मैथडोलजीस

नेपाली विकिपुस्तकबाट, स्वतन्त्र पुस्तकालय
Jump to navigation Jump to search

परिचय[सम्पादन]

१.१ शोधको अर्थ[सम्पादन]

अंग्रेजी शब्द रिसर्च Researchको अर्थ हुन्छ– पुनः खोजी गर्नु, थीसिस Thesis को अर्थ हुन्छ– कुनै अवधारणा प्रस्तुत गर्नु र डिजर्टेशन Dissertation को अर्थ हुन्छ निश्चित बाटोमा हिंड्नु । नेपाली शब्द शोधको अर्थ हुन्छ– परिष्कार गर्नु । संकलित तथ्य, सूचना, जानकारीलाई परिष्कार (शोध) गरेर मात्र अध्ययन प्रतिवेदन तयार गरिन्छ । त्यसैले यसलाई शोध भनिन्छ । शोधमा कुनै तथ्य, घटना, वा सिद्धान्तको बारम्बार खोजी र विश्लेषण गरिएको हुन्छ त्यसैले यसलाई अनुसन्धान पनि भनिन्छ । शोधलाई नै वैज्ञानिक विधि पनि भनिन्छ । जुन विधि प्रयोग गर्दा अध्ययन र विश्लेषण ठोस, विवादरहित र तथ्यपूर्ण हुन्छन् त्यस विधिलाई वैज्ञानिक शोध विधि भनिन्छ । वैज्ञानिक शोध विधिका प्रक्रियाहरु यस प्रकार व्यक्त गर्न सकिन्छ–

  • १. यस प्रक्रियामा कुनै घटनाको ध्यानपूर्वक र धैर्यपूर्वक निरीक्षण गरिन्छ ।
  • २. निरीक्षणको साथसाथै वा त्यसको तुरुन्तै पछि अभिनति नराखीकन संक्षिप्त तर सम्पूर्ण रुपमा त्यसको वर्णन गरिन्छ ।
  • ३. यसमा कार्यकारण विश्लेषण गरिन्छ । कुन कारण र कुन परिणाम हो त्यस बारेमा चिन्तन गरिन्छ ।
  • ४.प्रयोगीकरण वैज्ञानिक शोध विधिको प्रमुख प्रक्रिया हो । प्राप्त परिणामहरुलाई पुनः प्रयोग गरेर सत्यापित गर्न सकिन्छ । यद्यपि अर्थशास्त्र र अन्य सामाजिक र व्यावहारिक विषयका चलराशिहरुलाई प्रयोगशालामा ल्याएर नियन्त्रित अवस्थामा प्रयोग गर्न सकिंदैन तर विश्लेषकले चलराशिहरुलाई अनियन्त्रित अवस्थामा नै प्रयोगपूर्ण अध्ययन गर्न सक्छ । उसको अवलोकन दृष्टि वैज्ञानिक जस्तो तटस्थ हुनुपर्छ । वर्तमान निष्कर्षका आधारमा भविष्यवाणी गर्ने आधार पनि प्रयोगले प्रदान गर्छ ।
  • ५. कुनै घटना किन भयो यसको व्याख्या गर्नका लागि एक पूर्वकल्पनाको प्रयोग गर्न सकिन्छ जसलाई प्राक्कल्पना वा हाइपोथिसीस ९जथउयतजभकष्क० भनिन्छ । यदि पूर्वकल्पना अर्थात् घटनाको अनुमान सही छ भने प्रयोग गर्दा त्यो प्रमाणित हुन जान्छ ।
  • ६. कुनै घटनाको तथ्य विश्लेषण गर्ने दुइ प्रमुख प्रविधि छन्– घटनाको पूर्वानुमान गर्ने (निगमन) अथवा ज्ञात तथ्यहरुको आधारमा अज्ञातको विश्लेषण गर्ने (आगमन) । यस प्रकार वैज्ञानिक शोध विधिमा आगमन, निगमन वा दुवै विधिको संयुक्त प्रयोग गरिन्छ ।
  • ७. वैज्ञानिक शोध विधिको एक महत्त्वपूर्ण विशेषता गणितको प्रयोग गर्नु हो । यदि प्राप्त तथ्यको तहसम्म पुग्न मानवीय ज्ञानेन्द्रिय सक्षम छैनन् भने त्यस अवस्थामा गणितको प्रयोग गर्नु उपयुक्त हुन्छ । आधुनिक अर्थशास्त्रमा गणितको प्रयोगमा वृद्धि हुने एक कारण यही हो ।
  • ८. बाह्य जटिल जगतका अनेक चलराशिलाई अध्ययन गर्न गाह्रो भएकोले त्यसको काल्पनिक प्रतिरुप बनाएर विश्लेषण गरिन्छ । यसलाई मोडेल निर्माण गर्नु भनिन्छ ।
  • ९. वैज्ञानिक शोध विधिको एक महत्त्वपूर्ण विशेषता के भने शोधार्थीको दृष्टिकोण वैज्ञानिक हुनुपर्छ । विस्तृत सोचाईका साथ खोजको भावनालाई हृदयङ्गम गर्नु नै सही दृष्टिकोण हो । पक्षपातरहित भावले निष्कर्ष प्राप्त गर्नु नै वैज्ञानिक दृष्टिकोण हुनु हो ।

