भानुभक्तको रामायण/सुन्दरकाण्ड

नेपाली विकिपुस्तकबाट, स्वतन्त्र पुस्तकालय
Jump to navigation Jump to search


तर्छू क्षार समुद्र आज सहजै भन्न्या इरादा धरी।

श्रीराम्का चरणारविन्द मनले अत्यन्त चिन्तन् गरी॥

भन्छन् विर्हरुलाइ ताहिं हनुमान् हे वीर हो पार् तरी।

सीताजी कन भेट्दछू म अहिले जान्छू बडो वेग् धरी॥1॥


पापी जन् पनि रामका स्मरणले संसार पार् तर्छ ता।

राम्कै काम निमित्त औंठि सँगली जान्छू दुतै हूँ म ता॥

क्या डर् क्षार समुद्र तर्न सहजै पौंचन्छु लङ्का भनी।

चारै पाउ जमिन् विषे धसि कुद्या हेर्दै तमासा पनि॥2॥


दक्षिण् तरफ् मुख गरी कन कुद्न बस्ता।

ऊपर् नजर दि अघिका दुइ पाउ धस्ता॥

सोझो गराइ कन घाँटि कुद्या जसै ता।

वायू सरी हुन गया हनुमान् तसै ता॥3॥


आकाश्मार्ग गरी कुदेर हनुमान् उड्थ्या ति आकाशमा।

सीताजी कन भेटि फर्कि कन फेर् राम्चन्द्रका पासमा॥

पुग्न्या अक्कल बल् छ छैन इनको बूझौं सबै बल् भनी।

इन्द्रादीहरुले खटाइ सुरसा जल्दी पठाया पनी॥4॥


जल्दी गै सुरसा अघिल्तिर बसिन् साम्ने हनूमानका।

क्या भन्छन् हनुमान् भनेर खुसि भै कूरा गरिन् खानका॥

भोकी धेर् दिनकी म खोजि हिंडथ्याँ क्या खाँ अहारा भनी।

पायाँ बल्ल यहाँ मिल्यौ तिमि त एक् साह्रै भयाँ खुस् पनी॥5॥


आऊ लौ पस मूखमा भनि तसै बोल्या हनुमान् तसै।

भन्छन् आज सिता न भेटि कन ता पस्तीन मुख्मा कसै॥

सीता भेटि म फर्कुला र रघुनाथ्ज्यूका हजुर्मा गई।

विस्तार् बिन्ति गरेर आइ पसुँला तिम्रो अहारा भई॥6॥


यस्ता बात् सुनि भन्दछिन् ति सुरसा मेरा मुखैमा पसी।

निस्की जाउ नहीं भन्या म बलले पक्रेर दाह्रा धसी॥

मार्छू येति भनिन् र लौ तब यहाँ मुख बाउ चाँडो भनी।

चार् कोस्को त शरीर् गरी कन बस्या आफू हनूमान् पनी॥7॥


चार् कोस्का हनुमान देखि सुरसा बिस् कोसको मुख् गरिन्।

चालिस् कोस् हनुमान् भया र असि कोस् मुख् फेरि जल्दी धरिन्॥

जल्दी फेर् हनुमानले छबिस कोस्को रुप् गराई बस्या।

फेर् दूई सय कोस् मुखै जब गरिन् अँगुष्ठ झैं भै पस्या॥8॥


निस्क्या जल्दि र भन्दछन् ति हनुमान् हे देवि मुख्मा पसी।

निस्क्याँ जान्छु म ता अवश्य अब ता बन्दैन काम् ता बसी॥

अक्कल् बल् सितका वचन् जब सुनिन् यस्ता हनूमानका।

आफ्नू सत्य कुरो तसै सब कहिन् छाडिन् कुरा खानका॥9॥


सक्छौ काम् तिमि साधि आउ हनुमन् यो बल् छ तिम्रो भनी।

चीह्न्याँ भन्छु म इन्द्रका हजुरमा तिम्रो पराक्रम् पनी॥

बल् बुझ्नै भनि इन्द्रका हुकुमले आया कि ता हूँ भनी।

खुस् भै स्वर्ग विषे गइन् ति सुरसा कूद्या हनूमान् पनी॥10॥


जस्ले सागर नाम् धर्या म कन सो राजा सगर् जो गया।

तिन्का वंश महाँ विभूषणसरी श्रीराम राजा भया॥

तिन्का काम निमित्त आज हनुमान् जान्छन् इ लङ्का महाँ।

मैनाक् पर्वत् निस्क जाउ तिमि गै विश्रामू गराऊ तहाँ॥11॥


थाक्या हुन् हनुमान् बिसाइ फल फुल् खाउन् र जाउन् भनी।

भन्दा सागरका वचन् सुनि तहाँ निस्क्या ति मैनाक् पनी॥

आर्को एक मनुष्यको स्वरुप ली हात् जोरि बिन्ती गर्या।

आई फल्फुल खाइ जाउ हनुमन् भन्दै अगाडी सर्या॥12॥


आज्ञा सागरको हुँदा चरणमा आयाँ म ऐल्हे भनी।

मैनाक्ले यति बिन्ति बात् जब गर्या बोल्या हनूमान् पनी॥

राम्को काम् न गरी बसेर कसरी खान्छू म जान्छू यसै।

हात्ले छुन्छु म लौ भनेर खुसि भै छोयेर कूद्या तसै॥13॥


केही दुर् हनुमान् पुग्या पछि तहाँ एक् सिंहिका राक्षसी।

छाया पक्रि उ जन्तु खैंचि बलले खान्थी जलैमा बसी॥

छाया पक्रि उ तान्न लागि हनुमान्ज्यूको गती बन्द भो।

कस्ले बन्द गर्यो गती भनि दिशा दस्मा तसै दृष्टि गो॥14॥


देख्या तल्तिर दृष्टि दी कन तहाँ जस्सै नजर्मा परी।

एकै चोट् दुइ लात् दिया र सहजै घुस्रुक्क ताहीं मरी॥

ताहाँ देखि कुदी गया र हनुमान् पौंच्या जसै तीरमा।

लङ्कापूरि तहाँ त्रिकूट गिरिका देख्या उपर् सीरमा॥15॥


वरि परि तहिं तीरैमा पनी वृक्ष फल् फुल्।

भरि छ जउन वन्मा गर्दछन् पक्षिले गुल्॥

भ्रमरहरु लताका फूलमा हल्लि हल्ली॥

घुनुनु घुनुनु गर्दै हिंद्दछन् बल्लि बल्ली॥16॥


नजर वरि परीको जो छ शोभा नजर् भो।

त्रिकुट गिरि उपर्का पूरिमा फेर् नजर् गो॥

वरि परि परखाल् छन् बीच बिच्मा छ खावा।

सहज त अरुले ता गर्न को सक्छ दावा॥17॥


अति तखत पर्याको खुप् अगम् देखि लङ्का।

यहि घडि पसि जाँकी राति जाँ येति शङ्का॥

गरि कन ठहराया याहिं बस्छू र राती।

सहज सित म जाँला जान ता राति जाती॥18॥


तहिं बसि यति गम्ले बाँकि दिन् सब् बिताई।

दिन बिति जब रात् भो जान पाऊ चलाई॥

स्वरुप पनि ति सानू ली पस्याथ्या जसै ता।

दगुरि नजिक आइन् लङ्किनी पो तसै ता॥19॥


