प्रयोगकर्ता:Ganesh prasad ojha

नेपाली विकिपुस्तकबाट, स्वतन्त्र पुस्तकालय

काल महिमा कविशिरोमणी लेखनाथ पौडेल

भाका, भुल, क्षमा, दया र ममता सन्तोष जान्दैन त्यो । ईन्द्रै बिन्ती गरुन् झुकेर पदमा त्यो बिन्ती मान्दैन त्यो ॥ थुप्रोमा उधिनी मिठो र नमिठो रोजेर छान्दैन त्यो । खाता जाँची सबै दुरुस्त नबुझी बिर्सेर हान्दैन त्यो ॥

राजा, रंक सबै समान उसमा वैसम्य गर्दैन त्यो । आयो टप्प टिप्यो लग्यो मिति पुग्यो टारेर टर्दैन त्यो ॥ लाखौं औषध अस्त्र शस्त्र महिमा देखेर डर्दैन त्यो । ब्याधा तुल्य लुकेर हिंड्दछ सधैं मारेर मर्दैन त्यो ॥

आँसुको दहमा नुहाउँछ चिसो पानी रुचाउन्न त्यो । सुख्खा जर्जर अस्थिपञ्जर बिना शैया बनाउन्न त्यो ॥ मैलो भष्म शिवाय अंगभरमा केही लगाउन्न त्यो । हाहाकार सरी मिठो अरु कुनै संगित गाउन्न त्यो ॥

जो जो मिल्छ सुलुक्क निल्छ मुखमा हाली चपाउन्न त्यो । थाल्यो च्वाम्म सबै चपाउन भने आहार पाउन्न त्यो ॥ जत्ती निल्छ उति उकेल्दछ पनि केही पचाउन्न त्यो । यै चालासित कल्प कल्प कहिल्यै खाइ अघाउन्न त्यो ॥ (समाप्त)