१. शोधको उद्देश्य[सम्पादन]

शोधका तीन मुख्य उद्देश्य हुन्छन्–

  • १.कुनै घटना किन घटित भयो त्यसको कारण पत्ता लगाउनु
  • २.घटनाको पूर्वानुमान गर्न सक्नु
  • ३.घटनाहरुमा नियन्त्रण गर्नु

घटनाको अर्थ त्यो प्राकृतिक सत्यता हो जसको बारेमा मानिसलाई रुचि छ । कुनै वस्तुको रंग, गन्ध, मानव व्यवहार, यी सबैमा आउने परिवर्तनलाई नै घटना भनिएको हो । कुनै घटना बुझ्नु भनेको त्यस घटनाको पूर्वानुमान गर्ने क्षमता प्राप्त गर्नु हो । मैले फलानोलाई चिनेको छु भन्नुको अर्थ हो– निश्चित परिस्थितिमा उसले के गर्न सक्छ भन्ने कुरा मैले अनुमान गर्न सक्छु । रुघा रोग बारे मैले जान्दछु भनेको रोगको लक्षण र त्यसलाई कसरी नियन्त्रित गर्न सकिन्छ भन्ने कुरा मलाई जानकारी छ । प्राकृतिक घटना सरल हुन्छ । त्यसैले त्यसको पूर्वानुमान सरल छ । तर अर्थशास्त्र जस्ता सामाजिक र व्यावहारिक विज्ञानहरुको पूर्वानुमान केही जटिल हुन्छ । कुनै मानिसको आय स्तरको अनुमान गर्नु एक जटिल कुरा हो । किनभने यो उसको सामाजिक, वंश परम्परागत, अर्जित आय, शैक्षिक स्तर, विशिष्ट सीप, मानसिक स्तर, आयु संरचना लगायत अनेक कुराहरुमा भर पर्छ । घटनाहरुमा नियन्त्रण वैज्ञानिक विधिको सबभन्दा महŒवपूर्ण उद्देश्य हो । जे जति घटनाहरुमा फंक्शनल सम्बन्ध स्थापित गर्न सकिन्छ ती सबैमा नियन्त्रित अध्ययनका सम्भावनाहरु हुन्छन् । यसको प्रचलित उदाहरण अर्थशास्त्रको माग फंक्शन हो ।

२. अर्थशास्त्रमा शोधका प्रकारहरु[सम्पादन]

अर्थशास्त्रमा गरिने शोध यस प्रकार छन्

१. मौलिक शोध र प्रायोगिक शोध–[सम्पादन]

मौलिक शोध भनेको नै ज्ञानको खोजी गर्नु हो । यस्तो शोध कुनै व्यावहारिक समस्याका समाधानको लागि नभइ केवल ज्ञानार्जन गर्ने वा ज्ञानमा वृद्धि गर्ने कामसंग सम्बन्धित छ । यसको प्रमुख उद्देश्य शोधका निष्कर्षलाई सामान्यीकरण गर्नु वा पुरानो सिद्धान्तलाई असत्य सिद्ध गरी नया“ सिद्धान्त प्रतिपादित गर्नु हो । अधिकांश प्राज्ञिक शोध अध्ययनको उद्देश्य सैद्धान्तिक वा मौलिक प्रकारको हुन्छ ।
कुनै सामाजिक घटना के हो, किन भएको हो ? कहां भएको हो ? यस घटनाका कारक तत्व के हुन् ? जस्ता क्षेत्रमा यो शोध केन्द्रित हुन्छ । उदाहरणका लागि माल्थसको जनसंख्या सिद्धान्तको उद्देश्य तत्काल प्रचलित विलियम गोडविनका आशावादी विचारलाई असत्य सिद्ध गर्नु थियो । यस कार्यका लागि उनले विगतका तथ्याङ्क संकलन र विश्लेषण गरी त्यसलाई गणितीय स्वरुपमा परिवर्तन पनि गरे ।
प्रायोगिक शोधलाई व्यावहारिक शोध वा अनुप्रयुक्त शोध भन्न सकिन्छ । यस शोधको उद्देश्य समाजमा देखिएका समस्याहरुको कारण पत्ता लागाई त्यसको समाधानका उपायहरु प्रस्तुत गर्नु हो । अर्का शब्दमा मानिसका व्यावहारिक समस्याहरुको समाधानमा केन्द्रित शोधलाई प्रायोगिक शोध भनिन्छ । संघसंस्थाहरुले संचालन गर्ने शोधहरु यसै प्रकृतिका हुन्छन् । यद्यपि शोधको उद्देश्य अनुरुप शोध मौलिक वा प्रायोगिक हुन सक्छन् तर दुवै एक अर्काका परिपूरक हुन्छन् । व्यावहारिक शोधहरु नया“ सिद्धान्त निर्माणमा सहयोगी हुन्छन् भने सैद्धान्तिक शोधका निष्कर्षले समस्या समाधानका लागि उपकरण प्रदान गर्छन् । आइन्स्टीनको मास इनर्जी रुपान्तरण धेरै समयसम्म सिद्धान्त नै रह्यो तर पछि त्यसैका आधारमा परमाणु बमको प्रयोग सफल भयो ।

२. परिमाणात्मक शोध र गुणात्मक शोध–[सम्पादन]

