थाइ विमान र बैङ्कक उडान

नेपाली विकिपुस्तकबाट, स्वतन्त्र पुस्तकालय
Jump to navigation Jump to search

२०६३ आषाढ १८ गते प्रातः ५.१५ बजेको बसको टिकट अघिल्लै दिन काटिसकेको थियो । टिकट हातमा परेपछि मेरा मनमस्तिष्कमा अनेक किसिमका तरङ्गहरू उर्लिन थालिसकेका थिए । १७ गतेको रात म ओछ्यानमा पल्टिएँ मात्र, तर निद्रा पटक्कै परेन । सुरुङ्गा खोलानजिकै (मेरो घरको पूर्वपट्टि) ठूलो आवाजमा चट्याङ् पर्यो । त्यसको केहीबेरपछिदेखि घनघोर वर्षा हुन थाल्यो । कहिल्यै घर नछाडेको हुनाले मेरा मनमा, मेरा आँखामा त्यस्तै मुसलधारे वर्षा हुँदैछ भन्ने अनुभव गरें मैले ।


मलाई अमेरिका उडाउन साथमा कान्छी छोरी पुष्पा पनि सोही बसमा काठमाडौं जाँदै थिइन् । मन अत्यन्त असन्तुलित थियो । असन्तुलित मानसिकता बोकेरै भए पनि आषाढ १५ गते गणेशको विवाह सम्पन्न गर्न सफल भएको थिएँ ।

१८ गते बिहान ३ बजेदेखि नै घरमा चहलपहल बढेको थियो । तीन वर्षकी नातिनी अजिता पनि तीनै बजे उठेकी थिइन् । वास्तवमा ससाना शिशुहरूमा ईश्वरीय अंश विद्यमान हुन्छ भन्ने कुरा म आफैंले पनि अनुभव गरें । घरको रानो घर छाडेर हिंड्दैछ; यो कुरा अजिताका ब्रह्मले पनि थाहा पाएछ । मैले रुग्ण मनस्थितिमा लुगा लगाएँ । पुत्रबधू राधाले नास्ता ल्याएर मेरा अगाडि राखिदिइन् । बिछोडको पीडा खप्नुपर्छ भन्ने डरले मेरो बुभुक्षा भित्रबाट निस्किएर अघिनै कतै गइसकेको थियो तापनि जबर्जस्ती अलिकति नास्ता मुखमा लाएँ । त्यसैबेला अत्यन्त निन्याउरो अनुहारमा अजिताले भनिन् – ‘बुबा तपाईं काहाँ जान लाग्नु भा’को?’ अजिताको शिशुप्रश्न सुनेर म अवाक् भएँ । भक्कानु फुटेर आयो । नास्ता मुखबाट छिरेन । के गर्ने र कसो गर्नेको द्वन्द्वमा फसें म । घरबाट बाटा लागिहाल्नुको विकल्प थिएन मेरा लागि । अद्र्धाङ्गिनी धर्मातिर दृष्टि दिएँ । उनी रोइरहेकी थिइन् । पुत्रबधू राधाले डाँकै छोडिन् । नवदुलही दीपाको मुखाकृति पनि शोकमग्न थियो । नानू (अजिता) लाई एकपटक चुम्बन गरेर यताउति दृष्टि नदिई म घरबाट निस्किएँ । घरबाट निस्किंदै गर्दा मेरा अश्रुपूर्ण नयनले अनुभव गरे– घर रुँदै थियो, आँगन रुँदै थियो; नरिवलको बोट रुँदै थियो; गाईवस्तु रुँदै थिए । मैले मबाहेक अरु कसैलाई देखिन । मसँगै हिंडेकी पुष्पालाई र अगाडि नै भारीतारी बसमा चढाउन हिंडेका पुत्रद्वय तीर्थ र गणेशलाई पनि मैले देखिन । बस कतिबेर पर्खनु प¥यो, कसरी चढियो, अहँ केही थाहा भएन । एकैचोटि दमकमा गाडी रोकिंदा मात्र थाहा भयो म गाडीमा रहेछु, पुष्पा मेरै छेउमा बसेकी रहिछन् ।

भाग्यवस घरबाट हिँडेकै दिन बेलुका हामी काठमाडौं शान्तिनगर पुग्यौं । त्यहाँ लीला भाइको डेरा छ । उनी सानीमाका छोरा हुन् । सानीमा पनि त्यसबेला त्यहीं औषधि गर्दै हुनुहुन्थ्यो । उहाँको स्वस्थता मेरालागि प्रशन्नताको विषय बन्यो । सानीमासँग भेटहुँदा मैले २८ वर्षअघि परमसत्यमा लीन भइसक्नुभएकी मेरी आमा सम्झिएँ र आन्तरिक श्रद्धाञ्जलि अर्पण गरें ।

हवाइ टिकटको कारणबाट आषाढ १८ देखि ऐजन ३१ सम्म (१४ दिन) लीला भाइसँगै बस्यौं हामी । काठमाडौं जस्तो ठाउँमा डेरा लिएर बस्नु सारै कठिन छ, तर अनुजबधू गीताको बोली, व्यवहार, शिष्टाचार मेरा लागि अविस्मरणीय छ । म उनको हार्दिक प्रशंसा गर्छु । छोरी आयुषीको बालसुलभ क्रियाकलापले नानूको मायालाई ऋणात्मक बनाउन प्रसस्त सहयोग गरेको थियो ।

