सामग्रीमा जानुहोस्

श्रीमद्भगवद्गीता सप्तदश अध्याय

नेपाली विकिपुस्तकबाट, स्वतन्त्र पुस्तकालय

श्रद्धात्रयविभागयोग

[सम्पादन गर्नुहोस्]

अर्जुन उवाच

[सम्पादन गर्नुहोस्]


ये शास्त्रविधिमुत्सृव्य यजन्ते श्रद्धयान्विता ः ।
तेषां निष्ठा तु का कृष्ण सत्त्वमहो रजस्तमः ।।१।।

अर्जुन उवाच
[सम्पादन गर्नुहोस्]


ये शास्त्रविधिमुत्सृज्य यजन्ते श्रद्धयान्विताः ।
तेषां निष्ठा तु का कृष्ण सत्त्वमाहो रजस्तमः ।।१।।

पदच्छेद र शब्दार्थ–
[सम्पादन गर्नुहोस्]

अर्जुन उवाच (अर्जुनले भने)
कृष्ण (हे कृष्ण) तु (तर) ये (जुन मानिसहरुले) शास्त्रविधिम् (शास्त्रविधिलाई) उत्सृज्य (बेवास्ता गरेर, त्यागेर) यजन्ते (यजन पूजन गर्छन्) श्रद्धया (श्रद्धाले) अन्विताः (परिपूर्ण भइकन) तेषाम् (तिनीहरुको) निष्ठा (निष्ठा) सत्त्वम् (सात्त्विकी) आहो (अथवा) रजः (राजसी) तमः (तामसी) का (कस्तो हुन्छ)?
अर्जुनले भने –
हे कृष्ण, जुन मानिसहरुले श्रद्धायुक्त भइकन पनि शास्त्रविधिलाई त्यागेर (जानी जानी) यजन पूजन गर्छन्, तिनीहरुको निष्ठा सात्विकी, राजसी वा तामसी कस्तो हुन्छ ?१।।

गीताको प्रत्येक अध्याय विगतका अध्यायको निरन्तरता हो । अर्जुनको यो प्रश्न भगवान् श्रीकृष्णको १६.२३ र २४ को उत्तरबाट उत्पन्न भएको हो । ती श्लोकहरुमा भगवान् श्रीकृष्णले भन्नु भएको छ– जसले शास्त्रविधिको त्याग गरेर मनोमानी आचरण गर्छ, त्यसले परम गति प्राप्त गर्दैन । सुख पनि पाउँदैन । त्यसैले शास्त्र अनुसार आफ्नो कर्तव्य पूरा गर्नु पर्छ ।
अनि अर्जुनले यो प्रति प्रश्न गरेका छन्– हे कृष्ण, जुन मानिस श्रद्धायुक्त छ तथापि शास्त्रविधिलाई त्यागेर यजन पूजन गर्छ, उसको निष्ठा कुन श्रेणीको हुन्छ ?
शास्त्र विधिको त्याग मानिसले तीन कारणले गर्छ– अज्ञानता, उपेक्षा, र विरोध । अर्जुनाई यी तीनमध्ये कुन कोटिमा राख्ने । अर्जुनलाई शास्त्रज्ञ मानिन्छ । त्यसैले अर्जुनले यो प्रश्न अन्य साधकका लागि सोधेको बुझिन्छ । यसको अर्थ के हुन्छ भने, शास्त्र विधि थाहा हुँदाहुँदै पनि उपेक्षा वा विरोधका लागि यो भनिएको हो । तर यहाँ भनिएका कुरा अज्ञानतापूर्वक गरिएको अवस्थामा पनि लागू हुन्छन् । अज्ञानतापूर्वक गरिएको निष्ठा र साधनापूर्वक गरिएको निष्ठाले एक समान परिणाम प्राप्त हुन्छ । राडार चलाउने आर्मीका एक जना इञ्जीनियर पर्सि स्पेन्सरले गोजीमा भएका चकलेट पग्लेको देखेर राडारका तरंगमा तताउने शक्ति हुन्छ भन्ने कुरा अनुमान गरे । तातो नभएको अवस्थामा काँचो खानेकुरा कसरी पाक्छ ? यसको परीक्षण गर्न उनले मकै भुट्नमा यसको उपयोग गरे । मकैमा यो प्रविधि सफल भए पछि यसैको आधारमा आविष्कार भयो– माइक्रोवेभ ओवेन । तर म्याडम क्युरी त्यति भाग्यमानी थिइनन् । उनले रेडियम धातु आविष्कार गर्न कैयौं रात जागा भएर बिताइन् । रात दिन एक गरेर वर्षौं मेहनत गरेपछि थोरै रेडियम धातु प्रशोधन गर्न सकेकी हुन् । यसैको आधारमा पछि परमाणु सम्बन्धी अन्य आविष्कार भएका हुन् । म्याडम क्युरीका बारेमा के भनिन्छ भने उनले सपनामा पनि आफ्ना वैज्ञानिक परिकलनहरु गरिरहन्थिन् । उनले आफ्नो आत्मकथामा राति हिसाब गर्दा नमिलेर त्यसै छोडेको परिकलन बिहान पूरा भएको कुरा उल्लेख गरेकी छन् ।

श्रीभगवानुवाच
[सम्पादन गर्नुहोस्]


त्रिविधा भवति श्रद्धा देहिनां सा स्वभावजा ।
सात्त्विकी, राजसी चैव तामसी चेति तां शृणु ।।२।।

पदच्छेद र शब्दार्थ–
[सम्पादन गर्नुहोस्]

श्रीभगवानुवाच (श्रीभगवानले भन्नु भयो)
देहिनाम् (देहधारीहरुको) स्वभावजा (स्वभावको कारणले उत्पन्न) सा (त्यो) श्रद्धा (श्रद्धा, आस्था) त्रिविधा (तीन प्रकारको) भवति (हुन्छ) सात्त्विकी, राजसी च एव तामसी च (सात्त्विकी, राजसी र तामसी) इति (यसरी) ताम् (तिनीहरुलाई) शृणु (सुन) ।
श्रीभगवानले भन्नु भयो–
स्वभाव अनुसार मानिसहरुको श्रद्धा तीन प्रकारको हुन्छ– सात्त्विकी, राजसी, र तामसी । अब, तिनीहरुको बारेमा सुन ।।३।।

योग शास्त्रमा सत्त्वलाई प्रकाश, रजस्लाई क्रियाशीलता र तमस्लाई जडत्त्व भनिएको छ। यी तीन गुणको असन्तुलनको रुपमा सृष्टि सञ्चालित हुन्छ भन्ने कुरा साङ्ख्य दर्शनले मान्दछ । प्रकृति र पुरुषको संयोगले महत्तत्त्व उत्पन्न हुन्छ । साङ्ख्य दर्शनमा महत्तत्त्व भनेको बुद्धि हो । महत्तत्त्वबाट तीन गुण तथा अहङ्कार उत्पन्न हुन्छ । यसबाट क्रमशः आकाश, वायु, तेज, जल, भूमि र त्यससंग सम्बन्धित अन्य गुणहरु उत्पन्न हुन्छन् । यसरी सृष्टि विस्तार हुन्छ । यसको विस्तृत व्याख्या अध्याय १४ र अध्याय १५ मा गरिएको छ ।
यस अध्यायमा सत्त्वगुणलाई उच्चतातर्फ लैजाने, आसुरी गुणलाई निम्नतातर्फ लैजाने भनिएको छ । यी दुवैका बीचको गुणलाई राजसी भनिएको छ । यी तीनवटा गुणले तीन प्रकारका मानवीय निष्ठा र मनोविज्ञान निर्धारित गर्छ । यस आधारमा मानिसको आहार, तप, यज्ञ आदि कुराहरु निर्धारित हुन्छन् ।
सत्त्वानुरुपा सर्वस्य श्रद्धा भवति भारत ।
श्रद्धामयोऽयं पुरुषो यो यच्छ«द्ध स एव सः ।।३।।

पदच्छेद र शब्दार्थ–
[सम्पादन गर्नुहोस्]

भारत (हे भारत), सत्त्व अनुरुपा (अन्तःकरण, प्राकृतिक स्वभाव अनुरुप) सर्वस्य (सबै मानिसहरुको) श्रद्धा भवति (श्रद्धा हुन्छ) श्रद्धामय (श्रद्धाले परिपूर्ण) अयम् (यो) पुरुषः (मानिसको) यः (जुन) यत् श्रद्धः (जस्तो श्रद्धा छ) स एव सः (ऊ त्यस्तै हुन्छ) ।
हे भारत, सबै मानिसहरुको श्रद्धा उनका अन्तःकरणको प्रकृति अनुरुप हुन्छ । मानिस श्रद्धामय हुन्छ । जसको जस्तो श्रद्धा हुन्छ, ऊ त्यस्तै हुन्छ अर्थात् उसले त्यही अनुरुपको व्यहार गर्छ।।३।।

भगवान् श्रीकृष्णले अर्जुनका प्रश्नको सोझो उत्तर दिनु भएको छैन । बरु यस प्रश्नको उत्तर ज्यादै लामो र घुमाउरो तरिकाले दिनु भएको छ । अर्जुनको पहिलो श्लोकको उत्तर जम्मा २७ श्लोकमा दिइएको छ ।
मानिसको व्यवहार तीन कारणले प्रभावित हुन्छ– संगजा, शास्त्रजा, र स्वभावजा । संगजाको अर्थ हो– संगतको कारणले । शास्त्रजाको अर्थ हो– कुनै कुरा पढेर, वा कुनै कुराको जानकारी लिएर । स्वभावजाको अर्थ हो स्वभावको कारणले उत्पन्न ।
संगतले मानिसको व्यवहार ज्यादै प्रभावित हुन्छ । जस्ताको संगत गरिन्छ नजानिकन उसका व्यवहार आफूमा पर्न जान्छन् । सत्शास्त्रको अध्ययनले मानिसको व्यवहार परिवर्तन हुन्छ । त्यसैले पुस्तकलाई हरेक महान मानिसले महत्त्व दिएका छन् । मानिसको व्यवहारलाई पार्ने तेस्रो प्रमुख कुरा हो– स्वभावजा । गीताले के मान्दछ भने मानिसहरुको श्रद्धा स्वभावमा आधारित हुन्छ । श्रद्धा अनुरुपको निष्ठा हुन्छ । निष्ठा अनुरुपको कृत्य हुन्छ र कृत्य अनुरुपको प्रतिफल प्राप्त हुन्छ । सामान्य जीवनमा हामी देख्छौं– मानिसहरु आआफ्ना स्वभाव अनुरुप बजारमा किनमेल गर्छन् । दूध किन्ने मानिस गौशाला जान्छ भने मदिरापान गर्ने मधुशाला खोज्दै हिंड्छ । श्रद्धामा अन्तर भएकोले दैवी शक्ति रुचाउने देवताको र आसुरी शक्ति रुचाउनेले यक्ष र राक्षसको आराधना गर्छन् ।
मानिसको उन्नति वा अवनति जुन कुरामा भर पर्छ गीतामा तिनै विषयहरुको चर्चा गरिएको छ । मानिस देवता पनि होइन र दानव पनि होइन, यो यी दुवैका बीचको प्राणी हो । उसले उच्चता पनि प्राप्त गर्न सक्छ र निम्न श्रेणीमा खस्न पनि सकछ । मनुष्य यी दुईको बीचमा हुन्छ ।
यजन्ते सात्त्विका देवान्यक्षरक्षांसि राजसाः ।
प्रेतान्भूतगणांश्चान्ये यजन्ते तामसा जनाः ।। ४ ।।

