श्रीमद्भगवद्गीता चतुर्दश अध्याय
अध्याय १४
[सम्पादन गर्नुहोस्]गुणत्रयविभाग योग
[सम्पादन गर्नुहोस्]श्रीभगवानुवाच
[सम्पादन गर्नुहोस्]
परं भूयः प्रवक्ष्यामि ज्ञानानां ज्ञानमुत्तमम् ।
यज्ज्ञात्वा मुनयः सर्वे परां सिद्धिमितो गताः ।।१ ।।
पदच्छेद र शब्दार्थ–
[सम्पादन गर्नुहोस्]श्रीभगवान् उवाच (श्रीभगवानले भन्नु भयो)
परम् (परम) भूयः (फेरि) प्रवक्ष्यामि (भन्छु) ज्ञानानाम् (ज्ञानहरुमा) उत्तमम् (उत्तम) ज्ञानम् (ज्ञान) यत् ज्ञात्वा (जसलाई जानेर) मुनयः सर्वे (सबै मुनिहरु) इतः (यस संसारबाट) पराम् (परम्) सिद्धिम् (सिद्धि पाएर) गताः (गइसकेका छन् ) ।
श्रीभगवानले भन्नु भयो–
ज्ञानहरुमा पनि उत्तम ज्ञानलाई म फेरि भन्छु । जसलाई जानेर सबै मुनिजन यस संसारबाट परम सिद्धि प्राप्त गरेर गइसकेका छन् ।। १ ।।
व्याख्या
[सम्पादन गर्नुहोस्]अब फेरि भन्छु अर्थात् यस अघि भनेको थिएँ अब दोहोरयाउँदै छु । जसलाई जानेर सबै मुनिजन यस संसारबाट सिद्धि पाएर गइसकेका छन् ।
सिद्धिको अर्थ हो– पूर्णता । जसले पूर्णता प्राप्त गर्छ उसलाई अरु केही चाहिंदैन । त्यो कुन ज्ञान हो जसलाई जानेपछि अरु केही जान्न बाँकी रहँदैन ? यस देहका मालिकको ज्ञान, जसलाई परम ज्ञान पनि भनिन्छ। पेटले अघाएँ भन्दैन, आँखाले हेरें भन्दैन । जो वास्तवमा अघाउँछ, जसले वास्तवमा हेर्छ, त्यो यस देहमा निवास गर्छ । यसलाई तत्त्वतः जान्ने मानिस मुक्त हुनजान्छन् । ब्रह्म विद्याको अर्थ पनि त्यही हो ।
पेटलाई भोक लाग्दैन तर मलाई खाने मन छैन भनिन्छ । मनद्वारा भित्र बसेको ‘म’ लाई भोक लाग्छ । इन्द्रियहरुको मालिक मन हो तर मन पनि वास्तविक मालिक होइन । मनद्वारा जसले हेरें भन्ने अनुभव गर्छ, मनद्वारा जसले खाएँ भन्ने अनुभव गर्छ, त्यो वास्तविक मालिक हो । जति कृत्य छन् ती सबै प्रकृति हुन् । र त्यो प्रकृतिले जसका लागि काम गर्छ, त्यो नै पुरुष हो । पुरुष अर्थात् पुरमा निवास गर्ने । यस शरीरको वास्तविक स्वामी । जो साक्षी, सुहृद्, भर्ता, भोक्ता, महेश्वर सबै हो । यो ज्ञान नै ज्ञानमा सबभन्दा उत्तम हो ।
सबै डुङ्गा श्रेष्ठ छन् तर त्यो डुङ्गा विशेष श्रेष्ठ हुन्छ, जसले हामीलाई पारी पुर्याउँछ । त्यो डुङ्गा सानो होस् वा ठूलो, नयाँ होस् वा पुरानो त्यसले कुनै अन्तर पर्दैन किनभने मुख्य उद्देश्य हो पारी जानु । त्यसै गरी सबै ज्ञान श्रेष्ठ छ तर जुन ज्ञानले मुक्त गर्छ त्यो श्रेष्ठ ज्ञान हो ।
इदं ज्ञानमुपाश्रित्य मम साधर्म्यमागताः ।
सर्गेsपि नोपजायन्ते प्रलये न व्यथन्ति च ।।२ ।।
पदच्छेद र शब्दार्थ–
[सम्पादन गर्नुहोस्]इदम् ज्ञानम् (यस ज्ञानलाई) उप आश्रित्य (आश्रय लिएर) मम (मेरो) साधम्र्यम् (स्वरुपलाई) आगताः (प्राप्त गरेकाहरु) सर्गेः (सृष्टिकालमा) अपि (पनि) न उपजायन्ते (उत्पन्न हुँदैनन्) प्रलये (प्रलयमा) न व्यथन्ति (व्याकुल हुँदैनन्) च (तथा) ।
यस ज्ञानको आश्रय गरेर मेरो स्वरुपलाई प्राप्त गरेकाहरु सृष्टिको सुरुमा उत्पन्न हुँदैनन् तथा प्रलयकालमा व्याकुल हुँदैनन् ।। २ ।।
व्याख्या
[सम्पादन गर्नुहोस्]जसले यो उत्तम ज्ञान जान्दछ त्यो म जस्तै गुण, चरित्र, विशेषताको भइदिन्छ । उपनिषद्को भाषामा भन्ने हो भने– जसले ब्रह्म जान्दछ ऊ ब्रह्म नै भइदिन्छ । जसरी चुम्बकको नजीकमा आएको फलाम पनि चुम्बक भइदिन्छ त्यसै गरी ब्रह्मको नजीक आएको मानिस ब्रह्मवित् वा ब्रह्म भइदिन्छ । ब्रह्मको यो अनौठो नियम हो ।
मान्दा बित्तिकै र बुझ्ना साथ स्वतः प्राप्त हुन्छ । जसरी विवाहका दिनमा सिन्दुर राखिएकी कन्यालाई कन्यादान गर्नासाथ पतिको घर र सम्पत्ति कन्याको भइदिन्छ । त्यसै गरी ब्रह्म जान्ना साथ ब्रह्मको सबै सत्ता प्राप्त हुन्छ । राजाले जुन सन्तानलाई उत्तराधिकारी घोषणा गर्छ, यो थाहा पाउना साथ राज्य उसको भए जस्तै ब्रह्मको ज्ञान हुनासाथ ब्रह्मको सत्ता उपलब्ध हुन्छ । जसले ब्रह्म जान्यो ऊ सृष्टिको सुरुमा उत्पन्न हुँदैन भने प्रलयकालमा आत्तिँदैन । यसको अर्थ हो जन्म मरणको चक्रबाट एकदम मुक्त रहन्छ ।
मम योनिर्महद्ब्रह्म तस्मिन्गर्भं दधाम्यहम् ।
सम्भवः सर्वभूतानां ततो भवति भारत ।। ३ ।।
पदच्छेद र शब्दार्थ–
[सम्पादन गर्नुहोस्]भारत (हे भारत) महत् ब्रह्म (मूल प्रकृति) मम (मेरो) योनिः (गर्भस्थान हो) अहम् (मैले) तस्मिन् (त्यसमा) गर्भम् (गर्भ, सृष्टि) दधामि (स्थापन गर्छु) ततः (त्यसबाट) सर्वभूतानाम् (सबै प्राणीहरुको) सम्भवः (उत्पत्ति) भवति (हुन्छ) ।
हे भारत, महत्– ब्रह्मरुप अर्थात् मूलप्रकृति मेरै योनि (गर्भस्थान) हो । मैले त्यसमा गर्भ धारण गर्छु । अनि त्यसबाट समग्र चराचर जगत्को उत्पत्ति हुन्छ ।।३।।
सर्वयोनिषु कौन्तेय मूर्तयः सम्भवन्ति याः ।
तासां ब्रह्म महद्योनिरहं बीजप्रदः पिता ।। ४ ।।
पदच्छेद र शब्दार्थ–
[सम्पादन गर्नुहोस्]कौन्तेय (हे कुन्ती पुत्र, अर्जुन) सर्वयोनिषु (सबै प्रकारका योनिहरुमा) मूर्तयः (प्राणीहरु) याः (जति पनि) सम्भवन्ति (उत्पन्न हुन्छन्) तासाम् (ती सबैको) योनिः (गर्भधारक, माता) ब्रह्म महद् (मूल प्रकृति) अहम् (म) बीजप्रदः (बीज दिने) पिता (पिता हूँ)।
हे कौन्तेय, सबै प्रकारका योनि (मानिस, पशु, पक्षी आदि) को रुपमा जति प्राणीहरु उत्पन्न हुन्छन् । ती सबैको गर्भधारण गर्ने माता प्रकृति हो । म बीजदिने पिता हुँ ।। ४ ।।
व्याख्या
[सम्पादन गर्नुहोस्]प्राणीमा चेतना कसरी उत्पन्न हुन्छ ? यसको व्याख्या गर्दै गीतामा भनिएको छ– ‘सम्पूर्ण प्राणीहरुको योनि मूल प्रकृति हो अर्थात् सम्पूर्ण भूतहरुको गर्भस्थान नै प्रकृति हो । म त्यसमा चेतनरुपी बीज स्थापित गर्छु । त्यस जड चेतनको संयोगबाट सबै भूतप्राणीहरुको उत्पत्ति हुन्छ । मेरो प्रकृति आमा हो । म नै बीज स्थापित गर्ने पिता हूँ ।’
अरु कोही न माता हो न पिता । जबसम्म जड चेतनको संयोग रहने छ, जन्म हुँदै रहनेछ। अरु सब निमित्त मात्र हुने छन् ।
एक पटक अकबरले बीरबललाई सोधे– ‘बीरबल धरतीलाई माता किन भनिन्छ ?’