छोरी कृष्णाको प्रसव समय जुलाई १७, २००६ तोकिएको थियो, त्यसैले जुलाई १६ मै भर्जिनिया पुग्ने योजना बनाएर हवाइ टिकट लिएको थिएँ मैले । तर ऐजन ११ कै दिन नाति जन्मिएछ, ज्वाइँको फोनबाट अवगत गरें मैले । छोरीको प्रसव साधारण, असाधारण कस्तो रूपमा हुन्छ भन्ने कुराबाट म सर्वथा मुक्त भइसकेको थिएँ तापनि प्रसव हुनुअघि नै छोरीलाई भेट्ने धोको भने पूरा गर्न पाइएन ।

आषाढ ३१ गते बिहान १० बजे हामी त्रिभुवन विमानस्थल तर्पm लाग्यौं । काठमाडौं बैङ्ककको उडान समय दिउँसो १ बजेको थियो । अन्तर्राष्ट्रिय उडान भएकाले दुई घण्टाअघि नै विमानस्थल पुगिसक्नु पर्ने बाध्यताले हामी अलिक चाँडै प्रस्थान गर्यौं । ट्याक्सीमा सानीमा, लीला, गीता, पुष्पा, आयुषी र म समेत ६ जना थियौं । सात जना नआँट्ने हुनाले गणेश आचार्य (तीर्थका साला) हामीसँग जान सक्नुभएन । उहाँ मलाई बिदा गरेर शान्तिनगरबाटै फर्किनु भयो । ट्याक्सीले हामी ६ जनालाई अन्तर्राष्ट्रिय टर्मिनल भवनको बाहिरसम्म पुर्यायो ।

सबै ओर्लियौं । आँसुका घुड्का भित्रभित्रै निल्दै मालसामान कार्ट (ठेला) मा हालेर म लाममा उभिएँ । आफ्नो पालो आएपछि भित्र पसें । सामान एक्सरे मसिनमा स्क्यान गराएँ । पुनः पूर्ववत् कार्टमा हालेर ठेल्दै नबिल बैंकको काउन्टर अगाडि पुगें । यात्रु सेवाशुल्क ११३०।– लाग्दोरहेछ, बुझाएँ । यस किसिमको शुल्क लिनेमा नेपाल पहिलो र अन्तिम राष्ट्र रहेछ, यो कुरा पछि फर्किदा थाहा पाएँ मैले । जे होस् आवतजावत एकलाख चौध हजारमा अरु थपिएर एकलाख पन्ध्र हजार एकसय तीस भयो, राम्रै भयो । अँ नबिल बैंकबाट कार्ट ठेल्दै थाई काउन्टर नजिक ल्याएँ, लाइनमा उभिएँ अनि पालो आएपछि जोखाएँ । हवाइ कर्मचारीले अमेरिकाको डेलस विमानस्थलमा पुगेर आफ्ना दुई पोका सामान बुझ्ने दुईवटा रसिद र एउटा थाई बोर्डिङ् पास दियो । यति भएपछि मेरो प्रारम्भिक काम सकियो । तर बाहिर गएर सबैसँग बिदा मागेर आउने काम बाँकी नै भएकाले एक जना पुलिसलाई ‘एकछिन बाहिर जान पाऊँ न’ भनी बिन्ती गरें । बिन्तीले खुसी भएछ ऊ । ढाप मार्दै ‘जानुहोस्, जानुहोस्’ भन्यो । बाहिर आएँ । ‘अब म जाँदैछु’ भन्न सकिन । मन भरी मात्र भएन, छताछुल्ल भएर पोखियो पनि । म निथ्रुक्क भएँ । सानीमाले अश्रुपूर्णनयन र प्रकम्पित स्वरबाट आशीर्वाद दिनुभयो । मैले उहाँको आशीर्वाद शिरोपर गरें । त्यसबेला मलाई मेरी परमधामबासी माताले भनेको संझना भयो । म अलेली थाहा पाउँछु, उहाँ भन्नुहुन्थ्यो, ‘चहके बराल जोतिसिले भनेको हाम्रो ठूलेका गरदसा (ग्रह दशा) निकै राम्रा छन् अरे, ठूलो मान्छे हुने र ठूला देशाँ जाने ।’ मैले मनमनै भने “हो आमा, तपाईंले सुन्न र देख्न नपाए पनि तपाईंको इच्छा पूर्ण भयो । म हाई स्कूलको ‘हेड्मास्टर’ भएँ र त्यसैबाट निवृत्त भएँ । मेरो औकात अनुसार ठूलो मान्छे हुनु भनेको ‘हेड्मास्टर’ हुनु नै हो । आमा ! ठूलो देशमा पुग्ने कुरामा त मैले आफ्नो औकातको ३६० डिग्री पार गरेको छु । आशीर्वाद पाऊँ माते !”