पदच्छेद र शब्दार्थ–
[सम्पादन गर्नुहोस्]

सात्त्विका (सात्त्विक गुण भएकाहरुले) देवान् (श्रेष्ठ देवदेवीहरुको) राजसाः (राजसी गुण भएकाहरुले) यक्षरक्षांसि (यक्ष र राक्षसको) यजन्ते (पूजा गर्छन्) च (तथा) अन्ये (यी बाहेक अन्य) तामसा जनाः (तामसी गुण भएका मानिसहरुले) प्रेतान् भूतगणाः (भूतप्रेत आदि) यजन्ते (यजन, आराधना गर्छन्) ।
जो मानिस सात्त्विक छन् उनीहरुले देवदेवीको पूजा गर्छन्, राजस् मानिसहरुले यक्ष र राक्षसहरुलाई पूजा गर्छन् तथा यी बाहेकका तामस मानिसहरुले प्रेत र भूतहरुलाई यजन पूजन गर्छन् ।।४।।

देव, यक्ष, र राक्षसी शक्तिमा अन्तर हुन्छ । देव शक्तिहरुले अरुको ज्ञानमा वृद्धि गर्छन् । त्यसैले सात्त्विक स्वभावकाहरुले देवीदेवताको पूजा गर्छन् । राजसले यक्ष र राक्षसको आराधना गर्छन् । यक्षमा अरुलाई धन सम्पत्ति दिने शक्ति हुन्छ । राक्षसी शक्ति अरुलाई कष्ट दिने र नाश गर्ने शक्ति हो । रजोगुणीहरुले यक्ष र राक्षसको पूजा गर्छन् । श्लोक ४ मा भनिएको प्रेत र पितृ शब्दमा अन्तर छ । तामसी मनोवृत्ति भएकाहरुले प्रेत र पिशाचको पूजा गर्छन् । पितृ समुदायलाई सुखकारक भनिन्छ । भूत प्रेत पिशाच यस्तो समुदाय हो जो आफू पनि दुखी हो र अरुलाई पनि दुखी गराउँछ ।
अशास्त्रविहितं घोरं तप्यन्ते ये तपो जनाः ।
दम्भाहङ्कारसंयुक्ता कामरागबलान्विताः ।। ५ ।।
कर्शयन्तः शरीरस्थं भूतग्राममचेतसः ।
मां चैवान्तःशरीरस्थं तान्विद्ध्यासुरनिश्चयान् ।। ६ ।। (कर्षयन्तः लेखेको पनि पाइन्छ)

पदच्छेद र शब्दार्थ–
[सम्पादन गर्नुहोस्]

ये (जुन मानिसहरु) तपः (तपस्या) जनाः (मानिसहरु) दम्भ अहङ्कार संयुक्ता (दम्भ र अहंकारयुक्त) काम राग बल अन्विता (काम, विषयासक्ति र बलले भरिएर) अशास्त्रविहितम् (शास्त्रविधि विपरीत) घोरम् (घोर, डरलाग्दो) तप्यन्ते (तप गर्छन्) । कर्शयन्तः (कष्ट दिन्छन्) शरीरस्थम् (शरीर स्थित) भूतग्रामम् (भूतसमुदाय, पञ्चभूतलाई) च एव (तथा) अन्तःशरीरस्थम् (शरीरभित्र रहने, अन्तरात्मा) माम् (मलाई) तान् (तिनीहरुलाई) अचेतसः (अविवेकी) आसुर निश्चयान् (आसुर स्वभावका) विद्धि (जान) ।
जुन मानिस दम्भ र अहंकारले युक्त भई काम, विषयासक्ति र बलले भरिएर शास्त्रविधि विपरीत घोर तपस्या गर्छन्, तिनीहरुले शरीर स्थित पञ्चमहाभूतको समुदायलाई मात्र होइन अन्तःकरण स्थित म (परमात्मा) लाई कष्ट दिन्छन्, ती अज्ञानीलाई आसुर हुन भनी निश्चित बुझ ।। ५–६ ।।

आसुरी स्वभावका अटेरी मानिसहरुले दम्भ र अहंकारले भरिएर काम, विषयासक्ति र बलले भरिएर जुन शास्त्रविधि विपरीत घोर तपस्या गर्छन्, यस्तो तपस्यामा उनीहरुले आफ्नो शरीरलाई कृश मात्र बनाउँदैनन्, शरीरभित्रको अन्तरात्मामा वास गर्ने मलाई पनि कष्ट दिन्छन् । एउटा उदाहरणद्वारा स्पष्ट गर्न सकिन्छ । शास्त्रमा पितृलाई पिण्डदान गर्नु पर्छ भनिएको छ। यदि कसैले मरे पछि पितृलाई दिएर खान्छन् कि खान्नन् मैले त जिउँदै जहाजमा संसार घुमाउँछु र मिठो खान र लाउन दिन्छु भन्छ भने त्यो शास्त्र अनुरुप कृत्य होइन । शास्त्रमा जीवितमा पनि मातापिताको सम्मान गर्न भनिएको छ र मृत्यु पछि पितृस्मरणका कृत्य गर्ने व्यवस्था गरिएको छ ।
आचार्य शङ्करले भनेका छन्– त्यस्ता अविवेकी मानिस शरीरमा स्थित इन्द्रियादि करणका रुपमा परिणत भूतसमुदाय तथा शरीर भित्र अन्तरात्मा रुपमा स्थित उनको कर्म र बुद्धिका साक्षी म ईश्वरलाई पनि दिक्क बनाउँछन् । ईश्वरको आज्ञा नमान्नु उसलाई दिक्क र वाक्क पार्नु हो । गीताले आहार, विहार, जीवनचर्या सम्यक हुनु पर्छ, अति गर्नु हुँदैन भनेको छ । त्यसैले अनावश्यक शरीर र मनलाई कष्ट दिने उग्र तपस्या देखेर ईश्वरलाई पनि प्रसन्नता हुँदैन ।    दम्भ र अहंकार नहुनेहरुले आफूखुशी तप गर्दैनन्, शास्त्र अनुरुप काम गर्छन् ।
आहारस्त्वपि सर्वस्व त्रिविधो भवति प्रियः ।
यज्ञस्तपस्तथा दानं तेषां भेदमिमं शृणुः ।। ७ ।।

पदच्छेद र शब्दार्थ–
[सम्पादन गर्नुहोस्]

तु (तर) आहारः (भोजन) अपि (पनि) सर्वस्व (सबैलाई) त्रिविधः (तीन प्रकारका) प्रियः (प्रिय) भवति (हुन्छ) तथा (त्यसै गरी) यज्ञः तपः दानम् (यज्ञ, तप र दान हुन्छन्) तेषाम् (तिनीहरुको) इमम् (यस) भेदम् (भेदलाई) शृणु (सुन) ।
हरेकलाई रुचि लाग्ने आहार पनि तीन प्रकारको हुन्छ । यस्तै यज्ञ, तप र दानका पनि भेद हुन्छन् । ती सबैको यो भेदलाई सुन ।।७।।

मानव शरीर सारै अनौठो छ । शरीरलाई वेदमा ज्यादै सम्मान दिंदै अयोध्या, हिरण्यमयीपुरम्, अपराजितम् र अमृततेजावृतपुरम् भनिएको छ । उपनिषद्मा मानव उत्पत्तिको समयमा अग्नि मुखमा वाणीको रुपमा, वायु प्राण बनेर नाकमा, सूर्य चक्षु बनेर आँखामा, दिशाहरु श्रोत्र बनेर हृदयमा, मृत्यु अपान बनेर नाभिमा र जल वीर्य बनेर शिश्नमा प्रवेश गरेको बताइएको छ । जन्मदेखि नै शरीर तीन तहमा रहेको हुन्छ । साधना विज्ञानमा यसलाई स्थूल शरीर, सूक्ष्म शरीर र कारण शरीर भनिएको छ । स्थूल शरीर देखिन्छ तर सूक्ष्म र कारण शरीर अदृश्य छन् तर तीनवटै शरीर आपसमा घनिष्ठ रुपमा सम्बन्धित छन् । आहारले यी तीनवटै शरीरलाई प्रभावित गर्छ ।
हुनत, प्रत्येक इन्द्रियका आहार फरक फरक छन् । आँखालाई दृश्य, कानलाई श्रवण, छालालाई स्पर्श आहार हो भने नाकलाई गन्ध आहार हो । तर गीताको यस अध्यायमा मुखबाट लिने आहार अर्थात् भोजनको बारेमा चर्चा छ । आहारको उद्देश्य शरीरका पञ्च महाभूत– भूमि, जल, वायु, तेज, र आकाशका साथै शरीरमा हुने रङ्गको सन्तुलन मिलाउनु हो । यसबाट रोगसंग लड्ने शरीरको क्षमतामा वृद्धि हुनुका साथै रोग निवारण हुन जान्छ । मानिसको जीवन सुख सन्तोषपूर्ण हुनुमा स्वास्थ्य सर्वाधिक महत्त्वपूर्ण हुन्छ । रोगी मानिस चिकित्सक र औषधिहरुको दास हुनपुग्छ । आहारको असन्तुलन, अनियमित दिनचर्या र अनुचित विषय चिन्तन नै रोगको प्रमुख कारण हो । स्वास्थ्यका तीन आधार– आहार, निद्रा र ब्रह्मचर्यमध्ये आहार एक हो ।
भोजन ग्रहण गर्ने तरिकाको आधारमा भने आहार चार प्रकारको मानिएको छ–
१. भोज्य, अर्थात् चपाएर खाने जस्तै भात–दाल, २., पेय जस्तै पानी, दूध, ३. लेह्य अर्थात् चाट्ने जस्तै चटनी, तथा ४., चोष्य अर्थात् चुस्ने जस्तै उखु, आँप ।
आहारको विषयमा तीनवटा प्रमुख सूत्र बनाउन सकिन्छ– के खाने ? कसरी खाने ? र कहिले खाने ?
प्रोटीन, कार्बोहाइड्रेड, चिल्लो, विटामिन, पानी आदिको रुपमा हामीले जुन आहार लिन्छौं, त्यसबाट शरीर यन्त्रले प्रतिदिन दुई हजार भन्दा बढी यौगिक निर्माण गरिरहेको हुन्छ । यी पदार्थहरु रगतको माध्यमबाट शरीरमा घुमिघुमि आवश्यक परेको ठाउँमा पोषण आपूर्ति गरिरहेका हुन्छन् । यसरी आहार जति प्राकृतिक हुन्छन् स्वास्थ्य त्यति नै राम्रो हुन्छ । प्राकृतिक चिकित्साको एक शाखा छ जसलाई आहार विज्ञान भनिन्छ । त्यसमा स्वास्थ्यकर आहारका लागि दिइएका निर्देश र गीताको आहार निर्देश मिल्छ ।
शरीरलाई हित गर्ने आहार लिनु पर्छ । अति आहार गर्नु हुँदैन तथा ऋतु अनुसारको आहार लिनाले शरीर स्वास्थ्य ।
खाना खाने र खाना तयार गर्नेको मनोभावले पनि आहारको गुण प्रभावित हुन्छ । चिन्तारहित, शान्त र प्रसन्न मनले आहार ग्रहण गरिएको छ भने सुपाच्य हुन्छ । हतार साथ, काम, क्रोध आदि अशान्त चित्तले पकाएको भोजन शरीर र मन दुवैलाई हितकर हुँदैन । खाना खाने विधिले पनि आहारको गुण निर्धारित गर्छ । बेसरी भोक लागे पछि प्रशस्त चपाएर खानु पर्दछ । अन्यथा त्यस्तो भोजन सुपाच्य हुँदैन ।
उमेर अनुसार पनि आहारको गुण प्रभावित हुन्छन् । बालक, युवा र वृद्धको आहार आवश्यकतामा अन्तर हुन्छ । बाल्यावस्थामा जीवनीशक्ति र देहोन्नति गर्ने आहार, युवावस्थामा देहोन्नति गर्ने आहार तथा वृद्धावस्थामा रोगनिरोधक सात्त्विक भोजन लिनु पर्छ। स्वास्थ्य रक्षा र रोग निवारणका लागि गुलियो, अमिलो, नुनिलो, तितो, टर्रो, तम्तमाइलो (कषाय) सबै स्वादका भोजन समावेश गर्नु पर्छ । यसमा साधकका लागि तितो र टर्रो आवश्यकता अनुसार कहिलेकाहीं लिनु पर्छ । त्यसैले मधुर मुख्य आहार तथा अन्य आहार गौण आहार मानिन्छ ।
छान्दोग्य उपनिषद्का अन्ुसार, सेवन गरिएको भोजनको स्थूल भाग मलमा, सूक्ष्म भाग मनमा र मध्यम भाग मासुमा रुपान्तरित हुन्छ । सेवन गरिएको पानीको स्थूल भाग मूत्र, सूक्ष्म भाग प्राण र मध्यम भाग रक्त बन्छ । त्यसै गरी घिउ, तेल आदिको स्थूल भागले हाड, सूक्ष्म भागले वाणी र मध्यम भागले मज्जा बन्छ । आहारको सार भागले मनको निर्माण हुने भएकोले आहार शुद्धिले अन्तःकरण शुद्ध बन्छ । शुद्ध अन्तःकरण भए पछि निर्मल ज्ञान प्राप्त हुन्छ ।
आयुः सत्त्वबलारोग्यसुखप्रीतिविर्वधनाः ।
रस्याः स्निग्धाः स्थिरा हृद्या आहाराः सात्त्विकप्रियाः ।। ८ ।।

