नातिको न्वारान बाजेको हैरान

नेपाली विकिपुस्तकबाट, स्वतन्त्र पुस्तकालय
Jump to navigation Jump to search

छोरी कृष्णा र ज्वाइँ गोपी अमेरिकाको भर्जिनिया उड्ब्रिजमा बसेको नाता र छोरीबाट अर्को जयजन्म हुने निहुँबाट मैले अमेरिकाको प्रवेशाज्ञा सजिलै पाएको थिएँ । डाक्टरले छोरीलाई प्रसूतीको समय दिएको थियो जुलाई १८, २००६ को । यो समय ठीक भएको भए जुलाई १५ मा उडेर १६ मा पुग्नेथिएँ म; तर म उड्नै नपाई ११ तारिखकै दिन नाति अमृत जन्मियो । ‘गर्भको बात र सगरको बात कसैले पनि जान्दैन’ भन्ने उखान अमेरिका जस्तो ठाउँमा पनि सत्य सावित भयो ।

१६ ता. म अमेरिका पुगें । म पुग्दा नाति ६ दिनको भइसकेको थियो । त्यसको पाँच दिनपछि जुलाई २१ का दिन नामकरण संस्कार (न्वारान) गर्नुपर्ने भयो । अमेरिकामा हिन्दू मन्दिरबाहेक पुरोहित या पण्डित पाउन गाह्रो छ । मन्दिर टाढा छ भने सुत्केरीलाई त्यहाँ लान असंभव हुन्छ । त्यसैले अधिकांश व्यक्तिहरू डेरैमा लटरपटर गरी नाम राख्छन् । कुनै कुनै नेपालीले फोनबाट नेपालमा पुरोहितको बन्दवस्त गरी फोनैबाट बच्चाको न्वारान गर्ने काम गर्दछन् । २० डलरको फोन कार्डबाट मुख्यमुख्य कुरा गर्दा झन्नै भ्याउन पनि सकिन्छ । यसो गरेर पनि आफ्नो संस्कृतिको संरक्षण गर्नु राम्रो कुरा हो ।

तारानाथ शर्माले आफ्नो संस्कृति जोगाउन अमेरिकामा नेपाली शैलीको बिहे गराउन जोड गरेका थिए । उनले आफ्नो ‘पातालप्रवास’ भन्ने पुस्तकमा यसरी लेखेका छन् “मलाई बिहेको विधि जम्मै आउँदैन । म पुरोहित होइन । त्यसो भएतापनि मैले वेदका केही श्लोक सानैमा घोकेको थिएँ । म तिनको पाठ गर्नेछु । .............. उनले घोषणा गरेपछि जब म पाठ गर्न थाल्नेछु औठी साटासाट गर्ने, माला, सिन्दुर र पोते लगाइदिने नेपाली चलनहरू बेहुला र बेहुलीले क्रमैसित आपैंm गरून् । भेला भएका सबै अमेरिकाली पाहुनाले हाम्रो सांस्कृतिकताको सानै भए पनि परिचय पाउने छन् ।” (‘पातालप्रवास’ पृष्ठ ४८) बिहेकै सन्दर्भमा शर्मा अगाडि लेख्छन् — “सल्लाहअनुसार मैले धनसमशेरको अग्निस्थापनाबाट दुई तीन पृष्ठको पाठ गड्गडाएर गरें र त्यति नै बेला वल्लभ र आशाले एकअर्कालाई माला लगाइदिनुभयो, परस्पर औंठी साटासाट गर्नुभयो र वल्लभले आशालाई सिउँदामा सिन्दुर र गलामा पोते लगाइदिनु भयो । मैले वेदपाठ पनि सक्नु नेपाली बिहेको विधि पनि सकियो ।” (पूर्ववत् पृ. ५०)

सात समुद्रपारि पुगेपछि थाहा भयो आफ्नो देश र आफ्ना संस्कृतिहरू झल्झली आँखाका अगाडि नाच्न थाल्दा रहेछन् । मसँग कर्मकाण्डको पुस्तक थियो, पढ्न पनि अलेलि जानेकै थियो भने आफ्नो प्रियतम संस्कृति छोड्ने कुरै भएन । २१ ता. बिहानैदेखि ज्वाइँ गोपी र म न्वारानका निमित्त जुट्यौं । नामकरण संस्कारका लागि नभइनहुने गोमुत्र बाहेक अरु सबै कुरा जुटिसकेको थियो । गोमुत्र पाउनु त्यहाँ संभव थिएन । अमेरिकामा पशुपालन गाउँ र शहरदेखि अन्यत्र, निकै टाढा गरिंदो रहेछ । एकान्त घाँसे भूमिमा पशुपालन गरिने त्यहाँको व्यवस्थाले मलाई पचास वर्षअधिको इलामको संझना भएको थियो । म आठ, दश वर्षको छँदा इलामको माईपोखरीदेखि उत्तरतिरका विशाल खर्कहरूमा त्यसरी नै गोठ राख्ने चलन मैले प्रत्यक्ष देखेको थिएँँ । घाँसैघाँस भएका खर्कहरूमा गोठ हुन्थे र निर्बन्धरूपमा गाईवस्तुहरू चरेर बेलुका फर्कन्थे गोठमा । गाईवस्तुहरूलाई साँच्चिकै लोकतन्त्र आएको थियो त्यसबेला । दिनभरि चरनमा अघाएर आएपछि आपैंm ढाटभित्र पस्थे वस्तुहरू । गलामा बन्धन नभएपछि पशु स्वतः बलियो हुँदोरहेछ, गाईहरूले धेरैधेरै दूध दिंदा रहेछन् । हाल अमेरिकाका गाइवस्तुहरू त्यही ५० वर्षअधिको सत्य युगमा रहेछन् ।

मसँग शालिग्राम (मातृभूमिको ढुङ्गो) र शप्तकोशी गङ्गाको पवित्र जल थियो । आफ्नो देशको पवित्र जल अचाउनु र देशको प्रतीक ढुङ्गो पुज्नु देशभक्तिको द्योतक हो । विदेशमा यसको सयौं गुना महत्त्व हुँदो रहेछ, मैले अनुभव गरें । त्यही मैले लगेको पवित्र जलले गोमूत्रको काम गर्यो त्यहाँ ।