बीरबल– ‘सबै कुरा धरतीको गर्भबाट उत्पत्ति हुनाले यो माता हो ।’
अकबर– ‘त्यसो भए यसको बीज के हो ?’
बीरबलले नजिकैको गीलो माटो समातेर मुठीमा निचोरेर पानी चुहाउँदै भने– ‘सरकार, यो माटो भित्र चुहिएको पानी देख्नु भयो, यही हो धरतीको गर्भको बीज ।’
प्रकृति पानी हो । ब्रह्म सूर्य हो । स्थिर पानीमा जब वीर्यरुपी छाया पर्छ अनि सृष्टि आभासित हुन्छ । परमात्मा पुरुष बीज दिने पिता हो र प्रकृति योनि हो ।
यु र नि धातु मिलेर योनि शब्द बनेको छ । यु को अर्थ हो जोड्नु, सम्मिलित हुनु । जब दुई पिण्ड नजिक हुन्छन् तिनीहरुमा आकर्षण उत्पन्न हुन्छ । घुएँत्रो घुमाउँदा शक्ति उत्पन्न हुन्छ । गति उत्पन्न हुन्छ यसबाट ढुङ्गा जस्तो गतिहीन वस्तु पनि गतिमान भएर लक्ष्यमा पुग्छ । गर्भमा जब रज र वीर्य मिल्छन् त्यसमा जीवन पैदा हुन्छ ।
तर भगवान् श्रीकृष्णले स्पष्ट भन्नु भएको छ– योनि पनि मेरो महत् प्रकृति हो र बीज पनि मेरै हो । सामान्यतया हामीले भाले प्राणी र पोथी प्राणी दुई अलग प्राणी हुन् भन्ने बुझ्छौं । तर जसलाई गँड्यौलाको जीवन चक्र थाहा छ उनीहरुले के कुरा राम्रो गरी जानेका हुन्छन् भने गँड्यौला भित्र भाले र पोथी दुवै हुन्छन् ।
सम्पूर्ण सृष्टिका दृष्टिले परमात्मा नै बीज हो र परमात्मा नै गर्भ हो । अन्तर गर्नका लागि मात्र परमात्माको प्रकृति भनिएको हो । गृ र भन् मिलेर गर्भ बन्छ । यसको अर्थ हो सबभन्दा भित्रको सुरक्षित स्थान, अण्डा । गर्भाशयमा गर्भ विकसित हुन्छ । फर्सी इत्यादिका पोथी फूलको अध्ययन गरेर गर्भको विकास कसरी हुन्छ त्यो देख्न सकिन्छ ।
प्रायः फूलहरुमा भाले फूल र पोथी फूल नजीकै वा एकै स्थानमा हुन्छन् । भाले फूलबाट बीजाणु पोथी फूलका स्त्रीकेशर भागमा खस्छन् । यसका लागि प्रकृतिले एउटा व्यवस्था मिलाएको हुन्छ । पुतली, माहुरी, भमरा, वा साना चराले त्यो काम सम्पन्न गर्छन् । कहिलेकाहीं हावाले हल्लाएर पनि बीजलाई गर्भमा स्थापित गराउन मद्दत गर्छ । जस्तो मकैका माथिको फूल भाले हो भने मकैको जुंगा पोथी फूलको स्त्री केशर भाग हो । मकैको घोंगा त्यसको गर्भाशय हो । धानचमरबाट बीजाणु खसेर जुँगाको बाटो हुंदै गर्भ विकसित हुन्छ र मकै बन्छ ।
जिब्रेफुल जस्ता केही फूलहरुमा त बीजाणु बढेर कसरी गर्भमा प्रवेश गर्छ त्यो समेत प्रष्ट देख्न सकिन्छ । फर्सिको कैंडा नै त्यो गर्भाशय हो जुन भविष्यमा फल बन्छ । यस भित्र बीज सुरक्षित रहन्छ । गीतामा सृष्टिका यसै कुराको व्याख्या गरिएको छ । यो नियम त्यस सम्पूर्ण सृष्टिमा लागू हुन्छ जसलाई अण्डज वा जरायुज भनिन्छ ।
प्रकृति र पुरुषको संयोगद्वारा सृष्टि विस्तारको उदाहरणलाई बुनाईका काँटी र ऊनसंग तुलना गर्न सकिन्छ । काँटी नभई ऊनी वस्त्र बनाउन सकिंदैन । तर त्यो काँटी त्यसमा कतै लिप्त हुँदैन, अलग रहन्छ । तथापि सृष्टि गर्ने काँटी हो ऊन होइन । त्यसैले ऊन प्रकृति हो ।
सृष्टिको जुन विस्तार देखिन्छ, त्यो कुनै यस्तो ठाउँबाट हुन्छ, जसमा यी सबै सम्भावना हुन्छन् । शून्यबाट केही प्राप्त हुँदैन तर अनन्तबाट सबै कुरा प्राप्त हुन्छ । त्यसैले यी दुई श्लोकमा सृष्टिको विस्तार भनेको प्रकृतिलाई बताइएको छ । प्रकृतिको अर्थ साङ्ख्य दर्शनमा भावी सम्भावना भएको कुरा हो । जसलाई यस श्लोकमा योनि शब्द प्रयोग गरिएको छ ।
सत्त्वं रजस्तम इति गुणाः प्रकृतिसम्भवाः ।
निबध्नन्ति महाबाहो देहे देहिनमव्ययम् ।।५ ।।
पदच्छेद र शब्दार्थ–
[सम्पादन गर्नुहोस्]महाबाहो (हे महाबाहु) सत्त्वम् रज ः तमः (सत्त्व, रज र तम) इति (यी) गुणाः (गुणहरु) प्रकृतिसम्भवाः (प्रकृतिबाट उत्पन्न हुन्छन्) देहे (देहमा) अव्ययम् (अविनाशी) देहिनम् (देही, आत्मा) निबध्नन्ति (बाँधिदिन्छन्) ।
हे महाबाहु, प्रकृतिबाट उत्पन्न भएका सत्त्व, रज र तम यी तीन गुणहरुले यस देहमा रहेको अविनाशी देही लाई अविनाशी देहीलाई देहमा शरीरमा बाँधिदिन्छन् ।। ५ ।।
तत्र सत्त्वं निर्मलत्वात्प्रकाशकमनामयम् ।
सुखसङ्गेन बध्नाति ज्ञानसङ्गेन चानघ ।।६ ।।
पदच्छेद र शब्दार्थ–
[सम्पादन गर्नुहोस्]अनघ (हे निष्पाप, अर्जुन) तत्र (त्यस तीन गुणमा) सत्त्वम् (सत्त्व गुण) निर्मलत्वात् (निर्मल भएकोले) प्रकाशकम् (प्रकाश दिने) अनामयम् (दोषरहित भनिन्छ), सुखसङ्गेन (सुखका साथमा) च (तथा) ज्ञानसङ्गेन (ज्ञानका साथ) बध्नाति (बाँधिदिन्छ) ।
हे निष्पाप अर्जुन, तीन गुणमध्ये सत्त्व गुणलाई निर्मल भएकाले प्रकाश गराउने र दोषरहित भनिन्छ । यसले सुख र ज्ञानका साथमा प्राणीलाई बाँधिदिन्छ ।।६।।
रजो रागात्मकं विद्धि तृष्णासंगसमुद्भवम् ।
तन्निबध्नाति कौन्तेय कर्मसंगेन देहिनम् ।। ७ ।।
पदच्छेद र शब्दार्थ–
[सम्पादन गर्नुहोस्]कौन्तेय (हे कुन्ती पुत्र, अर्जुन) रजः (रजोगुण) रागात्मकं (राग दिने) विद्धि (जान) तृष्णा (कामना, अप्राप्तलाई प्राप्त गर्ने इच्छा) संग (आसक्तिबाट) समुद्भवम् (उत्पन्न) तत् (त्यसलाई) कर्मसंगेन (कर्मको आसक्तिका साथ) देहिनम् (प्राणीलाई) निबध्नाति (बाँधिदिन्छ) ।
हे कौन्तेय, रजोगुण रागात्मक हुन्छ, यसबाट तृष्णा र आसक्ति उत्पन्न हुन्छ । यसले प्राणीलाई कर्म गर्ने आसक्तिसँग बाँधिदिन्छ ।। ७ ।।
तमस्त्वज्ञानजं विद्धि मोहनं सर्वदेहिनाम् ।
प्रमादालस्यनिद्राभिस्तन्निबध्नाति भारत ।। ८ ।।
पदच्छेद र शब्दार्थ–
