सामग्रीमा जानुहोस्

कोमलका कविताहरू

नेपाली विकिपुस्तकबाट, स्वतन्त्र पुस्तकालय
पुस्तकको नाम : कोमलप्रसाद पोखरेलका कविताहरू
प्रकाशन मितिः २०७० साल
प्रकाशकको नामः धर्मादेवी पोखरेल
ISBN:

मुबायल गीता

[सम्पादन गर्नुहोस्]


भिरेर नित्य साथमा बजाइहिँड्छ गीत क्वै
लिएर सेट हातमा लगाइहिँड्छ प्रीत क्वै ।
लगेर नित्य कानमा हलो जुवा त नार्छ क्वै,
हजुर् हजुर् हवस् भनी घुमेर बात मार्छ क्वै ।।१।।


यता गयो मुवायलै उता छ मान एसको,
गरीब होस् तथा धनी यही छ सान देशको ।
छ क्लासमा मुवायलै छ जाँचमा मुबायल,
लिएर नोट हातमा सफल हुने मुबायल ।।२।।


छ सेट हातमा भने जुटाइ दिन्छ बर्बधु
विवाह हुन्छ झट्ट नै लमी छ यो मुबायल ।
न पढ्नुपर्छ कत्ति नै छ सीम साथमा भने,
असीम बन्छ इज्जतै भि¥यो मुबायलै भने ।।३।।


स्वतन्त्र प्रेममा सधैँ खुला छ यो मुबायल,
मिलिक्क देश नै धनी बनाउने मुबायल ।
गरीब खानले मरे त अन्न हो मुबायल, ।
असक्त रोगले मरे छ ओखती मुबायल ।।४।।


छ घूस ख्वाउनै भने गरेर हेर डायल,
छ देश मास्नुनै भने त अस्त्र हो मुबायल ।
उमेरले बुढो भए छ साथमा मुबायल,
भने छछं गरी परी नचाउने मुबायल ।।५।।


स्वकीय श्रीमती त्यसै लत्याउने मुबायल,
पराय स्त्रीहरू स्वयं हत्याउने मुबायल ।
विभागमा पुग्यो भने रुँगाउने मुबायल,
दिएन दच्छिना भने रुवाउने मुबायल ।।६।।


कुनै कतै असुन्दरी र प्रौढ नै भए पनि ,
छ सेट हातमा भने भनिन्छ च्वाँक हुन् तिनी ।
युवाहरू पिछा गरी घुटुक्क गर्दछन् जब,
यही नयाँ विकास हो भनी बुझे भयो अब ।।७।।
कहीँ त शोडषीहरू हँसाउने मुबायल,
कहीँ त एसमेसले फसाउने मुबायल ।
कि यौवना घरैभरी सजाउने मुबायल,
कि ता विदेशमा लगी भजाउने मुबायल ।।८।।


छ भात थालमा भने त दाल हो मुबायल,
कतै धुसा न पाइने कतै सिरक् मुबाय ।
निदाउँदैन रातमा छ हातमा मुबायल,
मुसार्छ सुम्सुम्याउदै भनी प्रिंये ? मुबायल ।।९।।


यदाकदा घटी बढी भएछ भागमा भने,
वरिष्ट दल्हरू स्वतः फुटाउने मुबायल ।
फुटे भनेर हर्ष क्यै नमान्नु रे‘छ बास्तब,
हुटेलमा पसेभने जुटाउने मुबायल ।।१०।।


सभा मिटिङ् जताततै घनक्क घन्कने यही,
अनेक टोनमा बजी रनक्क रन्कने यही ।
कथा, पुराण आदिमा पसेभने त क्वै जब,
टिटीँ टुटुँ गर्यो कि ता जरुक्क उठ्दछन् तब ।।११।।


अज्ञात स्थानमा लगी करोड माग्छ यो कथम्,
पुगेन माग लौ भने लिदैछ ज्यान यो स्वयम् ।
तथापि मानिसै न हो हुदैन कत्ति कायल,
रहेछ जादुको छडी समान यो मुबायल ।।१३।।


धनी छ देश भेषमा करोड रिन् छ केशमा,
न खान क्यै छ साथमा तथापि सेट हातमा ।
युवा पति प्रदेशमा कि श्रीमती विदेशमा,
लगी स्वतन्त्रले चराउदै छ यो मुबायल ।।१४।।


कलेज जान्छ ठाँटमा लिएर सेट हातमा,
तथापि ऊ गरीबझैँ कुुरा कथुर्छ बातमा ।
यदाकदा त दल्बलै लिएर हिंड्छ साथमा,
पछि त्यही गरीव भै निशुल्क हुन्छ क्लासमा ।।१५।।


चिठी बरा कता गइन् † यहाँ त सौतिनी पसी,
रजाइँ गर्दछे सदा सुटुक्क काखमा बसी ।
न प्रेम पत्र लेखिने न ता कुनै घरायसी,
सबै कुरा सिध्याउने रहुछ यो मुबायल ।।१६।।


गएल हुन्छ टावर त्यसै सकिन्छ पावर,
सधैँ छ व्यस्त सर्किट प्रतीक भो मुबायल ।
धुरुक्क पार्छ ब्लफ्कल प्रसस्त हुन्छ मिस्कल ।
कि भन्छ नित्य स्वीचफ व्यथा भयो मुबायल।।१७।।






आठौं आश्चर्य

[सम्पादन गर्नुहोस्]
धेरै सूरा हरतरहले छौँ सबै नै जुझारु ।
बैला भैँसी सरह उपमा नाम हाम्रो दुधालु ।
सीनो देख्ता झटपट गई खान हुन्छौं हुरुक्क ।
लेख्नै पर्ला अब गिनिजमा नाम हाम्रो खुरुक्क ।। १।।


