भानुभक्तको रामायण/उत्तरकाण्ड

नेपाली विकिपुस्तकबाट, स्वतन्त्र पुस्तकालय
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्


शम्भूका मुख देखि राज्य अभिषेक् राम्को सुनीथिन् जसै।

सोधिन् पार्वतिले सदाशिवजि थ्यैं लीला पछीका तसै॥

पृथ्वीमा कति वर्ष राज् हुन् गयो लीला तहाँ कुन् भया।

कस्ता रित् सित राज्य छोडि रघुनाथ् वैकुण्ठधाम्मा गया॥1॥


शम्भो श्रीरघुनाथका जति त छन् लीला कृपाले गरी।

आज्ञा आज हवस् म सुन्छु भगवन् बिन्ती छ पाऊ परी॥

यो बिन्ती जब शम्भुका चरणमा श्रीपार्वतीले गरिन्।

सब् लीला प्रभुका कह्या शिवजिले खुप् हर्षमा ती परिन्॥2॥


रावण् मारि उतारि भारि भुमिको राम् राज्य गर्छन् भनी।

जानी एक् दिन ता गया ऋषि अनेक् भेटौं सीताराम् भनी॥

दुर्वासा भृगु अङ्गिरा इ पनि छन् कश्यप् र वाम्देव भया।

विश्वामित्र असित् र कण्व सहितै सप्तर्षि अत्री गया॥3॥


सब् शिष्यै सहितै अगस्तिजि गया द्वार्मा पुग्याथ्या जसै।

हाजिर् जल्दि पठाइ मर्जि भइ सब् पौंच्या हजुर्मा तसै॥

पूजा सब् ऋषिको गर्या प्रभुजिले सब् लाइ आसन् दिया।

खूसी सब् ऋषिगण् भया हजुरमा जो जो गयाका थिया॥4॥


पैल्हे प्रश्न गर्या तहाँ कुशलको राम्ले र आदर् गरी।

सोध्या सब् ऋषिले पनी कुशलको विस्तार् बडो प्रेम् गरी॥

बिन्ती सब् ऋषिले गर्या हजुरमा ख्वामित् ठूलो काम् भयो।

पृथ्वीको अति भार इन्द्रजित हो भार् तेहि जाँदा गयो॥5॥


विर् हुन् रावण कुम्भकर्ण त पनी यो इन्द्रजित् झन् जबर्।

विर् हो त्यो पनि मारि बक्सनु भयो को जित्न सक्थ्यो अबर्॥

लङ्कामा इनि दुष्टको मरण भो साँचा विभीषण् थिया।

पाया राज्य कनक् झई र खुसिले चाकर् सदाका भया॥6॥


जो दक्षिणा अभयको अघि हो दियाको।

सो पूर्ण गर्न कन दुष्ट हरी लियाको॥

देख्यौं कृतार्थ हुनु भो रघुनाथ ऐल्हे।

मर्थ्या इ राक्षसहरू अरु देखि कैल्हे॥7॥


यो बिन्ती ऋषिको सुन्या प्रभुजिले आश्चर्य मान्या पनी।

क्याले रावण देखि झन् अति ठुलो भो इन्द्रजित् विर् भनी॥

सोध्या सब् ऋषिका अगाडि र तहाँ साम्ने अगस्ती थिया।

यस्तो हो तब विर् सुन्यौ भनि सबै विस्तार् बताई दिया॥8॥


ब्रह्माका सुत हुन् पुलस्त्य तपका खातिर् सुमेरू गया।

राजर्षी तृणबिन्दुका नचिगमा आश्रम् ति गर्दा भया॥

तप् गर्थ्या तहिं देवपुत्रिहरु सब् आयेर खुप् गान् गरी।

नाच्थ्या हास्यकला अनेक् तरहका गर्दै नजर्मा परी॥9॥


तप्को विध्न हुन्या पुलस्त्य ऋषिले बूझ्या बडा धिर् थिया।

जुन् स्त्री देख्छु म गर्भिणी उहि हवस् भन्न्या सराप् पो दिया॥

भाग्या सब् तृणबिन्दुपुत्रि त सुनी साम्ने नजीक्मा गइन्।

देख्ता ताहिं पुलस्त्यले र ति उसै झट् गर्भिणी पो भइन्॥10॥


कामिन् खुप् डरले पिता सित गइन् जान्या पिताले पनी।

छोरी गर्भिणि भै छ आज ऋषिका साँचा वचन्ले भनी॥

जानी छोरि पुलस्त्यजी कन दिया जल्दी नजिक्मा गई।

ती कन्या ति पुलस्त्यले पनि लिया अत्यन्त खूसी भई॥11॥


तिन्का पुत्र त विश्रवा हुन गया खुप् ब्रह्म जान्न्या मुनी।

भारद्वाज् ऋषिले तिनै कन दिया छोरी बडा गुण् सुनी॥

तिन्का पुत्र कुबेर् भया गुण निधान् तिन्ले तपस्या गरी।

ब्रह्मालाइ रिझाउँदा ति धनका मालिक् भया तेस् घरी॥12॥


मालिक् दौलतको गरायर गरुन् यस्मा सयल् खुप् भनी।

ब्रह्माले तहिं फेरि पुष्पक विमान् तिन्लाइ दीया पनी॥

तेसै माथि चढी पिता सित गई तप्को सबै फल् कह्या।

सब् पायाँ तर वास् त पाइन कता जाऊँ म भन्दा भया॥13॥


सून्या बिन्ति कुबेरको र खुसि भै ती विश्रवाले पनी।

लङ्का खालि थियो र तेहि दिनु भो लौ राज्य गर् जा भनी॥

लङ्कामा अघि राज्य राक्षसहरू गर्थ्या बडा विर् थिया।

तिन्कै खातिर विश्वकर्म खुसि भै लङ्का बनाई दिया॥14॥


आज्काल् राक्षस विष्णुले जिति लिंदा भागेर पातालमा।

लुक्ना खातिर गै गया र सहरै खाली छ यस् कालमा॥

आज्ञा येति दिया कुबेर् कन तहाँ ती विश्रवाले जसै।

लङ्कामा ति कुबेर् गई कन बस्या राज् गर्न लाग्या तसै॥15॥


एक् दिन् कैकसि छोरि ली कन ठुलो राक्षस् सुमाली पनी।

डुल्थ्यो यस् पृथिवी विषे सब घुमी हेरूँ तमासा भनी॥

पाताल् बाट सयल् गरूँ भनि यहाँ आयेर डुल्दा तहाँ।

पुष्पक् माथि चढेर खुप् सित सयल् गर्थ्या कुबेर्जी जहाँ॥16॥


लाग्यो दृष्टि सुमालिको र मनले मान्यो बडा हुन् भनी।

यस्ता विर् कुलमा कसो गरि हुनन् यस्तो चितायो पनी॥

लाग्यो कैकसिलाइ भन्न अहिले पुत्री यती काल् गयो।

कोही वर् पनि आउँदैन गरुँ क्या यौवन् त तिम्रो भयो॥17॥


तस्मात् आज त विश्रवा ऋषिजि थ्यैं जाऊ र साम्ने गई।

हात् जोरी ऋतुदान माग तिमिले दासी चरण्की भई॥

यस्ता पुत्र हुनन् अवश्य इ उनैका पुत्र हुन् विर् भनी।

छोरीलाइ त विश्रवा सित तहाँ तेस्ले पठायो पनी॥18॥


जल्दी कैकसि विश्रवा सित गई साम्ने खडा भै रहिन्।

पृथ्वी तर्फ नजर् दिई चरणले लेख्ती जमिन्मा भइन्॥

चेष्टा कैकसिको नजर् गरि तहाँ ती विश्रवाले पनी।

कन्या कस्कि तँ होस् बता किन यहाँ आइस् अगाडी भनी॥19॥


सोध्या कैकसिलाइ लाज् हुन गयो लाज्का सकस्मा परिन्।

ध्यानैले सब जानि बक्सनु हवस् यस्तो त बिन्ती गरिन्॥

सून्या बिन्ति र झट् विचार् पनि गर्या मालुम् भयो सब् जसै।

छोरा पाउन आइछस् भनि तहाँ बोल्या ऋषीले तसै॥20॥


वेला दारुण पारि आज ऋतुदान् मागिस् म दिन्छू पनी।

दोटा पुत्र हुनन् भयङ्कर स्वरुप् वेला सरीका भनी॥

भारी बात् गरि दान् दिया र ऋतुको ती बात् जसै ता सुनिन्।

कुन् रित्ले अब पाउँ पुत्र बढिया यस्तो बहूतै गुनिन्॥21॥


बिन्ती कैकसिले गरिन् उहि बखत् ख्वामित् पती भै पनी।

तेस्ता पुत्र बुझाउँला म कसरी यो मन् कठिन् भो भनी॥

सून्या बिन्ति तहाँ दया पनि उठ्यो ती विश्रवाको पनी।

तेस्रो पुत्र हुन्या छ राम्चरणको दास् बुद्धिमान् खुप् भनी॥22॥


पत्नी कैकसिलाइ येति ऋषिले दीया कृपा खुप् गरी।

खूसी कैकसि भै गइन् ऋषि रह्या ध्यान्मा बहुत् मन् धरी॥

जन्म्यो रावण पूर्ण गर्भ जब भो सिर् दस् भुजा बीस् धरी।

उल्का आदि भया अनेक् तरहका कामिन् भुमी खुप् गरी॥23॥


रावण्का पछि कुम्भकर्ण अति विर् जन्म्यो उसैका मनी।

जन्मी शूर्पणखा पछी गुणनिधान् जम्न्या विभीषण् पनी॥

शान्तात्मा बढिया विभीषण भया बस्थ्या ति शास्त्रै सुनी।

दुष्टात्मा अति कुम्भकर्ण हुन गो डूलेर खान्थ्यो मुनी॥24॥


बैन्ही शूर्पणखा भई जगतमा दुष्टात्म भै डुल्दथी।

नक्कट्टी भइ गै पछी हजुरका तेज्ले कहाँ बाँच्तथी॥

रावण्को त बखान् कहाँ तक गरौं सब् लोकको रोग् सरी।

लाग्यो रावण बढन् रोज् भय दिंदै तिन् लोक् वशैमा गरी॥25॥


सर्वान्तर्यामि साक्षी हृदय हृदयमा आत्मरुप्ले रह्ययाका।

निर्मल् सर्वज्ञ पूर्णै प्रभु पनि नरको रूप ऐल्हे भयाका॥

सोध्नू भो आज लीला गरि कन त सबै रावणादीहरूको।

विस्तार् बिन्ती म गर्छू अरु पनि भगवन् तेज् हर्या जो अरूको॥26॥


ब्रह्म स्वरुप् प्रभु भनेर हजूरलाई।

जानेर डुल्छु म अनुग्रह केहि पाई॥

यस्तो अगस्ति ऋषिले जब बिन्ति लाया।

साँचो कुरो प्रभुजिले ऋषि थ्यैं बताया॥27॥


माया छ यो सब जगत् भनि नित्य जानी।

आनन्द यस् विषयमा रति भर् न मानी॥

मेरो भजन् गरि रहोस् सब पाप हन्र्या।

येही उपाय छ सहज् सित पार तन्र्या॥28॥


एक् दिन् पुष्पकमा चढी कन कुबेर् आया पिता थ्यैं जसै।

देखिन् कैकसिले र पुत्र सित गै क्यै भन्न लागिन् तसै॥

देख्यौ पुत्र कुबेरलाइ तिमिले सब् द्रव्यका छन् धनी।

गर्छन् पुष्पकमा सयल् खुसि हुँदै तेजस्वि देख्तै पनी॥29॥


जस्तो यत्न गरेर हुन्छ तिमिले सो यत्न ऐल्हे गरी।

सब्को मालिक भै सयल् गर अनेक् यस्तै इनैले सरी॥

रावण्ले इ वचन् सुनी जननिकै साम्ने प्रतिज्ञा गर्यो।

हे मातर् म बडै भयेर रहुँला क्या आज चिन्ता पर्यो॥30॥


यस्तो बात् तहिं कैकसी सित गरी तप् गर्न रावण् गयो।

गोकर्णेश्वरमा गई दृढ भई तप् गर्न लाग्दो भयो॥

रावण्का सँग कुम्भकर्ण विभीषण् भाई दुवै ती गया।

ईश्वर्लाइ गरौ प्रसन्न भनि खुप् तिन्ले पनी मन् दिया॥31॥


तप् गर्दा हुँदि कुम्भकर्ण विरको ताहाँ अयुत् वर्ष गो।