यद्यपि सबै शोधहरुमा गुणात्मक र परिमाणात्मक व्याख्या र विश्लेषण हुने गर्छन् तथापि त्यस्ता शोधलाई परिमाणात्मक शोध भनिन्छ जसमा शोध क्षेत्रका विवरणहरुलाई संख्यात्मक जानकारीको रुपमा संकलन र विश्लेषण गर्न सकिन्छ । यस्ता विवरणहरुको औसत, प्रमाप विचलन, सहसम्बन्ध, प्रतिपगमन विश्लेषण, काल श्रेणी विश्लेषण गरेर निष्कर्ष प्राप्त गर्न सकिन्छ । यस्ता शोधमा प्राक्कल्पनाको तथ्याङ्कीय परीक्षण गर्न सकिन्छ । अर्थशास्त्रमा सामान्यतः परिमाणात्मक शोधलाई प्राथमिकता दिइन्छ किनभने यस्ता सूचनाको तालिका, रेखाचित्र, ग्राफ वा अन्य तथ्याङ्कीय विश्लेषण गर्न सकिन्छ । आर्थिक मोडेलिङ्गका लागि पनि संख्यात्मक सूचना नै बढी उपयोगी हुन्छन् । माइक्रो अर्थशास्त्र, म्याक्रो अर्थशास्त्र, राष्ट्रिय आयको नाप, फर्मको सन्तुलन, ज्याला निर्धारण, उत्पादनका सिद्धान्त जस्ता अनेक शोध परिमाणात्मक हुन्छन् ।
ती सबै सूचना जसको निरीक्षण गर्न सकिन्छ तर नाप गर्न सकिंदैन तिनीहरुलाई गुणात्मक तथ्य भनिन्छ । जस्तै सुन्दरता, ईमानदारी, अनुशासन इत्यादि । मानवीय व्यवहारका अनेक क्षेत्र केवल विवरणात्मक वा गुणात्मक हुन्छन् । मानिसले कुनै कुरा मन पराउ“छ, कुनै मन पराउ“दैन, कुनै बढी मन पराउ“छ र कुनै कम मनपराउ“छ । यस्ता सबै शोध गुणात्मक प्रकृतिका हुन्छन् । यद्यपि सबै गुणात्मक शोधमा तथ्याङ्कीय प्रविधिको उपयोग गर्न सकिंदैन तर केही गुणात्मक तथ्यको तथ्याङ्कीय विश्लेषण गर्न सकिन्छ । मध्यिका, बहुलक, कोटि क्रम सहसम्बन्ध, काईवर्ग परीक्षण इत्यादि गुणात्मक विश्लेषण हुन् ।

३. सहसम्बन्ध र कार्यकारण तुलना[सम्पादन]

दुइ वा दुइभन्दा बढी चलराशिहरु बीचको सम्बन्धलाई सामाजिक र प्राकृतिक शोधहरुमा सहसम्बन्धको रुपमा व्याख्या गरिन्छ । केवल दुई चलराशिको सम्बन्धलाई सहसम्बन्ध र दुई भन्दा बढी चलराशिहरुको सम्बन्धलाई आंशिक सहसम्बन्धको रुपमा व्याख्या गर्न सकिन्छ । अन्य चलराशिहरुलाई स्थिर मानेर केवल एउटा चलराशिको सहसम्बन्ध पत्ता लगाउन सकिन्छ । उदाहरणका लागि मागलाई प्रभावपार्ने तत्त्वहरुमा वस्तुको मूल्य, उपभोक्ताको आय, रुचि आदि तत्त्व हुन्छन् । तर अन्य कुराहरुलाई स्थिर मानेर मागलाई मूल्यसंग सम्बन्ध अध्ययन गरिन्छ भने त्यो दुइ चलराशि सहसम्बन्ध हुन्छ । सहसम्बन्धलाई तथ्याङ्कीय वा फंक्शनल सहसम्बन्धको रुपमा व्याख्या गर्न सकिन्छ । सहसम्बन्ध धनात्मक वा ऋणात्मक हुन सक्छ । शून्य सहसम्बन्ध छ भने दुइ चलराशिबीच सम्बन्ध छैन भन्ने बुझिन्छ ।
दुइ चलराशिमा सहसम्बन्ध भएमा दुवैमा कार्यकारण सम्बन्ध पनि स्थापित गर्न सकिन्छ । अर्थात् एउटा चलाराशिलाई स्वतन्त्र र अर्कोलाई आश्रित मान्ने हो भने दुवैमा कार्य कारण सहसम्बन्ध स्थापित हुन्छ । दुईका बीचको सम्बन्ध प्रक्रियालाई नै फंक्शन भनिन्छ । यसैलाई कार्यकारण तुलना पनि भनिन्छ ।
कुनै समस्याको उत्तर उसको कार्यकारण सम्बन्धको आधारमा प्राप्त गरिन्छ । कुनै विशेष व्यवहार, परिस्थिति वा घटना घटित गराउने तŒव के के हुन सक्छन् भन्ने कुराको विश्लेषण नै कार्यकारण शोध हो । कार्यकारण सम्बन्धको व्याख्या गर्ने सरलतम विधि सहसम्बन्ध व्याख्या हो । प्रतिपगमनले दुइ चलराशिहरुमा फंक्शनल सम्बन्ध स्थापित गर्छ ।