आँखा हाम्रा अति चहकिला रक्तका हक्त हुन् कि !
भाका हाम्रा अति गहकिला छल्नमा मस्त छन् ती ।
हाम्रो भित्री हृदय बनिएको छ पाषाण युक्त ।
लेख्नै पर्ला अब गिनिजमा नाम हाम्रो खुरुक्क ।।२।।


बिहानीले प्रतिदिन नयाँ शब्द सञ्चार गर्छ ।
नेपालीका घरघर डुली मृत्यु उद्घाष भर्छ ।
काफल् पाक्ने शुभ खबर क्यै सुन्न पाइन्न झट्ट ।
लेख्नै पर्ला अब गिनिजमा नाम हाम्रो खुरुक्क ।।३।।


निद्रा मेरी पनि त अहिले माइतै घस्किएकी ।
बूढो लोग्ने भनिकन उतै बस्न कम्मर कसेकी ।
छोरा भन्छन् उठ अब हिडौं बृद्ध आश्रम् खुरुक्क .
लेख्नै पर्ला अब गिनिजमा नाम हाम्रो खुरुक्क ।।४।।


अर्ती दिन्छौं अरुअरु मरे ब्रह्मज्ञानी भएर, ।
आफ्नो मर्दा सुधबुध कहाँ जान्छ हुन्छौं हुरुक्क,
भन्छौं झुट्टो छ जगत स्वयं देह नासिन्छ हेर ! ।
लेख्नै पर्ला अब गिनिजमा नाम हाम्रो खुरुक्क ।।५।।


निस्वार्थी छौं कतिपय कुरा श्वानवत् चल्छ हाम्रो .
भिक्षार्थी छौं तब त अहिले नाम चल्दैछ राम्रो ।
अल्छी छैनौ तर प्रगतिको मार्ग छोड्यौं चटक्क, ।
लेख्नै पर्ला अब गिनिजमा नाम हाम्रो खुरुक्क ।।६।।


भन्ने गर्छौं अब दु्रत गतिमा देश बढ्नेछ नित्य, ।
गर्नेगछौं हरतरहले ताण्डवी नग्न नृत्य ।
ठूला रे’छौं मनुज जसले बन्धु पार्यौ भुतुक्क, ।
लेख्नै पर्ला अब गिनिजमा नाम हाम्रो खुरुक्क ।।७।।


त्यागी बन्दै कतिपय अहो ! पुग्दछौं माथि माथि, ।
भोगी बन्दै नव महलमा भुल्दछौं आङ्खनु साथी ।
हामी आ˚फैँ अधपतनमा जान हुन्छौं हुरुक्क ।
लेख्नै पर्ला अब गिनिजमा नाम हाम्रो खुरुक्क ।।८।।


तृष्णा हाम्रो भुवनभरमा रे’छ अत्यन्त कामी, ।
आशा गर्छौं प्रतिपल यहाँ मात्र आङ्खनै सलामी ।
यस्तैयस्ता कुटिल मनमा बास को बस्न सक्छ ।
लेख्नै पर्ला अब गिनिजमा नाम हाम्रो खुरुक्क ।।९।।


हुन्थे पुर्खा अघिअघि यहाँ शत्रुमारेर नामी, ।
ऐले ओड्छौं अनुज जनका रक्तको रामनामी
हाम्रा सारा गतिमति यहाँ अल्पिएछन् चटक्क ।
लेख्नै पर्ला अब गिनिजमा नाम हाम्रो खुरुक्क।।१०।।




कवि बन्न खोज्दा

[सम्पादन गर्नुहोस्]
आजन्म घाँसी हुन घास काटियो
चुरोटमा दैनिक नोट साटियो ।
कपाल दाह्री लटरम्म पालियो,
तथापि फुर्दैन कवित्व, हारियो ।।


बनी भवानीपति भस्म लाइयो,
उमा सती जीवित देख्न पाइयो ।
त्यसो हुँदा भाव सर्ब गुमाइयो,
तथापि फुर्दैन कवित्व, हारियो ।।


उन्मुक्त बन्ने रहरै गरीकन,
स्वच्छन्द आयामिक धार लीकन ।
सुराग्निमा देह सबै पगालियो,
तथापि फुर्दैन कवित्व, हारियो ।।


विरागमा राग थपी अनेकन,
शून्यत्वमा क्लिष्ट मुछी मनैमन ।
पाण्डित्य शैली नव गाँस हालियो,
तथापि फुर्दैन कवित्व, हारियो ।।


बनी मपाईं कवि लेख्न थालियो,
‘वरिष्ट’ यो शब्द अगाडि हालियो ।
गमक्क गम्की कविता सुनाइयो,
तथापि फुर्दैन कवित्व, हारियो ।।


चोरी कसैको कविता सुनाइयो,
झन्डै पुरस्कार त्यसै पकाइयो ।
स्रष्टा महान् बन्न जुँगा मुसारियो,
तथापि फुर्दैन कवित्व, हारियो ।।


पक्वान्न पारी रस छन्द खाइयो,
तथा अलङ्कार अनेक लाइयो ।
उपाधिका साथ अहं थुपारियो,
तथापि फुर्दैन कवित्व, हारियो ।।


प्रभातको शीतल स्वच्छ वातमा,
उद्यानको सुनदर भाव साथमा ।
पन्छीहरू साथ स्वयं कराइयो
तथापि फुर्दैन कवित्व, हारियो ।।


