बैङ्कक–कोरिया यात्रा

नेपाली विकिपुस्तकबाट, स्वतन्त्र पुस्तकालय
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

विश्वको अति व्यस्त विमानस्थलमा गनिने बैङ्कक विमानस्थलमा जुलाई १५ ता. बेलुका ६.१० बजे अमेरिका प्रस्थानको क्रममा म ओर्लिएको थिएँ । राती २ बजे मात्र सिओलका लागि विमान उड्ने भएकोः हुनाले मैले आठ घण्टा बैङ्कक विमानस्थल कुर्नु पर्ने भयो । सर्वप्रथम मैले कोरियन काउन्टर पत्ता लगाउनु थियो र एकएक गरी सो काउन्टर कहाँ छ भन्ने कुराको जानकारीका लागि प्रयास गरें । प्रयास असफल भएपछि यात्री बस्ने ठाउँमा गएर केही क्षण थकाइ मार्ने प्रयत्न गरें । गोलाकार रूपमा रहेका अनगिन्ती काउन्टरहरू सबैमा कर्मचारी व्यस्त थिए । उनीहरूका अगाडि सम्बन्धित काउन्टरको बोर्ड थियो । घुम्दै हेर्दा त्यहाँ कर्मचारी बेगरका दुईवटा काउन्टर देखें । ती काउन्टरका अगाडि बोर्ड राखिएका थिएनन् । यिनै दुई खाली काउन्टरमध्ये एउटा कोरियन काउन्टर हुनुपर्छ भन्ने अठोट गरी त्यसै अगाडि राखिएको कुर्सीमा गएर बसें । म बसेभन्दा केही पर तीनजना नेपाली युवक बीचमा कोलाको चिप्स राखेर धमाधम खाइरहेका थिए । एक मनले भन्यो–‘थाइल्याण्डमा नेपाली भेट्नु भनेको आफ्नै दाजुभाई भेट्नु जत्तिकै हो’ तर अर्को मनले त्यो कुराको प्रतिवाद गर्दै भन्यो बैङ्कक भनेको यस्तो खतरा ठाउँ हो जहाँ नेपालीले नेपालीलाई नै नराम्रोसँग ठग्छन्’ । मेरो मन प्रकाशको गतिमा सिलिगुडी (भारत) पुग्यो जहाँ अनेकौं पटक त्यहींका नेपालीले नेपालबाट जाने नेपालीको धोती न टोपी पारेका थिए ।

“तपाईंहरू कताबाट आउनुभएको अनि कता जाने,” मैले डराउँदै डराउँदै सोधें । तीनजनामध्ये उमेरमा अलिक सानु युवकबाट उत्तर आयो, “जापानबाट आएका काठमाडौं जाने” । मैले पनि आफ्नो गन्तव्य डराउँदै भनिदिएँ । उनीहरूले त्यहाँ चौधपन्ध्र घण्टा कुर्नुपर्ने रहेछ । स्वर्गका मुखेन्जी इन्द्रको बात भयो मेरो आठघण्टे कुराइ । कुर्ने बिमारबाट निकै छुट्कारा पाएको अनुभव गरें मैले । ‘लिनुहोस् न चिप्स् । हामी त अगाइसक्यौं, उही सानु केटाले भन्यो । उसको निश्छल एवं निष्कपट आग्रह देखेर उसको आग्रह टार्न सकिन, मैले पनि उनीहरूको साथ दिएँ । सर्वप्रथम खाएको कोलाको चिप्स, त्यो पनि पाकेका कोलाको । अत्यन्त स्वादिष्ट, अत्यन्त सुन्दर, गुलियो र रमरम नुनिलोको मिश्रणले यात्राको थकाइ एकछिन भएपनि मेटिएको अनुभव गरें मैले । खाइसकेपछि ती युवकहरू अलिक परको आराम कुर्सीमा गएर पल्टिए । एकैछिनमा ती केटाहरू ढुसुढुसु निदाएको देखेर मलाई आफ्नो जन्मजात प्रवृत्ति ‘ईष्र्या’ आङ्मा चढ्यो; तर के गर्नु म उनीहरूले गरेको प्रगतिमा पुग्नसक्ने स्थितिमा थिइन । मेरो हातमा दक्षिण कोरिया र अमेरिकाको बोर्डिङ्गपास नपरुन्जेल मैले तनन (टेन्सन)बाट छुट्कारा पाउने कुरै थिएन; किनभने तनन र निद्रा शान्ति संझौताभन्दा अघिका विद्रोही र सरकारी सेना जस्तै हुन् । यिनीहरूलाई एक शिविरमा बस्ने कल्पनासम्म पनि गर्न सकिदैन ।

