सामग्रीमा जानुहोस्

श्रीमद्भगवद्गीता षोडश अध्याय

नेपाली विकिपुस्तकबाट, स्वतन्त्र पुस्तकालय

दैवासुर सम्पदविभाग योग

[सम्पादन गर्नुहोस्]

श्रीभगवानुवाच

[सम्पादन गर्नुहोस्]


अभयं सत्त्वसंशुद्धिर्ज्ञानयोगव्यवस्थितः ।
दानं दमश्च यज्ञश्च स्वाध्यायस्तप आर्जवम् ।।१।।
अहिंसा सत्यमक्रोधस्त्यागः शान्तिरपैशुनम् ।
दया भूतेष्वलोलुप्त्वं मार्दवं ह्रीरचापलम् ।। २।।
तेजः क्षमा धृति शौचमद्रोहो नातिमानिता ।
भवन्ति सम्पदं दैवीमभिजातस्य भारत ।।३।।

पदच्छेद र शब्दार्थ–
[सम्पादन गर्नुहोस्]

श्रीभगवानुवाच (श्रीभगवानले भन्नुभयो)
भारत (हे भरतवंशी, अर्जुन) अभयम् (भयरहित भाव) सत्त्वसंशुद्धिः (अन्तःकरणको शुद्धता, सात्त्विक वृत्ति) ज्ञानयोग व्यवस्थितिः (ज्ञानयोग र कर्मयोगमा स्थिति) दानम् (दान) दमः च (तथा इन्द्रिय निग्रह) यज्ञः च (तथा देवयज्ञ, ऋषियज्ञ, भूतयज्ञ, नृयज्ञ, पितृयज्ञ) स्वाध्यायः (स्वाध्याय) तप (तप) आर्जवम् (सरलता) अहिंसाम् (अहिंसा, परपीडा नगर्नु) सत्यम् (सत्य) अक्रोधः (क्रोधरहितता, नरिसाउनु) त्यागः (कर्मफलका आशाको त्याग) शान्तिः (शान्ति) अपैशुनम् (परनिन्दाबा टाढा, उदारभाव राख्नु) दया भूतेषु (प्राणीहरुमा दया) अलोलुप्त्वम् (लोभशून्यता, तृष्णाको अभाव) मार्दवम् (मृदुता, कोमलपन) ह्रीः (कुकर्ममा लोकलज्जा) अचापलम् (अचपलता, चञ्चलताको अभाव) तेजः (तेजस्वीपन) क्षमा (क्षमा, सहनशीलता) धृति (धैर्य) शौचम् (आन्तरिक र बाह्य शुद्धता) अद्रोह (घात नगर्नु, शत्रुभाव नराख्नु) न अतिमानिता (अतिमानको अभाव) दैवीम् सम्पदम् (दैवी सम्पदासहित) अभिजातस्य (जन्मेकाहरुमा) भवन्ति (हुन्छन्) ।
श्रीभगवानले भन्नुभयो–
हे भारत, अभय, सत्त्वसंशुद्धि, ज्ञान र योगमा स्थिति, दान, इन्द्रियदमन, यज्ञ, स्वाध्याय, तप, र आर्जवता, अहिंसा, सत्य, अक्रोध, त्याग, शान्ति, कसैको निन्दा नगर्नु, सबै प्राणीमा दया राख्नु, अलोलुपता, कोमलता, ह्री (विनम्रता), अचपलता, तेज, क्षमा, धृति, शुद्धता, अद्रोह, अतिमानिता (आफूमा पूज्यता भाव) को अभाव, यी दैवी सम्पपत्तिमा जन्मेको मानिसहरुका लक्षण हुन् ।

अध्यायको सुरुमा दैवी सम्पदाका लक्षण बताइएका छन् । सम्पदाको अर्थ हो धन, दौलत, समृद्धि, विकास, पूर्णता, श्रेष्ठता, प्राचुर्य, लक्षण, वा गुण । यहाँ भनिएको प्रत्येक गुण विशिष्ट छ । कुनै एक मात्र गुणलाई अपनाउनाले जीवनमा सुख र सन्तोष प्राप्त हुन्छ । सबै गुणयुक्त हुनु भनेको जीवनमा ठूलो उपलब्धि प्राप्त गर्नु हो । पहिलो श्लोकमा भएका नौवटा गुण मात्र छन् भने पनि त्यो व्यक्ति परमहंस कहलाउँछ । दैवीसम्पदाको संक्षिप्त अर्थ हो उच्चतातर्फ लैजाने लक्षण । यी धर्म मार्गका कोसे ढुङ्गा हुन्। दैवी लक्षण भनेको धर्म मार्ग हो भने आसुरी लक्षण भनेको अधर्म मार्ग हो । धर्म मार्गले जीवनको उच्चता प्राप्त हुन्छ । यहाँ भनिएका २६ गुणमध्ये २० वटा गुण अध्याय १३.७–११ मा पनि बताइएका छन् । दैवी सम्पदा अन्तर्गत बताइएका २६ गुण यस प्रकार छन्–

आफूलाई राम्रो लाग्ने कुरासंग बिछोड वा राम्रो नलाग्ने कुरा बेहोर्नु पर्ने परिस्थितिको मनोवैज्ञानिक नाम भय हो । दुवै अवस्थालाई अनिष्ट भन्ने गरिन्छ । त्यसैले कुनै अनिष्टको सम्भावनाले मनमा उत्पन्न हुने चञ्चल भावलाई भय भनिन्छ । त्यसैले अभयको अर्थ हो भयको सर्वथा अभाव । अभय र निर्भय एउटै कुरा होइन । दुवैमा फरक छ । भय नहुनु भनेको अभय हो तर भयको निषेध गरिएको कुरा भने निर्भय हो । भय लाग्दा पनि त्यसलाई दबाएर आफूलाई ढुक्क देखाउनुलाई निर्भयता भनिन्छ ।

२. सत्त्वसंशुद्धि
[सम्पादन गर्नुहोस्]

सत्त्वसंशुद्धिको सरल अर्थ हो अन्तःकरणको शुद्धता । अर्थात् चेतना, मन, र विचारको शुद्धता त्यसैले सत्त्वसंशुद्धिको अर्थ हुन्छ सद्गुण । अर्को शब्दमा सद्गुणले सम्पन्न मानिसलाई संत्त्वसंशुद्ध भनिन्छ । सात्त्विक वृत्ति लिनेमा आन्तरिक शुद्धताको यो गुण उपलब्ध हुन्छ ।

३. ज्ञानयोगव्यवस्थिति
[सम्पादन गर्नुहोस्]

ज्ञानयोग र कर्मयोगमा उचित तरिकाले अवस्थित हुनु । मानवीय ज्ञानको उच्चतम स्थिति भनेको धर्म र दर्शन मार्फत् आफ्नो वास्तविक स्वरुपको ज्ञान प्राप्त गर्नु हो । कर्मयोग भनेको अर्थ हो मनको नियन्त्रणका समुचित अभ्यास गरेर मानव आत्मालाई परमात्मा संग एकाकार गराउनु । निष्काम कर्म गर्नु पनि कर्मयोग हो । यी दुवै अवस्थाको तारतम्य मिलाउनु ज्ञानयोगव्यवस्थिति हो । धर्मशास्त्रहरुमा अभय, सत्त्वसंशुद्धि, ज्ञान र योगमा अवस्थितिको गुणलाई वानप्रस्थी र सन्न्यासीका कर्तव्य मानिन्छ । विशेषगरी परमहंसहरुमा यी तीनवटा गुण हुन्छन् भन्ने मानिन्छ । खप्तडबाबा, योगी नरहरिनाथ, रामकृष्ण परमहंस, रमण महर्षिलाई यी गुण उपलब्ध भएका थिए ।

दानको अर्थ हो दिनु । दानका पछाडिको मुख्य भाव के हो भने जुन कुरा जसको थियो त्यो त्यसैलाई दिइएको छ भन्ने कृतज्ञता । समानताको भावले दिनु । त्यसैले दानमा दिने र लिने भन्ने भाव हुँदैन । गीता (१७.२०) मा दानलाई त्यसै गरी परिभाषित गर्दै भनिएको छ– ‘खाँचो परेकोलाई दिनु पर्छ भन्ने भावले उचित समय, स्थान र पात्र (व्यक्ति वा संस्था) लाई दिनु दान हो तर त्यसबाट कुनै पनि प्रकारको अपेक्षा गरिनु हुँदैन ।’

दमको अर्थ हो दमन, वशमा गर्नु । यहाँ इन्द्रियको दमनका लागि यो शब्द आएको छ । आत्माको दमनका लागि होइन । विषय चिन्तनबाट इन्द्रियलाई आफ्नो वशमा राख्नु नै इन्द्रिय दमन हो ।

देव र गुरुको पूजन, अग्निहोत्रादि कार्य र सात्त्विक मानिसहरुको संगठन जस्ता सामूहिक कृत्यलाई यज्ञ भनिन्छ । शास्त्रहरुमा दान, दम र यज्ञलाई गृहस्थहरुको कर्तव्य बताइएको छ । गीता (४.२४–३०)मा यज्ञको अर्थ हो संयमाग्निमा हवन, इन्द्रियाग्निमा हवन, प्राण–अपानमा हवन, अन्तिममा ज्ञानाग्निमा हवन ।

७. स्वाध्याय
[सम्पादन गर्नुहोस्]

स्वाध्यायको एउटा अर्थ हो वेद, पुराण, शास्त्रको निरन्तन अध्ययन । यस अन्तर्गत भगवान्का नाम र गुणको चिन्तन पनि पर्दछ । अर्को अर्थ हो आफ्नो स्वरुपबारे मनन गर्नु । यी दुवै साधनाको उद्देश्य भने एउटै हो आत्म कल्याण ।

तपको अर्थ हो तताउनु । जसरी सुनलाई तताउँदा त्यो शुद्ध, सुन्दर र चम्किलो हुनजान्छ त्यसै गरी श्रम, साधना, स्वाध्याय, सत्संग, ईशचिन्तन जस्ता कृत्यले मानवजीवन शुद्ध, सुन्दर र प्रकाशित हुनजान्छ । स्वधर्म पालनका लागि कष्ट सहन गर्ने सामथ्र्यलाई पनि तप भनिन्छ । गीता (१७.११–१६) मा श्रद्धापूर्वक शरीर, वाणी र मनको तपस्या गर्नुलाई तप मानिएको छ ।

आर्जवको अर्थ हुन्छ बोली, चिन्तन, र व्यवहारमा सादगी । सादगीपूर्ण जीवन कर्तव्यपरायणता र सिद्धिको आधार हो । महात्मा गान्धीले स्वरज्यको आन्दोलन गर्नु अघि आफ्नो जीवनमा पूर्ण सादगी लागू गरेका थिए । शास्त्र अध्ययन विशेषतः ब्रह्मचर्य आश्रमको कर्तव्य भनिएको छ, तप वानप्रस्थीको लागि अनिवार्य भनिएको छ । तर आर्जवता सबै आश्रमको कर्तव्य भनिएको छ । सरल जीवनयापनका लागि योगवाणीले भन्छ–
कर्कलो र निगुरो सिस्नोका मुन्टा
दुखीले खानु सुत्नु आनन्दीका गुन्टा
महाजनका सम्पत्तिले चित्त पोल्दै ल्याउँछ
मनमा सन्तोष नहुनाले गुन्टा बिझाउँछ ।