टेकी एक चरण् विभीषणजिको पाँचै हजार् मात्र भो॥

रावण्को त बखान् कहाँ तक गरौं ठूलो तपस्या गर्यो।

खुप् एकाग्र भयेर रोज् प्रभुजिका ध्यान्मा बहुत् मन् धर्यो॥32॥


दस् हज्जार् जब दिव्य वर्ष बिति गो एक् सिर् तसै होम् गरी।

यस्तै रीत् सित नौ त सिर् पनि हुम्यो भक्ती प्रभूमा धरी॥

नौ सिर् होम् गरि सिर् दसै पनि तहाँ दीनै तयार् भो जसै।

ब्रह्मा आइ हटाइ वर् दिन तयार् हूनू भयो पो तसै॥33॥


हे रावण् वर माग दिन्छु अहिले इच्छा बमोजिम् भनी।

ब्रह्मा बाट दया भयो र खुशि भै माग्यो तहाँ वर् पनी॥

हे नाथ् वर् त अमर् म पाउँ न मरूँ क्वै वीर देखी कसै।

मानिस्को त डरै म मान्दिन रती मेरा सदा छन् वशै॥34॥


ब्रह्माले पनि लौ भनेर वरदान् माग्यै बमोजिम् दिया।

काट्याका पनि सिर् तयार् गरि दिया जस्तै अगाडी थिया॥

ब्रह्माजी तहिं फेर् विभीषणजिका साम्ने नजिक्मा गया।

इच्छा क्या मनमा छ माँग उहि वर् दिन्छू म भन्दा भया॥35॥


माग्या वर् खुसि भै विभीषणजिले हे नाथ् निरन्तर् मती।

धर्मै तर्फ रहोस् अधर्म तिर ता कैल्हे न लागोस् रती॥

ब्रह्माले अधिकै दया गरि दिया होला तँलाई भनी।

मागेनन् त पनी तहाँ गरि दिया कल्पान्त आयू पनी॥36॥


फेर् कुम्भकर्ण विरका अघि जल्दि आई।

आज्ञा भयो अब त दिन्छू म वर् तँलाई॥

क्या माग्दछस् भनि दया हुन गो जसै ता।

जिह्वा विषे गयर वाणि बसिन् तसै ता॥37॥


वाणीले जब मोह खुप् सित भयो घत्को विघत्को पनी।

थाहा केहि भयेन तेस् कन तहाँ यस्तो म मागूँ भनी॥

माग्यो मूढ भयेर येहि वरदान् निद्रा छ मैन्हा परोस्।

एक् दिन् मात्र मलाइ खानपिनका खातीर निद्रा टरोस्॥38॥


यस्तो वाक्य सुनेर तेहि वरदान् दीया प्रभूले जसै।

सून्या त्यो वरदान देवगणले खूसी भया सब् तसै॥

जिह्वा देखि सरस्वती जब गइन् खेद् तेस् बखत्मा पर्यो।

इच्छा ईश्वरकै रहेछ बलवान् भन्न्या विचार् यो गर्यो॥39॥


बाबू कैकसिको सुमालि खूसि भो पायो र यो सब् खबर्।

आयो जल्दि तहाँ प्रहस्तहरु धेर् सङ्मा थिया विर् जबर्॥

रावण्का अघि गै भन्यो खुशि हुँदै हे पुत्र खुप् काम् गर्यौ।

विष्णूको अघि डर् थियो अब गयो सन्ताप् तिमीले हर्यौ॥40॥


लङ्कामा अघि राज्य राक्षसहरू गर्थ्या बडा खुस् थिया।

विष्णूले गइ छिन्नभिन्न गरि सब् राक्षस् धपाई दिया॥

क्यारौं जोर् न पुगेर भागि कन सब् पाताल् गयाका थियौं।

तिम्रो आज सहाय पाइ कन पो आई बताई दियौं॥41॥


आज्काल् राज्य कुबेरको छ तिमिले मागी बलात्कार् गरी।

जुन् पाठ्ले गरि हुन्छ लेउ अहिले स्थान् छैन लङ्का सरी॥

राजाको त हुँदैन बन्धु सितको बन्धुत्व धर्मै पनी।

यो सन्देह न मान कत्ति कसरी लङ्का म लीऊँ भनी॥42॥


यस्तो बिन्ति सुमालिको सुनि भन्यो लङ्का कसोरी हरूँ।

दाज्यू हुन् पितृ तुल्य छन् तहिं बसुन् अन्तै बसूँला बरू॥

यस्तो रावणको वचन् सुनि तहाँ साम्ने प्रहस्तै सर्यो।

रावण्को मन फेर् फिराउन बहुत् सिप् लाइ बिन्ती गर्यो॥43॥


हे नाथ् कश्यपपुत्र हुन् इ जति छन् द्यौता र राक्षस्हरू।

लड्थ्या ती पनि ता भन्या त अरुको बिन्ती कहाँ तक् गरू॥

तस्मात् आज कुबेर छन् त पनि सो लङ्का लिन्या हो भनी।

हात् जोरी विनती गर्यो र सुनि त्यो बिन्ती त मान्यो पनी॥44॥


बेसै बिन्ति गरिस् भनी उहि बखत् दौडी त्रिकुट्मा गयो।

छोड्यो दूत प्रहस्तलाइ र कुबेर् लाई निकास्तो भयो॥

बाबूको मतलब् बुझी कन कुबेर् छोडेर कैलाश् गया।

तप् गर्दा शिव खुस् गराइ शिव थ्यैं बिन्ती ति गर्दा भया॥45॥


इच्छा माफिकको बनाउन कुशल् जो विश्वकर्मा थिया।

तिन्ले बेस् अलकापुरी पनि कुबेर्लाई बनाई दिया॥

दिक्पाल् भै ति कुबेर् रह्या शिवजिले तिन्मा दया खुप् गर्या।

शम्भूको करुणा हुँदा त अरु झन् आनन्दसागर् पर्या॥46॥


रावण् राक्षस सब् लियेर खुसि भै लङ्का सहर्मा बस्यो।

तप्को जोर् बलवान् जित्यो सब जगत् सन्ताप् सबैमा पस्यो॥

विद्युज्जिह्व ठुलो निशाचर थियो तेस्लाइ बैन्ही दियो।

ती मन्दोदरिलाइ आइ मयले दीयो र तेस्ले लियो॥47॥


ती मन्दोदरिलाइ दी कन दियो शक्ती अमोघ् खुस् भई।

बीहा भो पछि कुम्भकर्ण विरको प्रल्हादकुल्मा गई॥

शैलुष् नाम हुन्या बहूत बलवान् गन्धर्वराज् क्वै थिया।

तिन्की छोरि थिइन् विभीषण बडा जानेर छोरी दिया॥48॥


जन्म्यो रावणलाइ पुत्र बलवान् जो जन्मदैका घरी।

लाग्यो रून त शब्द भो अति ठुलो खुप् गर्जन्या मेघ् सरी॥

मेघ् झैं शब्द गर्यो भनेर तहिं नाम् तेस्को रह्यो मेघनाद्।

यस्को बल् यति सम्मको छ भनि यो लागेन त्यस्को त साँध्॥49॥


निद्राले पनि कुम्भकर्ण कन खुप् पक्ड्यो सकस्मा पर्यो।

हे नाथ् सुत्छु म ठाउँ पाउँ भनि यो हात् जोरि बिन्ती गर्यो॥

तेस् बिच्मा तहिं सुत्नलाइ बढिया गूफा तयारी गर्यो।

ताहीं गै कन कुम्भकर्ण विरको खुप् मस्त निद्रा पर्यो॥50॥


ब्रह्माको सब देव दैत्यहरुको जो श्री थियो सब् हरी।

लाग्यो रावण नाश् गराउन अनेक् रङ्का उपद्रव् गरी॥

पाया थाह कुबेरले र किन यो गर्छस् उपद्रव् न गर्।

भन्ना खातिर दुत् पठाउनु भयो बोलाक् चतूरो जबर्॥51॥


दुत् गै बिन्ति गर्यो त झन् बिखुसि भै ऊठ्यो ठुलो रिस् गरी।

जल्दी गै ति कुबेरको जिति लग्यो पुष्पक् विमानै हरी॥

कूबेर्लाइ जिती यमै पनि जित्यो जीत्यो वरूणै पनी।

पौंच्यो स्वर्ग विषे पनी खुसि हुँदै फेर् इन्द्र जित्छु भनी॥52॥


एक् ठक्कर् लडि इन्द्रले त सहजै पक्डेर पाता कस्या।

हुर्मत् रावणको गयो खुसि भई सम्पूर्ण देव्ता बस्या॥

यो थाहा भइ मेघनाद रिसले आयो अगाडी सरी।

जीत्यो इन्द्रजिलाइ तेस् बखतमा भारी लडाई गरी॥53॥


रावण्लाइ फुकाइ इन्द्र कन ली फर्केर लङ्का गयो।

जीत्यो इन्द्र र इन्द्रजित् भनि ठुलो नाम् ताहिं देखी भयो॥

ब्रह्मालाइ खबर् भयो र फुनका खातीर दौडी गया।

धेरै वर् दिइ मेघनाद् कन खुसी गर्दै फुकाउँदा भया॥54॥


ब्रह्मा इन्द्रजिलाइ फोइ कन फेर् जानू भयो धाममा।

लाग्यो रावण फेर् जगत् जितुँ भनी सङ्ग्रामका काममा॥

कैलाश् पर्वत यो ठुलो छ गह्रुँको होला कहाँ तक् भनी।

कैलाश् हात महाँ लियेर सहजै एक् दिन् त तौल्यो पनी॥55॥


नन्दीश्वर् कन रिस् उठ्यो र रिसले दीया सरापै पनी।

मानिस् वानर शत्रु भै कन सहज् मारुन् तँलाई भनी॥

ताहाँ देखि त कार्तवीर्य सित गो सङ्ग्राम खातिर् जसै।

पुग्थ्यो तिन् सित जोर् कहाँ सहजमा पाता कस्या पो तसै॥56॥


मेरो नाति भनी पुलस्त्य ऋषिले आयेर बिन्ती गरी।

बन्धन् देखि फुकाइ बक्सनु हुँदा लाज् भै फिर्यो तेस् घरी॥

फेरी रावण बालि जित्छु भनी गो साथ्मा अनेक् विर् गया।

बालीले पनि पक्रि तेस् कन तहाँ खुप् काखि चेप्ता भया॥57॥


काखीमा मिचि चार् समुद्र घुमि फेर् छोडी दियाथ्या जसै।

मैत्री गर्छु भनी मित्यारि गरि खुप् लाज् मानि फर्क्यो तसै॥

ई बाहेक् अरु विर् सबै वश गर्यो तिन् लोक् विषे छन् जती।

यस्ता विर्हरु मारि बक्सनु भयो बिन्ती गरूँ यो कती॥58॥


नारायण् हुनुहुन्छ विष्णु भगवान् सब् यो चराचर् पनी।

जो देखिन्छ कहिन्छ शास्त्रहरुले नारायणै हो भनी॥

ख्वामित्का अघि नाभिमा कमल भो ब्रह्माजि ताहीं भया।

वाणीले सँग अग्नि ता हजुरको मुख् देखि निक्ली गया॥59॥


बाहू देखि त लोकपाल् हुन गया ई चन्द्र सूर्यै पनी।

आँखा देखि भया दिशाहरु भन्या कान् देखि शब्दै भनी॥

सब्को प्राण तयार् भयो हजुरका प्राण् देखि मुख्यै भई।

नासा देखि त वैद्य अश्िवनिकुमार् वेदाङ्गमा पार् गई॥60॥


जङ्घा जानु उरू जघन् यति शरिर् देखी भुवर्लोक्हरू।

कोखा देखि त चार् समुद्र हुन गो वर्णन् कहाँ तक् गरू॥

निस्क्या स्तन् दुइ देखि इन्द्र र वरुण् दूवै दिशाका पती।

रेतै देखि त बालखिल्यहरु सब् निस्क्या तपस्वी अती॥61॥


धर्माधर्म विवेकका इ यमराज् ती लिङ्ग देखी भया।

मृत्यू ता गुद देखि रुद्र त हजुर्का रीस देखी भया॥

हाड् देखी जति पर्वतादिहरु छन् केश् देखि सब् मेघ् पनी।

जो छन् औषधि रोम देखि ति भया नख् देखि सब् स्वर् पनी॥62॥


विश्वात्मा हुनुहुन्छ नाथ् पुरुष रुप् माया त शक्ती लिन्या।

खूसी भै कन देवता कन सदा अम्रित् पियाई दिन्या॥

