल र काम आपसमा कुन नियम अनुसार सम्बन्धित हुन्छन् भने जब बल अधिकतम हुन्छ, सोही समयमा काम ऊर्जा उत्कर्षमा हुन्छ । तर गीताको बल कामरहित हो भने काम धर्मको अविरुद्ध हो । धर्मको अविरुद्ध काम मात्र पुरुषार्थ हो । धर्मसँग वियुक्त कामको सम्बन्ध क्रोध, लोभ, मद, माह मात्सर आदि दोषसँग हुन्छ । आचार्य शंकरका अनुसार, धर्मानुकूल भन्नुको तात्पर्य हो– शास्त्रले निर्धारित गरे अनुसार, देह धारणका लागि आवश्यक । गीता ७.७ देखि नै यसको भूमिका सुरु गरिएको छ– ईश्वरीय शक्तिभन्दा पर केही पनि छैन। पुरुषको पुरुषत्व, पृथ्वीको पुण्यगन्ध, जीवको जीवन, जीवनलाई चाहिने तेज, सबै प्राणीहरुको सनातन बीज त्यसै शक्तिबाट निःसृत छ । यस पछि भनिएको छ धर्मको विरुद्ध नहुने गरी सन्तुष्ट गरिएको काम म हूँ ।
डार्विनले प्राणीको अस्तित्त्वका लागि दुई कुरा आवश्यक मान्दछन्– (क) काम छनौट (choice of sex) तथा (२) योग्यतमको जीवितता (survival of the fittest) । त्यसैले प्राणीको अस्तित्त्वका लागि काम प्रजनन अनिवार्य छ । त्यसको छन्दोमय मर्यादित रुप पवित्र हुन्छ तर काम वृत्तिको वीभत्स व्याख्या कल्याणकारी होइन । श्रद्धा, मेधा, क्षुधा, निद्रा, स्मृति आदि वृत्ति जस्तै कामवृत्तिलाई देवीको एक कलाका रुपमा हेर्नुपर्छ । यो चेतनाको एक अभिन्न अंग हो । यस वृत्तिमा नै मानव सृष्टि अडिएको छ । त्यसैले ईश्वरीय हो ।
ये चैव सात्त्विका भावा राजसास्तामसाश्च ये ।
मत्त एवेति तान्विद्धि न त्वहं तेषु ते मयि ।।१२।।

पदच्छेद र शब्दार्थ

[सम्पादन गर्नुहोस्]

च एव (तथा) ये (जति पनि) सात्त्विका (सात्त्विक) राजसाः (राजस) च (र) तामसाः (तामस) भावा (भावहरु छन्) ये (जुन) तान् (तिनीहरु) मत्त एव (मद्वारा नै) इति (यसरी, यस प्रकार) विद्धि (जान, बुझ) तु (तर) अहम् (म) तेषु (तिनीहरुमा) ते (तिनीहरु) मयि (ममा) न (छैनन्)) ।
तथा जे जति सात्त्विक, राजस र तामस भावहरु छन् तिनीहरु मबाट नै हुन्छन् तर ती ममा छन् तर म तिनीहरुमा छैनन् ।। १२ ।।

यद्यपि रजस्, तमस् र सात्त्विक भावहरु पुरुषबाट उत्पन्न हुन्छन् तर पुरुष तिनीहरुको प्रभावबाट अलग रहन्छ । त्यसैले भनिएको छ– तीन गुण मबाट नै हुन्छन् तर म तिनीहरुमा छैन । यो भनाई साङ्ख्य र योग दर्शनको व्याख्या हो । दुवै दर्शनमा पुरुषलाई प्रकृतिभन्दा अलग मानिएको छ । प्रकृति भनेको तीन गुणको समुच्चय हो– सात्त्विक, रजस् र तमस् । यी तीन गुणले परस्पर क्रिया र प्रतिक्रिया गरिरहन्छन् । सृष्टिको सुरुआत तमस् अहंकारबाट हुन्छ भन्ने मानिएको छ । मन, बुद्धि, अहंकार यी सबैमा सात्त्विक, रजस र तमस् गुणको अलग अलग प्रभाव हुन्छ र त्यो जरुरी मानिन्छ । रजस सक्रियता, तमस जडता र सत्त्व ले सन्तुलन र उज्यालोपनको प्रतिनिधित्व गर्छ । तर जहाँबाट तीन गुण उत्पन्न हुन्छन्, त्यो तटस्थ रहन्छ अर्थात् उसमा यी तीन गुणको प्रभाव पर्दैन ।
त्रिभिर्गुणमयैर्भावैरेभिः सर्वमिदं जगत् ।
मोहितं नाभिजानाति मामेभ्यः परमव्ययम् ।।१३।।

पदच्छेद र शब्दार्थ

[सम्पादन गर्नुहोस्]

एभिः (यिनी) त्रिभिः (तीन प्रकारका, सत्त्व, रज र तम) गुणमयिः (गुणहरु युक्त) भावैः (भावहरुले) इदम् (यो) सर्वं (सबै) जगत् (जगत्) मोहितम् (मोहित छ) परम् (पर रहेको) अव्ययम् (अविनाशी ईश्वर) मामेभ्यः (मलाई) न अभिजानाति (बुझ्न सक्दैनन्)।
सत्त्व, रज र तम यी तीन गुणले सारा जगत् मोहित भइरहन्छ, त्यसैले यी तीन गुणभन्दा पर रहेको म अविनाशी परमेश्वरलाई बुझ्न सकिरहेका हुँदैनन् ।।१३।।