  • क) कार्यकारण अध्ययन र अन्य अध्ययनबीच तुलना– अन्य अध्ययन र कार्यकारण तुलनाबीच अन्तर निम्नलिखित छन्–
  • १. ऐतिहासिक अध्ययनमा पनि कार्यकारण तुलना गरिन्छ तर त्यसमा विगत घटनाको तुलना हुन्छ भने यस विधिमा वर्तमानको तुलना गरिन्छ ।
  • २. वर्णनात्मक विधिमा वस्तु स्थिति (स्टेटस) अध्ययन गरिन्छ भने यसमा कार्य र कारणको अध्ययन गरिन्छ ।
  • ३.प्रयोगात्मक विधिमा चलराशिहरुको अध्ययन गर्न नियन्त्रित परिस्थिति निर्माणको प्रयास गरिन्छ तर यस विधिमा नियन्त्रणको प्रयास गरिंदैन त्यसैले यस विधिलाई अनियन्त्रि प्रयोगात्मक शोध पनि भनिन्छ ।
  • ख) कार्यकारण विधिको आवश्यकता–


१.कार्यकारण सम्बन्ध जान्न प्रयोगात्मक विधि गरिन्छ, जसमा अन्य चलराशि स्थिर र एउटा मात्र परिवर्तनशील हुन्छ । तर सामाजिक घटनाहरुको जटिल परिस्थितिमा अन्य चलराशिहरुलाई स्थिर राख्न वा परिवर्तन गर्न सकिंदैन । कुनै पनि शोधकर्ताले सामाजिक, आर्थिक, पारिवारिक वा मानसिक अवस्था सबैलाई एक साथ परिवर्तन गर्न सक्दैन । यदि कुनै एउटा चलको प्रभाव अध्ययन गर्दा अन्य चलराशिहरुको भिन्नतालाई संगसंगै अध्ययन गरिन्छ भने यस विधिको आवश्यकता पर्छ ।
२. प्रयोगशाला विधि सबै अवस्थामा संभव छैन । जस्तै कुनै समुदायको अध्ययन, दुर्घटना र यसका विभिन्न परिस्थितिको अध्ययन अनियन्त्रित रुपमा मात्र गर्न सकिन्छ । कार बनाउने कारखानाले सांच्चैको मान्छे राखेर दुर्घटना गराउन मिल्दैन ।
३. साम्प्रदायिक संघर्षको अध्ययन गर्न ती सबै परिस्थिति उत्पन्न गर्न मिल्दैन । जे अवस्था छ त्यसैलाई तुलनात्मक अध्ययन गर्ने हो ।
४. मानिसको रोगको अध्ययन गर्न मानिसहरुलाई फेरि बिरामी बनाउन मिलदैन तर वर्तमान अवस्थाबाट विगतका घटनाको विश्लेषण गर्न सकिन्छ । जस्तै, क्रिकेट टीमका ११ जना खेल्नका लागि अन्यत्र गए । भाग लिएका मध्ये नं ३, ५, र ९ नम्बरका खेलाडीहरु बिरामी परे । डाक्टरले अन्य परिस्थिति यथावत राखेर के जान्ने प्रयास गर्छ भने तीन जनाले कुन कुरा यस्तो खाए जुन अरुले खाएनन् । मानौं उनीहरुले आइसक्रीम पनि खाएका रहेछन् भने यसको अर्थ के हो भने आइसक्रीम उनीहरुको रोगको कारण हुन सक्छ । वर्तमान अवस्थाबाट विगतको विश्लेषण गरिने भएकोले यसलाई पश्चोन्मुखी विधि ex-post facto पनि भनिन्छ ।

  • ग) कार्यकारण विधिका प्रकार– अर्थशास्त्रमा निम्नलिखित कार्यकारण सम्बन्धको अध्ययन गर्न सकिन्छ–
  • माग र मूल्यको अध्ययन
  • आय र मागको अध्ययन
  • उत्पादन र लागतको अध्ययन
  • आय र शैक्षिक स्तरको सम्बन्ध
  • मुद्राको मात्रा र क्रयशक्तिको सम्बन्ध
  • घ) कार्यकारण विधिका चरण
  • १. कुनै एक परिस्थितिसंग सम्बन्धित तत्वहरुको संकलन, जहां कुनै खास घटना भयो (अन्य तत्वहरु नलिने) ।
  • २. त्यसै प्रकारको अर्को एक यस्तो विगतको परिस्थिति अध्ययन गर्ने जहां त्यो घटना घटित भएन ।
  • ३. दुवैको तुलना गर्ने
  • ४. निष्कर्ष प्राप्त गर्ने ।

१.२. अर्थशास्त्रमा शोधको क्षेत्र र आवश्यकता[सम्पादन]