ख्वामित्कै त छ सृष्टि सब् जति छ यो संसार् चराचर् धरी।

बाँच्याको पनि देखिइन्छ भगवन् आधार् हजुर्कै गरी॥63॥


जस्तै दूद विषे रहन्छ भरिपुर् घीऊ उही रित् गरी।

सब् चिज्मा हजुरै पसी रहनु भो सर्वान्तरात्मा हरी॥

हुन्छन् सूर्य्यहरू प्रकाश् हजुरकै तेज्ले हजुर् सब् धनी।

ख्वामित्लाइ त नाथ् प्रकाश गरि दिन्या छैनन् अरू क्वै पनी॥64॥


ज्ञानी जन्हरु देख्तछन् सकल रुप् अज्ञानि अन्धा सरी।

देख्तैनन् प्रभुलाइ मूढ हुन गै घुम्छन् विपत्मा परी॥

योगी भै कन वेदशीर्षहरुले खोज्छन् त देख्छन् पनी।

यस्ता रित् सित यो चराचर विषे श्रीराम् रह्याछन् भनी॥65॥


बक्बात् गर्याँ प्रभु हजुर् सित रिस् न मानी।

रक्षा हवस् प्रभु अनुग्रहपात्र जानी॥

चिन्मात्र अद्वितिय नित्य हजूरलाई।

भज्छू निरन्तर टहल् गरि हर्ष पाई॥66॥


बाली सुग्रिव इन्द्रसूर्य्यसुत हुन् भन्न्या सुन्याको त छू।

कस्ता रित् सित जन्म भो इ दुइको विस्तार् समेत् खोज्दछू॥

विस्तार् सुन्न म पाउँ सब् भनि हुकुम् राम्को भयेथ्यो जसै।

विस्तार् खूसि भई अगस्ति ऋषिले बिन्ती गर्या सब् तसै॥67॥


ब्रह्मा चार् सय कोसको गरि सभा सूमेरु माथी थिया।

ईश्वर्लाइ रिझाउना कन तहाँ खुप् योगमा मन् दिया॥

योग्मा चित्त बढ्यो र भक्ति रसले आँसू खसाया जसै।

आँसूको तहिं वीर वानर बन्यो आश्चर्य मान्या तसै॥68॥


ब्रह्माका मनमा दया पनि उठ्यो बोल्या वचन्ले पनी।

मेरा नित्य नजीकमा रह यहाँ कल्याण होला भनी॥

ब्रह्माका इ वचन् सुनेर खुसि भै वाहीं नजिक्मा रह्यो।

फल् फुल् खायर तेहि पर्वत विषे त्यो नित्य डुल्दो भयो॥69॥


लाग्यो पानि पियास् र कूप नजिकै देख्यो र पौंच्यो तहाँ।

आफ्ना छाइ विषे नजर् परि गयो त्यो कूप हेर्दा महाँ॥

आर्कै विर् सरि मानि तेहि कुपमा कूदी पसेथ्यो जसै।

अर्को कोइ न देखि फेरि झटपट् उफ्रेर निस्क्यो तसै॥70॥


निस्क्यो बाहिर कूप देखि त असल् स्त्रीको स्वरुप् पो बनी।

लाग्यो खेद् मनमा कसो गरि भयाँ स्त्रीको स्वरुप्को भनी॥

देख्या इन्द्रजिले र तेहि बिचमा तिन्मा बहुत् मन् भयो।

पक्र्या इन्द्रजिले र वीर्य त गिरी सब् बाल देश्मा गयो॥71॥


तेही वीर्य त एक् कुमार् हुन गयो बाल्मा गिर्याको पनी।

बालै देखि भयो भनी कन रह्यो नाम् बालि विर् भो भनी॥

माला काञ्चनिपुत्र जानि बढिया एक् इन्द्रजीले दिया।

बाबूको करुणा बुझेर खुसि भै त्यो बालि विर्ले लिया॥72॥


तेस् बिच्मा तहिं सूर्य्य आयर नजर् लाया तसै स्त्री महाँ।

सूर्य्यैका पनि वीर्य्यपात् हुन गयो ग्रीवा विषे पो तहाँ॥

तेही बिज् पनि बेस् कुमार् जब बन्यो ग्रीवा विषे एक् जसै।

ग्रीवा देखि भयो भनेर तिनको सुग्रीव नाम् भो तसै॥73॥


सूर्य्यैले पनि पुत्रलाइ बलवान् साहाय दिन्छू भनी।

विर् मध्ये बलवान् थिया र हनुमान्ज्यूलाइ दीया पनी॥

सुग्रिव्का सँगमा रह्या ति हनुमान् श्रीसूर्य्य धाम्मा गया।

बाली सुग्रिव दूइ पुत्र सहजै ती वानरीका भया॥74॥


बाली सुग्रिव दूइ पुत्र सँगमा ली सुत्न खातिर् गइन्।

प्रातःकाल विषे त फेरि अघि झैं ती स्त्री पुरूषै भइन्॥

स्त्रीरुप् भै कन बाली सुग्रिव दुवै जन्म्या इ पूरुष् भया।

ब्रह्मालाइ गरूँ प्रणाम् भनि दुवै छोरा सँगै ली गया॥75॥


ब्रह्मालाइ खबर् भयो र खुसि मन् तिन्को गराया पनी।

किष्किन्धापुरि दीन मन्सुब भयो आश्रित् अनाथ् हो भनी॥

थीयो एक् तहिं देवदूत बलवान् हाजिर् र मर्जी पनी।

ब्रह्माको हुन गो लगेर गरि दे यस्लाइ राजा भनी॥76॥


किष्किन्धापुरिमा लगी तिलक दे खुप् राज्य सोख्मा परोस्।

सात् द्विप्मा जति वानरादिहरु छन् तिन्मा हुकुम् यो गरोस्॥

इश् नारायण भारि हर्न भुमिको राम्चन्द्र हूनन् जसै।

तीनैलाइ सहाय दीन कन ता तत्पर् हवस् यो तसै॥77॥


किष्किन्धापुरिमा लगी तिलक दे भन्न्या हुकुम् भो भनी।

तेस् ऋक्षाधिपलाइ लैगि कन झट् राजा बनायो पनी॥

त्यो ऋक्षाधिपका ति पुत्र दुइ हुन् बाली र सुग्रिव् भनी।

सब् विस्तार गरी सक्याँ हजुरमा मालुम् थियो ता पनी॥78॥


किष्किन्धा तहिं देखि वानरकि भै सुग्रिव्हरू छन् तहाँ।

सर्वेश्वर् हुनुहुन्छ ता हजुरमा क्या धेर् बताऊँ यहाँ॥

नित्यानन्द चिदात्मनाथ् हजुरले लीलास्वरुप् यो धरी।

ब्रह्माजी कन खुस् गराउनु भयो सम्पूर्ण भूभार् हरी॥79॥


बाली र सुग्रिव दुवै कन धर्म जानी।

कीर्तन् गरोस् त गुण जन्म सबै बखानी॥

सम्बन्ध केहि रघुनाथ् सित पर्न जाई।

पाप् छुट्छ धर्म पनि बढ्दछ तेसलाई॥80॥


वर्णन् ता यति कर्मले हजुरको हूँदैनथ्यो ता पनी।

वर्णन् गर्छ जगत् यहाँ कि रघुनाथ् सब् ताप् हरौंला भनी॥

आर्को आज कथा कहन्छु रघुनाथ् सीताजिलाई पनी।

रावण्ले हरि लै गयो त यहि हो तेस्को इरादा भनी॥81॥


रावण्को र सनत्कुमार ऋषिको एक् दिन् भयो भेट् कहीं।

सोध्यो रावणले परी चरणमा क्यै बात् ऋषी थ्यैं तहीं॥

ब्रह्मन् को बलवान् छ देवहरुमा आधार कस्को गरी।

जित्छन् सब् रिपुलाइ देवगणले साम्ने अगाडी सरी॥82॥


कस्को पूजन गर्दछन् द्विजहरू जो योगि हुन् सो पनी।

कस्को ध्यान् कन गर्दछन् सहजमा संसार् तरौंला भनी॥

यस्को निश्चय कत्ति पाइन अनेक् कस्तै विचार्दा पनी।

ठूलो कुन् छ बताइ बक्सनु हवस् येही छ ठूलो भनी॥83॥


सून्या प्रश्न सनत्कुमार ऋषिले यस्ता डबल्को जसै।

जान्या रावणको र आशय उसै माफिक् बताया तसै॥

सून्यौ रावण एक् हरी सरि ठुलो मिल्दैन आर्को कबै।

द्यौताका सब दानवादिहरुका आधार् इनै हुन् सबै॥84॥


जस्ले नाभि कमल् विषे त भगवान् ब्रह्माजि पैदा गरी।

ती द्वारा जगतै बनाउनु भयो ठूला तिनै हुन् हरी॥

इन्द्रादीहरु जित्तछन् रिपु सबै आधार् हरीकै गरी।

ध्यान्ले योगिहरू तिनै कन भजी जान्छन् सहज् पार् तरी॥85॥


रावण्ले इ वचन् सुन्यो र ऋषिका बिन्ती गर्यो फेर् तहाँ।

विष्णूले जति मार्दछन् रण महाँ ती बस्न जान्छन् कहाँ॥

दोस्रो प्रश्न सुन्या तहाँ ति ऋषिले यस्ता प्रकार्को जसै।

उत्तर् फेरि दिया कृपा गरि तहाँ तेस्लाइ तिन्ले तसै॥86॥


द्यौताले जति मार्दछन् ति त अनेक् स्वर्गादिको भोग् गरी।

कालान्तर् पछि जन्म हुन्छ तिनको पृथ्वीतलैमा झरी॥

जस्लाई हरि मार्दछन् उ त तसै जान्छन् तुरुन्तै अनी।

मुक्तै भै कन बस्छ जन्म तसको हूँदैन कैले पनी॥87॥


यस्ता सत्य वचन् सुनी मन बुझ्यो रावण् भयो खुस् पनी।

सङ्ग्राम् श्रीहरि थ्यैं गरी तहिं मरी मुक्तै म हुन्छू भनी॥

यस्तो सुर् मनमा जसै दृढ गर्यो जान्या ऋषीले पनी।

खूसी भै ति सनत्कुमार ऋषिले आशीष दीया पनी॥88॥


हे रावण् सुन वत्स जो छ मनमा स्वाभीष्टसिद्धी सबै।

तिम्रो लौ परिपूर्ण हुन्छ मनमा शङ्का नमान्या कबै॥

रुप् जस्तो हरिको छ भन्छु अहिले यस्ता हरी छन् भनी।

स्थावर् जङ्गम सूर्य्य चन्द्र पृथिवी शेष् दैत्य दानव् पनी॥89॥


ई रुप् हुन् हरिका अनेक् तरहका यो रुप् विराट् रूप हो।

पीताम्बर् घनश्याम् त सूक्ष्म रुप हो देख्नू कृपैले छ यो॥

यो रुप् देखन मन्सुवा छ त हुनन् इक्ष्वाकु कुल्मा हरी।

छोरा हुन् दशरथ्जिका भनि जगत् भन्नन् ति राम् नाम् गरी॥90॥


सीता लक्ष्मण साथमा लिइ पिताजीका हुकुम्ले गरी।

जानन् दण्डक वन् महाँ भजि लिया चीन्ह्या तिनै हुन् हरी॥

यो विस्तार सनत्कुमार ऋषिका मुख् देखि जस्सै सुन्यो।

चीन्ह्यो ख्वामितलाइ तेस् बखतमा तेस्ले र यस्तो गुन्यो॥91॥


श्रीराम्चन्द्र सितै विरोध् गरि तिनैका हात देखी मरी।

संसार्सागर पार् तरेर सहजै जान्छू जहाँ छन् हरी॥

यस्ता आशयले सिता कन हर्यो रावण् त हो बुद्धिमान्।

लक्ष्मी हुन् इ सिता भनी कन चिन्ह्यो मान्थ्यो कहाँ हो अजान्॥92॥


जो यो कथा कन खुसी भइ पाठ गर्छन्।

सुन्छन् कहीं कहिं सुनायर पाप हर्छन्॥

खुप् आयु बढ्छ तिनको अति सौख्य हुन्छन्।

धन्लाभ हुन्छ बहुतै तब नित्य सुन्छन्॥93॥


एक् दिन् नारदजी डुली सकल लोक् आया नजिक्मा जसै।

देख्यो रावणले र पाउ परि एक् बिन्ती गर्यो पो तसै॥

हे सर्वज्ञ मुने लडाकि बलिया विर् छन् कहाँ सो कही।

पाऊ लाग्नु हवस् गर्यो विनति यो खुप् लड्न इच्छा भई॥94॥


रावण्का इ वचन् सुनेर मुनिले मन्ले विचार् खुप् गरी।