दैवीह्येषा गुणमयी मम माया दुरत्यया ।
मामेव ये प्रपद्यन्ते मायामेतां तरन्ति ते ।।१४।।

पदच्छेद र शब्दार्थ

[सम्पादन गर्नुहोस्]

दैवी (दैवी) एषा (यो) गुणमयी (त्रिगुणमयी) मम (मेरी) माया (माया) दुरत्यया (दुस्तर, तर्न कठिन) हि (तर) ते (तिनीहरुले) एताम् (यस) मायाम् (मायालाई) तरन्ति (तर्छन्) ये (जो) माम् एव (मेरो नै) प्रपद्यन्ते (शरणमा आउँछन्) ।
यो त्रिगुणमयी मेरो दैवी माया अति दुस्तर छ अर्थात् पार हुन कठिन छ तर यस मायालाई ती मानिसहरुले पार गर्दछन् जो मेरो शरणमा आउँछन् ।। १४ ।।

त्रिगुणमयी भावले सारा जगत् मोहित भइरहन्छ, त्यसैले अविनाशी परमात्मालाई राम्ररी जान्दैन । यो दैवी त्रिगुणमयी मेरो माया अति दुस्तर छ । मेरो माया भन्नु पनि एक व्याकरणीय बाध्यता हो । ईश्वरभन्दा पर केही छैन भने पछि माया पनि त्यसैको एक भाग हो । धेरै जसो संसार यसै मायाँको विषम चक्रमा भुलिरहन्छन् किनभने यसलाई पार हुन कठिन छ तर जुन पुरुषले परमात्माको स्वरुप जानकारी लिन्छन् उनीहरुले यस मायाको स्वरुपलाई सजिलै बुझ्छन् अनि त्यसबाट मोहित हुँदैनन् र सजिलै पार हुन्छन् । यस कुराको वर्णन गर्दै अध्याय १४ मा भनिएको छ– ‘यो ज्ञान सबभन्दा उत्तम ज्ञान हो । जसले यो जान्दछ उसले मेरो स्वरुप प्राप्त गर्छ ।’ जसरी एक भन्दा ठूलो दुई छ अर्थात् एकको अंक दुईमा अटाउँछ, जसरी सानो वृत्त ठूलो वृत्त भित्र अटाउन जान्छ । त्यसै गरी प्रकृतिलाई जान्नु भनेको नै प्रकृतिभन्दा ठूलो हुनु हो । ईश्वरको शरण जना साथ प्रकृति सानो भइहाल्छ।
न मां दुष्कृतिनो मूढाः प्रपद्यन्ते नराधमाः ।
माययापहृतज्ञाना आसुरं भावमाश्रिताः ।। १५।।

पदच्छेद र शब्दार्थ

[सम्पादन गर्नुहोस्]

दुष्कृतिनः (दूषित कर्म गर्ने) मूढाः (मूढहरु, अज्ञानीहरु) नराधमाः (नीच, नराधम) मायया (मायाद्वारा) अपहृतज्ञानाः (ज्ञान अपहरण अर्थात् नाश गरिएका) आसुरम् भावम् (आसुर स्वभाव) आश्रिताः (धारण गर्ने) माम् (मेरो) न प्रपद्यन्ते (शरणमा आउँदैनन्)।
मायाद्वारा जसको ज्ञान नाश भएको छ, यस्ता मूढ र दुष्कर्मी नराधमहरु, आसुरी भावले गर्दा मेरो शरणमा आउँदैनन् ।।१५।।

सृष्टि भने पूर्णतया मायाको फैलावट वा खेल हो । मायाले आफ्नो खेलमा पारेर मानिसको ज्ञानलाई अपहरण गरीदिन्छ । मायाले गराएको दूषित कर्मले मानिसलाई असुर बनाइदिन्छ। यस आसुरी बुद्धिको अवलम्बन गर्ने मानिसहरु ईश्वरको शरणमा आउँदैनन् । चतुर्विधा भजन्ते मां जनाः सुकृतिनोऽर्जुन । आर्तो जिज्ञासुरर्थार्थी ज्ञानी च भरतर्षभ ।।१६।।

पदच्छेद र शब्दार्थ

[सम्पादन गर्नुहोस्]