मनले ठ्याम्मै मानेन र फेरि नजिकैको काउन्टरमा गएर सोधें, ‘उड् यु माइन्ड टेलिङ्ग मि द ओपनिङ्ग टाइम् अफू कोरियन काउन्टर् ?’ थाई युवतिले भनेको कुरा सबै प्रष्ट नबुझे पनि ‘कोरियन काउन्टर, एलभन ओक्लक्’ भनेको छर्लङ्ङ बुझें । अब भने निकै ढुक्क भई हाते बाकस सिरान लगाई एकछिन ढाड सोझ्याएँ । अझ पनि मन सशङ्कित नै छ त्यसैले परदेश गएको प्रेमीको आगमनको समाचार पाएकी प्रतीक्षारत प्रेमीकाझैँ घरि उठ्ने, घरि बस्ने, घरि ढल्कने र घरि हाते बाकसबाट केही खाजा झिकेर खाने काम भइरहन्छन् । मेरा मानससागरमा पुञ्जीभूत भावलहरीहरू बारंबार दिशा बदलेर छचल्किरहन्छन् । लहरभित्र डुब्न नदिइकन कुनै बेला पूर्वी तटमा हुत्याइदिन्छन् त कुनैबेला पश्चिमी तटको उराठलाग्दो बगरमाथि लडाइदिन्छन् । म एकाएक झस्कन्छु र घडीमा आँखा घुमाउँछु । काम गर्ने कामदारका निमित्त ज्यादै निष्ठुरी भई बिस्तारै हिंड्ने घडीको सूई मेरालागि पनि सोही गतिमा हिंडिरहेको छ; सायद उसले सोचेको होला यो पनि उही ड्याङ्को मुला हो । अमेरिका पुगेपछि उतै ज्यामी काम गर्छ, फर्कंदैन । यो घडीको एकलकाँटे सोचाइ मात्र थियो, म त्यसो किन गर्थें । आफ्नो कर्तव्यबाट कहिल्यै च्यूत नहुने भएकाले होला बल्लबल्ल घडीको सूईले १०.३० बजाएछ । मजस्ता अरु धेरै यात्री त्यहाँ रहेछन् भन्ने कुरा त्यसबेला मात्र थाहा भयो जब मेरो दृष्टि काउन्टर अगाडि लाम लागेर उभिएका यात्रीमाथि पर्यो । अरुहरूझैं म पनि हातमा राहदानी र टिकट लिएर लाममा खडा भएँ । आफ्नो पालो आएपछि कोरियन अध्यागमन अधिकारीले एकएक गरी मसँग सम्बन्धित कागजातहरू हेर्यो । कम्प्युटर खोलेर मेरो गन्तव्यको ठेगाना सबै भर्यो । यसो गरिरहेकै बेला अमेरिकन कारझैं बगिरहेका मेरा भावनाहरूभित्र एक छिन डुबुल्की लगाएँ । मान्छे मरेर गएपछि चित्रगुप्तले यसरी सोधसाध, केरकार गरी स्वर्ग या नरक कतातिर पठाउनुपर्ने हो पठाउँछ होला । सायद म पनि जिउँदै भौतिक युगको स्वर्ग भनेर चिनिने अमेरिका जाँदैछु र चित्रगुप्तको तराजुमा चढिरहेको छु । त्यस चित्रगुप्तले मलाई दुईवटा बोर्डिङ्ग पास दियो– बैङ्कक–सिओल र सिओल–डलास (वाशिङ्गटन डी. सी.) । त्यसपछि मेरा मानसिक छालहरू केही मत्थर भए । बोर्डिङ्ग पासमा बैंङ्कक–सिओलको गेट नं. ५४ थियो । अध्यागमन अधिकारीको इसारामा म स्वचालित भर्याङबाट माथिल्लो तलामा चढें । त्यहाँ पुगेपछि मैले आफूलाई नयाँ संसारमा प्रवेश गर्ने व्यक्तिका रूपमा पाएँ । हाम्रा धर्मशास्त्रमा लेखिएअनुसार स्वर्ग जाँदा बाटामा भेटिने सुरम्य नगरी यही हो कि जस्तो लाग्यो । महाराज युधिष्ठिर सजीवन स्वर्ग जाँदा बाटामा अत्यन्त सुन्दरी नगरबधू भेटिएका थिए र तिनले त्यसै नगरमा उनीहरूसँगै बस्न आग्रह गरेका थिए भन्ने पढेको थिएँ । त्यसो होला कि भन्ने डरले मैले निकै सतर्कता अपनाउनु पर्यो । त्यस विमानस्थलभित्रका बजारहरूमा यत्रतत्र अर्धनग्न सुन्दरीहरू कोही विपरीत लिङ्गीसँग, कोही समलिङ्गीसँग अनि कोही एकाकी रूपमा विचरण गरिरहेका देखिन्थे तर नगरबधू र नगरयुवति छुट्याइरहने कार्य मसँग सम्बन्धित थिएन । त्यहाँको अत्याधुनिक प्रविधियुक्त बजार व्यवस्थामा समाहित भएका विविध अत्याकर्षक दोकानहरू र त्यहाँ निर्बाध विचरण गर्ने नयाँ विश्वका मान्छेहरूलाई भारतको कटिहारमा कुल्लीहरूले जबर्जस्ती रेलका डिब्बाभित्र यात्रीहरू कोचरे जस्तै निदाउँरा आँखाभित्र कोचर्दै म अघि बढिरहेको थिएँ, मसँग सम्बन्धित ट्रान्जिट् गेट नं. ५४ को खोजीमा । महाभारत कालमा अर्जुनपुत्र अभिमन्युले लडाइँको चक्रव्यूह भेदन गरेझैं बहादुरीका साथ म अघि बढिरहेको थिएँ । म अझ अघि बढ्छ वाण (→) ले १—७७ गेट देखाउँछ । १—७७ भित्र पस्छु, केहीबेर अघि बढ्छु दुईतिर देखाउँछ बाणले — एकालितर १—२०, अर्कातिर २१—७७ । २१—७७ पछ्याउँदै केही पर पुग्छु । बीचबीचमा मेरा दायाँ र बायाँपट्टि विभिन्न भेषमा सजिएका नरनारीहरू, युवायुवतिहरू आआफ्ना इच्छानुसार सामान किन्न मस्त देखिन्छन् । कोही भने मस्तसँग होटेल, र चमेना घरमा स्वाद लिईलिई खाइरहेका हुन्छन् । मेरो अनुमानमा यस विमानस्थलमा प्रत्येक चौबीसघण्टामा लाखौं यात्रीहरूको आवतजावत हुन्छ ।