हिंसाको अर्थ हो कायिक, वाचिक र मानसिक कुनै पनि प्रकारले अरुलाई पीडा पुर्याउनु । त्यसैले कसैलाई परपीडा नगर्नु अहिंसा हो । तर यतिले मात्र अहिंसा व्रत पूरा हुंदैन । अरुको सुखमा अन्तरात्मादेखि खुशी हुने भाव पनि विकास गर्नु पर्छ । आफ्नो उद्धार गर्नु अहिंसा हो भने आफूलाई पतनमा लैजानु आफ्नो हिंसा हो । ठीक आत्महत्या जस्तै । त्यसैले आफ्नो उद्धारको निरन्तर प्रयास गर्नु पनि अहिंसा हो ।

आफ्नो मनभित्र जे भाव छ त्यो बोल्नु सत्य भाषण हो । सत्यं ब्रुयात्, सत्य बोल्नु पर्छ, यो केवल प्रथम क्रमको शर्त हो । यसको द्वितीय क्रमको शर्त हो प्रियं ब्रुयात् । सत्य बोल्दा अप्रिय लाग्ने गरी बोल्नु हुँदैन । यथासम्भव प्रिय लाग्ने गरी बोल्नु पर्छ । श्रोतालाई उद्वेग नहुने वाणी बोल्नु पर्छ । कसरी बोल्नु पर्छ भन्ने कुराको व्याख्या १७.१५ मा गरिएको छ ।

क्रोध एक मनोविकार हो । यसले बुद्धिले गर्ने निर्णयहरुमा अवरोधकको काम गर्छ । प्रसन्नताको विपरीत मनोविज्ञान नै क्रोध हो । क्रोध त्यो अप्रिय भावना हो जसबाट शरीरमा उत्तेजना, रक्तसञ्चारमा तीव्रता र आँखामा रातोपन उत्पन्न हुन्छ तथा यसले मानिसलाई मूढ बनाउँछ । यहाँ अक्रोधको अर्थ केवल नरिसाउनु वा रीसको दमन गर्नु होइन । कसैले गल्ती गरेमा क्रोधको अभाव मात्र अक्रोध होइन, आफूमाथि अपकार गर्नेमाथि अक्रोध हुनुपर्छ । गीतामा भनेको अक्रोध सबैमाथि बराबर स्नेहको भावना हो ।

त्यागको निकै विस्तृत अर्थ छ यसमा असञ्चय एक प्रमुख तत्त्व हो । यहाँ प्रयुक्त त्यागको अर्थ हो कर्महरुमा कर्तापन अभिमानको त्याग । गीता (१८.९) मा अनासक्त भावले स्वकर्तव्यपालनलाई त्याग बताइएको छ । यस दृष्टिले त्याग र सन्न्यास दुवैलाई समान मानिएको छ ।

शान्ति भन्ने शब्द शम् धातुले बनेको छ । जसको अर्थ हुन्छ, मौन, निःशब्द, कल्याणकारी । जसको मनमा कुनै चञ्चलता छैन भने उसले जुन अवस्था प्राप्त गर्छ, त्यसलाई यहाँ शान्ति भनिएको हो । यस्तो विक्षेपरहित मनमा सात्त्विक प्रसन्नता हुन जान्छ ।

१५. अपैशुनम्
[सम्पादन गर्नुहोस्]

अपैशुनम्को अर्थ हो पिशुनताको अभाव । भए नभएको कुरा लगाई अरुलाई दुख दिनमा रमाउने बानी भएकालाई पिशुन, छुल्याहा वा छुस्कर भनिन्छ । यस्तो बानीको सर्वथा अभाव हुने गुणलाई अपैशुनम् भनिएको हो ।

दयाको अर्थ हो हेतुरहित दया । माग्नेहरुलाई बिचरा भन्दै केही धन वा वस्तु दिनुलाई दया भनिंदैन । यस्तो दयामा स्वामी भाव हुन्छ । त्यसैले बुद्धले करुणा शब्दको प्रयोग गरेका छन्। जीससले यसैलाई प्रेम भनेका छन् । त्यसैले यहाँ भनिएको दया करुणा र प्रेमको समानार्थी हो । शिवजीलाई जल चढाउन हिंडेका नरसी मेहताले जब बाटोमा एउटा घाइते गधा पानीका लागि तडपेको देखे उनले त्यो पानी त्यसैलाई खुवाइदिए । यस स्तरको प्रेम नै दया हो । जब अन्य भक्तहरुले उनको यस कृत्य प्रति खेद प्रकट गरे उनले प्रेमपूर्वक भने– शिवजी यही हो मेरा लागि ।

१७. अलोलुपता
[सम्पादन गर्नुहोस्]

लोलुपको अर्थ हो लोभी वा आसक्त । कुनै कुरामा अत्यन्त उत्सुकलाई लोलुप भनिन्छ । त्यसैले अलोलुपताको अर्थ हो अलोभ, अनासक्ति भाव वा साक्षी भाव । जुन मानिस शरीरभन्दा पर रहेको सूक्ष्म चेतनाको अनुभव गर्न सक्दैन ऊ इन्द्रिय संयोगले दिग्भ्रमित रहन्छ । त्यसैले इन्द्रिय र विषयसंग संयोग हुँदा पनि त्यसबाट प्रभावित नभइ अनासक्ति भाव राख्नु अलोलुपता हो ।

मार्दवम् भन्ने शब्द मृदुबाट बनेको छ । जसको अर्थ हुन्छ नरम, कोमल वा सौम्य । उदाहरणका लागि बालकहरुको व्यवहार मृदु हुने गर्छ । उनीहरुलाई जे भनिन्छ, त्यो उनीहरुले पत्याउँछन् र मान्छन् किनभने उनीहरुमा कठोरताको भाव हुँदैन । त्यसैले मार्दवको अर्थ हो कुनै प्रकारको अटेरीपनको अभाव र बाल सुलभता अर्थात् मृदुता, लचकता र कोमलता ।

ह्रीको अर्थ हो लाज मान्नु । लोक विरुद्ध र शास्त्र विरुद्ध आचरणमा लाज मान्ने गुणलाई ह्री भनिन्छ । लज्जा एक संकोच गुण हो । मानिसको त्यस मनोवैज्ञानिक व्यवहारलाई लज्जा भनिन्छ जब उसले कुनै कारणले सार्वजनिक व्यवहार गर्न असजिलो मान्छ । तर शङ्कराचार्यका अनुसार यस स्थानमा ह्रीको अर्थ हो लज्जा र अचपलता । बिना प्रयोजन वाणी, हात, गोडा आदि व्यर्थ क्रिया नगर्नु ह्री हो । चण्डीमा ह्री शब्द श्रीको स्थानमा प्रयोग भएको छ ।

चपलताको अर्थ हो चञ्चलता वा अस्थिरता । बिना कारण हात गोडा हल्लाउने, नाक, कान कोट्ट्याउने जस्ता कामलाई पनि चपलता गुण भनिन्छ । यसको विपरीत अचपलता हो । बढी चपलता अपरिपक्वताको द्योतक हुन्छ । यस्ता मानिस आफ्नो लक्ष्यमा स्थिर भएर लाग्न सक्दैनन् । आफ्नो लक्ष्यमा निरन्तर लगनशील भएर लाग्ने गुणलाई अचपलताको गुण भनिन्छ।

तेजको अर्थ आन्तरिक शक्ति हो, छालाको उज्यालोपन होइन । चरित्रवान्, इमानदार, तपस्वी र परहित चाहने व्यक्तित्वमा यो आफैं उत्पन्न हुन्छ । यस आन्तरिक गुणको ठूलो प्रभाव हुन्छ । भगवान् बुद्धमा रहेको तेजको प्रभावले डाकू अंगुलिमालको भावमा परिवर्तन भइ त्यो साधु बनेको भनिएको छ ।

कसैले कुनै काम बिगारे पछि उसलाई हप्काउँदा वा कराउँदा पनि मनमा कुनै विकार उत्पन्न नहुने भाव क्षमा हो । अक्रोधभन्दा अलि गहन भाव क्षमा हो । क्रोधले उत्पन्न भएको विकार भावलाई बिर्सिदिनु अक्रोध हो भने क्रोधको भाव नै उत्पन्न नहुनु क्षमा हो ।

शङ्कराचार्यका अनुसार शरीर र इन्द्रिय आदिमा थकावट उत्पन्न हुँदा त्यसलाई हाटउने जुन शक्ति हुन्छ, त्यो धृति हो । यसको फलस्वरुप इन्द्रिय र शरीरले नथाकीकन उत्साहपूर्वक कार्य गरिरहन्छन् । गीता १८.३३ मा एकाग्रचित्त तथा इन्द्रियका वृत्तिहरुले चञ्चल नगराउने मानसिक क्षमताको नाम धृति बताइएको छ ।

शौचको अर्थ हो पवित्रता, शुद्धता । शरीर र वस्त्र आदिको शुद्धिलाई बाह्य शुद्धि भनिन्छ । राग, कपट, कल्मष आदिलाई हटाएर मन र बुद्धिलाई निर्मल बनाउनुलाई आन्तरिक शुद्धि भनिन्छ । तर आन्तरिक शुद्धताका लागि सत्त्वसंशुद्धि यस अघि भनिएकोले यहाँ शौचको अर्थ बाह्य शुद्धि र इन्द्रिय शुद्धि हो । उदाहरणका लागि उचित श्रम र ईमानदारीले धनार्जन गरेको व्यवहारबाट धनको शुद्धता हुन्छ । शुद्ध धन वा परिश्रमबाट प्राप्त अन्नले आहार शुद्ध गराउँछ । उचित व्यवहारबाट आचरण शुद्धि हुन्छ । स्नानबाट शरीर स्वच्छ हुन्छ । शरीरको स्वच्छताले आरोग्य प्राप्त हुन्छ ।

द्रोहको अर्थ हुन्छ कुभलो चिताउनु, धोखा दिनु, घात गर्नु वा द्वेष गर्नु । यसको विपरीत अवस्था अद्रोह हो । अद्रोहको अर्थ हो कसै प्रति द्वेष नराख्नु, कसैलाई धोखा नदिनु र कसैको (आफ्नो शत्रुको पनि) कुभलो नचिताउनु । अर्को शब्दमा मानसिक अहिंसा नै अद्रोह गुण हो।

२६. अतिमानिताको अभाव
[सम्पादन गर्नुहोस्]