भन्छन् को भनु छैन वीर अरु ता ताहाँ तिमीले सरी॥

तिम्रो मन्सुब पूर्ण गर्न सकन्या विर् श्वेतद्विप्मा गया।

मिल्छन् जाउ तहीं नजाउ कहिं लौ खुप् लड्न मन्सुब् भया॥95॥


जो विष्णुका पूजन नित्य गर्छन्।

जो विष्णुका बाहुलि देखि मर्छन्॥

तेस्ता महात्मा तहिं बस्न जान्छन्।

त्रैलोक्यका विर् त ति तुच्छ मान्छन्॥96॥


नारद्का इ वचन् सुनी कन त झट् पुष्पक् विमान्मा चढी।

श्वेतद्विप् पनि पुग्दछू भनि चल्यो रावण् त तेसै घडी॥

श्वेतद्वीप नजिक् पुग्या पछि विमान् पुष्पक् न चल्न्या भयो।

ओर्ल्यो पुष्पक देखि हिक्मति थियो पैदल् दुगुर्दै गयो॥97॥


श्वेतद्वीप पुगी प्रवेश् गरुँ भनी मन्सुब् गरेथ्यो जसै।

धाया सुन्दरि नारि घेरि चहुँ ओर् आश्चर्य मान्यो तसै॥

आर्कीले पनि देखि पक्रि कन सब् वृत्तान्त सोद्धी भई।

आर्कीले अझ आर्किले धरि लिंदा चेत्यो वहाँ पो गई॥98॥


उम्क्यो स्त्रीहरु देखि बल्ल र बहुत् आश्चर्य मान्यो पनी।

मर्छू मै पनि विष्णु देखि र यहीं आयेर बस्छू भनी॥

जल्दी मर्न निमित्त खुप् छल गरी सीताजिलाई हर्यो।

लङ्कामा लगि मातृवत् जननिको सेवा पनी खुप् गर्यो॥99॥


राम् नाम्ले परमेश्वरै हुनुभयो मालुम् छ सब्को गती।

क्या बिन्ती गरुँ धेर् हजुर् त सबका साक्षी जगत्का पती॥

मेरो येहि चरित्र गायर रहोस् यो लोक संसार् भनी।

गर्नू हुन्छ यहाँ अनेक् तरहका संसारि लीला पनी॥100॥


येही रित् सित रामको स्तुति गरी खुस् भै अगस्ती गया।

संसारी सरि भै अनेक् विषय भोग् श्रीराम गर्दा भया॥

फर्क्यो पुष्प विमान् कुबेर् सित गई राम्कै हजुर्मा गयो।

फर्क्या नाथ् म कुबेरका हुकुमले यो बिन्ति गर्दो भयो॥101॥


पैल्हे रावणले जिती कन लियो सेवा उसैको गरिस्।

ऐल्हे श्रीरघुनाथले जिति लिंदा उन्का अधिन्मा परिस्॥

खुप् यो योग्य भयो अझै पनि तँ जा सेवा प्रभूकै गरी।

आऊनू तइँले यहाँ जब त राम् वैकुण्ठ जान्छन् हरी॥102॥


हूकुम् येती कुबेरले पनि गर्या ख्वामित् पुग्याथ्याँ जसै।

मञ्जुर् सोहि हुकुम् गरी कन फिर्याँ खुस् भै हजुर्मा तसै॥

पुष्पक्को विनती सुनेर रघुनाथ्जीको हुकुम् भो पनी।

ऐल्हे जा तँ म सम्झुँला त उ बखत् चाँडो तँ आयास् भनी॥103॥


पुष्पक्लाइ बिदा दिया र रघुनाथ्ले राज्यको भोग् गर्या।

जस्का राज्य महाँ बुढा पछि रही बाला न कैल्हे मर्या॥

यस्तो राज् प्रभुले गर्या सकलका आनन्दमै काल् गयो।

श्रीराम्का तहिं राज्यमा पनि ठुलो आश्चर्य एक् दिन् भयो॥104॥


ब्राह्मण्को लडिका मरेछ र पिता रूँदा रह्याछन् कहीं।

देख्या श्रीरघुनाथले तब विचार् राख्या प्रभूले तहीं॥

क्याले यो विधि भो भनी कन विचार् गर्दा भयो याद् जसै।

तप् गर्थ्यो तहिं शूद्र जङ्गल विषे उस्लाइ मार्या तसै॥105॥


तप् गर्दा जब शूद्र मारि दिनु भो ऊठ्यो लडीको पनी।

ब्राह्मण् खूसि भया गयो परमधाम् त्यो शूद्र चाहीं पनी॥

यस्तै रित् सित पालना गरि लिंगा दुःखी भयेनन् कहीं।

कोटी लिङ्ग पनी स्थल स्थल विषे थाप्या प्रभूले तहीं॥106॥


संसार्को सुख भोग् गराउनु भयो सीताजिलाई पनी।

येहि गायर लोक् तरुन् भनि भन्या स्थापन् कथाको पनी॥

सीता मात्र थिइन् प्रिया प्रभुजिकी राजर्षिको चाल् धरी।

शिक्षा खातिर गादिमा बसि अनेक् राज्का अनेक् काम् गरी॥107॥


दस् हज्जार् जब वर्ष राज् गरि बित्या काल् ता यसै बिच् महाँ।

सीताले रघुनाथका चरणमा बिन्ती गरिन् एक् तहाँ॥

ख्वामित् नित्य हजूरका चरणकी दासी म हूँ ता पनी।

पर्छन् आयर पाउमा म सित खुप् ब्रह्मादि द्यौता पनी॥108॥


गर्छन् बिन्ति हजुर् अघी गइ दिया आफैं प्रभू राम् पनी।

पाऊ लाग्नु हुन्याछ युक्ति यहि हो वैकुण्ठ जान्या भनी॥

भन्छन् बिन्ति गर्याँ हजुर् सित सबै ब्रह्मादिको मत् पनी।

जस्तो गर्न उचीत हो उहि हवस् ख्वामित् जनायाँ भनी॥109॥


सीताले विनती गरिन् र रघुनाथ्ज्यूको हुकुम् भो तहाँ।

बेस् भन्छन् अब गर्नु पर्दछ यसो वैकुण्ठ जाँदा महाँ॥

लोक्को एक् अपवाद् लगायर तिमीलाई बडा वन् महाँ।

लैगी त्याग् पनि गर्छु जानु तिमिले वाल्मीकि आश्रम् जहाँ॥110॥


ऐल्हे गर्भ छ जन्मनन् दुइ कुमार् विर् विर् तिमीले पनी।

लोक्को यो अपवाद मेट्छु अब ता पस्छू म नीया भनी॥

याहीं आयर लोकका बिच महाँ न्यायै पसौली जसै।

फाट्निन् धर्ति र ताहिं बाट तिमिले वैकुण्ठ जानू तसै॥111॥


यस् रित्ले तिमि जाउली जब अघी क्यै काल् बसी मै पनी।

आऊँला किन बस्तछू कहि सक्याँ यै सुर् छ मेरो भनी॥

जानाको यहि सूर निश्चय गरी श्रीराम् सभामा गया।

हाम्रा यश् अपयश् कसो छ दुनियामा येहि सोद्धा भया॥112॥


सब्ले बिन्ति पनी गर्या हजुरमा बोल्छन् यशै यश् भनी।

एकाले पछि क्या भन्यो कि महराज् एक् सुन्छु अप्यश् भनी॥

रावण्ले वनमा हरी घर लगी क्यै दिन् त राख्यो पनी।

यस्ती हुन् इ सिता उनै कन घरै ल्याया छ चोखी भनी॥113॥


यस्ती स्त्री पनि चोखि हो भनि यहाँ राजै त राख्छन् भन्या।

चोखी कुन् रहली यहाँ अब उपर् सम्पूर्ण वेश्यै बन्या॥

भन्छन् अप्यश येहि मात्र भनि यो बिन्ती गरेथ्यो जसै।

लक्ष्मण्जी कन डाकि ल्याउन हुकुम् दीया प्रभूले तसै॥114॥


हूकुम्ले रघुनाथका हजुरमा लक्ष्मण् पुग्याथ्या जसै।

सुन्नैलाइ कठिन् हुन्या अति कठोर् हूकुम् भयो पो तसै॥

हे भाई इ सिताजिलाइ अहिले त्याग् गर्नु मैले पर्यो।

चोखी जानि लिंदा त दुर्यश बहुत् लोक्ले मलाई गर्यो॥115॥


सीतालाइ चढाइ जल्दि रथमा वाल्मीकिआश्रम् जहाँ।

जो ताहीं नजिकै गयेर वनमा छाडेर आऊ यहाँ॥

उत्तर् केहि गर्यौ भन्या त तिमिले मार्यौ म ऐल्हे मर्याँ।

भाई भोलि बिहान लानु वनमा हूकुम् त यै हो गर्याँ॥116॥


लक्ष्मण्ले जब यो हुकुम् कन सुन्या ठूला सकस्मा परी।

प्रातःकाल महा उठ्या र बढिया एक् रथ् तयारी गरी॥

सीतालाइ चढाइ लैगि वनमा छोडेर आया पनी।

लागिन् गर्न विलाप् सिताजि वनमा छोड्या मलाई भनी॥117॥


रुन्थिन् वाल्मिकिशिष्यले सुनि कह्या वाल्मीकिजी थ्यैं गई।

सून्या वाल्मिकिले र पूजन गर्या सीताजिको याद् भई॥

ल्याया आश्रममा र लोकजननी सीता इनै हुन् भनी।

स्त्रीजन्लाइ लगाइ खुप् सित गर्या सेवा सिताको पनी॥118॥


ती विप्रपत्निहरुले पनि लक्ष्मि जानी।

पूजा सिता कन गर्या अति भाग्य मानी॥

सीतापती पनि विरक्त भयेर सुख् भोग्।

छोडी मुनी सरि भया मनले लिया योग्॥119॥


लीला मेरि भनी सुनी कन तरुन् ई लोक् संसार् भनी।

लोकैका हितका निमित्त भगवान् मानिस् स्वरुप्का बनी॥

लीला गर्नु भयो र वृद्धहरुले जो गर्दथ्या सो गरी।

सत्कामै गरि दिन् बिताउनु भयो बाधा सबैका हरी॥120॥


साथ्मा लक्ष्मणजी थिया प्रभुजि थ्यैं कुन् हो ठुलो विष् भनी।

सोध्या लक्ष्मणले र सब् कहनु भो विस्तार् प्रभूले पनी॥

ब्रह्मस्वै विष हो भनी नृगजिको विस्तार् सुन्याथ्या जसै।

बूझ्यो चित्त र फेरि लक्ष्मणजिले क्यै सोध्न लाग्या तसै॥121॥


हे नाथ् ज्ञान स्वरूप देहहरुका आत्मा अधिन् भै पनी।

भूभार् हर्नु भयो अनेक् तरहका यस् आकृतीका बनी॥

लीला हो इ त आत्मरूपि भगवान् भक्तै फगत् जान्दछन्।

यो लीला त दयानिमित्त हुन गो यस्तो पनि मान्दछन्॥122॥


यस्ता मालिक जानि पाउ तलमा ख्वामित् पर्याको म छू।

संसार् रूपि गभिर् समुद्र सहजै कुन् पाठले तर्दछू॥

सोही युक्ति बताइ बक्सनु हवस् जुन् पाठले यो तरी।

पुग्न्याछू पछि धाममा सहजमा आनन्दको भोग् गरी॥123॥


लक्ष्मण्का इ वचन् सुनेर रघुनाथ् मूखै हँसीलो गरी।

आफ्ना भक्त ति भाइ लक्ष्मणजिका सम्पूर्ण सन्ताप् हरी॥

तत्त्व ज्ञान पनी तहीं दिनु भयो जुन्लाइ वेद्ले पनी।

भन्छन् लोक्हरुलाइ तर्न सजिलो साँघू छ येही भनी॥124॥


ई वर्णाश्रमका क्रिया जति त छन् तिन्लाइ पैल्हे गरी।

दस् इन्द्रीय र मन् जितेर गुरुका साम्ने अगाडी परी॥

आत्मज्ञान मिलोस् भनेर गुरुको सेवा निरन्तर् गर्या।

आत्मज्ञान् पनि मिल्छ येहि रितले संसार् कतीले तर्या॥125॥


फल् इच्छा गरि कर्म गर्छ यदि ता फेर् देह यस्तै लिई।

त्यो फल् भोग् पनि गर्छ गर्छ अरु फेर् कर्मै बहुत् मन् दिई॥

तेस्को फेर् पनि बन्छ देह करले येसै जगत्मा परी।

