कनकाई प्रवाह

नेपाली विकिपुस्तकबाट, स्वतन्त्र पुस्तकालय
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

कनकाई प्रवाह

चौथो तरङ्ग

भानु विशेषाङ्क

प्रकाशक  : कनकाई प्रतिभा प्रतिष्ठान सुरुङ्गा, झापा

प्रकाशन साल  : २०७१

सर्वाधिकार  : प्रकाशकमा

प्रकाशित संख्या  : ५००

कम्प्युटर  : मैनाली डेक्सटप पब्लिकेसन, सुरुङ्गा

मुद्रण  : दुर्गा अफसेट सुरुड्डा, झापा

सहयोग रु.  : १५०

ISBN : 978-9937-2-8399-1


सम्पादक मण्डल

कोमलप्रसाद पोखरेल

जीवनाथ सुवेदी

कुलेन्द्र मैनाली

विष्णुप्रसाद कोइराला

डा.पुण्यप्रसाद पौड्याल

व्यवस्थापन समूह

जनार्दन उप्रेती

बुद्धदेवप्रसादघिमिरे

गोविन्दघिमिरे

कुबेर संग्रौला

तीर्थराज खरेल

सूर्यप्रसाद अधिकारी

प्रेम प्रभात


सम्पादकीय

साहित्यलाई भाषिक कला भनिन्छ । कला प्रकटीकरणका विभिन्न माध्यममध्ये भाषिक प्रस्तुतिका रूपमा साहित्य सिर्जिन्छ । व्यावहारिक अभिव्यक्तिमा पनि अनौपचारिक रूपमा कलात्मक प्रस्तुति हुन्छ । तर त्यसलाई साहित्य भनिदैन । श्रोता र वक्ताको सहभागितामा वा औपचारिक अभिव्यक्तिका रूपमा कुनै विषयवस्तु, विचार वा भावनालाई गद्यात्मक वा पद्यात्मक तथा वर्णनात्मक, संवादात्मक, प्रस्तोताबाट सोझै वा पात्र र घटनाका माध्यमबाट कलात्मक ढङ्गले प्रकट गरिँदा साहित्य बन्छ । अभिव्यक्तिगत माध्यमका कारणबाट नै साहित्यका कविता, नाटक, आख्यान र निबन्ध आदि प्रकार हुन्छन् । यसरी वक्ता वा प्रस्तोता र श्रोता वा ग्रहिताको सहभावसँगै हितकारी अभिव्यक्ति हुने भएकाले त्यसलाई साहित्य भनियो भने त्यो कलात्मक हुने भएकाले साहित्यलाई भाषिक कला भनिएको हो ।

नेपाली साहित्याकाशमा साहित्यिक ताराहरू निकै पहिलादेखि नै जगमगाएको कुरा साहित्यिक इतिहासले औंल्याएको छ तापनि विक्रमको उन्नाइसौं शताब्दीमा भानुको उदय भएपछि त्यो आकाश झलमल्ल भएको कुरा भानुजत्तिकै छर्लङ्ग छ । त्यो भानु जसलाई हामी भानुभक्त आचार्य भनेर चिन्छौं, भौतिक वा शारीरिक रूपमा वि.सं. १८७१ मा उदाएर वि.सं. १९२५ अस्ताएको भए पनि उसका किरणहरूले नेपाली साहित्यकाशलाई आलोकित पारिरहेकै छन् । यस कारण भानुभक्तलाई नेपाली साहित्यका प्रारम्भकर्ताका रूपमा आदिकवि वा प्रथम नोपाली साहित्यकार भन्न मिल्दैन तापनि गुणस्तर, सङ्ख्या, लोकप्रियता, सर्वत्र छरिएर रहेका नेपालीको जानकारीमा आएको ख्याति आदि कारणले उनलाई आदिकवि भनिएको कुरा बिलकुलै अनुचित लाग्दैन । यस आधारमा भानुभक्तलाई नेपाली साहित्यका आदिकवि भनियो वा उनी आदिकविका रूपमा चिनिए; यो कुरा ठिकै छ तर यस सन्दर्भमा पूर्ववर्ती नेपाली साहित्यकारको अस्तित्वलाई कायम राख्नु, उनीहरूको योगदानको महत्त्वलाई स्विकार्नु र उनीहरूलाई आदरपूर्वक सम्झनु पनि उत्तिकै आवश्यक छ ।