भरत ऋषभ अर्जुन (भरत श्रेष्ठ, अर्जुन) चतुर्विधाः (चार प्रकारका) जनाः (मानिस)सुकृतिनः (उत्तम कर्म, पुण्य कर्म गर्ने) आर्तः (दुखी, आर्त) जिज्ञासुः (जिज्ञासु, ज्ञान प्राप्त गर्न इच्छुक) अर्थार्थी (यस लोक वा परलोकको सुखका आकांक्षी) च (तथा) ज्ञानी (ज्ञानी) भजन्ते माम् (मेरो भजन गर्छन्)।
हे भरतश्रेष्ठ, चार प्रकारका पुण्यवान्हरुले मेरो भजन गर्छन्– आर्त, जिज्ञासु, अर्थार्थी र ज्ञानी।।१६।।
व्याख्या भजनको अर्थ हो सम्मान, पूजा, मर्यादा, प्रेम सबै प्रकारका भाव । जसरी एक बालकले पुतली वा मिठाईका लागि ठूला मानिसहरुसंग मनौति गर्छ भक्तले ईश्वरको भजन त्यसै गरी गर्छ । यसरी ईश्वरको भजन गर्ने भक्त चार प्रकारका हुन्छन्–
१. आर्त–
आर्तले ईश्वरको अनन्य भावले पुकारा गर्छ । ठूलो दुख आइपर्दा जब अन्यत्र कुनै सहारा देखिन्न त्यस बेला केवल एक ईश्वर मात्र सहारा छन्– यस भावले पुकारा गर्नु आर्त भाव हो । द्रौपदीको चीर हरण हुँदा, गोहीले पानी भित्र तान्दा गजेन्द्रले आर्त भएर ईश्वरको पुकारा गरेपछि उनीहरुको उद्धार भएको हो ।
२. जिज्ञासु–
जिज्ञासुको अर्थ हो ज्ञान पिपासु । जनक, मुचुकुन्द, उद्धव जिज्ञासुका उदाहरण हुन् । उनीहरुले पनि आआफ्नो इच्छित फल प्राप्त गरे । आइन्स्टीइन, स्टीफन हकिंग्स र म्याडम क्युरीको जिज्ञासा यसै प्रकारको हो ।
३. ज्ञानी–
ज्ञानी भक्तको श्रेणीमा प्रह्लाद, नारद, र शुक पर्दछन् । ज्ञानी, जसले युक्तचित्त भई ईश्वरमा मन दिन्छ, को विवरण आउने श्लोकमा दिइएको छ ।
४. अर्थार्थी–
अर्थ शब्द ऋ र धन् शब्दले मिले बनेको छ । यस संस्कृत शब्दका विभिन्न पर्याय हुन्छन्– बहुमूल्य पदार्थ, आयको स्रोत, निजी धन, उत्तराधिकारमा पाएको धन, प्रभाव, आर्थिक वस्तु, वस्तु, सुन र सुनले बनेको, बल, सार तथा मूल्यवान् कुरा, कीर्ति (गुडविल), शब्दार्थ, शान–शौकत, सम्पत्ति ।
गीतामा विभिन्न सन्दर्भमा अर्थ शब्दको प्रयोग गरिएको छ ।
१.प्रयोजनको रुपमा– त्यसकारण यस अपरिहार्य अर्थमा (२.२७।) शोक नगर । चारैतिरबाट परिपूर्ण पानीयुक्त स्थान प्राप्त भएपछि ससाना धारा कुवाँको कुनै अर्थ (२.४६) रहंदैन । नैव तस्य कृतेनार्थो नाकृतेनेह कश्चन । जसले व्यक्तिगत अर्थका लागि (३.१८) कुनै कर्म गर्दैन त्यो मानिस अरुका क्रियाकलापबाट प्रभावित हुंदैन ।
२.इन्द्रियका विषय र भोगको रुपमा – इन्द्रियस्येन्द्रिस्यार्थे रागद्वेषो व्यवस्थितौ ।३.३४। इन्द्रियलाई चाहिने आनन्द दिने सुखमा (३.३४) रागद्वेष हुन्छन् । कछुवाले आफ्ना अङ्ग भित्र समेटे जस्तै इन्द्रियका विषयहरुबाट (२.५८) इन्द्रियहरुलाई जसले समेट्छ ।
३.भौतिक वस्तुको रुपमा– आर्त, जिज्ञासु, अर्थार्थी र ज्ञानी चार प्रकारका भक्त हुन्छन् (७.१६)
यहाँ अर्थार्थीको अर्थ राज्य, धन वा अधिकार प्राप्ति । सुग्रीव, विभीषण, र ध्रुवको आराधना अर्थार्थी हो । उनीहरुले पनि इच्छित फल पाएका छन् । धन कमाउन एकाग्रचित्त भएर लाग्ने उद्यमी यसै कोटिका हुन्छन् ।


आर्त, जिज्ञासु, ज्ञानी होस् कि अर्थार्थी सबैमा आआफ्नो उद्देश्य प्रति अत्यन्त एकाग्रता हुन्छ। जुनसुकै दृष्टिले भए पनि ईश्वरको भजन गर्नुलाई यस श्लोक उत्तम कर्म बताइएको छ ।
तेषां ज्ञानी नित्ययुक्त एक भक्तिर्विशिष्यते ।
प्रियो हि ज्ञानिनोऽत्यर्थमहं स च मम प्रियः ।। १७ ।।

पदच्छेद र शब्दार्थ

[सम्पादन गर्नुहोस्]

तेषाम् (यी चारमध्येमा) एक भक्तिः (अनन्य भक्ति राख्ने) नित्ययुक्तः (नित्य युक्त) ज्ञानी (ज्ञानी) विशिष्यते (विशिष्ट छ) हि (किनभने) ज्ञानिनः (ज्ञानीलाई) अहम् (म) अत्यर्थम् (अत्यन्त) प्रियः (प्रिय छु) च (तथा) सः त्यो) मम (मेरो) प्रियः (प्रिय छ) ।
यी चारमध्येमा अनन्य भावले भक्ति गर्ने र नित्ययुक्त ज्ञानीको योग्यता अझ विशिष्ट छ । किनभने ज्ञानीका लागि म प्यारो छु र मेरा लागि ज्ञानी प्यारो छ ।। १७ ।।
उदाराः सर्व एवैते ज्ञानी त्वात्मैव मे मतम् ।
आस्थितः स हि युक्तात्मा मामेवानुत्तमां गतिम् ।।१८।।