अझै पर पुगेपछि २१, २२, २३ एकातिर अनि २४—७७ अर्कातिर परेको देखियो । अझै पनि मैले आफ्नु नम्बर भुलेको छुइन त्यसैले २४—७७ पछ्याउँछु एउटा अबोध बालकले आफ्नो अभिभावकलाई पछ्याएझैं । अगाडि बढ्ने क्रममा फेरि देखिन्छ २४, २५, २६, २७ दायाँतिर अनि २८—७७ बायाँतिर । परेड खेल्ने सिपाहीझैं म बायाँ घुम्छु र अलिक पर पुग्न नपाउँदै ६१–७७ लाई दायाँ देखाइन्छ र २८–६० बाँयातिर, म त्यतै हुत्तिन्छु । हिंड्दा हिंड्दा खुट्टा कटकट भइसकेको छ । तर बारहात नाघेर भित्तामा हार्दा आफ्नै हविगत हुन्छ भन्ने बिर्सिएको थिएन । लाटाले पापा हेरेझैँ दुवैतिर हेर्दै लुरुलुरु बढ्छु अधि । त्यहाँ पनि सङ्केत दुवैतिर देखिन्छ । म ३६—५९ तिर लाग्छु । सीधा अगाडि ‘४५—५९’ मा आँखा पुग्छन् । अब चाहिं नेरनेर आइए छ कि जस्तो लाग्छ किनभने क्रमशः बजार क्षेत्र पातलिंदै गइरहेको देखिन्छ । ४५—५९ बाट म भित्र पस्न खोज्छु; तर भर्खरका थाई युवतिहरूले सरासर भित्र पस्न दिदैनन् । कारण बुझ्दा त्यहाँ सुरक्षा जाँच हुँदो रहेछ । उनीहरूको सङ्केत अनुसार पथरी भएको सिकिस्त बिरामी जस्तै मेरो हाते बाकसलाई एकसरे मसिनमुनि सुताएर म अलिक अघि बढ्छु । दुईवटी युवतिले मेरो सुरक्षा जाँच गर्छन् । एउटीको इसारामा म आफ्नो शिरको टोपी र पाउको जुत्ता खुरुक्क फुकाल्छु र आनेकाने नगरीकन दुवै हात माथि उठाउँछु छापामार लडाकुका अगाडि आत्मसमर्पण गरिरहेको एउटा निरीह प्रहरी झैं । स्वचालित बग्ने फिताबाट मेरो बाकस निकै पर पुगेर अडिएको देख्छु । अघि बढेर बाकस समाउँछु । एक्सरे रिपोर्टमा नेगेटिव स्टोन देखिएको एउटा बिरामी समान बाकस निकै हलुका भएको पाउँछु ।