अमेरिकामा आफ्नै नातिको न्वारानमा पुरोहित हुनपाउनु मेरालागि एउटा सौभाग्य नै थियो । यहाँ भए भरसक आँगनमा पीठाको रेखी हालेर अग्निस्थापन गरी नामकरण संस्कार सम्पन्न गरिन्थ्यो; तर अमेरिकामा त्यस्तो सम्भव थिएन । छोरी ज्वाइँ बसेको ठूलो एपार्टमेन्ट छ । त्यही एपार्टमेन्टको एउटा कोठामा नामकरण संस्कार गर्ने निधो भयो । अग्निस्थापनाको विधिविधान अनुसार त्यहाँ पनि पीठाको रेखी हालेर यज्ञस्थलको कल्पना र सोअनुसार निर्माण पनि गरियो । स्टिलको एउटा भाँडामा माटो भरी बीचमा राखेर हवन वेदी तयार गरियो । अग्निको विधिपूर्वक स्थापना र हवन नभई नामकरण संस्कार पूर्ण नहुने भएकाले पनि त्यसो गर्नु परेको हो । एपार्टमेन्टको छेवैमा जङ्गलभित्र चाहेअनुसार दाउरा पाइने हुनाले चिर्नु, काटनु केही परेन । भाँचेर नै काम चलाइयो । यसरी जङ्गल नजिकै नहुँदो हो त हवन गर्ने कार्य असम्भव नै हुनेथियो, तर राम्रो भयो, चिताएजस्तै ।

अग्निस्थापनापछि हवन प्रारम्भ भयो । धुवाँ धेरै नआओस् भनेर तिल, जौ र घिउको चरु तयार गरिएको थियो । प्रत्येक पटक एक तोलाका दरले हवन गर्नुपर्नेमा घटाएर आधा तोलाका दरले मात्र ‘ॐ स्वाहा’ का ध्वनिमा हवन कार्यलाई अघि बढाएँ मैले । हवन प्रारम्भ भएको १० मिनेट पनि भएको थिएन, त्यहाँ एकाएक अत्यन्त भयावह स्थिति उत्पन्न भयो— अलिअलि गर्दै धुवाँ भरिएछ कोठाभरि; अदृश्य ठाउँमा जडान गरिएको स्वचालित घण्टी (साइरन) बज्न थाल्यो अत्यन्त कर्कश आवाजमा । अनेक उपाय गर्दा पनि साइरन बज्न छाडेन । हवन गर्न बन्द गरियो, पङ्खा चलाइयो अहँ साइरन बन्द भएन । अब के गर्ने ? अब के हुन्छ ? भन्ने प्रश्नको उत्तर हामी कसैबाट पनि आउन सकेन । ज्वाइँ, छोरी दुवै आत्तिए । उनीहरूका लागि समेत यो सर्वथा नयाँ घटना थियो । म त झन् ५ दिन अघि मात्र अमेरिका टेकेको अबोध गाईप्राणी थिएँ त्यस घटनाका लागि । “आफ्नो एकछत्र वर्चस्व रहेको अमेरिका जस्तो महादेशमा एउटा हिन्दूको यत्रो आँट !” भनेर अमेरिकी ‘गड’ क्राइष्टले त विध्नबाधा पु¥याउन खोजेको होइन ! जस्तो लाग्यो एक मनमा । अर्को मनले भन्यो यो धुवाँको करामत हो । तर म त्यसबेला सिंहका सामु उभिएको घोडा झैं भएको थिएँ ।

साइरन बज्न थालेका पन्द्र मिनेटपछि दुई तलामुनि पटाङ्गिनीमा अनौठो दृश्य देखियो । एपार्टमेन्टको पूर्व र पश्चिम दुवैतिरबाट घण्टी बजाउँदै दुईवटा विशाल दमकल आएर रोकिए । दमकलसँगै सेनाको जस्तै पोसाक लगाएका १९ जना जति मानिस पनि दमकलबाट फुत्तफुत्त ओर्लिए । त्यो दृश्य देखेपछि म अझैं अधीर भएँ । एक त क्रिस्चियनहरूको देश, अर्को हाम्रो कारणबाट दुईदुई ओटा दमकल त्यहाँ आएका थिए । आगलागीको सङ्केत पाएर आएका ती दमकलको हर्जाना तिर्नुपर्ने भयो भने ‘धोती न टोपी’ भएर जेल बस्नुको विकल्प थिएन मेरा लागि । धोती फेरेर हवन गर्दै गरेको अवस्थामा जेल चलान गर्दा म धोतीसँगै हुने भएकाले ‘धोती न टोपी’ भन्ने उखानको पचास प्रतिशत ‘कन्सेसन’ पाउनेमा थोरै आशावादी थिएँ । यति डर लाग्यो भनेर साध्य छैन । ८५ के.जी. ओजन र चालीस इञ्च कम्मर भएको मेरो निकै मोटो शरीर एकै छिनमा घटेर ४५ के.जी.मा आएजस्तो लाग्यो । अघिसम्म टम्म कसिएको धोती फुत्रुक्क खस्लाजस्तो भयो । धन्न ऐना हेरिन । हेरेको भए आफ्नै अनुहार देखेर आफ्नै सातो जान बेर थिएन ।

‘कहाँ जुठे, कहाँ जुठेकी आमा’ भने झैँ छोरी, ज्वाइँ र म तीनैजना मुखामुख गर्दैथियौं किंकर्तव्य विमूढ भएर । त्यही बेला बाहिरबाट ढ्वाक, ढ्वाक पारेको आवाज आयो । त्यो आवाज सुनेर म झन् अन्यमनस्क भएँ । ढ्वाकढ्वाकको आवाज ढोकाबाट आएको हो वा मेरो मुटुबाट; मैले पटक्कै छुट्याउन सकिन । ज्वाइँले छुट्याउनु भएछ, ढोका खोल्नुभयो । तीन जना अमेरिकी पसे र सरासर हवन कक्षमा आए । उनीहरू त्यहाँकोदृश्य देखेर ट्वाल्ल परे भने हामी उनीहरूलाई देखेर ट्वाल्ल पर्यौं । ट्वाल्लको द्वन्द्वात्मक स्थिति देखियो त्यहाँ ।

त्यसबेलासम्म पनि मन्दमन्द गतिमा साइरन बज्दै थियो प्राणजान लागेको व्यक्तिको धुकधुकीझैं । ती भित्र पसेका तीन जनामध्ये एकजनाले अलिक गम्भीर भएर सोध्यो, “कृपया यहाँहरू के गर्दै हुनुहुन्छ म जान्न सक्छु ?”