पदच्छेद र शब्दार्थ–
[सम्पादन गर्नुहोस्]

आयुः सत्त्व बल आरोग्य (आयु, सात्त्विक वृत्ति, बल, आरोग्य) सुख प्रीति विर्वधनाः (सुख र प्रीति बढाउने) रस्याः (रसयुक्त) स्निग्धाः (चिल्लोपनयुक्त) स्थिराः (पुष्टिकर, शरीरमा भिजेर धेरै समयसम्म शक्ति दिने) हृद्या ः (मनलाई आनन्द दिने) आहाराः (आहार, भोजन) सात्त्विक (सात्त्विक मानिसलाई) प्रियाः (प्रिय हुन्छन्) ।
आयु, सात्त्विक वृत्ति (बुद्धि), बल, आरोग्य, सुख र प्रीति बढाउने, रसयुक्त, मधुर चिल्लोपन, स्थायीबल दिने, मनलाई आनन्द दिने आहार सात्त्विक मानिसलाई प्रिय हुन्छन् ।।८।।

खानाको बारेमा गीताले बडो मौलिक विचार व्यक्त गरेको छ । सामान्यतया के मानिन्छ भने सात्त्विक आहार गर्नेका सात्त्विक गुण बढ्छन् तर गीताले के मान्दछ भने जो सतोगुणी छ, उसले सात्त्विक खानेकुरा मनपराउँछ । त्यसैले गीताको दृष्टिकोणमा स्वास्थ्य एक मानसिक घटना हो ।
गीताले आहारको एक विशेष वर्गीकरण प्रस्तुत गरेको छ । यो आुधनिक वर्गीकरण veg (शाकाहार), non-veg (मांसाहार), vegan (पूर्ण शाकाहार) भन्दा फरक छ । शाकाहारमा कहीं कहीं अण्डा र माछा पनि समावेश हुन्छन् भने पूर्ण शाकाहारमा जनावरको दूध, घिउ पनि उपयोग गरिँदैन ।
सात्त्विक विचारका मानिसहरुले मानिसको आयु, शारीरिक र मानसिक शक्ति, सुख, उत्साह आदि सत्त्वगुण बढाउने खाना मन पराउँछन् । यस्तो खाना सुपाच्य हुन्छ, शरीरमा शक्ति–स्फूर्ति बढाउँछ, बुद्धिमा सौम्य भाव उत्पन्न गराउँछ । आयुर्वेद सिद्धान्त अनुसार पनि फलफूल, दूध, गुँड, घिउ, नौनी, बदाम, काजु, किशमिश, राम्ररी पाकेका स्नेहयुक्त ताजा भोजन इत्यादिलाई स्वास्थ्यकर आहार भनिन्छ ।
यहाँ ध्यान दिनु पर्ने कुरा के भने कुनै भोजनलाई निरपेक्ष सात्त्विक भन्न सकिंदैन । आयु, प्रकृति, परिश्रम, रोग, देश, काल, अनियमित समय, र संयोग विपर्यय जस्ता कारणले यिनै खाना असात्त्विक हुनपुग्छन् । उदाहरणका लागि दूध सात्त्विक हो तर अम्लपित्तका रोगीका लागि यो कुपथ्य हुन्छ । दूध र दही सात्त्विक हो तर दुवै मिसाएर खानु हानिकारक हुन्छ । आहारमा तीन प्रकारका दोष हुन्छन्– जाति दोष, निमित्त दोष र आश्रय दोष । माछा मासुको खाना जाति दोष भित्र पर्छ । धूलो, जुठो, नङ्, कपाल परेको निमित्त दोष भित्र पर्छ । अुनुचित तरिकाले कमाइएको धनबाट तयार गरिएको खाना आश्रय दोष भित्र पर्छ । आहारको सात्त्विकता बढाउन मन्त्र पढ्नु पर्छ । मन्त्रले खानामा मन एकाग्र भई रुचि बढ्छ । रुचिपूर्वक खाएको खाना सुपाच्य हुन्छ । यसका लागि गीता अध्याय १५.१४ को निम्नलिखित श्लोक उपयोगी मानिएको छ–
अहं वैश्वानरो भूत्वा प्राणिनां देहमाश्रितः ।
प्राणापानसमायुक्तः पचाम्यन्नं चतुर्विधम् ।।
कट्वम्ललवणात्युष्णतीक्ष्णरुक्षविदाहिनः ।
आहाराः राजसस्येष्टा दुःखशोकामयप्रदाः।। ९ ।।

पदच्छेद र शब्दार्थ–
[सम्पादन गर्नुहोस्]

कटु (तितो) अम्ल (अमिलो) लवण ( चर्को नुनिलो) अति उष्ण (तातो) तीक्ष्ण (तिखो) रुक्ष (रुखो) विदाहिनः (दाह गर्ने) दुःख शोक (दुख शोक) (आमय) (रोग) प्रदाः (दिने, उब्जाउने) आहाराः (आहार) राजसस्य (राजसी गुण भएका मानिसहरुले) इष्टः (राम्रो मान्छन्) ।
तितो, अमिलो, नुनिलो, बढी तातो, तीक्ष्ण, रुखो, दाह गर्ने, दुख, शोक, रोग उब्जाउने आहार राजसी स्वभावका मानिसले राम्रो मान्छन् ।। ९ ।।

रजोगुणी मानिसहरुले मन पराउने खानाको विवरण गीतामा यस प्रकार दिइएको छ– अतिकटु (बढी तितो), बढी पोल्ने परपराउने, ज्यादै अमिलो, चर्को नुनिलो, बढी तातो जस्तै चिया– कफी (अति चिसो पनि यसै कोटिमा पर्छ), तीक्ष्ण– घोच्ने, पोल्ने जस्तै खुर्सानी (जसलाई खाँदा आँखा नाकबाट पानी बग्न थाल्छ), रुखो (धेरै भुटेको, रसहीन), खाए पछि शरीरमा दाह हुने । फलस्वरुप, उनीहरुको जीवनमा सक्रियता, दुख, शोक जस्ता राजसी गुणमा वृद्धि हुनजान्छ ।
यातयामं गतरसं पूति पर्युषितं च यत् ।
उच्छिष्टमपि चामेध्यं भोजनं तामसप्रियम् ।।१०।।

पदच्छेद र शब्दार्थ–
[सम्पादन गर्नुहोस्]

यातयामम् (समय गएको, बासी) गतरसम् (रस सुकेको, स्वाद नभएको) पूति (दुर्गन्धित) पर्युषितम् (खाएर बचेको) च (तथा) यत् (जुन) उच्छिष्टम् (कुकुर, बिरालो, गाई, मानिसको जुठो) अपि च (तथा) अमेध्यम् (अपवित्र) भोजनम् (भोजन, आहार) तामसप्रियम् (तामस गुण भएकालाई मन पर्छ) ।
समय गएको वा बासी, बिरसिलो, दुर्गन्धित, खाएर बचेको, कुकुर, बिरालो, गाई, मानिसको जुठो, अपवित्र पनि तामसलाई मनपर्छ ।। १० ।।

यामको अर्थ हुन्छ प्रहर । चार प्रहरको एक दिन हुन्छ । त्यसैले यातयामको अर्थ हुन्छ एक प्रहर वा उचित समय बिते पछि, यस बाहेक औषधि राखेर असमयमा पकाइएको, फ्रिजमा राखेर तजा बनाइएको इत्यादिलाई पनि यातयाम भन्न सकिन्छ । तामसी प्रवृत्तिका मानिसहरुले मन पराउने आहारमा उचित समय बितेको खानेकुरा, बासी, रसहीन, कुहाएर दुर्गन्धित बनाइएका जस्तै मदिरा आदि पदार्थ, पर्युषित, र उच्छिष्ट भोजन पर्दछन् ।
पर्युषितको अर्थ हुन्छ सबैले खाएपछि बचेको वा जुठो । यसै गरी उच्छिष्टको अर्थ हुन्छ– कुकुर, बिरालो, गाईले सुँघेको वा जुठो हालेको । अमेध्यको अर्थ हुन्छ अपवित्र, फोहर, मलमूत्रयुक्त जस्तै अण्डा, मुर्दा (जस्तै मासु) र पवित्र कार्यलाई अनुपयुक्त । यी सबै तमोगुणीलाई प्रिय हुन्छन् ।
यस अध्यायमा जसरी मानिसको शारीरिक र मानसिक स्वास्थ्यको चर्चा गरिएको छ, त्यसले गीतालाई स्वास्थ्य विज्ञान पनि भन्न सकिन्छ । योगलाई सिद्ध गर्न उचित आहार हुनु पर्छ भन्ने कुरा गीता अध्याय छ श्लोक १७ मा बताइएको छ ।
अफलाकाङ्क्षीभिर्यज्ञो विधिदृष्टो य इज्यते ।
यष्टव्यमेवेति मनः समाधाय स सात्त्विकः ।।११।।