मैले आपूmलाई अलिक समालें । पुष्पा छोरीतिर दृष्टि दिंदा उनी अत्यन्त विह्वल अवस्थामा भएको पाएँ । गीता पनि अश्रुपूर्ण नयनमै थिइन् । अनुज लीलाको उज्ज्वल अनुहार औंसीको रातजस्तो भएको थियो । सबैको अनौठो अवस्था देखेर होला आयुषी पनि रुन्चेहाँसोमा थिइन् । ‘मनको कुरा मुखमा ल्याई क्यै भन्न सक्दिन’ भन्ने गीतको स्मरण गर्दै हातले मात्र बिदाको सङ्केत गरी ह्वाङ्ङ भएर दुलो परेको मनलाई जबर्जस्ती टाल्दै पुनः टर्मिनल भवनभित्र पसें ।

अरु जाँदै गरेको देखेर म पनि बिजुलीको भ¥याङ्बाट माथिल्लो तलामा गएँ । घरेलु टर्मिनलका तुलनामा त्यो टर्मिनल निकै ठूलो रहेछ । त्यहाँ नेपाली र विदेशी गरी निकै यात्रीहरू बसेका थिए । ती सबै मेरा लागि अपरिचित थिए । टर्मिनलको पश्चिम कुनामा मङ्गोल अनुहारका दम्पति र उनीहरूका दुईवटा साना छोरा थिए । छेउमा गएर उनीहरूको परिचय लिएँ । राई जातका तिनीहरूको नेपालको घर सोलु रहेछ । जन्म घर नेपाल भए पनि उनीहरूको कर्मक्षेत्र अमेरिका रहेछ र उनीहरू अमेरिकी नागरिक भइसकेका रहेछन् । ती दुई साना छोराहरू काठमाडौंको बोर्डिङ् स्कूलमा पढ्दा रहेछन् । त्यस बेला बोर्डिङ् स्कूल विदा भएकाले बाबुआमा दुवै जना आफ्ना नानीहरू लिन आएका रहेछन् ।

मलाई अचम्म लाग्यो र सोधें, “तपाईंहरू अमेरिकी नागरिकता पाइसकेको कुरा गर्नुहुन्छ, तर आफ्ना नानीहरूलाई काठमाडौंमै राखेर पढाउनु हुन्छ । के कारण होला ?” ती नानीहरूका बाबु चाहिँले भने, “हामीले फिलहाल अमेरिकाको नागरिकता लिएका छौं, तर नागरिकता पायौं भन्दैमा आफ्नो देश, आफ्नो धर्म, आफ्नो संस्कृतिलाई लात मार्नु हुदैन । आफ्नी आमालाई कसैले बिर्सन सक्छ ? आफ्नो पहिचान जसले बिर्सन्छ त्यो आफैं हराउँछ । आफ्नो पहिचान नहराओस् भनेर हामी आफू अमेरिकामा बसेपनि नानीहरू नेपालमै पढाउँछौं । बाह्र कक्षासम्म उनीहरू यहीं पढ्छन् । बाह्रकक्षा पास गरुन्जेलसम्ममा आफ्नो देश, धर्म र संस्कृतिसँग उनीहरू परिचित भइसकेका हुन्छन् । अब चाहेर पनि उनीहरूले यी कुराहरू छाड्न सक्तैनन्, उनीहरूले संसारको जुनसुकै कुनामा गएर पढ्दा पनि हुन्छ ।” ती व्यक्तिको यस्तो उच्चतम चाहना र अभिव्यक्ति सुनेर म नतमस्तक भएँ । मनमनै भनें, “धन्य तिम्रो देश, धर्म र संस्कृतिप्रतिको निष्ठा ! डलरमा डुबेर पनि तिमीले यस किसिमको पवित्र विचार राख्नुले तिमी वास्तविक रूपमै नेपाली प्रमाणित भयौ मेरा लागि ।”

लगभग आधाघण्टा जति त्यस अध्यागमन कक्षमा बसेपछि अध्यागमन अधिकारीका काउन्टर अगाडि गएर म पनि लाममा उभिएँ । ‘जेजे बराजु स्वैस्वै स्वाहा’ भनेझैं मैले पनि मेरो पासपोर्ट जिम्मा लगाएँ । बिर्तामोडमा लाम लागेर बस्ने भुइँफुट्टा जोतिसिले भाग्य खुट्याउने निहुँमा भर्खरकी तरुनी केटीको कमलो हात सुमसुम्याए झैं त्यस अधिकारीले मेरो सुन्दर पासपोर्ट यताउति पल्टायो, मेरो अनुहारमा हेर्यो, उसका अगाडिको कम्प्युटरमा एकछिन खेल्यो र ‘डिपार्चर’ भन्ने टाँचा लगाएर फिर्ता दियो ।