सामाजिक शास्त्रहरुमा एक वैज्ञानिक विषयको रुपमा अर्थशास्त्रको जन्म र विकास भएको २३८ वर्ष मात्र भएको छ । तर नोबेल पुरस्कार जस्तो प्रतिष्ठित पुरस्कार विज्ञान र साहित्य बाहेक केवल एक सामाजिक विषयमा वितरण गरिन्छ, त्यो हो अर्थशास्त्र । आर्थिक पत्रकारितामा विशेष योगदान गरे बापत महेशचन्द्र रेग्मीलाई प्रतिष्ठित म्यागसेसे पुरस्कार प्रदान गरिएको छ । हिन्दु अर्थशास्त्रको रुपरेखा ग्रन्थ रचना गरे बापत नवराज चालिसेलाई मदन पुरस्कार प्रदान गरिएको छ । यी सबै कुराले अर्थशास्त्रको क्षेत्रमा शोधको महत्त्व र सान्दर्भिकता स्पष्ट हुन्छ । एडम स्मिथको पुस्तक वेल्थ अफ् नेशन्सको प्रकाशनपछि अर्थशास्त्र विभिन्न चरणमा विकसित भएको छ । प्रत्येकलाई अर्थशास्त्रको एक विशिष्ट सम्प्रदाय मान्दै आर्थिक विचारधाराको विश्लेषण गरिन्छ । यस आधारमा स्याम्युल्सनले एडम स्मिथ, जे एस मिल, अल्फ्रेड मार्शल, जे एम केन्स आदिको आर्थिक योगदानलाई अर्थशास्त्रको मूल प्रवाह मानेका छन् । अर्थशास्त्रको विचारधारालाई सम्प्रदाय भनिन्छ । सामान्यतया यी सम्प्रदायलाई वणिकवाद, प्रकृतिवाद, शास्त्रीय (क्लासीकल), नवशास्त्रीय, समाजवादी, संस्थानवादी, उपयोगितावादी, गणितीय, केन्सीयन, केन्सोत्तर, मुद्रावादी, नया शास्त्रीय आदि विभिन्न सम्प्रदायमा विभाजन गरेर आर्थिक विचारधारा तथा सिद्धान्तको अध्ययन गरिन्छ ।
घरेलु प्रबन्धको शास्त्रका रुपमा सुरु भएको यो विषय आज एक विशिष्ट शास्त्र बनेको छ र यसलाई व्यष्टि, समष्टि, वास्तविक, आदर्श, शिक्षा, स्वास्थ्य, वातावरण, ग्रामीण, शहरी इत्यादि शब्दस“ग जोडेर अनेक प्रकारका नया“ विषय वस्तुमाथि शोध गरिएका छन् । यी विषयमध्ये कतिपयले प्रतिष्ठित नोबेल पुरस्कार पनि प्राप्त गरिसकेका छन् । जसको श्रेय अर्थशास्त्रमा गरिने शोधलाई नै जान्छ । आधुनिक अर्थशास्त्रमा नया“ शब्द, नया“ अवधारणा, र भौतिक विज्ञानमा जस्तै जटिल प्रविधिको प्रयोग हुनुमा यस विषयमा हुने गरेको निरन्तर शोध नै प्रमुख कारण हो । विगत पचास वर्षमा सबभन्दा बढी अर्थशास्त्रीय शोध सं.रा.अ.मा भएका छन् र नोबेले पुरस्कारले सबभन्दा बढी पुरस्कृत हुनेमा पनि अमेरिकी अर्थशास्त्रीहरु नै रहेका छन् । यस कुराले अर्थशास्त्रमा गरिने शोधको महत्त्वलाई स्पष्ट गर्छ । अर्थशास्त्रमा निम्नलिखित उद्देश्यका लागि शोध गरिन्छ–

  • १. पुराना सिद्धान्तहरुको पुष्टि गर्न ।
  • २. नया“ सिद्धान्त निर्माण गर्न ।
  • ३. सिद्धान्तहरु संशोधन गर्न ।
  • ४.पुराना सिद्धान्तहरुको सान्दर्भिकता परीक्षण गर्न ।
  • ५. सिद्धान्त र व्यवहारमा पाइने विरोधाभास व्याख्या गर्न ।
  • ६. आर्थिक विकासका विविध पक्ष अध्ययन गर्न ।

१.५. विश्वसनीयता र प्रामाणिकता[सम्पादन]

शोधका लागि शोध तथ्याङ्क संकलन प्राथमिक कार्य हो । तथ्याङ्कलाई प्रस्तुतिकरण र विश्लेषण गर्नु अघि निम्नलिखित कुराहरु माथि विचार गर्नु पर्छ

  • १. विश्वसनीयता– कुनै शोध निष्कर्ष विश्वसनीय हुनका लागि त्यो वैज्ञानिक आधारमा विश्लेषण र परीक्षण गरिएको हुनुपर्छ । त्यसो भयो भने परिणाम स्थिर र संगत हुन्छन् । यदि शोधबाट प्राप्त परिणाम स्थिर र संगत प्राप्त हुन्छन् भने शोधमा विश्वसनीयता भएको मानिन्छ । यस्ता परिणामहरु भविष्यमा पनि उपयोगी हुन्छन् र अन्य कसैले पनि तिनीहरुको संगतता परीक्षण गर्न सक्छ । शोध परिणामको विश्वसनीयतालाई प्रभावित पार्ने सबभन्दा प्रमुख तत्व त्यसको मापन हो । यदि माप विश्वसनीय छ भने प्राप्त तथ्याङ्कको विश्वसनीयता हुन्छ । विश्वसनीय तथ्याङ्कहरुमा उचित प्रविधिहरुको प्रयोग गर्न सकिन्छ यसले परिणाम शुद्ध र वास्तविक प्राप्त हुन्छन् । जसलाई पुनः पुनः परीक्षण गर्दा पनि संगत परिणाम प्राप्त भइरहन्छन् यसका साथै यी परिणामहरु जुनसुकैले परीक्षण गरेर प्रामाणिकता सिद्ध गर्न सक्छ ।