वसन्तमा कोकिल गीत गाइयो,
हेमन्तको शीत यथेष्ट खाइयो ।
अज्ञानको टिम्टिम दीप बालियो,
तथापि फुर्दैन कवित्व, हारियो ।।
यो राष्ट्रभाषा किन व्यर्थ सिक्नु छ,
विदेशको आङ्गल भाव झिक्नु छ
भनी स्वयं देश विदेश भ्याइयो,
तथापि फुर्दैन कवित्व, हारियो ।।


गरेर चिप्ला महतुल्य भाषण,
ठगेर सोझा जनता जनार्दन ।
जादू गरी मन्तर फू बनाइयो,
तथापि फुर्दैन कवित्व, हारियो ।।


लामो पँहेलो त लुगा स्वयं भिरी,
रुद्राक्ष मालाहरू छन् गलाभरि ।
निधार यो चन्दनले सिगारियो,
तथापि फुर्दैन कवित्व, हारियो ।।


गोष्ठीहरूमा दिनरात धाइयो,
बिस्कुट् चिया मात्र प्रसस्त खाइयो ।
अर्धाङ्गिनीको भकुराइ पाइयो,
तथापि फुर्दैन कवित्व, हारियो ।।


गुफा हिमाली अनि कन्दरातिरै,
कतै लुकेको छ कि यो कवित्व नै ।
भनेर खोज्दा अनुहार चाउरियो,
तथापि फुर्दैन कवित्व, हारियो



म फर्केर आएँ युएस्से पुगेर

[सम्पादन गर्नुहोस्]



पृष्ठ भूमि

थियो भित्र राष्ट्रीयता नै बगेको

थिएँ मातृवात्सल्यले ओतिएको

तथापि स्वयं स्वप्नवत् पौडिएर

युएस्ए गएँ के न होला भनेर ।

कसैले भने त्यो त हो स्वर्ग लोक

जहाँ छैन बन्दै गरीवी र भोक

म फुर्कें फुरुक्कै कुरा यो सुनेर

युएस्ए गएँ के न होला भनेर ।

पुरी हो धुरी त्यो छटा माधुरीको

गृहश्वेत जादू छडी झैँ छ रे त्यो

भनी हेर्नलाई बडो तम्सिएर

युएस्ए गएँ के न होला भनेर ।

त्यहाँ चल्छ जादूगरी देवताको

गए ल्याप्प टाँसिन्छ मान्छे यताको

त्यताको प्रशंसैप्रशंसा सुनेर

युएस्ए गएँ के न होला भनेर ।

न पैसा हुनेले भिसा किन्न सक्छ

न नेता हुँ भन्ने त्यहाँ पुग्न सकछ

कता स्वर्ण मौका म छाडूँ भनेर

युएस्ए गएँ के न होला भनेर ।

यहाँ श्वेत आतङ्कमा बाँधिएको

म सिन्कीसरी झन्झनै खाँदिएको

हुनाले त्यहाँ हुन्छु फुक्का भनेर

युएस्ए गएँ के न होला भनेर ।

बगेको छ त्याहाँ डलर् उर्लिएर

सबै विश्व ढाक्दैछ झन् कुर्लिएर

भनी खेल्न पौडी त्यसैमा डुबेर

युएस्ए गएँ के न होला भनेर ।

महादेश सम्पन्नशाली छ जाहाँ

जुनै देशको होस् पुगूँ भन्छ त्याहाँ

म फुर्कें फुरुक्कै कुरा यो सुनेर

युएस्ए गएँ के न होला भनेर ।

अनुभूति एक

त्यहाँ देख्न पाइन्न मान्छे हिडेको

जथाभाबि संसाझ टाउको गिंडेको

यहाँझँ धुलो सुघ्न पाइन्न लेस

म फर्केर आएँ त्यसैले स्वदेश ।

कुहेको सडेको छुनै हुन्न जान

न पूर्वीय सप्र्याङ् गरी हुन्छ खान

भने के गरी खानु मैले भनेर

म फर्केर आएँ युएस्ए पुगेर ।

त्यहाँ पिउन पाइन्छ पाइन्न मात्न

जथाभावि पाइन्न स्वास्नी समात्न

त्यही लोकतन्त्रे खडेरी बुझेर

म फर्केर आएँ युएस्ए पुगेर ।

न नारा उरालेर सातो लगार्छन्

न गाडी डढाई त्यहाँ भस्म पार्छन्

भने क्रान्तिमा देश तन्नं रहेछ

भनी फर्किआएँ युएस्से पुगेर ।

त्यहाँ पढ्दछन् शास्त्रभित्रै डुबेर

त्यसैले ठगी चीट शून्यै रहेछ

यतै ज्ञान पाइन्छ पुस्तक सुँघेर

भनी फर्किआएँ म आफ्नै स्वदेश ।

त्यहाँ घूसलाई सबै भूस मान्छन्

सधैँ आफुलाई इमान्दार ठान्छन्

बरू देश खाने यतै छन् भनेर

म फर्केर आएँ युएस्ए पुगेर ।

उता भोटमा नोट साटिन्न कत्ति

जहाँ ढाँटको खेत रोपिन्न रत्ति

यतै यी कुरा गर्न मिल्ने भएर

म फर्केर आएँ युएस्ए पुगेर ।

मिसेको दुई नम्बरी वस्तु मिल्छ ?