गीतामा प्रत्येक शब्द कति तौलेर प्रयोग गरिएको छ भन्ने कुरा यस शब्दले स्पष्ट गर्छ । जो जसका लागि योग्य छ सो अनुसारको स्थान प्रदान गर्नु मान हो तर कसैले त्योभन्दा उच्च स्थान, यश, धनको चाहना गर्छ भने त्यो अतिमानिता हो । आफूलाई अतिशय पूज्य भाव नहुनुलाई यहाँ अतिमानिताको अभाव भनिएको छ । त्यसैले अतिमानिताको अभावको सरल अर्थ हो विनम्रता ।
धर्मशास्त्रमा अहिंसा, सत्य, अक्रोध, त्याग, शान्ति, अपैशुनता, प्राणीमात्रमा दया, अलोलुपता, मृदुता, शालीनता, र अचपलतालाई ब्राह्मणोचित गुण भनिएको छ । तेज, क्षमा, र धृतिलाई क्षत्रियोचित गुण भनिएको छ । शुद्धता र घात नगर्नुलाई वैश्योचित गुण र अतिमानिताको अभावलाई शूद्रोचित गुण भनिएको छ ।
शिवपुरी बाबा गोविन्दानन्द भारतीले आफ्ना शिष्यहरुलाई सुखी जीवन बिताउन यी तीन श्लोकमा भनिएका गुणहरुलाई आफ्नो जीवनमा लागु गर्न सुझाव दिने गर्थे । कुनै एक दैवी गुणले नै संसारमा सुख पाइन्छ ।
चाणक्य नीतिमा के भनिएको छ भने केवल शीलवान् हुनाले मात्र सबै कुरा प्राप्त हुन्छ भनेका छन्–
विदेशेषु धनं विद्या व्यसनेषु धनं मतिः ।
परलोके धनं धर्मः शीलं सर्वत्र वै धनम् ।।
परदेशको धन विद्या हो, असजिलो समयको धन बुद्धि हो । परलोकमा धर्म नै धन हो भने शीलवान् हुनु जहाँतहीं धन हो । यहाँ भनिएका सम्पूर्ण दैवी गुणले मानवलाई माधव बनाइदिन्छ ।
दैवी सम्पत्ति लिएर जन्मिएका हुन्छन् उनीहरुमा यी गुण हुन्छन् । अर्जुनले पनि दैवी गुण लिएर जन्मेकोले उसको कल्याण निश्चित छ भन्ने कुरा आसुरी गुणको व्याख्या पछि आउने श्लोकमा भनिएको छ ।

चित्र १६.१ बन्धनकारक आसुरी सम्पदा

स्रोत सामाजिक संजाल


दम्भो दर्पोऽभिमानश्च क्रोधः पारुष्यमेव च ।
अज्ञानं चाभिजातस्य पार्थ सम्पदमासुरिम् ।।४।।

पदच्छेद र शब्दार्थ–
[सम्पादन गर्नुहोस्]

दम्भः (दम्भ, पाखण्ड) दर्पः (घमण्ड) अभिमानः (अहंकार) च क्रोधः (तथा क्रोध) पारुष्यम् (निष्ठुरता) एव च अज्ञानम् (तथा अत्रान पनिं) च (तथा) अभिजातस्य (जन्मेकाहरुको) पार्थ (हे पार्थ) सम्पदम् आसुरिम् (आसुरी सम्पदा, गुण हो) ।
दम्भ, दर्प, अभिमान, क्रोध, रुखोपन, अज्ञान यी यस्ता गुण हुन जुन आसुरी सम्पदा लिएर जन्मिएका मानिसका लक्षण हुन् ।।४।।
दैवी सम्पद्विमोक्षाय निबन्धायासुरी मता ।
मा शुचः सम्पदं दैवीमभिजातोऽसि पाण्डव ।।५।।

पदच्छेद र शब्दार्थ–
[सम्पादन गर्नुहोस्]

पाण्डव (हे पाण्डव, अर्जुन) दैवी सम्पद् (दैवी सम्पदा) विमोक्षाय (मुक्तिका लागि, मोक्षका लागि) आसुरी (आसुरी) निबन्धाय (बाँध्नका लागि) मता (मानिएको छ) सम्पदम् दैवीम् (दैवी सम्पदामा) अभिजातः असि (जन्मिएका छौ) मा शुचः (शोक नगर)।
हे पाण्डव, दैवी सम्पदा परिणाममा मक्तिादायक छ र आसुरी सम्पदा बन्धनकारी मानिएको छ । तिमी दैवी सम्पदा लिएर जन्मिएका छौ, त्यसैले शोक नगर ।। ५ ।।
द्वौ भूतसर्गौ लोकेऽस्मिन्दैव आसुर एव च ।
दैवो विस्तरशः प्रोक्त आसुरं पार्थ मे शृणु ।।६।।

पदच्छेद र शब्दार्थ–
[सम्पादन गर्नुहोस्]

पार्थ (हे पार्थ) द्वौ (दुई) भूतसर्गौ (प्राणीहरुको सृष्टि भएको छ) लोके (संसारमा) अस्मिन् (यस) दैव आसुर (दैव र आसुर) एव च (तथा) दैवः (दैव श्रेणीको) विस्तरशः (विस्तारले) मे (मैले) प्रोक्त (अघि भनेें) आसुरम् (आसुर श्रेणी) शृणु (सुन) ।
हे पार्थ, यस लोकमा दुई प्रकारका प्राणी उत्पन्न हुन्छन् । दैवी प्रकृति र आसुरी प्रकृतिको । त्यसमा दैवी प्रकृतिको वर्णन विस्तारपूर्वक गरिसकें, अब आसुरी पनि भन्छु सुन ।। ६ ।।
प्रवृत्तिं च निवृत्तिं च जना न विदुरासुराः ।
न शौचं नापि चाचारो न सत्यं तेषु विद्यते ।। ७ ।।

पदच्छेद र शब्दार्थ–
[सम्पादन गर्नुहोस्]

प्रवृत्तिम् (प्रवृत्ति, कर्तव्य) च निवृत्तिम् (निवृत्ति, कर्तव्य) च (तथा) जना (मानिस) न विदुः (जान्दैनन्) आसुराः (असुरहरु) न शौचम् (शुद्धता हुँदैन) च (तथा) न आचारः (उचित आचरण हुँदैन) अपि (तथा) तेषु (तिनीहरुमा) सत्यम् (सत्य हुँदैन) न विद्यते (विद्यमान हुँदैन) ।
ती असुरहरुले प्रवृत्ति के हो ? निवृत्ति के हो ? अर्थात् के गर्नु पर्छ र के गर्नु हुँदैन ? त्यो थाहा पाउँदैनन् । अनि तिनीहरुमा शुद्धता पनि हुँदैन र आचरण पनि हुँदैन । उनीहरुमा सत्यता पनि हुँदैन ।। ७ ।।

आसुरी सम्पदामा बताइएका लक्षण यस प्रकार छन्–

सत्य–असत्य, धर्म–अधर्म, कर्तव्य–अकर्तव्य छुट्ट्याउन नसक्नु नै अज्ञान हो । अर्जुनका विषादको कारण उचित कर्तव्य पहिल्याउन नसक्नु नै हो । संक्षेपमा अज्ञानको अर्थ हो ज्ञानको अभाव । तर यसको अर्थ औपचारिक अध्ययन वा प्रमाणपत्रसंग छैन । उपनिषद्मा एउटा कथा छ श्वेतकेतुको । जब उसले गुरुकहाँ लामो अध्ययन गरेर घर फक्र्यो उसमा ज्ञानीमा हुनुपर्ने विनम्रताको अभाव देखेपछि उसको पिताले फेरि अध्ययन गर्न फिर्ता गरेका थिए । अर्को चोटि पिताले उसंग प्रश्न गर्छन् । उसको उत्तरमा विनम्रता प्रकट भउ पछि बल्ल छोरो शिक्षित भयो भनेर प्रसन्न हुन्छन् । आसुरी सम्पदाको प्रमुख कारण अज्ञान हो । अन्य सबै कुरा यसका शाखाहरु हुन् भन्न सकिन्छ ।

क्रोधको अर्थ हो रीस– कसैको अनिष्ट गर्नका लागि मनमा जुन डाहा उत्पन्न हुन्छ, त्यो क्रोध हो । क्रोध एक विपरीत मनोवैज्ञानिक व्यवहार र विकार हो । गीता २.६५ मा क्रोध उत्पन्न हुने कारण बताउँदै भनिएको छ, कामना पूर्तिको मार्गमा बाधा उत्पन्न हुनु क्रोधको कारण हो । कुकुरलाई खान दिएर उसलाई खाने बेलामा बाधा दियो भने आफ्नै मालिकलाई पनि भुक्छ । टोक्न पनि सक्छ । त्यसैले क्रोधको सम्बन्ध कामनासंग छ । जो जति असंयमी हुन्छ उसलाई उति बढी रीस उठ्छ । क्रोधले मानिसको सोच्ने क्षमता नष्ट गरेर उसलाई नष्ट गराइदिन सक्छ ।

आडम्बर, स्वाङ् । अंग्रेजीमा यसको समानान्तर शब्द छ – हिप्पोक्रेसी । अत्यन्त सानो काम गरेर ठूलो काम गरेको हल्ला फिँजाउनु दम्भ हो । खडानन्द, एक कञ्जुस, दानवीरहरुको कार्यक्रममा पुगेछ । सबैले गच्छे अनुसारको दान दिए । खडानन्दले बडो मुश्किलले १०० रुपैयाँ दान गर्यो र सबभन्दा माथि अरुले लेखेकोभन्दा ठूला अक्षरमा आफ्नो नाम लेख्यो दानवीर खडानन्द । ठूलो अक्षरमा लेख्यो भने सबैले देख्छन् । खडानन्दले दान गरेको सबले थाहा पाउँछन् ।

जाति, धन, बल, उमेर, सुन्दरता इत्यादिको घमण्डलाई दर्प भनिन्छ । जुन ठुल्याईंमा घमण्ड गर्नेको आफ्नो केही योगदान हुंदैन । जुन घमण्ड अरुको योग्यतामा आधारित हुन्छन् तर उसको आफ्नो योग्यताको केही योगदान हुँदैन, त्यसलाई दर्प भनिन्छ । मेरो जातिमा यति जना उच्च मानिस छन्, मेरो कुलका मानिसले यति ठूलो काम गरेका छन् वा मेरो कुटुम्बीमा यति धनीहरु छन् इत्यादि निरर्थक मान नै दर्प हो । यस निरर्थक मानका आधारमा उसले अरुलाई तुच्छ ठानिरहेको हुन्छ । एउटा लोककथा छ । एउटा स्यालले जंगलको राजा हूँ भनेर बघिनीलाई श्रीमती बनायो । बघिनी भर्खर सुत्केरी भएकी थिई । बघिनीले स्याललाई मासु ल्याइदिन भनी । स्यालले दिनभरि डुलेर बडो मुश्किलले अलिकति जुठो मासु लिएर पुगेछ ।
त्यति थोरै मासु देखेर बघिनीले रिसाएर भनी– दिनभरि डुलेर यति थोरै मासु ?
स्याल एक छिन अकमकायो । अनि भन्यो– मेरो कुटुम्ब धेरै ठूलो छ । सबैलाई दिन पर्यो । तिमीलाई मात्र खान दिएर कहाँ हुन्छ ? प्रमाण दिनका लागि स्यालले मुख आकाशतिर गरेर कराउन थाल्यो । एउटा स्याल कराए पछि जंगलका सारा स्याल कराउन थाले । यस्तै भ्रम उत्पन्न गरेर आसुरी सम्पदाका मानिसले अरुलाई प्रभावित गर्ने प्रयास गरेको हुन्छ ।