कुनै पनि शोध निष्कर्ष त्यसबेलासम्म उपयोगी मानिंदैन जसबसम्म त्यसका निष्कर्षको विश्वसनीयता प्रमाणित हु“दैन । विश्वसनीयताका निम्नलिखित तीन आधार हुन्छन्
क. स्थिरता– अहिले प्राप्त गरिएको निष्कर्षमा स्थिरता हुनु पर्छ । आज निकालिएका निष्कर्ष भविष्यमा पनि त्यही हुनु पर्छ । यदि अहिले निकालिएका निष्कर्ष भविष्यका लागि उपयोगी हु“दैनन् भने शोधको औचित्य हराउ“छ ।
ख.संगतता– एउटाले निकालेको निष्कर्ष उ आफैंले फेरि प्रयोग गर्दा वा अरु कसैले त्यसबारेमा प्रयोग गर्दा एउटै निष्कर्ष प्राप्त हुनु पर्छ । फरक फरक निष्कर्ष प्राप्त भए भने परिणामलाई संगत भनिंदैन ।
ग. पुनः परीक्षणीयता– कुनै एउटाले जुन निष्कर्ष प्राप्त गरेको छ, ऊ आफैंले पुनः परीक्षण गर्न अथवा अर्काले त्यस परीक्षणलाई दोहोर्याएर निरीक्षण गर्न सक्ने हुनुपर्छ । आफैंले दोहोर्याएर प्रयोग गर्न नसक्ने वा अर्काले प्रयोगलाई पुनः परीक्षण गर्न नसक्ने भएमा त्यसलाई वैज्ञानिक शोध भनिंदैन । मनोविज्ञानलाई विज्ञानको दर्जा प्राप्त हुने कारण प्रयोगहरुको पुनः परीक्षणीयता नै हो ।

विश्वसनीयताको जाच[सम्पादन]

शोध निष्कर्षको विश्वसनीयता जा“च गर्न शोध वैज्ञानिकहरुले निम्नलिखित विधिहरु प्रतिपादन गरेका छन्
१. परीक्षण पुनः परीक्षण विधि– यदि कुनै परीक्षणलाई निश्चित समयान्तरालमा पुनः सम्पन्न गरिन्छ र त्यस पछि प्राप्त परिणामलाई पहिलेको परिणाम, आवृत्ति, निष्कर्ष इत्यादिसंग तुलना गरिन्छ तथा यसरी तुलना गर्दा समयान्तराल, प्रयोगको विधि, आवृत्ति, र मापनका स्केल इत्यादिलाई ध्यानमा राख्दै दुवैका निष्कर्ष र चलराशिहरुका सहसम्बन्ध गणना गरिन्छ । यसरी सहसम्बन्ध गणना गर्दा परीक्षण र पुनः परीक्षणका निष्कर्षमा उच्चस्तरीय सहसम्बन्ध प्राप्त हुन्छ भने शोध निष्कर्षलाई विश्वसनीय भनिन्छ । यसरी गरिएको परीक्षणलाई विश्वसनीयता गुणांक भन्ने चलन छ । यदि निश्चित एकाईद्वारा एउटै प्रयोगलाई बारम्बार परीक्षण गर्दा निष्कर्षमा संगतता रहन्छ भने परिणामलाई विश्वसनीय मानिन्छ । यसको विपरीत परस्पर विरोधाभासी परिणामा प्राप्त भएमा निष्कर्ष विश्वसनीय हु“दैनन् ।
२. वैकल्पिक स्वरुप विधि– विश्वसनीयता परीक्षण गर्ने अर्को तरीका के भने एउटै प्रयोगलाई वैकल्पिक वा समानान्तर तरीकाले सम्पन्न गर्ने । अलग अलग विधिबाट प्राप्त भएका अलग अलग परिणामको सापेक्षिक तुलना गर्ने । यदि मापन र साधन इत्यादिको सापेक्षतामा दुवै परिणाममा उच्चस्तरीय सहसम्बन्ध देखिन्छ भने परिणाम विश्वसनीय मानिन्छ ।
३. अर्ध विभाजन विधि– यस विधिमा समान प्रतिदर्शहरुमा वैकल्पिक परीक्षणहरु गरिंदैन बरु परीक्षण प्रतिदर्शलाई आधा आधा गरी दुइ भागमा विभाजन गरिन्छ । यस पछि प्रत्येक उपविभागमा <br अलग अलग सोही परीक्षण दोहोर्याइन्छ । अनि प्रत्येक उपविभाजनको निष्कर्ष अध्ययन गरिन्छ । र प्रत्येक उप विभाजनका परीक्षणको निष्कर्षलाई समग्रका परीक्षणको निष्कर्षसंग तुलना गरिन्छ । यदि प्रत्येक उपविभाजनको निष्कर्ष र समग्रको निष्कर्ष आपसमा मल्छि भने त्यस निष्कर्षलाई विश्वसनीय भनिन्छ । संक्षेपमा, शोध निष्कर्षको विश्वसनीयता शोधको विश्लेषणका लागि गरिएको प्रविधिमा भर पर्दछ ।

प्रामाणिकता[सम्पादन]