पदच्छेद र शब्दार्थ–
[सम्पादन गर्नुहोस्]

अफल आकाङ्क्षीभिः (फलको आकांक्षा नलिएर) यष्टव्यम् एव इति (यस्तो गर्नु नै कर्तव्य हो भन्ने) यज्ञः (यज्ञ) विधिदृष्टः (शास्त्रविधिपूर्वक) मनः समाधाय (मनलाई शान्त गरी) य (जुन) इज्यते (यज्ञ गरिन्छ), सः (त्यो) सात्त्विकः (सात्त्विक यज्ञ हो) ।
फलाशाको आकांक्षा नलिएर, आफ्नो कर्तव्य ठानेर, शास्त्र विधिपूर्वक र शान्त मनले जुन यज्ञ गरिन्छ, त्यो सात्त्विक यज्ञ हुन्छ ।।११।।
अभिसन्धाय तु फलं दम्भार्थमपि चैव यत् ।
इज्यते भरतश्रेष्ठ तं यज्ञ विद्धि राजसम् ।।१२।।

पदच्छेद र शब्दार्थ–
[सम्पादन गर्नुहोस्]

तु (तर) भरतश्रेष्ठ (हे भरत श्रेष्ठ) फलम् (फललाई मात्र) अभिसन्धाय (ध्यानमा राखेर) अपि (अनि) दम्भार्थम् (दम्भाचरणका लागि) च एव (तथा) यत् (जुन) इज्यते (यज्ञ गरिन्छ) तम् (त्यस) यज्ञ (यज्ञलाई) राजसम् (राजसी) विद्धि (जान) ।
तर हे भरतश्रेष्ठ, केवल फललाई ध्यानमा राखेर तथा दम्भाचरणका लागि जुन यज्ञ गरिन्छ त्यसलाई राजस यज्ञ जान ।।१३।।
विधिहीनमसृष्टान्नं मन्त्रहीनमदक्षिणम् ।
श्रद्धाविरहितं यज्ञं तामसं परिचक्षते ।।१३।।

पदच्छेद र शब्दार्थ–
[सम्पादन गर्नुहोस्]

विधिहीनम् (शास्त्रविधिरहित) असृष्ट अन्नम् (अन्नदानरहित) मन्त्रहीनम् (बिना मन्त्रको) अदक्षिणम् (दान दक्षिणा नभएको) श्रद्धाविरहितम् (श्रद्धा नभएको) यज्ञम् (यज्ञलाई) तामसम् (तामस) परिचक्षते (भनिन्छ) ।
शास्त्रविधिरहित, अन्नदानरहित, बिना वेदमन्त्रको, बिना दानदक्षिणा, तथा श्रद्धारहित भावले जुन यज्ञ गरिन्छ, त्यस यज्ञलाई तामसी भनिन्छ ।।१३।।

शास्त्रविधिहीन, अन्नदान, वेदमन्त्र र दक्षिणारहित बिना कुनै श्रद्धा गरिएको यज्ञ तामसी हुन्छ, जुन यज्ञ केवल दम्भाचरणका लागि हुन्छ त्यो राजसी हो । तर आफ्नो कर्तव्यलाई सर्वोच्च ठानेर विधिपूर्वक र फलको आकांक्षा नराखेर गरिएको यज्ञ सात्त्विक हुन्छ । यज्ञको अर्थ हो त्याग वा सामूहिक कल्याणका लागि गरिएको काम । वैदिक यज्ञ यसको एक प्रचलित अर्थ हो । यस दृष्टिले स्वर्गद्वारी महाप्रभुले गरेका वैदिक यज्ञ सात्त्विक यज्ञका उदाहरण हुन्। महाप्रभु यदुकानन्दले गरेका विशाल यज्ञहरु केही मात्रामा राजसिक थिए भन्न सकिन्छ ।
अरुको अहितका लागि गरिने यज्ञ, विधिहीन यज्ञ तथा सृष्टान्न यज्ञ तामसिक हुन् । आचार्य शङ्करले विधिहीनम् र सृष्टान्नम्को अर्थ गर्दै भनेका छन् जुन यज्ञमा मन्त्रोच्चारण अशुद्ध हुन्छ, त्यो विधिहीन र वृथा यज्ञ हो । यज्ञमा ब्राह्मणलाई अन्नदान नगर्नु असृष्टान्न हो । यज्ञकर्तामा श्लोक १४ देखि १६ श्लोकमा बताइएका तीन प्रकारका तप भएनन् भने त्यो यज्ञ श्रद्धाविरहित हुन जान्छ ।
अब, अर्जुनलाई भरत श्रेष्ठ भनिएको छ । गीताको समाप्ति हुन लाग्दा जति ज्ञान अर्जुनले प्राप्त गरे त्यसबाट उनी श्रेष्ठ बनेका छन् । ज्ञान प्राप्त गर्दै गर्दा हरेक व्यक्ति अर्जुन जस्तै श्रेष्ठ हुनजान्छन् ।
देवद्विजगुरुप्राज्ञपूजनं शौचमार्जवम् । ब्रह्मचर्यमहिंसा च शारीरं तप उच्यते ।।१४।।

पदच्छेद र शब्दार्थ–
[सम्पादन गर्नुहोस्]

देव (देव) द्विज (द्विज, ब्राह्मण) गुरु (गुरु) प्राज्ञ (प्राज्ञ) पूजनम् (सम्मान) शौचम् (पवित्रता) आर्जवम् (सादगीपन) ब्रह्मचर्यम् (मन र वाणीको ब्रह्मचर्य) च (तथा) अहिंसा (अहिंसा, परपीडा नगर्नु) शारीरम् तप (शरीरको तप) उच्यते (भनिन्छ) ।
देवता, द्विज, गुरु, विद्वानको पूजन, सादगी, पवित्रता, शरीर, मन र वाणीको ब्रह्मचर्य तथा अहिंसालाई शरीरले गर्ने तपस्या भनिन्छ ।।१४।।
अनुद्वेगकरं वाक्यं सत्यं प्रियहितं च यत् ।
स्वाध्यायाभ्यसनं चैव वाङ्मयं तप उच्यते ।।१५।।

पदच्छेद र शब्दार्थ–
[सम्पादन गर्नुहोस्]

अनुद्वेगकरम् (श्रोतालाई दुख नलाग्ने, अनुद्वेगकारी) यत् (जुन) वाक्यम् (वाक्य) सत्यम् (सत्य) प्रिय हितम् च (प्रिय र हितकारी) स्वाध्याय अभ्यसनम् (स्वाध्यायको अभ्यास) एव (नै) वाङ्मयम् तपः (वाणीको तपस्या) उच्यते (भनिन्छ) ।
अनुद्वेगकारी, सत्य, प्रिय र हितकारक बोली, निरन्तर स्वाध्यायलाई वाणीको तपस्या भनिन्छ।।१५।।
मनः प्रसादः सौम्यत्वं मौनमात्मविनिग्रहः ।
भावसंशुद्धिरित्येतत्तपो मानसमुच्यते ।।१६।।

पदच्छेद र शब्दार्थ–
[सम्पादन गर्नुहोस्]

मनः (मनको) प्रसादः (प्रसन्नता) सौम्यत्वम् (शान्त, सौम्य) मौनम् (मौन, मुनिहरुको वृत्ति) आत्मविनिग्रहः (मनको निग्रह) भावसंशुद्धिः (शुद्ध भाव, व्यहारमा निष्कपटता) इति (यस प्रकार) एतत् (यी सबैलाई) तपः मानसम् (मानसिक तपस्या) उच्यते (भनिन्छ) ।
मनलाई प्रसन्न राख्नु, सौम्य हुनु, मुनिहरुको वृत्ति लिनु, मनलाई संयम राख्नु, शुद्ध भाव लिनु, यी सबैलाई मनले गर्ने तपस्या भनिन्छ ।।१६।।