यस श्लोकमा भनेको अभिमान अतिमानलाई भनिएको हो । अतिमान अर्थात् बढी मान खोज्ने व्यक्ति । दर्पको भाव नै अतिमानको जन्मदाता हो । यस अभिमानका आधारमा पद, प्रशंसा, प्रतिष्ठा आदिको आकांक्षा गर्ने, प्राप्त नभएमा असन्तुष्ट रहने व्यक्तिहरु अभिमानी हुन जान्छन् । यो एक प्रकारको मनोविकार हो । यस्ता व्यक्ति आइपरेको परिस्थितिसंग समन्वय गर्न सक्ने हँुदैनन् ।

पारुष्यको अर्थ हो रुखोपन, विनम्रताको अभाव । बोलीमा नरमपन, आशयमा नम्र भाव र वाणीमा असल नीयत छैन भने त्यो पारुष्य हो । कोमलपनको सर्वथा अभाव नै पारुष्य हो। हृदयमा प्रेम, भावमा विनम्रता, मनमा त्यागको भावना नभएमा पारुष्य पलाउँछ । दम्भ, दर्प, अभिमान, क्रोध, रुखोपन, अज्ञान जस्ता लक्षणहरु आसुरी सम्पदा लिएर जन्मेको मानिसमा पाइन्छन् । यो सम्पदा बन्धनकारक हुन्छन् । दैवी सम्पदाका लक्षणहरुले मानिसलाई बन्धनबाट क्रमशः मुक्त गर्दै जान्छन् तर आसुरी सम्पदाका लक्षणहरुले मानिसलाई जीवनको विषम चक्रमा निरन्तर जेल्दै जान्छन् ।

७.प्रवृत्ति र निवृत्तिको ज्ञान नहुनु
[सम्पादन गर्नुहोस्]

आसुरी स्वभावको अर्थ हो– केवल आहार, निद्रा, भय र मैथुन क्रियामा मात्र अलमलिएको । ज्ञान नभए पछि पशुवत् जीवन बिताउने स्वभावका मानिसहरुले प्रवृत्ति र निवृत्ति अर्थात् कर्तव्य र अकर्तव्य दुवै जान्दैनन् । प्रवृत्तिको अर्थ हो आफ्नो हित हुने काममा संलग्न हुने र निवृत्तिको अर्थ हो अहितको कामबाट अलग्गिने । आसुरी प्रवृत्तिका मूर्ख मानिसलाई कुने काम गर्ने र कुन काम नगर्ने। यी दुवै कुरा थाहा हुंदैन ।
अकबरले बीरबललसंग प्रश्न गरे– बीरबल, यस संसारमा मूर्ख को हो र बुद्धिमान को हो ?
बीरबल– सरकार, जो फँस्यो ऊ मूर्ख र जो मुक्त भयो त्यो बुद्धिमान । दैवी सम्पदाको व्यक्ति जोगिन जानेको हुन्छ किनभने उसले प्रवृत्ति र निवृत्ति जान्दछ ।

८. शुद्धताको अभाव
[सम्पादन गर्नुहोस्]

बाहिरी भित्री शुद्धताको अभाव नै अशुद्ध हुनु हो । अशुद्धताले मानिसलाई अधर्मको बाटो डोर्याउँछ । जर्मनीमा धेरै अघि एक जना मानिसलाई पुलिसले समाते । उसमाथि के आरोप थियो भने उसले मानिसको मासु खान्छ । त्यो मानिस चिहानमा लास गाड्ने काम गथ्र्यो । उसले तिनै मृत मानिसको मासु खाँदो रहेछ । मनोवैज्ञानिकहरुले त्यसको मानसिक परीक्षण गर्दा आश्चर्यजनक तथ्य फेला पर्यो । उसको मस्तिष्क पशुवत् भइसकेको थियो ।

९. श्रेष्ठ आचरणको अभाव
[सम्पादन गर्नुहोस्]

आसुरी सम्पदा हुनेहरुले श्रेष्ठ आचरण गर्न पनि जान्दैनन् । रामकृष्ण परमहंसले चार प्रकारका मानिसहरु हुन्छन् भनी बताएका छन्– पहिलो थरी अत्यन्त शक्तिशाली हुन्छन् । यस्ता मानिसलाई हस् हजुर भनेर आफ्नो काम निकाल्नु पर्छ । अर्काथरी मानिस कुकुर जस्ता हुन्छन् । यस्तासंग चूप लागेर आफ्नो काम निकाल्नु पर्छ । कुकुर भुक्दा डराएर भाग्यो लखेट्छ, टोक्न पनि सक्छ । न डराइकन आफ्नो काम गर्यो भने एक छिन भुक्छ अनि चूप लाग्छ । एक थरी मानिस गोरु जस्ता हुन्छन् । तिनीहरु हान्न आउंदा कराउनु पर्छ । लौरो लिएर लखेट्नै पर्छ । र एक थरी मानिस जंड्याहा जस्ता हुन्छन् । उनीहरुसंग बसेर हो हो भने केही गर्दैनन् । केही जवाफ फर्काउना साथ मुखमा आएको तथानाम गर्छन् । यी चार प्रकारका मानिससंग बचेर भगवद्भक्ति गर्नु पर्छ ।

१०. असत्य भाषण
[सम्पादन गर्नुहोस्]

असत्य भाषणमा आसुरी सम्पदाका मानिसले गर्व र सफलता ठान्छन् । अकबरको दरबारमा दुई जना आइमाई न्यायका लागि आए । ती दुई जनामा एउटी अलि मोटी दह्री देखिन्थी भने अर्की दुब्ली पातली थिई । तर मोटी आइमाईले त्यस दुब्ली देखिने आइमाईले उसका गहना खोसेर लिएको आरोप लगाएकी थिई । र दरबारमा आफ्ना गहना फिर्ता दिलाइपाउन अनुरोध गर्न थाली ।
दुब्ली पातली आइमाईले आफूले कसैको गहना नखोसेको भनेर प्रतिवाद गर्दै आफू माथि झुट्टा आरोप लगाइएको कुरा जिकिर गर्न थाली । बीरबलले त्यस आइमाईलाई कुनै साक्षी प्रस्तुत गर्न भने । तर त्यसले साक्षी प्रस्तुत गर्न सकीन । साक्षी दिन नसकेपछि त्यो दुब्ली आइमाईलाई दोषी मान्दै अकबरले पातली आइमाईलाई चोरी बापतको सजायँ सुनाएर मोटी आइमाईको गहना दिन भने । गहना पाए पछि मोटी आइमाई खुशी खुशी घर तिर लागी ।
दुवै गए पछि बीरबलले एक जना नोकरलाई गहना लिएर गएकी मोटी आइमाईका हातबाट गहना खोसेर ल्याउन अह्राए । नोकरले गएर गहना खोस्न थाल्यो । मोटी आइमाईले नोकरलाई धकेलेर भुईंमा पल्टाइदिई। अनि फेरि फरियाद लिएर दरबार पुगी– ‘सरकार मेरा गहनाको सुरक्षा गरीदिन पर्यो । यस मानिसले गहना खोसेर लैजान खोज्यो । मलाई सुरक्षा प्रदान गरियोस ।’
बीरबलले भने– ‘यति बलियो लोग्ने मानिसले तिम्रा गहना खोस्न सकेन भने त्यस मरन्च्याँसे आइमाईले तिम्रा गहना कसरी खोसेर लगी भनेर कसरी पत्याउने ? ढाँटेर अर्काको सामान कब्जा गर्न खोज्ने ? तिमीलाई कोर्रा हान्न लगाउँ ?’
त्यस मोटी आइमाईले आफ्नो गल्ती कबुल गरेर गहना फर्काइ । अब आइन्दा यस्तो अन्याय गर्दिन भनेर माफी मागे पछि त्यसलाई घर पठाइ दिए । अकबरको दरबारमा निर्दोष मानिस अन्यायमा पर्दैन भन्ने कुराको विश्वासभएको भन्दै प्रति खुशी प्रकट गर्दै पातली आइमाईले बीरबललाई धेरै आशीर्वाद दिन थाली ।
दैवासुरसम्पद विभाग योग नाम गरेको यस अध्यायमा गीताकारको आशावादी दृष्टिकोण (एप्रोच) स्पष्ट देखिएको छ । दैवी गुण २६ वटा बताउंदा आसुरी गुण केवल १० वटा मात्र उद्धरित गरिएको छ । स्पष्टतः संसारमा दैवी गुणको अभाव छैन भन्न खोजिएको हो । यस संकेतले समाजलाई धर्मको मार्गमा हिंड्न उत्साहित बनाउँछ । मानिसमा त्यो शक्ति हुन्छ जसबाट उसले देवत्व प्राप्त गर्न पनि सक्छ र असुर बन्न पनि सक्छ । यस सम्बन्धमा एउटा कथा छ । एउटा कलाकारलाई बालक ईसाको चित्र बनाउन परेछ । उसले गाउँ गाउँमा एक निश्छल र देवत्वको झलक दिने बालक खोज्दै हिंड्यो । धेरै प्रयास पछि उसले एक गाउँमा दैवत्वको झलक दिने अनुहार भेटायो । अनुहारबाट प्रेम वर्षिरहेको । मायालाग्दो । त्यसलाई नमुना बनाएर उसले आफ्नो चित्र तयार गर्यो ।
त्यसको धेरै वर्ष पछि उसलाई शैतानको चित्र कोर्न मन लागेछ । अब उसले यस्तो मानिसको खोजी गर्यो जसमा सबै प्रकारका दुष्टता र निर्दयता उसको अनुहारबाट छर्लंग होस् । उसले अनेक खराब मानिसलाई भेट्यो तर निर्दय र दुष्ट अनुहार भेट्न सकेन । यस पछि जेल भित्र आजीवन कारावास भोगिरहेका तथा मृत्युदण्ड कुरिरहेका अपराधीहरु खोज्न थाल्यो । खोज्दै जाँदा यस्तो दुर्दान्त अपराधी फेला पार्यो जुन एउटा अँध्यारो काल कोठरीमा बन्द थियो । देख्दै डरलाग्दो । राता क्रूर आँखा । अनुहारमा प्रेमको लेश पनि नभएको । दाह्री बढेको । हात खुट्टामा नेल बांधिएको । उसलाई हत्या, बलात्कार, डकैती आदि अपराध गरे बापत त्यो सजायँ दिइएको रहेछ । त्यसलाई भेट्न कोही नजाँदो रहेछ । जेलरले बडो मुश्किलले भेट्ने अनुमति दियो । अब उसलाई अगाडि राखेर कलाकारले चित्र बनाउन सुरु गर्यो । चित्र बनाउन सुरु गरेपछि त्यो निर्दयी अपराधीका आँखामा कलाकारले एक दिन आँसु देख्यो। क्रूर, अमानवीय र निष्ठुर त्यस अपराधीको मन त्यसरी पग्लेको देखेर आश्चर्यचकित भएर सोध्यो– तिम्रा आँखामा आँसु ?
अपराधीले भन्यो– हो । आज मेरो मन भरिएर आयो । तपाईंले मलाई चिन्नु भएन । म त्यही बालक हूँ जसलाई मोडेल बनाएर धेरै वर्ष अघि तपाईंले ईसाको चित्र बनाउनु भएको थियो। कुसङ्ग र कुकर्मले गर्दा आज मेरो अनुहारमा शैतानको वास भएको छ ।
जसले दैवी गुण अपनाउँछ उ देवता बन्छ । जसले आसुरी गुण अपनाउँछ उ असुर बन्छ । एउटै व्यक्तिले पनि दैवी गुण अपनाउँदा र आसुरी गुण अपनाउँदा उसको स्वभाव, चरित्र र अनुहारमा अन्तर आउँछ । दैवी गुणले उच्च लक्ष्यमा पुर्याउँछ भने आसुरी गुणले तल, झन् तल एक विषय चक्रमा पारेर ओराल्दै जान्छ । उदाहरणका लागि, गरीबीको कारण मानिसको खराब स्वास्थ्य हो । खराब स्वास्थ्य हुने मानिसले राम्ररी अध्ययन, र परिश्रम गर्न सक्दैन । फलस्वरुप उसको धन कमाउने शक्ति क्षीण हुन्छ । आय कम हुनुको अर्थ हुन्छ उसले पोसिलो खाना पाउन सक्दैन । खाना पोसिलो नहुँदा शरीरमा रोगले आक्रमण गर्छ । औषधि किन्न झन् बढी खर्च गर्नु पर्छ यसरी निर्धनताको विषम चक्र सिर्जना हुन्छ । यसै गरी आसुरी गुणले एक बन्धनकारक चक्र सिर्जना गर्छ । क्रोधमा कसैमाथि चोट पुर्याउन वा हत्या गरीदिन पनि सक्ला । अथवा आाफैंले कुनै दुर्घटना बेहोर्ला । ऊ एउटा नउम्कने जालोमा फँस्छ । क्षमा गर्ना साथ सबै क्रोध, बदला समाप्त भई मानिस स्वतन्त्र हुनजान्छ।
अर्जुन बन्धनकारी गुणमा होइन, मुक्तिकारक गुणमा जन्मिएका हुनाले विषादमुक्त भएर स्वकर्तव्य पूरा गर्नु पर्छ भनेर प्रोत्साहन दिन यहाँ दैव र आसुर स्वभावको वर्णन गरिएको हो ।