यस्तै रित् सित घुम्छ त्यो भुवनमा अत्यन्त चक्रै सरी॥126॥


अज्ञाने छ घुमाउन्या सकलको शत्रू सरीको यहाँ।

ज्ञानैले गरि नष्ट हुन्छ पनि सो लीनू यही मन् महाँ॥

अज्ञान्को र इ कर्मको छ कति फेर् तस्मात् क्रियाले गरी।

अज्ञान् नष्ट हुँदैन छैन अरु थोक् ऊपाय यै ज्ञान् सरी॥127॥


अज्ञान् नष्ट हवस् न राग् न त छुटोस् अज्ञानका कर्मले।

कर्मै गर्छ त घुम्छ यै जगतमा त्यै कर्मका धर्मले॥

तस्मात् ज्ञान विचार गर्नु जनले ज्ञान्ले कती पार् भया।

ज्ञान् छाडी कन कर्मले जनहरू संसार पार् को गया॥128॥


विद्यालाइ सहाय कर्म छ ठुलो भन्छन् इ वेद्ले पनी।

तस्मात् कर्म अवश्य गर्नु जनले साहाय होला भनी॥

क्वै येसो पनि भन्दछन् त ति भनुन् साहाय कोही रती।

विद्यालाइ त चाहिंदैन बुझ यो विस्तार् बताऊँ कती॥129॥


हुन्छन् कर्म त देह देहहरुमा पूरा अभीमान् भई।

विद्या हुन्छ त जो छ तेहि अभिमान् देहादिमाको गई॥

विद्याको र इ कर्मको त छ विरोध् साहाय हुन्थ्यो कहाँ।

विद्यै एक् छ समर्थ मुक्ति दिनमा यै जान्नु सब्ले यहाँ॥130॥


बाजीका श्रुति तैत्तिरीय कहिन्या श्रूतीहरूले पनी।

भन्छन् येहि कुरा सहाय अरुको खोज्दैन विद्या भनी॥

तस्मात् कर्म विरोधी जानि जनले सब् कर्म छाडी दिनू।

विद्यै मात्र ठुलो बुझेर यसमा यो मन् लगाई लिनू॥131॥


जो यो तत्त्वमसी छ वाक्य यसको वाक्यार्थ जानी लिनू।

यस्मा तिन् पद छन् ति तीन पदका तात्पर्यमा मन् दिनू॥

तत्का अर्थ परात्म हुन् ति पदमा त्वं भन्नु जीवात्म हो।

इन्को ऐक्य बुझाउन्या असि छ पद् रात् दिन् विचार् गर्नु यो॥132॥


मायाले त बन्यो शरीर सब यो आखिर् छ मन्र्या पनी।

देख्नू पञ्च महाभुतै छ सबमा यस्ता प्रकार्को बनी॥

संसार्को सुख दुःख साधन स्वरुप् देखिन्छ जो देह यो।

स्थूलोपाधि भनी कहिन्छ सबले यो नाम् यसैको त हो॥133॥


दस् इन्द्रीय र मन् अपञ्चिकृत भुत् यो सोह्र जम्मा छ जो।

स्थूलोपाधि भनी कहिन्छ सबको मुल् भोग साधन् छ यो॥

येसै स्थूल उपाधि भित्र छ सदा इन्को वियोग् भो जसै।

स्थूलोपाधि गलेर जान्छ सबको टिक्तैन एक् क्षण् कसै॥134॥


जीव् ता मुक्त छ शुद्ध निर्मल फटिक् जस्तो उपाधी गरी।

सो निर्मल् पनि हुन्छ सङ्गगुणले उस्तै उपाधी सरी॥

ईनै दूइ उपाधि देखि बुझि खुप् होला फरक् जिव् जसै।

तस्सै मुक्त हुन्या छ छैन नहिं ता आर्को उपायै कसै॥135॥


राताका सँगमा रह्या स्फटिक ठिक् देखिन्छ रातै सरी।

तस्तै आत्म पनी उपाधि सँग भै हुन्छन् उपाधी सरी॥

आत्मामा छ उपाधि केहि न फटिक्मा क्यै छ रातो कतै।

झुट्टै मात्र छ यो झलक् यहि विचार् खुप् राख्नु जत्ता ततै॥136॥


जाग्रत् स्वप्न सुषुप्ति वृत्ति तिन छन् यस् बुद्धिका ई पनी।

झूट्टै देखि लिइन्छ नित्य सुखरुप् यस् ब्रह्मरुप्मा भनी॥

जानी वृत्तिनिरोध् गरेर जनले यो आत्म जानी लिनू।

आत्मा भीत्र उपाधिलाइ त झुटा जानेर छाडी दिनू॥137॥


आत्मा हो सुख रूप दुःख रुपको संसार् छ उस्मा कहाँ।

अज्ञान्ले गरि मात्र सत्य रुपले झल्कन्छ आत्मा महाँ॥

ज्ञान्ले लिन् पनि हुन्छ डोरि कन साँप् बुझ्नू छ जस्तो फगत्।

तस्तै ईश्वरमा अनेक् तरहको देखिन्छ यस्तो जगत्॥138॥


अध्यास् हुन्छ चिदात्ममा इ सबको जो छन् अहङ्कारका।

इच्छादी पनि बुद्धि धर्म बुझनू छैनन् कुनै सारका॥

आत्मा साक्षि छ यो पृथक् इ सबमा सब्मा घुस्याको पनी।

जस्तै घुस्तछ अग्नि लोहहरुमा तस्तै प्रकार्को बनी॥139॥


यै आत्मा कन चिह्न पर्छ गुरुका वेद्का वचन्ले गरी।

आत्मालाइ चिह्न्यो भन्या बुझि लिनू त्यो मुक्त भो तेस् घरी॥

तस्मात् आत्मविचार गर्नु जनले यस् रूपका हुन् भनी।

अज्ञान् नष्ट गराउना कन अवर् छैनन् उपाई पनी॥140॥


आत्मा यस् रितले चिह्निन्छ पहिले एकान्तमा गै बसोस्।

दस् इन्द्रीय जितेर मन् पनि जिती आत्मैविचार्मा परोस्॥

जानोस् जो छ जगत् प्रकाश् सकल यो हो आत्मसत्ता भनी।

येही तत्त्व बुझी त पूर्ण रुपको होइन्छ आफू पनी॥141॥


ओङ्कार् वाचक हो सबै जगतको अज्ञान् अवस्था महाँ।

ज्ञानोत्तर् हुन सक्छ वाचक कहाँ लिन् हुन्छ आत्मै महाँ॥

आत्मामा जब लिन् भया अ उ म तिन् विश्वादि साक्षीसहित्।

आत्मै मात्र रहन्छ तेस् बखतमा निर्मल् उपाधीरहित्॥142॥


सोही आत्म म हूँ भनी दृढ भयो ज्ञान्का विचार्ले जसै।

जीवन्मुक्त भनी कहिन्छ जन त्यो पर्दैन ताप्मा कसै॥

सब् इन्द्रीयशमन् गरेर बलवान् कामादिको नाश् गरी।

अभ्यास् गर्नु समाधिमा त सहजै देखिन्छु साम्ने हरी॥143॥


येही पूर्ण अनन्त आत्मरुपको ध्यान् नित्य गर्दै रहोस्।

जो प्रारब्ध छ सो बुझेर बलियो ई दुःख सुख् सब् सहोस्॥

येही रित् सित दिन् बिताउँछ भन्या यो देह छुट्ला जसै।

संसार्का सब दुःख छाडि कन त्यो लिन् हुन्छ मैमा तसै॥144॥


आदीमा न त अन्त्यमा न बिचमा यो देहधारी बनी।

पूर्णानन्द हुँदैन जान्नु सबले यो सत्य बात् हो भनी॥

तस्मात् यो विधि छोडि गर्नु जनले आत्मैविचार् खुप् गरी।

त्यो मैमा मिलि जान्छ जल् जलधिमा पौंचेर मील्या सरी॥145॥


आत्मै मात्र छ सत्य यो सब जगत् झूटै छ झूटो पनी।

डोरी सर्प बुझ्या सरी बिबुझमा देखिन्छ साँचो भनी॥

जान्नू जानिइयेन यो भनि भन्या मेरा चरण्मा परी।

सेवा गर्नु र जान्दछन् नतर ता टर्दैन कस्तै गरी॥146॥


वेद्को सार रहस्य यो सब कह्याँ जो यो विचार् गर्दछन्।

कोटी जन्म सहस्रका सकल पाप् तिन्का सहज् टर्दछन्॥

तस्मात् भाइ विचार यो सब जगत् झूटो चटक् झैं भनी।

मैमा भक्ति सदा लगायर रहू आनन्द रूपी बनी॥147॥


मेरो येहि सगुण् स्वरूप् कन खुसी मानी भजन् वा गरुन्।

वा निर्गुण् परिपूर्ण आत्म रुपमा लैगेर यो मन् धरुन्॥

ती दूवै मइ तुल्य हुन् ति मइ हुन् ती मै सरीका बनी।

गर्छन् सब् भुवनै पवित्र तिनले कुल्ची दिंदामा पनी॥148॥


श्रद्धा भत्ति रहोस् गुरूचरणमा मेरा वचन्मा पनी।

यस्लाई श्रुतिसार् बुझी कन पढोस् मुल् तत्त्व यै हो भनी॥

यस्ता रित् सित यो पढ्यो पनि भन्या अज्ञानको नाश् गरी।

मेरै रुप् बनि जान्छ जान्छ सहजै संसारसागर् तरी॥149॥


एक् दिन् श्रीयमुनाजिका तिर महाँ बस्न्या मुनीश्वर्हरू।

भार्गव्मा च्यवनै थिया इ सँगमा बस्न्या थिया जो अरू॥

आया श्रीरघुनाथका हजुरमा आपत्ति छुट्नन् भनी।

आदर् खुप् रघुनाथ बाट रहँदा खुस् भो ऋषीगण् पनी॥150॥


सेवक् ब्राह्मणको म हूँ अति कृपा गर्नू भयो धन्य हो।

सेवक्लाइ अह्राइ बक्सनु हवस् कुन् काम् छ इच्छा छ जो॥

सेवक् हूँ सब सिद्ध गर्छु भनि यो राम्को हुकुम् भो जसै।

आपत् बिन्ति गर्या तहाँ च्यवनले राम्का हजुर्मा तसै॥151॥


हे नाथ् क्वै मधु नाम दैत्य शिवका प्यारा महात्मा थिया।

तिन्लाई शिवले त्रिशुल् पनि अमोघ् खूसी हुँदामा दिया॥

रावण्की बहिनी थि कुम्भिनसि एक् बीहा गर्याको थियो।

जन्म्यो पुत्र त लोककण्टक सबै चाल् राक्षसैको लियो॥152॥


तेस्को नाम लवण् छ राक्षसि छ चाल् तेस्ले त्रिशुल् त्यै लिई।

आपद् सब् ऋषिलाइ गर्छ रघुनाथ् बाधा अनेकन् दिई॥

यो आपत्ति छुटोस् भनी हजुरमा आयौं भन्याथ्या जसै।

तेस्को ताप न मान्नु मार्छु अहिले यस्तो हुकुम् भो तसै॥153॥


यै बिच्मा सब भाइलाइ रघुनाथ्ले सोध्नु भो को गई।

मार्छौ कण्टक तेस् लवण् कन ऋषीका प्राणदाता भई॥

हात् जोरी विनती गर्या भरतले ख्वामित् म जान्छू भनी।

ताहीं फेर् विनती गर्या अति उचित् शत्रुघ्नजीले पनी॥154॥


लक्ष्मण्ले पनि काम् गर्या अगि बडा साथै हजुर्मा गई।

दुःखै भोग भरत्जिले पनि गर्या योगी सरीका भई।

ख्वामित् आज हुकुम् भया त खूसि भै जान्छू म ऐल्हे तहाँ।

राम् ठाकुर् बहुतै खुसी हुनु भयो यो बिन्ति सुन्दा महाँ॥155॥


यस्तो हूकुम भो बहुत् खुसि भई शत्रुघ्नलाई तहाँ।

गादी आज म दिन्छु राज् पछि गर्या पूरी बनाई तहाँ॥

पैल्हे जल्दि त मारि हाल लवणै लै जाउ यो बाण् भनी।

बाण्मा मुख्य जउन् थियो उहि झिकी दीनू भयो बाण् पनी॥156॥


अर्ती क्या दिनु भो कि भाइ शिवको त्रिशुल् छ तेस्का घरै।

पूजा नित्य गरेर जान्छ वनमा आहार खातिर् परै॥

तेस्ले त्यो शिवको त्रिशुल् लिन भनी जानै न पावस् घरै।

