भानुभक्तको रामायण/अरण्यकाण्ड
अत्रीका आश्रमैमा बसि रघुपतिले प्रेमले दिन् बिताई।
दोस्रा दिन्मा सबेरै उठि कन वनमा जान मन्सुब् चिताई॥
अत्रीजीका नजिक्मा गइ कन अब ता जान्छु बीदा म पाऊँ।
रस्ता यो जाति होला भनिकन कहन्या एक् अगूवा म पाऊँ॥1॥
सीताराम्को हुकुम् यो सुनि कन ऋषिले भन्दछन् क्या पठाऊँ।
सब्को रस्ता त देख्न्या यहिं हजुर भन्या कुन् अगूवा पठाऊँ॥
चिन्छू लीला हजुर्को तर पनि अगुवा याहिं अस्सल् खटाई।
यै मर्जी पूर्ण गर्ना कन पनि अगुवा आज दिन्छू पठाई॥2॥
अत्रीले बिन्ति येति गरि कन अगुवा शिष्य धेरै खटाया।
केही रस्ता त आफैं पनि पछि पछि गै रामलाई पठाया॥
एक् कोस् तक् पौंचदामा बडि नदि बहँदी नाउले तर्नु पन्र्या।
मिल्थिन् त्यो तारि फर्क्या मढितिर ऋषिका शिष्य सब् फिर्नु पन्र्या॥3॥
सीताराम् वनमा पुग्या वन थियो साह्रै खजित्को तहाँ।
बाघ् भालू अरु दुष्ट राक्षसहरू डुल्छन् निरन्तर जहाँ॥
ताहीं पौंचि हुकुम् भयो प्रभुजिको भाई तयारी भई।
सीताका म अगाडि हिंड्छु तिमिले हिंड्नू पछाडी रही॥4॥
यस्ता बात् गरि राम लक्ष्मण तहाँ हिंड्थ्या तयारी भई।
एक् सुन्दर् वनमा तलाउ मिलि गो ठूलो छ कोस् वन् गई॥
ठण्डा जल् तहिं पान् गरेर रघुनाथ् छाया बस्याथ्या जसै।
आयो ताहिं विराध राक्षस ठुलो डर् दीन लाग्यो तसै॥5॥
को हौ स्त्री पनि साथमा छ किन यो आयौ बडा वन् महाँ।
कस्तो सुर् मनमा छ फेर् अब उपर् जानू छ इच्छा कहाँ॥
मैले सुन्दर गाँस् बनाउन असल् मान्याँ र सोध्याँ यहाँ।
सब् नाम् काम समेत् बताउ तिमिले जुन् काम् छ जान्छौ जहाँ॥6॥
राक्षस्का इ वचन् सुनी प्रभुजिले नाम् काम् बताया सबै।
बाँच्नै मन् छ भन्या सिता र हतियार् छोडेर जाऊ उसै॥
यस्तो बोलि सिताजिलाइ लिन सुर् बाँधेर राक्षस् जसै।
दौडेथ्यो रघुनाथले पनि ति हात् दूवै गिराया तसै॥7॥
जस्सै हात गिर्या तसै त रिसले खाँ रामलाई भनी।
दौडन्थ्यो मुख बाइ फेर् प्रभुजिले काट्या ति गोडा पनी॥
हात् गोडा न हुँदा त सर्प सरिको पस्र््यो भुमीमा जसै।
हात् गोडा सब काटिया त पनि फेर् घस्रेर आयो तसै॥8॥
घस्री घस्रि उ सर्दथ्यो प्रभुजिले काट्या तहाँ सिर् पनी।
विद्याधर्गण हो छुटोस् अब सराप् जावस् परम्धाम् भनी॥
राक्षस्देह मर्यो सराप् पनि टर्यो विद्याधरै फेर् भयो।
श्री राम्को स्तुति खुप् गरेर खुसि भै फेर् स्वर्ग लोक्मा गयो॥9॥
जस्सै स्वर्ग विराध् गयो प्रभुजिले रस्ता वनैको लिया।
पालन् गर्छु म योगिको अब भनी मन्मा दया खुप् लिया॥
ध्यान् गर्दै शरभङ्गजी वन महाँ जाहाँ बस्याका थिया।
ताहीं श्री रघुनाथजी खुसि हुँदै पौंचेर दर्शन् दिया॥10॥
ताहाँ श्री शरभङ्गले प्रभुजिमा तन् मन् वचन् सब् धरी।
आफ्नू कर्म जती थियो तहिं तती सम्पूर्ण अर्पण् गरी॥
अस्सल् ताहिं चिता बनाइ हरिको दर्शन् नजर्ले गरी।
ताहाँ देहदहन् गरी चलिगया संसार सागर् तरी॥11॥
मुक्ती श्री शरभङ्गको जब भयो तस्सै मुनीश्वर्हरू।
आया भेट्न भनी बहुत् खुसि भई वन्मा थिया जो अरू॥
हात् जोरी स्तुति खुप् गर्या ति ऋषिले ख्वामित् इनै हुन् भनी।
कोमल् चित्त गरी तहाँ नजरले हेर्या प्रभूले पनी॥12॥
बिन्ती सब् ऋषिले गर्या हजुरमा हाम्री विपत्ती पनी।
देख्या पूर्ण दया हून्या थिइ बहुत् आपत् रह्याछन् भनी॥
जाऊँ सब् ऋषिका मढी मढि विषे वाहीं गई यो दया।