असत्यमप्रतिष्ठं ते जगदाहुरनीश्वरम् ।
अपरस्परसम्भूतं किमन्यत्कामहैतुकम् ।।८।।

पदच्छेद र शब्दार्थ–
[सम्पादन गर्नुहोस्]

असत्यम् (असत्य छ) अप्रतिष्ठम् (आश्रयरहित छ) ते (तिनी–आसुरी स्वभावका–हरुले) जगत (जगत) आहुः (भन्छन्) अनीश्वरम् (बिना ईश्वर छ) अपरस्परसम्भूतम् (आपसमा कुनै सम्बन्ध बिना उत्पन्न भएको छ) कामहैतुकम् (वासना तृप्तिका लागि हो) अन्यत् (अन्य कारण) किम् (के हो?)।
ती असुरहरुले के भन्दछन् भने सारा जगत् निराधार र असत्य छ । बिना ईश्वर छ । अपरस्परसम्भूत अर्थात् एक अर्काको सम्बन्ध बिना आफैं उत्पन्न भएको छ । मानिसको वासना तृप्ति जगत्को उद्देश्य हो, अन्यथा यस जगत्को अरु के कारण हो ? ८ ।।
एतां दृष्टिमवष्टभ्य नष्टात्मानोऽल्पबुद्धयः ।
प्रभवन्त्युग्रकर्माणः क्षयाय जगतोऽहिताः ।।९।।

पदच्छेद र शब्दार्थ–
[सम्पादन गर्नुहोस्]

एताम् दृष्टिम् (यस्तो दृष्टिकोण, विचार) अवष्टभ्य (अवलम्बन गरेर) अल्पबुद्धयः (अल्पबुद्धि) नष्ट आत्मानः (नष्टात्मा, आत्मस्वभाव नष्ट भएका) अहिताः (अहित) उग्रकर्माणः (उग्र कर्म गर्दै) जगतः (जगत) क्षयाय (नाश गर्नका लागि) प्रभवन्ति (उत्पन्न हुन्छन्) ।
यस्तो विचारलाई अवलम्बन गरेर, अल्पबुद्धि भएका नष्टात्मा, दुष्ट मानिसहरु, अहित र निष्ठुर कर्म गर्दै, जगतको नाश गर्नका लागि मात्र उत्पन्न हुन्छन् ।।९।।

अब भगवानले आसुरी सम्पदायुक्त मानिसहरुले सृष्टिको बारेमा के सोच्छन् त्यो बताउनु भएको छ– ‘आसुरी स्वभावका मानिसले के भन्दछन् भने जगत् असत्य र निराधार छ । ईश्वर छैन । सृष्टिको उद्देश्य विषय वासना पूरा गर्नु हो । यसको अरु उद्देश्य केही छैन ।’ आचार्य शंकरले श्लोक ८ को अर्थ यसरी गरेका छन्– आसुरी स्वभावका यस्ता मानिसले के भन्ने गर्दछन् भने जस्तो हामी असत्यले भरिएका छौं त्यसरी नै यो सारा संसार असत्यले भरिएको छ । धर्म–अधर्म यसको कुनै आधार छैन । त्यसैले यो निराधार तथा अनीश्वर छ । पाप र पुण्यको सापेक्षमा यसको शासन गर्ने कोही छैन । काम प्रेरित स्त्री पुरुषका आपसी संयोग हुनाले यो जगत् उत्पन्न भएको छ । त्यसैले जगतको कारण काम हो । यसको अरु कारण के हुन सक्छ ? अर्थात् धर्म अधर्म आदि अन्य कुनै यसको दृष्ट कारण छैन, केवल काम नै प्राणी उत्पन्न हुने कारण हो ।
यस्तो विचार लिएकाहरु, दुष्टहरु, जसको आत्मस्वभाव नष्ट भएको छ, बुद्धि मन्द भएको छ, क्रूर कर्म गर्ने यस्ता असुरहरु जगतको नाश गर्नका लागि मात्र जन्मन्छन् ।’
आसुरी प्रवृत्तिकाले जगत्लाई असत्य र निराधार ठान्दछन्...। यस भनाईलाई अलि गम्भीर भएर विचार गर्नु आवश्यक छ किनभने स्वयं शङ्कराचार्यले पनि जगत्लाई मिथ्या भनेका छन् । तर उनले ब्रह्मलाई सत्य भनेका छन् । असत्य र मिथ्यामा अन्तर के हो भने मिथ्या जस्तो देखिन्छ त्यस्तो होइन । जुन देखिएको छ, त्यो आभास मात्र हो, ब्रह्मको छायाँ । जस्तो अनलाइन बैठकहरु हुन्छन्– भर्चुअल मीटिङ्ग । त्यो बैठक जस्तो देखिन्छ, त्यो त्यस्तो होइन । यो बैठक देखाइरहेको हुन्छ नेटवर्किंग प्रविधिले, मायाले । यसको पछाडि मूलकुरा छ कतै । तर आसुरी स्वभावका मानिसहरुले यसलाई बिना ईश्वरको, असत्य र निराधार ठान्दछन् । यहाँ असत्य भनेको कुनै एक परमसत्य नभएको तथा निराधार भनेको कुनै नैतिक आधार नभएको ।
यस श्लोकमा बताइएको मतलाई लोकायतिक वा चार्वाक मत भनिन्छ । यस मत अनुसार, शरीर सुख नै सर्वोच्च पुरुषार्थ हो त्यसैले इन्द्रिय सुखमा केन्द्रित हुनुपर्छ । भौतिक सुख प्राप्त गर्न जुन कुरा बाधक हुन्छ त्यसलाई समाप्त गर्नु पर्छ । सुख प्राप्तिका सम्बन्धमा चार्वाक दर्शनको एउटा उक्ति सर्वाधिक प्रसिद्ध छ– यावज्जीवेत सुखं जीवेत, ऋणं कृत्वा घृतं पिवेत्। भस्मीभूतस्य देहस्य पुनरागमनं कुतः ? अर्थात् यो देह जलेर खरानी हुन्छ, पुनरागमन कसले देखेको छ ? त्यसैले जबसम्म बाँचिन्छ तबसम्म सुख साथ बाँच्नु पर्छ । उनीहरुले आफू मात्र सत्य, अरु सब असत्य ठानेका हुन्छन् । यस्तो स्वभावका मानिस जगत्को नाशका लागि उद्धत हुन्छन् ।
काममाश्रित्य दुष्पूरं दम्भमानमदान्विताः ।
मोहाद्गृहीत्वासद्ग्राहान्प्रवर्तन्तेऽशुचिव्रताः।। १० ।।

पदच्छेद र शब्दार्थ–
[सम्पादन गर्नुहोस्]

दुष्पूरम् (पूरा हुन नसक्ने) कामम् (काम, विषयोपभोगको) आश्रित्य (आश्रय लिएर) दम्भ (दम्भ) मान (अभिमान) मदान्विताः (मदले भरिएका) मोहाद् (मोहले) गृहीत्वा (ग्रहण गर्दै) असद्ग्राहान् (मनमौजी कल्पना गर्दै) अशुचिव्रताः (खराब काम गर्न) प्रवर्तन्ते (प्रवृत्त हुन्छन्) ।
कहिल्यै पूरा हुन नसक्ने विषयोपभोगको आश्रय लिएर मोह र असत्य सिद्धान्त ग्रहण (मनमौजी कल्पना) गरेर दम्भ, मान, मदले भरिएका उनीहरु खराब काममा प्रवृत्त हुन्छन्।।१०।।
चिन्तामपरिमेयां च प्रलयान्तामुपाश्रिताः ।
कामोपभोगपरमा एतावदिति निश्चिताः ।।११।।
आशापाशशतैर्बद्धा कामक्रोध परायणाः।
कामभोगार्थमन्यायेनार्थ सञ्चयान् ।।१२।।

पदच्छेद र शब्दार्थ–
[सम्पादन गर्नुहोस्]