भनी सोधियो खोजियो यत्रतत्र

नपाए पछि व्यग्र सारै भएर

म फर्केर आएँ युएस्ए पुगेर ।

न ता लड्न पाइन्छ त्यो देश भित्र

इराकै पुगी भिड्नु पर्ने विचित्र

घरैभित्र लड्ने र भिड्ने यतै छ

भनी फर्किआएँ युएस्से पुगेर ।

म ता भोकमा रोगमा रत्तिएको

विदेशी रिनैले सबै पोतिएको

बसूँ के गरी त्यो डलर्मा डुबेर

भनी फर्किआएँ युएस्से पुगेर ।

म चम्चे भरौटे भई लिम्छु दाम

भनी खोजिहेरेँ कतै छैन काम

त्यता चाकरी चाप्लुसी शून्य रे’छ

म फर्केर आएँ त्यसैले स्वदेश ।

लफङ्गा र झल्ला कतै भेटिदैनन्

जुवातास खेल्ने त झन् देखिदैनन्

भने के गरी दिन् बिताऊँ भनेर

म फर्केर आएँ युएस्ए पुगेर ।

छ बत्ती बलेको अहोरात्र नित्य

दिवा सूर्यझैं निभ्न जान्दैन सत्य

त्यहाँ लोडसेडिङ् सधैं जेलमा छ

म फर्केर आएँ त्यसैले स्वदेश ।

हुँदैहुन्न खाई अघाई डकार्न

न पाइन्छ इच्छानुसारै खकार्न

कता छाड्नु संस्कार आफ्नो भनेर

म फर्केर आएँ युएस्ए पुगेर ।

त्यहाँ छैन कानून नानी हकार्न

कडा रेछ बन्देज स्वास्नी भकुर्न

त्यसैले प्रजातन्त्र एतै रहेछ

भनी फर्किआएँ युएस्से पुगेर ।

कदाचित् त्यहाँ बन्धुको घात हुन्न

यहाझैं अनेकौ जहां जात हुन्न

यतै जातिको यद्ध बढ््रदैछ धेर

भनी फर्किआएँ युएस्से पुगेर ।

फुटानी लडाएर केही कथुर्ने

अरूको सबै भाग आफैँ हसुर्ने

प्रथाको खडेरी परेको बुझेर

म फर्केर आएँ युएस्ए पुगेर ।

त्यहाँ खान पाइन्न सिन्की र ढिंडो

न ता धानको भातले थाम्छ बींडो

पिजाले गिजा सुन्निएला भनेर

म फर्केर आएँ युएस्ए पुगेर ।

न जाँतो न ढिक्की न लिप्ने न पोत्ने

पटक्कै त्यहाँ गर्नु पर्दैन रे’छ

बुहारीहरू बिग्रलान् पो भनेर

म फर्केर आएँ युएस्ए पुगेर ।

अनुभूति दुई

अहा श्वान त्याहाँ बडो भाग्यमानी

सधैं गोरिनीसाथ बित्ने जवानी

दुधे बाल कोक्रो कठै रुङ्छ राती

सदा बोतलै मात्र उस्को छ साथी ।

बिछट्टै त्यहाँ श्वानको हुन्छ मान

यहाँ झैँ छि भन्ने हुदैहुन्न जान

डलर्तिर्नु पर्ला कि आच्चे भनेर

छिटै फर्किआएँ युएस्ए पुगेर ।

त्यहाँ एक लोग्ने प्रथा लागु छैन

चितायो बितायो कसैले छुदैन

मलाई त्यही रोग सर्ला भनेर

छिटै फर्किआएँ युएस्से पुगेर ।

म छक्कै परें, ओठ चुम्छन् चरीले

कटाक्षै गरी वाण हान्छन् परीले

बुढो व्यास आपूm नबन्ने भएर

छिटै फर्किआएँ युएस्से पुगेर ।

यता हेर्छु जोरै ढकुर् छन् घुमेका

उता हेर्छु त्यस्तै चखेबा चुमेका

म एक्लो परेबा बिजोडी भएर

नसक्ने भएँ बस्न, आएँ फिरेर ।

नयाँ माल हेरेर चाखेर किन्छन्

छिटै वाक्क मानेर मिल्काइदिन्छन्

पुरानै बरू टिक्छ धेरै भनेर

म फर्केर आएँ युएस्ए पुगेर ।

त्यता वस्तु पाल्ने कुरा रेछ गाह्रो

थलामा सधैं लाजमर्ने चटारो

सधैं कोरली उल्टिंदो मात्र रेछ

त्यसैले त फर्कें म आफ्नै स्वदेश ।

बतासे फुलैबाट निस्कन्छ चल्ला

त्यसैको त्यहाँ हुन्छ हल्ला र खल्ला

न ता पर्छ कोरल्न ओथ्रा बसेर

त्यसैले म फर्कें युएस्ए पुगेर ।

असाध्यै त्यहाँ वस्तु छाडा रहेछन्

खुलेआम बाली त खाँदा रहेछन्

यतै जोगिएला कि बाली भनेर

म फर्केर आएँ युएस्ए पुगेर ।

त्यहाँ कोरलीका छ मासे बहर्छन्

बिना रोक चर्ने सबैका रहर्छन्

म नामर्द चर्नै नसक्ने भएर

छिटै फर्किआएँ युएस्से पुगेर ।

डलर्मा पनि श्रीमती साट्न मिल्छ

जथाभाबि गाला त्यहाँ चाट्न मिल्छ

कतिन्जेल् बसूँ बन्द आँखा गरेर

भनी फर्किआएँ युुएस्से पुगेर ।

नपुग्ने सधैँ किन्न चोलो र साडी

त्यसैले त्यहाँ किन्नुपर्ने कवाडी

नयाँ किन्न सक्ने हुती शून्य रे’छ

म फर्केर आएँ त्यसैले स्वदेश ।

कतै देख्छु नारी लँगौटी कसेका

कतै कट्टू मात्रै लगाई बसेका

धनी देश भन्ने कुरै मात्र रे’छ

म फर्केर आएँ त्यसैले स्वदेश ।

उपसंहार

सबै नै त्यहाँ किन्न पाइन्छ जत्ति

फुलाई भुँडी खान पाइन्छ कत्ति

पटक्कै म पाउन्न आमा भनेर

घरै फर्कि आएँ युएस्ए पुगेर

         





के इलामे म हैन र ?