उक्त कुराका साथै भानुभक्तका कृतिगत विशेषताका आधारमा उनी सहज वा प्राकृत कवि, आशुकवि, मौलिकता वा नेपालीपन अथवा आफ्नो छुट्टैपन भएका कवि पनि हुन् । उनले आफ्नो समयका व्यावहारिक, मानव–स्वभावगत र चरित्रगत, सामाजिक, राजनीतिक वा प्रशासनिक आदि होची अर्घेलीप्रति कविताका माध्यमबाट बडो तिखो तर मिठो ढङ्गले व्यङ्ग्य गरेका छन् । तत्कालीन सामाजिक, राजनीतिक र प्रशासनिक परिवेश तथा परम्परागत मान्यताका कारण वधूशिक्षा, प्रश्नोत्तरमाला र फुटकर कविताका कतिपय प्रसङ्गमा केही पुराना विचारले उनका रचनामा ठाउँ पाए पनि बडो असहज परिवेशमा सहज ढङ्गले आफूलाई जोगाएर सचेतताका साथ कवितामा कलम चलाउनु नै भानुको प्रतिभाको वैशिष्ट्य, महŒवपूर्ण खुबी एवम् साहित्यिक योगदान हो भन्ने कुरा मान्नै पर्छ ।

नेपाली साहित्यको भक्तिधारा त भानुको प्रभाव क्षेत्र नै हो भने रामायण, भक्तमाला, प्रश्नोत्तरमाला उनका मूल कृति हुन् । नेपाली समाजको धार्मिक आस्था, सांस्कृतिक मान्यता, भाषिक विकास र एकीकरण तथा साहित्यिक उन्नयनका निम्ति भानुभक्तको रामायण अभिन्न वस्तु एवम् आदरणीय उपलब्धि बन्न गएको छ । यसका साथै भक्तमालामा सकाम भक्तिको अभिव्यक्ति भए पनि आध्यात्मिक भावना तथा विचार प्रवाहमा यसको प्रशंसनीय भूमिका र अविस्मरणीय देन रहेको छ । प्रश्नोत्तरमालाका जीवनोपयोगी सूक्तिहरूले समाजलाई सही मार्ग निर्देशन गरेको पाइन्छ ।

जसरी भौगोलिक आकाश र धरतीलाई आलोकित गर्ने भानुका किरणमा कतिपय हानिकारक तत्त्वहरू रहे पनि जीवनदायी वा आवश्यक तŒवहरू नै बढी रहेका हुन्छन्, त्यसै गरी नेपाली साहित्याकाशमा झलमलाएर नेपाली साहित्यिक धरतीलाई आलोकित गर्ने भानुका केही किरणहरू कताकता हानिकारक लागे पनि मात्रागत दृष्टिले भन्नुपर्दा साहित्यिक जीवनदायी र आवश्यक तŒवहरू नै बढी रहेको पाइन्छ । त्यसैले जसरी भानुका किरणका नकारात्मक तत्त्वबाट बच्तै सकारात्मक तत्त्वहरूबाट ऊर्जा ग्रहण गरी जीवन र व्यवहारमा उपयोग गरिन्छ र सारा प्राणी, वनस्पतिजगत् जीवित रहन्छ, त्यसै गरी हाम्रा भानुका साहित्यिक किरणका नकारात्मक पक्षलाई पनि तत्कालीन सामाजिक मान्यताको उपजका रूपमा स्विकार्दै र सकारात्मक प्रेरणा लिँदै उनका जुन किरणले नेपाली साहित्यको माध्यमिक काललाई समेत छिचोलेर आधुनिक कालसम्म सकारात्मक वा सृजनात्मक प्रभाव पारेको छ, त्यसलाई भने आदरपूर्वक ग्रहण गरेर सदुपयोग गर्दै अघि बढ्नु बुद्धिमानी हुन्छ । अन्त्यमा भानुभक्तको द्विशतवार्षिकीका अवसरमा उनीप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछौं ।

सम्पादक मण्डल


प्रकाशकीय

मानव समाजमा विविध गतिविधि हुने गर्दछन् । मान्छे समाजसेवा गर्न तथा आत्मप्रकाशन गर्न समेत अभिप्रेरित भई विविध सङ्घसंस्थामा संलग्न रहेर, कोही राजनीतिक दल वा समूहमा आबद्ध भएर, कोही साहित्य–कला आदि क्षेत्रमा सम्बद्ध भएर वा अन्य विभिन्न क्षेत्रमा लागेर क्रियाशील हुन चाहन्छ । यस्तै विविध क्षेत्रका क्रियाकलापले समाज गतिशील, क्रियाशील तथा परिचित बनेको हुन्छ । समाजमा यस्ता क्षेत्रहरू कुनै प्रत्यक्ष वा तत्काल प्रभाव पार्ने हुन्छन् भने कुनै गतिविधिले तत्काल सृजनाको प्रेरणा दिए पनि भविष्यमा मात्र प्रभावकारी उपलब्धि दिने खालका हुन्छन् । साहित्यिक गतिविधिले यस्तै वर्तमानमा सृजनात्मक प्रेरणा दिने र भविष्यमा मात्र प्रभावकारी उपलब्धि दिने गर्छ ।