अध्यागमनको काम सकिएपछि म सुरक्षा जाँच कक्षतिर अघि बढें । त्यहाँ राखेको एक्सरे यन्त्रले मेरो हाते बाकसको एक्सरे गर्यो । एकजना सुरक्षाकर्मीले मेरा जिउभरि हाते यन्त्र घुमायो । मलाई लाग्यो ऊ धामी हो र मेरो जोखाना खुट्याउँदै छ । त्यस किसिमको झारफुकपछि म जहाज कुर्ने कोठामा गएँ । मजस्ता चलानीको टाँचा लगाइएका महिला र पुरुषले खचाखच थियो त्यो कोठा । म त्यहाँ पुगेको पन्ध्र, बीस मिनेटपछि नेपालीका दुईजोडी (पतिपत्नी) त्यस कक्षमा पसे । पहिलो जोडी पसेको दश मिनेट जतिमा दोस्रो जोडी पसेको थियो । अत्यन्त प्रफुल्लित देखिने ती जोडी लामो विदेश यात्रामा अथवा धन आर्जनको उद्देश्य लिएर हिंडेका जस्ता थिएनन् । एकदम हाउभाउपूर्ण ढङ्गले गफ गरिरहेको देखेर म पनि तिनीहरूभन्दा अलिक वर्तिरको एउटा खाली कुर्सीमा गएर बसें । यसो हेरें एकजोडी मेरा चिरपरिचित रहेछन् । गफको अल्पविरामको अवसर छोपी मैले पछाडिबाट यसो कोट्याएँ परिचित जोडीका पुरुषपात्रलाई । उनी मतिर फर्किए र जुरुक्क उठे । अभिवादन गर्दै अर्को जोडीलाई मेरो परिचय यसरी गराए ‘उहाँ मेरो पनि गुरु, छोराको पनि गुरु’ । उनको त्यस किसिमको सौहाद्र्रता र शिष्टाचार देखेर म रोमाञ्चित भएँ, गौरवान्वित भएँ, शिक्षक हुनुको गरिमा सार्थक भएजस्तो लाग्यो । अबुझका लागि ‘खुर्पाको बिंड’ भए पनि बुझ्नेका लागि शिक्षक वास्तवमै ‘श्रीखण्ड’ रहेछ, त्यसबेला मैले यही कुरा अनुभूत गरें ।

मलाई त्यसरी परिचय गराउने व्यक्ति ‘नरेन्द्र पाठक’ हुन्, जसलाई मैले तेईस चौबीस सालतिर देवकोटा प्रा.वि. तुलसीबारी झापामा कक्षा ५ मा पढाउने सुअवसर पाएको थिएँ । उनी अत्यन्त मिजासिला र आज्ञाकारी थिए । थोरै समयमा पनि गुरु–शिष्यको प्रगाढ घनिष्ठता भएको थियो । ‘हुने बिरुवाको चिल्लो पात’ भने भैंm उनी आज सर्वोच्च अदातलको सह–महान्यायाधिवक्ता जस्तो उच्च एवं गरिमामय पदमा आसीन छन् । ‘फलेको वृक्षको हाँगो नझुकेको कहाँ छ र’ यस कविताको सार्थकता प्रमाणित भयो । गुरुको महिमा हृदयङ्गम गर्ने नरेन्द्र जस्ता शालीन व्यक्तिहरू नै आफ्नो परमलक्ष्य चुम्न सफल हुँदा रहेछन्, मैले शिक्षण प्रारम्भ गरेको ४५ वर्षपछि सो कुरा सिद्ध भयो ।

नरेन्द्रद्वारा मसँग परिचय गराइएको अर्को जोडीमा नेपाली सेनाका बहालवाला जर्नेल र उनकी श्रीमती थिए । ती दुवै जोडी सातदिने सेमिनारमा भाग लिन थाइल्याण्ड गएका रहेछन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवनमा रहेको त्यस यात्रीप्रतीक्षालयमा लगभग ४५ मिनेट जति बिताएपछि ट्रान्जिट गेट खुल्यो । टी.जी. ३२० जहाजमा यात्रा गर्ने सबै यात्री जर्याकजुरुक उठे र गेट अगाडि लाम लागे । लाममा सबभन्दा अघि नरेन्द्र, त्यसपछि उनकी श्रीमती अनि जर्नेल, उनकी श्रीमती र ‘म’को क्रममा उभियौं । आ–आफ्नो बोर्डिङ् पास देखाउँदै सबै अघि बढिरहेका थिए । म पनि सोही कुराको अनुसरण गरिरहेको थिएँ । अरुका मनमस्तिष्कमा के कस्ता भावनाहरू तरङ्गित हुँदै थिए म भन्न सक्दिन तर म भने हर्ष र विस्मयको द्वन्द्वमा तैरिरहेको थिएँ । म अमेरिकाको यात्रा गर्दै थिएँ, यस अर्थमा म केही हर्षित थिएँ भने आफ्नो ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी’ लाई छाडेर धेरै टाढा जाँदै थिएँ, त्यसैले म विस्मयको अधिनस्थ थिएँ । मात्रागत हिसाबमा हर्षभन्दा विस्मय नै ज्यादा थियो । ट्रान्जिट गेटको थोरै पर्तिर विशालकाय थाई विमान मुख बाएर उभिएको थियो । एकएक गर्दै सबै यात्रीलाई त्यस जन्तुले निल्यो । हामी सबै टी.जी. ३२० को आहारा बन्यौ । सबैलाई निलिसक्ता पनि ऊ अभैm अघाएको थिएन, निकै बेरसम्म मुख बाइरहेको देखिन्थ्यो । आहारा सकिएको बुझेर करैले उसले आफ्नो मुख बन्द गर्‍यो ।