होला चित्त विषे भनी ति ऋषिले भन्दा प्रभूजी गया॥13॥
देख्या तेस् वनमा अनेक् पृथिविमा खप्पर् र सोध्या तहाँ।
कस्का खप्पर हुन् अनेक् नजरले देख्छू मर्याका यहाँ॥
श्री सीतापतिका वचन् सुनि तहाँ बिन्ती ऋषीले गर्या।
ई सिर् हुन् ऋषिका यहाँ छल परी धेरै ऋषीश्वर् मर्या॥14॥
राक्षस्का छलले बहुत् ऋषि मर्या भन्न्या कुरा यो सुनी।
ताहाँ सब् ऋषिलाइ राखि सबका साम्ने प्रतिज्ञा पनी॥
सब् राक्षस्हरुको म नष्ट गरुँला भन्न्या प्रभूले गर्या।
खूसी मन् हुन गो र ताहिं ऋषि ता आनन्दमा सब् पर्या॥15॥
केही वर्ष बिताइ ताहिं हरिले सब् योगिको ताप् हर्या।
माया फेरि सुतीक्ष्णका उपर भै प्रस्थान् प्रभूले गर्या॥
जाहाँ भक्त सुतीक्ष्ण छन् तहिं गई दर्शन् प्रभूले दिया।
पूजा पूर्ण गरी सुतीक्ष्ण ऋषिले राम्लाइ मन्मा लिया॥16॥
सायुज्यै मुक्ित मिल्ला तिमि कन सुन यो देह जैले त छुट्ला।
भन्न्या आज्ञा प्रभूको सुनि कन अब ता कर्मको पाश टुट्ला॥
भन्न्या यो मन् ऋषीको हुन गइ बहुतै चित्तमा हर्ष पाया।
सीताराम्ले अगस्ती सित गइ कछु दिन् बस्न मन्ले चिताया॥17॥
प्रभूका साथैमा पछि पछि सुतीक्ष्णै पनि गया।
अगस्तीका भाई सित पुगि त एक् रात् प्रभु रह्या॥
ति अग्नीजिह्वा खूप् खुसि पनि भया ईश्वर भनी।
चिह्नी ताहाँ तिन्ले विधि सित गर्या पूजन पनी॥18॥
तहाँ देखी सीतापति उठि सबेरै चलि गया।
अगस्ती काहाँ छन् भनी खबर ली दाखिल भया॥
अगस्तीले खुस् भै स्तुति गरि बहुत् मन् पनि धर्या।
विराट् रुप्ले वर्णन् गरि कन त पूजा पनि गर्या॥19॥
सुन्दर् धनू र तरवार् सँग बाण् धर्याका।
ठोक्रा त जोडि अघि इन्द्रजिले धर्याका॥
ताहीं थिया सब दिया रघुनाथलाई।
बिन्ती गर्या सकल भार् हर आज जाई॥20॥
आठ् कोसमा असल पञ्चवटी भन्याको।
आश्रम् असल् छ रमणीय बहुत् बन्याको॥
ताहीं बसेर कछु दिन् तिमिले बिताऊ।
सब् साधु माथि करुणा तहिं गै चिताऊ॥21॥
यस्तो अगस्ति ऋषिको उपदेश पाई।
श्री राम् तयार् पनि भया तहिं जानलाई॥
मालुम् थियो त पनि जुन् ऋषिले बताया।
सो मार्ग जान कन पाउ उतै चलाया॥22॥
जान्थ्या प्रभू अलिकती पर केहि जाई।
जङ्गल् विषे अधिक वृद्ध जटायुलाई॥
देख्या र राक्षस भनी कन मार्नलाई।
माग्या धनू प्रभुजिले र लिला जनाई॥23॥
मान्र्या कुरा सुनि जटायु बहुत् डराई।
राजाजिको प्रिय सखा हुँ भनी कराई॥
गन्र्याछु हित् यहिं बसी म सिताजिलाई।
कल्याण् मिलोस् हजुर देखि बहुत् मलाई॥24॥
श्री रामले पनि तहाँ अति खूसि मन्ले।
आनन्द निर्भय दिया पछि फेरि तिन्ले॥
ख्वामित् शरण् छु भनि खुप् सित बिन्ति लाया।
श्री राम् तहाँ पछि त पञ्चवटी त आया॥25॥
डेरा पर्यो प्रभुजिको तहिं बीच वन्मा।
एकान्त देखि कन हर्ष भयो र मन्मा॥
आनन्दपूर्वक रह्या रघुनाथ ताहीं।
आर्को त आश्रम नजीक थियेन काहीं॥26॥
एकान्त देखि कन लक्ष्मणले चरण्मा।
बिन्ती गर्या रघुपते म त छू शरण्मा॥
ज्ञान् कुन् कहिन्छ भनि कुन् त कहिन्छ विज्ञान्।
जान्दीन केहि म विषे त ठुलो छ अज्ञान्॥27॥
आज्ञा हवस् सकल तत्त्व म सुन्न पाऊँ।
जान्न्या पुरुष् अरु छ को र कता म जाऊँ॥
यो बिन्ति लक्ष्मणजिको सुनि हर्ष पाया।
लक्ष्मण्जिलाइ सब तत्त्व तहीं बताया॥28॥
यै ज्ञान् कहिन्छ सुन येहि कहिन्छ विज्ञान्।
यो रित् गरी कन बस्या हुँदि छुट्छ अज्ञान्॥