अरुको सम्मान सभ्य मानिसको योग्यताको पहिलो प्रमाण पत्र हो । विशेष सम्मान कसलाई गर्नु पर्छ ? देवद्विजगुरुप्राज्ञलाई । देवको अर्थ हो दैवी गुणसम्पन्न समाजका विशिष्ट प्रतिभाहरु। ज्ञान दिएर उज्यालो दिनेहरुलाई आचार्य र गुरु भनिन्छ । समाजमा शुद्धता र सादगी पूर्ण जीवन बाँच्ने बौद्धिक व्यक्तित्वहरुलाई द्विज भनिन्छ । अरुलाई सम्मान दिए जस्तै आफूले आफैंलाई सम्मान दिन सादगीपूर्ण, ब्रह्मचर्य र र अहिंसा पालन गर्नु पर्छ । यी सबैलाई शरीरले गर्ने तपस्या भनिन्छ ।
धम्मपदमा भनिएको छ–
अभिवादन सीलस्स निच्चं वड्ढोपसेविनः ।
चत्तारि तस्य बड्ढन्ते आयु विद्या यशो बलम् ।
जसले नित्य आफ्ना मान्यजनलाई आदरपूर्वक अभिवादन गर्छ उसले यी आयु, विद्या, यश र शक्ति यी चार कुराहरुमा निरन्तर वृद्धि प्राप्त गरिरहन्छ ।
आफ्नो घर परिवारका मान्यजनको आशीर्वादले आयु र स्वास्थ्य, वृद्धहरुको संगत गर्नाले ज्ञान, इष्टमित्रहरुको सहयोगले धनसम्पत्ति, र साथ पाउँदा धन बढ्छ । आफूभन्दा उमेरमा जेठा सदस्यहरुलाई असम्मान गर्ने व्यक्तिले सफलता प्राप्त गर्न सक्दैन । यी गुण नभएको व्यक्ति जतिसुकै योग्य भए पनि उसको उन्नतिमा बाधाहरु आउँछन् । मान्यजनको शुभकामनाले यी बाधाहरुबाट सजिलै पार पाइन्छ ।
सभ्यताको अर्को महत्त्वपूर्ण प्रमाण पत्र वाणी हो । वाणी कस्तो हुनु पर्छ भने सुन्नेको मनमा कुनै उद्वेग हुने वा बिझाउने नहोस् । सुन्नेलाई कुनै प्रकारको उत्तेजना, रीस, क्रोध, दुख वा चञ्चलता उत्पन्न गराउने बोली मुखबाट निस्कनु हुंदैन । अनुद्वेगकारक वाणी प्रभावकारी हुनका लागि त्यो सत्य बोल्नु पनि जरुरी छ अर्थात् प्रियका साथै सत्य पनि बोल्नु पर्छ । सत्य यदि प्रिय भएन त्यसको प्रभावमा कमी आउँछ । सत्य प्रिय पनि छ भने उसको प्रभाव कैयौं गुना बढ्छ । त्यस बोलीले बोल्ने, सुन्ने र जसको बारेमा त्यो वाणी व्यक्त गरिएको छ ती सबैको हितगर्ने हुनुपर्छ । यस्तो वाणी केवल त्यस बेला उत्पन्न हुन्छ जब बोल्नेले अनर्थ बोल्दैन । उसले सार्थक कुरा बोल्छ । जुन कुरा बोल्नु ज्यादै आवश्यक छ, त्यो बोल्छ । सत्य कुरा बोल्छ । जसरी हामीले पैसा सोचेर खर्च गर्छौं । त्यस खर्चको प्रतिफल के कति प्राप्त हुन्छ विचार गर्छौं । जति खर्च गरिएको छ त्यो भन्दा बढी प्रतिफल प्राप्त नभएमा हामी खर्च गर्दैनौं । जति पैसा हुन्छ त्यसभन्दा कम खर्च गर्छौं । केही बचत गर्छौं । सबै खर्च गर्दैनौं । यही नियम वाणीमा लागू हुन्छ । वाणी पनि धन हो । त्यसैले यसको अत्यन्त किफायत साथ खर्च गर्नु पर्छ । धनलाई जस्तै वाणीलाई पनि खर्च भन्दा बढी लगानी गर्नु पर्छ । अझ बढी ज्ञान प्राप्तका लागि । समाजको अझ बढी हितमा प्रयोगका लागि । यो वाणीको दोस्रो शर्त हो ।
वाणीको प्रभावकारितामा अझ उच्च शर्तहरु पनि लागू हुन्छन् । उसले कुनै विषयको जानकारी राख्छ तर त्यसको आधिकारिकता उसलाई प्राप्त छैन भने पनि उसले त्यो कुरा बोल्नु हुँदैन । यी सबै कुरा झटपट प्राप्त हुँदैनन् । यसका लागि निरन्तर स्वाध्याय गर्नु पर्छ । लामो अभ्यास गर्नुपर्छ । कमी भए सुधार गर्नु पर्छ । बिना स्वाध्याय, मेहनत, र अभ्यास प्रभावकारी वाणी सफल हुँदैन । त्यसैले यसलाई वाणीको तप भनिएको हो ।
मानसिक तपमा प्रसन्न चित्त रहनु, मनको शान्ति, मौन, आत्म अनुशासन, मनमा शुद्ध विचार लिने कुराहरु पर्दछन् । यहाँ मौनको अर्थ मानसिक मौन हो । मानिस ध्यानमा पनि कुरा गर्छन् । तर जुन बेला मनले एक्लैमा पनि कुरा गर्न बन्द गरीदिन्छ, त्यो मौन हो । यो नै मुनिवृत्ति हो । मौनको चर्चा अध्याय १० को श्लोक ३८ मा पनि गरिएको छ ।
मनुस्मृति ४.१३८ मा भनिएको छ–
सत्यं ब्रूयात् प्रियं ब्रूयात् न ब्रूयात् सत्यमप्रियम् ।
प्रियं च नानृतं ब्रूयात् एषः धर्म सनातनः ।।
सत्य बोल्नु पर्छ तर त्यो प्रिय पनि हुनु पर्छ । अप्रिय सत्य बोल्नु हुंदैन । प्रिय तर असत्य पनि बोल्नु हुंदैन । यही सनातन धर्म हो ।
यी तीनवटा तप परस्पर सम्बन्धित हुन्छन् । एउटाको अभ्यासले अरु तप प्राप्त हुँदै जान्छन्। शरीर, मन र वाणीको तपमा जीवनको सफलताका रहस्य लुकेका हुन्छन् । शास्त्रकारहरुले मानवीय जीवन मूल्यलाई उजागर गर्न, सामाजिक जीवन सरल र सफल बनाउन, पारिवारिक सुखसमृद्धिमा वृद्धि गर्न, देश प्रेम, अनुशासन लगायतका विषयमा अनेक सूत्रहरु दिएका छन् । विदुर नीति, पञ्चतन्त्र, हितोपदेश, चाणक्य नीति दर्पण, भर्तृहरि नीतिशतक इत्यादि अनेक ग्रन्थहरु यसै उद्देश्यका लागि रचना गरिएका छन् । जीवनमा सफल हुनका लागि चाणक्यले सातवटा कुराहरुहरुलाई साधन मानेका छन्, स्वस्थ शरीर, उचित आय, चरित्रवान् जीवनसाथी, आज्ञाकारी सन्तान, असल ज्ञान, उचित आवास र सुसंगत ।
श्रद्धया परया तप्तं तपस्तत्त्रिविधं नरैः ।
अफलाकाङ्क्षीभिर्युक्तै सात्त्विकं परिचक्षते ।।१७ ।।

पदच्छेद र शब्दार्थ–
[सम्पादन गर्नुहोस्]

श्रद्धया परया (परम श्रद्धापूर्वक) तप्तम् (तपस्या गरिएको) तपः (तप) तत् (त्यो) त्रिविधम् (शरीर, वाणी र मन, तीनै प्रकारका) नरैः (मानिसहरुले) अफल आकाङ्क्षीभिः (फलको आकाङ्क्षा नराखी) युक्तै (योग्य) सात्त्विकम् (सात्त्विक) परिचक्षते (भनिन्छ)।
फलको आशा नराखी योग्य मानिसले परम श्रद्धापूर्वक माथि भनिएका यी तीन प्रकारका तप गर्छ भने त्यस तपलाई सात्त्विक तप भनिन्छ ।।१७।।
सत्कारमानपूजार्थं तपो दम्भेन चैव यत् ।
क्रियते तदिह प्रोक्तं राजसं चलमधु्रवम् ।। १८ ।।

पदच्छेद र शब्दार्थ–
[सम्पादन गर्नुहोस्]

सत्कार मान पूजा अर्थम् (तप सत्कार, मान, पूजा इत्यादि स्वार्थका लागि) एव (तथा) दम्भेन (पाखण्डपूर्वक) यत् (जुन) तपः (तप) क्रियते (गरिन्छ) तत् (त्यो) चलम् (चञ्चल) च (वा) अधु्रवम् (अस्थिर) इह (यहाँ) प्रोक्तम् राजसम् (राजस भनिन्छ) ।
जुन तप आफ्नो सत्कार, मान, पूजाका लागि गरिन्छ वा पाखण्डपूर्वक गरिन्छ, त्यस चञ्चल र अस्थिर तपलाई राजस तप भनिन्छ ।। १८ ।।
मूढग्राहेणात्मनो यत्पीडया क्रियते तपः ।
परस्योत्सादनार्थं वा तत्तामसमुदाहृतम् ।।१९ ।।

पदच्छेद र शब्दार्थ–
[सम्पादन गर्नुहोस्]

यत् (जुन) तपः (तपस्या) मूढ ग्राहेण (मूढ आग्रहलिई) आत्मनः (आफैं) पीडया क्रियते (पीडा उठाएर) वा (अथवा) परस्यः (अरुको) उत्सादन अर्थम् (विनाश वा अनष्टिका लागि) तत् (त्यसलाई) तामसम् (तामस) उदाहृतम् (भनिएको छ) ।
जुन तप मूढ आग्रह लिई, मन, वाणी, र शरीरको पीडासहित अथवा अरुको अनिष्टका लागि गरिन्छ, त्यो तप तामस हुन्छ ।।१९।।

तपको अर्थ हो तताउनु वा शुद्ध गर्नु । जसरी सुनलाई तताउँदा र सिंगमरमरलाई घोट्दा उसमा अझ बढी चमक उत्पन्न हुन्छ । त्यसै गरी तपले मानिसको व्यक्तित्वमा अझ चमक आउँछ । जुन तप श्रद्धापूर्वक तथा फलाशाको इच्छा नराखी गरिन्छ त्यस तपलाई सात्त्विक तप भनिन्छ । गीतामा तपका विविध आयाम विश्लेषण गर्दै यसलाई अन्य दुई भागमा वर्गीकरण गरिएको छ । जुन तप बाहिर देखाउनका लागि वा अरुले मेरो सम्मान गरुन् भन्ने भावनाले गरिन्छ, त्यो राजस हुन्छ । त्यसैले यो सात्त्विकभन्दा कम प्रभावको हुन्छ । तामसिक कोटिको तप त्यो तप हो जुन हठपूर्वक र अरुका अनिष्टको कामनाले गरिन्छ, यस्तो तपले मन, वाणी र शरीरलाई पीडा दिन्छ । यस्तो तपले सफलता प्राप्त हुँदैन ।
खडानन्दले अचानक सन्न्यास लियो । जप, तप, ध्यानका विधिहरु जान्दैनथ्यो । केवल सोऽहम्को जाप गर्न सिक्यो— सोऽहम् सोऽहम् । उसलाई सोऽहम् बाहेक अरु केही पनि जप्न आउँदैनथ्यो । त्यही जपिरहन्थ्यो । त्यसैमा श्रद्धा थियो ।
उसको एक जना गुरुभाई पुग्यो । ऊ भक्ति मार्गको साधक थियो । उसले भन्यो — ओहो, सोऽहम्, म ईश्वर हूँ भनेर सिद्धि पाइन्न, अहंकार हुन्छ । यसरी सन्न्यास सफल हुन्न । खडानन्दले सोध्यो– अनि के गरुँ ? मलाई सोहम् बाहेक अरु केही आउन्न ।
गुरुभाईले भन्यो– अलि विनम्र भएर साधना गर्नुपर्छ । सोहम् नभन्नु बरु दासोऽहम् भन्ने गर्नु । सोऽहम् भन्न छोडेर खडानन्दले सुरु गर्यो दासोऽहम्, दासोऽहम् ।
दासोऽहम् जप्दा वर्षौ बित्यो । एक दिन नाम चलेको एउटा साधु आयो । सोध्यो— खडानन्द, साधना पूरा भयो?
खडानन्द — सोऽहम् जप्दा अलि अलि होला होला जस्तो थियो । त्यो अलि अहङ्कारी भयो भनेर दासोऽहम् जप्न सुरु गरेको छू । फेरी नयाँ भएँ ।
त्यस साधूले भन्यो — छिटो सिद्धि प्राप्त गर्न सदादासोऽहम् भन्ने गर्नु । अहंकार नाश हुन्छ। खडानन्दले त्यस दिन देखि नयाँ कुरा सुरु गर्यो— सदादासोऽहम्, सदादासोऽहम् ... । साधना गरिरहँदा एउटा महात्मा आइपुगे — खडानन्द, तिम्रो साधना पूरा भयो ?
खडानन्द – सदा दासोहम् जप्न भर्खर थालेको छू ।
महात्माले भने — अब देखि दासानुदासोऽहम् जप अनि अहङ्कारको पूरा त्याग हुनेछ । यसले साधना सफल होला ।
बिचरा खडानन्द । उसले सोहम् पनि भन्न बिस्र्यो । दासानुदासोऽहम् भन्न पनि जानेन । दातव्यमिति यद्दानं दीयतेऽनुपकारिणे ।
देशे काले च पात्रे च तद्दानं सात्त्विकं स्मृतम् ।। २० ।।

पदच्छेद र शब्दार्थ–
[सम्पादन गर्नुहोस्]