यानभित्र पस्दै गर्दा थाई सुन्दरी दुवैपटि उभिएर ‘अभिवादन र स्वागतम्’ भन्दैथिए । पूर्णिमाको चन्द्रजस्तो अनुहार भएका थाई परीहरू मलाई हेरेर त्यस्तरी मस्किएको देख्ता एकछिन भएपनि आपूmलाई भर्खरको युवकमा रूपान्तरित गर्ने सुअवसर प्राप्त भयो । मैले मेरो बोर्डिङ् पास यानसुन्दरीलाई देखाएँ । उनले ‘दिस वे’ भनेर जता जाने सङ्केत गरिन् म लुरुलुरु त्यतै गएँ । जहाजभित्र अर्कै संसार थियो, अर्कै वातावरण थियो । मैले कल्पना गरें ‘श्रीकृष्णले अर्जुनलाई देखाएको विश्वरूप सायद यस्तै थियो होला । फरक थियो भने एउटा मात्र फरक थियो । अर्जुनले श्रीकृष्णको मुखभित्र विश्वरूपको दर्शन गरेका थिए भने म ३२० जहाजको मुखभित्र विश्वरूप र झन्डै विश्वसुन्दरीको दर्शन गरिरहेको थिएँ ।

म आफ्नो सिटतिर अघि बढें । जाँदै गर्दा रमिता हेर्दै गएँ । यात्री बस्नका लागि जहाजका दुवै छेउतिर दुईदुई सिट र बाटो, बीचमा पाँचपाँच गरी चौडाइको एक लहरमा नौ जनाका लागि नौ सिटको व्यवस्था थियो त्यस यानमा । मेरा विचारमा त्यसमा लगभग तीनसय जना यात्री सजिलै अटाउन सक्छन् । कुनैबेला काठमाडौं–विराटनगर गर्ने ‘कस्मिक’ जहाज चढ्दा मलाई ‘बाफरे बाफ !’ भएको थियो, तर त्यस विमानका छेउमा ‘कस्मिक’ लाई तीन खुट्टा टेकाएर उभ्याउने हो भने ठूलो हात्तीका छेउमा भुइँ खन्ने हात्ती उभ्याएजस्तो देखिन्थ्यो होला ।

म अलेलि गर्दै अघि बढ्दै गएँ र मेरो बोर्डिङ्गपासमा ठेगिएको ३८ ‘ए’ सिटको नजिकै पुगें । आफ्नो हातेबाकस राख्नुपर्ने भयो । कहाँ राख्ने, कसरी राख्नेमा म अनभिज्ञ थिएँ । अरुको अनुसरण गर्नुसिवाय मेरा लागि दोस्रो उपाए थिएन । भाग्यवस ३८ ‘ए’ भन्दां अगाडिको एकजना मान्छे उठ्यो आफ्नो सामान थन्क्याउन । उसले सिटमाथि यसो बटन थिचेभैंm के गरेथ्यो जहाजको भित्री मुख फुत्त निस्कियो र आँ गर्‍योगर्‍यो । त्यस व्यक्तिले आफ्नो सामान त्यही मुखमा कोच्यो । मैले पनि उसकै सिको गरेर आफ्नो सामान त्यही मुखभित्र हालें । अझैं नअघाएर होला लगभग पाँच मिनेटसम्म त्यसले आफ्नो मुख बन्द गरेन । ‘आँ’ को ‘आँ’ नै गरिरह्यो । त्यतिकैमा पद्मकन्या क्याम्पसको शनिवासरीय पोसाकमा सजिएकी एक नवयुवती आइन् र मुखलाई यसो सुमसुम्याइन् । कछुवाले लुकाएभैंm त्यसले आफ्नो मुख सुलुत्त लुकायो । मैले सोचें अर्धनग्न युवतिका लज्जास्पद स्पर्शको प्रभावले उसले त्यसरी टाउको लुकाएको हुनुपर्छ ।

त्यो विशाल यानका दुई मुख थिए— भित्री र बाहिरी; मात्र आकारमा फरक, मात्र परिवेशमा फरक । बाहिरी मुखलाई भित्रको परिवेशमा र भित्री मुखलाई बाहिरको परिवेशमा राखेर अध्ययन, विश्लेषण गर्न सकिदैनथ्यो । त्यसैले ती मुख परिवेशका आधारमा मात्र भिन्न थिए । ती मुख व्यतिरेकी पनि थिएनन्, अर्थभेदक पनि थिएनन् । तिनीहरू मुखका उपरुप वा संकाय मात्र थिए, किनभने तिनीहरू परिपूरक वितरणका रूपमा आएका थिए । ती दुवै मुखको एउटै काम थियो भेटेजति र पेटमा आँटेजति खाने; तर नचबाउने, नपचाउने र भोक मरेपछि मुखैबाट ओकल्ने, जस्ताको तस्तै ।