झापाको सुरुङ्गामा वि.सं. २०५१ मा स्थापित कनकाई प्रतिभा प्रतिष्ठानको पनि उक्त विविध क्षेत्रमा क्रियाशील मानवलाई सृजनात्मक प्रेरणा दिने उद्देश्य रहेको छ । यसले सुरुमा केही अन्य गतिविधिका प्रयासहरू पनि गर्यो भने हाल प्रकाशनका माध्यमबाट आफ्नो अस्तित्वलाई कायम राख्ने प्रयास गर्दै आएको छ । यस क्रममा यसले वि.सं. २०५६ मा विविध विधाको सामूहिक सङ्कलनका रूपमा कनकाई प्रवाहको पहिलो तरङ्ग, वि.सं. २०६० मा कथा विशेषाङ्कका रूपमा दोस्रो तरङ्ग र वि.सं. २०६८ मा विविध विधाको सामूहिक सङ्कलनका रूपमा तेस्रो तरङ्ग प्रकाशित गर्यो । हाल कनकाई प्रवाहको चौथो तरङ्गलाई भानु विशेषाङ्कका रूपमा प्रकाशित गर्न लागिएको हो । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको द्विशतवार्षिकीका अवसरमा यस कनकाई प्रवाहको चौथो तरङ्गलाई यस रूपमा पाठकसमक्ष समर्पण गर्न पाउँदा यो प्रतिष्ठान हर्षित भएको छ । प्रस्तुत तरङ्गलाई आदिकवि भानुभक्त आचार्यप्रति सम्झना र सम्मान प्रकट गर्ने तथा भानुसम्बन्धी खोजमूलक र जानकारीमूलक बनाउने हाम्रो लक्ष्य के कति सफल भयो ? विज्ञ पाठकहरूले त्यसको मूल्याङ्कन गर्नु नै हुने छ ।

भानुभक्त आचार्य नेपाली साहित्यको प्राथमिक कालका विशिष्ट प्रतिभा हुन् । उनी सामान्य कवि मात्र नभएर नेपाल राष्ट्र, नेपाली जाति र समाजको उन्नति प्रगति चाहने युगद्रष्टा र नेपाली भाषाका महान् स्रष्टा हुन् । भानुभक्तको आदिकवित्वका सम्बन्धमा प्रश्नहरू उठाइएका छन् र उनी आदिकवि हुन् वा होइनन् ? भन्ने तर्कवितर्कहरू चलेका छन् । वास्तवमा उनी आदिकवित्वका तर्कवितर्कभन्दा धेरै माथि छन् । उनले आदिकवि हुनलाई रामायण लेखेका र काव्य कृति रचना गरेका पनि होइनन् । उनले जुन समयमा नेपाली भाषा र साहित्यको उत्थान हुने कार्य गरे त्यो आदिकवित्वभन्दा माथि र महान् छ । उनका कार्यले नेपाली भाषालाई जनमानसमा स्थापित गराउनका साथै साहित्य स्रष्टालाई प्रेरणा दिएको हुनाले भानुभक्त नेपाली जातिका गौरव हुन् र अविस्मरणीय व्यक्तित्व हुन् । नेपाली भाषा–साहित्यका यस्ता महान् कवि भानुको उदयको पहिलो शताब्दी उनका कृतिहरूको प्रकाशनमा बित्यो । दोस्रो शताब्दी उनका कृतिहरूको समीक्षा, समालोचना, कवित्वसम्बन्धी व्याख्या, विश्लेषण एवम् तर्कवितर्कमा बित्यो । अब तेस्रो शताब्दीमा भने उनको उच्च मूल्याङ्न र उनका कार्यको उचित सम्मान हुनुपर्छ ।