यत् (जुन) दानम् (दान) दातव्यम् (दिनु कर्तव्य हो), इति (यसरी) अन–उपकारिणे ( प्रतिउपकारको भावना बिना) देशे च काले (देश र काल) पात्रे च (तथा पात्रलाई) दीयते (दिइन्छ) तत् (त्यस) दानम् (दानलाई) सात्त्विकम् (सात्त्विक) स्मृतम् (भनिन्छ) ।
जुन दान दिँदा देश, काल र पात्रलाई बिना प्रति उपकारको भावले, मैले मेरो कर्तव्य पूरा गर्दैछू यस भावनाले दिइन्छ त्यो दान सात्त्विक हुन्छ ।।२०।।
यत्तु प्रत्युपकारार्थं फलमुद्दिश्य वा पुनः ।
दीयते च परिक्लिष्टं तद्दानं राजसं स्मृतम् ।।२१ ।।

पदच्छेद र शब्दार्थ–
[सम्पादन गर्नुहोस्]

यत् तु (तर जुन) प्रति उपकार अर्थम् ( प्रति उपकारको भावनाले, आफूले त्यस बापत केही उपकार पाउने भावले) वा (अथवा) फलम् उद्दिश्य (फलको उद्देश्य राखेर) च (तथा) परिक्लिष्टम् (कष्टका साथ) पुनः दीयते (दिइन्छ) तत् (त्यस) दानम् (दानलाई) राजसम् स्मृतम् (राजस भनिन्छ)।
तर जुन दान दिँदा प्रति उपकारको भावनाले अर्थात् बदलामा केही पाउने आशाले अथवा फलको उद्देश्य राखेर वा मन नलागी नलागी वा गाह्रो मानेर दिइन्छ त्यस दानलाई राजस दान भनिन्छ ।।२१।।
अदेशकाले यद्दानमपात्रेभ्यश्च दीयते ।
असत्कृतमवज्ञातं तत्तामसमदाहृतम् ।।२२ ।।

पदच्छेद र शब्दार्थ–
[सम्पादन गर्नुहोस्]

अदेशकाले (अयोग्य देश र कालमा) यत् (जुन) दानम् (दान) अपात्रेभ्यः (अयोग्य पात्रलाई) च (तथा) दीयते (दिइन्छ) असत्कृतम् (तिरस्कारपूर्वक) अवज्ञातम् (घृणापूर्वक) तत् (त्यसलाई) तामसम् उदाहृतम् (तामस भनिन्छ) ।
अयोग्य स्थानमा, अयोग्य समयमा, तथा अपात्र मानिसलाई तिरस्कारपूर्वक जुन दान दिइन्छ, त्यस दानलाई तामस दान भनिएको छ ।। २२ ।।

मानवीय जीवनको तीनवटा उत्कृष्ट कर्म यज्ञ, तप र दान हुन् । संस्कृत भाषाको दान शब्दको व्युत्पत्ति द बाट भएको छ । जसको अर्थ हुन्छ– केही कुरा दिनु, भुक्तानी गर्नु, खर्च गर्नु, लगानी गर्नु, उपहार दिनु, दया गर्नु, पुरस्कार दिनु, वा पारिश्रमिक दिनु ।
आधुनिक अर्थशास्त्रमा झैं महाभारतमा एक स्थानमा दानलाई सर्वोत्तम उपयोग अर्थात् लगानीको अर्थमा प्रयोग गरिएको छ । यस अनुसार, धनका तीन उपयोग हुन्छन् दान, भोग, र नाश । अनुत्पादक उपभोग मध्यम स्तरको उपयोग हो । धनको कुनै उपयोग नहुनु नाश हुनु हो । ऋग्वेदको दानसूक्तमा दान शब्दलाई सर्वप्रथम परिभाषित गरिएको छ । यस अनुसार मानिसको तीव्रतम आवश्यकता भोक हो, जुन मृत्युको कारण बन्न सक्छ । मानिसका आवश्यकता पूरा भएमा सुख प्राप्त हुन्छ । यसका लागि साधनसम्पन्न मानिसबाट साधनहीन मानिसलाई धनको हस्तान्तरण गर्नु पर्दछ । जसले भोकोलाई अन्न वा धन दिन्न त्यो समाजको शत्रु हो भनिएको छ । समाजमा धन आउने र जाने भनेको रथको चक्का जस्तै हो भन्ने कुरा स्पष्ट गरिएको छ । अन्तमा दुई मानिसको उत्पादन क्षमता र दान दिने क्षमता एउटै हुँदैन भन्दै मानव कल्याण नै दानको उद्देश्य हुनुपर्छ भनिएको छ ।
महाभारत ६०.७ मा दानका लागि एक शब्द प्रयोग गरिएको छ– संविभाग । यसको अर्थ हुन्छ– बराबर भाग लगाउनु, हिस्सा लगाउनु । त्यहाँ कोही दिने र कोही लिने भन्ने हुंदैन । अर्को शब्दमा जब सबैले आआफ्नो योगदान अनुसारको भाग प्राप्त गर्छन् त्यो दान हुन्छ । आधुनिक अर्थशास्त्रमा यो अवधारणा उत्पादनका साधनको मूल्य निर्धारणमा प्रयोग हुन्छ । यस अनुसार, प्रत्येक साधन (भूमि, श्रम, पूँजी, र उद्यम) ले आआफ्नो योगदान अनुसार हिस्सा प्राप्त गर्छन् ।
गीतामा सात्त्विक, राजस र तामस् गरी तीन प्रकारका दानको व्याख्या गरिएको छ ।

तालिका १७.१ तीन प्रकारका श्रद्धा
श्रद्धा सात्त्विक राजस तामस
यज्ञ क्रिया शास्त्रविधियुक्त दम्भ र फलको आकांक्षासहित शास्त्रविधिरहित
शरीर, मन र वाणीको तप श्रद्धावश दम्भका लागि अरुको अनिष्ट गर्न
दान सबैको कल्याण हुने प्रआफ्नो स्वार्थ पूरा हुने कसैको भलो नगर्ने
आहार मन र शरीरलाई शक्ति दिने मधुर खाना पिरो, अमिलो खाना बासी, दुर्गन्धित, अपवित्र खाना

यो मेरो कर्तव्य हो भनी प्रसन्नतापूर्वक देश, काल र पात्रबाट प्रतिफलको आशा बिना जुन दान गरिन्छ त्यो दान सात्त्विक हुन्छ । तर जुन दिंदा गाह्रो मानी मानी दिइन्छ, दिएपछि त्यत्ति र त्यस्तै गरी प्राप्त भए हुन्थ्यो भनी स्वार्थ लिइन्छ, त्यो राजस दान हो । र निकृष्ट कोटीको दान तामस् हो । तिरस्कारपूर्वक, अयोग्य मानिसलाई, समय, काल, परिस्थिति र पात्रलाई बेवास्ता गर्दै गलत समय, गलत स्थानमा अपात्रलाई दिइन्छ, त्यो तामसको उदाहरण हो । तामस दानबाट समाजलाई दुष्प्रभाव पर्छ । यस दुष्प्रभावबाट समाजलाई बचाउन धनको शुद्धिकरण आवश्यक हुन्छ ।
संक्षेपमा, जुन दानको प्रभाव लोककल्याणकारी हुन्छ, त्यो सात्त्विक दान हुन्छ । स्वार्थको उद्देश्यलाई प्रमुख मानेर गरिएको दान राजस् दान हो तथा जुन दानले लिने र दिने कसैको भलो हुँदैन, त्यसलाई तामस् दान भनिएको छ ।
ॐ तत्सदिति निर्देशो ब्रह्मणस्त्रिविध स्मृतः ।
ब्राह्मणास्तेन वेदाश्च यज्ञश्च विहिताः पुरा ।।२३।।

पदच्छेद र शब्दार्थ–
[सम्पादन गर्नुहोस्]

ॐ तत् सत् ( ॐ, तत्, र सत्) इति (यति) त्रिविध (तीन प्रकारको) ब्रह्मणः (परब्रह्म, निराकार ईश्वरको) स्मृतः (स्मृति हुन्छ) तेन (त्यसैको) निर्देशः (निर्देशबाट) पुरा (अतीतमा, पुराकालमा) ब्राह्मणाः (ब्राह्मणहरुले) वेदाः (वेदहरु) च (तथा) च (तथा) यज्ञः (यज्ञ) विहिताः (निर्माण भएका हुन्) ।
ॐ, तत्, र सत् यति तीन प्रकारको नामले ब्रह्मको स्मृति हुन्छ । त्यसैको निर्देशद्वारा अतीतमा ब्राह्मण, वेद, र यज्ञ निर्माण गरिएका हुन् ।। २३ ।।
तस्मादोमित्युदाहृत्य यज्ञदानतपःक्रियाः ।
प्रवर्तन्ते विधानोक्ताः सततं ब्रह्मवादिनाम् ।। २४ ।।

पदच्छेद र शब्दार्थ–
[सम्पादन गर्नुहोस्]

तस्मात् (त्यसैले) ब्रह्मवादिनाम् (ब्रह्मज्ञानी, ब्रह्मको बारेमा बोल्नेहरुले) यज्ञ दान तप क्रियाः (यज्ञ, दान, र तपका क्रिया) विधान (तथा शास्त्र विधानले) उक्ताः (भनिएका कर्म गर्दा) सततम् (सधैं) इति (यस प्रकार) ओम् (ॐ) उदाहृत्य (उच्चारण गरेर) प्रवर्तन्ते (प्रवर्तन गर्छन्) ।
जगत्को सृष्टि यसै संकल्पले गरिएकोले ब्रह्मज्ञानीहरुले यज्ञ, दान र तप र यस्तै शास्त्रोक्त कर्म गर्दा सधैं ॐकारको उच्चारणका साथमा यी कर्महरु गर्दछन् । ।।२४।।
तदित्यनभिसन्धाय फलं यज्ञतपःक्रियाः ।
दानक्रियाश्च विविधाः क्रियन्ते मोक्षकांक्षिभिः ।। २५ ।।

पदच्छेद र शब्दार्थ–
[सम्पादन गर्नुहोस्]

तत् इति (तत् यस प्रकारको उच्चारणले) अनभिसन्धाय फलम् (फलको चाहना नराखी) च (तथा) मोक्ष कांक्षिभिः (मोक्ष चाहने मानिसहरुद्वारा) विविधाः (अनेक प्रकारका) यज्ञ दान तपःक्रियाः (यज्ञ, तप, र दान क्रिया) क्रियन्ते (गरिन्छन्) ।
तत् यस प्रकारको उच्चारणले फलको चाहना नराखेर मोक्षार्थी मानिसहरुले यज्ञ, तप, र दान आदि अनेक प्रकारका कर्महरु गरिरहन्छन् ।। २५ ।।
सद्भावे साधुभावे च सदित्येतत्प्रयुज्यते ।
प्रशस्ते कर्मणि तथा सच्छब्दः पार्थ युज्यते ।। २६ ।।

पदच्छेद र शब्दार्थ–
[सम्पादन गर्नुहोस्]