को हो आज मलाइ केहि न गनी यो भित्र जान्या भनी।

चोरै हो भनि लात् उठाइ रिसले एक् चोट् त हानिन् पनी॥

जल्दी वाम मुठी उठाइ सहजै ठोक्ता जमिन्मा परिन्।

छाद्दै ताहिं रगत् गिराइ झटपट् ऊठेर बिन्ती गरिन्॥20॥


लङ्कापूरि त हुन् ति राक्षसि भई बस्थिन् सदा द्वारमा।

जानिन् श्रीहनुमान् भनेर जब चोट् पाइन् चलिन् सारमा॥

लङ्कीनी हुँ मलाइ ता जिति गियौ यस्ले सक्यो राज् गरी।

रावण्को त मरण् हुन्या बखत भो आयो मरण्को घरी॥21॥


ब्रह्माजी अघि भन्दथ्या प्रभुजिको हून्या छ रामावतार्।

हर्ला रावणले सिता र रघुनाथ् सुग्रीव थ्यैं मित्रचार्॥

गर्नन् सुग्रिवले पनी दसदिशा सीताजिको खोज् खबर्।

गर्नालाइ पठाउनन् विरहरू छानेर खुप् खुप् जबर्॥22॥


तिन्मा एक् विर आउला र तिमिले लात् मारि द्यौली जसै।

हान्ला वाम मुठी उठाइ रगतै छाद्दै गिरौली तसै॥

रावण्को तहिं सम्म आयु छ भनी भन्थ्या र सो बात् सुनी।

ब्रह्माको वचनै प्रमाण् गरि भन्याँ त्यो मर्छ रावण् पनी॥23॥


जाऊ भेट सिताजिलाइ ति अगम् भीत्री बघैंचा महाँ।

अश्शोक्का वनमा छ वृक्ष बढिया एक् शिंशपाको तहाँ॥

ताहीं छन् प्रभुकी प्रिया वरि परी छन् राक्षसीगण् पनी।

भेटी गै रघुनाथ थ्यैं भन तिमी यस्ता विपत् छन् भनी॥24॥


धन्यै भयाँ म अहिले प्रभुको स्मरण् भो।

संसारको भय छ जो उ त आज दुर् भो॥

जस्तो मिल्यो म कन सङ्ग र भक्ति ऐल्हे।

यस्तै रहोस् यहि म पाउँ न बिर्सु कैल्हे॥25॥


जस्सै श्रीहनुमान् पुग्या सहजमा लङ्का समुद्रै तरी।

तस्सै जानकिको फुर्यो नजर वाम् हातै समेत् खुप् गरी॥

रावण्को पनि वाम हात् नजर वाम् फूर्यो रघूनाथको।

दक्षिण् अङ्ग फुर्यो तसै बखतमा खुस् मन् भयो नाथको॥26॥


सानू रूप लिई पसी सब सहर् हेर्दै विचार् खुप् गरी।

रावण्को दरबार् विशेष् गरि ढुँड्या चोटा र कोठा गरी॥

पायानन् र कता म जाँ भनि तहाँ मन्मा विचार् भो जसै।

सम्झ्या लङ्किनिका वचन् र ति गया अश्शोक वन्मा तसै॥27॥


जो जो वृक्ष त इन्द्रका नगरिमा सो सो त सब् छन् तहीं।

रत्नैका सिंढि साफ् असल् जल पनी यस्ता तलाऊ कहीं॥

फल्फूल्ले अति भार् भयेर रुखका सब्का ति हाँगा पनी।

लच्क्याका भ्रमरा र पंछि बहुतै रुख्मा बस्याका पनी॥28॥


बिच् बिच्मा सुनका हबेलि पनि छन् उच्चा मणीको छ थाम्।

जस्मा छन् कति गर्नु वर्णन जहाँ हेर्यो तहाँ पक्कि काम्॥

यस्तो सुन्दर वन् नजर् गरि सबै डुल्दै हनूमान् गया।

देख्या सुन्दर शिंशपा र खुसि भै ताहीं ति दाखिल् भया॥29॥


अधिक गभिर छाया सूर्यको ताप् न पस्न्या।

उपर अति पर्हेला बेस् चरा मात्र बस्न्या॥

वरि परि पनि नाना राक्षसीको छ घेरा।

रुख मनि तहिं सीता देखिइन् फेद नेरा॥30॥


भोकी मैलि निन्याउरी न त कपाल् कोर्याकि सब् केश् उसै।

लट्टा मात्र गर्याकि खालि भुमिमा रूँदै बस्याकी यसै॥

राम् राम् राम् यति मात्र बोलि रहँदी देख्या र साना भई।

पात्का अन्तरमा लुक्या ति हनुमान् रुख्का उपर्मा गई॥31॥


भन्छन् श्री हनुमान् तहाँ मन मनै ऐल्हे कृतार्थै भयाँ।

जो सीता कन देखि आज खुसिले सीता समिप्मा रह्याँ॥

साध्याँ काम् पनि रामको भनि तहाँ खूसी भयाथ्या जसै।

अन्तः पूर महाँ भयो र खलबल् त्यो शब्द सून्या तसै॥32॥


क्याको शब्द भयो भनेर हनुमान् लूक्या ति झन् पातमा।

आयो रावण जल्दि ताहिं नजिकै सब् स्त्री लिई साथमा॥

कैल्हे मर्छु म राम देखि अझ तक् सीता हर्याँ ता पनी।

आयेनन् रघुनाथ् भनेर रहँदा देखेछ स्वप्ना पनी॥33॥


राम्को दुत् अति वीर वानर अशोक् वन् भित्र आई पसी।

सीताजी कन देखिन्या गरि तहीं पात् भित्र लूकी बसी॥

हेर्दो सुर् सब कामको खुसि भई स्वप्ना मिलेथ्यो जसै।

साँचै हो कि भनेर दौडि कन झट् आयो नजिक्मा तसै॥34॥


साँचै पो यदि हो भन्या असल भो दुर्वाच्य बोल्छू जसै।

सीतालाइ यसो सुनेर रिसले जाला र भन्ला तसै॥

मेरा दुष्ट वचन् सुनेर रघुनाथ् आयेर मार्नन् भनी।

यस्तो निश्चय मन् गरी नजिक गै दुर्वाच्य बोल्यो पनी॥35॥


सीताजी पनि दुष्टलाइ नजिकै देखी अधोमुख् गरिन्।

श्रीराम्का चरणाविन्द मनले अन्तःकरण्मा धरिन्॥

चुप् लागी जननी रहिन् जब तहाँ सो देखि रावण् पनी।

लाग्यो भन्न मलाइ देखि किन है लायौ अधोमुख् भनी॥36॥


राम् मेरा पति हुन् भनेर तिमि पो भन्छ्यौ उ भन्छन् कहाँ।

मेरी हो यदि भन्दथ्या पनि भन्या आऊनु पर्थ्यो यहाँ॥

माया छैन तिमी उपर् न बुझि क्या शोक् मात्र गर्छ्यौ उसै।

यौवन् व्यर्थ गयो विचार किन यो यौवन् अफाल्छ्यौ यसै॥37॥


यौवन् व्यर्थ न फाल व्यर्थ मनमा शोक् गर्दछ्यौ यो कती।

मैलाई पति मान आज तिमिले हुन्छू म तिम्रो पती॥

मेरी पत्नि भयौ भन्या त सबकी मालिक् हुन्याछौ म ता।