जुन कुराको शोध गरिन्छ त्यसको माप कति वैज्ञानिक र स्तरीय छ यसलाई प्रामाणिकताको आधारमा मूल्याङ्कन गरिन्छ । शोध निष्कर्ष प्रामाणिक हुन प्रयोग गरिएका उपकरण र नापहरु नै प्रामाणिक, र विश्वसनीय हुनु पर्छ । अप्रामाणिक उपकरण, प्रविधि र नापहरुले प्राप्त गरिएका निष्कर्ष प्रामाणिक हुन सक्दैनन् । उदाहरणका लागि कुनै मानिसको लम्बाई साढे तीन हात छ भन्नु भन्दा १६० से.मी. भन्नु बढी प्रामाणिक हुन्छ । त्यसै गरी औसत मानका लागि मध्यिका वा बहुलकको तुलनामा मध्यक बढी प्रामाणिक मानिन्छ । प्रामाणिकताको जाच गर्नु अघि तथ्याङ्कका बारेमा निम्नलिखित विचार गर्नु पर्छ

  • क) तिनीहरु वर्तमान शोधको उद्देश्य अनुरुप छन् कि छैनन्
  • ख) तथ्याङ्कमा निष्पक्षताको मात्रा कति छ
  • ग) तिनीहरुमा प्रयोग गरिएको समयावधि उचित छ कि छैन
  • घ) नापको एकाई र गणना प्रविधि वैज्ञानिक छ कि छैन

प्रामाणिकताको जाच[सम्पादन]

प्रामाणिकता जाच गर्न शोध वैज्ञानिकहरुले प्रतिपादन गरेका विधहरु यस प्रकार छन्
१.तार्किकता– कुनै क्षेत्रको विद्वानद्वारा जुन सिद्धान्त प्रतिपादित गरिएको छ त्यसै सिद्धान्तको आधारमा शोध निष्कर्षहरु जा“च गरिएका छन् भने त्यसलाई तार्किक प्रामाणिकता भनिन्छ । कुनै प्रामाणिक सिद्धान्तबाट जा“च गरिएको निष्कर्ष पनि प्रामाणिक छ त्यसैले सामान्यतः स्वीकार्य छ भन्ने मानिन्छ ।
२. विशेषज्ञहरुबाट स्वीकृत–यदि धेरै जना विशेषज्ञले कुनै निष्कर्षलाई विभिन्न दृष्टिकोणले अध्ययन गरी त्यो प्रामाणिक छ भन्ने निष्कर्ष प्रदान गर्छन् भने त्यस निष्कर्षको प्रामाणिकता स्थापित हुन्छ । उदाहरणका लागि कुनै भवन निर्माण गर्दा इञ्जिनीयर, सिकर्मी, डकर्मी आदिले आआफ्नो विचारले त्यसलाई प्रमाणित गर्छन् । यसरी भवनको प्रामाणिकतामा सबैको सामूहिक योगदान हुन्छ ।
३. स्वतन्त्र मापदण्ड– कुनै निष्कर्षलाई विभिन्न, स्वतन्त्र र अलग अलग मापदण्डहरुको आधारमा परीक्षण गर्दा यदि एउटै परिणाम प्राप्त भयो अथवा उच्चतम सहसम्बन्ध निर्धारित भयो भने निष्कर्षलाई प्रामाणिक भन्नु पर्दछ । सामान्तः त्यस अर्थशास्त्रीय सिद्धान्तलाई स्वीकार गरिन्छ जुन शाब्दिक विवरण, तालिकामा प्रस्तुतिकरण र रेखाचित्रीय व्याख्या यी सबैबाट प्रमाणित हुन गर्छ ।

१.६.सामाजिक विज्ञान र प्राकृतिक विज्ञान[सम्पादन]

ज्ञानार्जन सम्बन्धित सबै विषयलाई दुइभागमा विभाजन गरिन्छ– प्राृकतिक विज्ञान र मानवीय विज्ञान ।


१. प्राकृतिक विज्ञान–जुन विज्ञानले प्रकृति र यससंग सम्बन्धित घटनाहरुमा कारण र परिणामको विश्लेषण गर्छ त्यसलाई प्राकृतिक विज्ञान भनिन्छ । जस्तै– भूगोल, भौतिक विज्ञान, रसायन विज्ञान, खगोलशास्त्र इत्यादि ।
२. मानव विज्ञान– मानवीय व्यवहारको अध्ययन गर्ने विज्ञानलाई मानव विज्ञान भनिन्छ । यसलाई तीन भागमा विभाजन गर्न सकिन्छ–

  • क) सामाजिक विज्ञान– यस्ता विषयहरु जसमा मानवीय व्यवहारलाई सामाजिक दृष्टिकोणले अध्ययन गरिन्छ तिनीहरुलाई सामाजिक विज्ञान भनिन्छ । यद्यपि प्रत्येक मानव विज्ञानको व्यक्तिगत र सामाजिक पक्ष हुने गर्छ तथापि यस अन्तर्गत मुख्यतः अर्थशास्त्र, इतिहास, समाजशास्त्र, शिक्षा जस्ता विषयहरु ।
  • ख) व्यक्तिगत विज्ञान– यस्ता विषयहरु जसमा व्यक्तिगत मानवीय व्यवहारको अध्ययन गरिन्छ, सामाजिक पक्षको होइन, तिनीहरुलाई व्यक्तिगत विज्ञान भनिन्छ । यस अन्तर्गत मुख्यतः मानव शरीर विज्ञान र मनोविज्ञान जस्ता विषयहरु पर्दछन् ।
  • ग) व्यावहारिक विज्ञान– ती सबै विज्ञान जुन मानवीय व्यवहारका सामान्य, अतिसामान्य र अधिसामान्य पक्षसंग सम्बन्धित हुन्छन्, लाई व्यावहारिक विज्ञान भनिन्छ । शिक्षा, मनोविज्ञान,