[सम्पादन गर्नुहोस्]भारत (हे भारत), तु (तर) तमः (तमोगुण) अज्ञानजम् (अज्ञानबाट जन्मेको) विद्धि (जान) मोहनम् (मोहित गर्ने) सर्वदेहिनाम् (सबै देहीहरुलाई) प्रमाद (व्यर्थ चेष्टा, लापरवाही) आलस्य (सार्थक चेष्टामा मन नलाग्नु) निद्राभिः (निद्राद्वारा) तत् (त्यसलाई) निबध्नाति (बाँधिदिन्छ) ।
हे भारत, तर तमोगुण अज्ञानले उत्पन्न हुन्छ, यसले प्राणीहरुलाई मोहित गरेर प्रमाद, आलस्य र निद्रामा बाँधिदिन्छ ।।८।।
सत्त्वं सुखे सञ्जयति रजः कर्मणि भारत ।
ज्ञानमावृत्य तु तमः प्रमादे सञ्जयत्युत ।।९।।
पदच्छेद र शब्दार्थ–
[सम्पादन गर्नुहोस्]भारत (हे भारत) सत्त्वम् (सत्त्वगुणले) सुखे (सुख) सञ्जयति (जोड्छ) रजः (रजोगुणले) कर्मणि (कर्ममा) ज्ञानम् (ज्ञान) आवृत्य (ढाकेर) तु (तर) उत (अनि) तमः (तमले) प्रमादे (प्रमाद, आलस्यमा) सञ्जयति (जोड्छ, लगाउँछ) ।
हे भारत, सत्त्वगुणले सुखमा र रजोगुणले कर्ममा आसक्ति उत्पन्न गर्छ । तर तमोगुणले ज्ञानलाई ढाकेर तमोगुणले ज्ञानलाई ढाकेर प्रमाद र आलस्यमा लगाउँछ ।।९।।
सत्त्वं सुखे सञ्जयति रजः कर्मणि भारत ।
ज्ञानमावृत्य तु तमः प्रमादे सञ्जयत्युत ।।९।।
पदच्छेद र शब्दार्थ–
[सम्पादन गर्नुहोस्]भारत (हे भारत) सत्त्वम् (सत्त्वगुणले) सुखे (सुख) सञ्जयति (जोड्छ) रजः (रजोगुणले) कर्मणि (कर्ममा) ज्ञानम् (ज्ञान) आवृत्य (ढाकेर) तु (तर) उत (अनि) तमः (तमले) प्रमादे (प्रमादमा) सञ्जयति (जोड्छ, लगाउँछ) ।
हे भारत, सत्त्वगुणले सुखमा र रजोगुणले कर्ममा आसक्ति उत्पन्न गर्छ । तर तमोगुणले ज्ञानलाई ढाकेर तमोगुणले ज्ञानलाई ढाकेर प्रमाद र आलस्यमा लगाउँछ ।।९।।
व्याख्या
[सम्पादन गर्नुहोस्]सतको अर्थ हुन्छ– हुनु, अस्तित्व, ग्रहण गर्नेशक्ति वा उज्यालो । रजस् रञ्ज धातुबाट बनेको छ जसको अर्थ हुन्छ सन्तुष्ट हुनु, खुशी हुनु, प्रेम गर्नु ।
साङ्ख्य दर्शनमा रजसको अर्थ हुन्छ सक्रियता । तमसको अर्थ हुन्छ अन्धकार, अज्ञान, निष्क्रियता वा जडता । भौतिक विज्ञानको भाषामा यसलाई जडत्व (इनर्सिया) भनिन्छ । तमसको मूल धातु हो– तम् । जसको अर्थ हुन्छ दुखी वा बेचैन ।
गुणको एउटा अर्थ हुन्छ बन्धन, डोरी । त्यसैले प्रत्येक गुण, सतोगुण समेत, बन्धनकारक हुन्छ ।
तीनवटै गुण सक्रिय रहे पनि प्रतिस्पर्धामा कुनै एक गुण अलि बढी हुन्छ । कुन गुणको प्रधानता छ यस कुरालाई चिन्ने तरिका बताउँदै भनिएको छ– जुन बेला शरीर, अन्तःकरण तथा सम्पूर्ण इन्द्रियहरुमा ईश्वरीय प्रकाश र विवेकशक्ति उत्पन्न हुन्छ, त्यस समयमा के जान्नु पर्दछ भने सत्त्वगुणले विशेष वृद्धि प्राप्त गरेको छ । जुनबेला रजोगुण बढछ लोभ, क्रियाशीलता, बेचैनी, र स्पृहा उत्पन्न हुन्छन् ।
तमोगुण बढ्दा मूर्खता, आलस्य, लापरवाही, र मोहका प्रवृत्ति विकसित हुन्छन् । आलस्य र विश्राममा अन्तर हुन्छ । श्रमको विपरीत अवस्था हो विश्राम । तर जुन अवस्थामा अनावश्यक लामो विश्राम गरिन्छ, त्यसलाई आलस्य भनिन्छ ।
गृहस्थ जीवनमा पनि सात्त्विक, राजस् र तामस् गुणको विकासलाई चिन्न सकिन्छ । अतिथि सत्कार, दान, धर्म, स्वच्छता आदि गृहस्थको सात्त्विक गुण हो । अनावश्यक तामझाम, देखावटी काम, महँगा लुगा, महँगा गहना गृहस्थको रजोगुण हो भने फोहरी रहनु, अतिथि सत्कारमा आलस्य, प्रमाद गर्नु गृहस्थको तमोगुण हो ।
भक्तिमा पनि सत्त्व, रज, र तम गुणको प्रभाव हुन्छ । जुन भक्ति ईश्वर आराधनाका लागि गरिन्छ भने त्यो सत्त्व गुण हो । यदि भक्ति अरुलाई देखाउन गरिन्छ भने रजोगुण हुन्छ । रजो गुणी भक्तिमा आरती गर्दा सबैलाई सुनाउने मनशाय राखेर चर्को स्वरमा, यस्तै घण्टी बजाउँदा अरुले सुनुन् भनेर बजाउने प्रवृत्ति हुन्छ । जुन भक्तिमा बलि चढाएर देवीलाई खुशी पार्न सकिन्छ भन्ने प्रबल विश्वास राखेर हिंसक कृत्य गरिन्छ, त्यो तमोगुणी भक्ति हो ।
रामकृष्ण परमहंसले भक्तिको सतोगुण, रजोगुण र तमोगुणको उदाहरण दिंदै भनेका छन्– जब भक्ति गुप्त रुपले गरिन्छ, त्यो भक्तिको सतोगुण हो । ठूलो टीको लगाउनु, माला भिर्नु, राम्रा वस्त्र लगाएर ठाट बाटले पूजा गर्नु रजोगुण हो । तमोगुणी भक्तले जबरजस्ती गर्छ– खै मलाई ? मैले यति पूजा र भक्ति गरें तर अझै पनि पापी छु ।’
रजस्तमश्चाभिभूय सत्त्वं भवति भारत ।
रजः सत्त्वं तमश्चैव तमः सत्त्वं रजस्तथा ।।१०।।
पदच्छेद र शब्दार्थ–
[सम्पादन गर्नुहोस्]भारत (हे भारत) रजः (रजोगुण) च (र) तमः (तमोगुण) अभिभूय (दबाएर, उछिनेर) सत्त्वम् (सत्त्वगुण) रजः (रजोगुण) सत्त्वम् (सत्त्वगुण) च (अनि) तमः (तमोगुण) एव (नै) तमः सत्त्वम् (तमोगुण र सत्त्वगुण उछिनेर) रजः तथा (अनि रजोगुण) भवति (हुन्छ) ।
हे भारत, रज र तमलाई उछिनेर सत्त्वगुण बढेर आउँछ, सत्त्व र तमलाई उछिनेर रजोगुण बढेर आउँछ, अनि यसै गरी सत्त्व र रजलाई उछिनेर तमोगुण बढेर आउँछ ।।१०।।
व्याख्या
[सम्पादन गर्नुहोस्]साङ्ख्य दर्शन अनुसार तीनगुण सन्तुलनमा हुँदा सृष्टि हुँदैन । यस सन्तुलनलाई दर्शनको भाषामा प्रलय (पूर्ण सन्तुलन) भनिन्छ । सृष्टि हुनका लागि तीन गुणमा प्रतिस्पर्धात्मक गति चाहिन्छ । यसको अर्थ के हो भने कहिले सत्त्वगुण बढ्नु पर्छ, कहिले रजो गुण र कहिले तमोगुण बढ्नु पर्छ । सृष्टिको प्रारम्भ नै यसै गरी भएको हो ।
सत्त्वगुणको प्रधानताले बुद्धि तत्त्व (महत्तत्त्व) उत्पन्न हुन्छ । बुद्धिको रजोगुणबाट अहङ्कार तथा तमस् अहङ्कारबाट शब्दादि तन्मात्रा उत्पन्न हुन्छ । यस पछि स्थूलभूतको रुपमा शब्द गुणयुक्त आकाशको उत्पत्ति हुन्छ ।