साह्रै प्रेम् गरि राखुँला बुझ अधिक् बैगूनी छन् राम ता॥38॥


मानी मूर्ख कृतघ्न मानुष महाँ साह्रै अधम् जो त छन्।

शक्तीका पनि कम् उ राम् पनि यहाँ आऊन् क्या सक्तछन्॥

तस्मात् छोड न राख राम्तिर बहुत् यस्तो भनेथ्यो जसै।

लाल् लाल् नेत्र गराइ पूर्ण रिसले बोलिन् सीताजी तसै॥39॥


पाजी रावण बोल्दछस् कति बहुत् दुर्वाच्य बक् बक् गरी।

राघव् देखि डराइ छल्न भनि एक् सन्न्यासिको रुप् धरी॥

जस्तै यज्ञ विषे हवी कुकुरले हर्छन् उसै चालले।

राम् लक्ष्मण् न हुँदा हरिस् तँ बुझिले मर्लास् यसै कालले॥40॥


सागर् शोषि कि साँघुलाइ रघुनाथ् आयेर घेरा दिई।

तेरो वंश विनाश् गरेर पछि फेर् प्राण् खैंचि तेरो लिई॥

लैजानन् रघुनाथ् मलाइ भनि झट् दीइन् जवाफ् यो जसै।

लाल् लाल् नेत्र गराइ खड्ग पनि ली काट्नै तयार् भो तसै॥41॥


मन्दोदरी विनति गर्न अगाडि सर्दी।

यो खड्ग टारुँ कसरी भनि चित्त धर्दी॥

पाऊ परी कन बहुत् गरि बिन्ति लाइन्।

सब् रिस् शमन् पनि गरायर खड्ग टारिन्॥42॥


हूकुम् रावणले तहाँ यति दियो हे राक्षसी ई सिता।

मैन्हा दूइ यसै बसुन् तब उपर् मेरा शयन्मा कि ता॥

बस्निन् बस्तिन पो पनी भनि भन्या काटेर टुक् टुक् गरी।

तर्कारी भुटुवा बनाउनु असल् मीठा मसाला धरी॥43॥


मासू खाइ म छोडुँला अझ पनी चेताउ येती भनी।

रावण् फर्कि गयो ति राक्षसिहरू एक् मुख् भया फेर् अनी॥

एक् भन्छे किन व्यर्थ रौवन सक्यौ रावण् गराऊ पती।

दोस्री क्या भनि उठ्तछे कि कतिवार् भन्छेस् तँ थाक्छेस् कती॥44॥


काट्नै पर्छ न काटि हुन्न भनि बात् गर्दै थिई अर्कि ता।

हात्मा ली तरवार दौडि पनि गै भन्दै म काट्छू सिता॥

अर्की घोर् मुख बाइ डर् दिन नजिक् धाई सिता थ्यैं जसै।

बूढी राक्षसि एक् थिई र त्रिजटा तेस्ले हटाई तसै॥45॥


लागी भन्न अभागि दुष्टहरु हो क्या दुष्टको झैं मती।

गर्छौ छोड विरोध् न राख गर खुप् सीताजिको ता स्तुती॥

पाऊमा पर दण्डवत् गर सबै मालिक् इनै हुन् भनी।

मेरा आज वचन् लियौ भनि भन्या खुप् हीत होला पनी॥46॥


स्वप्नाको सुन भन्छु लक्षण यहाँ श्रीराम् सिताका पती।

ऐरावत् उपरै चढेर सँगमा भाई लिई विर् अती॥

याहाँ आइ रिसाइ भस्म सब यो लङ्कै गराई दिया।

रावण् मारि सिता लियेर सँगमा पर्वत् उपर् पो थिया॥47॥


रावण् गोमय कुण्डमा कुल समेत् खुप् तेल मर्दन् गरी।

बुड्थ्यो सब् मुड आफना उनि उसै मुड्को त माला धरी॥

श्रीराम्का नजिकै विभीषण थिया भक्ती प्रभूको गरी।

गर्थ्या खूप टहल् बहुत् खुसि हुँदै तन् मन् वचन् एक् गरी॥48॥


राम्ले रावणलाइ आज सहजै मार्छन् कुलै साफ् गरी।

रावण्को अब वृद्धि छैन यसको आयो मरण्को घरी॥

राम्का भक्त विभीषणै अब उपर् बस्नन् यहाँ राज् गरी।

जस्तो हुन्छ हुकुम् सितापतिजिको सोही सिरोपर् धरी॥49॥


जस्तो स्वप्न भयो उ सब् भनि सक्याँ येती भनी चुप् जसै।

लागीथी त्रिजटा ति बात् सुनि डर्या सब् राक्षसीगण् तसै॥

निद्राका वशमा सबै परि गया सीता बहुतै रुँदी।

आधार् कोहि न पाउँदी अधिक ताप् मानेर निष्फल् हुँदी॥50॥


भोकी शोक् गरि भन्दछिन् अब यहाँ ऐल्हे कसोरी मरूँ।

इन्का हात परेर मर्नु ननिको आफै म मर्छू बरू॥

ताप्ले पूर्ण हुँदी उपाय अरु थोक् केही न जान्दी कबै।

मन्मा स्वस्थ न पाउँदी विरहले देख्ती अँध्यारो सबै॥51॥


राम्मा चित्त दियेर मर्नु बढिया मानेर सीता तहाँ।

झुन्डीन्या मतलब् लिई खडि भइन् पक्रेर हाँगा महाँ॥

राक्षस्का बिचमा बसी जिउनु धिक् मर्नू निको मर्दछू।

चुल्ठो लामु छ झुण्डिना कन यहाँ डोरी त यै गर्दछू॥52॥


यस्तो निश्चय सुर् गरी कन सिता झुन्डीन आँटिन् जसै।

काम् बित्ला भनि सानु बोलि झटपट् बोल्या हनूमान् तसै॥

भारत्वर्ष विषे मणी मुकुट झैं नाम् ता अयोध्या भनी।

ठूलो एक सहर् थियो मणिमयी सुन्दर् बन्याको पनी॥53॥


इक्ष्वाकूका कुलैमा अति बलि दशरथ् विर् महाराज् रह्याछन्।

तिन्का तिन् रानिमद्धे गुणिगुणि अति विर् चार छोरा भयाछन्॥

जेठा राम्जी ति चार्मा उहिं पछि त भरत्जी र लक्ष्मण् इ तीनै।

भन्दा शत्रुघ्न कान्छा सकल गुणमहाँ कम्ति छैनन् इ कूनै॥54॥


जेठा राम पिताजिका हुकुमले सब् राज्य छोडी दिई।

वन्मा बस्न चल्या बहुत् खुसि भई सीता र लक्ष्मण् लिई॥

एक् दिन् पञ्चवटी गया प्रभु तहीं डेरा प्रभूको पर्यो।

रावण्ले अति छल् गरी कन तहाँ सीताजिलाई हर्यो॥55॥


राम् लक्ष्मण् नहुँदा सिता पनि तहाँ चोरी जसै ता हर्यो।

चोरी आज सिता हर्यो भनि बहुत् खेद् रामलाई पर्यो॥

जान्थ्या खोजि सिताजिलाइ वनमा फेला जटायू पर्या।

तिन् माथी करुणा भयो प्रभुजिको ताहीं जटायू तर्या॥56॥


