सर्वनाम
स्वरूप
नामको सट्टामा प्रयोग हुने शब्दलाई सर्वनाम भनिन्छ । सर्वनाम शब्दले भाषालाई नामको पुनरोक्तिबाट बचाउँदै अभिव्यक्तिमा प्रभावकारिता ल्याउने, भानाइलाई छोटो, छरितो र मिठासयुक्त बनाउने काम गर्दछ । नाम वा नामपदसमूहको पुनरुक्ति रोक्न सट्टामा आउने शब्दलाई सर्वनाम भन्दछन् । उदाहरण को लागि कुनै, म, तिमी ऊ, यो, त्यो, हामी, उनी । नेपालीमा सर्वनामका निम्न प्रकारहरू छन्:
क) व्यक्तिवाचक सर्वनाम:
पुरुष वा व्यक्तिलाई जनाउने सर्वनाम व्यक्तिवाचक सर्वनाम हो । यस खालका सर्वनामहरू निम्नलिखित तीन प्रकारका हुन्छन्:
अ) प्रथम पुरुषवाचक- प्रेषक(बोल्ने वा लेख्ने व्यक्ति) लाई बुझाउने सर्वनाम, जस्तै- म(एकवचन), हामी(बहुवचन) ।
आ) द्वितीय पुरुषवाचक - प्रापक(पढ्ने वा सुन्ने व्यक्ति ) लाई बुझाउने सर्वनाम, जस्तै- तँ(एकवचन), तिमी, तिमीहरू(बहुवचन) ।
इ) तृतीय पुरुषवाचक- प्रेषक र प्रापक बाहेक अरू कसैलाई बुझाउने सर्वनाम, जस्तै- यो, त्यो, ऊ(एकवचन), यी, यीनीहरू, ती, तिनीहरू,उनिहरू(बहुवचन) ।
आदरार्थी- यिनी, यी, तिनी, ती, उहाँ, उहाँहरू, उनी ।
आत्मवाचक- आफू, आफूहरू, आफूआफूहरू ।
पारस्परिक- एकअर्का, आपसआपस ।
निश्चयवाचक- निज, निजहरु, अरू, अरूहरू, सबै ।
ख) दर्शक सर्वनाम
नजिक वा टाढाका व्यक्ति वा वस्तुलाई तोकेर बताउने सर्वनाम दर्शक सर्वनाम हो । यस खालका सर्वनामहरू निम्न दुई प्रकारका छन्:
अ) समीपवाचक- निकटवर्ती वा उपस्थित व्यक्ति वा बस्तुलाई बताउने सर्वनाम, जस्तै- सामान्य- यो, यिनीहरू, यी ।
आदरार्थी- यी, यिनीहरू, यहाँ ।
आ) दूरवाचक- दूरवर्ती वा अनुपस्थित व्यक्ति वा वस्तुलाई बताउने सर्वनाम, जस्तै-
सामान्य- त्यो, तिनीहरू, ती, ऊ, उनीहरू ।
आदरार्थी- ती, तिनी, उनी, उहाँ ।
ग) सम्बन्धवाचक सर्वनाम:
वाक्यमा संबन्ध स्थापित गराउने सर्वनाम संबन्धवाचक सर्वनाम हो । यस खालका सर्वनामहरू निम्नलिखित दुई प्रकारका छन्, जस्तै-
अ) निश्चयवाचक - ग्यात वा निश्चित व्यक्ति वा वस्तुलाई अथवा तिनको मात्रालाई बुझाउने सर्वनाम, जस्तै-
मानवीय - जो, जोजो ।
अमानवीय - जे ,जेजे ।
दुवै - जुन ।
आ) अनिश्चयवाचक - अग्यात वा अनिश्चित व्यक्ति वा वस्तुलाई अथवा तिनको अवस्थालाई बुझाउने सर्वनाम, जस्तै-
मानवीय - जोसुकै ।
अमानवीय - जेसुकै ।
दुवै - जुनसुकै ।
घ) प्रश्नवाचक सर्वनाम:
कुनै व्यक्ति वा वस्तुका विषयमा प्रश्न व्यक्त गर्ने सर्वनाम प्रश्नवाचक सर्वनाम हो । यस खालका सर्वनामहरू निम्लिखित दुई प्रकारका हुन्छन्:
अ) निश्चयवाचक - निश्चित व्यक्ति वा वस्तुबारे प्रश्न व्यक्त गर्ने सर्वनाम, जस्तै-
मानवीय - को, कोको ।
अमानवीय - के, केके ।
दुवै - कुन, कुनकुन ।
आ) अनिश्चयवाचक - अनिश्चित व्यक्ति वा वस्तुबारे प्रश्न गर्ने सर्वनाम, जस्तै-
मानवीय - कोही, कोहीकोही ।
अमानवीय - केही, केहीकेही ।
दुवै - कुनै, कुनैकुनै ।