फिर्दामा तहिं लड्नु हान्नु यहि शर् मर्ला र गिर्ला परै॥157॥


पायो त्यो शिवको त्रिशुल् लिन भन्या तेसै त्रिशुल्ले गरी।

सब्को नष्ट गराउन्या छ यहि सुर् राख्नू विचार् खुप् गरी॥

यो मार्या पछि तेस् मधूवन महाँ एक् बेस् बनाऊ सहर्।

जस्मा बस्न मिलोस् भनी सकलले खुप् बस्न मानुन् रहर्॥158॥


तेस्को नाम् मथुरा हुन्या छ नगरी त्यै राजधानी गरी।

राज् गर्नू तिमिले अनेक् तरहका सब्का विपत्ती हरी॥

एक्लै गै अघि मार राक्षस पछी आऊँछ सेना पनी।

तिस् चालीस हजार राज् गर तहाँ राम्ले दिया राज् भनी॥159॥


आशीर्वाद् दिइ साथ जाउ ऋषिका भन्न्या हुकुम् भो जसै।

हूकुम् माफिक काम् गर्या सँग गई शत्रुघ्नजीले तसै॥

राक्षस् मार्नु भयो तुरुन्त र तहीं पूरी मथूरा बनी।

हूकुम् माफिक राज् गर्या तहिं बसी शत्रुघ्नजीले पनी॥160॥


सीताका पनि दूइ पुत्र सुकुमार् जम्ल्याह पैदा भया।

वाल्मीकी ऋषिले ति पुत्र दुइको नाम्कर्म गर्दा भया॥

जेठाको कुश नाम् धर्या लव भनी जुन् चाहिं कान्छा थिया।

तिन्को नाम धर्या क्रमै सित अनेक् शास्त्रै पढाई दिया॥161॥


वेलैमा व्रतबन्ध कर्म पनि भो वेदार्थ जानुन् भनी।

लाग्या वेद् पनि पढ्न शास्त्रहरूको तात्पर्य जान्या पनी॥

उत्तम् निर्मल वंश सूर्य्य बिचमा पैदा भयाका थिया।

यो अभ्यास थियेन भन्नु त उसै फुस्रा कुरा पो थिया॥162॥


वाल्मीकिले सकल रामचरित्रलाई।

गान् कर्न काव्यरितले कविता बनाई॥

गान् गर्दथ्या खुसि भयेर पढाइ दीया।

त्यो गाउँदा त्रिभुवनै वश पारि लीया॥163॥


जम्ल्याहा दुइ भाइ सुन्दर कुमार् हात्मा सितारा लिई।

पूरा सुर् सित गाउँथ्या दुइ जना ताल् सुर् मिलाई दिई॥

खुस् हुन्थ्या ऋषिगण् सबै ति वनका सूनेर तेस् गानले।

प्यारो खुप् सित गर्दथ्या ति दुइको ठूला भनी मानले॥164॥


यै रीतले रामचरित्र गाई।

सम्पूर्णको मन् पनि खुस् गराई॥

वाल्मीकि कै आश्रममा रहन्थ्या।

गर्थ्या सधैं वाल्मिकि जो त भन्थ्या॥165॥


यै बिच्मा सब अश्वमेध्हरू गरी राम्ले अनेक् दान् दिया।

सीताजी वनमा थिइन् र सुनकी सीता बनाई लिया॥

ब्रह्मर्षी र बडा बडा पृथिविका राजाहरू सो पनी।

ब्राह्मण् क्षत्रिय वैश्य सब् तहिं पुग्या हेरौं तमासा भनी॥166॥


वाल्मीकी ऋषिका सँगै ति कुशलव् हिंड्थ्या ति जान्थ्या जहाँ।

पाया फुर्सत सोध्नको र कुशले सोध्या कुरा क्यै तहाँ॥

हे सर्वज्ञ गुरो कउन् तरहले बन्धन् विषे पर्दछन्।

कुन् पाठ्ले सब बन्धनै पनि सहज् तोडेर पार् तर्दछन्॥167॥


बाँधिन्छन् यहि रीतले यति गर्या संसार तर्छन् भनी।

यस्तो तत्त्व बताइ बक्सनुहवस् जानू म मूढो पनी॥

यस्तो प्रश्न सुन्या जसै ति कुशको ती वाल्मिकीले पनी।

यस्को तत्त्व बुझाइ बक्सनु भयो बाँधिन्छ यस्ले भनी॥168॥


यस् जिव्ले बिहकै विचार न गरी मन्त्री अहङ्कार् लिंदा।

मन्त्रीले जति आफुमा गुण थिया जिव्मा मिलाई दिंदा॥

मन्त्रीका वशमा परेर यहि जिव् मै हूँ अहङ्कार् भनी।

लाग्यो भन्न भन्या गर्यो विषयमा बाँधिन्छ यो जिव् पनी॥169॥


जो छन् सत्व र रज् तम त्रिगुण ई रुप् हुन् अहङ्कारका।

ई तीनै मनले विचार् गरि लिंदा छैनन् कुनै सारका॥

इच्छा सत्व विषे धर्यो पनि भन्या ऐश्वर्य भोग्छन् पनी।

संसार् कै व्यवहार बढ्छ रजले स्त्री पुत्र मेरा भनी॥170॥


जो ता छन् तम गूणमा खुसि हुन्या तेस्ता त कीरा भई।

फिर्छन् नित्य विपत्तिमा सुख सयेल् मिल्दैन काहीं गई॥

जो ता तिन् गुणलाइ तुच्छ बुझि खुप् आत्मैविचार् गर्दछन्।

सब् बन्धन्हरुलाइ तोडि सहजै संसार् तिनै तर्दछन्॥171॥


तस्मात् अहङ्कार् कन तुच्छ मानी।

आत्मा म हूँ पूर्ण भनेर जानी॥

आत्मैविचार्मा तिमि चित्त देऊ।

साँचो भन्याँ यो तिमि जानि लेऊ॥172॥


वाल्मीकि देखी यति तत्त्व पाई।

ज्ञान् भै गयो ती कुश वीरलाई॥

मुक्तै थिया नित्य तथापि याहाँ।

गर्दै रह्या कार्य त लोक माहाँ॥173॥


एक् दिन् वाल्मिकिले त अर्ति दिनु भो हे पुत्र हो गाउँछौ।

तिम्रो गान् सुनि खूसि हुन्छ दुनियाँ अत्यन्त यश् पाउँछौ।

श्रीराम्का पनि गान सुन्न कन मन् आयेर गाऊ भनी।

लाया गाउन यो भन्या दुइ जना मीलेर गाया पनी॥174॥


गान्ले खुस् भइ केहि बक्सिस भया बक्सिस् भयाका जती।

चिज् छन् सब् तृण झैं गरेर तिमिले केही न लीया रती॥

अर्ती वाल्मिकि देखि पाइ कुशलव् अत्यन्त खूसी भई।

लाग्या गाउन दूइ भाइ ऋषिका साम्ने अगाडी गई॥175॥


सून्या तेहि अपूर्व गान् र रघुनाथ्ज्यूका पनी मन् गयो।

मेरो मन् पनि गानले हरि लिया को हुन् इ भन्न्या भयो॥

साम्ने डाकि म सुन्छु फेरि यहि गान् भन्न्या इरादा धरी।

राजन् पण्डित वृद्ध जन्हरु बहुत् राखी सभा खुप् गरी॥176॥


गान् सुन्छू अब डाक याहिं ति कुमार् आउन् सभामा भनी।

हूकुम् भो र हुकूमले दुइ कुमार् आया सभामा पनी॥

देख्या मूर्ति कुमारका र सबले आश्चर्य मान्या पनी।

कस्का हुन् इ कुमार् कसो गरि भया रामै सरीका भनी॥177॥


रामैका सरि वस्त्र भूषण भया राम्चन्द्र कुन् हुन् भनी।

चिह्नैलाइ कठिन् हुन्या छ यहि बात् सब् बोल्न लाग्या पनी॥

लाग्या गाउन भाइ दूइ जब ता गान्धर्व सुर्ले गरी।

गान् सुन्दा बहुतै खुसी हुनु भयो त्रैलोक्यका नाथ् हरी॥178॥


हूकुम् ताहिं भरत्जिलाइ दिनु भो लौ देउ खिल्लत् भनी।

दस् हज्जार् रुपिया लगी कन दिया जल्दी भरत्ले पनी॥

दस् हज्जार् रुपिया दिया त पनि त्यो सब् तृण् सरीको गरी।

जाहाँ वाल्मिकिजी थिया उहिं गया धन् छोडि तेसै घरी॥179॥


जान्या श्रीरघुनाथले इ त सिताजीका कुमार् हुन् भनी।

त्यै बिच्मा प्रभुले हुकुम् दिनु भयो शत्रुघ्नलाई पनी॥

हे भाई तिमि जाउ जल्दि अहिले वाल्मीकिजी छन् जहाँ।

सीताजी र ति वाल्मिकी कन लिई दौडेर आऊ यहाँ॥180॥


सीतालाइ नियाँ म दिन्छु अहिले सीताजि नीयाँ पसुन्।

आफ्नू दोष अफालि निर्मल भई खुस् भै सिताजी बसुन्॥

हूकुम् श्रीरघुनाथको यति हुँदा शत्रुघ्न जल्दी गया।

वाल्मीकि ऋषिका परी चरणमा सब् बिन्ति गर्दा भया॥181॥


सून्या बिन्ति र जुन् त आशय थियो राम्को उ जानी लिया।

पस्लिन् भोलि निया सिता भनि तहाँ उत्तर् तुरुन्तै दिया॥

उत्तर् वाल्मिकि देखि पाइ कन ती शत्रुघ्न फर्की गया।

श्रीराम्चन्द्रजिका पुगी हजुरमा त्यो बिन्ति गर्दा भया॥182॥


सुन्नू भो जब उत्तरा ति ऋषिको ताहाँ प्रभूले पनी।

पस्छिन् भोलि सिता निया भनि हुकुम् भो लोक जानुन् भनी॥

हूकुम् येति सुन्या र लोक पनि सब् हेरौं तमासा भनी।

ब्राह्मण् क्षत्रिय वैश्य शूद्र जति छन् आया महर्षी पनी॥183॥


आया वाल्मिकि ताहिं तेहि बिचमा सीताजिलाई लिई।

सीताजी पनि यज्ञमा पुगि गइन् श्रीराममा मन् दिई॥

सीताजी कन देखि लोकहरु सब् बेस् भो बहुत् बेस् भनी।

लाग्या बोल्न तहाँ तसै बखतमा ती वाल्मिकीजी पनी॥184॥


श्रीराम्जी सित बिन्ति गर्दछु भनी राम्का अगाडी सर्या।

सीताजी अति शुद्ध छन् भनि बहुत् बिन्ती हजुर्मा गर्या॥

छोरे हुन् कुशलव् पनी हजुरका बिन्ती कहाँ तक् गरू।

क्यै शङ्का मनमा रह्या हजुरमा गर्छू शपथ् मै बरू॥185॥


बोल्याँ केहि झुटो भन्या हजुरमा बोल्यो झुटो बात् भनी।

निष्फल् आज गरुन् प्रभू जति थियो मेरो तपस्या पनी॥

सून्या वाल्मिकिको शपथ् र रघुनाथ्ज्यूका हुकुम् यो भयो।

मेरा संशय छैन कत्ति मनमा साँचो शपथ् हुन्छ यो॥186॥


लङ्कामा पनि एक् निया अघि दिंदा जीतिन् र सीता लियाँ।

ऐल्हे पो अपवाद् गर्या र जनले सो मेट्न छाडी दियाँ॥

अर्काले अपवाद् गर्यो भनि उसै साँचै सिता त्याग् गर्याँ।

तस्तै भो त पनी रिसानि न हवस् यस्मा क्षमापन् गर्या॥187॥


मेरै पुत्र त हुन् दुवै इ कुशलव् जम्ल्याह पैदा भया।

सीताजी पनि शुद्ध छन् सब बुझ्याँ सन्देह मेरा गया॥

हूकुम् यो रघुनाथको हुन गयो हूकुम् भयो ता पनी।

सीताजी ते तयार् भइन् तब बखत् पस्छू म नीया भनी॥188॥


ब्रह्मादीहरु लोकपाल्हरु सबै आया सिता छन् जहाँ।

ब्रह्मादीहरुका अगाडि ति सिता क्यै बोल्न लागिन् तहाँ॥

जस्तो भक्ति छ रामका चरणमा मेरा उ जानी लिउन्।

साँची छू त मलाइ जान अहिले बाटो भुमीले दिउन्॥189॥