[सम्पादन गर्नुहोस्]
बर्बोटेभित्रको गाऊँ तोरिबारी प्रसिद्ध छ,
त्यहीं नै जन्मिएँ हुर्कें के इलामे म हैन र ?


रामकान्त त्यहीं जन्मे डिल्लिराम पनि त्यहीं,
पिता राम त्यहींका हुन् के इलामे म हैन र ?


मैले पढें चुरेघाँटी टीकाराम थिए गुरु,
त्य जान्ने थोर छन् आज के इलामे म हैन र ?


काशीनाथ र गायत्री जान्दथे गुरु नारद,
परंधाम पुगेका छन् के इलामे म हैन र ?


मलाई चिन्दछन् वृक्ष खोला नाला सबै तर,
नचिन्दा व्यक्तिले आज के इलामे म हैन र ?


सारा जङ्गल बक्नेथ्यो इलामे हो भनीकन,
काटिए बेचिए देख्ने के इलामे म हैन र ?


चिर्बिच्र्यार्र गरी बोल्ने गौंथली प्रस्ट चिन्दथे
सन्तान मासियो तिन्को के इलामे म हैन र ?


झुप्रामा जन्म भो मेरो त्यहीं नै म बढें पनि,
ठुला महलका मात्र इलामे हुन् ? म हैन र ?


थिएँ भर्खरको लक्का जवान मत्यहाँ छँदा,
वसन्त सत्तरी काटें के इलामे म हैन र ?


घ्वाँईं डन्डिबियो खेल्ने गोरेटा धुलितस्थल,
पिचले थिचिएका छन् के इलामे म हैन र ?


ऐंसेलू क्यामुनू चुथ्रो मेरा बाल्य सखा सब,
कहाँ गए भेतिदैनन् के इलामे म हैन र ?


बिहेमा बज्दथ्यो पन्चैबाजा रन्की यतस्तत,
अहिले डर्रड्रं हुन्छ के इलामे म हैन र ?


पूजाआजा हुँदा जम्थ्यो लोकगीत र बालुन,
रिमिक्स् भा’छन् सबै आज के इलामे म हैन र ?


श्रुतिस्मृति यही भन्छ वसुधैव कुटुम्बकम्
झापामै वास मेरो छ के इलामे म हैन र ?


इलामे लाममा नाम लेखिएन भने पनि
आमा इलाम हुन् मेरी के इलामे म हैन र ?
             ०००




बोकाको दाइँ

[सम्पादन गर्नुहोस्]
दाईँ गर्नुछ गोरु छैन घरमा बोकाहरू मात्र छन्,
उग्राएर बसी मुतेर सबले बर्बाद झन् पार्दछन् ।
बोकाबाट गरेर आस यसरी बस्नै यहाँ सर्म भो,
बाख्रीका पछि लाग्नु मात्र यसको सारै ठुलो धर्म हो ।।


गाई दूध दिने बडा गजबको श्री कामधेनू थियो,
दिन्थ्यो दूध सदैव एकगतिले मन्ले चिताए पुग्यो ।
मीठो दूध र भातले कि किन हो खाने सबै मात्तिए,
बोकाका मुखमा अटेन कि कसो खान्दानले पात्तिए ।।


आफ्नै दाजु र भाइ खूब झगडा गाई कुटी गर्दछन्,
हेर्चाहा छ कता कता त डुँडको घाँसै समेत् चोर्दछन् ।
कल्चौँडो छ प्रयोजनै सब मिली बेजोडले तान्दछन्,
गाई हान्न समर्थ छैन सिंगले भन्ने कुरा जान्दछन् ।।


बाछो स्वस्थ शरीर सुन्दर थियो मारे यिनै दुष्टले,
बाछो मैहुँ भनेर तान्न मुखले थाले यिनै दुष्टले ।
हल्सारो बिचरा कटै पशु न हो के बोल्न सक्थ्यो बरा,
खाली पेट लिएर आज कसरी फूँ गर्न सक्थ्यो बरा ।।


भाले बास्छ कुयाममा प्रकृतिको निद्रा बिथोल्ने गरी,
होसै गुम्दछ मध्य रात बिचमा भूकम्प आए सरी ।
भाले यो घरको अजङ्ग कहिल्यै काटेर काटिन्न है,
मापाको छ कतै लगेर पनि यो सछेर सातिन्न है ।।


अको पीरछ साँधमा जखमले तल्लाघरे बस्दछ ,
रातारात स्यं लुकेर उसले आली उँभो कस्दछ ।
आफू मात्र गई भन्यो कि त त्यहाँ डाँका ठुला गर्दछ ,
राखी पञ्च कुरा गर्यो यदि भने उल्टै झिक्दछ ।।


पाखा खेत जहाँ छ सानु घरको बारी त्यहीं पर्दछ,
बर्सेनी नपुगेर खान यतिले बेसाउनै पर्दछ ।
साहूले पनि दिन्छ एकदिन ता घर्खेत मिल्ला भनी,
भाका नाघ्छ जसै खुरुक्क त्यसले सम्पूर्ण लेला पनि ।।


बस्नै यो घर भत्किएर अहिले सप्पै भताभुङ्ग भो,
आफ्नो घर्ब्यवहार आज सहसा जम्मै लथालिङ्ग भो ।
बाजेले कति दुःखले श्रम गरी आर्जे म बेचूँ भने,
थामी खान बडा कठिन् हुनगयो साँच्चै नबेचूँ भने ।।