पदच्छेद र शब्दार्थ

[सम्पादन गर्नुहोस्]

सर्व (यी) एव एते (सबै नै) उदाराः (असल, विशाल हृदय) तु (तर) ज्ञानी (ज्ञानी) आत्मा एव (मेरो आत्मा नै हो) मे (मेरो) मतम् (मत छ) हि (किनभने) युक्तात्मा (चित्त ममा राखेको, ज्ञानी भक्त) सः (उसले) माम् एव (मलाई नै) अनुत्तमाम् (सर्वोत्तम) गतिम् (गतिस्वरुप) आस्थितः (स्थित गरेको छ) ।
यी सबै उदार अर्थात् असल छन् तर मेरो मत के हो भने ज्ञानी मेरो आत्मा हो । किनभने युक्त चित्त भएको उसले सर्वोत्तम गतिस्वरुप मलाई नै ठानेको हुन्छ ।। १८ ।।

सबै प्रकारका भक्त श्रेष्ठ छन्, यसमा सन्देह छैन तर ज्ञानी सर्वश्रेष्ठ हुन्छ किनभने ऊ ईश्वरमा नित्ययुक्त हुन्छ । उसले ईश्वरमाथि अनन्य भक्ति राख्छ तर उसको आफ्नो केही चाहना भने हुंदैन, त्यसैले त्यो विशिष्ट छ । साँच्चै भन्ने हो भने ज्ञानीलाई परमात्मा प्रिय हुन्छ र परमात्मालाई ज्ञानी ।
भगवान् श्रीकृष्णले भन्नु हुन्छ– ज्ञानी भन्नु मेरो आत्मा हो । त्यसैले ज्ञानीलाई ईश्वरकै प्रतिरुप मानिन्छ । ईश्वर सर्वत्र भए पनि ज्ञानीको मनमा उसको विशेष आसन हुने कारण यही हो ।
उसको विशेष योग्यताको कारण आउने श्लोकमा बताइएको छ ।
बहूनां जन्मनामन्ते ज्ञानवान्मां प्रपद्यते ।
वासुदेवः सर्वमिति स महात्मा सुदुर्लभः ।।१९।।

पदच्छेद र शब्दार्थ

[सम्पादन गर्नुहोस्]

बहूनाम् (अनेक) जन्मनाम् (जन्मको) अन्ते (अन्त पछि) ज्ञानवान् (ज्ञानवान्) माम् (मलाई) वासुदेवः (वासुदेव नै) सर्वम् (सबै थोक हो) इति (यसरी) प्रपद्यते (शरणमा पर्छ) सः (त्यो) महात्मा (महात्मा) सुदुर्लभः (अति नै दुर्लभ छ)।
अनेक जन्मको अनुभव पछि वासुदेव नै सबथोक हो यसरी जान्ने ज्ञानवान्ले मलाई चिन्छ। जसले मलाई यसरी चिन्छ, यस्तो महात्मा हुनु अति नै दुर्लभ छ ।। १९ ।। (सद्भावमा वृद्धिका लागि यस श्लोकलाई मन्त्रको रुपमा पाठ गर्नु लाभदायक मानिएको छ ।)

वासुदेवको एउटा अर्थ हो– वसुदेवका पुत्र । जसले यस रुपमा पूरै जान्दछन् तिनीहरु उत्कृष्ट भक्त हुन् । स्वर्गद्वारी महाप्रभु, चैतन्य महाप्रभु र मीरा यसै कोटिका भक्त हुन् । यो वासुदेवको साकार अर्थ हो । यस्ता भक्त निश्चित रुपमा अत्यन्त दुर्लभ छन् । वासुदेवको अर्को अर्थ हो– वासु ः अर्थात् सर्वत्र निवास गर्ने देव अर्थात् सर्वत्र व्यापक ईश्वर। यो वासुदेवको निराकार अर्थ हो । प्रह्लाद यसै कोटिका भक्त हुन् । वासुदेवको अर्को अर्थ हो ब्रह्मा, विष्णु, महादेव । जसले वासुदेवलाई ब्रह्मा, विष्णु, र महेश अर्थात् सृष्टि, स्थिति र प्रलय तीनै रुपमा जान्यो त्यो भक्त पनि दुर्लभ हुन्छ । आदि गुरु शंकराचार्य यसै कोटिका भक्त हुन् ।
साकार स्वरुपमा होस् वा निराकार स्वरुपमा होस् वासुदेवलाई जसले पूर्णरुपमा बुझ्यो, त्यो मानिस वास्तवमा नै दुर्लभ हो । अन्य भक्त किन दुर्लभ छैनन् ? यस कुरालाई आउने श्लोकमा बताइएको छ ।
कामैस्तैस्तैर्हृतज्ञानाः प्रपद्यन्तेऽन्यदेवताः ।
तं तं नियममास्थाय प्रकृत्या नियताः स्वया ।।२०।।

पदच्छेद र शब्दार्थ

[सम्पादन गर्नुहोस्]