पार्थ (हे पार्थ) सत् भावे (अस्तित्व भाव) च (तथा) साधुभावे (सज्जन भाव अर्थात् श्रेष्ठ भाव) सत् इति एतत् (सत् शब्दको) प्रयुज्यते (प्रयोग गरिन्छ) प्रशस्ते (शुभ र मांगलिक कार्य) कर्मणि (कर्ममा) तथा (तथा) सत् शब्दः (सत् शब्दको) युज्यते (प्रयोग गरिन्छ) ।
हे पार्थ, अस्तित्व र सज्जन भावमा सत् शब्दको प्रयोग गरिन्छ । यसका साथै शुभ र मांगलिक (विवाह आदि) कार्यमा पनि सत् शब्दको नै प्रयोग गरिन्छ ।। २६ ।।
यज्ञे तपसि दाने च स्थितिः सदिति चोच्यते ।
कर्म चैव तदर्थीयं सदित्येवाभिधीयते ।। २७ ।।

पदच्छेद र शब्दार्थ–
[सम्पादन गर्नुहोस्]

च (तथा) यज्ञे तपसि दाने (यज्ञ, तप, र दानमा) स्थितिः (जुन स्थिर भाव छ) सत् इति (सत् यस शब्दले) उच्यते (उच्चारण गरिन्छ) च (तथा) कर्म (कर्म) च एव (पनि) तत् अर्थीयम् (त्यस, परमात्माका लागि) सत् इति एव (सत् यसरी) अभिधीयते (भनिन्छ) ।
यज्ञ, तप, र दानमा जुन स्थिर भावना राखिन्छ, त्यसलाई पनि सत् भनिन्छ । त्यसै गरी तिनीहरुका लागि गरिएको जुन कर्म गरिन्छ, त्यसको नाम पनि सत् हो ।।२७।।
अश्रद्धया हुतं दत्तं तपस्तप्तं कृतं च यत् ।
असदित्युच्यते पार्थ न च तत्प्रेत्य नो इह ।। २८ ।।

पदच्छेद र शब्दार्थ–
[सम्पादन गर्नुहोस्]

पार्थ (हे पार्थ) अश्रद्धया (बिना श्रद्धा) दत्तम् (दिइएको) हुतम् (हवन) तपः (तप) (च) तथा तप्तम् कृतम् (अन्य जे अनुष्ठान गरिन्छ) यत् (जुन) असत् (असत्) इति (यस प्रकारले) उच्यते (भनिन्छ) तत् (त्यो) न इह (न यसलोकमा लाभदायक छ) न च प्रेत्य (न परलोकमा लाभदायक छ) ।
हे पार्थ, बिना श्रद्धा गरिएको हवन, दिएको दान र गरिएको तप र अन्य जे कर्म गरिन्छ ती सबैलाई असत् भनिन्छ । त्यसैले त्यो न यस लोकमा लाभदायक छ, न परलोकमा ।।२८।।

भर्तृहरिका अनुसार एकाग्रचित्त भई घोरिएका परमेष्ठि ब्रह्माजीको हृदयाकाशबाट कण्ठ तालु आदि कहीं पनि संघर्ष नभएको एक अत्यन्त विलक्षण अनाहत नाद प्रकट भयो । त्यही अनाहत नादबाट अ, ऊ, म् यी तीन मात्राहरुले युक्त ओम् प्रकट भयो । यस शक्तिले नै प्रकृति अव्यक्तबाट व्यक्त रुपमा परिणत भयो । ओंकार स्वयं अव्यक्त अनादि हो । परमात्मस्वरुप भएकोले स्वयं प्रकाश हो । ओंकार शब्दद्वारा परमात्माका स्वरुपको बोध हुन्छ। श्रवणेन्द्रिय शक्ति लुप्त भएको अवस्थामा पनि ओंकर शब्द भित्र ध्वनित हुन्छ । अ, उ, र म् यी तीन वर्णले सत्व, रज र तम तीन गुण, ऋक्, यजु, साम तीन वेद, भूः, भुवः, स्वः तीन व्याहृति, जाग्रत, स्वप्न, सुषुप्ति तीन वृत्तिको भाव धारण गर्दछन् । ओंकारबाट नै ब्रह्माजीले अ देखि औसम्मका स्वर र क देखि ह सम्मका व्यंजन, ह्रस्व, दीर्घ आदिले युक्त वर्णमाला बनाए । जसबाट चार वेदहरु प्रकट भए । यसरी सम्पूर्ण वेद ॐको विस्तार मात्र हो । माण्डूक्य उपनिषद लगायत अनेक ग्रन्थमा ॐकारको व्याख्या छ । अ, ऊ, र म् (अव्, ऊठ्, मन् र गुण) मिलेर ॐ बनेको छ । यसले उत्पत्ति, स्थिति, र लयलाई व्यक्त गर्छ । अकारो विष्णुरद्दिष्ट उकारस्तु महेश्वर । मकारस्तु स्मृतो ब्रह्मा प्रणवस्तु त्रयात्मक । सृष्टिकर्ता (Generator), पालनकर्ता (Operator), र संहारकर्ता (Destroyer) तीनै कुरा ॐ मा हुन्छन् । यहाँनिर ध्यान दिनु पर्ने कुरा के हो भने ॐकार अ पनि हो, उ पनि हो र म् पनि हो तर केवल अ वा उ वा म् होइन । यी सबै हो । तर पनि अ, उ, म् अलग अलग पनि परमात्माको स्वरुप हो र संयुक्त ओंकार रुपमा परब्रह्म परमात्मा न्इम् को प्रतीक पनि हो । यो भूत, वर्तमान, र भविष्यरुप पनि हो र कालातीत पनि हो । ॐ परब्रह्म परमात्माको स्वरुप हो, त्यसैले यो विश्वरुप पनि हो ।