शब्द तन्मात्रायुक्त आकाश तमस् अहङ्कारले व्याप्त भएकोले स्पर्श तन्मात्रा (स्पर्श र शब्द गुणको) वायु उत्पन्न हुन्छ । शब्द र स्पर्श दुवै तन्मात्राको संयोगले रुप तन्मात्रा (रुप, स्पर्श, शब्द गुणको) तेज उत्पन्न हुन्छ । तेज स्पर्श तन्मात्राबाट आवृत्त हुन्छ । त्यसैले आकाश, वायु र तेजको संयोगले रस तन्मात्रा (रस, रुप , स्पर्श र शब्द गुणको) जल उत्पन्न हुन्छ । रस तन्मात्रा तेजद्वारा आवृत्त हुन्छ । त्यसैले यी सबैको मिश्रणले आकाश, वायु, तेज र जलको संयोगले गन्ध तन्मात्रा (गन्ध, रस, रुप, स्पर्श र शब्द गुणयुक्त) भूमिको उत्पत्ति भयो ।
सृष्टिलाई सञ्चालन गर्न सत्त्वले रज र तमलाई, रजले तम र सत्त्वलाई र तमले सत्त्व र रजलाई उछिनेर अगाडि बढ्छ । साहित्यमा भक्ति रस र शृङ्गार रसको लहर चलेको देख्छौं, अर्थव्यवस्थामा मन्दी र समृद्धिका चक्र चलेको देख्छौं, समाजमा युद्ध र शान्तिका लहर चलेको देख्छौं । यो सबै प्रकृतिका तीन गुणको प्रभाव हो ।
तमोगुणको प्रधानता हुँदा समाज निष्क्रिय देखिन्छ । रजोगुण प्रधान हुँदा समाजको क्रियाशीलता बढ्छ, नयाँ आविष्कार हुन्छन्, आर्थिक र भौतिक उन्नति हुन्छ । सत्त्व गुण प्रधान हुँदा कला र साहित्यको निर्माण हुन्छ, समाजमा शान्ति हुन्छ ।
समय अनुसार पनि तीन गुणको पनि सम्बन्ध हुन्छ । राति निद्रा पर्ने समयमा व्यक्तिमा तमोगुण क्रियाशील हुन्छ । प्रातः कालमा, सत्संगमा बस्दा सतोगुण र आफ्नो काममा व्यस्त हुँदा रजोगुण बढ्छ । सृष्टिको निरन्तरताका लागि तीन गुणको गतिमा प्रतिस्पर्धा भइरहनु पर्छ ।
यी तीन गुणको प्रभावले के कस्ता गुणहरु विकास हुन्छन् यो कुरा आउने श्लोकहरुमा बताइएको छ ।
सर्वद्वारेषु देहेऽस्मिन्प्रकाश उपजायते ।
ज्ञानं यदा तदा विद्याद्विवृद्धं सत्त्वमित्युत ।।११ ।।
पदच्छेद र शब्दार्थ–
[सम्पादन गर्नुहोस्]यदा (जब) अस्मिन् (यस) देहे (शरीरका) सर्वद्वारेषु (सबै द्वार, इन्द्रियहरुमा) प्रकाश (प्रकाश) ज्ञानम् (ज्ञान) उपजायते (उत्पन्न हुन्छ) तदा (त्यसबेला) सत्त्वम् (सत्त्व गुण) इति (यस प्रकार) उत (भनी) विवृद्धम् (बढेको) विद्याद् (जान्नु पर्छ)।
जब यस शरीरका सबै द्वारहरुमा अर्थात् इन्द्रिय र अन्तःकरणमा प्रकाश र ज्ञान उत्पन्न हुन्छ, त्यसबेला सत्त्वगुण विशेष बढेको छ भनी जान्नु पर्दछ ।। ११ ।।
लोभः प्रवृत्तिरारम्भः कर्मणामशमः स्पृहा ।
रजस्येतानि जायन्ते विवृद्धे भरतर्षभ ।।१२।।
पदच्छेद र शब्दार्थ–
[सम्पादन गर्नुहोस्]भरतर्षभ (हे भरतश्रेष्ठ), रजस्य (रजोगुणको) विवृद्धे (बढ्छ) लोभः (लोभ) प्रवृत्तिः (कर्मको प्रवृत्ति, सक्रियता) आरम्भः (सुरु हुन्छ) कर्मणाम् (कर्महरुमा) अशमः (अशान्ति, छटपटी) स्पृहा (स्पृहा, इच्छा) एतानि (यो सब) जायन्ते (उत्पन्न हुन्छन्) ।
हे भरतर्षभ, जुनबेला रजोगुण बढ्छ, त्यस बेला लोभ, सक्रियता आरम्भ हुन्छ फलस्वरुप छटपटी, अतृप्ति इच्छा उत्पन्न हुन्छन् ।।१२।।
अप्रकाशो अप्रवृत्तिश्च प्रमादो मोह एव च ।
तमस्येतानि जायन्ते विवृद्धे कुरुनन्दन ।।१३।।
पदच्छेद र शब्दार्थ–
[सम्पादन गर्नुहोस्]कुरुनन्दन (हे कुरुनन्दन) च (तथा) तमस्य (तमोगुणको) विवृद्धे (वृद्धि हुँदा) अप्रकाशः (प्रकाशको अभाव, अज्ञान) अप्रवृत्तिः (केही नगर्ने प्रवृत्ति) च (तथा) प्रमादः (प्रमाद, लापरवाही) एव (अनि) मोह (मोह) एतानि (यो सब) जायन्ते (उत्पन्न हुन्छ)।
हे कुरुनन्दन, जुनबेला तमोगुणको वृद्धि हुँदा, अज्ञान, कुनै काम गर्न मन नलाग्ने, प्रमाद र मोह उत्पन्न हुन्छन् ।।१३।।
व्याख्या
[सम्पादन गर्नुहोस्]सत्त्व, रज र तम प्रकृतिका रसायन उपादान हुन् । सृष्टि गतिमान हुन यी तीनवटा उपादानको आवश्यकता पर्छ । तर सबै गुण एकै समयमा प्रधान हुँदैनन् । कुन गुणको प्रधानताले कुन प्रभाव पर्छ सो कुरा यहाँ स्पष्ट गरिएको छ ।
सत्त्वगुणले ज्ञान, रजोगुणले सक्रियता र तमोगुणले अज्ञान बढ्छ । गुण अनुसार मानिसमा कर्म गर्ने प्रवृत्ति उत्पन्न हुन्छ र सो अनुसार मानिसले कर्म गर्छ ।
ज्ञान उत्पन्न हुनु सत्त्व गुण, लोभ र अतृप्ति उत्पन्न हुनु रजोगुण तथा आलस्य र मोह उत्पन्न हुनु तमोगुण बढेको लक्षण हो । त्यसैले रजोगुणले स्वार्थ प्रेरित कर्म गर्ने इच्छा हुन्छ। तमोगुणले केही पनि गर्न इच्छा हुँदैन । सत्त्वगुणले परोपकारी कर्ममा प्रेरणा हुन्छ ।
एउटा चोरलाई पुलिसले लखेटेछन् । दगुर्दै जाँदा उसले एउटा मन्दिर देख्यो । त्यस भित्र साधुका कपडा लगाएर माला जप्न थाल्यो । चोरलाई खोज्दै आएका पुलिसले चोर भेटाएनन् तर मन्दिरमा एउटा माला जप्ने साधुलाई देखे । सबैले उसलाई श्रद्धापूर्वक प्रणाम गरे र उसलाई कुनै चोर देखेको नदेखेको कुरा सोध्न खोजे । तर आँखा बन्द गरेर माला जप्ने साधुलाई देखेर उनीहरु त्यहाँबाट फर्के ।
चोरलाई बडो आश्चर्य भयो । नक्कली साधु बनेर बस्दा उनीहरुले नै सम्मान गरे जसले उसलाई हतकडी लगाउन आएका थिए । अचानक ज्ञान उत्पन्न भयो । उसले नक्कली होइन असली साधु हुने फैसला गर्यो ।
पढाईमा अल्छी पाणिनीले शिक्षा दिने आचार्यहरुमा पढाउने गुण नभएको ठानी असन्तुष्ट बनेर इनारमा मनमनै कुरा खेलाइरहेका थिए । पानी भर्ने पनेर्नीहरुलाई सोधे- इनारको डीलको ढुङ्गामा त्यो खाल्डो कसले बनाएको हो ?
पनेर्नीहरुले भने– कसैले होइन । आफैं खाडल परेको हो,पानी तान्ने जिउरोले घोटिएर !