यानका दुवै मुखको छोटो अध्ययन पछि म आफ्नो देशतिर फर्किएँ । यान जस्तै जत्ति खाएपनि नअघाउने एउटा नेपाली जनावरको संझना भयो । जहाजसँग त्यसको तुलना गर्न खोजेँ, तर पार लागेन । जहाजका मुख र त्यस जनावरका मुखमा कुनै किसिमको समानता देखिएन । जहाजका मुखले भेटेजति सबै खाएपनि नपचाई जस्ताको तस्तै ओकल्नु यसको अत्यन्त राम्रो गुण हो । यो ‘सन्तोषं परमं सुखम्’को आदर्शमा सधैंभरि भोकै बस्न पनि सक्छ; तर नेपाली जनावरका मुखले जति भेटे पनि खान्छ र ओकल्नु त परै जाओस् खाएको कुरा सूलीमा रूपान्तरित नभइन्जेल चपाइरहन्छ । यो भारत र अमेरिकाभन्दा पनि असन्तोषी छ । अर्को कुरा यस जनावरका दुई मुखको काम, कर्तव्य र अधिकारमध्ये कुनै एउटामा पनि समानता छैन । दुवै मुख व्यतिरेकी र अर्थभेदक छन् । यसको बाहिरी मुख देखाउने प्रयोजनका लागि मात्र हो भने अन्य सबै काम भित्री मुखले गर्छ । बाहिरी मुखले एकथोक अह्रायो भने भित्री मुखले अर्कैथोक गर्छ । बाहिरी मुखले मीठो मीठो चिज मात्र खान्छ । उसले खाने नमीठो चिज भनेको खोयाबिर्के मात्र हो । त्यसमा पनि सबै तह र तप्काको मिलाएर खान्छ । त्यसैले ऊ समावेशी भएको छ । भित्री मुखले ढुङ्गा, माटो, काठपात, खोलानाला केही पनि बाँकी राख्तैन ।

मेरो सिट झ्यालको छेऊमा थियो । म झ्यालबाट पृथ्वी माताको दर्शन गर्न ज्यादै लालायित थिएँ। तर ‘बल्लबल्ल पोइ आ’को म राँडलाई जरो आ’को’ भयो मेरा लागि । महाकवि कालिदासको दूतका रूपमा काम गर्ने मेघ मेरा निम्ति बाधक बन्यो । धर्ती मातालाई डम्म ढाकेर मेरो धोको पुरा गर्न दिएन उसले ।

जहाज हल्लिन र उफ्रिन छोडेपछि मैले अनुमान लगाएँ ऊ आफ्नो नियमित यानमार्गमा पुगेछ । अगाडिको भिडियो यन्त्रले सङकेत ग¥यो यान चालीस हजार फिटभन्दा माथि उड्दैछ । यानले आफ्नो बाटो लिनेबित्तिकै पेटीको बन्धनमा कसिएका यान परिचारिकाहरू अत्यन्त हर्षित एवं प्रफुल्ल मुद्रामा देखिए । उनीहरू किन यसरी एकाएक प्रफुल्लित भए ? भन्ने प्रश्नको उत्तर खोज्दा मैले थाहा पाएँ उनीहरू स्वतन्त्र भएछन्, उनीहरू बन्धनमुक्त भएछन् । मलाई लाग्यो मानो उनीहरू कृष्णद्वारा बन्धनमुक्त गराइएका पुराणकालीन राजकुमारी हुन् ।

पेटीको बन्धनबाट मुक्ति पाउनासाथ उनीहरूले खुसियालीमा पहिलो भोज लगाए । त्यो भोज चिसो पेय पदार्थको थियो । सुन्तलाको रस, कागतीको रस, कोक, बियर जस्ता चिजहरू पेय पदार्थका रूपमा वितरित थिए । उपर्युक्त पेयहरू वितरण गर्नुपूर्व नै बदामजस्ता देखिने ससाना प्याकेट सबैका हातमा थमाइएको थियो । सबैले आआफ्नो इच्छानुसारका पेय वस्तु लिएर ‘कुटुक–सुरुप’ प्रारम्भ गरेपछि त्यस यानको सो इकोनोमी कक्ष नै ‘कुटुक–सुरुप’को पर्याय बनेको जस्तो देखियो । मैले चाहिं सुन्तलाको रस समाएँ । यसअघि निकै पटक नेपालका बाख्रे जहाजमा यात्रा गरिसकेको हुनाले कम्मरमा सुरक्षा पेटी बाँध्न र सिट अगाडिको कृत्रिम टेवल खडा गर्न सानोसानो ठुटे पण्डित भइसकेको थिएँ । सम्बन्धित कामका लागि कसैको अनुसरण गर्नु परेन । आपैंmले मिलाएँ र सुन्तलाको ग्लास सोही कृत्रिम टेवलमा राखें । चस्मा लगाएर सो प्याकेटमा के लेखेको छ पढें । त्यो शाकाहारीले खाने शुद्ध बदाम रहेछ । म ढुक्क भएँ र ‘कटुक–सुरुप’ मा सामेल भएँ ।

नास्ता गरेको लगभग आधाघण्टा पछि एउटी परिचारिकाले मलाई कोट्याउँदै सोधिन्, “आर यु इन्डियन भेजिटेरियन ?” ‘येस आइ एम”, मैले भने । हवाइ टिकट बुकिङ् गर्दा ‘इन्डियन भेजिटेरियन’ लेखिदिन सुदर्शन सिटौलालाई भनेको थिएँ । यो विद्या मैले अर्कै गुरुबाट प्राप्त गरेको हुँ ।