चित्र १७.१ अ, उ, म र ॐकार

चित्र १७.१ अ, उ, म र ॐकार

यस ॐ द्वारा नै अतीतमा ब्राह्मण, वेद, र यज्ञ निर्माण भएका हुन् । अर्थात् यज्ञ, दान, तप, र वेद मन्त्रका ज्ञाताहरुले सबभन्दा पहिला जानेको यही ओंकार हो ।
सृष्टिको आदि अवस्थाका बारेमा अध्ययन गर्दा वैज्ञानिकहरु त्यस बेलाको कल्पना गर्दछन् जब पृथ्वीमा जीवहरुको उत्पत्ति भइसकेको थिएन तर सुरु हुने पूर्वाधारहरु थिए । पृथ्वी पूर्णतया जलमय र एकदम सुनसान थियो । ब्रह्माण्डका तारा र नक्षत्र बाहेक पृथ्वीलाई हेर्ने कोही थिएन । त्यस निरपेक्ष सुनसानमा पृथ्वीमा पनि एक ध्वनि थियो । किनभने निस्तब्ध शान्ति अवस्थामा पनि एउटा ध्वनि हुन्छ । त्यो सुनसानको शान्त आवाज ॐकारको ध्वनिसंग मिल्दोजुल्दो हुनुपर्छ भन्नेमा ध्वनिशास्त्रीहरु सहमत छन् । यस्तो आवाजलाई आफूभित्र सुन्ने सन्त महन्तहरुको कमी छैन । शंख भित्रबाट आउने ध्वनि निस्तब्ध शान्ति अवस्थाको ध्वनिकै प्रतीक मानिन्छ । नासाबाट सूर्यको ज्वालाका फोटो खिचिएका छन् । जुन यु ट्युबमा राखिएका छन् । यु ट्युबबाट ॐ को ध्वनि संग निकै सामीप्य हुने ध्वनि आएको प्रष्ट सुन्न सकिन्छ । यदि पृथ्वीमा अरु सबै कुरा शान्त हुँदा, अन्तरिक्षमा, सूर्यको ज्वालामा ॐ को ध्वनि आउँछ भने यो ध्वनि नाद ब्रह्म हो भन्ने उपनिषद्को घोषणा वैज्ञानिक तथ्य हो भन्न सकिन्छ ।
स्वामी विवेकानन्दले बाइबिल जोनका पुस्तकको पहिलो वाक्य– सृष्टिको सुरुमा ध्वनि थियो, ध्वनि ईश्वरसंग थियो, र त्यो ध्वनि नै ईश्वर थियो–को तुलना ब्रह्मसंग गरेका छन् । वास्तवमा ब्रह्मलाई नै ॐ ध्वनिले संकेत गरिन्छ । गीताले ॐ, तत्, र सत् यति तीन प्रकारको नामले सच्चिदानन्द ब्रह्मको बोध हुन्छ भनेको छ ।
भाषाशास्त्रमा यो मात्र एक यस्तो अनौठो सार्थक शब्द हो जसलाई केवल संकेतद्वारा व्यक्त गरिन्छ । यो अक्षर वा शब्दको रुपमा छैन । यसलाई उच्चारण गर्दा जिब्रो चलाउनु पर्दैन । जिब्रोले कहीं आघात नगरी उच्चारण गर्न सकिने हुँदा यसलाई अनाहत नाद भनिएको हो र विश्वको जुनसुकै भाषा बोल्नेले पनि यसको शुद्ध र स्पष्ट उच्चारण गर्न सक्छ । संगीतको प्राथमिक ध्वनि पनि ॐ नै मानिन्छ । सामवेद नै यसको आधार हो । त्यसैले संगीत शास्त्रको आधार पनि ॐ हो । प्राचीन शास्त्रहरुमा र वैदिक मन्त्रहरुमा ॐ सर्वाधिक महत्त्वपूर्ण मानिएको छ । यदि कुनै मन्त्रमा ओंकार भएन भने त्यस मन्त्रलाई महत्त्वपूर्ण मानिंदैन । ओंकारलाई मन्त्रहरुको सेतु भनिएको छ । यो एकाक्षर मन्त्र हो तथा गम्भीर भाव र अर्थले भरिएको छ । परब्रह्मको प्रतीक हुनाले ब्रह्मको स्वरुप हो । प्रतीक भनेको कुनै वस्तु वा पदार्थको चित्र वा प्रतिमा हो । ब्रह्म सामान्य मनुष्यहरुको लक्ष्यमा आउन कठिन छ । त्यसलाई छोटकरीमा लक्ष्य गराउने एकाक्षर मन्त्र ॐ हो ।
मन्तव्य वा विचारलाई मन्त्र भनिन्छ । ओंकार नै वास्तविक विचार गर्न योग्य वा बुझ्न योग्य छ । सब मन्त्रहरुमा ओंकारलाई पहिले लगाउनाले अर्थ भाव चमत्कारी हुन्छन् । ओंमय ब्रह्माण्डको अधिष्ठान समेत ॐ हो । ब्रह्माण्डका व्यक्तिहरुको पृथक पृथक भाव भावको अन्तिम गति परब्रह्म हो । त्यसकारण त्यस परब्रह्मको ध्यान गर्दै अन्य मन्त्रहरुको भावार्थ सिद्ध गर्नु पर्छ । यस उच्च आशयद्वारा नै सब मन्त्रहरुको जप गर्नाले ॐको जुन आत्मा स्वरुप हो त्यसका संस्कारहरुलाई दृढ गर्दै लैजान्छ ।
जे मा व्यष्टि र समष्टि भ्रान्तिले प्रतीत हुन्छन् त्यही ॐ हो । यसलाई प्रणव पनि भन्दछन्। नम्रता साथ जसको स्तुति गरिन्छ जुन कुराले अथवा भक्तद्वारा जसको उत्तमता साथ स्तुति गरिन्छ त्यो प्रणव हो । ॐ र प्रणवमा अन्तर के हो भने प्रणव ध्यान रुवरुप हो भने ॐ नादस्वरुप हो । वर्ण र शब्द मायाका संज्ञा हुन् । तिनीहरु लक्ष्यका लागि मायामा छन् । तापनि अधिष्ठानस्वरुप मायातीत छन् । नाम नहुने यस्तो एक नै परब्रह्म एकाक्षर हो । त्यसैले ईश्वरको सबभन्दा राम्रो र नजीकको प्रतीक ॐ नै हुन्छ ।
ॐ परब्रह्म हो त्यसकारण त्यो अणु अणु मै भरिएको छ । जसरी समष्टि ॐ स्वरुप छ त्यसरी नै व्यष्टि सृष्टि पनि ॐ स्वरुप छ । जीवहरुलाई पृथक पृथक सृष्टि भन्छन् र तिनीहरु जुन एकमा हुन्छन् ईश्वरको त्यस्तो सृष्टिलाई समष्टि भन्दछन् । मनुष्यहरुको भिन्न भिन्न घर व्यष्टि हो र शहरको रुपमा सबैघरहरुलाई एक भावना सम्झ्नुलाई समष्टि भन्छन् । सामान्य मानिसहरुका लागि ॐका तीन विभाजन भए तापनि सन्न्यासीहरुका लागि ॐको उच्चारणलाई पांच भागमा विभाजन गरिन्छ । ॐको उच्चारण गर्नका लागि सुरुमा फोक्सोमा स्वास भर्नु पर्छ । अनि मुख खोलेर अ लाई कण्ठको गहिराईबाट आवाज निकालनु पर्छ । यसरी उच्चारण गर्दा नाभिमा कम्पन अनुभव गर्न सकिन्छ । यो उच्चारणलाई अर्कोमा निरन्तरता दिंदै ऊ को आवाज निकाल्नु पर्छ । यसो गर्दा ओंठ केही गोलो हुनजान्छन् । बल गरेर ध्वनि उत्पन्न गर्दा नाभिको कम्पन छातिमा स्थानान्तरण हुन्छ । ओंठ बन्द गरेर पूर्ण शक्ति लगाएर म को उच्चारण गर्दा मकारको ध्वनि कम्पन सिरमा स्थानान्तरण हुन्छ । म को उच्च अन्तिम ध्वनिका दुई भाग छन् । ओंठ बन्द गरेर नाके स्वरको रुपमा मऽऽ को नादलाई विस्तारै शान्त गर्दै लैजानु र अन्तमा नाके स्वर समाप्त गरी नाकबाट केवल स्वाँस मात्र बाहिर फ्यांक्नु । यसो गर्दा पेट भित्र खुम्चिन्छ । फोक्सोमा भएको सबै सांस बाहिर बल गरेर निकाल्ने प्रयास गर्नु पर्छ । अन्तमा सांस पनि शान्त । त्यस पछि केही बेर स्वास प्रस्वास स्थिर हुन्छ । उच्चारण गर्दा ओंठ बन्द गरी ध्वनि नाकबाट निकाल्नु पर्छ । ॐको उच्चारणलाई घण्टीमा रालो ठोके पछिको ध्वनिसंग तुलना गर्न सकिन्छ । सुरुमा चर्को अनि विस्तारै मन्द हुँदै अन्तमा शान्त । नाकबाट निस्केको स्वर विस्तारै घट्दै गइ केवल स्वास निस्कन्छ । अन्तमा स्वासले नाथ्रा फुल्छन् अनि पूर्ण शान्ति, निस्तब्धता । त्यसैले ॐ ध्वनि नाद ब्रह्म पनि हो ।ॐको उच्चारण गर्नु अघि फोक्सोमा साँस भरिएको हुन्छ र मकार पछि फोक्सो रित्तिएको हुन्छ । यसलाई केही बेर त्यत्ति कै राखिन्छ । त्यसैले ॐको साथमा पूरक, कुम्भक, र रेचकको क्रिया पनि पूरा हुन जान्छ । खप्तड बाबाका अनुसार– देब्रेतिरबाट जुन अर्धचन्द्राकार छ, त्यो अकार हो । त्यसको तलतिर जो यस्तै नै दोस्रो अर्ध चन्द्राकार जुन प्रथमसंग मिलेको उकार हो र बीचबाट जोडिएको अगाडि जुन बिन्दु छ, त्यो मकार हो । तसर्थ, यो अकार सहित उकार हो । उकार सहित मकार हो । अकार, उकार, मकार यी तीनवटै हो । यी तीनवटै अर्धचन्द्रका मुनि रहेका छन्। अर्धचन्द्रले मायालाई देखाउंछ र त्यसको माथि मध्यमा जुन बिन्दु छ त्यो अमात्र हो । जुन प्रकाश मायाको तम अंशमा परेर बाहिर आउंछ त्यो मकार हो । उकारमा एउटा प्रकाश त मायाको रज अंशबाट आउंछ र अर्कोचाहिं अकारबाट आउंछ । यसरी नै मकारमा एउटा प्रकाश त मायाको तमस् अंशबाट, अर्को प्रकाश उकारबाट र तेस्रो प्रकाश अकारबाट आउँछ। अमात्र शुद्धस्वरुप हो अरु सबै मिश्रण हुन् ।
तत् को अर्थ हो त्यही अर्थात् ॐ, ब्रह्म वा ईश्वर । फलको चाहना नराखी विविध प्रकारका यज्ञ, तप, र दान क्रिया केवल उसैका लागि समर्पण गर्ने क्रिया तत् हो । सत् यस्तो यो सत्यभाव र सज्जन भावमा प्रयोग गरिन्छ । त्यस ईश्वर प्रतिको विनम्र भाव प्रकट गर्नु हो। यो समस्त विश्व ईशमय छ । र त्यसभन्दा बाहेक केही नै छैन । सबै प्रकारका मांगलिक कार्य जसबाट श्रीवृद्धि हुने कामना गरिन्छ, त्यसमा पनि सत् को प्रयोग गरिन्छ । तथा यज्ञ, तप, र दान मा जे गरिन्छ (स्थिति) त्यसलाई पनि सत् भनिन्छ । तथा त्यस (परमात्मा) कालागि गरिएको कर्म निश्चयपूर्वक सत् भनिन्छ ।
तत् सत्...भने पछि आफूले ईश्वर समर्पणका लागि गरेको हरेक कृत्यमा रहेको कमी पूरा हुनजान्छ । अनि विधिपूर्वक गरिएको कृत्य छ भने त्यसले पूर्णता प्राप्त गर्छ । त्यसैले ब्रह्मवादीले शास्त्र विधानोक्त यज्ञदानतपक्रिया अविच्छिन्न ओम् को उच्चारण गरेर सुरु गर्नु पर्छ । यज्ञ, तप, दान आदि धार्मिक–आध्यात्मिक कार्य र आफ्नो सुखका लागि गरिने विवाह आदि मांगलिक कार्यमा पनि तत् सत भनिन्छ । यसरी जुनसुकै श्रद्धापूर्ण क्रियामा अन्तिममा ॐतत्सत् भन्नु पर्छ । यसो भनेमा गरिएको कार्य सिद्ध हुन्छ र केही कमजोरी भए त्यो पूर्ण हुनजान्छ भन्ने गीताको भनाई छ । हरेक सात्त्विक कार्यमा रहन गएको त्रुटिको प्रायश्चित् स्वरुप ॐ तत्सत् भन्नु पर्छ । त्यसैले गीता पुष्पिकामा ॐ तत् सत् लेख्ने गरिएको छ ।


ॐ तत्सदिति श्रीमद्भगवद्गीतासूपनिषत्सु ब्रह्मविद्यायां योगशास्त्रे श्रीकृष्णर्जुनसंवादे श्रद्धात्रयविभागयोगो नाम सप्तदशोsध्याय ।
श्रीमद्भगवद्गीतारुपी उपनिषद् यस ब्रह्मविद्या रुपी योगशास्त्रमा श्रीकृष्ण र अर्जुनको संवादको श्रद्धात्रविभाग योग नाम गरेको अध्याय १७ समाप्त भयो ।। ॐ तत्सत् ।।

अधिकारी, कोमलनाथ, (वि.सं.२०१८), पञ्चरत्नगीता, कोमलगीता, नेपाली पद्यानुवाद र व्याख्या वाराणसी ः यशोदा प्रेस ।
आचार्य, श्रीराम शर्मा, (सन् २०१०), १०८ उपनिषद्, मथुरा ः युग निर्माण योजना ।
आदि शंकराचार्य, (वि.सं.२०६७), श्रीमद्भगवद्गीता शांकरभाष्य, गोरखपुर ः गीताप्रेस ।
आप्टे, वामन शिवराम, (मिति उल्लेख नभएको) संस्कृत–हिन्दी शब्दकोश, सम्पादक उमा प्रसाद पाण्डेय, नई दिल्ली ः कमल प्रकाशन ।
इहरिट, अर्नाल्ड, (सन् १९७८), आहार चिकित्सा, अनसवादक विट्ठलदास मोदी, गोरखपुर ः आरोग्य मन्दिर ।
ईश्वरानन्द, (वि.सं. २०५१) गीता तात्पर्य, संस्कृत, अन्वय, अर्थ र व्याख्या, स्वयम्भू ः गीता अध्ययन मण्डल ।
ओशो, (सन् १९८०), गीता दर्शन, पूना ःरेबेल बुक्स ।
खप्तड बाबा (सच्चिदानन्द सरस्वती), (वि.सं.२०६०), विचार विज्ञान, काठमाडौं ः खप्तड आश्रम समिति ।
खप्तड स्वामी, (वि.सं.२०५१), धर्म विज्ञान सार संक्षेप, सम्पादक चूडानाथ भट्टराय, काठमाडौं ः बबी शाह ।
खप्तड बाबा, (२०४५), स्वास्थ्य विज्ञान, सूचना विभाग, श्री ५ को सरकार ।
गीताप्रेस, (वि.सं.२०६५), महाभारत, गोरखपुर ः गीताप्रेस ।
पन्त, शंकरराज, (वि.सं. २०७८), श्रीरामकृष्णवचनसुधा, मुल लेखक श्री म, काठमाडौं ः रामकृष्ण आश्रम नेपाल ।
बेनेट, जे जे र ठाकुरलाल मानन्धर, (वि.सं.२०६७), अनन्तको यात्रा, काठमाडौं ः योगेन्द्रभक्त श्रेष्ठ ।
मनुस्मृति, (सन् १९९१), गणेशदत्त पाठक अनुवादक, वाराणसी ः ठाकुर प्रसाद बुकसेलर ।
राधाकृष्णन (मिति नभएको), श्रीमद्भगवद्गीता, दिल्ली ः राजकमल प्रकाशन ।
रामसुखदास, (वि.सं.२०६७), श्रीमद्भगवद्गीता साधक संजीवनी, गोरखपुर ः गीताप्रेस ।