यस वाक्यले पाणिनीलाई प्रकाश र ज्ञान प्राप्त भयो– नरम जिउरोले त्यति साह्रो ढुंगा घोटिन सक्छ भने मैले मेहनत गरे आफैं सिक्न सक्छु । यसमा गुरुको दोष छैन । पढाईमा पनि त्यसै गरी घोटिएर लाग्नु पर्छ ।
गुरुसँगको असन्तुष्टि हरायो । आफ्नो परिश्रमको शक्ति थाहा भयो । फर्केर श्रद्धापूर्वक पढ्न थाले । यस पछि उनले बेजोड कृति रचना गरे, अष्टाध्यायी ।
यदा सत्त्वे प्रवृद्धे तु प्रलयं याति देहभृत् ।
तदोत्तमविदां लोकानमलान्प्रतिपद्यते ।। १४।।
पदच्छेद र शब्दार्थ–
[सम्पादन गर्नुहोस्]तु (तर) यदा (जब) सत्त्वे प्रवृद्धे (सत्त्व बढेको समयमा) देहभृत् (देहधारी मानिसको) प्रलयं याति (मृत्यु हुन्छ) तदा (त्यस बेला) उत्तमविदाम् (उत्तम तत्त्व जान्ने) अमलान् (निर्मल, स्वर्ग) लोकान् (लोक) प्रतिपद्यते (प्राप्त हुन्छन्) ।
तर जब सत्त्वगुण वृद्धि हुँदा मानिसको मृत्यु भएमा त्यसबेला उत्तम तत्त्व जान्ने निर्मल लोकहरु त्यसलाई प्राप्त हुन्छन् ।। १४ ।।
रजसि प्रलयं गत्वा कर्मसंगिषु जायते ।
तथा प्रलीनस्तमसि मूढयोनिषु जायते ।। १५ ।।
पदच्छेद र शब्दार्थ–
[सम्पादन गर्नुहोस्]रजसि (रजोगुणमा) प्रलयम् गत्वा (मृत्यु भएमा) कर्मसंगिषु (कर्ममा आासक्त भएको मानिस) जायते (सोहीमा जन्म लिन्छ) तथा (तथा) तमसि (तमोगुणमा) प्रलीनः (मृत्यु हुँदा) मूढयोनिषु (मूढयोनिमा) जायते (जन्म लिन्छ) ।
रजोगुण वृद्धि भएको मानिसको मृत्यु हुँदा जुन कर्ममा आसक्ति हुन्छ सोहीमा जन्म हुन्छ तथा तमोगुण वृद्धि हुँदा मृत्यु हुने मूढ (पशु, पक्षी) योनिमा जन्म लिन्छ ।।१५।।
व्याख्या
[सम्पादन गर्नुहोस्]गुणले गर्दा मानिसको बुद्धि कतिसम्म भ्रष्ट हुनसक्छ, यसको कल्पना पनि गर्न सकिँदैन । एउटा प्रसिद्ध कथा छ । एउटी विधवा आमाले आफ्नो पुष्लार्य प्रेमपूर्वक हुर्काई । जवान भए पछि छोरा संगतको प्रभावले कुनै स्त्रीमाथि आसक्त हुन पुग्यो । उसले युवकलाई के शर्त राखी भने त्यस स्त्रीलाई प्राप्त गर्न छ भने आमालाई मारेर उसको मुटु ल्याएर देखाउनु पर्छ । युवकले आफ्नी आमालाई मारेर उसको मुटु निकालेर स्त्रीलाई देखाउन रातिमा हिँड्यो । अँध्यारोमा ढुंगोमा ठेस लाग्दा युवकका मुखबाट निस्केछ अइया । यो सुनेर आमाको मुटुले आत्तिएर भन्यो बाबु खुट्टामा चोट लाग्यो कि, अलि राम्ररी हिँड । यति मायाँ गर्ने आमालाई मारेर मुटु निकाल्ने दुर्बुद्धि तमसिक गुणले दिन्छ ।
कर्मणः सुकृतस्याहु ः सात्विकं निर्मलं फलम् ।
रजसस्तु फलं दुःखमज्ञानं तमसः फलम् ।। १६ ।।
पदच्छेद र शब्दार्थ–
[सम्पादन गर्नुहोस्]सुकृतः (श्रेष्ठ, पुण्य) कर्मणः (कर्मको) फलम् (फल, परिणाम) सात्विकम् (सात्त्विक अर्थात् सुख, ज्ञान, वैराग्य इत्यादि) निर्मलम् (निर्मल) रजसः (राजस कर्मको) फलम् (फल) तु (तर) तमसः (तामस कर्मको) फलम् (फल) दुःखम् (दुख) अज्ञानम् (अज्ञान) आहुः (भनिएको छ) ।
श्रेष्ठ कर्मको फल सात्त्विक र निर्मल हुन्छ, राजस् कर्मको फल दुख हुन्छ तर तामस् कर्मको फल अज्ञान हुन्छ भनी बताइएको छ ।।१६।।
व्याख्या
[सम्पादन गर्नुहोस्]मृत्युको समयमा यी गुणहरुको उपस्थितिले भावी जीवन प्रभावित हुन्छ ।
सत्त्व गुण बढेको समयमा मरेका मानिसहरु स्वर्गलोक, तामस् गुण बढेको समयमा मरेका मानिसहरु पशु आदि मूढ योनि र राजस् गुण बढेका बेलामा मर्नेहरु आसक्ति अनुसार मनुष्यलोकमा जन्म लिन्छन् ।
राजस कर्मको फल छटपटी हो । तामस् कर्मको फल मोह र अज्ञान हो।
सन्त एकनाथ आफ्ना शिष्यहरुका साथ तीर्थाटनका लागि जाने तयारी गरिरहेको समयमा एउटा चोर आएर अनुरोध गर्यो– म पनि तपाईंसंग तीर्थ गर्छु । तपाईंको संगतले मैले ज्ञान गुन सिक्न पाएको छु । यो मौका मलाई जुटाइदिनु होस् ।
एकनाथले उसलाई चिनेका थिए । भने– तिमीले तीर्थ यात्रुसँग केही बिठ्याईं गर्छौ कि ?
चोरले भन्यो– महाराज, मैले पुरानो काम छोडेको छु । तपाईंको संगतले म परिवर्तन भइसकेको छु ।
एकनाथले अनुशासित रहेर तीर्थयात्रा गर्न स्वीकृति दिए ।
दुई तीनदिन सबै ठीकठाक रह्यो । त्यस पछि तीर्थयात्रामा गडबडी सुरु भयो ।
बिहान उठ्दा मानिसहरुका सामान आफ्ना ठाउँमा फेला पर्दैनथे । एउटाको कपडा अर्काको कुटुरा भित्र फेला पर्दथे । एउटाको पैसा अर्काको थैलीमा ।
यात्रुहरु परेशान हुन थाले । सन्त एकनाथले बुझेनन् किन यस्ता घटना घटिरहेका छन् ।
उनी एक रात जागा बसे । आँखा चिम्लेर सुतेको अभिनय गरे ।
राति सबै सुतेपछि चोर सुस्तरी उठ्यो र यताको सामान उता राख्न थालेछ ।
एकनाथले सोधे– हैन यो के गरेको ?
चोरले भन्यो– के गरुँ हजुर, बानी परेको छ । राति उठ्न मन लाग्छ । चोर्न भएन, त्यसैले यताको सामान उता गर्छु । अनि अर्को कुरा, तीर्थ सकिए पछि फेरि पुरानै पेशा गर्न पर्ला । अभ्यास छोड्न पनि भएन ।
सत्त्वात्सञ्जायते ज्ञानं रजसो लोभ एव च ।
प्रमादमोहौ तमसो भवतोऽज्ञानमेव च ।।
पदच्छेद र शब्दार्थ–
[सम्पादन गर्नुहोस्]सत्त्वात् (सत्त्वगुणबाट) ज्ञानम् (ज्ञान) रजसः (रजोगुणबाट) लोभ (लोभ) सञ्जायते (उत्पन्न हुन्छ) एव (अनि) तमसः (तमसबाट) च (तथा) प्रमाद मोहौ (प्रमाद र मोह) एव (पनि) च (तथा) अज्ञानम् (अज्ञान) भवतः (उत्पन्न हुन्छन्)।
सत्त्वगुणबाट ज्ञान र रजोगुणबाट लोभ उत्पन्न हुन्छ । तमोगुणबाट केवल प्रमाद र मोह मात्र होइन अज्ञान पनि उत्पन्न हुन्छ ।। १७ ।।
उर्ध्वं गच्छन्ति सत्त्वस्था मध्ये तिष्ठन्ति राजसाः ।
जघन्यगुणवृत्तिस्था अधो गच्छन्ति तामसाः ।। १८ ।।
पदच्छेद र शब्दार्थ–
[सम्पादन गर्नुहोस्]सत्त्वस्थाः (सत्त्वगुणमा स्थित मानिसहरु) उर्ध्वं (उच्चलोक) गच्छन्ति (जान्छन्) राजसाः (राजसी गुणमा स्थित) मध्ये (बीचको, मृत्युलोक) तिष्ठन्ति (बस्छन्) जघन्यगुणवृत्तिस्थाः (नीच गुण वृत्ति भएका) तामसाः (तामसहरु) अधो (अझ नीच लोकमा) गच्छन्ति (जान्छन्)।
सत्त्वगुणमा स्थित मानिहरु उच्चलोक अर्थात् स्वर्गलोक प्राप्त गर्छन्, रजोगुणीहरु मध्यलोक अर्थात् मनुष्यलोक प्राप्त गर्छन् । नीच गुण वृत्ति भएका तमोगुणीहरुले नीच गति प्राप्त गर्छन् ।।।१८।।
व्याख्या
[सम्पादन गर्नुहोस्]सत्त्व गुणले ज्ञान, रजोगुणले कर्ममा प्रवृत्ति र तमोगुणले अज्ञान र मूर्खता उत्पन्न गर्छ । जसको जस्तो वृत्ति हुन्छ सोही अनुसार उसको भविष्य पनि निर्धारित हुँदै जान्छ ।
दुई मूर्खहरु साथी थिए– खडानन्द र बिर्खे । बिर्खेले हजारको नोट भेटाएछ । यो कुरा गोप्य राख्नका लागि उसले घरको भित्तो फोरेर नोटलाई त्यस भित्र लुकाएर बाहिरबाट जस्ताको तस्तै लिपेछ ।
ताजा लिपेको भित्तोमा लेख्यो– यहाँ केही राखेको छैन ।
एक दिन खडानन्द बिर्खेलाई भेट्न आएछ । घरमा बिर्खे थिएन । तर एकातिर भर्खर लिपेको भित्तामा बिर्खेले लेखेको थियो– यहाँ केही राखेको छैन ।