ज्वाइँ अंग्रेजी बोल्न अभ्यस्त हुनुहुन्छ । जस्तै प्रश्नको पनि मिलाएर उत्तर दिन उहाँलाई आउँछ, त्यसैले मलाई अप्ठारो नपार्न उहाँ अघि सर्नुभयो उत्तर दिन । उहाँले उत्तरका लागि ‘आँ’ मात्र के गर्नुभएको थियो झट्ट त्यस प्रश्नकर्ताले मतिर सङ्केत ग¥यो र मलाई नै उत्तर दिन आग्रह गर्यो । अमेरिकीहरू जस्तै अवस्थामा पनि आग्रह गर्न नै रुचाउँछन् । सेतो धोती लगाएर अनौठो क्रियाकलापमा संलग्न भएको देखेर शायद मलाई नै साइरन बज्नुको कारक तत्वका रूपमा लियो होला उसले । न्यायालयको कठघरामा उभिएको अभियुक्तझैं कनीकुथी टुटेफुटेको अंग्रजीमा उत्तर दिंदै मैले भने— “अकोडिङ्. टु आउअ(र्) कल्चर(र्) वि आ(र्) गउइङ् टु पफोम ‘द सेरमनि अव् नेमिङ् द चाइल्ड’ । इट्ज् स्पेस्लि पफोमड् अन् द इलेभ्न्थ् डेइ आफ्ट(र्) बर्थ ।”

मैले ‘यो हाम्रो संस्कृति हो’ भनेको सुन्नेबित्तिकै त्यो अमेरिकीको अनुहार एकाएक ग्रहणले छोडेको चन्द्रमाजस्तै देखियो । ऊ खुशी भएको देखेर मैले पनि अलिकति राहत पाएको अनुभव गरें । ‘हे प्रभु, यस आपत्तिबाट पार लगाइ देऊ है !’ भन्न आएछ यतिबेर पो ! यसअघि त आफ्ना इष्टदेव संझिने होस पनि गुम भएको थियो ।

त्यो अमेरिकीले यज्ञस्थल सहित हामी सबैको फोटो खिच्यो । मलाई ढाप मार्दै उसले भन्यो, “यसरी आफ्नो परंपरा र संस्कृतिको अनुसरण गर्नु ज्यादै राम्रो कुरा हो । आफ्नो परंपरा र संस्कृति कुनै हालतमा पनि छोड्नु नहुने रहेछ । भर्खर भर्खर मात्र हामीलाई सो कुराको ज्ञान आएको छ । हाम्रा अग्रजहरूले संस्कृतिको महŒव नबुझेर उपेक्षा गरेको कारणबाट आज हामीलाई अनुसन्धान गर्न ज्यादै मुस्किल परेको छ । कृपया तपाईंहरूले आफ्नो पहिचान गुमाउने भूल कहिल्यै नगर्नु होला ।” यति भन्दै उनीहरू तीनै जना कोठाबाट बाहिरिए ।

उनीहरू त्यहाँबाट बाहिरिएको निकै अघिदेखि साइरन बज्न छोडिसकेको थियो । हवनवेदीमा आगो निभ्न लागेको हुनाले समिधा थपेर पुनः अग्नि प्रज्वलित गरी हवन गर्न सुरु गरें मैले; तर यसपटक चरुको ठाउँमा घिउको मात्र हवन गरियो । यसो गर्दा धुवाँ पनि त्यति धेरै भएन र साइरन पनि बजेन । निर्बाध नामकरण संस्कार सम्पन्न भयो । मैले संझे नेपालमा त्यति भएको भए कुटाइ, थुनाइ, घुस खुवाइ र हर्जाना तिराइ पनि हुनेथियो । त्यति गर्दा पनि पिण्ड नछुटेर नेताका गोडामा तेल पनि लगाउनु पथ्र्यो । वास्तवमा अमेरिका धेरै कुरामा विश्वमै प्रशंसनीय रहेछ ।

न्वारानकै बेलुका, त्यही दिउसो आउने, दमकलको प्रमुखले फोन ग¥यो र भन्यो, “आगामी आइतबार म र मेरो भाइ तपाईंलाई भेट्न आउँदैछौं । कृपया दुई घण्टाजति समय दिन सक्नुहुन्थ्यो कि ?“ मैले ‘येस, ह्वाइ नट’ भने र ठीक एघार बजे आउने सल्लाह दिएँ ।

नभन्दै तोकिएको दिन र समयमा ऊ आफ्नो भाइलाई लिएर मलाई भेट्न आयो । उसले भाइको परिचय गरायो । मैले पनि आफ्नो परिचय दिएँ । म क्याम्पसको अध्यापक हुँ भन्ने थाहा पाएपछि ऊ अत्यन्त नतमस्तक भयो र उसले मलाई उसको भिजिटिङ्ग कार्ड दियो । त्यसबाट मैले थाहा पाएँ उसको नाम मिस्टर सी. स्टेवार्ड रहेछ । ऊ जर्ज म्यासन युनिभर्सिटीमा संस्कृति विषय लिएर पी.एच.डी. गर्दैरहेछ । यो कुरा थाहा पाएपछि मलाई अलिक चिसो पस्यो; कतै उसका संस्कृति सम्बन्धी प्रश्नहरू मेरा निमित्त अर्को ‘सुनामी’ त बन्ने होइनन्. ? यदि यसो भयो भने म उसका नजरमा कतिसम्म गिरुँला । शून्यसम्म गिरे त ठीकै थियो तर नेपाली जनताका नजरमा नेपालका नेता र मन्त्रीहरू गिरैझैं शून्यभन्दा पनि तल गिरें भने के होला ? जस्ता प्रश्नहरूले पिरोलिरहे ।