प्रलय अन्ताम् (मृत्युपर्यन्त) अपरिमेयाम् (असीमित) चिन्ताम् (चिन्ताहरुको) उपाश्रिताः (आश्रय लिएका) च (तथा) काम उपभोग (कामना र भोगलाई) परमा (सबै कुरा ठान्ने) एतावत् (यति मात्र हो) इति निश्चिताः (यसैलाई निश्चितयस्तो निश्चय गरेका) शतैः (शयौं प्रकारका) आशापाश (आशा पाशले) बद्धा (जकडिएका) काम क्रोध परायणाः (काम र क्रोधका वशीभूत) काम भोग अर्थम् (मोज गर्नका लागि) अन्यायेन (अन्यायपूर्वक) अर्थ सञ्चयान् (धनजम्मा गर्न चाहन्छन्) ।
मृत्युपर्यन्त कहिल्यै समाप्त नहुने चिन्ताहरुले घेरिएका कामना र भोगमा डुबेका र यति मात्र सुख छ भनी निश्चित गरेर शयौं प्रकारका आशाको जालोले जकडिएका काम क्रोधका वशीभूत, मोज गर्नका लागि अन्यायपूर्वक धनजम्मा गर्न चाहन्छन् ।। ११–१२ ।।
इदमद्य मया लब्धमिमं प्राप्स्ये मनोरथम् ।
इदमस्तीदमपि मे भविष्यति पुनर्धनम् ।।१३।।

पदच्छेद र शब्दार्थ–
[सम्पादन गर्नुहोस्]

इदम् (यो) अद्य (आज) मया (मलाई) लब्धम् (प्राप्त भयो) इमम् (यो) मनोरथम् (मनोरथ, इच्छा) इदम् (यो) प्राप्स्ये (प्राप्त गर्नेछु) अस्ति (हो) पुनः (फेरि) धनम् (धन) इदम् (यो) अपि (पनि) मे (मेरो) भविष्यति (हुनेछ) ।
मैले आज यो कुरा पाएँ र अब यस मनोरथलाई पूरा गर्नेछु । आज मसंग यति धन छ, र त्यो अझ थप मैले प्राप्त गर्नेछू ।। १३ ।।
असौ मया हतः शत्रुर्हनिष्ये चापरानपि ।
ईश्वरोऽहमहं भोगी सिद्धोऽहं बलवान् सुखी ।।१४।।

पदच्छेद र शब्दार्थ–
[सम्पादन गर्नुहोस्]

असौ (यो) मया (मद्वारा) शत्रुः (शत्रु) हतः (मारियो) च (तथा) अपरान् अपि (अन्य पनि) हनिष्ये (मार्नेछु) अहम् (म) ईश्वरः (शक्तिशाली, मालिक) अहम् (म) सिद्धः (सिद्ध गर्ने) भोगी (भोगी हूँ) अहम् (म) बलवान् (बलियो) सुखी (सुखी हूँ) ।
यस शत्रुलाई मैले मारें, यस्तै अरुलाई पनि मार्नेछू । म ईश्वर (मालिक) हूँ । ऐश्वर्य भोग्छु, म भोगी हूँ, म बलवान हूँ, म सुखी छू ।। १४ ।।
आढ्योऽभिजनवानस्मि कोऽन्योऽस्ति सदृशो मया ।
यक्ष्ये दास्यामि मोदिष्य इत्यज्ञानविमोहिता ः ।। १५ ।।
अनेकचित्तविभ्रान्ता मोहजालसमावृतः।
प्रसक्ताः कामभोगेषु पतन्ति नरकेऽशुचौ ।। १६ ।।

पदच्छेद र शब्दार्थ–
[सम्पादन गर्नुहोस्]

आढ्यः (सम्पन्न) अभिजनवान् (कुलीन, उच्चवंशको) अस्मि (हुँ) सदृशः मया (मेरो बराबर) कः अन्यः अस्ति (अन्य को छ) यक्ष्ये (यज्ञ गर्ने छु) दास्यामि (दान गर्नेछु) मोदिष्य (मोज गर्नेछू) इति (यस्तो) अज्ञानविमोहिता (अज्ञानले मोहित भएका) अनेक (अनेक प्रकारका) चित्त विभ्रान्ता (भ्रम चित्तमा लिएका) मोह जाल (मोहजाल, कल्पनामा) समावृतः (घेरिएका, भुलेका) कामभोगेषु (काम भोगमा) प्रसक्ताः (आसक्त) नरके अशुचौ (अपवित्र नरकमा) पतन्ति (खस्छन्, पर्छन्) ।
म सम्पन्न छू, कुलीन छू । मेरो बराबर अरु को छ? मैले यज्ञ गर्नेछू, दान गर्नेछू, मोज गर्नेछू, यस प्रकारका अज्ञानले मोहित भएका, चित्तमा अनेक प्रकारका भ्रम लिएर कल्पनामा डुबेका र काम भोगमा आसक्त यी असुर अपवित्र नरकमा खस्छन् ।

असीमित आशाहरुको जालले जकडिएका, आफ्नो सुखका लागि अरुको धन लुट्न तयार रहने, आज यति धन पाएँ र यो गरें भने भोलि यति थप धन पाइन्छ भनेर हिसाब गर्ने, शत्रु मारेर बलिाये हुन चाहने यी आसुर स्वभावका मानिसहरु आफूलाई सातपुस्ते शुद्ध र कुलीन ठान्छन् र अरु कसैलाइै पनि आफ्नो बराबर देख्दैनन् । दम्भ, मान, मदले चूर यिनीहरुले आफ्नो कामनापूर्तिका लागि जसरी पनि धन र शक्ति आर्जनमा लागि रहेका हुन्छन् ।
अपरिमेयको अर्थ हो असीमित र आशाको अर्थ हो इच्छा, आवश्यकता यस्तै पाशको अर्थ हो बन्धन, जाल । अनन्त आशाको बन्धन । आशा बन्धन किन हुन्छ ? मानिसका सबै आशा कसैले र कहिल्यै पूरा गर्न सकिंदैन । एउटा आवश्यकता पूरा हुनासाथ अर्को पलाई हाल्छ । मानवीय आशा र साधनका बीच आनुपातिक सम्बन्ध हुन्छ । अर्थात् यदि एउटा साधनले एउटा आवश्यकता पूरा हुन्छ र एउटा मात्र आवश्यकता छ भने शतप्रतिशत आशा पूरा भयो । तर त्यस्तो हुँदैन ।
कुनै इच्छा धनले, कुनै इच्छा बलले, कुनै रुपले, कुनै प्रतिष्ठाले गर्दा सन्तुष्ट हुने गर्छ । त्यसैले कुनै आशा पूरा गर्नु भन्दा पहिले त्यसलाई पूरा गर्ने साधन– धन, बल, रुप, प्रतिष्ठा इत्यादि प्राप्त गर्न आफ्नो सम्पूर्ण शक्ति लगाउनु पर्छ । त्यस पछि मात्र आशा पूरा गर्न सकिन्छ । यति गर्दा पनि कुनै आशा पूरा हुन्छन्, कुनै पूरा हुँदैनन्, कुनै आशाको रुप बदलिइसकेको हुन्छ । अनि फेरि अर्को दुष्चक्र सुरु हुनजान्छ । उदाहरणका लागि युवा अवस्थामा मानिसले आफ्नो स्वास्थ्यको पनि ख्याल नगरी रातदिन काम गरेर धन कमाउँछ अनि बुढेसकालमा त्यही धनलाइ फेरि स्वास्थ्य रक्षाका लागि औषधिमूलोमा खर्च गर्छ । आशा असीमित हुन्छन् र धन सीमित हुन्छ । त्यसैले जुनसुकै उपायले पनि धन जम्मा गर्न चाहन्छन् ।
आसुरी प्रवृत्ति विनाशकारक हुन्छ । उसले केवल आफ्नो सुखको बारेमा सोच्छ । अरुको सुखका लागि सोच्दैन । त्यसैले आसुरी गुणको पति भए पत्नीलाई बर्बाद गर्नेछ, आसुरी गुणको पत्नी भए पतिलाई बर्बाद गर्नेछ । आसुरी गुणको पिता भए पुत्रलाई बर्बाद गर्ने छ। यो शत्रु चाहिं सिद्ध्याइ दिएँ, अर्काथरी पनि सिद्ध्यादिने छु । म जति बलियो को छ ? यस्तो सोचाइ उत्पन्न हुने कारण शक्तिको शीर्षस्थानमा पुग्नु नै हो ।
समाजमा परम्परादेखि केही उखान प्रचलित छन्– कुन शत्रुसंग हार्नु पर्छ ? यसको उत्तर हो– मृत्यु । एक अर्कालाई कहिल्यै नभेट्ने छिमेकी को हुन् ? यसको उत्तर हो– आँखा । कहिल्यै नाश नहुने कुरा के हो ? यसको उत्तर हो– यश । खुशी प्राप्त हुने सबभन्दा राम्रो तरिका के हो ? यसको उत्तर हो– सन्तुष्टि । यस्ता कुराहरु केवल उखान मात्र होइनन्, जीवनका अनुभव हुन् ।
मैले आज यो पाएँ र अब यस मनोरथलाई पूरा गर्नेछु । मसंग यति धन छ, र फेरि भविष्यमा यति हुनेछ । मैले चाहेको प्राप्त गरें, धनी छु, बलवान छु, सुखी छु, दान गर्छु, यज्ञ गर्छु, र मोज गर्छु । म जस्तो अर्को को छ? यस प्रकारका अज्ञानले मोहित रहन्छन् । तर उनीहरुले जीवनको सबभन्दा ठूलो शत्रु को हो यसबारेमा विचार गर्दैनन् ।
आत्मसम्भाविताः स्तब्धा धनमानमदान्विताः ।
यजन्ते नामयज्ञस्ते दम्भेनाविधिपूर्वकम् ।।१७।।

पदच्छेद र शब्दार्थ–
[सम्पादन गर्नुहोस्]

आत्मसम्भाविताः (आफूलाई श्रेष्ठ ठान्ने) स्तब्धा (ठड्यौरा) धन मान मद अन्विताः (धन, अहङ्कार, र मदले भरिएका) यजन्ते (यजन गर्छन्) नामयज्ञः नाममात्रको यज्ञ) ते (तिनीहरु) दम्भेन (दम्भसहित) अविधिपूर्वकम् (विधि पूरा नगरिकन) ।
आफूलाई श्रेष्ठ ठान्ने, ठड्यौरा, धन र मानले मत्त भएका यी आसुरी मानिसहरुले शास्त्रको विधि छोडेर नाममात्रको यज्ञ गर्छन् ।
अहंकारं बलं दर्पं कामं क्रोधं च संश्रिताः ।
मामात्मपरदेहेषु प्रद्विष्यन्तेऽभ्यसूयकाः ।।१८।।

पदच्छेद र शब्दार्थ–
[सम्पादन गर्नुहोस्]

अहङ्कारम् (अहङ्कार) बलम् (बल) दर्पम् (दर्प, घमण्ड) कामम् (कामना) क्रोधम् (क्रोधका) संश्रिताः (आश्रित) आत्म (आफ्ना) च (र) परदेहेषु (अरुको शरीरमा स्थित) माम् (म परमेश्वरलाई) अभ्यसूयकाः (डाहाढीहरु, ईष्र्या गर्नेहरु) प्रद्विष्यन्ते (द्वेष गर्छन्) ।
अहङ्कार बल, घमण्ड, कामना, क्रोध इत्यादिले भरिएका यी डाहाढीहरुले आफ्नो र अरु सबको शरीरमा स्थित् म (ईश्वर) लाई द्वेष, निन्दा गर्छन् ।।१८।।
तानहं द्विषतः क्रूरान् संसारेषु नराधमान् ।
क्षिपाम्यजस्रमशुभानासुरीष्वेव योनिषु ।।१९।।