सुरक्षा जाँच सकेर पुनः अघि बढछु म । दायाँतिर रहेको गेट नं. ५४ देखेपछि हराएको चीज प्राप्त भएझैं यात्री प्रतीक्षालय गएर ढुक्क भई बस्छु । मनमनै दक्षिण कोरिया पुगिने भइयो अब चैं भनेर एकछिन भए पनि कल्पनामा रुमल्लिन्छु । जहाज चढ्न प्रतीक्षारत यात्रीहरूले खचाखच त्यो कक्ष वातानुकुलित रहेछ । कोही परिवारसहित, कोही युगल अनि कोही साथीसँगीका साथ बसेका यात्रीहरूका बीचमा सायद फगत एक्लो म मात्र थिएँ । सबै आआफ्ना मस्तीमा भएको देख्छु म । एक जोडी गोरा जातिका युवक र युवति पनि त्यसै प्रतीक्षालयमा सुहागरातको पूर्वाङ्गमा संलग्न पाउँछु । अर्धनग्न युवतिले युवकको अधरामृत पान गरिरहेको देखेर कवि सिद्धिचरण श्रेष्ठको ‘उर्वशी’ खण्डकाव्यका यी हरफहरू एकाएक स्मृतिपटमा टल्किन्छन्—

“काम उकास्ने वातावरण छ

नीरव आधी रात

सबेग अर्जुनलाई बहाउन

इन्द्रिय सुखको बाढ ।”