साथी हो म त पीरमा छु अहिले घर्बार यो लान्छ कि !
कोही छैन सघाउने हृदयले अस्तित्व नै जान्छ कि !
केही गर्नुछ लौ यही समय हो आऊ बचाऊ घर,
मेरा निम्ति तिमी सर्यौ अघि भने बच्नेछ तिम्रो घर ।।

२०६१।०८।२५



म विश्वासमा श्वास छोडी हिंडेको,
म विश्रान्तिमा शान्ति खोजी हिंडको ।
लखेट्छौ तिमी शान्ति के हुन्छ राम्रो,
म छक्कै परेँ चाल देखेर तिम्रो ।।


सबै एक संझेर चिम्लन्छु आाखा,
रक हुन्न केही तराई र पाखा ।
म पञ्चत्वमा लीन बाँची रहन्छु,
मरे झै तिमी प्रण साँची रहन्छौ ।।


तिमी बोल्छौ भ्यगुता बोल्छ एस्तै,
तिमी सास फेर्छौ खलाँती छ उस्तै ।
म सासै न फेरी सदा ज्ञानमा छु,
म योगीसरी राष्ट्रको ध्यानमा छु ।।


म आफैं खरनी खुसीसाथ हुन्छु,
कि माटो भई उर्वरा धेर बन्छु ।
तिमी स्र्ण एक्ले पचाएर हिड्छौ,
सधैँ दीनलाई ठटाएर हिड्छौ ।।


तिमी औठले छौ सदा साम्यवादी,
तथा आँतले छौ तिमी काम्यवादी ।
मलाई त राजा र रैती समान,
सही सत्य यो वाक्य झूठो नठान ।।


कुनै दिन् तिमी गर्दथ्यौ वारिपारी,
सुलुक्कै निल्यौ जङ्गलै सा˚ पारी ।
म एकै घना बाँसमा मख्ख पर्छु,
त्यही बाँसले घोच्दछौ छक्क पर्छु ।।


तिमी हन्तकारी बनी धेर खान्छौ,
करोडौं हुँदा अर्बमा चित्त लान्छौ ।
भए एक मानो सँगै द्रव्य एक,
मलाई भने पुग्छ जन्मौँ अनेक ।।


कसैले कुनै दिन् गरे सानु गाली,
तिमी गर्जनेछौ नि देशै उचाली ।
लगाएर आगो जलाए पुरे वा,
म हाँसी सही बस्छु घोचे थिचे वा ।।


सधैँ मस्त निद्रा म भोग्दै रहन्छु,
तथा शीत गर्मी खुसीले सहन्छु ।
तिमी जाग्दछौ रातमा सत्रचोटि,
सिरी सम्पती जान्छ लागेर हो कि !
          ०००





जोबन गयो बैँस त गएन लै लै

[सम्पादन गर्नुहोस्]
 



म नेता जिती भोट, बस्दैछु माथि,
म आनन्दले रम्छु नोटै समाति ।
यता भोटदाता कुनै सम्झिएन,
गयो जोबनै बैंस जाँदैगएन ।।


कमी हुन्न याहाँ न ता हुन्छ खाँचो,
सधैं झूटलाई बनाएर साँचो ।
गरें चर्तिकाला अभैm धित् मरेन,
गयो जोबनै बैंस जाँदैगएन ।।


सधैं लोभ लाग्नेछ बानी बसेको,
अहोरात्र देख्दैछु मान्छे खसेको ।
तथापि स्वयं मर्छु भन्ने भएन,
गयो जोबनै बैंस जाँदैगएन ।।


म साँडे यता वा उता चर्न सक्ने,
सबै नै मरून् जे गरून् भोग गर्ने ।
त्यही रोग लागेछ जाती भएन,
गयो जोबनै बैंस जाँदैगएन ।।


म मन्त्री बनी हक् जमाएर बस्छु,
किशोरी त्यहाँ एक भर्ती म गर्छु ।
असत्ती छ यो मन् कसै थामिदैन,
गयो जोबनै बैंस जाँदैगएन ।।


म भेटेजति ख्वाप्प निल्दिन्छु आज,
बसी मेचमा ठस्ठसी राजकाज
गरें जोसमा होस केही रहेन,
गयो जोबनै बैंस जाँदैगएन ।।


म ता भोटमा ओठले गर्छु काम,
नजित्ने भए नोटले गर्छु काम ।
म झैं धूर्त नेता कतै भेटिएन,
गयो जोबनै बैंस जाँदैगएन ।।


म खाऊँ मलाऊँ गरूँ मोजमस्ती,
लजाई बसून् काखमा म्यामजस्ती ।
यही धङ्धङी आजसम्मै गएन,
गयो जोबनै बैंस जाँदैगएन ।।


म पाउन्नथें खान केरा कदाचित्,
पर्यो स्वर्ण मौका र खाएँ भकाभक् ।
कति भ्याइयो होस केही भएन,
गयो जोबनै बैंस जाँदैगएन ।।


पखाला चल्यो टुर्र झन् टुर्र फेरि,
पस्यो अख्तियारी त्यहीं दाउ हेरी ।
परें खोरमा चोरझैं क्यै चलेन,
गयो जोबनै बैंस जाँदैगएन ।।


कठै देश थारो छ लागेन बाली,
बहर् गड्गडीमा छ खाएर छाली ।
बुढो गोरु ढुक्दैछ, बन्दैन काम,
गयो जोबनै बैंस जाँदैगएन ।।