पदच्छेद र शब्दार्थ–
[सम्पादन गर्नुहोस्]

तान् (ती) द्विषतः (द्वेष गर्नेहरु) क्रूरान् (क्रूरकर्मा) संसारेषु (संसारका) नर अधमान् (नराधमहरुलाई) अहम् (मैले) अजस्रम् (निरन्तर, सधैं) अशुभान् (अशुभ) आसुरीषु (आसुरी) एव योनिषु (योनिहरुमा नै) क्षिपामि (प्रक्षेपण गर्छु, खसाल्छु) ।
अशुभ आचरण गर्ने ती यस्ता द्वेषी र क्रूरकर्मा, नराधमहरुलाई मैले संसारका आसुरी योनि अर्थात् पापयोनिहरुमा सधैं खसाल्छु ।।१९।।
आसुरीं योनिमापन्ना मूढा जन्मनि जन्मनि ।
मामप्राप्यैव कौन्तेय ततो यान्त्यधमां गतिम् ।। २०।।

पदच्छेद र शब्दार्थ–
[सम्पादन गर्नुहोस्]

कौन्तेय (हे कुन्ती पुत्र) ततः (त्यसैले) जन्मनि जन्मनि (जन्मौजन्म) आसुरीम् योनिम् (आसुरी योनि) आपन्ना (प्राप्त गरेर) माम् (मलाई) मूढा (मूर्खहरु) अप्राप्य एव (प्राप्त नगरेर) अधमाम् गतिम् (अधम गति) यान्ति (प्राप्त गर्छन्) ।
हे कौन्तेय, यस प्रकार जन्मौंजन्म आसुरी योनि पाएर ती मूर्खहरुले मलाई प्राप्त नगरेर अत्यन्त अधम गति प्राप्त गर्छन् ।।२०।।

आसुरी स्वभावकाले आफ्नो प्रशंसा आफैं गर्ने, हठी मात्र हुँदैनन् धन र मानले मत्त भएका पनि हुन्छन् । काम गर्दा विधि पुर्याएर आफू खुशी गर्न खोज्छन् । अशुभ आचरण गर्ने यी द्वेषी र क्रूरकर्माहरुले आफ्नो र अरु सबको शरीरमा स्थित ईश्वरलाई निन्दा गर्छन् ।
यसको अर्थ हो यस्ता आसुरी गुणका मानिसले अन्ततः आफैंलाई हानि गर्छन् । त्यसैले यस्ता नराधमहरुले जन्मौं जन्म दुख पाइरहन्छन् । यस्तालाई ईश्वरले बारम्बार आसुरी योनिमा खसाल्छन् भन्नुको अर्थ हो आसुरी कृत्य को फल सोही अनुसार प्राप्त हुन्छ । जुन नियमको आधीन हामीले फल प्राप्त गर्छौं त्यही ईश्वर हो ।
खडानन्दले मनमनै संकल्प गरेछ, अबदेखि रक्सी खान्न । रक्सी खाएर पैसा बर्बाद । श्रीमतीसंग झगडा । छोराछोरीले पनि नरुचाउने । त्यसैले यो खराब बानीबाट मुक्त हुनै पर्छ । अब रक्सी खान्न । घर फर्कने बेलामा गोडा आफैं मदिरालय तिर सोझिन्थे । त्यस दिन मदिरालयतिर हेर्दै नहेरी भर तिर सोझियो ।
मदिरालयमा नछिरी घर तिर सोझिने भए पछि मनलाई नियन्त्रण गर्न सक्ने भइएछ भनेर असाध्ये खुशी भएर खडानन्दले आफनो मनलाई भन्यो– स्याबाश, खडानन्द । तँ सफल भइस् । अबदेखि रक्सी बन्द । उसको भित्रबाट आवाज आयो– यस खुशियालीमा आज एक पेग लगाएर आइज ।
खडानन्द फनक्क फर्क्यो र आफ्नो सफलताको खुसियालीमा एक पेग लगायो ।
अशुभ आचरण गर्नेले अशुभ कृत्य गर्छ र यस अशुभ कृत्यको परिणाम पनि शुभ हुंदैन । अर्थात् अशुभ कृत्य गर्नेहरुले शुभ परिणाम प्राप्त गर्न सक्दैनन् । उनीहरु निरन्तर त्यस विषम चक्रमा फँस्दै जान्छन् । र जन्मौंजन्म आसुरी जन्म प्राप्त भइरहन्छन् । अनि त्यसभन्दा पनि अधम गति प्राप्त गर्छन् । व्यसनमा फँसेका मानिसहरु त्यसबाट बाहिर निस्कन सकिरहेका हुँदैनन् । त्यस व्यसनबापत उनले धन गुमाउँछन्, परिवार गुमाउँछन्, त्यसमाथि शारीरिक कष्टले पीडित हुन्छन् तथापि त्यसलाई छोड्न सकिरहेका हुँदैनन् ।
त्रिविधं नरकस्येदं द्वारं नाशनमात्मनः ।
कामः क्रोधस्तथा लोभस्तस्मादेतत्त्रयं त्यजेत् ।। २१ ।।

पदच्छेद र शब्दार्थ–
[सम्पादन गर्नुहोस्]

त्रिविधम् (तीन प्रकारका) नरकस्य (नरकका) इदम् (यी) द्वारे (ढोका हुन्) आत्मनः (आफ्नो) नाशनम् (नाश गराउँछन्) कामः (काम) क्रोधः (क्रोध) तथा लोभः (तथा लोभ) तस्मात् (त्यसैले) एतत् (यी) त्रयम् (तीनको) त्यजेत् (त्याग गर्नु पर्छ) ।
काम, क्रोध, र लोभ यी तीन नरकका द्वार हुन् । यिनले हाम्रो नाश गराउँछन् । त्यसैले यी तिनलाई त्याग गर्नु पर्छ ।।२१।।
एतैर्विमुक्तः कौन्तेय तमोद्वारैस्त्रिभिर्नरः ।
आचरत्यात्मनः श्रेयस्ततो याति परां गतिम् ।। २२।।

पदच्छेद र शब्दार्थ–
[सम्पादन गर्नुहोस्]

कौन्तेय (हे कुन्तीपुत्र) एतै ः (यी) त्रिभिः (तीन) तमोद्वारै ः (नरकको ढोका) विमुक्तः (मुक्त भएको) नरः (मानिस) आत्मनः (आफ्नो) श्रेयः (कल्याण का लागि) आचरति (आचरण गर्छ) ततः (पछि) पराम् गतिम् (श्रेष्ठ गति) याति (प्राप्त गर्छ) ।
हे कौन्तेय, यी तीन नरकका द्वारबाट मुक्त भए पछि मानिसले आआफ्नो कल्याणका लागि आचरण गर्न थाल्छ, अनि परम गति प्राप्त गर्छ ।।२२।।

मानिसको पतनका तीन ढोकाहरु छन्– काम, क्रोध र लोभ । जसले आफ्नो कल्याण चाहन्छ ऊ तीनवटा कुराबाट मुक्त हुनु पर्छ । गीताका केही महत्त्वपूर्ण श्लोकमध्ये यो एउटा हो । यस श्लोकमा जीवनमासफल हुनका लागि चाहिने सूत्र दिइएको छ ।
कौटिलीय अर्थशास्त्र १.६.१ मा यस श्लोकसँग मिल्ने सूत्र दिइएको छ जसमा राजर्षि शासकले काम, क्रोध, लोभ, मान, मद र उपहासको त्याग गर्नु पर्छ, भनिएको छ ।
जीवनमा सफल हुन यो सूत्र महान सहायक हुन्छ । कामको वशीभूत हुनाले विद्वान भइकन पनि रावणको नाश भयो । क्रोधको वशीभूत हुनाले योद्धा भइकन पनि दुर्योधनको दुर्गति भयो । मृगको लोभ गर्नाले सीता जस्ती सुशील स्त्रीको अपहरण हुन गयो । यस्ता अनेक उदाहरण इतिहासमा देख्न पाइन्छ । काम, क्रोध, र लोभले भित्र आसुरी सम्पदा टम्म भरिएको हुन्छ ।
पुराणहरुमा एउटा कथा आउँछ । स्वर्गका राजा इन्द्रले कुनै समयमा शूकर योनि लिएका थिए । उनी हिलोमा लडी बुडी गरेर बडो प्रसन्नतापूर्वक जीवन यापन गरिरहेका थिए । स्वर्गमा आसन खाली थियो । देवताहरुले आएर अनुरोध गरे– तपाईं त स्वर्गका राजा हुनुहुन्छ। यो हिलो छोडेर स्वर्ग हिंड्नुहोस् ।
इन्द्रले भने– मेरी प्रिय शूकरी छ । बच्चाहरु छन् । मलाई यहाँ बडो आनन्द छ । यो छोडेर म स्वर्ग जान्नं ।
इन्द्रलाई आफ्नो स्वरुप ज्ञान हुन्छ कि भने देवताहरुले बच्चाहरु मारी दिए ।
इन्द्र छटपटाएर विलाप गर्न थाले ।
आखिर बाध्य भएर देवताहरुले त्यस शूकरलाई चीरे । भित्रबाट इन्द्र निस्के र हाँस्न थाले । ओहो, म कति आत्म विस्मृत भएँ । स्वर्ग जान्नँ भन्ने । अनि त्यसमा पनि यस काल्पनिक संसारलाई स्वर्ग मान्दै अझ विलाप गर्ने ।
परम् ज्ञानी शङ्कराचार्यले पनि कामको फन्दामा परेर पनि आफ्नो स्वरुप बिर्सिएका थिए । मण्डन मिश्रलाई शास्त्रार्थमा हराए पछि मण्डन पत्नी उभयभारतीले भनिन्– आचार्य, पत्नी भनेको पतिको आधा अङ्ग हो कि होइन ।
आचार्य शङ्कर– हो ।
उभयभारती– त्यसो भए मलाई पनि शास्त्रार्थमा पराजित गर्नुहोस् । अन्यथा मैले मेरा पतिको पराजय अस्वीकार गर्छु ।
स्त्रीसंग शास्त्रार्थ गर्न आचार्य शंकर निकै अनकनाए । तर उभयभारतीलाई शास्त्रार्थमा पराजित नगरिकन मण्डनको पराजय अस्वीकार हुने कुरा उनले पनि स्वीकार गरिसकेका थिए ।
बाध्यतावश उनी शास्त्रार्थ गर्न तयार भए । उभयभारतीलाई के थाहा थियो भने दार्शनिक र आध्यात्मिक प्रश्नले आचार्यलाई जित्न सकिँदैन । त्यसैले उभय भारतीले शंकरलाई प्रश्न गरिन्– ‘आचार्य, कामको लक्षण के हो ? कामकला कति प्रकारको हुन्छ ?’
यस्ता प्रश्न सुनेर शङ्करको बोली बन्द भयो । धेरै बेर सिर निहुराएर मौन बसेपछि उनले विस्तारै अनुरोध गरे– ‘देवी, शास्त्रीय प्रश्नहरू गर्नुहोस् । मैले त्यसको उत्तर दिन्छु ।’
उभयभारतीले प्रति उत्तरमा भनिन्– ‘यतिवर, के कामशास्त्र शास्त्र होइन । सबै कुरा त्याग गरें भनेर पनि तपाईंले विजीगिषा छोड्न सक्नु भएको रहेनछ, होइन ? तपाईं संन्यासी हो भने जितेन्द्रिय पनि हुनुपर्छ । त्यसो भए कामशास्त्र चर्चा गर्दा तपाईंको मनमा विकार किन उत्पन्न हुन्छ ? यदि त्यसो हो भने तपाईं मेरा पतिको गुरु हुने योग्य व्यक्ति होइन ।’ आचार्यले अनुरोध गरे– ‘माता, तपाईंका प्रश्नको उत्तर दिनका लागि मैले एक मासको समय माग्दछु ।’
सन्न्यासीको शरीरबाट कामकलाको उत्तर दिन नमिल्ने भएकाले एक राजाको मृत देहमा सूक्ष्म शरीरबाट प्रवेश गरे । फेरि जीवित भएकोले दरबारीहरुले राजालाई घाटबाट दरबार लिएर गए ।
उभय भारतीको प्रश्नको उत्तरका लागि परकाया प्रवेश गरेका आचार्यले रागरंगमा सबै कुरा बिर्से । भाका सकिन लाग्यो तर आचार्य शंकरका तर्फबाट कुनै पनि समाचार आएन । त्यसैले शिष्यहरु वाद्यवादकको भेषमा दरबार पुगे ।
त्यहाँ उनीहरूले के देखे भने आचार्यले राजाको शरीर भित्र स्वर्गिक आनन्दमा बसी आफूलाई बिर्सेका छन् । आचार्यलाई आफ्नो स्वरूप स्मरण गराउन शिष्यहरूले तत्त्वमसि तत्त्वमसि महावाक्य कीर्तन गर्न थाले । बारम्बार यो महावाक्य सुनेपछि आचार्यलाई आफ्नो स्वरूप स्मरण भयो । अनि उनले भने– ‘लौ भयो । मैले तिमीहरूको कुरा बुझें । अब उचित पुरस्कार लिएर आआफ्नो स्थानमा जाउ ।’
यस पछि आचार्यले लिखित उत्तर उभय भारतीलाई प्रस्तुत गरे । उत्तर पढेर उभयभारती सन्तुष्ट भइन् । मण्डन मिश्रका पति पत्नी दुवैले पराजय स्वीकार गरे । त्यस समयको प्रचलन अनुसार मण्डनले आचार्य शंकरको शिष्यत्व स्वीकार गरे ।
यः शास्त्रविधिमुत्सृज्य वर्तते कामकारतः ।
न स सिद्धिमवाप्नोति न सुखं न परां गतिम् ।। २३।।