नेपालको नागरिकता जस्तै उनीहरू वंशज, जन्मसिद्ध, अङ्गीकृत, अस्थायीमध्ये कुन किसिमका लोग्नेस्वास्नी हुन् भन्ने कुरा मेरो चासोमा समावेश नभएकाले यहाँ म देखिजान्ने मात्र बनेको छु । त्यस कक्षको समग्र विहङ्गावलोकनपछि कल्पनाको वायुपङ्खी घोडामा सवार भई एकछिन भएपनि विचरण गर्छु । मेरी अर्धाङ्गिनी धर्मा टुप्लुक्क मेरा अगाडि आइपुग्छिन् । उनले पनि मेरो अधरामृत पान गरेर त्यो युवतिको सेखी झारिदिए हुन्थ्यो लागेर एउटै कुर्सीमा सँगै बसाउँछु र ती युवक र युवतिले सुन्ने गरी मेरो दुई हरफ कविता पढ्छु—

धरोधर्म बूढो छु भन्ने भएन,

गयो जीवनै बैंस जाँदैगएन ।

कविता सुनाइसकेपछि धर्माले झोलाबाट ऐना झिकेर दिन्छिन् र हाँस्तै हेर्ने संकेत गर्छिन् । ऐना हेर्ने बित्तिकै म आफूलाई साठी वर्षे बूढो पाउँछु । ‘छि !’ भनेर ऐना हटाउँदा त आफू ‘पुनर्मुसिको भव !’ एकातिर रातको बाह्र बजिसकेको छ भने अर्कातिर लगभग चार/पाँच किलोमिटर जति पैदल हिंडेर शरीर लखतरान, हत्तोहरान भएको छ । कोही नबसेको—मजस्तै पीडाबोधले सताइएको एउटा लामु आराम कुर्सीमा गएर बस्छु । मेरो एकल साथी हातेबाकसले मेरा निम्ति सञ्चय गरी राखेको अलिकति काजू र किस्मिस चपाउन थालेपछि आफ्नो सामन्ती मुखको स्वार्थीपना चस्स बिझाउँछ कट्टुसको काँडो पैतालामा बिझाएजस्तै । गोडाहरू निरन्तर दुःख गर्छन्, आँखाहरू दिनमा मात्र होइन राती आधारातसम्म पनि टुसुक्क नबसी आफ्नो कार्य गरिरहन्छन् तर मुखलाई नै हसुर्न चाहिने । बिचारा गरीव किसानहरू दिलो ज्यान दिएर खेती गर्छन् तर कमाइ भित्र्याएर मुख मिठ्याउने चाहिं सामन्तीहरू । म आफ्नो मुखलाई बराल महाजनसँग तुलना गर्छु । पहाड, हाम्रो गाउँका बराल महाजनले प्रत्येक वर्ष एक हज्जार मुरी धान थन्क्याउँथे । उनको खेती गर्ने सबै गरीव किसान हुन्थे । तीमध्ये एकजनाको कथा र व्यथामा मेरा भावनाहरू केन्द्रीकृत हुँदै छचल्किन्छन्— अकिञ्चन भएकै कारण बंमहादुर लिम्बू बराल महाजनको खेत कमाउन बाध्य थियो । पच्चीस पाथीको बिउजाने खेतमा मरेर पचास मुरी धान फल्थ्यो । पैंतीस मुरी ठेक्का तिरेर उभ्रिएको अलिकति धान पनि महाजनबाट खाएको धानको पच्चीसा ब्याज र त्यसको स्याज तिर्दा सबै सकिन्थ्यो । वर्षदिनसम्म दिनरात नभनी काम गर्नेको हातमा शून्य ! के गर्नु बराल महाजनको प्रतिनिधि भएकै कारण सामन्ती मुखलाई भूमिसुधार लगाउँ भने बंमहादुरका प्रतिनिधि हात, गोडा जस्ता अवयवहरूले कामै गर्न नसक्ने पो हुन् कि !