टिकट बुकिङ् गर्नुभन्दा दुई दिनअघि म ‘मैनाली चियापसल’ नयाँ सडकमा निस्किएको थिएँ । संयोगवश लक्ष्मी मैनालीजीसँग भेट भयो । कुरा कुरैमा मैले अमेरिका जाँदैछु भन्ने कुरा बताएँ । मेरो कुरा सुनेपछि उहाँले भन्नुभयो, “कोमलजी, तपाईंहामीजस्ता शाकाहारीले लामो हवाइ यात्रा गर्दा सुरुमै बुद्धि पु¥याउनु पर्छ , नत्र मुस्किल पर्न सक्छ । मैले यो कुरा धेरै पटक भोगिसकेको छु । ‘शाकाहारी’ले टिकट गर्दै ‘इन्डियन भेजिटेरियन’ लेखाउनु पर्छ । यसो ग¥यो भने मात्र शुद्ध शाकाहारी भोजनको व्यवस्था हुन्छ । ‘भेजिटेरियन’ मात्र लेखियो भने त्यसलाई ‘एसियन भेजिटेरियन’ मानिन्छ । ‘एसियन भेजिटेरियन’लाई माछा र अन्डा पनि चल्छ ।”

हवाइ परिचारिकाले सोधेको केहीबेरपछि शाकाहारी खानाको ताजा प्याकेट आयो । त्यसमा रोटी, उसिनेको साग, फलपूmलका प्रकार, पकौडी, पाउरोटी, नौनी घिउ, खारेको घिउ, मिठाइ, काँचो खोर्सानी, कागतीको टुक्रा जस्ता खाद्य पदार्थहरू फरक फरक रूपमा सिलबन्द थिए । एकपटक पुनः लक्ष्मीजीलाई आभार प्रकट गर्दै आपूmलाई उपयुक्त लाग्ने खाद्य पदार्थहरू ग्रहण गरें । शाकाहारीले खाइसकेपछि मात्र अरुका लागि खाना बाँडिने सदाशयता देखेर गौरवको अनुभूति भयो ।

जहाजमा खानापछि पुनः तातो पेय पदार्थ (हट् ड्रिङ्क) वितरण गरिंदो रहेछ । शायद त्यो मुखशुद्धिको अर्को तरिका होला । त्यहाँ बसेका अधिकांशले तातो पेयका रुपमा रक्सी (वाइन) नै समातेको देखियो । मेरा छेउछाउमा बस्नेमध्ये तातो कफी पिउने सायद म एकजना मात्र थिएँ, किनभने मेरा देब्रेतिर बस्ने एउटा मारवाडी युवकले समेत एकै सेकेण्डमा एक ग्लास कालो रङ्को ‘अथि’ चट् बनाएको थियो । झापाका रक्सीवाज सम्झेर मनमनै भनें, “माटाको ध्याम्पै रित्याउने खोयाबिर्केहरू मेरा ठाउँमा थिए भने कति मटक मार्थे होला ।

म कफी खाँदै थिएँ, नरेन्द्र भाइ रमिता हेर्दै त्यहीं आइपुगेछन् । ‘खाना भयो सर ?’ उनले भने । मैले मुन्टो हल्लाएर खाएको सङ्केत गरें । यसअघिसम्म मलाई कताकता अर्कै नयाँ संसारमा विचरण गर्दैछु भन्ने थियो, तर नरेन्द्रलाई देख्ने बित्तिकै मलाई सुरुङ्गाको संझना भयो; किनभने त्यस जहाजमा सुरुङ्गाका मात्रै हामी तीन जना थियौं । नरेन्द्र जोडीको सिट जहाजका टाउकातिर, जर्नेल जोडीको सिट जहाजको पुच्छरतिर, मेरो सिट जहाजको पेटतिर थियो । एकछिन मसँग गफ गरेर नरेन्द्र जर्साब बसेतिर गए ।

खाना खाइसकेपछि जहाजका सबै यात्रीको ध्यान भित्ताको भिडिओतिर आकर्षित भएको थियो । भिडिओले विभिन्न किसिमका मनोरञ्जनका साथै अन्य ज्ञानबर्धक खोराक पस्किरहेको थियो । भिडिओबाट देखाइएको थाइल्यान्डको जादुले त्यहाँ बस्ने सबैलाई मन्त्रमुग्ध बनाएको थियो । यसबाहेक थाइल्यान्डको शैक्षिक, सामाजिक, साँस्कृतिक आदि विषयहरू समेटिएको वृत्तचित्र पनि आकर्षणको केन्द्रविन्दु बनेको थियो । भिडिओबाट थाई राजपरिवारसम्बन्धी वृत्तचित्र पनि प्रसारण गरिंदो रहेछ । त्यहाँका राजा गाउँगाउँ गएर तल्लोस्तरका जनतालाई भेट्ने, कृषकहरूसँग आपूm स्वयं सहभागी हुनेजस्ता सामाजिक कार्यमा संलग्न हुँदारहेछन् । थाइ नरेशका यस किसिमका क्रियाकलापहरू देख्ता थाइ जनताले वास्तविक राजा पाएका रहेछन् जस्तो लाग्यो ।