भेट् सुग्रिव् सित भो पछी प्रभुजिको लाया मित्यारी पनी।

बाली मारि रजाञि बक्सनु भयो मित् हुन् इ मेरा भनी॥

विर् विर् वानर छानि सुग्रिवजिले सीताजि खोज्नै भनी।

हूकुम् बक्सनु भो र विर्हरु गया सीताजि खोज्नै पनी॥57॥


तिन्मा एक् विर ता म हूँ म त यहीं आयाँ समुद्रै तरी।

सम्पाती सित भेट् हुँदा खबर भै उन्का वचन्ले गरी॥

लङ्का दाखिल भै गयाँ छिन महाँ राम्का प्रताप्ले गरी।

फुत्क्याँ लङ्किनी देखि निर्भय भई अश्शोक वन्मा परी॥58॥


देख्याँ सुन्दर वाटिका वरिपरी रुख् बेस् लताले गरी।

बेह्र्याका चहुँ ओर रत्न सरिका फल् फुल् फल्याको भरी॥

देख्याँ आज सिताजिलाइ र यहाँ आनन्द पायाँ भनी।

येती बिन्ति गरेर चुप् भइ रह्या ताहाँ हनूमान् पनी॥59॥


सीताजिले जब इ बात् क्रमले सुनीथिन्।

आश्चर्य भै कन वरीपरि हेरि एक् छिन्॥

कोही नदेखि ति सिता अरुलाइ ताहाँ।

भन्छिन् कुरा इ कहन्या जन को छ याहाँ॥60॥


भ्रम् हो भनू पनि भन्या सब चेत् छ मेरा।

स्वप्ना कसो गरि भनू निद छैन मेरा॥

जो हो इ बात कहन्या उ अगाडि आई।

अम्रित् वचन् ति सब आज भनोस् मलाई॥61॥


सीताजिका यति वचन् जब सुन्न पाया।

सानू स्वरुप् लि हनुमान्जि अगाडि आया॥

दर्शन् प्रणाम् पनि गर्या र सिताजिलाई।

ताहिं खडा भइ रह्या अति हर्ष पाई॥62॥


लाल् मुख पीत शरिर् शरिर् पनि अधिक् सानू भङेरा सरी।

धार्याका हनुमान देखि मनले आफैं ति शङ्का परी॥

रावण्को छल हो कि यो भनि तहाँ लाइन् अधोमुख् जसै।

शङ्का भो अब माइलाइ भनि झट् बोल्या हनूमान् तसै॥63॥


हे माता म त दास हूँ हजुरको राम्का हुकुम्ले गरी।

आयाको छु हजूरका खबरमा गम्भिर् समुद्रै तरी॥

राजा सुग्रिवको म मन्त्रि पनि हूँ वायू पिता हुन् भनी।

येती बिन्ति गरेर चुप् भइ रह्या क्या हुन्छ मर्जी भनी॥64॥


सीताजी पनि भन्दछिन् कसरि यो जानू म मानिस् पनी।

वानर् सीत मित्यारि लाउँछ कतै क्या हुन् कुराको जनी॥

येती बोलि सिताजि चुप् भइ रहिन् साँचो न मानी जसै।

फेर् वृत्तान्त गरी सुनाइ सब बात् औँठी दिया पो तसै॥65॥


औंठी दी कन फेर् प्रणाम् पनि गरी जस्सै हनूमान् बस्या।

देखिन् औंठि जसै तसै बखतमा हर्षाश्रुधारा खस्या॥

बर् बर् आँसु खसाउँदै प्रभुजिको औंठी सिरोपर् धरिन्।

साह्रै खुस् हनुमान् उपर् भइ तहाँ प्राण् झैं पियारो गरिन्॥66॥


हित गरि हनुमान्जीलाइ भन्छिन् ति माता।

म कन तिमि भयौ खुप् प्राणका आज दाता॥

तिमि सित रघुनाथ्ले खूप विश्वास मान्या।

तब म सित पठाया येहि काम्ले त जान्याँ॥67॥


अब त तिमि हनूमान् जल्दि गै रामलाई।

भन विपति पर्याकि देखि हाल्यौ मलाई॥

जति गरि म उपर् श्रीरामको हुन्छ माया।

तति गरि तिमिले खुप् युक्तिले बिन्ति लाया॥68॥


जिन् तिन् शरीर महिना दुइ ता म धर्छू।

ताहाँ पछी त तिमि निश्चय जान मर्छू॥

खान्या छ दुष्ट तरकारि बनाइ येही।

छैनन् यहाँ अरु सहाय मलाइ कोही॥69॥


तस्मात् अवश्य इ दुई महिना न जाई।

सुग्रिव् समेत् सकल सैन्य लियेर आई॥

यस् दुष्टलाइ सब वंश समेत मारुन्।

यो दुःखसागर पर्या कि मलाइ तारुन्॥70॥


सिप सित गरि बिन्ती खुप् दयालू बनाया।

जति छ फजिति मेरा यो सबै थोक् जनाया॥

यति विनति गर्या लौ पाउला धर्म धेरै।

सकल भनि सक्याँ बात् क्या भनू बेरबेरै॥71॥


बिन्ती श्रीहनुमानले पनि गर्या माता म सेवक् त हूँ।

ख्वामित्का इ विपत् सबै म कहुँला धेर् बात् यहाँ क्या कहूँ॥

राम् लक्ष्मण् दुइ भाइ सुग्रिव समेत् वानर्कि सेना लिई।

वंशै रावणको विनाश् गरि दिनन् घेरा सहर्मा दिई॥72॥


ख्वामित्लाइ लियेर फेर रघुनाथ् जानन् अयोध्या महाँ।

आवैनन् रघुनाथ् भनेर मनमा शङ्कै न लागोस् यहाँ॥

यो बिन्ती सुनि भन्दछिन् तहिं सिता राम्चन्द्रजी क्या गरी।

सेना ली कन आउनन् अति गभिर् यस्तो समुद्रै तरी॥73॥


जननि कन बुझाया यो हुकुम् सूनि ताहाँ।

मइछु प्रभुजिको दास् बोकुँला पीठ माहाँ॥

रघुपति दुइ भाईलाइ क्या दुःख पर्छन्।

सकल अरु र सुग्रिव् कूदि आफै ति तर्छन्॥74॥


जननि म त बिदा झट् पाउँ मर्जी त सून्याँ।

अब त उहिं गया पो हुन्छ काम् जल्दि हून्या॥

जउन चिज दिंदामा राम विश्वास मान्छन्।

उहि चिज पनि पाऊँ जान्छु दिन् मात्र जान्छन्॥75॥


यति सुनि अघि देखी केशपाश्मा धर्याको।

मणि झिकि दिइ हालिन् रामका मन् पर्याको॥

मणि दिइ फिरि भन्छिन् चित्रकुट्मा भयाको।

शरण परि नजर् दी काग बाँची गयाको॥76॥


एक् दिन हे हनुमन् म चित्रकुटमा राम्का नजिक्मा थियाँ।

मेरा काख महाँ सुत्या र रघुनाथ् हात्को तकीया दियाँ॥

मेरा लाल् दुइ पाउ देखि कन काग् आयो र ठूँग्यो जसै।

मेरा इ दुइ पाउ देखि बहुतै आयो रगत् पो तसै॥77॥


ऊठी श्रीरघुनाथको नजर भो वाहीं थियो काग् पनी।