निद्राले अतपन्त पारिसकेको हुनाले आफ्नो निर्जीव एवं मूक सहयात्रीको काखमा टाउको राखेर ढल्किन्छु र भुसुक्कै निदाउँछु पनि । १२.३० मा निदाएको १.३० मा बिउँझिएँछु धन्न । १.४० भित्र जहाजमा पसिसक्नुपर्ने, अब दश मिनेट मात्र बाँकी छ घडीमा । १५० जना विद्यार्थी भएको कक्षामा शिक्षकले बेर्नु निस्किउन्जेल कराएर नाम बोलाए झैं माइकबाट मेरो नाम बोलाउँदै रहेछ । हस्याङ्फस्याङ् गर्दै उठछु र हातमा बोर्डिङ्ग पास लिएर नजिकैको काउन्टर अगाडि गएर उभिन्छु । कक्षा सुरुहुनासाथ पिसाब फेर्न बाहिर गएको विद्यार्थी कक्षा सकिने बेलामा ‘मे आइ कम इन सर ?’ भन्दै नीलो मुख लाएर ढोकामा उभिएझैं भएको छु म । काउन्टरमा भएका कोरियाली युवतिमध्ये एकजनालाई बोर्डिङ्ग पास दिएपछि अर्धकट्टी फर्किन्छ तुरुन्त । ती युवतिको सङ्केत अनुसार म हतार हतार साँगुरो चेपबाट केही पर हुँदै सुटुक्क के.इ. ६५४ जहाजभित्र प्रवेश गर्छु । स्वागतार्थ प्रवेशद्वारमा बसेकी रूपवती परिचारिकाको अभिवादनले एकछिन ‘अहम्’ को ज्वारभाटा उर्लन्छ । तेस्रो जनआन्दोलन पूर्वका राजाले राजनेताको धनुष्टङ्कारे जदौ फिर्काएझैं ठाडो घाँटी लगाएर परपर हेर्दै गम्भीर मुद्रामा परिचारिकाको अभिवादन फिर्काउन खोज्छु तर सक्दिन किन कि म हाँसीहाँसी सयौं विद्यार्थीहरूको नमस्ते फिर्काउने एउटा सामान्य शिक्षक हुँ त्यसैले परिचारिकाको अभिवादनको ब्याजसहित चुक्ता गर्न पछि पर्दिन म । अर्की परिचारिकाको सङ्केत पाएर म मेरो सिट नं. ५१ ‘जे’ तिर अघि बढ्छु । हेर्छु मेरो सिटबाहेक अन्य सबै सिटमा यात्रीहरू बसेर पेटी कसिसकेका । काठमाडौं—काँकरभिटा गर्ने बसमा भए आफ्नो सिटमा अर्कै बसिसकेको हुन्थ्यो; त्यतिमात्र होइन एकपटक काठमाडौंबाट विराटनगर जाने जहाजमा मेरो ठाउँमा अर्कैव्यक्ति बसेर गएको थियो, म नीलो न हरियो भएर जहाजबाट ओर्लिएर भोलिपल्टको जहाजमा गएको थिएँ । दलालहरूले जहाजको सिटभन्दा बढ्ता टिकट बिक्री गरिदिन्छन् र यात्रीलाई फसाद पार्छन् । म पनि थपक्क सिटमा बसेर पेटी कस्छु । त्यो सिट पनि झ्यालकै छेउमा थियो तर घाम मभन्दा अघिनै अमेरिका पुगिसकेकाले रमिता हेर्ने सौभाग्य मिलेन ।