म अरु नै विषयमा मिस्टर स्टेवार्डसँग गफ गर्न चाहन्थें तर ऊ भने सँस्कृतिकै विषयमा प्रश्नहरू सोधेर आफ्ना जिज्ञासाहरू मेटाउन र उसको गहन अनुसन्धानको सन्दर्भ बनाउन चाहन्थ्यो । जुन कुरा नहोस् भन्ने कामना गरेको थिएँ आखिर त्यही कुरा नभई छोडेन ।

“यहाँ संस्कृतिप्रेमी भएको थाहा पाएर म ज्यादै खुसी छु । कृपया संस्कृतिबारे केही कुरा बताइ दिन सक्नुहुन्थ्यो कि ?” मन्दमुस्कानमा उसले प्रश्न गर्यो ।

उक्त प्रश्नले मलाई सारै अप्ठारो स्थितिमा पु¥यायो । राम्ररी उत्तर दिन अध्ययन छैन । लटरपटर उत्तर दिऊँ त बेइज्जत हुने – आफ्नो मात्र होइन आफ्नो देशकै बेइज्जत । आफू सँस्कृति भनेपछि हुरुक्क हुने मान्छे । अध्ययन बिनाको प्रेम फुस्रो प्रेम हुँदो रहेछ भन्ने कुरा बल्ल मात्र थाहा भयो । पश्चात्ताप गर्नुबाहेक अरु विकल्प थिएन आपूmसँग । एउटा सामान्य प्रश्नको उत्तर दिन नसकेर अमेरिकीसामु नतमस्तक बन्नु पर्ने कुरा मेरा लागि असह्य भयो । उक्त प्रश्नको उत्तर अवश्य खोज्नै पर्छ भनेर केही गम्भीर भएँ । झट्ट स्मृतिको सानो सुर्काउनी फुक्यो । मैले स्नातकमा एक विषय सँस्कृति लिएको थिएँ । परिभाषा रट्ने क्रममा एउटा संस्कृतको वाक्य पनि कण्ठस्थ गरेको थिएँ । झट्ट मस्तिष्क पटमा सो वाक्य झल्कियो “परम्परागता शोभमाना कृति संस्कृतिः ।” यही भनाइलाई अलिअलि फूलबुट्टा भरेर टुटेफुटेको अंग्रेजीमा प्रश्नको उत्तर दिएँ । मैले ठीक किसिमको उत्तर दिएँ कि दिइन मलाई थाहा भएन । तर मिस्टर स्टेवार्डका अनुहारमा उत्सुकताका रेखाहरू चमचमाएको देख्ता ‘केही त भनेछु कि क्या हो !’ जस्तो लाग्यो । ऊसँग अरु धेरै प्रश्न थिए त्यसैले अब उसले दोस्रो प्रश्न पनि सोधिहाल्छ भन्ठानेर उल्टै उसैलाई एउटा प्रश्न सोधें मैले, “कृपया संस्कृतिसम्बन्धी यहाँको धारणा पनि जान्न पाऊन ?”

ऊ हामी नेपाली जस्तो मात्र थिएन् । ऊ त वास्तवमै कुशल अनुसन्धाता थियो । ऊ संस्कृतिको विज्ञ पनि थियो । मेरो प्रश्नको उत्तर दिने क्रममा बेलायतका नृतत्व शास्त्री इ.वि. टायलरले भनेको सन्दर्भ कोट्याउँदै उसले भन्यो, “मानवको सम्पूर्ण उपलब्धि नै सँस्कृति हो, किन कि संस्कृति भन्नु नै मानवले समाजको सदस्यका रूपमा उपार्जित ज्ञान, आस्था र विश्वास, कला, नीति र नैतिकता, चालचलन र अन्य सम्पूर्ण ग्राह्य बानी बेहोरा हुन् ।”

‘द वल्ड बुक इनसाइक्लोपेडिया’ नामक विश्वकोशको सन्दर्भ कोट्याउँदै उसले अगाडि भन्यो, “विस्तृत दृष्टिकोणले हेर्ने हो भने सँस्कृतिले सम्पूर्ण मानवीय विशिष्टतम क्रियाकलाप र मानिसको एक पुस्ताले अर्को पुस्तालाई छाड्दै गएको दैनिक जीवन र विभिन्न क्षेत्रका उपलब्धिहरूलाई जनाउँछ । त्यसैले संस्कृति भन्नाले भाषाको प्रयोग, विवाह, बालकको पालनपोषण, जीविकोपार्जन, शासन व्यवस्था, युद्ध, धार्मिक कार्यहरूमा संलग्नताजस्ता सम्पूर्ण क्रियाकलापहरू सम्मिलित हुन्छन् ।”

हिन्दू वैदिक संस्कृतिका बारेमा पनि उसले अध्ययन गरेको हुनपर्दछ जस्तो लाग्यो । अब के सोध्ने हो भनेर डराउँदै थिएँ, उसले मुसुक्क हाँसेर सोध्यो “हिन्दू–वैदिक संस्कारका बारेमा कृपया केही प्रकाश पारिदिनुहुन्थ्यो कि ?”

हिन्दू–वैदिक संस्कारका सम्बन्धमा मलाई अलेली ज्ञान भएको हुनाले उसले सोधेको उक्त प्रश्नबाट मलाई थोरै भए पनि राहत मिलेको अनुभव भयो । अंग्रेजी बोल्ने अभ्यास नभएकाले अभिव्यक्तिमा कठिनाइ त प्रसस्तै भयो नै तैपनि उसका प्रश्नको उत्तर दिनै पथ्र्यो, दिएँ ।

“मिस्टर स्टेवार्ड, म संस्कृति विषयको अध्येता, अनुसन्धाता केही होइन । मलाई यसको सामान्य परिचयसम्म मात्र आउँछ । हाम्रो संस्कृतिमा संस्कारको महŒवपूर्ण स्थान छ । संस्कार भनेको ‘शुद्धता’ हो । मेरा विचारमा यो भौतिक एवं आध्यात्मिक दुवै विषयसँग सम्बन्धित छ । प्रारम्भमा संस्कार धर्मपरक मात्र हो कि जस्तो थियो; तर वर्तमान समयमा यहाँ जस्ता अनुसन्धाता पाएर यसमा भौतिक एवं मनोवैज्ञानिक पक्षहरू पनि छन् भन्ने कुरा देखिन थालेको छ । वास्तवमा ‘संस्कार’ले शरीर र मनलाई मात्र शुद्धीकरण नगरेर नैतिकतालाई स्थिरता प्रदान पनि गर्दछ । प्रत्यक्ष वा परोक्ष दुवै रूपमा ‘संस्कार’ले सहयोग पुर्याउन सक्छ । हाम्रो हिन्दू–वैदिक संस्कारमा सोह्र संस्कारको उल्लेख पाइन्छ । सोह्र संस्कारमध्ये जन्मदेखि मृत्युपर्यन्त बाह्र संस्कार प्रमुख छन् । ती संस्कारहरूको सामान्य परिचय यहाँसमक्ष राख्न गइरहेको छु —