स्वया (आआफ्ना) प्रकृत्या (स्वभावले) नियताः (नियत, नियमानुसार) तैः तैः (विभिन्न) कामैः (कामनाहरुले) हृतज्ञानाः (ज्ञान हरण गरिएकाले) तम् तम् (ती ती) नियमम् (नियममा, उपासनामा) आस्थाय (स्थित भएर) अन्यदेवताः (अन्य देवता) प्रपद्यन्ते (भजन गर्छन्) ।
आआफ्नो प्रकृतिको नियमानुसार विभिन्न स्वर्गादि फलको कामनाले ज्ञान अपहृत भएका उनीहरुले, ती ती नियम पालन गर्दै अरु अन्य देवताको भजन गर्छन् ।।२०।।
यो यो यां यां तनुं भक्तः श्रद्धयार्चितुमिच्छति ।
तस्य तस्याचलां श्रद्धां तामेव विदधाम्यहम् ।।२१।।

पदच्छेद र शब्दार्थ

[सम्पादन गर्नुहोस्]

यः यः (जुन जुन) भक्तः (भक्तले) याम् याम् (जुन जुन) तनुम् (देवता, देवमूर्तिको) श्रद्धया (श्रद्धापूर्वक) अर्चितुम् (अर्चन, पूजाको ) इच्छति (इच्छा गर्छ) तस्य तस्य (त्यस त्यसको) श्रद्धाम् (श्रद्धालाई) ताम् एव (त्यहीं नै) अहम् (मैले) अचलाम् (स्थिर) विदधामि (गरीदिन्छु, निर्धारण गर्छु) ।
जुन जुन भक्तले जुन जुन देवताको स्वरुपलाई श्रद्धाले उपासना गर्न चाहन्छन् त्यसको त्यही श्रद्धालाई मैले त्यहीं स्थिर गरीदिन्छु ।।२१।।
स तया श्रद्धया युक्तस्तस्याराधनमीहते ।
लभते च ततः कामान्मयैव विहितान्हि तान् ।।२२ ।।

पदच्छेद र शब्दार्थ

[सम्पादन गर्नुहोस्]

सः (त्यो) तया (त्यही) श्रद्धया (श्रद्धाले) युक्तः (युक्त भएर) तस्य (त्यसले) आराधनम् (आराधना) इहते (गर्छ ) च (तथा) ततः (त्यस पछि) मया (मद्वारा) एव (नै) विहितान् (निश्चित) हि (नै) तान् (ती भोग) कामान् (कामनाहरु) लभते (प्राप्त गर्छन्)।
अनि त्यही श्रद्धाले युक्त भएर त्यस मानिसले सोही देवताको आराधना गर्छ र त्यस मानिसलाई मद्वारा नै कामना गरेका फलहरु प्राप्त हुन्छन् ।।२२।।

विभिन्न भोगको कामना भएका मानिसलाई गीतामा ज्ञान हरण भएका मानिस भनिएको छ किनभने उनीहरुको भजनमा स्वार्थ हुन्छ । मानिसका कामना असीमित भएकोले उनीहरु सधैं विचलित र असन्तुष्ट अवस्थामा रहन्छन् । कहिले कुन र कहिले कुन कुराका लागि देवताको आराधना गर्छन् । कामना र स्वभावले डोर्याइएका ती मानिसहरु आआफ्नो स्वभाव अनुसार अनेकानेक देवताहरुको शरणमा पर्छन् । गीतामा भनिएको छ– भक्तले जुन देवतालाई अर्चन गरे पनि उसको श्रद्धाको कारणले उक्त देवता मार्फत् इच्छित फल मैले नै पूरा गर्दछु ।
यसबाट के स्पष्ट हुन्छ भने कुन देवतालाई भजन गर्ने त्यो कम महत्त्वपूर्ण छ, तर भजन गर्नु पर्छ भनी बुझ्नु महत्त्वपूर्ण छ । श्रद्धाको भावना महत्त्वपूर्ण छ । भगवान् श्रीकृष्णले अरु देवताहरुको पूजा नगर भन्नु भएको छैन । श्रद्धा अनुसारका वासना पूरा गर भन्नु भएको छ । इच्छा पूरा गर्नका लागि गरिने श्रद्धा पनि अन्ततः ईश्वरसम्म पुग्छ । तथापि यस आराधनाको फल अल्पकालिक हुन्छ भन्ने चेतावनी दिँदै अगाडि भनिएको छ ।
अन्तवत्तु फलं तेषां तद्भवत्यल्पमेधसाम् ।
देवान्देवयजो यान्ति मद्भक्ता यान्ति मामपि ।।२३ ।।

पदच्छेद र शब्दार्थ

[सम्पादन गर्नुहोस्]

तु (तर) अन्तवत् (नाशवान्) तत् (त्यो) फलम् (फल) तेषाम् (तिनीहरु) भवति (हुन्छ) अल्पमेधसाम् (अल्पबुद्धि) देवान् (देवताहरु) देवयजः (देवताहरुको यजन गर्नेले) यान्ति (प्राप्त गर्छन्) अपि (भने, तर) मद्भक्ताः (मेरा भक्तहरु) माम् (मलाई, मोक्ष) यान्ति (प्राप्त गर्छन्) ।
तर ती अल्पबुद्धिले पाउने फल नाशवान् छ । देवताहरुको यजन गर्नेले देवता प्राप्त गर्छन् भने मेरा भक्तले मलाई (मोक्ष) प्राप्त गर्छन् ।। २३ ।।