खोलेर येहि रितले प्रभुले बताया।
लक्ष्मण्जिले पनि तहिं सब तत्त्व पाया॥29॥
यै बीचमा नजिक शूर्पणखा त आई।
देख्या तहाँ प्रभुजिले पनि दुष्टलाई॥
कन्दर्पका वश परी प्रभुका नजिक् गै।
सोधी तहाँ प्रभुजिलाइ बहूत खुस् भै॥30॥
नाम् सब् कह्या प्रभुजिले जब नाम सूनी।
ऐल्हे म भज्दछु पती भनि येति गूनी॥
बिन्ती गरी म कन पत्नि बनाइ लेऊ।
कन्दर्पको कठिन ताप छुटाइ देऊ॥31॥
यस्तो वचन् सुनि सिता कन हाँसि हेरी।
उत्तर् दिया प्रभुजिले घरमै छ मेरी॥
सौता बुझी कन न भज् तँ पती मलाई।
भाई छ खालि बरु भज् पति भाइलाई॥32॥
साँचो भन्या भनि त लक्ष्मणका नजिक् गै।
आयाँ म पत्नि हुन येति भनेर खुस् भै॥
सून्या वचन् सकल लक्ष्मण्ले र ताहाँ।
दास् हूँ म ता म सित कुन् सुख मिल्छ याहाँ॥33॥
जा वाहिं मालिक उ हुन् उहिं बस्नु अच्छा।
बुद्धी रहेनछ बहुत् रहिछस् तँ कच्चा॥
यस्ता वचन् सुनि र शूर्पणखा रिसाई।
सीताजिलाइ अब खाँ भनि फर्कि धाई॥34॥
भार् हर्न बीज् प्रभुजिले तहिं रोप्न आँट्या।
लक्ष्मणजिलाइ भनि नाक र कान् कटाया॥
आज्ञा लि लक्ष्मणजिले पनि काटि दीया।
भागी डराइ कन भाइ जहाँ त थीया॥35॥
विस्तार् गरी त्रिशिर दूषण खर् भन्याका।
राक्षस् पनी सुनि ति अग्नि सरी बन्याका॥
आया जहाँ प्रभु थिया तहिं तीन भाई।
लस्कर् समेत् अधिक जल्दि कदम् बढाई॥36॥
राक्षस् भनी प्रभुजिले तहिं चाल पाया।
लक्षमण्जिलाइ तहिं काम् प्रभुले अह्राया॥
हे भाइ आज तिमिले इ सिताजिलाई।
गूफा विषे लगि बसी रहु जल्दि जाई॥37॥
एक् बात् न बोलि कन जल्दि उठेर जाऊ।
सङ्ग्रामको बखत भो अब बेर् न लाऊ॥
मार्छू म दुष्ट कन तेज् अधिकै जनाई।
चौधै हजार् कन सहज् टुकरा बनाई॥38॥
यस्तो हुकुम् हुन गयो र सिताजिलाई।
लक्षमण्जिले सँग लिई कन जल्दि जाई।
गूफा विषे बसि रह्या रघुनाथ् तयारी।
चाँडै भया धनु र बाण्हरु ठिक्क पारी॥39॥
आया खर त्रिशिर दूषण तीन भाई।
लस्कर् समेत् सँग लिई कन रिस् चढाई॥
ठाकुर्जिका उपर बाणकि वृष्टि पार्या।
ठाकुर्जिले पनि ति बाण् सब काटि टार्या॥40॥
तिन्का ति सर्व हतियार्हरू काटि टारी।
सम्पूर्ण राक्षसहरू कन जल्दि मारी॥
काट्या खर त्रिशिर दूषणलाइ ताहाँ।
सम्पूर्ण राक्षस सक्या घरि चार माहाँ॥41॥
मार्या खर त्रिशिर दूषणलाइ जस्सै।
सीता र लक्ष्मण पनी प्रभु सीत तस्सै॥
आया डराइ कन शूर्पणखा त भागी।
रावण् जहाँ छ उहिं जाँ भनि जान लागी॥42॥
रावण् जहाँ छ उहिं पौंचि विलाप गर्दै।
सब् भाइ बन्धुहरुका मनलाइ हर्दै।
देख्यो तहाँ बहिनिलाइ त नाक् गयाकी।
त्यो फेरि बुच्चि पनि कान न भै रह्याकी॥43॥
माया भयो बहिनि माथि र झट्ट ऊठ्यो।
विस्तार सोध्न नजिकै पनि जल्दि छूट्यो॥
हे बैन्हि कुन् पुरुष हो भन नाक काट्न्या।
खूपै रहेछ सहजै पनि मर्न आँट्न्या॥44॥
जस्ले त नाक् सित इ कान् आज काट्यो।
हे बैन्हि जान सुन त्यो अब मर्न आँट्यो॥
यस्ता वचन् सुनि र नाम समेत् बताई।
सीता र लक्ष्मण सहित् रघुनाथलाई॥45॥
तिन् छन् पराक्रमि ति पञ्चवटी बस्याका।
ठोक्रा भिरी कन धनू पनि खुप् कस्याका॥
गर्छू विचार मनले त म येहि मान्छू।
सब् भस्म यो गरि दिनन् कि भनेर ठान्छू॥46॥
आई रह्याँछु म त खुप् सित मन् डराई।
फिर्छन् ति सर्व ऋषिलाइ त खुस् गराई॥
आश्चर्य मानि कन दौडि म याहिं आयाँ।
विस्तार् पनी हजुरमा सब बिन्ति लायाँ॥47॥