फ्याँक्या एक् तृण ली तहाँ प्रभुजिले यो काग मार्छू भनी॥

त्यो काग् चौध भुवन् डुल्यो त पनि एक् पायेन आधार् जसै।

फेरी आइ शरण् परी नजर दी बाँची गयो काग् तसै॥78॥


मेरा आज शरण् पर्यो भनि दया आयो उ काग्मा पनी।

मै माथी त दया कसो हुन गयो भन्थिन् भन्या यो पनी॥

हात् जोरी कन बिन्ति फेरि हनुमान् विर् गर्न लाग्या तहाँ।

याहाँ छन् भनि यो खबर् न भइ पो आऊन ढिल् भो यहाँ॥79॥


रावण्ले हरि ली गयो भनि खबर् हुन्थ्यो त बाँच्थ्यो कहाँ।

आज् तक् रावणको कुलै प्रभुजिले सब् भस्म गर्थ्या यहाँ॥

देख्छू रूप त सानु मानु भङिरा जत्रो कसोरी लडी।

राक्षस् नाश् तिमि गर्दछौ तिमि ठुला हुन्छौ स्वरुप्की बढी॥80॥


तिम्रो रुप् अति सानु देख्छु अरु ता कत्रा हुनन् झन् भनी।

संझन्छू मनले र गुम्छु मनमा आश्चर्य मान्छू पनी॥

यस्तो मर्जि सिताजिको सुनि तहाँ पर्वत् सरीका भया।

मेरू तुल्य स्वरुप् गरेर हनुमान् साम्ने खडा भै रह्या॥81॥


जब त ति हनुमान्को रुप् ठुलो देखि लीइन्।

खुसि भइ तहिं बीदा माइले जल्दि दीइन्॥

अब त तिमी हनूमन् धृष्ट चाला छिपाऊ।

इनिहरु सब देख्छन् कूदि फेर् जाइ जाऊ॥82॥


यति सुनि हनुमान्ले फेरि बिन्ती लगाया।

सहज सित म जान्थ्याँ येति फल् खान पाया॥

वरिपरि फल फुल् छन् मर्जि मात्रै म पाऊँ।

हुकुम बिनु कसोरी आज आफैं म खाऊँ॥83॥


यति विनति गर्याथ्या खानको मर्जि पाई।

खुसि भइ फल खाई माइ थ्यैं जल्दि आई॥

चरण परि बिदा भै क्यै गया दुर् जसै ता।

अलिकति कछु काम् फेर् गर्न आँट्या तसै ता॥84॥


आफ्नै मन् मन भन्दछन् ति हनुमान् जुन् वीर दुत् भै गई।

जत्ती ख्वामितको हुकुम् छ उतिमा मात्रै चनाखो भई॥

उत्ती काम् गरि फिर्छ पो पनि भन्या त्यो दुत् अधम् हो भनी।

भन्छन् सब् दुनियाँ त भेटिकन जाँ कस्तो छ रावण् पनी॥85॥


यति गमि ति बघैंचा फेंक्न मनसुब् चलाई।

खुसि भइ ति महाविर् जल्दि फेर् फर्कि आई॥

सकल वन उखेल्दै चौकि सम्पूर्ण मार्या।

फगत जननि बस्न्या एक् सिसौ शेष पार्या॥86॥


जब त वन विनास्या राक्षसी जल्दि आई।

पुगि नजिक सिताका सोधि सीताजिलाई॥

भन न तिमि सिताजी विर् क्व हो क्यान आयो।

अति असल बघैंचा मासि मैदान् बनायो॥87॥


यति सुनि तहिं सीता भन्दछिन् क्या म जानू।

विपत परि रह्याकी छू म ता चानुमानू॥

तिमि बुझ न सबै बात् हो क्व हो क्यान आयो।

अति असल बघैंचा क्यान मैदान् बनायो॥88॥


सकल छल त हो यो राक्षसै गर्छ माया।

जब त यति भनीथिन् राक्षसी सब् डराया॥

कहन भनि गया सब् रावणैका हजुर्मा।

पुगि कहन ति लाग्या वन् गयो जो बिसुर्मा॥89॥


ऐल्हे हे महराज् अधीक बलियो आयो र वानर् यहाँ।

सीताजी सँग केहि बात्चित गरी कूद्यो बघैंचा महाँ॥

सब् ती रुख् सहजै उखेलि कन साफ् मैदान् बनाई दियो।

चौकी पूर्ण गरी हवेलि पनि सब् नासी बस्याको थियो॥90॥


आयौं हामि त बिन्ति गर्न भनि यो बिन्ती गर्याथ्या जसै।

सून्यो जल्दि उठेर पक्रन भनी लस्कर् पठायो तसै॥

हूकुम् पायर लाख लस्कर गयो पक्रेर ल्याऊँ भनी।

एक् लाख् लस्करलाइ देखि हनुमान् अत्यन्त गर्ज्या पनी॥91॥


त्यो शब्दै सुनि मोह लस्कर भयो छोड्यो हतीयार् पनी।

सब् मार्या हनुमानले क्षण महाँ ई हुन् भुसूना भनी॥

लोहस्तम्भ उठाइ साफ् सब गर्या सम्चार् पुगेथ्यो जसै।

रावण् खूप रिसाइ फेर् पनि ठुलो सेना पठायो तसै॥92॥


सेनाका पति पाँच् गया हुकुमले ठूलै थियो ता पनी।

त्यो सेना पनि साफ् तहाँ गरि दिया उस्तै भुसूना गनी॥

फेर् मन्त्रीसुत सात् गया हुकुमले खुप् भारि लस्कर् लिई।

लोहस्तम्भ उठाइ साफ् फिरि गर्या सब्लाइ ठक्कर् दिई॥93॥


सात् मन्त्रीसुतलाइ सैन्य सहितै मारी सक्याथ्या जसै।

कान्छो रावणपुत्र अक्षयकुमार् पो लड्न आयो तसै॥

भारी फौज लियेर त्यो पुतलि झैं आई जसै ता पर्यो।

आकाश्मा कुदि लोहदण्ड सिरमा ठोक्या सहज्मा मर्यो॥94॥


पैल्हे अक्षकुमार मारि अरु सब् सेना समेत् नाश् गर्या।

आउँदैमा तहिं बत्तिका पुतलि झैं हूँदै अनेक् विर् मर्या॥

सब् राक्षस्हरुलाइ मारि सकि फेर् आऊँछ कुन् विर् भनी।

लोहस्तम्भ लिई खडा भइ रह्या ताहाँ हनूमान् पनी॥95॥


जब त अति पियारो पुत्र कान्छो मर्याको।

खबर कहन आयो फौज् समेत् नाश् गर्याको॥

तब त अधिक ताप् भै भन्छ रावण् रिसाई।

अब त गइ म आफैं मार्दछू तेसलाई॥96॥


की मार्छू कि त बाँधि ल्याउँछू यहाँ तेरा नजिक्मा भनी।

रावण्ले यति इन्द्रजित् सित भन्यो तेस् इन्द्रजित्ले पनी॥

हात् जोरीकन बिन्ति गर्छ म छँदै आफैं हजुर्ले तहाँ।

जानू पर्छ कतै म गै सहजमा ल्याऊँछु बाँधी यहाँ॥97॥


येती बिन्ति गरी चढ्यो रथमहाँ क्यै फौज् पनी साथ् लिई।