खडानन्दलाई बडो आश्चर्य भयो । उत्सुकता मेटाउन भित्ता खोल्यो । भित्र एक हजार रुपैयाँको नोट भेटायो ।
उसले नोट आफूले राख्यो । भित्तालाई जस्ताको तस्तै बनाएर लिप्यो । यस कुरालाई गोप्य राख्न त्यहीं तल लेख्यो– यहाँ खडानन्द आएको छैन ।
जुन देहधारीको सत्त्वगुण बढेको बेला मृत्यु हुन्छ त्यसले उत्तम कर्म गर्नेहरुको निर्मल र विकाररहित दिव्यलोक प्राप्त गर्छ । रजोगुण बढ्दा मृत्यु भएमा कर्मको आसक्ति भएका मानिसहरुमा जन्म हुन्छ तथा तमोगुण बढ्दा मृत्यु हुने मूढयोनि जन्म लिन्छ । यसमा कीरा फट्याङ्ग्रासम्मका जुनिको विस्तार छ । पुनर्जन्म केवल अर्जित कर्महरुको फल मात्र हो । बैंकमा राखेको रकम जस्तै । सत्त्वगुणले मृत्यु उपरान्त पनि सुरक्षित राखिदिन्छ ।
अज्ञान, अविकास, गरिबी, मोह इत्यादि तमोगुण विकासको लक्षण हो । सुख, समृद्धि प्राप्त हुनु रजोगुण विकासको लक्षण हो । तर यस सुख समृद्धिलाई निरन्तरता दिनु सतोगुणको लक्षण हो । तीन गुणका वृद्धिको प्रभावलाई तालिकामा तुलना गरिएको छ –
प्रभाव | सत्त्व | रजस् | तमस् |
---|---|---|---|
कार्य | प्रकाश | उत्प्रेरणा | मोह र अप्रकाश |
अन्तःकरण | स्वच्छ, प्रसन्नचित्त | सक्रियता र बेचैनी | आलस्य |
कर्मको प्रवृत्ति | पुण्य कर्म | स्वार्थी | घुचेटेर काम गराउनु पर्ने |
निर्णय क्षमता | सही निर्णय गर्नु | अलमल | गलतलाई सही ठान्नु |
दृष्टिकोण | सबैलाई आफूसरह मान्ने | भिन्नता देख्नु | ठीक बेठीक नछुट्ट्याउनु |
गुण विकास | ज्ञान | लोभ | अज्ञान |
प्राप्त फल | सुख | दुख | बेहोशी (सुख दुख छुट्टयाउन नसक्नु) |
गति | उर्ध्वगति | मध्यगति | अधोगति |
प्राप्त लोक | स्वर्ग लोक (श्रेष्ठ कुल) | मनुष्यलोक (मानव योनि) | निम्न लोक (कीट, पशु) |
बन्धन | सुख र ज्ञानको | कर्मफलका आसक्तिको | अज्ञानको |
उर्ध्वगमन र अधोगमनको सांकेतिक अर्थ पनि छ । सत्त्व गुणमा स्थित मानिस उर्ध्वमूल अर्थात् सृष्टिको मूल परमात्मातिर प्रवाहित हुन्छ, निर्मल लोकहरुमा जान्छ । रजोगुणमा स्थित मानिस मध्यम श्रेणीका मानिस हुन्छन्, जो संग न सात्त्विक विवेक वैराग्य हुन्छ न अधम कीराफट्याङ्ग्रा जस्तो योनिमा जान्छ बरु उसले सामान्य मानिस भएर पुनर्जन्म प्राप्त गर्छन् । तमोगुणीहरुले अधम योनि प्राप्त गर्छन् । यी तीनवटै गुण कुनै न कुनै भावी योनिका कारण बन्दछन् ।
नान्य गुणेभ्यः कर्तारं यदा द्रष्टानुपश्यति ।
गुणेभ्यश्च परं वेत्ति मद्भावं सोऽधिगच्छति ।। १९ ।।
पदच्छेद र शब्दार्थ–
[सम्पादन गर्नुहोस्]यदा (जुन बेला) द्रष्टा (द्रष्टा, साक्षी भावले) अन्य गुणेभ्यः (तीन गुण बाहेक अन्यलाई) कर्तारम् (कर्ता) न अनुपश्यति (देख्दैन) च (तथा) गुणेभ्यः (तीन गुणहरु भन्दा) परम् (परको ईश्वर) वेत्ति (जान्दछ) सः (त्यस मानिसले) मद्भावम् (मेरो भाव, स्वरुप) अधिगच्छति (छिटै प्राप्त गर्छ) ।
जुन बेला द्रष्टा अर्थात् साक्षी भावले विचार गर्ने मानिसले प्रकृतिका तीन गुण बाहेक अन्य कोही कर्ता छैन भन्ने बुझ्छ तथा जसले तीन गुणभन्दा परको तत्त्व अर्थात् ब्रह्मलाई चिन्छ त्यस मानिसले मेरो स्वरुप प्राप्त गर्छ ।। १९ ।।
गुणानेतानतीत्य त्रीन्देही देहसमुद्भवान् ।
जन्ममृत्युजरादुःखैर्विमुक्तोऽमृतमश्नुते ।। २० ।।
पदच्छेद र शब्दार्थ–
[सम्पादन गर्नुहोस्]गुणान् एतान् (यी गुणहरु) अतीत्य (अतीत गरेर) त्रीन् (तीन) देही (देही) देहसमुद्भवान् (शरीर उत्पत्तिको कारणरुप) जन्म (जन्म) मृत्यु (मृत्य) जरा (वृद्धावस्था) दुःखैः (दुखबाट) विमुक्तः (मुक्त भई) अमृतम् (अमरता) अश्नुते (अनुभव गर्छ) ।
देहधारी मानिस जब देहको उत्पत्तिको कारणरुप यी तीन गुणहरुबाट अतीत भई जन्म, मृत्यु, वृद्धावस्था र दुखबाट मुक्त भई अमृतको अनुभव गर्दछ ।। २० ।।
व्याख्या
[सम्पादन गर्नुहोस्]यी तीन गुण पङ्खाका तीन पाता जस्तै हुन् । जुन गतिमान छ । र यदि पङ्खाको आनन्ददायक हावा लिनु छ भने यी तीनवटै पाताभन्दा केही दूरीमा बस्नु पर्छ । यसरी टाढा बस्ने कामलाई त्रिगुणातीत हुनु भनिन्छ । यो नै निष्काम कर्म हो । संसार चक्रलाई तीनै गुण आवश्यक छन् तर निष्काम कर्ममा तीनवटै गुणको अभूतपूर्व सन्तुलन भेटिन्छ ।
जो तीनगुणबाट आफैं छक्किन्छ, त्यो सांसारिक हो । जसले यी तीनै गुणलाई छक्याउन सक्छ, त्यसलाई त्रिगुणातीत भनिन्छ । निष्काम गर्ने धेरै सन्तहरुको जीवनमा निष्काम कर्मता पाइन्छ । स्वामी रामसुखदास, रामकृष्ण परमहंस, योगी नरहरिनाथ, स्वर्गद्वारी महाप्रभु, बालागुरु षडानन केही उदाहरणहरु हुन् ।
सन्त कबीरले भनेका छन्– माया महा ठगिनी हम जानी, तिरगुण फाँस लिए कर डोलै बोलै मधुरै बानी ।
त्रिगुणातीत हुनु ज्यादै कठिन साधना हो । पाँचवर्षको उमेरमा तपस्या गर्न घर छोडेका नारद जस्ता सन्त पनि मोहमा फसेर विवाह गरेर घरजम गर्नका लागि विष्णुकहाँ सुन्दर बनाइदिन प्रार्थना गरेका कथाहरु छन् । जसले मायाको शक्ति र प्रभाव जानकारी प्राप्त हुन्छ।
साक्षी भाव प्राप्त मानिसले तीन गुणबाहेक अन्य कोही कर्ता छैन भन्ने बुझेर तीन गुणभन्दा परको ईश्वरलाई चिन्छ । सन्तहरुले आफ्नो त्यस अवस्थाको वर्णन गरेका छन् जब साधनको अवस्थामा यस्तो अनुभूति गर्छन् जब उनीहरुले गुणहरु बाहेक अरुकसैलाई कर्ता देख्दैनन् । त्यो त्रिगुणातीत अवस्था हो ।
रामकृष्णको जीवन एक यस्तो व्यक्तिको जीवन हो जसको शरीरमा गुणहरु नै गुणका कर्ता थिए । उनी एक यस्तो अवस्थामा पुगेका थिए जब उनले आफूलाई शरीरबाट अलग गरिसकेका थिए । जुन दिन उनले आफूलाई चिने त्यस दिनबाट आफूलाई म रामकृष्ण भन्न्न छोडे । हातले शरीरमा छोएर भन्थे– यो ।
त्यसैले मुक्तिका लागि यी तीन गुणबाट पारी हुनु पर्छ । त्यसैले भन्ने गरिन्छ तीनवटा स पछि ह आउँछ ।
अर्जुन उवाच
[सम्पादन गर्नुहोस्]कैर्लिङ्गैस्त्रीन्गुणानेतानतीतो भवति प्रभो । किमाचार कथं चैतांस्त्रीन्गुणानतिवर्तते ।। २१ ।।
पदच्छेद र शब्दार्थ–
[सम्पादन गर्नुहोस्]अर्जुन उवाच (अर्जुनले भने)
प्रभो (हे प्रभु) कैः लिङ्गैः (के चिन्ह, लक्षण हुन्) एतान् (यी) त्रीन्गुणान् (तीन गुणबाट) अतीतः (अतीत, पार) भवति (हुन जान्छ) किम् (के) आचारः (आचरण गर्छ) च (तथा) एतान् (यिनी) त्रीन्गुणान् (तीन गुणहरुबाट) कथम् (कसरी) अतिवर्तते (अतीत, पार हुन्छ) ।
अर्जुनले भने –
हे प्रभु, यी गुणहरुबाट अतीत कसरी कुन उपायले हुन सकिन्छ ? कुन लक्षणहरुले मानिस यी तीन गुणबाट पार भएको जानिन्छ ? त्यस मानिसले कसरी आचरण गर्छ ?।। २१ ।।
व्याख्या
[सम्पादन गर्नुहोस्]अन्तमा अर्जुनका तीनवटा जिज्ञासा छन्–
१. कुन उपायले हामी गुणातीत अर्थात् सत्त्व, रजस् र तमस् यी तीन गुणबाट पार हुन सक्छौं ?