सीताजिलाइ अति सुन्दर मानि ताहाँ।
ल्याऊँ टपक्क टिपि सुन्दरिलाइ याहाँ॥
भन्ना निमित्त अति चित्त धरी गयाकी।
पायाँ विपत् नकटि बुच्चि समेत् भयाकी॥48॥
ल्याऊ समर्थ छ भन्या तिमि आज जाऊ।
साम्ने त हर्न छ कठिन् तिमि मन् न लाऊ॥
एक् युक्तिले छल गरी कन हर्नु पर्ला।
साम्ने कदापि न गया तहिं देह मर्ला॥49॥
तेस्ले बहूत भयमा परि बात् गर्याको।
लस्कर् समेत् त्रिशिर दूषण खर् मर्याको॥
सून्यो र बैन्हि कन खातिर खूप दीयो।
एकान्तमा गइ लहड् पनि खूप लीयो॥50॥
सामान्य मानिस भया कसरी ति मार्या।
लस्कर् खर त्रिशिर दूषण छुट्टि पार्या॥
सामान्य होइन इ ता परमेश्वरै हुन्।
नाहीं त भाइहरुका अघि टिक्तथ्यो कुन्॥51॥
ईश्वर् भया हुँदि कसै पनि मार्दछन् ती।
सामान्य हो पनि भन्या हरुँला सिताजी॥
ईश्वर् भया हुँदि विरोध् गरि खुस् हुन्याछन्।
रीसै हुन्या छ भजुँला त म माथि ता झन्॥52॥
येती विचार् गरि तर्यो र समुद्र पारी।
मारिच् जहाँ छ ऋषिका सरि रूप धारी॥
पुग्यो तहाँ र रथ राखि नजिक् गयाको।
विस्तार् गर्यो खरहरू सब नाश् भयाको॥53॥
यस्तो पर्यो म कन आज सहाय देऊ।
सुन्दर् ठुलो मृगस्वरुप् तिमि आज लेऊ॥
राम्चन्द्रलाइ छलि दुर् तिमिले गराया।
सीता जसै म हरुँला तब फर्कि आया॥54॥
मारीचले यति हुकुम् जब ताहिं सून्यो।
तेस्तो हुकुम् सुनि तहाँ मन भीत्र गून्यो॥
बिन्ती गर्यो सकल तेज् प्रभुको जनाई।
ख्वामित् भनेर मनले जय खुब् चिताई॥55॥
कस्ले गर्यो र उपदेश् तिमि आज आई।
सीता म हर्छु मृग हो तँ भन्यौ मलाई॥
त्यै शत्रु हो तिमि तसै कन मार ताहाँ।
कूलै समेत् क्षय गराउन खोज्छ याहाँ॥56॥
को सक्छ जित्न र ठुलो तिमि सूर गर्छौ।
यो सुर् लिया कुल समेत् तिमि आज मर्छौ॥
एक् बाणले म कन चार् सय कोस सार्या।
बालक् थिया त पनि भस्म सुबाहु पार्या॥57॥
आज्काल् गयाँ वन विषे मृगरूप धारी।
एक् बाणले यहिं पनी त दिया पछारी॥
छाद्दै रगत् अति डरायर भागि आयाँ।
जावैन भन्छु अब खुप् सित चेत पायाँ॥58॥
तस्मात् तिमी पनि विरोध् मति यो न लेऊ।
सीता म हर्छु भनि आग्रह छाडि देऊ॥
सब् नष्ट हुन्छ तिमीले मति यस्ति लीया।
देख्यौ खर त्रिशिर दूषण मारि दीया॥59॥
हीतै कहन्छ भनि यो तिमि जानि लेऊ।
आर्को कहन्छु म गुठिल् तिमि चित्त देऊ॥
ई ता अनन्त अधिनाथ् परमेश्वरै हुन्।
ब्रह्माजिले पनि भजिन्छ सदा पुरुष् जुन्॥60॥
नारद्जिका वचन सूनि म आज भन्छू।
ख्वामित् म ता हित चिताइ सदा रहन्छू॥
लौ मार रावण भनी वरदान माग्या।
ब्रह्माजिले र उहि सुर् प्रभु गर्न लाग्या॥61॥
जाऊ घरै बसि रहू मति यो न लेऊ।
ईश्वर् बुझेर उहि माफिक चित्त देऊ॥
जो गर्दछन् प्रभु गरुन् छ लिला उनैको।
लाग्दैन जोर् प्रभु विषे अरुका कुनैको॥62॥
मारीचले जब त बात् यति सब् बतायो।
झन् बात् सुनी बुझि त खुप् सित चित्त लायो॥
मारीचलाइ अनि रावण भन्छ हेरी।
सीता म हर्छु मृग भै कन जाउ फेरी॥63॥
ईश्वर् त हुन् यदि भन्या ति अवश्य मार्छन्।
सामान्य हुन् यदि भन्या ति अवश्य हार्छन्॥
ईश्वर् भया पनि असल् छ अवश्य तर्छू।
सामान्य हुन् त म सिता सँग भोग गर्छू॥64॥
जाऊ अवश्य म सिताजि हरेर लिन्छू।
बोल्यौ यहाँ कछु भन्या त म काटि दिन्छू॥
यस्तो हुकुम् गरि तहाँ जब बीच पार्यो।
मारीचले पनि तसै जिय आस मार्यो॥65॥
आखिर् मर्याँ म हरि देखि मर्या त तर्छू।