गयो हेर्न मेला त्यहाँ इस्क गर्छन्,
स्वयं कोरली नै बहरसाथ चर्छन् ।
कठै बृद्धको चित्त चोखो रहेन,
गयो जोबनै बैंस जाँदैगएन ।।


कसैले हजुर्बा भने चित्त दुख्छ,
बिना काम बाजे भने रीस उठ्छ ।
धरोधर्म बुढो छु भन्ने भएन,
गयो जोबनै बैंस जाँदैगएन ।।


कसैले भने भाइ उफ्रेर नाच्छु,
मुसुक्कै गरी मन्दमुस्कान हाँस्छु ।
हिऊँझैं भयो केश थाहै भएन,
गयो जोबनै बैंस जाँदैगएन ।।


जबानी छदा ऐसमा पात्तिएको,
घमण्डीपनाले थिएँ मात्तिएको ।
झरे दाँत बत्तीस यो मन् झरेन,
गयो जोबनै बैंस जाँदैगएन ।।


म सानो छँदा बा सधैँ भन्नुहुन्थ्यो,
मजस्तो हुँदा चेत फिर्नेछ यस्को ।
हजुर्बा भएँ चेत किञ्चित् फिरेन,
गयो जोबनै बैंस जाँदैगएन ।।


सहारा छ लाठी सधैँ एक साथी,
चिठीपत्रद्वारा बोलाउँदैछ माथि ।
अझै के गरूँ यौनतृष्णा गएन,
गयो जोबनै बैंस जाँदैगएन ।।


मेरो राजिनामा

[सम्पादन गर्नुहोस्]
आँखा स्वस्थ र स्वच्छ छन् तर यहाँ देख्नै नसक्ने भएँ,
हो यो सत्य भनेर तथ्य घटना लेख्नै नसक्ने भएँ ।
नाङ्गो देश छ लाज आज सजिलै ढाक्नै नसक्ने भएँ,
मीठो हैन सिधो पिठो पनि यहाँ चाख्नै नसक्ने भएँ ।।
केही काम लिई कतै पनि म ता धाउनै नसक्ने भएँ,
कुर्सी घुम्दछ आँ गरी फनफनी ख्वाउनै नसक्ने भएँ ।
अर्कालाई तिरेर अन्न घरमा हुल्नै नसक्ने भएँ,
गोजी शून्य छ साहुका नजिकमा डुल्नै नसक्ने भएँ ।।
खाऊँ दिन्भरिको सिकार तर यो खानै नसक्ने भएँ,
जाऊँ मन्दिर जान्छ देह मन ता लानै नसक्ने भएँ ।
आशा बन्धनभित्र राख्नु कसरी थाम्नै नसक्ने भएँ,
आफ्नै बान्धवको मुटू पनि यहाँ छाम्नै नसक्ने भएँ ।।
को ज्ञानी शठ को भनी सहजले बुझ्नै नसक्ने भएँ,
बाछो सानु म साँडका अघिसरी जुध्नै नसक्ने भएँ ।
अन्धाका पछि दौडँदै म त्यहाँ पुग्नै नसक्ने भएँ,
गोठालो हुँ तथापि गोठ कहिल्यै रुङ्नै नसक्ने भएँ ।।
उत्तर्दक्षिण पूर्व पश्चिम कतै भिड्नै नसक्ने भएँ,
माटाको महिमा बुझ्यो कि कसले चिन्नै नसक्ने भएँ ।
निस्वार्थी अनि स्वच्छ छन् कि त कुनै, जान्नै नसक्ने भएँ,
आफ्नै हार्दिक मित्रलाई पनि ता छान्नै नसक्ने भएँ ।।
स्वप्नामा पनि कानले शुभ कुरा सुन्नै नसक्ने भएँ,
आफ्नै रक्त गनाउदोछ अरुता सुँघ्नै नसक्ने भएँ ।
उस्बेला बरु बोल्दथें अब त झन् बोल्नै नसक्ने भएँ,
निस्फिक्री मनका व्यथा त कहिल्यै खोल्नै नसक्ने भएँ ।।
सत्तामा अरु मित्र नै किन नहुन् हेर्नै नसक्ने भएँ,
सत्ता चुम्बक नै रहेछ कि कसो छुट्नै नसक्ने भएँ ।
अर्काका शिरको लिखा र त्यसको खुट्टा म देख्ने भएँ,
आफूभित्र अजङ्गका जखमले भैंसी नदेख्ने भएँ ।।
बोक्रे राष्ट्रियता सुगा रटनमा घोक्नै नसक्ने भएँ,
मेरा आत्मविरोधका स्वरहरू रोक्नै नसक्ने भएँ ।
मैले मात्र विदेशका ऋण सबै बोक्नै नसक्ने भएँ,
देशै शून्य गरी विदेसिइसके छेक्नै नसक्ने भएँ ।।
त्रासैत्रास भएर पीर मनको पोख्नै नसक्ने भएँ,
आफ्नै रक्षकलाई भित्र मनले जोख्नै नसक्ने भएँ ।
मेरा शैल हिमाल स्वच्छ कहिल्यै राख्नै नसक्ने भएँ,
किं कर्तव्य छु गुप्त अङ्ग अब ता ढाक्नै नसक्ने भएँ ।।
साँडे छन् अनगिन्ति, झन् गडगडी रोक्नै नसक्ने भएँ ,
बाछी एक कठै ! बलात्कृत हुँदा छेक्नै नसक्ने भएँ ।
आँखा हेर्नु सिबाय क्यै अरु कुरा गर्नै नसक्ने भएँ,
यै चालासित तड्पिएर सजिलै मर्नै नसक्ने भएँ ।।