काठमाडौं—बैङ्कक गर्ने थाई विमानभन्दा अझ विशाल । कुर्सी रखाइएको तरिका थाईको जस्तै— दाहिनेपट्टि दुईदुई कुर्सी र बाटो, बीचमा पाँचपाँच कुर्सी र बाटो अनि देब्रेपट्टि दुईदुई कुर्सी गरी एक लहरमा नौनौ वटा कुर्सी रहेछन् यसमा पनि । थाईभन्दा निकै ठूलो भएको हुनाले यसमा तीनसय पचहत्तर यात्री सजिलै अटाउन सक्थे । यात्रीहरूलाई सूचना र मनोरञ्जन प्रदान गर्न यत्रतत्र राखिएका भिडिओ सेट र राडारको उपयुक्त व्यवस्थाले पुष्पक विमानको आभास पाउन सकिन्थ्यो । राती दुई बजे सो यान सिओलका लागि उड्यो । यानसँगै म पनि भावहरूको अजस्र प्रवाहमा डुबुल्की मार्दै महासमुद्र माथिको सुदूर आकाशमा कतै हराइरहेको अनुभव गर्छु । केही नसंझौं भनी मनलाई दबाएर राखेपनि फुत्त भाग्छ मन । कहिले भट्टेडाँडामाथि बज्रिएको पाकिस्तानी जहाज कहिले होक्काइडो माथि आफैं बिस्फोट भएको जम्बो जेट, अनि कहिले घ्याम्पे डाँडामा ठोक्किएको थाई यान संझिएर रोमाञ्चित हुनपुग्छु । यत्तिकैमा अगाडिको भिडिओ सेटमा यान चालीस हज्जार फिटमाथि उड्दैछ भन्ने सङ्केत देखिन्छ । अब डाँडाकाँडामा ठोकिएर दुर्घटनामा नपरिने कुरामा विश्वस्त भएपनि महासमुद्रमा परिएला कि भन्ने संत्रास भने अझै विद्यमान छ । मेरो छेउको कुर्सीमा बस्ने जापानी अनुहार भएका व्यक्ति उठेर निकैबेर कतै हराउँछन् र टुप्लुक्क आइपुग्छन् । उडान समयभरि नै कोरियन लोकगीत र राष्ट्रिय गीतले जहाज गुन्जायमान हुँदा चराहरूको भाषा नबुझे पनि उनीहरूको बोली कर्णप्रिय भएझैँ मलाई पनि राम्रै लाग्छ ।

पूर्व उडानमा भन्दा अझ उत्कृष्ट पेयपदार्थहरू, जलपान र शुद्ध शाकाहारी खानाको समुचित व्यवस्थाले पहिलो पल्ट ससुराल गए भन्दा कम आनन्द भएको थिएन । छ, सात घण्टाको उडान भएपनि बीचमा दुइघण्टा जति निद्रालोकमा विचरण गर्ने मौका प्राप्त भएको हुनाले उडान समय पट्यारलाग्दो थिएन । जुलाई १६, २००६ का दिन बिहान स्थानीय समय अनुसार ठीक ८.२० बजे कोरियन विमानले आफ्नो माइतमा पदार्पण गर्यो । इन्चिअन विमानस्थलमा विमान अवतरण गर्नुभन्दा दश मिनेट पहिले मेरा दुईवटै आखाँले फुत्रुक्क हामफाले कोरियन महासागरमा । त्यहाँ उनीहरूले साठीवर्षे कचेरा साफ गरे शुद्ध नुनिलो पानीमा । अश्रुदानी पूर्ण भयो फेरि । ‘धन्य आँखा’ ! आफ्नै आँखाले धन्यवाद पाए, फूलमाला पाए, सम्मान पाए, दोसल्ला पाए अनि पाए पुरस्कार समेत । आफैँले स्थापना गरेको पुरस्कार सम्मान आफ्नै मान्छेलाई दिन पाउँदा खुसी हुने पुरस्कार–संस्थापकभन्दा पनि बढी खुसी भएको अनुभव गर्न पाएँ मैले । न्यूनतम पैतालीस वटा ट्रान्जिट गेट भएको सुन्दर एवं भव्य विमानास्थलभित्र सोद्धै खोज्दै आधा घण्टामा आफ्नो अमेरिका पुग्ने २१ नं. गेटकोः प्रतीक्षालयमा पुग्दा त्यहाँको प्रातः ८.५० भएको थियो ।