बुद्धिहीनको सोच विचारको क्षमता नै हुँदैन । उसले जे प्राप्त गर्छ त्यसको स्तर के हो भन्ने उसलाई कुनै अनुमान हुँदैन । यहाँ बुद्धिहीनको कुरा गरिएको छैन, अल्पबुद्धिको कुरा गरिएको छ । अल्पबुद्धि मानिसको अर्थ हो जो थोरैमा सन्तुष्ट हुन्छ । एलेक्जेन्डर सानो राज्यले सन्तुष्ट भएन विश्वविजयको चाहना गर्यो । पृथ्वीनारायण शाह गोरखा राज्यबाट सन्तुष्ट भएनन् विशाल नेपालको कल्पना गरे । जो मानिस बुद्धिमान हुन्छ उसले उत्कृष्टतम छनौट गर्छन्। बालक नचिकेताले राज्य र सुख दिँदा पनि सन्तुष्ट रहेनन् । उनले मागे अमरता । अल्पबुद्धिका मानिसहरुले थोरै फल चाहन्छन् । समुद्रको नजिक पुगेर उनीहरु एक लोटा पानीमा सन्तुष्ट हुन्छन् । त्यो सकिए पछि फेरि दुख भोग्छन् । फलको चाहना गर्नेले देवताहरुको यजन गर्छ किनभने देवताहरुमा विशेष इच्छा पूरा गर्ने शक्ति हुन्छ तर पनि त्यो सीमित हुन्छ ।
हामीलाई के चाहिन्छ त्यो हामीभन्दा बढी ईश्वरलाई थाहा छ तर माग गरेर हामीले आफ्नो अज्ञान प्रकट गर्छौं । त्यसैले यस्ता व्यक्तिलाई थोरै ज्ञान भएका मानिस भनेर सम्बोधित गरिएको छ । ईश्वरको चाहना गर्नु नै सर्वोत्कृष्ट चाहना हो । ईश्वरसँग धन, दौलत, पद, प्रतिष्ठाको माग गर्नु अल्पबुद्धि हो । ईश्वरसँग ईश्वरको माग गर्नु पर्छ ।
अव्यक्तं व्यक्तिमापन्नं मन्यन्ते मामबुद्धयः ।
परं भावमजानन्तो ममाव्ययमनुत्तमम् ।। २४ ।।

पदच्छेद र शब्दार्थ

[सम्पादन गर्नुहोस्]

अबुद्धयः (बुद्धिहीन मानिसहरुले) मम (मेरो) अव्यक्तम् (अव्यक्त) अनुत्तमम् (अनुत्तम) अव्ययम् (अविनाशी) परम् भावम् (परम भावलाई) अजानन्तः (नजानेर) माम् (मलाई) व्यक्तिम् (व्यक्त भाव) आपन्नम् (प्राप्त, भएको) मन्यन्ते (मान्दछन्) ।
बुद्धिहीन मानिसहरुले मेरो श्रेष्ठतम, अनिवाशी र परम् भावलाई नजान्दा म
अव्यक्तलाई व्यक्त भाव भएको ठान्दछन् ।
नाहं प्रकाशः सर्वस्य योगमायासमावृत्तः ।
मूढोऽयं नाभिजानाति लोको मामजमव्ययम् ।।२५।।

पदच्छेद र शब्दार्थ

[सम्पादन गर्नुहोस्]

अहम् (म) योगमाया (योगमायाले) समावृत्तः (ढाकिएर) सर्वस्य (सबैलाई) प्रकाशः न (देखिन्न) अयम् (यो) मूढः (अज्ञानी, मूर्ख) लोकः (लोकले, मानिसहरुले) अजम् (जन्मरहित) अव्ययम् (अविनाशी) माम् (मलाई) न अभिजानाति (राम्ररी जान्दैन) ।
म योगमायाको आवरणमा ढाकिएकोले सबैलाई देखिन्न, त्यसैले जन्मरहित अविनाशी भइकन पनि मलाई अज्ञानी मानिसहरुले जान्दैनन् ।।२५।।

बुद्धिहीनहरुले परमात्माको अनुत्तम परम भाव जान्दैनन् । अनुत्तमको अर्थ सुप्रीम, सर्वोत्तम। न उत्तमो यस्मात्– जसभन्दा उत्तम केही पनि छैन, श्रेष्ठतम् ।
योगमायाको आवरणले गर्दा ईश्वरलाई सबैले देख्न सक्दैनन् । जगतलीलाभन्दा नरलीला र नरलीलाभन्दा दैवलीला दुस्तर हुन्छ । ईश्वरलीला सबभन्दा दुस्तर हुन्छ । परमहंस रामकृष्णले ईश्वर अवतार लीलाको तुलना गर्दै भनेका छन्— हामीले छतको पानीलाई पाइपबाट तल खसालिएको पानी सँग तुलना गर्न सक्छौं । छतको पानी तल बगेको देखिन्छ । तर त्यो छतबाट आएको हुन्छ । यसलाई छतबाट तल ल्याउने पाइप योगमायाको प्रतीक हो । पाइपले ढाकेको जल मानौं ईश्वरको प्रतीक हो । यही मायाको पर्दाले गर्दा नै सामान्य मानिसले ईश्वरलाई देख्दैनन् ।
वास्तवमा ईश्वर अव्यक्त भएकोले उनको रुपलाई बुझ्न अर्को आधार चाहिन्छ । पुत्रलाई हेरेर पिताको रुप बुझे जस्तै प्रतीक हेरेर ईश्वरको रुप बुझिन्छ । मूर्तिपूजाको दर्शन यही हो ।
सूर्य अति विशाल छ । पृथ्वीभन्दा ठूलो । तर त्यसलाई बादलको सानो टुक्राले ढाक्छ किनभने सूर्य हामीबाट धेरै टाढा छ । त्यसै गरी अज्ञानले ज्ञानलाई ढाक्छ । अज्ञान ठूलो भएर होइन ज्ञान टाढा भएर हो । अज्ञानीले अवतारलाई चिन्न नसक्नुको कारण उसको ज्ञानको दूरी निकै टाढा हुनु हो ।
वेदाहं समतीतानि वर्तमानानि चार्जुन ।
भविष्याणि च भूतानि मां तु वेद न कश्चन ।।२६।।