म र मेरो दैनिकी

[सम्पादन गर्नुहोस्]
अति भाग्य विहीन भएर पनि,
जतिदुःख र कष्ट सहेर पनि ।
किन कुन्नि सधैं अघि सर्दछु म,
हुँ वरिष्ठ भनी भर पर्दछु म ।।
कवि बन्न सधैं अघि सर्दछु म,
सिगडा र चिया पनि धोक्दछु म ।
न त दौलत केही कमाउछु म,
न त औसर केही समाउँछु म ।।
यदि आसनमा लगिएन भने,
दिइएन उपाधि वरिष्ट भने ।
तब झट्ट अरिष्ट बनेर स्वयम्,
कविता स्थल नै पनि छाड्दछु म ।।
पति वा गृहिणी न रिझाउँछु म,
मनभित्र पसेर बिझाउँछु म ।
कलिलो मन चोर्न सिपालु छु म,
वचनामृतमा त कृपालु छु म ।।
सृजना अरुका न त सुन्दछु म,
कवि सर्जक छन् न त मान्दछु म ।
कविता अघि वाचन गर्न तथा,
घर छड्कन मात्र रुचाउँछु म ।।
कहिं ता गजलामृत पढ्छु अनि,
कहि शब्द दुरूह थुपार्छु पनि ।
कहिं शब्द र अर्थ लडाउँछु म,
तब वादविवाद बढाउँछु म ।।
कहिं भर्खरकी युवती बनिदै,
नवयौवन सिक्त गराउँछु म ।
कहिं ता रतिको अवतार लिई,
महभित्र झिंगा त डुबाउँछु म ।।
कति खेत गरा बनिदै बनिदै,
भरिएछ निधार तथापि अझै ।
छु वयस्क भनेर कपालभरि,
मल कृत्रिम नित्य लगाउँछु म ।।
कहिले दलका पछि लाग्दछु म,
कहिले बलका पछि लाग्दछु म ।
जहिले सलका पछि लाग्छु अनि,
तहिले भकुराइ त भेट्छु पनि ।।
कवि आसनमा जब पुग्छु स्वयं,
तब भ्यागुति हुन्छ र फुल्छ अहम् ।
नजिकै जब देख्छु दलाधिपति,
म त हुन्छु स्वतः परमाणु जति ।।
सुरु हुन्छ जसै दलको कविता,
कलको बलको छलको स्वकथा ।
तब बुझ्छु स्वयं कवि हो बिचरा,
घरतर्फ म फिर्छु सुटुक्क अहा !
         ०००


नेतालार्इ केही प्रश्न

[सम्पादन गर्नुहोस्]
कहाँ थियो बास अघी म को थिएँ,
कसो हुँदा यो दरबारमा पुगें ।
फिर्ने छु धेरै सुन साथ लीकन,
तँलाइ मालुम् छ कि यो कुरा मन ?
त्यहीं थियो वास बस्दथें जहाँ,
अघाँउजी खान म पाउँथें कहाँ ।
मन्त्री हुनासाथ कसोरि भो धन,
तँलाइ मालुम् छ कि यो कुरा मन ?
बुढो भएँ केश सबै झरी गए,
बत्तीस उन्कै घरमा सरि गए ।
तथापि यो बैंस बसीरनू किन,
तँलाइ मालुम् छ कि यो कुरा मन ?
अचार्य व्यासासनमा बसेका,
ती ब्रह्मचारी सबले गनेका ।
मान्छे लुकी प्रीत लगाउँछन् किन,
तँलाइ मालुम् छ कि यो कुरा मन ?
विद्वान् धनी प्राज्ञ र वर्दिधारी,
भिरेर प्राध्पापकको उपाधि ।
कनीकनी गेस पढाउँछन् किन,
तँलाइ मालुम् छ कि यो कुरा मन ?
जस्को छ सत्ता त्यसकै छ भत्ता,
चम्चे भरौटे उसका प्रयोक्ता ।
तथापि आहारिस गर्दछन् किन,
तँलाइ मालुम् छ कि यो कुरा मन ?
उही कुलो खेत बिउ सबे उही,
उसै गरी रोपिदिए कतै कहीं ।
उम्रन्न बीजादिक गर्भमा किन,
तँलाइ मालुम् छ कि यो कुरा मन ?
पत्नी घरै छ विदेशमा पति,
पठाउँछ प्राप्त कमाइ जे जति ।
तथापि दिउसै लज धाउँने किन,
तँलाइ मालुम् छ कि यो कुरा मन ?
पत्नी सुशीला र मनोरमा अनि,
पतिव्रता झन् नवयौवना पनि ।
छँदा छँदै पर्तिर धाउँछन् किन,
तँलाइ मालुम् छ कि यो कुरा मन ?
बोकाहरू मात्र सयौं हजारन,
छानेर लाए पनि धान झारन ।
सकिन्न गोरु द्वय चाहियो किन,
तँलाइ मालुम् छ कि यो कुरा मन ?
मातापिता बृद्ध अशक्त भा’छन्,
सुपुत्र बृद्धाश्रम खोजिरा’छन् ।
छोरा भएमा अब फुर्कने किन,
तँलाइ मालुम् छ कि यो कुरा मन ?
जोडी कुनै ढुक्कुरको अति प्रिय,
एकात्ममा रम्छ सधैं सधैं तर ।
पत्नी बितेकै क्षण ल्याउनू किन,
तँलाइ मालुम् छ कि यो कुरा मन ?
बं बं गरी बंबुटिमा रमीकन,
लुगा पँहेला सबले भिरीकन ।
ठिटाठिटी बोल्बम धाउँछन् किन,
तँलाइ मालुम् छ कि यो कुरा मन ?