आयो श्रीहनुमान् भया तिर गयो साम्ने मुहाडा दिई॥

देख्या श्रीहनुमानले पनि र खुप् गर्ज्या ति साम्ने भई।

लोहस्तम्भ लिई कुदी कन उपर् आकाश बिच्मा गई॥98॥


लोहस्तम्भ उचालि घुम्न बिचमा लाग्या गरुड् झैं जसै।

पाँच् बाण् छोडि लगाइ आठ् अनि थपी फेरी लगायो तसै॥

बाण् लाग्या भनि इन्द्रजित् खुसि भई गर्ज्यो जसै ता तहाँ।

घोडा सुत् रथ चूर्ण पारि हनुमान् कूद्या ति आकाश् महाँ॥99॥


फेर् आर्का रथमा चढेर अब ता बाँध्छू म ऐल्हे भनी।

फ्याँक्यो जल्दि र ब्रह्मपाश् ति हनुमान्जीलाइ बाँध्यो पनी॥

बाँधी श्रीहनुमानलाइ सँग ली फर्क्यो र दर्बार् गयो।

बाँध्याका हनुमान देखि सहरै सम्पूर्ण खूसी भयो॥100॥


जुन् राम्को चरणै स्मरण् गरि सहज् अज्ञान पाश् नाश् गरी।

वैकुण्ठै सब पुग्दछन् भनि भन्या तेस् ब्रह्मपाश्मा परी॥

बाँधिन्थ्या हनुमान् कहाँ तर पनी बन्धन् पर्या झैं भया।

रावण् भेटि त जाँ भनेर हनुमान् चुप्चाप लागी गया॥101॥


जस्सै इन्द्रजितै गयो र हनुमान्जीलाइ बाँधी तहाँ।

पर्केथ्यो घर जाँ भनी तब तहीं आयेर रस्ता महाँ॥

रिस् फेर्या पुरवासिले पनि मुठी ऊठाइ हान्दा भया।

रिस् फेर्छन् भुसुना भनेर हनुमान् चुप्चाप लागी गया॥102॥


पैल्हे ता ब्रह्मपाश्मा परि कन क्षण भर् बाँधिनू काम थीयो।

ब्रह्माको वाक्य साँचो गरि कन पछि ता पाशले छाडि दीयो॥

बन्धन् देखी त खुस्क्या तर पनि हनुमान् भेट्न मन्सुब् धर्याका।

पौंच्या रावण् छ जाहाँ खुसि भइ अरु ता मान्दछन् कर् पर्याका॥103॥


रावण् विर् पनि मन्त्रिवर्ग सँग ली भारी सभामा थियो।

पौंच्यो ताहिं र इन्द्रजित् ति हनुमान्जीलाइ सुम्पी दियो॥

हात् जोरी विनती गर्यो अति हरिप् वानर् छ सेना पनी।

धेरै नाश गरेछ आज मइ गै ल्यायाँ खुनी हो भनी॥104॥


जो गर्नू अब पर्छ मन्त्रि सँगको सल्लाह बात्चित् गरी।

यस्को आज ठिकान् लगाउनु हवस् मन्मा विचार् खुप् गरी॥

येती बिन्ति सुन्यो र इन्द्रजितका हेर्यो नजर्ले पनी।

लाग्यो सोध्न प्रहस्तलाइ किन यो आयेछ लौ सोध् भनी॥105॥


अस्सल्मा पनि क्या भनू अति असल् मेरो बघैंचा पनी।

नास्यो विर् पनि नाश् गर्यो म कन ता मानू भुसूनू गनी॥

हूकुम् यो सुनि त्यो प्रहस्त हनुमान्जीका अगाडी गई।

लाग्यो सोध्न सबै कुरा पनि बहुत् आधार दीन्या भई॥106॥


यै बिच्मा न डराइ रावण उपर् साम्ने नजर् दी तहाँ।

बोल्या श्री हनुमानले तँ बुझिले काम्ले त आयाँ यहाँ॥

भार्या जस्कि हरिस् उनै जगतनाथ् राम्को म दास् हूँ मती।

तेरो नष्ट भयो र अर्ति दिन यो आयाँ न ले यो मती॥107॥


आया राम मतङ्ग पर्वत विषे लक्ष्मण् सहित् भै जसै।

लाया सुग्रिवले मित्यारि खुसि भै राम्चन्द्रजी थ्यैं तसै॥

बाली मारि रजाइँ बक्सनु भयो सुग्रीव राजा भया।

सीता खोज्न हुकुम् हुँदा विरहरू फेर् दस् दिशामा गया॥108॥


एक् विर् ता मइ हूँ हुकुम् सिर उपर् लीयेर आयाँ यहाँ।

पायाँ देख्न सिताजिलाइ दुत हूँ राम्को छलिन्थ्याँ कहाँ॥

वानर् हूँ र उखेलि साफ् गरि दियाँ तेरो बघैंचा पनी।

आया मार्न मलाइ जो अघि सरी उन्लाइ मार्याँ पनी॥109॥


यो इन्द्रजित् गइ यसै बिचमा मलाई।

बाँधेर ल्याइ कन आज दियो तँलाई॥

बन्धन् पर्यो भनि न ठान् त दियाँ जनाई।

खूला छू अर्ति पनि दिन्छु म सुन् तँलाई॥110॥


लोक्को गती सब विचार् गरि आज तैंले।

यो राक्षसी मति न ले हित भन्छु मैले॥

ब्राह्मण् तँ होस् ऋषि पुलस्त्यजिको त नाती।

राक्षस् कसो गरि तँ होस् बुझिले न भाँती॥111॥


आत्मा स्वरूप उ त झन् छ स्वरूप काहाँ।

जाती र वर्ण लिइ भन्न सकिन्छ याहाँ॥

सो आत्म रूप भनि नित्य विचार गर्नू।

आनन्दमा रहुँ भन्या मति येहि धर्नू॥112॥


जो यो लोक विषे प्रपञ्च छ सबै जान् स्वप्न जस्तो भनी।

सूतुन्ज्याल् सपना छ सत्य उठि ता लाग्दैन साँचो पनी॥

तस्तै ज्ञान् त भयो भन्या त्रिभुवनै एक् देख्छ आत्मा फगत्।

अज्ञान् रुप् निदमा पर्यो पनि भन्या देखिन्छ नाना जगत्॥113॥


आत्मा सत्य म हूँ भनेर बुझिले यस् देहलाई पनी।

झूटो जान् पृथिवी र जल्हरु मिली झुट्टै बन्याको भनी॥

तर्लास् यो मनमा लिइस् पनि भन्या तान्र्या उनै विष्णु छन्।

जो हो विष्णु उ राम हुन् शरण पर् रिस् उठ्छ तेरा त झन्॥114॥


यस्तो मूर्खपना तँ छोड् लियर जा सीता शरण्मा तँ पर्।

खुस् हूनन् रघुनाथ् शरण् परि गया यो दुष्ट चाला न गर्॥

राम्को भक्ति गरैन ता कसरि यो संसार तर्ला उसै।

पर्ला जन्मनु मर्नु यै फजितिमा छुट्तैन यो ताप् कसै॥115॥


यो जानी कन भक्ति गर् शरण पर् राम्का हजुर्मा गई।

आफ्नू आत्म नरक् विषे न लइजा यस्तो त जान्न्या भई॥

सीताराम् सितको विरोध् गरि तँ हेर् गिर्लास् नरक्मा परी।