सबैले मग्नमस्त भएर भिडिओमा दृष्टि दिइरहेकै बेला ‘अब बैंङ्कक पुग्न आधाघण्टा मात्र बाँकी छ’ भन्ने सूचना प्रसारित भयो । मैले ‘झ्याल खोलेर ऐनाबाट बाहिर चियाएँ । पहाड, जङ्गल, खेत, खोलानाला, आदिको सुन्दर दृश्य देखियो । काठमाडौंबाट झापा आउँदैछु कि भनी झसक्क भएँ म । मनमोहक दृश्यलाई देखेर घुटुक्क थुक निले आँखाले । जहाज जतिजति पृथ्वीको नजिक हुँदै जान्थ्यो दृश्यहरू त्यति त्यति मनमोहक बन्दै गए । आखिर त्यहाँको स्थानीय समयअनुसार बेलुका ३.१० बजे थाई जहाजले आफ्नो भूमिमा पाइला टेक्यो । मैले त्यो जहाजलाई एउटी निश्छल नेपाली मैतालु देखें, जो एक वर्षसम्म श्रीमान्का घर बसेर माइत आउँदै थिई । ऊ आफ्नो प्यारो जन्मघर पुग्न धेरै आतुर थिई र नै ऊ यसरी बर्सिका पोथ्रा नाघ्दै आफ्नी प्यारी आमा भेट्न र ‘सुक्तिसिन्धु’ मा वर्णन गरेभैंm आफ्ना दिदी, बहिनीहरूलाई नयाँ नयाँ अनुभवको पोको फुकाउन हस्याङ् र फस्याङ् गर्दै दगुरिरहेकी थिई ।

जहाज रोकिएर यात्रीहरू निस्कँदै गरेको दृश्यले कविशिरोमणि लेखनाथको निम्न लिखित कवितांशको स्मरण भयो :

जत्ती निल्छ उती उकेल्दछ पनी, केही पचाउन्न त्यो ।


यै चालासित कल्पकल्प कहिल्यै खाई अघाउन्न त्यो ।


अरुसरह म पनि जहाजबाट बाहिरिएँ । के गर्ने र कसो गर्नेको मानसिक तनावमा म चाकाचुली खेलिरहेको थिएँ । त्यहाँ मलाई नरेन्द्र भाइको सहयोग अपरिहार्य जस्तै भएको थियो । त्यसैले जहाजबाट निस्किए पछि म उनको छायाँ बने । केहीबेर हिंडेपछि दुइवटा बाटा आए, एउटा सिधा अघि बढ्ने र अर्को देब्रेतर्फ लाग्ने । एउटा बाणले ‘ट्रान्जिट’ भनेर अगाडिको बाटोतिर जाने सङ्केत गरेको थियो भने ‘इमिग्रेसन’ भनेर अर्को बाणले पूर्वतिर देखाइ रहेको थियो । त्यहीँबाट बाटो छुट्टिन्थ्यो । मैले ट्रान्जिटतिर जानु पथ्र्यो भने नरेन्द्रहरूले इमिग्रेसनतिर जानुपथ्र्यो । अब मैले उनीहरूबाट छुट्टिने बेला भयो । त्यसैले म त्यसबेला काठमाडौंको गल्लीमा हराएको एउटा अबोध बालक भएको थिएँ । लगभग दश घण्टा बैंङ्ककको टर्मिनल भवनभित्र बिताउनु पर्ने र नयाँ यात्रीका लागि बैंङ्कक विमानस्थल निकै खतरा छ भन्ने कुराले मलाई ज्यादा सताएको थियो । काठमाडौं विमानस्थलको जहाज पर्खने कोठामा सेनाका जर्नेलले मलाई सुझाव दिदै भनेका थिए, “तपाईं नयाँ यात्री हुनुहुँदो रहेछ । बैङ्कक विमानस्थल निकै खतरा छ । त्यहाँ अरुभन्दा पनि नेपाली चोरहरूकै ज्यादा बिगबिगी छ । नेपाली चोरडाकाहरूले ट्रान्जिट कक्षभित्रै नेपाली यात्रीहरूलाई लुट्ने र ठग्नेजस्ता धेरै घटनाहरू हुने गरेका छन, त्यसैले आफ्नो सामान अरु कसैलाई रुङ्न पनि नलाउनु होला र अरुको सामान पनि आफूले नरुङ्नु होला । ‘यो सामान एकछिन रुङिदिनोस् न म ट्वाइलेट गएर आउँछु’ भनेर एउटाले. सामान जिम्मा लगाएर हिंड्छ । एकछिन पछि अर्कै व्यक्ति आउँछ र ‘यो मेरो सामान तैंले कहाँ चोरिस् ए बजिया?’ भनेर पुलिसलाई फोन गर्छ । वास्तवमा त्यो सामान उसकै हुन्छ र रुङ्ने मान्छे चोर ठहर्छ । त्यसैले विमानस्थलभित्र भइन्जेल ज्यादै होस् गर्नु होला ।”

जर्नेलको कुराले मलाई एकातिर सतर्क गराएको थियो भने अर्कातिर मनको बाघले भित्रभित्रै कुटुकुटु खाँदै थियो । छुट्टिने बेलामा मैले नरेन्द्रको मुखतिर हेरें । उनले मेरो अनुहारमा कुन कुन कुराको अध्ययन गरे मैले थाहा पाइन तर उनले अरुलाई एकछिन त्यहीं बस्न लगाएर मलाई कोरियन काउन्टर भएको कक्षसम्म पुर्याइदिए । ‘भाइ भए भोरस (भरोस), गाई भए गोरस’ मेरो निमित्त चरितार्थ भयो । त्यस सहयोगलाई मैले ‘अविस्मरणीय’ र ‘अमूल्य’ भनेको छु ।