  1. ’’’गर्भाधान संस्कार : यो गर्भाधान हुनुभन्दा पहिले गरिने वैदिक संस्कार हो । योग्य र असल सन्तान प्राप्तिका लागि यो संस्कार गरिन्छ । यस संस्कारले गर्भवती महिलालाई मनोवैज्ञानिक खोराक प्रदान गर्दछ । यसबाट गर्भको शिशुको चौतर्फी विकासमा समेत सहयोग पुग्ने देखिन्छ । यो वैज्ञानिक तथ्य बोकेको संस्कार हो, तर हाल यसको प्रचलन हराइसकेको छ भन्दा पनि हुन्छ ।
  2. ’’’पुंसवन संस्कार : प्रारम्भमा हाम्रो समाज पितृसत्तात्मक थियो । पितृसत्तात्मक समाजमा छोरीकोभन्दा छोराको बढी महत्त्व हुनु स्वाभाविक थियो । त्यसैले यस संस्कारकोे प्रारम्भ भएको हुनसक्छ । गर्भ रह्यो भन्ने कुरा निश्चित भइसकेपछि छोराको कामना राखी यो संस्कार गरिन्छ । हाल छोरा र छोरीमा भिन्नता नभएकाले यो संस्कार त्यति प्रचलनमा देखिदैन ।
  3. ’’’ सीमन्तोन्नयन संस्कार : शिशुलाई गर्भैदेखि बौद्धिक र नैतिक ज्ञानसँग परिचित गराउनुपर्छ भन्ने धारणा राखेर गराइने यस संस्कारमा पनि प्रसस्त वैज्ञानिकता छ । गर्भधारणदेखि चौथो, छैटौं अथवा आठौं महिनामा गर्भवती महिलामा गरिने यस प्रकारको संस्कारले आमा मार्फत गर्भको शिशुमा समेत प्रभाव पार्ने कुरा विश्वसनीय छ । हाल कसैकसैले मात्र हाम्रो देशमा यो संस्कार गरेको पाइन्छ ।
  4. ’’’जातकर्म संस्कार : यो शिशु जन्मनासाथ गरिने संस्कार हो । यसमा नाल काट्ने, शिशुलाई नुहाउने, आमाको दूध सफा गरेर चुसाउने आदि कार्यहरू धार्मिक विधि अनुसार सम्पन्न गरिन्छ । यसबाहेक नवजात शिशुको सुस्वास्थ्य र दीर्धायुको शुभाशीर्वचन प्रदान गर्नुका साथै आमाको दूध शिशुका निम्त्ति अमृतमय बनोस् भन्ने कामना पनि गरिन्छ । यस संस्कारपछि आमाको मन प्रसन्न रहन्छ र प्रसन्नमना माताको दूध बालकका निमित्त अमृतसमान हुन्छ । यसरी यस संस्कारमा पनि प्रसस्त वैज्ञानिक तथ्यहरू पाउन सकिन्छ । तर यो संस्कार पनि अहिले ओझेल पर्दै गएको छ ।
  5. ’’’नामकर्म संस्कार : शिशु जन्मिएको एघारौं दिनमा अनेकौं देवीदेवताको पूजा, प्रार्थनाका साथ यो ‘संस्कार’ सम्पन्न गरिन्छ । यसमा मूलतः शिशुको नामकरण गर्ने कार्य गरिन्छ । चन्द्रवर्ष प्रणाली अन्तर्ग पर्ने जन्म–नक्षत्रको वर्णअनुसार नामकरण गरिन्छ । मिलेसम्म देवीदेवता तथा नामी व्यक्तित्वसँग जोडिएको नाम राखिन्छ । शिशुको सुस्वास्थ्य, दीर्घायु, बौद्धिक एवं नैतिक ज्ञानप्राप्ति, अग्निमा हवन गरी पर्यावरणशुद्धि जस्ता कुराको हार्दिक कामना गर्नु यस संस्कारसँग जोडिएका कुरा हुन् । अधिकांशले जेजस्तो रूपमा भए पनि यो संस्कार गर्दै गरेको पाइन्छ ।
  6. ’’’निष्क्रमण संस्कार : यो संस्कार शिशुको नामकर्मपछि गरिने संस्कार हो । यस संस्कारमा धार्मिक क्रियाकलापका साथै शिशुलाई सूर्यको दर्शन गराउने काम पनि गरिन्छ । शिशुलाई झुल्कँदो घाम देखाउनु; तपाउनु वैज्ञानिक दृष्टिले अत्यन्त उपयुक्त छ । बिहानीको घामबाट भिटामिन ‘डी’ लगायत अन्य आवश्यकीय तत्वहरू पनि पाइन्छन् । हिजोआज ‘नामकर्म’ कै दिन शिशुलाई सूर्य देखाइने हुनाले यस संस्कारको महत्व अलिक कम भएको पाइन्छ ।
  7. ’’’अन्नप्राशन संस्कार : जन्मिएको पाँच÷छ महिनामा शिशुलाई सर्वप्रथम अन्न खुवाइने संस्कारलाई ‘अन्नप्राशन संस्कार’ भनिन्छ । दिन, बार, बेला उपयुक्त ठह¥याई यो संस्कार सम्पन्न गरिन्छ । यस संस्कारले कम्तीमा पाँच महिनासम्म अनिवार्य रूपमा ‘बे्रस्ट फिडिङ्’ गराउनुपर्छ भन्ने सन्देश दिन्छ । ‘बे्रेस्ट फिडिङ्’ बाट बञ्चित आजका बालबालिकाहरू विभिन्न रोगका शिकार भएका छन् । विश्वभरका बालबालिकाका सम्बन्धित आमाहरूलाई कम्तीमा पाँच महिनासम्म आफ्नो स्तनपान गराएर आ–आफ्ना बालबालिकाहरूलाई स्वस्थ राख्न सन्देश दिने यस संस्कारको भूमिका महŒवपूर्ण छ । अझैसम्म यस संस्कारका अनुयायीहरू ‘पास्नी’ कै रूपमा भए पनि यसलाई पछ्याउँदै छन् ।