फेर् उत्तीर्ण हुनू कठिन् छ बुझिले अर्ती दियाँ यो पनी॥116॥


यस्ता बात् हनुमानका जब सुन्यो रावण् रिसायो तहाँ।

लाल् लाल् नेत्र गराइ भन्छ रिसले सूनाइ साभा महाँ॥

मेरो डर् रति भर् न राखि बहुतै क्या बोल्दछस् रे यहाँ।

राम् लक्ष्मण् दुइ भाइलाइ सहजै मार्छू म छोड्छू कहाँ॥117॥


सुग्रिव्लाई तँलाइ मार्छू पछि फेर् मार्छू सिताजी पनी।

राम् लक्ष्मण् सित क्या डराउँछु र की मार्नन् मलाई भनी॥

तिन्का वानर सैन्यको पनि विनाश् गन्र्या छु येती जसै।

बोल्यो रावणले इ बात् सुनि तहाँ बोल्या हनूमान् तसै॥118॥


यसरि किन बहूतै गर्दछस् सेखि धेरै।

प्रभु कन त परै राख् जोरि छैनस् तँ मेरै॥

अघि सरुँ त तँ जस्ता कोटि रावण् म मारूँ।

हुकुम त न भयाको मार्न पो आज क्यारूँ॥119॥


यस्ता बात् हनुमानका सुनि तहाँ रावण् रिसायो अती।

साँचा हुन् इ कुरा हुँदा कन त हो लिन्थ्यो कहाँ दुर्मती॥

यो वानर् कन काटि टुक् गर भनी यस्तो हुकुम् पो दियो।

हात्मा बेस् हतियार् लिई अघि सर्यो जुन् विर् नजिक्मा थियो॥120॥


यस् बिच्मा त विभीषणै अघि सरी हात् जोरि बिन्ती गर्या।

दुत् हो यो महराज् कुरा पनि वहाँ लैजान्छ को यो मर्या॥

चिह्नू केहि लगाइ छोड् दिनु हवस् जावस् र विस्तार् गरोस्।

येसै वानरका कुरा सुनि यहाँ आउन् ति सङ्ग्राम परोस्॥121॥


साँचो भन्यो भनि बुझी कपडा मगायो।

तेल् घीउले मुछि पुछर् भरि बेर्न लायो॥

हूकुम् दियो अब जलायर बाँधि लेऊ।

सारा सहर् पनि घुमायर छाडि देऊ॥122॥


जावस् ठुटो पुछर ली कन फर्कि वाहीं।

पुच्छर् डढी न सकि छोडनु छैन काहीं॥

यस्तो हुकुम् जब दियो तब बाँधि लीया।

आगो पनी पुछर तीर लगाइ दीया॥123॥


बाँध्याका हनुमान् लियेर खुसि भै भेरी अगाडी फुकी।

लाग्या घुम्न सहर् ति राक्षसहरू चोर् हो भनी खुप् भुकी॥

चुप् लागी हनुमान् पनी खुरु खुरू गम् हेरि हिंड्दै गया।

ढोका पश्चिममा पुगी सहरको ताहीं ति साना भया॥124॥


बन्धन् देखि त खुस्कि सूक्ष्म रुपले पर्वत् सरीका भया।

ठूलो स्तम्भ उठाइ राक्षस अनेक् मार्या र कुद्दै गया॥

बल्दो लामु पुछर् लियेर घर घर् कुद्दै सहर्मा डुली।

पोल्या सब् सहरै छुटेन कहिं घर् बाँकी कतै एक् भुली॥125॥


लाग्यो बल्न सहर् जल्या र सब घर् सब् बन्द रस्ता भई।

भागी जान न पाउँदा हुँदि अनेक् राक्षस् अटाली गई॥

फाल् हाली कन अग्निमा परि मर्या यो चाल् सहर्मा भयो।

पोल्यानन् घर एक् विभीषणजिको त्यो मात्र बाँकी रह्यो॥126॥


येती काम गरी सकी पुछरको आगो निभाऊँ भनी।

कूदी जल्दि समुद्रमा पुगि पुछर् चोभी निभाया पनी॥

अग्नीले पनि मित्रपुत्र भनि ताप् केही गर्यानन् तहाँ।

सीताको पनि प्रार्थना हुन गयो डढ्थ्या हनूमान् कहाँ॥127॥


राम्का फगत् स्मरणले पनि दुःख छुट्छन्।

आध्यात्मिकादि सब ताप् पनि जल्दि टुट्छन्॥

साक्षात् उनै प्रभुजिका दुत भै गयाका।

डढ्थ्या कहाँ ति हनुमान् अति हित् भयाका॥128॥


फिन्र्या मन्सुब ली बिदा हुन सिताजी थ्यैं हनूमान् गया।

बीदा खूसि भयेर बक्सनु हवस् जान्छू म भन्दै भया॥

आऊँछन् रघुनाथ् अवश्य भनि यो बिन्ती गर्याथ्या जसै।

साह्रै शोक् मनमा धरी कन सिता क्यै भन्न लागिन् तसै॥129॥


तिमि कन नजिकैमा देखि खुप् खूसि हुन्थ्याँ।

घडि घडि रघुनाथ्का मिष्ट वार्ता म सुन्थ्याँ॥

अब कसरि म यस्ता दुःखले प्राण धर्छू।

तिमि पनि फिरि जान्या फेरि ताप्मा म पर्छू॥130॥


सीताका इ वचन् सुनेर झटपट् हात् जोरि बिन्ती गर्या।

यस्तो शोक् अब छोडि बक्सनु हवस् आपत्ति साह्रै भया॥

ऐल्हे दाखिल गर्छु राम्चरणमा बोकी हुकुम् लौ हवस्।

धेरै शोक् किन गर्नु हुन्छ मनमा यो शोक् दुरैमा रहोस्॥131॥


सीताजी पनि भन्दछिन् म त न जाँ जाऊ तिमी मात्र गै।

विस्तार् बिन्ति गरेर जल्दि रघुनाथ् लीयेर आऊ सँगै॥

राम् आई कन दुष्टलाइ सहजै मारी मलाई सँगै।

लैजानन् रघुनाथ् त कीर्ति रहला क्या हुन्छ येसै म गै॥132॥


सीताको जब यो हुकुम् हुन गयो बीदा हनूमान् भया।

तिन् बेर् जल्दि परिक्रमा गरि प्रणाम् गर्दा छँदा ती गया॥

पर्वत् माथि चढेर रुप् पनि ठुलो पर्वत् सरीको धर्या।

आकाश्मार्ग लिई कुदेर खुशिले खुप् शब्द ठूलो गर्या॥133॥


सून्या शब्द ति अङ्गदादिहरुले बोल्या परस्पर् पनी।

शब्दैले बुझियो अवश्य सहजै भेटेर आया भनी॥

यस्ता बात् तिरमा बसेर सब विर् गर्दै थिया खुस् भई।

पौंच्या श्रीहनुमान् तहीं तिर महाँ आनन्द खूसी रही॥134॥


भेट् भो अङ्गद विर्हरू सित तहाँ विस्तार् कुरा सब् गर्या।

अङ्गद् विर्हरु खुस् भई पुछरमा पक्रेर चुम्बन् गर्या॥

नाच्या कोहि खुसी भयेर यहि रित् गर्दै ति राम् थ्यैं गया।

सुग्रिव्को मधुवन् मिल्यो नजिकमा साह्रै खुसी ती भया॥135॥