पदच्छेद र शब्दार्थ–
[सम्पादन गर्नुहोस्]

यः (जुन मानिसले) शास्त्रविधिम् (शास्त्रविधिको) उत्सृज्य (त्याग गरेर) कामकारतः (मनोमानीपूर्वक) वर्तते (आचरण गर्छ) स ः (उसले) न सिद्धिम् (न सिद्धि) अवाप्नोति (प्राप्त गर्छ) न सुखम् (सुख) न पराम् गतिम् (न मुक्ति, परम गति, प्राप्त गर्छ)।
जसले शास्त्रविधिको त्याग गरेर आफ्नो मनोमानी गर्छ, त्यसले न सिद्धि प्राप्त गर्छ, न सुख प्राप्त गर्छ, न मुक्ति प्राप्त गर्छ, त्यसले केही पनि प्राप्त गर्दैन । ।।२३।।
तस्माच्छास्त्रं प्रमाणं ते कार्याकार्यव्यवस्थितौ ।
ज्ञात्वा शास्त्रविधानोक्तं कर्मकर्तुमिहार्हसि ।। २४।।

पदच्छेद र शब्दार्थ–
[सम्पादन गर्नुहोस्]

तस्मात् (त्यसैले) ते (तिम्रालागि) शास्त्रम् प्रमाणम् (शास्त्र प्रमाण नै) कार्य–अकार्य (कर्तव्य र अकर्तव्यको) व्यवस्थितौ (व्यवस्था, निर्णय) ज्ञात्वा (जानेर) शास्त्रविधान (शास्त्र अनुसार) उक्तम् (भनिएको) इह (यस लोकमा) कर्मकर्तुम् (कर्तव्य पूरा गर्नु) अर्हसि (उचित छ) ।
त्यसैले कर्तवय अकर्तव्यको निर्णय गर्नका लागि तिमीले शास्त्रहरुको प्रमाण मान्नु पर्दछ । अनि शास्त्रमा जे बताइउको छ, त्यो राम्ररी जानेर, शास्त्र अनुसार यस लोकमा कर्तव्य पूरा गर्नु उचित छ ।।२४।।

आफ्नो कल्याण चाहनेले कसरी कर्म गर्नु पर्छ ? के गर्नु उचित हुन्छ ? के गर्नु उचित हुँदैन? मानिसका समस्याको समाधान के मा छ ? गीताले स्पष्ट शब्दमा भनेको छ– मानिसका समस्याको अन्तिम समाधान शास्त्रमा छ ।
सत्य बोल्नु पर्छ, आफूभन्दा ठूलोलाई सम्मान गर्नु पर्छ । असल आचरण गर्नु पर्छ । यी कुरा समाजमा कसले स्थापित गर्यो ? कुनै देशको सदनबाट पारित भएर वा सर्वोच्च अदालतको निर्णय भएर यी कुरा प्रतिष्ठित भएका होइनन् । यी कुराहरु शास्त्रले प्रतिष्ठित गरीदिएका हुन् । शास्त्रमा प्रतिष्ठित गराउने को हुन् ? शास्त्रमा त्यसले प्रतिष्ठित गरायो जसलाई हामी अवतार मान्छौं । गीता शास्त्र यस्तै अवतारको वाणी हो । उहाँले जे भन्नु भएको छ, त्यो हाम्रा दृष्टिमा प्रमाण हो । विवादको अन्तिम निष्कर्ष शास्त्रको आधारमा नै लगाउनु पर्छ । अर्को उपाय छैन । हाम्रा पुर्खाहरुले निरन्तर शास्त्र प्रमाण भन्ने गरेको कारण त्यही हो । त्यसैले भगवान् श्रीकृष्णले भन्नु हुन्छ– जसले शास्त्रले भने अनुसार नगरेर आफ्नो मनमाफिक आचरण गर्छ, त्यसले सुख, सिद्धि वा मुक्ति केही पनि पाउँदैन ।
शास्त्र के हो ? जसले अपूर्व अर्थ बताउँछ, त्यो शास्त्र हो । शास्त्रले आश्चर्यजनक कुरा बताउँछ । राधाको नाम भागवतमा छैन तर राधा नभनी कृष्णको नाम हुँदैन ।
सबै शास्त्रको मूल भने वेद हुन् भन्ने मानिएको छ । गीता १५.२० ले के स्पष्ट शब्दमा गीता शास्त्र हो र अर्जुनलाई बताइएको हो भनी स्पष्ट गरिएको छ । त्यसैले गीतामा भगवानले जे भन्नु भएको छ, त्यो नै समस्याको समाधान हो । गीता कर्तव्य शास्त्र हो, नीतिशास्त्र हो, र कर्मयोग शास्त्र पनि हो । यति मात्र होइन विवादको टुङ्गो लगाउने प्रमाण पनि हो ।



ॐ तत्सदिति श्रीमद्भगवद्गीतासूपनिषत्सु ब्रह्मविद्यायां योगशास्त्रे श्रीकृष्णार्जुनसंवादे दैवासुसम्पद्विभागयोगोनाम षोडषोsध्यायः ।।
श्रीमद्भगवद्गीतारुपी उपनिषद् यस ब्रह्मविद्या रुपी योगशास्त्रमा श्रीकृष्ण र अर्जुनको संवादको दैवासुरसम्पद विभाग योग नाम गरेको अध्याय १६ समाप्त भयो । ॐ तत्सत् ।

अधिकारी, कोमलनाथ, (वि.सं.२०१८), पञ्चरत्नगीता, कोमलगीता, नेपाली पद्यानुवाद र व्याख्या वाराणसी ः यशोदा प्रेस ।
आचार्य, श्रीराम शर्मा, (सन् २०१०), १०८ उपनिषद्, मथुरा ः युग निर्माण योजना ।
आदि शंकराचार्य, (वि.सं.२०६७), श्रीमद्भगवद्गीता शांकरभाष्य, गोरखपुर ः गीताप्रेस ।
आप्टे, वामन शिवराम, (मिति उल्लेख नभएको) संस्कृत–हिन्दी शब्दकोश, सम्पादक उमा प्रसाद पाण्डेय, नई दिल्ली ः कमल प्रकाशन ।
ईश्वरानन्द, (वि.सं. २०५१) गीता तात्पर्य, संस्कृत, अन्वय, अर्थ र व्याख्या, स्वयम्भू ः गीता अध्ययन मण्डल ।
ओशो, (सन् १९८०), गीता दर्शन, पूना ःरेबेल बुक्स ।
खप्तड बाबा (सच्चिदानन्द सरस्वती), (वि.सं.२०६०), विचार विज्ञान, काठमाडौं ः खप्तड आश्रम समिति ।
खप्तड स्वामी, (वि.सं.२०५१), धर्म विज्ञान सार संक्षेप, सम्पादक चूडानाथ भट्टराय, काठमाडौं ः बबी शाह ।
गीताप्रेस, (वि.सं.२०६५), महाभारत, गोरखपुर ः गीताप्रेस ।
पन्त, शंकरराज, (वि.सं. २०७८), श्रीरामकृष्णवचनसुधा, मुल लेखक श्री म, काठमाडौं ः रामकृष्ण आश्रम नेपाल ।
बेनेट, जे जे र ठाकुरलाल मानन्धर, (वि.सं.२०६७), अनन्तको यात्रा, काठमाडौं ः योगेन्द्रभक्त श्रेष्ठ ।
मनुस्मृति, (सन् १९९१), गणेशदत्त पाठक अनुवादक, वाराणसी ः ठाकुर प्रसाद बुकसेलर ।
राधाकृष्णन (मिति नभएको), श्रीमद्भगवद्गीता, दिल्ली ः राजकमल प्रकाशन ।
रामसुखदास, (वि.सं.२०६७), श्रीमद्भगवद्गीता साधक संजीवनी, गोरखपुर ः गीताप्रेस ।