भानु द्विशतवार्षिकीको अवसरमा ‘भानु विशेषाङ्क’को प्रकाशन गर्ने हाम्रो उत्कट अभिलाषा हुँदाहुँदै पनि आर्थिक अभावले हामीलाई निराश तुल्याइरहेको अवस्थामा पुस्तक छपाइ सम्बन्धी सम्पूर्ण आर्थिक व्ययभार वहन गरी महत्त्वपूर्ण सहयोग उपलब्ध गराउने रुद्र–गौरी, श्री–अम्बिका ओली प्रतिष्ठानप्रति यो संस्था हार्दिक आभारका साथ कृतज्ञता प्रकट गर्दछ । यस विशेषाङ्कका लागि लेख रचना प्रदान गरी सहयोग पुर्याउनुहुने सम्पूर्ण लेखक, समीक्षक तथा साहित्यकारहरूमा प्रतिष्ठान हार्दिक कृतज्ञता ज्ञापन गर्दछ । यो विशेषाङ्क प्रकाशनका लागि गठित व्यवस्थापन समूह र सम्पादन समूहमा रहेर जिम्मेवारी तथा सक्रियताका साथ व्यवस्थापन एवम् सम्पादन कार्यमा खट्नुहुने सम्पूर्ण महानुभावलाई यो प्रतिष्ठान धन्यवाद नदिइरहन सक्तैन । त्यस्तै आफ्ना आजीवन संरक्षक, आजीवन सल्लाहकार तथा आजीवन सदस्यहरूप्रति प्रतिष्ठान आभार प्रकट गर्दछ । त्यसै गरी क्ष्क्द्यल् प्राप्त गर्न सहयोग गर्नुहुने गोपीकृष्ण खनाल, पत्रिका छपाइ कार्यमा संलग्न दुर्गा अफसेट प्रेस सुरुङ्गाका प्रोपाइटर अनुषा मैनाली र मेसिन अपरेटर नारायण पोखरेललाई पनि प्रतिष्ठान धन्यवाद ज्ञापन गर्दछ ।

कनकाई प्रतिभा प्रतिष्ठान
सुरुङ्गा, कनकाई नगरपालिका,
झापा

भानुभक्त अाचार्य[सम्पादन]

भानुभक्त आचार्य : व्यक्ति र कृतिको सङ्क्षिप्त चर्चा[सम्पादन]

विषय प्रवेश

नेपाली साहित्यमा वि.सं. १८२६ बाट लेख्य कविताको आरम्भ भएको पाइन्छ । सुरुमा वीरधारा र वि.सं. १८७१÷७२ देखि भक्तिधाराका कविताहरू लेखिए । भक्तिधारमा पनि कृष्णभक्तिधारा, रामभक्तिधारा र निर्गुण भक्तिधाराको परम्परा अघिबढेको देखिन्छ । भानुभक्त आचार्य (१८७१—१९२५) ले रामभक्ति धारामा नेतृत्वदायी ढङ्गले कलम चलाए भने सिङ्गै प्राथमिक कालका केन्द्रीय कविका रूपमा भूमिका निर्वाह गरे । उनको प्रभाव भने माध्यमिक काल र आधुनिक कालको सुरुमा समेत परेको पाइन्छ ।

पहिलादेखि नै नेपाली कविता–काव्य लेखिँदै आएको भए पनि भानुभक्तले सिङ्गो रामायण नेपाली भाषामा लेखेका थिए भने अन्य धार्मिक, नैतिक÷औपदेशिक, सामाजिक तथा हास्यव्यङ्ग्यात्मक कविता समेत सृजना गरेका छन् । तुलनात्मक रूपमा पूर्ववर्ती कविभन्दा प्रभावशाली कलम चलाउनका साथै पछि मोतीरामका पालामा रामायण लगायत अन्य कृतिहरू प्रकाशित भएर प्रचार हुँदा भानुभक्त नेपाली जनमानसमा नेपाली कवि र महाकाव्यकारका रूपमा चिनिन पुगे । यसका साथै साहित्य प्रेमीको माग अनुसार शासकले समेत उनलाई आदिकविको उपाधि दिए । त्यसकारण भानुभक्त नेपाली साहित्यका आदिकविका रूपमा स्थापित भए ।

यसरी नेपाली साहित्यका पहिला कवि तथा महाकाव्यकार भएर भानुभक्त आचार्य आदिकवि भएका होइनन् तर स्तरीयता, प्रकाशन, प्रसिद्धि र उपाधि प्राप्तिका आधारमा आदिकवि भएका हुन् । उनले रामायणबाहेक भक्तमाला, प्रश्नोत्तरमाला, वधूशिक्षा तथा फुटकर रचनाहरू सृजना गरेका छन् । यस लेखमा यिनै भानुभक्तको सामान्य परिचय र उनका कृतिहरूको अतिसङ्क्षिप्त चर्चा गर्ने जमर्को गरिएको छ ।