बिन्ती अङ्गद थ्यैं गर्या पनि तहाँ खाऊँ इ फल् फुल् भनी।

अङ्गद्ले पनि खाउ जाइ हनुमान्जीका प्रसाद्ले भनी॥

दीया मर्जि र खाउँ फल् फुल भनी वानर् गयाथ्या जसै।

चौकी वानर जो थिया सब तहाँ आया र रोक्या तसै॥136॥


रोक्न्या वानरलाइ लात् दिइ पिया मीठो मधूरस् तहाँ।

यो चुग्ली दधिवक्त्रले लिइ गया सुग्रीवजी छन् जहाँ॥

सब् विस्तार् दधिमूखले जब गर्या लूट्या मधूवन् भनी।

लुट्पिट्को सम्चार् सुन्या र पनि रिस् ऊठेन कत्ती पनी॥137॥


भेट्याछन् बुझियो सिता कन न ता लुट्थ्या मधूवन् कहाँ।

ई बात् सुग्रिव गर्दथ्या प्रभुजिले सून्या र सोध्या तहाँ॥

सीताको पनि नाम् लियेर तिमिले क्या बोल्दछौ बात् भनी॥

सोधी बक्सनु भो र सुग्रिवजिले बिन्ती गर्या बात् पनी॥138॥


हे नाथ् श्रीमधुवन् थियो अति असल् मेरो बघैंचा तहाँ।

ऐल्हे ता हनुमान्हरू बलजफत् आयेर एक् क्षण् महाँ॥

लूट्याछन् मधुरस् अनेक् तरहका चौकी कुट्याछन् पनी।

आया आज फिराद गर्न मधुवन् लूट्या र कूट्या भनी॥139॥


सोही बात म गर्दछू रघुपते इन्ले सिताजी पनी।

भेट्याछन् तब पो लुट्या र मधुवन् रोक्ता कुट्याको भनी॥

यो बिन्ती गरि जल्दि सुग्रिवजिले ती चौकिलाई तहाँ।

दीया हूकुम जल्दि फर्कि कन गै चाँडै पठाऊ यहाँ॥140॥


आउन् श्रीहनुमान्हरू अब यहीं चाँडो भनी यो जसै।

दीया निर्भय दी हुकुम् उहि बखत् फर्क्या र दौड्या तसै॥

मामा सुग्रिवका गया र दधिमुख् हूकुम् सुनाई दिया।

खूसी भै हनुमान्हरू पनि गया जाहाँ रघूनाथ् थिया॥141॥


राम् सुग्रीव् कन दण्डवत् गरि लिया साम्ने जमिन्मा परी।

सब् विस्तार् हनुमानले तहिं गर्या वृत्तान्त एक् एक् गरी॥

भेट्याँ आज सिताजिलाइ रघुनाथ् लङ्कापुरीमा गई।

जस्सै देखि लियाँ सिता कन तसै सानू स्वरुप्को भई॥142॥


पात्का अन्तरमा लुकी जननिका साम्ने नजिक्मा रह्याँ।

जो वृत्तान्त थियो सबै हजुरको त्यै सूक्ष्म रुप्ले कह्याँ॥

भोकी दुब्लि हजूर दूर रहँदा संझेर साह्रै रुँदी।

राम् राम् बोल्दि अनाथ् भई कन बहुत् विह्वल् निरन्तर् हुँदी॥143॥


अश्शोक्का वनमा सिसौ पनि छ एक् त्यै वृक्षका बीचमा।

झुन्डीन्या मतलब् लिई खडि भइन् सूनिन् उसै बीचमा॥

यो वृत्तान्त सुनी हुकुम् पनि भयो को होस् तँ बोल्छस् कहाँ।

क्या लूकी कन बोल्दछस् अब न लुक् आईज साम्ने महाँ॥144॥


पायाँ येहि हुकुम् जसै जननिको वानर्स्वरुप्ले गयाँ।

को होस् भन् भनि सोधि बक्सनु भयो फेर् बिन्ति गर्दो भयाँ॥

फेर् वृत्तान्त गरी सक्याँ हजुरको औंठी दियाँथ्याँ जसै।

बर् बर् आँसु खसालनू पनि भयो विश्वास लाग्यो तसै॥145॥


आफ्नू दुःख हवाल् सबै कहनु भो यस्ता विपत् छन् भनी।

आऊँछन् रघुनाथ् भनेर बहुतै मैले बुझायाँ पनी॥

आज्ञा भो रघुनाथका हजुरमा सब् दुःख मेरो कही।

लङ्कामा प्रभुको सवारि तिमिले चाँडो गराऊ गई॥146॥


बात्चित् गरी जब यता तिर फिर्न लाग्याँ।

विश्वास पार्न जननी सित चीज माग्याँ॥

चूडामणी दिनु भयो सिरमा रह्याको।

काग्को कुरो कहनु भो अघि जो भयाको॥147॥


लक्ष्मण्लाइ अवाच्य बात् भनि बहुत् बोल्याँ कछू ता पनी।

त्यो रिस् लक्ष्मण्ले कदापि न लिउन् येसो भनीथिन् भनी॥

हात् जोरी कन बिन्ति खुप् गरि दिया येत्ती हुकुम् भो जसै।

सब् वृत्तान्त सुनी बिदा पनि भयाँ फर्केर आयाँ तसै॥148॥


माई सीत बिदा भई जब फिर्याँ मन्मा लहड् यो गयो।

रावण्लाइ नभेटि जाँ म कसरी भन्न्या विचार् यो भयो॥

भेटी रावणलाइ अर्ति पनि दी फिर्नू असल् हो भनी।

फर्की ध्वस्त गर्याँ अशोक वनको मार्याँ अनेक् विर् पनी॥149॥


कान्छो रावणपुत्र अक्षयकुमार् मार्याँ र रावण् जहाँ।

थीयो ताहिं गयाँ भन्याँ हित वचन् टेरेन केही तहाँ॥

गर्थ्यो बक्बक बात् अनेक् तरहका मैले भुसूनै गनी।

रावण् कै अघि खाग् गरी सकि दियाँ पोलेर लङ्का पनी॥150॥


येती कर्म गरी यहाँ हजुरमा आयाँ म ऐल्हे भनी।

येती बिन्ति गरी खडा भइ रह्या ताहाँ ति सेवक् पनी॥

श्रीराम्ले पनि काखमा लिनु भयो सर्वस्व दिन्छू भनी।

बात्ले चित्त बुझाइ बक्सनु भयो सर्वस्व यै हो भनी॥151॥


मैले खुस् भइ काख् दियाँ पनि भन्या फेर् दीनु बाँकी रती।

केही चिज् रहँदैन सब् मिलि गयो यो बात् बताऊँ कती॥

काख्मा राखि हुकुम् भयो यति जसै खूसी हनूमान् भया।

आनन्दाश्रु गिराइ भक्तिरसले हाजिर् हजुर्मा रह्या॥152॥


धन्य हुन् इ हनुमान् इ सरीको।

कोही छैन अरु भक्त हरीको॥

भक्ति खुप् गरि त काख् पनि पाया।

लोकमा अधिक धन्य कहाया॥153॥


जस्को पुजा तुलसिपत्र चढाइ गर्छन्।

उस्ता पनी त भवसागर पार तर्छन्॥

ई ता उनै प्रभुजिका दुत हुन् त काहाँ।

सक्नू छ वर्णन गरी इनको त याहाँ॥154॥