सामाजिक मनोविज्ञान, ज्ञानशास्त्र, मानव संसाधन व्यवस्थापन जस्ता विषयहरु व्यावहारिक विज्ञान हुन् । अर्थशास्त्रको त्यो विभाग जसमा मुख्यतः मानवीय व्यवहारको अध्ययन गरिन्छ त्यसलाई व्यावहारिक अर्थशास्त्र भनिन्छ । केही उदाहरणहरु यस प्रकार छन्

  • क) मागको सिद्धान्त
  • ख) उपयोगिताको सिद्धान्त
  • ग) उपभोगको मनोवैज्ञानिक नियम
  • घ) बचतको सिद्धान्त
  • ङ) श्रमको पूर्ति रेखा
  • च) नाफाको सिद्धान्त
  • छ) मुद्राको परिमाण सिद्धान्त, इत्यादि ।

यद्यपि प्राकृतिक विज्ञान र सामाजिक विज्ञान दुवैमा वैज्ञानिक विधिको प्रयोग गरिन्छ तथापि प्राकृतिक र सामाजिक विज्ञानमा केही आधारभूत अन्तरहरु छन् । यो अन्तर तिनीह्रुको नियन्त्रित प्रयोग र एक चलराशि मान्यतामा आधारित छ ।

१.७.अर्थशास्त्रमा विधि प्रणालीका चरण[सम्पादन]

शोध (अनुसन्धान) एक सुव्यवस्थित प्रक्रिया भएकोले यसलाई क्रमबद्ध र चरणगत रुपमा सम्पन्न गर्नु पर्दछ । शोधका चरणहरुलाई मुख्यतः निम्नलिखित प्रकारले वर्गीकरण गर्न सकिन्छ–

  • १. समस्या चयन– शोधको शीर्षक छनौट गर्नु
  • २. प्राक्कल्पना निर्माण
  • ३. शोध प्रस्ताव लेखन– शोधको प्रारम्भिक रुपरेखा शोध समितिलाई प्रस्तुत गर्नु
  • ४. शोध तथ्याङ्क संकलन– शोध विषयसंग सम्बन्धित गुणात्मक र परिमाणात्मक जानकारी संकलन गर्नु
  • ५. शोधको रुपरेखा र विधि
  • ६. तथ्य र सूचनाको संकलन
  • ७. संकलित सामग्रीको विश्लेषण र व्याख्या
  • ८. निष्कर्ष र सामान्यीकरण
  • ९. प्राक्कल्पना परीक्षण
  • १०. प्रतिवेदन लेखन– औपचारिक रुपमा मस्यौदा लेखन (संशोधन, साफी गर्नु) र अन्तिम रुप दिनु ।
  • प्राप्त ज्ञानको तथ्य परीक्षण गर्न, ज्ञानलाई अद्यावधिक गर्न, सान्दर्भिकता परीक्षण गर्ने एक मात्र विधि शोध पद्धति हो । कौटिलीय अर्थशास्त्रमा आन्वीक्षिकीलाई यस प्रकार परिभाषित गरिएको छ– यस विद्याले सबै विद्यालाई प्रकाशित गर्छ, सबै समस्याहरुको समाधानका लागि उपकरण र सिद्धान्त प्रदान गर्छ । यसबाट शोध विज्ञान सबै विज्ञानहरुको पनि विज्ञान हो भन्ने स्पष्ट हुन्छ ।

सन्दर्भ सूची[सम्पादन]

केर्लिंंगर एफ एन, सन् १९७३, फाउन्डेशन अफ बिहेभरल रिसर्च, वाशिंगटन ः होल्ट रिनहार्ट एन्ड विन्स्टन । ज्ञवाली, बाबु राम, सन् २०११, मेथोडोलोजीकल इस्युज इन ओरिएन्टल इकोनोमिक्स, स्वतन्त्रता १(१) बुटवल ः डेमोक्रेट टीचर्स एसोसिएशन अफ् बुटवल मल्टिपल क्याम्पस । पाउपर, कार्ल, सन् १९६३, कन्जेक्चर्स एन्ड रेफुटेशन्स, द ग्रोथ अफ साइन्टिफिक नोलेज । राय, पारसनाथ, सन् १९९१, अनुसन्धान परिचय, आगरा ः लक्ष्मीनारायण अग्रवाल । रेग्मी, दानराज, वि.सं.२०६९, पाश्चात्य अनुसन्धान पद्धतिको रुपरेखा, अनुसन्धान प्रकाश, बसन्तपुर ः नेपाल संस्कृत विश्वविद्यालय । विद्याभूषण, एस सी, सन् २००२, द हिस्ट्री अफ इन्डियन लजिक– एन्शेन्ट, मेडिएभल, एन्ड मोडर्न स्कूल्स, देल्ही ः मोतीलाल बनारसीदास ।