यस्ता वाणि सिताजिको पृथिविले सूनी अकीथिन् जसै।

बेस् सिंहासन एक् तयार् गरि सिताजीलाइ राखिन् तसै॥

त्यै सिंहासनमा बसी जननिले औदास्य मन्मा लिइन्।

सीताजी कन जानलाइ बढिया बाटो भुमीले दिइन्॥190॥


यस् रित्ले जननी सिता जब गइन् खुप् मोह लोक्मा पर्या।

इन्द्रादीहरुले त खुप् खुसि हुँदै बेस् पुष्पवृष्टी गर्या॥

सीताको तहिं शोक् गर्या प्रभुजिले संसारी जस्ता भई।

ब्रह्मादीहरुले बुझाउनु भयो साम्ने अगाडी गई॥191॥


बूझी बक्सनु भो र शोक् पर गरी बाँकी रह्याका थिया।

सब् सम्पूर्ण गरेर दान् दिनु भयो ब्राह्मण् तहीं सब् थिया॥

जो ता यज्ञ महाँ थिया जनहरू धन्ले ति पूर्णै भया।

बीदा बक्सनु भो र देसि जति हुन् बीदा हुँदै सब् गया॥192॥


सीताजी सितको वियोग् जब भयो श्रीराम् विरक्तै भया।

यज्ञस्थान् कन छोडि पुत्र सँग ली जल्दी अयोध्या गया॥

कौशल्या जननी पनी खुसि भइन् श्रीराम आया भनी।

लक्षण् अन्त्य निहारि ज्ञानकि कथा चर्चा गरिन् बेस् भनी॥193॥


कौशल्या रामलाई त्रिभुवनपतिका नाथ् रमानाथ जानी।

कुन् पाठ्ले बन्ध छुट्ला भनि कन मनमा खुप् ठुलो दुःख मानी॥

आइन् पाऊ परिन् फेर् विनति पनि गरिन् रामजीका चरण्मा।

कुन् पाठले बन्ध छुट्छन् यति म कन कहू आज आया शरण्मा॥194॥


यस्तो बिन्ती सुनी खुप् खुसि पनि हुनु भो बन्ध छुट्न्या उपाई।

सब् भन्दा येहि ठूलो भनि कहनु भयो भक्तियोग् माइलाई॥

भक्तीयोग्मा पनी जो त्रिगुणरहितकी भक्ति छन् सोहि गर्नू।

गङ्गाजीका प्रवाहा सरि गरि यस मन्लाइ मै माथि धर्नू॥195॥


मै माथी चित्त धन्र्या जनहरु सहजै भक्तिमान् होइ जान्छन्।

चार् छन् मुक्ती ति चारै कन पनि तलका तृण् सरीका ति मान्छन्॥

मैमाथी चित्त धन्र्या भनि कन बुझि ल्यौ साधना गर्न माहाँ।

तेस्को वर्णन् म गर्छू अब सब बुझिल्यौ सब् खुलस्ता छ याहाँ॥196॥


इच्छा काहिं न राखनू विषयमा सब् धर्म थाम्नू पनी।

सत्काम् गर्नु विचार राख्नु मनमा हिंसा घटीया भनी॥

मेरो दर्शन गर्नु खुप् स्तुति पुजा गर्नू स्मरण् खुप् गरी।

पाऊमा परि दण्डवत् गरि लिनू जाइन्छ यस्ले तरी॥197॥


सब् प्राणीहरुमा म छू यति विचार् राख्नू असङ्गी भई।

साँचो बोल्नु बडा मिल्या चरणमा पर्नू तुरुन्तै गई॥

गर्नू दुःखि उपर् दया सम भया तिन्मा त मैत्री पनी।

सेवा गर्नु यमादिको पनि असल् बाटा इनै हुन् भनी॥198॥


वेदान्तै कन सुन्नु गर्नु खुसि भै कीर्तन् सदा नामको।

सज्जन्ले सतसङ्ग गर्नु दिन दिन् सोझो भई कामको॥

मेरो देह भनाउन्या अति ठुलो छोड्नू अहङ्कार् पनी।

यो मन् शुद्ध गराइ बुझ्नु जति छन् सब् धर्म मेरा पनी॥199॥


जस्तै गन्ध रहन्छ फूलहरुमा फुल्मा रह्याको पनी।

वायूका वशमा परी कन उडी आऊँछ नाक्मा पनी॥

त्यस्तै योग विषे दियो मन भन्या त्यै योगवायू पनी।

गन्धै झैं गरि मन् उडायर सहज् ल्याऊँछ मैमा पनी॥200॥


सर्वात्मा म छु जो त येति नबुझी पूजा सनक् गर्दछन्।

ती देखी खुस हुन्न कत्ति ति गरुन् व्यर्थै शरिर् हर्दछन्॥

पूजा गर्नु त तेहि हो उ न गर्या तिन्ले पुजा कुन् गर्या।

मृत्यूको भय हुन्छ तिन् कन सदा संसारमा ती पर्या॥201॥


सर्वात्मा म छु येति जानि सब जिव्लाई नमस्कार् गरुन्।

जीवात्मा परमात्म एक् बुझि सदा अन्तःकरण्मा धरुन्॥

मातर् मार्ग त तर्नलाइ सजिलो यै हो छ यस्तै गरी।

संसार्का कति पार् गया सहजमा संसारसागर् तरी॥202॥


याहाँलाइ त झन् सहज् छ म त हूँ पुत्रै र पुत्रै भनी।

संझी मात्र दिनू हवस् यति गर्या छुट्नन् इ बन्धन् पनी॥

कौशल्या रघुनाथको यति हुकुम् सूनिन् र मुक्तै भइन्।

कैकेयी पनि देह छोडि दशरथ्जीका हजुर्मा गइन्॥203॥


तस्तै सुमित्रा दशरथ्कि रानी।

संसारको सोख् पनि सर्व जानी॥

प्रारब्धका बन्धनलाइ तोडी।

पौंचिन् पती थ्यैं यहिं देह छोडी॥204॥


पापात्मा अति दुष्ट शत्रु सबका तिन् कोटि गन्धर्व छन्।

ई सब्लाई मराउनू अब पर्यो बढ्नन् न मार्या त झन्॥

यस् सुर्ले रघुनाथका हजुरमा एक् दिन् युधाजित् गया।

पार्या बिन्ति भरत् गई हुकुमले गन्धर्व मार्दा भया॥205॥


पूरी एक् तहिं पुष्करावति बनी पुष्कर् त राजा भया॥

आर्की तक्षशिला पुरी बनि तहाँ राज् तक्ष गर्दा भया॥

छोरा पुष्कर तक्षलाइ तिमिले राज् गर्नु याहीं भनी।

फर्की श्रीरघुनाथका हजुरमा पौंच्या भरत्जी पनी॥206॥


लक्ष्मण्लाइ पनी हुकुम् तहिं भयो भाई तिमीले पनी।

छोरालाइ लगेर पश्चिम मुलुक्मा राज्य देऊ भनी॥

पश्चिम्मा अति दुष्ट भिल्लहरु छन् तिन्लाइ संहार् गरी।

दूई पूरि बनाउनू पनि तहाँ रत्नादि दौलत् भरी॥207॥


राजा अङ्गद चित्रकेतु इ दुवैलाई बनाया तहाँ।

छोरालाइ रजाइँ दी कन तिमी आया तुरुन्तै यहाँ॥

हूकुम् श्रीरघुनाथको यति हुँदा लक्ष्मण् तुरुन्तै गया।

जो जो हुन् अति दुष्ट भिल्लहरु सब् तिन्लाइ मार्दा भया॥208॥


पूरी दूइ बनाइ लक्ष्मणजिले ताहीं रजाई दिया।

छोरालाइ र जल्दि लक्ष्मण गया जाहाँ रघूनाथ् थिया॥

एक् दिन् काल् ऋषि झैं भयेर रघुनाथ्ज्यूलाइ भेट्नू भनी।

आया श्रीरघुनाथ्जिका पुरि महाँ चिन्दैन कोही पनी॥209॥


पौंच्या द्वार तलक् जसै प्रभुजिका चौकी त लक्ष्मण् थिया।

द्वार्मा एक् ऋषि छन् खडा भनि गई हाजिर् पुर्याई दिया॥

हाजिर् सूनि हुकुम् भयो प्रभुजिको ल्याऊ तुरुन्तै भनी।

लक्ष्मण्ले पनि जल्दि गै हजुरमा ल्याया इनै हुन् भनी॥210॥


पौंच्या श्रीरघुनाथका हजुरमा काल् विप्ररुप्ले जसै।

त्वं वर्धस्व भनेर आशिष दिया श्रीरामलाई तसै॥

सत्कार् श्रीरघुनाथले पनि गर्या पैले कुशल्क्षेम् गरी।

तिन्को आशय बुझ्नलाइ हरिले सोध्या अगाडी सरी॥211॥


कुन् काम गर्नू छ र जल्दि आई।

भेट् गर्नु भो आज यहाँ मलाई॥

हूकुम् प्रभूको जब येति पाया।

ती काल्पुरुषले पनि बिन्ति लाया॥212॥


हे नाथ् चरण्मा अहिले म पर्छू।

एकान्त बक्स्या हुँदि बिन्ति गर्छू॥

मेरा कुरा कोहि न सुन्न पाउन्।

सुन्नन् त मारी दिनु दूर जाउन्॥213॥


ती काल्पुरुष्को यति बिन्ति सूनी।

बेसै इ भन्छन् भनि भीत्र गूनी।

हुकुम् भयो लक्ष्मणलाइ ताहाँ।

कोही न आउन् अब भीत्र याहाँ॥214॥


क्वै आउनन् भीत्र त मर्न जानन्।

अत्यन्त गोता बिहकै ति खानन्॥

एकान्त तक् कोहि यहाँ न आउन्।

यो उर्दि सब्ले तिमि देखि पाउन्॥215॥


सून्या हुकुम् येति र काल बोल्या।

आफ्नू सबै आशय ताहिं खोल्या॥

हे नाथ् म हूँ काल् सबलाइ हन्र्या।

मालुम् छ यो सब् किन बिन्ति गन्र्या॥216॥


ब्रह्माजिको बिन्ति लियेर आयाँ।

खुप् भाग्यले दर्शन आज पायाँ॥

ब्रह्माजिको बिन्ति म आज गर्छू।

होला हुकुम् जो उहि सीर धर्छू॥217॥


सृष्टी देखि अगाडि पूर्ण रुपले आत्मा स्वरुप् एक् थियौ।

नारायण् जलशायि रूप त पछी यै सृष्टि खातिर् लियौ॥

ख्वामित्का तहिं नाभिका कमलमा एक्लै म पैदा भयाँ।

सृष्टी गर्न हुकुम् हुँदा हुकुमले लोक्सृष्टि गर्दै गयाँ॥218॥


जस्ले दुःख दिया प्रजा कन तिनैलाई म मारूँ भनी।

युग् युग्मा अवतार् समेत् लिनु भयो यस्तै अगाडी पनी॥

ऐले यो अवतार् पनी पृथिवि कै भार् हर्न खातिर् धरी।

भूको भार् पनि टारि बक्सनु भयो सब् दुष्ट संहार् गरी॥219॥


एघारै म हजार वर्ष रहुँला जाँदा हुकुम् जो भयो।

सोही वर्ष गणीतले गनि लिंदा एघार हज्जार् गयो॥

बस्नैको अरु मन् छ पो त भगवन् इच्छा हजुर्को हवस्।

याहाँ आउन मन् भया बखत भो लौ जल्दि पाल्नू हवस्॥220॥


ब्रह्माको विनति सुनेर रघुनाथ् हाँसी तिनै कालका।

साम्ने बात्चित गर्नु भो पनि बहुत् सब् जान कै चालका॥

दुर्वासा यहि बीचमा तहिं गया राम्लाइ भेट्छू भनी।

लक्ष्मण् द्वार महाँ थिया र ऋषिले तिन्लाइ भेट्या पनी॥221॥


लक्ष्मण्लाइ तहाँ भन्या त ऋषिले हाजिर् गराऊ भनी।

लक्ष्मण्लाइ कठिन् भयो कठिनले बिन्ती लगाया पनी॥

भीत्रै जान हुँदैन जाउँ कसरी विस्तार् कहाँ तक् गरू।

जुन् काम् खातिर आज आउनु भयो सो पूर्ण गर्छू बरू॥222॥


लक्ष्मण्ले यति ती मुनी कन तसै बिन्ती गर्याथा जसै।

दुर्वासा ऋषि हुन् बडा त पनि खुप् रीसाइ बोल्या तसै॥

लै जाऊ अझ रामका चरणमा वाहीं शरण् पर्दछू।

लै जान्नौ त मलाइ भित्र त कुलैको भस्म झन् गर्दछू॥223॥