  8. ’’’कर्णबेध संस्कार : अन्नप्राशनपछि कुनै शुभ मुहूर्तमा गरिने संस्कारलाई ‘कर्णबेध’ संस्कार भनिन्छ । यसमा मुख्यतः दुवै कानमा वैदिक मन्त्रहरू पढेर सुनाइन्छ । यी दुवै कानले जीवनभर नराम्रो कुरा सुन्नु नपरोस् भन्ने भाव बोकेका हुन्छन् ती मन्त्रले । यसपछि दुवै कान छेडिन्छ र ‘यसबाहेक तिम्रा कान र शरीरका अन्य अङ्गहरूमा समेत कुनै किसिमको चोटपटक नलागोस्; यसैले टरोस्’ भन्ने शुभाशीर्वचन प्रदान गरिन्छ बच्चालाई । सो छेडाइले कानका निष्क्रिय स्नायुहरू सक्रिय बन्न सक्छन् । यसको वैज्ञानिक पक्ष हो यो । जे जस्तो रूपमा भए पनि आजसम्म यो संस्कार गरिंदै छ ।
  9. ’’’चूडाकर्म संस्कार : यो संस्कार मुख्यतया बालक तीन वर्षको लागेपछि गरिन्छ । यो कर्म गर्दा मस्तिष्कको संवेदनशील अङ्गलाई ढाक्ने गरी ठूलो टुप्पी राखेर अन्यत्र मुण्डन गरिन्छ । अझ टुप्पीको मुठोलाई शिखा (गाँठो) पारेपछि त त्यसले ढाकिएको संवेदनशील भाग अरु सुरक्षित बन्दछ । जाडो, गर्मीबाट मस्तिष्कलाई जोगाउन यसले सहयोग पु¥याउँछ । यस संस्कारले बालकको बौद्धिक एवं मानसिक विकासमा सहयोग पु¥याएको विश्वास गरिन्छ । अचेल यो संस्कार कसैले छुट्टै गर्छन् भने कसैले ब्रतबन्धसँगै गर्छन् ।
  10. ’’’उपनयन संस्कार : नैतिक आचरणमा संलग्न गराइने हुनाले यस संस्कारको नाम ‘उपनयन’ रह्यो भने व्रत र नियममा वटुकलाई बाँध्ने भएकाले यसलाई ‘व्रतबन्ध संस्कार’ पनि भनिन्छ । वटुक आठ वर्षको लागेपछि साधारणतया यो संस्कार गरिन्छ । दिन, बार तथा ग्रहादिको उपयुक्त समय र मुहूर्तमा सम्पन्न गरिने हुनाले उक्त समयभन्दा अघिपछि सर्न पनि सक्छ । धार्मिक विधिअनुसार सम्पन्न गरिने यस संस्कारमा तीन कार्य प्रमुख देखिन्छन् — यज्ञोपवीत धारण, गायत्री मन्त्रदान र वेदारम्भ । यी सबै कार्य गुरुद्वारा गरिन्छ र गराइन्छ । यति भएपछि वटुकको दोस्रो जन्म अर्थात् आध्यात्मिक जन्म (Spiritual birth) हुन्छ र ऊ ‘द्विज’ मा रूपान्तरित हुन्छ भन्ने विश्वास गरिन्छ । वेदाध्ययनमा पारङ्गत भएपछि मात्र वटुक ‘द्विज’ बाट ‘विप्र’ मा बढुवा हुन्छ । “जन्मना जायते शूद्रः संस्काराद्द्विज उच्यते, वेदपाठाद् भवेद् विप्र ब्रह्म जानाति ब्राह्मणः” भन्ने शास्त्रीय वचनद्वारा हिन्दुवैदिक सनातन धर्मले जातिप्रथा मान्दैन भन्ने स्पष्ट हुन्छ । संस्कारले नै ब्राह्मणसम्म पुग्ने मूल ढोका खुला भएको थाहा पाएर पनि बुझ पचाउनेहरू मात्र यस संस्कृति र संस्कारका विरोधी छन् । हाम्रो देशमा अभैm पनि यस संस्कारका अनुयायी धेरै छन् जसले ‘उपनयन संस्कार’ गरिल्याएका छन् । तर यज्ञोपवीत धारणपछि गरिने यससँग सम्बन्धित आवश्यकीय आचरणहरू दिनप्रतिदिन लोपोन्मुख बन्दैछन् । दुर्लभ वन्यजन्तु लोप भएभैंm यो पनि लोप भएर जाने पो हो कि ! भन्ने कुराको चिन्ता लिने बेला आएको छ ।
  11. ’’’विवाह संस्कार : अनेक जाति, अनेक भाषा र अनेक संस्कृतिका लागि अत्यन्त सम्पन्न मानिने हाम्रो देश नेपालमा विभिन्न किसिमका संस्कृति र संस्कारअनुसार वैवाहिक कार्यहरू हुने गर्छन् । हाम्रो देशमा गरिने विवाह संस्कारमध्ये हिन्दूवैदिक विवाह संस्कार प्रमुख रूपमा रहेको पाइन्छ । लगभग पाँचहजार वर्ष अघिदेखि चल्दै आएको हुनाले पनि यसको महŒव अधिक भएको हुनसक्छ । हाम्रो देशका धेरै जसोले हिन्दूवैदिक संस्कार गरिल्याएको पाइन्छ ।उपयुक्त बारबेला ठह¥याई शुभ मुहूर्तमा गरिने यस किसिमको विवाहमा ‘स्वयंवर’, ‘वाग्दान’, ‘वरणी’, ‘कन्यादान’ र सिन्दूरार्पण जस्ता पं्रमुख कार्यका अतिरिक्त अन्य विधिविधानहरू पनि सम्पन्न हुने गर्छन् । तर ती सबै कार्य उक्त पाँच कार्यका सहायक मात्र हुन् । ‘स्वयंवर’ मा कन्याले कुमारलाई वरण गर्ने हुनाले यसलाई उपयुक्त कुमारको छनोट गर्ने कार्यका रूपमा लिइन्छ । ‘स्वयंवर’ पछि ‘वाग्दान’ को कार्य हुन्छ । यसमा केटीका बाबुले केटाका बाबुलाई सम्मानपूर्वक, आदरपूर्वक ‘वाग्दान’ (वचन दिने काम) गर्छन् । ‘वाग्दान’ गर्दा केटीका बाबुले भन्छन् “मेरी छोरी ‘फलानी’ ले तपाईंका छोरा ‘फलाना’ लाई मनपराएर आफ्नो जीवनसाथीको रूपमा चयन गरेकी हुनाले मैले मेरी छोरी तपाईंका छोरालाई दिएँ । यसलाई बुहारीका रूपमा ग्रहण गर्नुहोला अनि आफ्नै छोरीका रूपमा व्यवहार गर्नु होला ।” यसपछि ‘वरणी’ को कार्य हुन्छ । यसमा ‘वर’ को स्वागत–सम्मान र पूजा गरिन्छ । यसलाई