पदच्छेद र शब्दार्थ

[सम्पादन गर्नुहोस्]

अर्जुन (हे अर्जुन) अहम् (मैले) समतीतानि (विगतका) च (तथा) वर्तमानानि (वर्तमानका) च (तथा) भविष्याणि (भविष्यमा हुने) भूतानि (प्राणीहरुलाई) वेद (जान्दछु) तु (तर) माम् (मलाई) कश्चन (कसैले) न वेद (जान्दैनन्) ।
हे अर्जुन, भूत, वर्तमान र भविष्यका सबै प्राणीलाई मैले जान्दछु तर मलाई कसैले जान्दैनन्।।२६।।
इच्छाद्वेषसमुत्थेन द्वन्द्वमोहेन भारत ।
सर्वभूतानि सम्मोहं सर्गे यान्ति परन्तप ।। २७।।

पदच्छेद र शब्दार्थ

[सम्पादन गर्नुहोस्]

भारत (हे भारत) परन्तप (हे परन्तप) सर्गे (संसारमा) इच्छाद्वेष (इच्छा र द्वेषले) समुत्थेन (उत्पन्न भएका) द्वन्द्वमोहेन (द्वन्द्व भावले मोहित) सर्वभूतानि (सबै प्राणी) सम्मोहम् (भ्रममा) यान्ति (परेका छन्) । हे भारत, परन्तप, संसारमा इच्छाद्वेषले उत्पन्न द्वन्द्वले मोहित भएका सबै प्राणी भ्रममा परेका छन् ।। २७ ।।
येषां त्वन्तगतं पापं जनानां पुण्यकर्मणाम् ।
ते द्वन्द्वमोहनिर्मुक्ता भजन्ते मां दृढव्रताः ।। २८ ।।

पदच्छेद र शब्दार्थ

[सम्पादन गर्नुहोस्]

तु (तर) येषाम् (जुन) पुण्यकर्मणाम् (पुण्यकर्म गर्ने, पुण्यात्माहरुको) पापम् (पाप) अन्तगतम् (नष्ट भएको छ) जनानाम् (मानिसहरुको) ते (तिनीहरु) द्वन्द्वमोह (द्वन्द्वले उत्पन्न मोहबाट) निर्मुक्ता (मुक्त) दृढव्रताः (दृढतापूर्वक) माम् (मेरो) भजन्ते (भजन गर्छन्) । तर जुन पुण्यात्माहरुको पाप नष्ट भएको छ तिनीहरु इच्छाद्वेष आदिको द्वन्द्वले उत्पन्न मोहबाट मुक्त भएर दृढतापूर्वक मेरो भजन गर्छन् ।। २८ ।।

यस अभि भएका, अहिले भइरहेका र भविष्यमा हुने सबै प्राणीलाई मैले जान्दछु । तर मलाई कसैलाई जान्दैन किनभने मानिसलाई इच्छाद्वेष, प्रेम र घृणा भावले भ्रममा पारेको हुन्छ । सबैलाई प्रेम गर्ने र घृणालाई सही अर्थमा विजय गर्ने मानिस संसारमा विरलै हुन्छन् । एउटा चर्चमा उपस्थित वृद्धहरुलाई पादरीले सोध्यो– तपाईंले धेरै वर्ष प्रायश्चितको अभ्यास गर्नु भयो । आफुलाई घृणा भावबाट मुक्त भएको ठान्ने यहाँ कति जना हुनुहुन्छ ?
एउटा १०५ वर्षको वृद्ध जुरुक्क उठ्यो ।
पादरी बडो प्रसन्न भयो र आफ्नो अनुभव सबैलाई बताईदिन आग्रह गर्यो ।
वृद्धले भन्यो– मेरो घृणाको भाव पूर्ण रुपमा समाप्त भयो । मैले जो जो संग घृणा गर्थें ती सबै मरे । उनीहरु जीवित छैनन् । अब घृणा गर्ने कोही बाँकी रहेन ?
सही अर्थमा घृणालाई कसैले जित्ने सक्दैन । प्रेम आउनासाथ घृणा स्वतः समाप्त हुन्छ ।
जरामरणमोक्षाय मामाश्रित्य यतन्ति ये ।
ते ब्रह्म तद्विदुः कृत्स्नमध्यात्मं कर्म चाखिलम् ।। २९।।

पदच्छेद र शब्दार्थ

[सम्पादन गर्नुहोस्]