यस् दुष्ट देखि मरिया त नरक् म पर्छू॥
यस्तो विचार् गरि तहाँ मृगरूप धारी।
हूकुम् सिरोपर धरी कन भो तयारी॥66॥
दौड्यो लिला पनि चरित्र विचित्र गर्दै।
सीताजिका नजिक गै कन ताहिं फिर्दै॥
सीतजिलाइ गरुँ मोह भनेर दाग्यो।
लीला गरी कन वरी परि चर्न लाग्यो॥67॥
छल् हो भनी प्रभुजिले पनि चाल पाया।
एकान्तमा गइ सिता कन काम् अह्राया॥
सीते अदृश्य भइ लौ बस अग्नि माहाँ।
छाया सिता पनि बनायर छोड याहाँ॥68॥
एक् भिक्षुको रुप लि रावण आज आई।
हन्र्या छ दुष्ट तिमीलाइ स्वरुप् छपाई॥
चाँडो अवश्य तिमिले पनि रुप् छपाऊ।
एक् वर्ष सम्म छपि दिन् तिमिले बिताऊ॥69॥
यस्तो हुकुम् सुनि अदृश्य सरूपधारी।
छाया सिता पनि दुरुस्त गरिन् तयारी॥
सीता छपी कन रहिन् जब अग्नि माहाँ।
छाया सिता सँग बस्या रघुनाथ ताहाँ॥70॥
छायासिताजि अति चित्र विचित्र मानी।
खेलाउँ तेस मृगलाइ भनेर ठानी॥
बिन्ती गरिन् रघुपते मृग आज देऊ।
खेलाउँछू अधिक जाति छ पक्रि लेऊ॥71॥
इच्छा थियो प्रभुजिको पनि बिन्ति सूनी।
जानू असल् छ भनि यो मन भित्र गूनी॥
हात्मा धनू लि मृगका पछि आफु धाया।
लक्ष्मण्जिलाइ बस तीमि भनी अह्राया॥72॥
लक्ष्मण् रह्या तहिं सिता सित चौकिदारी।
मारीचलाइ प्रभुले पनि खुप् लघारी॥
मार्या तहाँ जब त दिक् बहुतै गरायो।
हे भाइ लक्ष्मण मर्याँ भनि छल् करायो॥73॥
छल्का वचन् सुनि सिताजि बहुत् डराइन्।
लक्ष्मण्जिलाइ तिमि जाउ भनी अह्राइन्॥
लक्ष्मण्जिले हुकुम यो सुनि बिन्ति पार्या।
हे माइ जो मृग थियो प्रभुले त मार्या॥74॥
तेस्तो कहाँ मृग थियो मृगरूपधारी।
मारीच राक्षस थियो र त आज मारी॥
ठाकुर्जिले तहिं गिराइ दिंदा करायो।
हे भाइ लक्ष्मण मर्याँ भनि छल् गरायो॥75॥
ज्योतिस्वरुप् तहिं भयो र मिल्यो हरीमा।
आश्चर्य भो सकललाइ तसै घरीमा॥
यस् दुष्टले पनि त यो गति आज पायो।
भन्न्या बुझेर सब जन् कन हर्ष आयो॥76॥
लक्ष्मण्जिका वचन सूनि सिता रिसाइन्।
आँसू बहुत् नजर देखि पनी खसाइन्॥
बोलिन् अवाच्य पनि लक्ष्मणलाइ ताहाँ।
भज्ली मलाइ भनि भन्छ कि आज याहाँ॥77॥
राम् देखि बाहिक अवर् त भजैन मैले।
तिम्रै अगाडि यहिं छोड्दछु देह ऐले॥
तिम्रो त चित्त अति दुष्ट रहेछ जान्याँ।
काम् देखि आज तिमिलाइ अति शत्रु मान्याँ॥78॥
यस्ता वचन् सुनि ति लक्ष्मणजी रिसाया।
बोलिन् अवाच्य भनि भित्र मनै चिताया॥
धिक् चण्डि येति भनि खुप् सित चट्पटाया।
वन्देविलाइ रखवारि तहीं खटाया॥79॥
सीताजिलाइ तहिं छोडि उठी गयाका।
दूरै हुँदा नजर देखि फरक् भयाका॥
देख्यो र रावण सिता सित जल्दि आयो।
सन्न्यासिको स्वरुप ली कन रुप् छपायो॥80॥
सन्न्यासि हुन् भनि बहुत् गरि भक्ित लाइन्।
पूजा प्रणाम् पनि गरी कन हर्ष पाइन्॥
बिन्ती गरिन् बस गुरो प्रभु फर्कि आई।
गर्नन् बहुत् प्रिय हजुर् कन चित्त लाई॥81॥
यस्ता वचन् सुनि सिता तिर दृष्टि दींदो।
को हो पती बुझुँ भनी कन गुह्य लींदो॥
सोध्यो सिता सित पती पनि जो छ को हो।
नाम् काम् समेत् तिमि बताउ न आज जो हो॥82॥
सीताजिले पनि भनिन् सब जो छ नाम् काम्।
सन्न्यासि जानि कन कत्ति न पारि छल् छाम्॥
सोधिन् तहाँ म पनि नाम्हरु सुन्न्न पाऊँ।
कुन् हो बताउ तिमिले पनि नाम ठाऊँ॥83॥
यस्ता वचन् सुनि सिता कन हर्न आँटी।
नाम् काम् तहाँ सब कह्यो रति भर् न ढाँटी॥