विवाहको श्रीगणेशका रूपमा लिइन्छ । यसमा पनि बधूका बाबुले ‘वर’लाई आफ्नी छोरी कन्यादानका रूपमा दिने कार्यका लागि ‘वरण’ गरेको कुरा निवेदन गर्दछन् । छोरी दान लिन योग्य व्यक्तिको वरण नै ‘वरणी’ हो । यसपछि ‘कन्यादान’ गरिन्छ । यो कार्य मुख्यतः कन्याका मातापिताद्वारा गरिन्छ । कायिक, वाचिक एवं मानसिक रूपमा महासङ्कल्प गरेर कन्यादान गरिन्छ । मातापिताले बेहुलीको हात बेहुलाका हातमा राखिदिनासाथ बेहुलाद्वारा बेहुलीका गलामा पोतेको माला पहिर्याइन्छ । कसैकसैले आफ्नो परम्पराअनुसार सुवर्ण माला पनि लगाइदिने गर्छन् । विवाहमा ‘कन्यादान’ सबैभन्दा प्रमुख कार्य हो । यसपछि, विवाहको अन्त्यतिर ‘सिन्दूरार्पण’ हुन्छ । सर्वप्रथम सिन्दूर बेहुलाले आफ्ना इष्टदेवमा अर्पण गर्छन् अनि बेहुलीका सिउँदोमा लगाइदिन्छन् । यसरी गलामा पोते र सिउँदोमा सिन्दूर परेपछि अघिसम्मकी कन्या अब विवाहिता हुन्छिन् । उक्त दुई चीजलाई विवाहित महिलाको सौभाग्यका रूपमा हेरिन्छ । शरीरमा यस्ता वैवाहिक चिह्नले विभूषित महिलालाई अन्य कुनै परपुरुषले नराम्रो दृष्टि दिन सक्दैन भन्ने विश्वास गरिन्छ ।विवाहमा पाठ गरिने वेदमन्त्रहरूद्वारा वर र वधूको मनमा गम्भीर मनोवैज्ञानिक प्रभाव पर्छ भन्ने कुरालाई विश्वास गर्न सकिन्छ । ‘तिमीलाई म मेरो हृदय अर्पण गर्छु, तिम्रो चित्तजस्तो छ मेरो चित्त पनि त्यस्तै बनोस्’ भन्ने भावका वेदमन्त्रहरू बेहुला स्वयंले पढेर बेहुलीलाई सुनाउँदै बेहुलीका हृदयमा आफ्नो हात राख्छन् । यसको मनोवैज्ञानिक असर पर्ने कुरामा कुनै शङ्का गर्ने ठाउँ देखिंदैन ।हिन्दु वैदिक विवाह संस्कारका तुलनामा पश्चिमेली गान्धर्व विवाह धेरै प्रत्युत्पादक देखिन्छ । एकै व्यक्तिले आफ्ना जीवनकालमा विवाह गर्दै छोडपत्र दिंदै गरेका अनगिन्ती घटनाहरू पश्चिमी मुलुकमा (यहाँको अमेरिकामा समेत) देखिएका छन् । मेरो यस भनाइबाट मिस्टर स्टेवार्ड निकै प्रभावित भएछ क्यार ! उसले मुस्कुराएर सहमतिको सङ्केत गर्यो । पछि बुझ्दा उसका आफ्नै बाबुले पटकपटक गरी पाँचवटी स्वास्नी भित्र्याउँदै पारपाचुके गर्दै गरेको रहेछ । तर अमेरिकीहरूका लागि यस्ता घटना सामान्य हुँदा रहेछन् । उसबाट अर्को कुरा पनि थाहा पाएँ, हाल अमेरिकी अदालतहरूमा पारपाचुके सम्बन्धी मुद्दाले ७५ प्रतिशत ठाउँ ओगटेका रहेछन् ।
  12. ’’’ मृत्युसंस्कार : मृत्युसंस्कार हिन्दूवैदिक सनातनीहरूका लागि महत्वपूर्ण संस्कार हो । अधिकांशले यो संस्कार छोडेका छैनन् । हाम्रो धर्मसंस्कृतिमा चार किसिमबाट अन्त्येष्टि संस्कार गर्न सकिने कुराको उल्लेख पाइन्छ ता पनि हाम्रो देशमा मूलतः दुई किसिमबाट शवसंस्कार गरिन्छ — अग्निमा दाह गरेर अथवा जमिनमुनि समाधिस्थ गरेर । यी दुईमध्ये पनि धेरैले दाह संस्कार गर्छन । नदीमा बगाएर गरिने र मांसाहारी पशुपक्षीलाई खुवाएर गरिने संस्कारको प्रचलन यहाँ छैन भन्दा पनि हुन्छ ।
  13. ’’’दाहसंस्कार’’’ नदीमा गरिन्छ भने समाधिस्थ गर्दा अग्लो जमिनमा गरिन्छ । दाह संस्कारमा चिता पखालेपछि र समाधिस्थ गर्दा कार्य समाप्तिपछि क्रियापुत्रीद्वारा नदीमा सचैल स्नान गरिन्छ । त्यसपछि पुराना लुगा त्यागेर नयाँ तर शुद्ध सेतो वस्त्र धारण गरिन्छ । धारण गरिने वस्त्रका नाममा टाउकामा छोपो, लगौंटी र कम्मरमा बेर्ने धरो मात्र रहन्छ । शवसंस्कारका दिन क्रियापुत्रीले क्षत्रोपवास बस्नुपर्छ । त्यस दिन परिवारका अन्य सदस्यहरू – छोरी, बुहारी आदि सबैले क्षत्रोपवास बस्छन् । क्षत्रोपवास बस्दा शुद्ध फलफूलबाहेक केही भोजन गर्नु हुँदैन । क्रिया गर्ने व्यक्तिले दश दिनसम्म कोरामा बस्नुपर्छ, नुन बेगरको एक छाक हविष्य भोजन गर्नुपर्छ । यो आफ्ना पितृका लागि गरिने चान्द्रायण ब्रत हो । कसैलाई नछुनु, फाल्टु कुरा नबोल्नु, मृत आफन्तका असल कार्यहरूको स्मरण गर्नु यस ब्रतको अनिवार्य कार्य हो । वास्तवमा आफ्ना सम्पूर्ण ऐस आराम र जिव्रालाई प्रिय लाग्ने वस्तुहरूको त्याग गरेर ब्रत पूर्ण गरिन्छ । क्रिया नसकुन्जेल ब्रह्मचर्य ब्रतको पालना गर्नु पनि यसको अर्को महत्वपूर्ण पक्ष हो ।