जरामरण (पुनर्जन्मको चक्रबाट) मोक्षाय (मुक्तिका लागि) माम् (मेरो) आश्रित्य (शरण भएर) यतन्ति (प्रयास गर्छन्) ये (जसले) ते (तिनीहरु) ब्रह्म (ब्रह्मलाई) तत् (त्यसलाई) कृत्स्नम् (सम्पूर्ण) अध्यात्म (अध्यात्म) च (तथा) कर्म अखिलम् (सम्पूर्ण कर्म) विदुः (जान्दछन्)।
यसरी मेरो शरणमा आएर जसले पुनर्जन्मको चक्रबाट मुक्त हुने प्रयास गर्छन् तिनीहरुले सम्पूर्ण अध्यात्म, ब्रह्म र सम्पूर्ण कर्मलाई जान्दछन् ।।२९।।
साधिभूताधिदैवं मां साधियज्ञं च ये विदुः ।
प्रयाणकालेऽपि च मां ते विदुर्युक्त चेतसः ।।३०।।

पदच्छेद र शब्दार्थ

[सम्पादन गर्नुहोस्]

च (तथा) स–अधिभूत–अधिदैवम् (अधिभूतसहित अधिदैव) स–अधियज्ञम् (अधियज्ञसहित) माम् (मलाई) ये (जसले) विदुः (जान्दछन्) प्रयाणकाले (प्रयाणकालमा) अपि (पनि) ते (तिनीहरुले) युक्त चेतसः (युक्त चेतना भएका, समाहित चित्त योगीले) माम् (मलाई) विदुः (सम्झन्छन्, जान्दछन्) ।
तथा अधिभूत, अधिदैव तथा अधियज्ञले सहित मलाई जान्दछन्, यस्ता युक्त चित्त योगीले प्रयाणकालमा मलाई सम्झन्छन् ।। ३० ।।

पुण्य कर्म गर्ने जुन मानिसको पाप नष्ट भएको छ उनीहरु द्वन्द्वले उत्पन्न मोहबाट मुक्त दृढनिश्चयी भक्तले मलाई भजन गर्छन् । जो मेरो शरण भएर जन्म र मरणबाट मुक्त हुने कुराको प्रयत्न गर्छन् उनीहरुले कर्म, अध्यात्म र ब्रह्मलाई जान्दछन् । यति मात्र होइन उनीहरुले अधिभूत, अधि दैव र अधि यज्ञ सहित परमात्मालाई पनि जान्दछन् । जसले जरा पनि उही, मरण पनि उही, अन्धकार पनि उही र प्रकाश पनि उही भनी जान्दछ त्यसले परमात्मा जान्दछ । यस्तो परमात्माको चिन्तन गर्नेले प्रयाणकालमा परमात्मा प्राप्त गर्छ किनभने जसको चिन्ता गरिन्छ, त्यसैलाई प्राप्त गरिन्छ ।
प्रयाण कालको अर्थ हो बिदाईको समय, प्रस्थानको समय, अन्तिम समय । जसले अन्तिमसम्म मलाई अधिभूत,अधिदैव र अधियज्ञको रुपमा जान्दछ, उसले मलाई प्राप्त गर्दछन् । अधिभूतको अर्थ हो– भौतिक पदार्थसहित सम्पूर्ण जीवजन्तु र ती सबैको मूल शक्ति, जहाँबाट सबै भूत उत्पन्न हुन्छन् । अधिदैवले सबभन्दा विशिष्ट दैविक शक्तिको बारेमा सङ्केत गर्छ । यज्ञको कुरा गर्दा सामान्य यज्ञ भनिएको होइन, सृष्टिको सबभन्दा विशिष्ट यज्ञको कुरा गरिएको हो, अधि यज्ञको । जसले यसरी परमात्मालाई बुझ्यो उसले प्रयाणकालमा पनि त्यसका स्वरुपलाई सम्झना राख्छ, अनि उसैमा एकाकार हुन पुग्छ ।


ॐ तत्सदिति श्रीमद्भगवद्गीतासूपनिषत्सु ब्रह्मविद्यायां योगशास्त्रे श्रीकृष्णार्जुनसंवादे ज्ञानविज्ञानयोगो नाम सप्तमोऽध्यायः ।।


श्रीमद्भगवद्गीतारुपी उपनिषद् यस ब्रह्मविद्या र योगशास्त्रमा श्रीकृष्ण र अर्जुनका संवादको ज्ञानविज्ञानयोग नाम गरेको अध्याय सात समाप्त भयो ।।ॐ तत्सत् ।।

आचार्य, श्रीराम शर्मा, (सन् २०११), सांख्य एवं योग, मथुरा ः युग निर्माण योजना ।
आदि शंकराचार्य, (वि.सं.२०६७), श्रीमद्भगवद्गीता शांकरभाष्य, गोरखपुर ः गीताप्रेस ।
ईश्वरानन्द, (वि.सं. २०५१) गीता तात्पर्य, संस्कृत, अन्वय, अर्थ र व्याख्या, स्वयम्भू ः गीता अध्ययन मण्डल ।
ओशो, (सन् १९८०), गीता दर्शन , पूना ःरेबेल बुक्स ।
खप्तड बाबा (सच्चिदानन्द सरस्वती), (वि.सं.२०५६), आत्मबोध, काठमाडौं ः खप्तड आश्रम समिति ।
गीताप्रेस,(वि.सं.२०७१), हिन्दु संस्कृति अंक, गोरखपुर ः गीताप्रेस । गोयन्दका, जयदयाल, (वि.सं. २०७०),गीता तत्त्व विवेचनी, गोरखपुरः गीताप्रेस ।
रामसुखदास, (वि.सं.२०६७), श्रीमद्भगवद्गीता साधक संजीवनी, गोरखपुरः गीताप्रेस ।