बोल्यो अवाच्य पति मानि मलाइ लेऊ।
राम्चन्द्रलाई तिमिले अब छाडि देऊ॥84॥
यस्ता वचन् सुनि अलिक् मनले डराइन्।
बात्ले त दुष्ट कन तृण् सरिको गराइन्॥
हे दुष्ट रावण अवश्य तँ आज मर्लास्।
ऐले जसै प्रभुजिका अघि याहिं पर्लास्॥85॥
यस्ता वचन् सुनि रिसायर जल्दि ऊठ्यो।
धार्यो स्वरुप् र अब हर्छु भनेर छूट्यो॥
बिस् बाहु दस् मुख शरिर् पनि शुद्ध कालो।
देखाइ सब् कन तरास् मन भीत्र हाल्यो॥86॥
सीताजीलाइ मन्ले चिह्िन कन मनमा मातृवत् बुद्धि गर्दो।
हात्ले मैले छुँदामा अनुचित छ भनी स्पर्श केही न गर्दो॥
आफ्ना नङ् सब् जमिन्मा धसि कन जमिनै जल्दि हात्ले उठायो।
सीताजीलाइ रथ्मा धरिकन दगुर्यो राम देखी छुटायो॥87॥
हा राम् लक्ष्मण यत्ति मात्र मुखले बोलेर साह्रै रुँदी।
तन् मन् रामविषे धरेर बहुतै विह्वल् निरन्तर् हुँदी॥
देख्या ताहिं जटायुले र उडि गै रथ् चूर्ण पारी दिया।
घोडा चूर्ण गराइ फेर् धनु समेत् टुक् टुक् गराई दिया॥88॥
रावण् झन् वीर थियो अति झपट गरी हातमा खड्ग लीयो।
काट्यो दूवै पखेटा रिस सित र तहाँ भूमिमा पारि दीयो॥
बाधा पाई जटायू पृथिवितल गिर्या फेरि रथ्को तयारी।
जल्दी पार्यो र सीता लिइ कन पुगि गो दुष्ट ता सिन्धु पारी॥89॥
आकाश्मा जब ऋष्यमूक गिरिका ऊप्र पुगीथिन् जसै।
आफ्ना सब् गहना फुकालि बलियो पोको बनाइन् तसै॥
राम् लक्ष्मण् कन यो दिउन् भनि तहाँ पोकै खसालिन् पनी।
सुग्रिव्ले त गुफा विषे धरि लिया कस्ले खसाल्यो भनी॥90॥
सीताजीलाइ लङ्का लगि कन मनमा मातृवत् बुद्धि गर्दो।
भित्री जुन् हो बघैंचा तहिं असल अशोक् वृक्षका नीच धर्दो॥
सेवा खुप् गर्न लाग्यो तर पनि मनमा माइले दुःख पाइन्।
हाराम् हा राम् जगन्नाथ् यहि वचन गरी राममा चित्त लाइन्॥91॥
मारीच् मारेर फिर्थ्या प्रभु पनि वनमा देखिया ताहिं भाई।
राम्ले ताहीं विचार्या मन मन इ कुरा भाइ पुग्नै न पाई॥
माया सीता बन्याकी अलिकति पनि याद् छैन ई भाइलाई।
साँचै सीता इनै हुन् भनि कन मनले भन्दछन् चाल् नपाई॥92॥
यो बात् बोल्दिन गुह्य राख्छु म पनी मानुन् सिता हुन् भनी।
सीता निश्चय हुन् भन्या त रिसले लड्नन् रिपू थ्यैं पनी॥
यस्तो निश्चय मन् भयो प्रभुजिको लक्ष्मण् पुग्या झट् तहाँ।
सोध्या श्री रघुनाथले किन सिता छोडेर आयौ यहाँ॥93॥
लक्ष्मण्ले पनि यो हुकुम् सुनि तहाँ बिन्ती गर्या क्या गरूँ।
जो दुर्वाच्य गरिन् सबै भनुँ भन्या सक्तीन मैले बरू॥
मारिच्का छलका वचन् सुनि बहुत् दुर्वाच्य बोलिन् जसै।
संझायाँ भरसक् अनेक् तरहले लागेन बिन्ती कसै॥94॥
फेर् उत्तर् प्रभुले दिया अनुचितै हो यो गर्यौ ता पनी।
छोड्नू कत्ति थियेन दुर्वचनले स्त्री हो भनी ता पनी॥
येती बात् गरि राम आश्रम विषे जल्दी कदम् ली गया।
देख्यानन् र सिताजिलाइ बहुतै शोक् गर्न लाग्दा भया॥95॥
की राक्षस्हरुले हर्या कि वनमा की दुष्टले पेट् भर्या।
एक् थोक् क्या त भयो अवश्य म गयाँ कुन् दुष्टका खेल् पर्या॥
वन्देवीहरुलाइ मालुम भया विस्तार् बताऊ यहाँ।
सीता मेरि पियारि देख्तिन म ता जान्छू सिता छन् जहाँ॥96॥
यस्ता रित् सित सोधि सोधि रघुनाथ् ज्ञानै स्वरूपी पनी।
जस्तो मानिस गर्छ सोहि रितले हा मेरि सीता भनी॥
फिर्थ्या तेस् वनमा बडा विरहले सोध्या न पाई उसै।
यै बिच्मा वनमा त रथ् र धनुका देख्या अनेक टुक् तसै॥97॥