सून्या येति वचन् र लक्ष्मणजिले मन्मा विचार् यो गर्या।

कुल्को नाश् न हवस् कुशल् सब रहुन् क्या हुन्छ मै एक् मर्या॥

ऐल्हे भीत्र त जान निश्चय पर्यो यस्तो विचार् खुप् गरी।

लक्ष्मण् भित्र गया जहाँ प्रभु थिया त्रैलोक्यका नाथ् हरी॥224॥


द्वार्मा हाजिर छन् ऋषी भनि तहाँ बिन्ती गर्याथ्या जसै।

ती काल्लाइ बिदा गरेर रघुनाथ् बाहीर आया तसै॥

दुर्वासा सित भेट् भयो जब तहाँ राम्ले नमस्कार् गरी।

सोध्नू भो ऋषिलाइ आउनु भयो कस्तो इरादा धरी॥225॥


इच्छा भोजनमा थियो ति ऋषिको सो बिन्ति गर्दा भया।

भोजन् बक्सनु भो र भोजन गरी ऋ़षी खुसी भै गया॥

यै बीच्मा तहिं संझि बक्सनु भयो राम्ले प्रतिज्ञा पनी।

लक्ष्मण्लाइ कसोरि मारुँ अहिले यै हो विपत्ती भनी॥226॥


सन्ताप् श्रीरघुनाथका जब पर्यो लक्ष्मण् चरण्मा पर्या।

मारी दीनु हवस् मलाइ भगवन् यो ताहिं बिन्ती गर्या॥

ठूलो भन्नु छ धर्म हो उहि रहोस् बिन्ती गर्या यो जसै।

यस्को निश्चय गर्नलाइ हुन गो ठूलो सभा एक् तसै॥227॥


सब्ले बिन्ति गर्या बुझी हजुरमा त्याग् मात्र गर्नू हवस्।

मारी हाल्नु त योग्य छैन अधिराज् ज्यान् आज इन्को रहोस्॥

ज्यान् हर्नू र वियोग गर्नु इ बराबर् हुन् भन्याथ्या जसै।

लक्ष्मण्लाइ पनी बिदा दिनु भयो श्रीरामजीले तसै॥228॥


लक्ष्मण्जी सरयू गया तस बखत् राम्का चरण्मा परी।

प्राणायाम् तिरमा गरी कन गया जाहाँ रहन्थ्या हरी॥

यस् रित्ले नरलोक छोडि कन ती लक्ष्मण् जसै ता गया।

भेट्ना खातिर शेषका हजुरमा ब्रह्मादि जम्मा भया॥229॥


लक्ष्मण्जी सितको वियोग् जब भयो दुःखी सरीका बनी।

साह्रै दिक्क भयेर मन्त्रिहरु थ्यैं यस्तो हुकुम् भो पनी॥

जान्छू लक्ष्मण छन् जता म त उता यो राज् भरत्ले गरुन्।

राजा भै कन जो प्रजाहरु इ छन् इन्का सबै ताप् हरुन्॥230॥


जस्सै येति हुकुम् सुन्या भरतले मूर्छित् सरीका भई।

यस्तो बिन्ति गर्या तहाँ भरतले राम्का हजुर्मा गई॥

बस्थ्याँ ख्वमितलाइ छोडि म कहाँ तिन् लोक बक्स्या पनी।

छोरै छन् अधिराज् प्रभो हजुरका राज्का इनै हुन् धनी॥231॥


जेठा पुत्र हजूरका इ कुश विर् राज् कोशलामा गरुन्।

उत्तर्मा बसि राज् गरी इ लवले सम्पूर्णका ताप् हरुन्॥

दूई भाइ चलाउँछन् इ जति छन् सब् राज्यको काम् यहाँ।

दुत् जाउन् मथुरा विषे किन उसै शत्रुघ्न बस्छन् तहाँ॥232॥


सूनुन् लक्ष्मणको पनी ति सम्चार् पौंच्या परम्धाम् भनी।

साथै जान हजूरका चरणमा दौडेर आउन् पनी॥

यस्तो बिन्ति हजूरमा भरतले गर्दा प्रजाले पनी।

पाया थाह र ताप् भयो मन महाँ जानन् कि छोडी भनी॥233॥


बिन्ती एक वशिष्ठले तहिं गर्या लान्छन् कि छोड्छन् भनी।

रुन्छन् सब् दुनियाँ यहाँ हजुरको पाउन् प्रसाद् ई पनी॥

सुन्नू भो तहिं यो वशिष्ठ ऋषिले बिन्ती गर्याको जसै।

ठाकुर्का पनि खुप् दया हुन गयो ती सब् प्रजामा तसै॥234॥


इच्छा क्या छ बताउ पूर्ण गरुँला भन्न्या हुकुम् भो पनी।

सब्ले बिन्ति गर्या प्रभू सित तहाँ सब् साथ जान्छौं भनी॥

इच्छा पूर्ण हवस् भनी हुकुम भो सब् ती प्रजा खुस् भया।

उत्तर् कोशलमा दुवै ति कुश लव् राज् गर्न खातिर् गया॥235॥


केही दुत् मथुरा तरफ् प्रभुजिले जल्दी पठाई दिया।

दुत् पौंच्या रघुनाथका हुकुमले शत्रुघ्न जाहाँ थिया॥

दुत् देखी समचार् सुन्या प्रभुजिको शत्रुघ्नजीले जसै।

छोरालाइ रजाइँ दी प्रभुजि थ्यैं ती जान आँट्या तसै॥236॥


जेठा पुत्र सुबाहुलाइ मथुराजी राजधानी दिया।

युप्लाई विदिशा दिया र ति गया जाहाँ रघूनाथ् थिया॥

जल्दी गै कन पाउमा परि तहाँ यो बिन्ति लाया पनी।

साथै जान भनेर आज रघुनाथ् आयाँ हजुर्मा भनी॥237॥


लौ मध्याह्न हुँदा तयार् भइ रह्या यस्तो हुकुम् भो तहाँ।

आया राक्षस ऋक्ष वानरहरू सब् येति सुन्दा महाँ॥

जान्छौं आज सँगै प्रभो हजुरमा यै बिन्ति सब्ले गर्या।

सुग्रिव्जी पनि बिन्ति गर्न रघुनाथ्जीका अगाडी सर्या॥238॥


अङ्गद्लाइ रजाइँ दीकन यहाँ जाँला म साथै भनी।

आयाको छु दयानिधान् हजुरमा यो बिन्ति लाया पनी॥

सुग्रिव्को अरुको ति ऋक्षहरुको बिन्ती सुनेथे जसै।

प्यारा भक्त जहाँ विभीषण थिया ताहाँ गया राम् तसै॥239॥


ताहीं गै कन यो हुकुम् पनि भयो बस्नू तिमीले यहीं।

प्रारब्धै बलवान् छ जान सबका छुट्तैन सो ता कहीं॥

जाहाँ सम्म रहन्छ भूमि तहिं तक् राज् गर्नु याहीं बसी।

शिक्षा गर्नु सबै प्रजा कन बहुत् अन्यायिलाइ कसी॥240॥


यस्को उत्तर छैन चुप् रहु भनी हूकुम् भयेथ्यो जसै।

तेसै ठाउँ महाँ तुरुन्त हनुमान्जीलाइ देख्या तसै॥

हूकुम् भो हनुमानलाइ हनुमन् चीरञ्जिवी भै रह्या।

मेरो जुन् छ हुकुम् उ गर्न सब दिन् अत्यन्त तत्पर् भया॥241॥


बुद्धीमान् तहिं जाम्बवान् पनि थिया जाँला म साथै भनी।

तिन्लाई पनि यो हुकुम् हुन गयो बस्नू तिमीले पनी॥

द्वाप्रमा कछु युद्ध गर्नु तिमि थ्यैं पन्र्या छ सोही गरी।

स्वर्गैमा तिमि जाउला पछि भन्या ऐल्हे त यस्तै परी॥242॥


यस्ता रित् सित जो अह्राउनु थियो सो सब् अह्राई वरी।

सब् प्राणीहरु साथमा हिंड भनी हूकुम् भयो तेस् घरी॥243॥

आफ्ना पुरोहित् ति वशिष्ठलाई।

हूकुम् भयो मङ्गल गर्नलाई॥

मङ्गल् अनेकै ऋषिले गराया।

राम् स्वर्ग जाना कन निस्कि आया॥244॥


सीताजिले रुप् अघिको छपाइन्।

लक्ष्मी भई वाम् तिर बस्न आइन्॥

दक्षिण् तरफ् भूमि बसिन् हरीका।

सब् ताँहि आया भुवनै भरीका॥245॥


शस्त्रास्त्र सब् ती पनि रूप धर्दै।

हिंड्दा तहाँ मङ्गल शब्द गर्दै॥

गायत्रि चार् वेद् सब ताहिं आया।

रुप् धारि मङ्गल् यश शब्द गाया॥246॥


जो ता अयोध्यापुरवासि थीया।

तिन्ले सँगै सब् परिवार् लीया॥

बालो बुढो कोहि रहेन ताहाँ।

सब्को गयो मन् उहि राम माहाँ॥247॥


सुग्रिव्हरू वानर मुख्य आया।

सब् पाप छूट्या भनि हर्ष पाया॥

जो लोक् थियो राम् सित जान गै गो।

गुल्जार् अयोध्या पनि शून्य भै गो॥248॥


छोड्या शहर् क्यै गइ भूमि माहाँ।

देख्या प्रभूले सरयू र ताहाँ॥

आफ्ना विराट् रुप् कन संझि लीया।

आफैं त सब्का पनि नाथ थीया॥249॥


ब्रह्मा ऋषी देव र सिद्ध आया।

आकाश् विमान्ले भरि छुट्टि छाया॥

श्रीराम् उपर् खुप् सित पुष्पवृष्टि।

सब् गर्न लाग्या उहिं लाइ दृष्टि॥250॥


गाऊँछन् कहिं नाच्तछन् प्रभुजि कै यश् मात्र कीर्तन् गरी।

यै बिच्मा रघुनाथ् पस्या सरयुमा सब्का अगाडी सरी॥

ब्रह्माको पनि ताहिं औसर पर्यो हात् जोरि बिन्ती गर्या।

सब्को ताप् अब गै गयो सकल लोक् आनन्दसागर् पर्या॥251॥


ख्वामित्ले अब विष्णुको रुप लिने वेला भयेथ्यो भनी।

पार्या बिन्ति र होइ बक्सनु भयो श्रीराम् चतुर्भुज् पनी॥

जो शत्रुघ्न भरत् थिया दुइ जना ती शङ्ख चक्रै बनी।

ख्वामित्का तहिं बाहुमा बसि गया बस्न्या यहीं हो भनी॥252॥


ब्रह्माण्डै सब देवगण् खुसि भया यो रूप देख्या जसै।

ब्रह्मालाइ हुकुम् गर्या प्रभुजिले सब् प्राणि खातिर् तसै॥

हे ब्रह्मन् जति जन् थिया सहरमा सब् साथ जान्छौं भनी।

आया सब् परिवार् लियेर सँगमा लाग्या पछाडी पनी॥253॥


इन्लाई शुभलोक देउ तिमिले सत्लोकमा वास् गरुन्।

आफ्ना सब् परिवारले सँग रही आनन्दमा ई परुन्॥

ब्रह्माले प्रभुको हुकुम् यति सुनी हूकुम् सिरोपर् लिया।

सब्लाई सुख भोग गर्न कन एक् लोकै खटाई दिया॥254॥


ती लोक्ले पनि खुस् भयेर सरयूमा स्नान् सबैले गर्या।

जुन् सान्तानिक लोक हो उहिं पुगी आनन्दका भै गया॥

सुग्रिव् सूर्य्य विषे गई मिलि गया अंशै हुनाले गरी।

भूभार् यै रितले हरेर रघुनाथ् वैकुण्ठ पौंच्या हरी॥255॥


येती मात्र कह्या सदाशिवजिले ती पार्वती थ्यैं पनी।

जस्ले यस् कन पाठ गर्छ मनले अत्यन्त ठूलो भनी॥

तिन्का जन्म सहस्रका जति त छन् पाप् भस्म हुन्छन् भनी।

सब् षड् शास्त्र बताउँछन् पढि लिया तर्छन् दुनीयाँ पनी॥256॥


शम्भूले पार्वती थ्यैं खुसि भइ बहुतै प्रेमपूर्वक् कह्याको।

संसार् पार् तर्नलाइ सब कन सजिलो साँघु झैं भै रह्याको॥

जानी यस्लाइ जो ता जनहरु बहुतै प्रेमले पाठ गर्छन्।

संसार्का सौख्य सब् भोग् गरि कन दुनियाँ सब् सहज् पार तर्छन्॥257॥