आफन्तको मृत्यु भएको दिनदेखि दशौं दिनसम्म गरिने क्रिया (श्राद्ध) लाई नै ‘दशगात्र’ क्रिया भनिन्छ । पहिलो दिनदेखि दशौं दिनसम्म प्रत्येक दिन एकएक श्राद्ध गरिन्छ । यिनै दश श्राद्धको नाम ‘दशगात्र क्रिया’ हो । पञ्चत्वमा विलीन भएपछि निराकारमा परिणत भएको आफन्तको जीवलाई साकार रूपमा परिणत गराउने ‘प्राणप्रतिष्ठा’ हो यो । मन्दिरमा राखिएको प्रतिमाको ‘प्राणप्रतिष्ठा’ गरेजस्तै हो यो ।

‘दशगात्र’ कर्मको संस्कृति पाँच हजार वर्ष पुरानो हो । वेदज्ञाता एवं पुराणहरूका रचनाकार व्यासद्वारा लिखित गरुड पुराणमा ‘दशगात्र क्रिया’को उल्लेख पाइन्छ । यसलाई ‘औध्र्वदेहिक क्रिया’ पनि भनिन्छ । विदेहलाई धार्मिक विधिविधानद्वारा देहमा रूपान्तरित गराइने भएकाले पनि यसलाई ‘औध्र्वदेहिक’ भनेको हो । ‘गरुड पुराण’मा उल्लेख भएअनुसार नै पहिलो दिनको पिण्डबाट शिर; दोस्रो दिनको पिण्डबाट नाक, कान, आँखा; तेस्रो दिनको पिण्डबाट गला, हात, वक्षस्थल; चौथो दिनको पिण्डबाट नाभि, लिङ्ग÷योनि, गुदद्वार; पाँचौ दिनको पिण्डबाट घुँडा, जाँघ, पाउहरू; छैटौं दिनको पिण्डबाट मुटु, प्राण र अन्य सन्धिहरू; सातौं दिनको पिण्डबाट सम्पूर्ण स्नायुप्रणाली; आठौं दिनको पिण्डबाट रौं र दाँतहरू; नवौं दिनको पिण्डबाट वीर्य र दशौं दिनको पिण्डबाट क्षुधा, तृषा, र समस्त आवश्यकीय तत्वहरू प्रतिष्ठापित गराइन्छ । यसरी मरेको व्यक्तिको जीवतत्वमा अङ्गप्रत्यङ्गको कामनाका साथ प्राणप्रतिष्ठा गरी पुनर्जीवन गराउने संस्कृति विश्वको कुनै संस्कृतिमा पनि छैन; त्यसैले हामी यसप्रति गर्व गर्छौं । मरेको व्यक्तिलाई जीवित बनाएर अग्रज एवं प्रातःस्मरणीय पितृहरूका स्तरमा प्रतिष्ठापित नगराएसम्म हामी विचलित हुन्छौं, दुःखी बन्छौं र हाम्रो मनोविज्ञान कुण्ठित हुन्छ । आफ्नो मनोविज्ञानलाई शुद्धीकरण गर्ने ‘दशगात्र’ संस्कार हामी छोड्न चाहदैनौं । अपवादका रूपमा कसैले छाड्यो भने त्यसको वास्ता पनि गर्दैनौं, त्यसलाई सजिलै पचाइदिन्छौं; तर यस संस्कृतिको लोप हुन नदिने कुरामा चैं हामीले सचेत हुनैपर्छ होला ।

हिन्दूवैदिक संस्कारका बारेमा मैले जानेबुझेका उपर्युक्त कुराहरु सुनाइसकेपछि स्टेवार्ड ज्यादै प्रफुल्लित देखियो । आभार एवं धन्यवादका बहुमुल्य डलरले परिपूर्ण भएँ म । उसले मेरा भनाइलाई विद्यावारिधिको सन्दर्भ बनाउने कुरा गरिरहँदा मैले आफ्नो अमेरिका यात्राको पूर्णाहुति भएको अनुभव गरें ।

अमेरिकाको एउटा कट्टर क्रिस्चियनले हिन्दूवैदिक संस्कारलाई यसरी महत्व दिनु मेरा निमित्त चानचुने कुरा थिएन । अरुको संस्कृतिप्रति पनि उत्तिकै गर्व गर्ने गहन अनुसन्धाता स्टेवार्डलाई मैले आफ्नो गच्छेअनुसार आभार प्रकट गरें, धन्यवाद पनि दिएँ । फेरि कुनै दिन भेट्ने वचनबद्धताका साथ गलामा गला मिलाएर स्टेवार्ड मबाट विदा भयो ।