भन्छन् लक्ष्मणलाइ भाइ तिमिले देख्यौ यहाँको कुचाल्।
अर्को आइ जिती लियेछ बिचमा मैले त देख्याँ कुचाल्॥
येती बात् गरि राम् अलिक् पर गया देख्छन् त पल्टी रही।
चिह्नैलाइ कठिन् जटायु कन ता दूवै पखेटा गई॥98॥
अज्ञान् कत्ति थियेन ता पनि तहाँ लीला नरैको गरी।
चिह्न्याको न नचिह्न्यै गरेर भगवान् भन्छन् अगाडी सरी॥
हे भाई धनु देउ दुष्ट मिलि गो मार्छू म बाणै धरी।
खान्या येहि रहेछ हेरि बुझियो पल्टेछ खुप् पेट् भरी॥99॥
सून्या बात् र जटायुले पनि हवाल् वृत्तांत बिन्ती गर्या।
सूनी पूर्ण दया भयो नजिक गै छाम्या र सब् ताप् हर्या॥
सीताको समचार् खबर् कहि तहाँ साम्ने जटायू पर्या।
स्नान् दाहा गरि मांसपिण्डहरु दी क्रीया प्रभूले गर्या॥100॥
सायुज्यै मुक्ति पाई स्तुति पनि बहुतै भक्ति रखेर लाई।
पौंच्या धाम्मा जटायू प्रभु पनि नरको ठिक्क लीला जनाई॥
वन् वन्मा फिर्न लाग्या विरह गरि गरी सोद्धछन् जाहिं ताहीं।
दोस्रा देख्न्या मिल्यानन् सकल वन ढुँढ्या एक् पनी काहिं नाहीं॥101॥
छातीमा मुख् भयाको सिर पनि न हुँदा नाम् कबन्धै रह्याको।
चार् चार् कोस्सम्म पुग्न्या दुइ अति बलिया दीर्घ बाहू भयाको॥
राक्षस् थीयो तहाँ एक् बसि बसि कन सब् हातले खैंचि खान्या।
तेसैका बाहु बिच्मा रघुपति पुगिया रोकियो मार्ग जान्या॥102॥
राक्षस्ले घेरियाको बुझि कन रघनाथ् भन्दछन् भाइलाई।
हे लक्ष्मण् आज देख्यौ अब बिच परियो निल्छ की हामिलाई॥
ठाकुर्जीका वचन् ई सुनि कन विनती ताहिं लक्ष्मण्जि गर्छन्।
हे नाथ् क्या डर् छ यस्को दुइ भइ दुइ हात् काटिद्यूँ याहिं मर्छन्॥103॥
येती बात् गरि हात् दुवै सहजमा काटी खसाल्या जसै।
राक्षस्ले पनि हात् गिर्या जब तहाँ आश्चर्य मान्यो तसै॥
सोध्यो आज म वीरका पनि सहज् हातै खसाल्यौ यहाँ।
को हौ क्या मनमा लियेर वनमा डुल्छौ छ जानू कहाँ॥104॥
उत्तर् श्रीरघुनाथले पनि दिया हाँसेर विस्तार् गरी।
सून्यो राम भनी तहाँ र मनले चिह्न्यो इनै हुन् हरी॥
ठाकुर्जी कन चिह्िनी खुस् अधिक भै विस्तार आफ्नू गर्यो।
हे नाथ् आज चिह्न्याँ हजुर्कन यहाँ पायाँ र सब् ताप् टर्यो॥105॥
ब्रह्मा देखि अवश्य पाइ वरदान् गन्धर्व हूँ ता पनी।
राम्रो छू भनि गर्व भो र ऋषि ता साह्रै नराम्रा भनी॥
हाँस्याँ केहि र अष्टवक्र ऋषिले राक्षस् भयेस् लौ भनी।
पैले स्राप गरी दिया पछि त फेर् मुक्ती बताया पनी॥106॥
राक्षस् भै कन फिर्दथ्याँ म रिसले सिर् इन्द्रजीले हर्या।
ब्रह्माको वरदान् थियो र म जियाँ इन्द्रादि सब् छक् पर्या॥
सीरै गै पनि यो जियो अब कसो गर्ला भनी खुप् दया।
आयो इन्द्रजिका र खान कन मुख् छाती विषे दी गया॥107॥
चार् चार् कोस तलक् समाउन भनी लामा त हातै दिया।
सो हात् आज गिराइ बक्सनु भयो याहीं तलक् ई थिया॥
जस्तो मुक्ति ति अष्टवक्र ऋषिले पैल्हे बताया यहीं।
तेस्तो ठिक्क भयो इ हात् गिरि गया मुक्ती त पायाँ यहीं॥108॥
क्या बात् धन्य रहेंछु आज म प्रभो आस्रा गर्याथ्याँ जती।
रातोदिन् रटना थियो चरणको भै गो शरण्को गती॥
खाडल् खुप् गहिरो खनेर उसमा यो देह मेरो धरी।
पोली भस्म गराइ बक्सनु हवस् जान्छू म संसार् तरी॥109॥
सीता पाउनको उपाय विनती गन्र्याछु साँचो गरी।
भन्न्या यो विनती सुन्या र हरिले पोली दिया खाग् गरी॥