२. गुणातीत मानिसलाई कसरी चिनिन्छ ? अर्थात् उसका देखिने लक्षण के हुन् ?
३. गुणातीत भइसकेको मानिसले कस्तो आचरण गर्छ ? के त्यसले अन्य मानिसभन्दा फरक व्यवहार गर्छ ?
श्रीभगवानुवाच
[सम्पादन गर्नुहोस्]प्रकाशं च प्रवृत्तिं च मोहमेव च पाण्डव ।
न द्वेष्टि सम्प्रवृत्तानि न निवृत्तानि कांक्षति ।। २२ ।।
उदासीनवदासीनो गुणैर्यो न विचाल्यते ।
गुणा वर्तन्त इत्येव योऽवतिष्ठति नेङ्गते ।। २३ ।।
पदच्छेद र शब्दार्थ–
[सम्पादन गर्नुहोस्]श्रीभगवान् उवाच (श्रीभगवान्ले भन्नु भयो )
पाण्डव (हे पाण्डुपुत्र, अर्जुन) यः (जुन मानिस) प्रकाशम् (सत्त्वगुणको कार्य वा परिणाम– प्रकाश, ज्ञान) च (तथा) प्रवृत्तिम् (रजोगुणको कार्य वा परिणाम– प्रवृत्ति) च (तथा) मोहम् (तमोगुणको कार्य वा परिणाम– मोह) च (तथा) एव (पनि) न द्वेष्टि (द्वेष गर्दैन) सम्प्रवृत्तानि (प्रवृत्त हुँदा) न निवृत्तानि (न भएकोमा) न काङ्क्षति (आकांक्षा गर्दैन), उदासीनवत् (उदासीन जस्तै) आसीनः (रहेर) गुणा (तीनगुणहरुले) न विचाल्यते (विचलित हुँदैन) गुणैः (गुणहरु गुणद्वारा काम गर्छन्) इति (यस प्रकार) एव (नै) यः (जुन मानिसले) वर्तन्त (व्यवहार गर्छ, बुझ्छ) अवतिष्ठति (स्थिर हुन्छ) न इङ्गते (डग्दैन, अविचलित रहन्छ) ।
श्रीभगवान्ले भन्नु भयो–
हे पाण्डव, प्रकाश होस्, प्रवृत्ति होस्, अथवा मोह होस्, जसले यी तीन अर्थात् सत्त्व, रजस्, तमस् मध्ये कुनै कुरा आइपर्दा पनि तिनीहरुको द्वेष पनि गर्दैन, वा न आएमा आकांक्षा पनि गर्दैन । अनि कर्मफलमा उदासीनवत् रहेर जसलाई तीन गुणले विचलित गराउन सक्दैनन्, जसले गुणहरु आआफ्नो कार्य गरिरहेका छन् यस प्रकार बुझ्छ त्यो विचलित हुँदैन अर्थात् स्थिर रहन्छ ।।२२–२३।।
व्याख्या
[सम्पादन गर्नुहोस्]भगवान् श्रीकृष्णले अर्जुनका तीनवटै प्रश्नको क्रमशः जवाफ दिँदै गुणातीत, उसका लक्षण र अचारणबारे सविस्तार बताउनु भएको छ । जुन मानिसले सत्त्व, रजस्, र तमस्को परिणामस्वरुप आउने ज्ञान, प्रवृत्ति र प्रमाद हुँदा तिनीहरुको द्वेष पनि गर्दैन, तीनवटै गुणलाई बेवास्ता गरीदिन्छ, त्यसलाई गुणातीत भनिन्छ । अर्का शब्दमा जसरी सूर्यले बिहान, मध्यान्ह र साँझ यी तीनवटै समयको कुनै भेद गर्दैन, गुणातीत व्यक्तिले त्यस्तै व्यवहार गर्छ । उसले गुणहरु नै गुणमा कार्यरत हुन्छन् भन्ने बुझेको हुन्छ त्यसैले यस्ता उदासीनवत् मानिसलाई तीन गुणहरुले विचलित गर्न सक्दैनन् । यस्तो मानिसको चित्त वृत्ति चलायमान हुँदैन त्यसैले गुणातीत मानिसलाई स्थिर चित्त पनि भनिन्छ ।
समदुःखसुखः स्वस्थः समलोष्टाश्मकाञ्चनः ।
तुल्यप्रियाप्रियो धीरस्तुल्यनिन्दात्मसंस्तुतिः ।। २४ ।।
मानापमानयोस्तुल्यस्तुल्यो मित्रारिपक्षयोः ।
सर्वारम्भपरित्यागी गुणातीतः स उच्यते ।। २५ ।।
पदच्छेद र शब्दार्थ–
[सम्पादन गर्नुहोस्]दुःखसुखः (सुखदुखमा) सम एक समान), स्वस्थ (स्वमा स्थित)ः लोष्ट अश्म काञ्चनः( माटो, ढुङ्गा र सुनमा) सम (समान भाव) प्रिय अप्रियः ( प्रिय र अप्रियमा) तुल्य (बराबर, एक समान) धीरः(धैर्यवान्) निन्दात्म संस्तुतिः (निन्दा स्तुतिमा) तुल्य (एक नास) मान अपमानयोः (मान अपमानमा) तुल्यः (एकनास) मित्र अरिपक्षयोः (मित्र र शत्रुपक्षमा) तुल्यः (समान) सर्वारम्भपरित्यागी (सर्वारम्भपरित्यागी) गुणातीतः (गुणातीत) सः (त्यसलाई) उच्यते (भनिन्छ) ।
जुन मानिस स्व अर्थात् आत्मभावमा स्थिर छ, जसलाई सुखदुख बराबर छन्, माटो, ढुङ्गा र सुन जसलाई एक समान छन्, प्रिय र अप्रियमा, निन्दा र स्तुतिमा तथा मान र अपमानमा जो एकनास र धैर्यवान् छ, मित्र र शत्रुपक्षमा जो एक नास छ, जो सर्वारम्भ परित्यागी छ, त्यस मानिसलाई गुणातीत भनिन्छ ।। २४–२५ ।।
मां योsव्यभिचारेण भक्तियोगेन सेवते ।
स गुणान्समतीत्यैतान्ब्रह्मभूयाय कल्पते ।। २६ ।।
पदच्छेद र शब्दार्थ–
[सम्पादन गर्नुहोस्]माम् (मेरो) य ः (जसले) अव्यभिचारेण (अव्यभिचारिणी, एकनिष्ठ भएर) भक्तियोगेन (भक्तियोगद्वारा) सेवते (सेवा गर्छ) सः (ऊ) गुणान् (तीनै गुणहरुबाट) समतीत्य (राम्ररी पार गएर) एतान् (यिनी) ब्रह्मभूयाय (ब्रह्म प्राप्तिका लागि) कल्पते (समर्थ हुन्छ) ।
जसले अव्यभिचारिणी अर्थात् एकनिष्ठ भक्तियोगद्वारा नित्य मेरो सेवा गर्छ त्यसले गुणातीत अर्थात् तीन गुणहरुबाट पार भएर ब्रह्म प्राप्त गर्न समर्थ हुन्छ ।। २६ ।।
व्याख्या
[सम्पादन गर्नुहोस्]जो मानिस निरन्तर आफैमा स्थित छ, सुखदुखमा सम छ माटो ढुङ्गा र सुनमा पनि समान भाव राख्छ, धैर्यवान् छ, जो प्रिय र अप्रियलाई बराबर ठान्छ, आफ्नो निन्दा र स्तुतिमा पनि समान भावयुक्त छ जो मान र अपमानमा सम छ, सुख र दुखमा तथा मित्र र शत्रु पक्षमा समान छ, यस्तो मानिसलाई गुणातीत भनिन्छ । त्यसैले गुणातीततलाई आत्मवान् भनिन्छ। यस्तो मानिसले प्रकृतिले नै सबै गर्दछ, आफूले केही गर्दैन भन्ने कुरा बुझेको हुन्छ । त्यसैले गुणातीतलाई सर्वारम्भपरित्यागी पनि भनिन्छ किनभने गुणातीत मानिसले सुख र दुख दुवैलाई बराबर ठानेको हुन्छ ।
यसबाट गीताले एक विशेष सन्देश पनि दिएको छ । यदि हामीबाट असल कार्य हुन गएको छ भने यसमा हाम्रो योगदान होइन सात्त्विक गुणको योगदान देख्नु पर्छ । त्यसै गरी निम्नकोटिको काम हुनुमा हामी भित्र विकसित तामसिक गुण कारक हो ।