सुन्दर् शुद्ध स्वरूप् धर्यो प्रभुजिले खुस् भै दिया वर् पनी।
भक्तीले बहुतै गर्यो स्तुति र त्यो पौंच्यो परम्धाम् पनी॥110॥
हे नाथ् सीताजि मिल्निन् अब तिमि शबरी छन् जहाँ ताहिं जाऊ।
साह्रै भक्ती छ तिम्रा चरणकमलको ताप तिन्का छुटाऊ॥
येती बिन्ती जगन्नाथ् सित गरि जब धाम् त्यो गयो राम फेरी।
आश्रम्मा पौंचि दर्शन् शबरि कन दिया खुप् कृपा राखि हेरी॥111॥
आसन् देखि उठेर जल्दि शबरी राम्का चरण्मा परिन्।
सक्भरको बहुतै पुजा गरि तहाँ हात् जोरि बिन्ती गरिन्॥
हे नाथ् हिन् कुलकी स्त्रिजाति म गरीब् जान्दीन तिम्रो स्तुति।
आधार् मात्र फगत् छ यै चरणमा यस्तै छ मेरो गति॥112॥
विस्तार् सब् गुरु देखि सूनि गुरुका आज्ञा मनैमा लिई।
कैल्हे देख्छु हजूरलाइ भनि खुप् तन् मन् हजूर्मा दिई॥
पूजा नित्य हजूरको गरि यहाँ ख्वामित् बस्याकी थियाँ।
हे नाथ् आज दया भयो हजुरको प्रत्यक्ष देखी लियाँ॥113॥
क्याले आज बहुत् प्रसन्न हुनु भो कुन् कर्म मैले गर्याँ।
योगीका मनले न भेटि सकिन्या मैले त दर्शन् गर्याँ॥
यस्तो बिन्ति सुनी दया बहुत भो हेतू प्रभूले कह्या।
उच्निच् स्त्री र पुरुष् विचार्दिन म ता खुस् हुन्छु भक्ती भया॥114॥
नौ साधन् कि त भक्ित छन् ति नवमा पैल्हे त सत्संग हो।
पैल्हे साधन पो भयो पनि भन्या बाँकी रह्याका ति जो॥
आठ् साधन्हरु हुन् ति ता क्रमसितै मिल्छन् असल् सङ्गले।
सत्को सङ्ग भया सबै बनि गयो क्या हुन्छ कुन् सङ्गले॥115॥
सत्को सङ् भै रह्याकी दिन दिन म उपर् भक्ित ठूलो भयाकी।
सज्जन्को सङ्ग पाई कन सब गुणमा पार पौंची गयाकी॥
देख्याँ मैले र दर्शन् दिन भनि खुसिले आज आफैं म आई।
दीयाँ दर्शन् र पायौ तिमि अधम भया पाउँथ्यौ क्या मलाई॥116॥
मुक्ती भो आज तिम्रो अब फजिति छुट्या खूसि भै आज जाऊ।
मेरी सीता कहाँ छन् कछु खबर भया त्यो पनी सब् बताऊ॥
हूकुम् जस्सै सुनीथिन् तब तहिं बिनती गर्दछिन् क्या बताऊँ।
सर्वव्यापी हजुर्ले बुझि त नसकिन्या एक् रती छैन ठाऊँ॥117॥
साँचो बिन्ती गर्याँ यो तर पनि नरको आज यो रूप धारी।
आज्ञा भो ता म बिन्ती पनि हजुर विषे गर्दछू काल् विचारी॥
सीता लङ्का विषे छन् अब त हजुरले भेट सुग्रीवलाई।
बक्स्या जावस् ति गर्नन् जति जति सब काम् बिल्कुलै पारलाई॥118॥
पम्पा भन्नू तलाऊ पनि नजिक हुन्या ऋष्यमुक् पर्वतैका।
टाकूरैमा ति बस्छन् अति फजिति सही दिन् बिताई सँधैंका॥
बालीको डर् हुनाले तहिं बहुत बस्या बालि जाँदैन ताहाँ।
बालीलाई न जानू भनि कन छ सराप् सब् गर्याँ बिन्ति याहाँ॥119॥
सुग्रिव् सीत मित्यारि गर्नु सब काम् हून्या छ सीता पनी।
मिल्निन् आज म देह खाग् गरि यहीं पोल्छू नजिक्मै भनी॥
बिन्ती पारि चिता विषे पसि शरीर् यो जो छ सब् खाग् गरिन्।
ठाकुर्को अति भक्ितले ति शबरी संसारसागर् तरिन्॥120॥
क्या दुर्लभ् रघुनाथ् खुसी हुन गया जात्की अधम् भै पनी।
श्रीराम्का अघि देह छाडि कन पार् पौंचिन् सहज् तै पनी॥
ब्राह्मण् भै कन भक्ित गर्दछ भन्या उस्का त झन् क्या कुरा।
जो कोही पनि भक्ित भो भनि भन्या योगी ति हुन्छन् पुरा॥121॥
हे लोक् हो रघुनाथका चरणको भक्ती छ मुक्ती दिन्या।
यो जानी कन कामधेनु सरिका राम् हुन् मनैमा लिन्या॥
क्या गर्छौ अरु मन्त्रतन्त्रहरुले छोडेर सब् राममा।
तन् मन् लाइ अवश्य जान मनले सार् मिल्छ यै काममा॥122॥