अकबरले एक पटक बीरबललाई भन्यो– बीरबल मलाई एउटा यस्तो वाक्य लेखेर देउ जसले मलाई सुखमा मात्तिन र दुखमा आत्तिनबाट बचाओस् । मैले दिनक्कै त्यो वाक्य हेरेर सुखमा शान्ति र दुखमा धैर्य राख्न सकूं ।
बीरबलले रचना गरेको वाक्य थियो– यह भी नहीं रहेगा-यो गईहाल्छ, धेरै बेर रहनेवाला छैन ।
सुख आउँदा यो वाक्य पढ्दा यसको अर्थ हुने छ यो सुख पनि केही दिनमा गइहाल्छ । यो पाहुना मात्र हो । यसले मात्तिनबाट बचाउँछ । दुख आउँदा यस वाक्यले दुख पनि गइहाल्छ भन्ने बताउँछ र आत्तिन दिंदैन ।
जसले अव्यभिचारिणी भक्तियोगद्वारा नित्य मेरो सेवा गर्छन् त्यो पनि यिनी तीन गुणहरुबाट राम्ररी पार भएर ब्रह्म प्राप्तिका लागि समर्थ हुन्छ । भक्तियोगद्वारा भन्नुको अर्थ हो सात्त्विक र नित्य भक्ति । यस्तो भक्तिलाई अव्यभिचारिणी (एक निष्ठ) भक्ति भनिएको छ । हामीहरुको प्रेम सांसारिक वस्तुहरुमा छरिएको हुन्छ । हजारौं वस्तुहरुमा अलि अलि प्रेम गरेकोले त्यो व्याभिचारिणी हुन्छ । तर जब यो सम्पूर्ण प्रेमलाई परमात्मामा केन्द्रित गराउँदै लगिन्छ, त्यस भक्तिलाई अव्यभिचारी भक्ति भनिन्छ । सीसाको प्रकाश छरिन्छ, त्यसैले त्यसले कागज जलाउन सक्दैन, तर लेन्सले गराएको फोकसले प्रकाशको केन्द्रीकरण गर्छ, जसले कागज जलाइदिन्छ ।
ब्रह्मणो हि प्रतिष्ठाहममृतस्याव्ययस्य च ।
शाश्वतस्य च धर्मस्य सुखस्यैकान्तिकस्य च ।। २७ ।।
पदच्छेद र शब्दार्थ–
[सम्पादन गर्नुहोस्]हि (किनभने) ब्रह्मणो (त्यस ब्रह्मको) अमृतस्य (अमृतको) अव्ययस्य (अविनाशीको) च (तथा) शाश्वतस्य (शाश्वत) धर्मस्य (धर्मको) च (तथा) सुखस्य एकान्तिकस्य च (तथा अखण्ड रसमय सुखको) प्रतिष्ठा (आश्रय) अहम् (म नै हूँ) ।
किनभने अमृत र अविनाशी ब्रह्मको, शाश्वत धर्मको तथा ऐकान्तिक अर्थात् अखण्ड रसमय आनन्दको अन्तिम स्थान केवल म हूँ ।। २७ ।।
व्याख्या
[सम्पादन गर्नुहोस्]जसरी चन्द्रमण्डल र चन्द्रमा यी दुईमा लेश मात्र पनि फरक छैन त्यसै गरी गीतामा भनिएको म र ईश्वर ब्रह्ममा फरक छैन । त्यसैले यहाँ म अर्थात् श्रीकृष्णको अर्थ ब्रह्म हो।
गीताको नाम नै ब्रह्म विद्या हो । ब्रह्मका अनेक अर्थ हुन्छन्– ईश्वर, सत्य, आत्मा, परमात्मा, वेद, एकको संख्या, चैतन्य, धन, भोजन, प्रणव, ब्रह्मा, ब्राह्मणत्व, फलित ज्योतिषको एक योग जुन सबै प्रकारले मंगलकारक हुन्छ ।
तर गीतामा ब्रह्मको अर्थ हो त्यो चेतन सत्ता जुन जगतको कारण हो । यसलाई वेदमा सत्, चित् र आनन्दस्वरुप भनिएको छ । हुन त, ब्रह्मको कुनै नाम छैन तर पछि मानिसहरुले त्यसलाई जुन नाम दिने प्रयास गरे त्यसमा सबैभन्दा उचित ॐ मानिएको छ ।
अव्यक्त, अविनाशी र अखण्ड आनन्दको अनुभव गर्नु छ भने कि त त्रिगुणातीत अवस्थामा पुग्नु पर्छ अथवा एकनिष्ठ भक्ति गर्नु पर्छ । यस बाहेक भगवान् श्रीकृष्ण जस्तै अव्यक्त ब्रह्ममा स्थित भइसकेको कुनै महापुरुषका शरणमा जानु पर्दछ ।
ॐ तत्सत् इति श्रीमद्भगवद्गीतासूपनिषत्सु बह्मविद्यायां योगशास्त्रे श्रीकृष्णार्जुन संवादे गुणत्रयविभागयोगो नाम चतुर्दशोऽध्यायः।।
यस प्रकार श्रीमद्भगवद्गीता उपनिषद् यस ब्रह्मविद्यारुपी योगशास्त्रमा श्रीकृष्ण र अर्जुन संवाद अन्तर्गत गुणत्रयविभागयोग नाम गरेको अध्याय १४ समाप्त भयो ।। ॐ तत् सत् ।।
सन्दर्भ
[सम्पादन गर्नुहोस्]अडगडानन्द, (सन् १९८०), यथार्थगीता, श्रीमद्भगवद्गीता http://yatharthgeeta.com वि.सं.२०७३
अधिकारी, कोमलनाथ, (वि.सं.२०१८), पञ्चरत्नगीता, कोमलगीता, नेपाली पद्यानुवाद र व्याख्या वाराणसी ः यशोदा प्रेस ।
अर्याल, मदन प्रसाद, (वि.सं.२०६३), विदुर, चाणक्य र भर्तृहरिका नीतिहरू, काठमाडौं ः रमादेवी अर्याल ।
आचार्य, श्रीराम शर्मा, (सन् २०११), सांख्य एवं योग, मथुरा ः युग निर्माण योजना ।
आचार्य, श्रीराम शर्मा, (सन् २०१०), माण्डूक्य उपनिषद, बृहदारण्यक
उपनिषद (१०८ उपनिषद्), मथुरा ः युग निर्माण योजना ।
आदि शंकराचार्य, (वि.सं.२०६७), श्रीमद्भगवद्गीता शांकरभाष्य, गोरखपुर ः गीताप्रेस ।
ईश्वरानन्द, (वि.सं. २०५१) गीता तात्पर्य, संस्कृत, अन्वय, अर्थ र व्याख्या, स्वयम्भू ः गीता अध्ययन मण्डल ।
ओशो, (सन् १९८०), गीता दर्शन, पूना ःरेबेल बुक्स ।
खप्तड बाबा (सच्चिदानन्द सरस्वती), (वि.सं.२०५६), आत्मबोध, काठमाडौं ः खप्तड आश्रम समिति ।
गीताप्रेस, (वि.सं.२०६५), महाभारत खण्ड ६, गोरखपुर ः गीताप्रेस ।
गीताप्रेस, (वि.सं.२०६५), कल्याण, सन्तवाणी अङ्क, अङ्क २९, (संशोधित), गोरखपुर ः गीताप्रेस ।
ज्ञवाली, बाबुराम (२०७३), सहज ज्ञानले दुख निवारण, रुपन्देही ः ज्ञानज्योति प्रकाशन, रुन्धती ट्रष्ट ।
दयानन्द सरस्वती, (सन् २०१३), सत्यार्थ प्रकाश, दिल्ली ः आर्ष साहित्य प्रचार ट्रष्ट ।
पन्त, शंकरराज, (वि.सं. २०७८), श्रीरामकृष्णवचनसुधा, मुल लेखक श्री म, काठमाडौं ः रामकृष्ण आश्रम नेपाल ।
बेनेट, जे जे र ठाकुरलाल मानन्धर, (वि.सं.२०६७), अनन्तको यात्रा, काठमाडौं ः योगेन्द्रभक्त श्रेष्ठ ।
शर्मा, डी एस, (वि.सं.२०५५), हिन्दु धर्मको क ख ग अनुवादक कुलशेखर शर्मा, गीता समुदय प्रकाशन ।
सदानन्द, (सन् २००९), वेदान्तसार, नागपुर
ः रामकृष्ण मठ ।