व्यक्ति भानुभक्तबारे सङ्क्षिप्त चर्चा

भानुभक्त आचार्यको जन्म वि. सं १८७१ असार २९ गते आइतबार तनहुँ जिल्लाको चुँदी रम्घा गाउँमा भएको हो । माता धर्मावती देवी र पिता धनञ्जय आचार्यका एकमात्र सुपुत्र भानुभक्तको शिक्षा परम्परागत रूपमा बाजे श्रीकृष्ण आचार्यबाटै प्रारम्भ भएको हो । मेधावी बालकका रूपमा उनी सानैदेखि पढाइमा रुचि राखेर सफल हुँदै गएका हुन् भन्ने कुरा संस्कृत साहित्य र व्याकरण तथा ज्योतिष शास्त्रमा समेत पारङ्गत भएका र उनको कृतित्व एवम् कवित्व शक्तिबाट पनि स्पष्ट हुन्छ । नेपाली साहित्यको इतिहासमा भानुभक्तको अतुलनीय योगदान रहेको कुरा निर्विवाद छ । उनको रामायण र फुटकर रचनाहरू लालित्य र स्वादले भरिपूर्ण छन् । उनका काव्य स्वदेशी जनजिब्रोमा मात्र नभई प्रवासी नेपालीहरूमा समेत अतिप्रिय रहेका छन् ।

वि. सं १९४८ मा मोतीराम भट्टले भनुभक्तको जीवनचरित्र लेखी छपाए र उनलाई आदिकविको मान्यता पनि उनै मोतीराम भट्टका प्रयासले प्राप्त भएको हो भन्ने भनाइ पाइन्छ । जे भएपनि भानुभक्त आचार्य धार्मिक र नैतिक चेतना भएका प्रखर कवि थिए । समाजलाई नैतिक आदर्शतिर उन्मुख गराउनु उनको मुख्य उद्देश्य थियो । यसै व्रmममा उनले संस्कृतको अध्यात्म रामायणको अनुवाद कार्य प्रारम्भ गरे । वि.सं. १९९८ मा बालकाण्ड लेखे । उनले १९०७ देखि १९०९ सम्म पाल्पा दरवारमा खरिदार पदमा जागिर खाए । त्यहाँ कार्यरत पल्टनलाई तलब बाँड्ने काम उनैको थियो । पछि बही (हिसाबकिताब) बुझाउन नसक्दा उनी थुनामा समेत परे । चार महिनाको जेल अवधिमा जेलभित्रै अयोध्याकाण्ड, अरण्यकाण्ड, किष्किन्धाकाण्ड र सुन्दरकाण्ड तयार पारे । वि.सं.१९१० मा युद्धकाण्ड र उत्तरकाण्डको रचना गरे । त्यसै गरी भक्तमाला र प्रश्नोत्तरमालाको रचना पनि गरे । वि.सं.१९१९ मा वधूशिक्षा लेखे र १९२५ मा रामगीता (रामायणको उत्तरकाण्ड) को रचना गरे । यस अतिरिक्त भानुक्तका प्रशस्त फुटकर कविताहरू पनि लिखित/प्रकाशित छन् । यति मात्र होइन भानुभक्तले जगद्गुरु शङ्कराचार्यका अनेक पद्यलाई नेपालीमा अवतरण गराएका छन् । उनलाई अध्यात्मतिर अभिप्रेरित गर्ने पूर्वीय वेदान्त दर्शनका गुरु ग्रन्थ नै हुन् । उनका प्रश्नोत्तर, भक्तमाला जस्ता रचनामा शङ्कराचार्यका वैदान्तिक पद्यको अति ठुलो प्रभाव छ र उनले शङ्कराचार्यलाई आफ्ना वैदान्तिक ज्ञान र दर्शनका आदर्श मानेका छन् भन्ने कुरा भानुभक्त र शङ्कराचार्य दुवैका रचनाको अध्ययन गर्दा स्पष्ट हुन्छ ।

भानुभक्तले व्यास, वाल्मीकि, वेद, पुराण तथा उपनिषद्लाई पनि आदर्श मानेका छन् । त्यही आदर्शलाई आधार बनाएर उनले आफ्ना कृति निर्माण गरेका छन् । कतिपय विद्वान्ले उनका रचनालाई अनूदित मानेका छन् भने धेरैले मौलिक मानेका छन् । भानुभक्तको रामायण अध्यात्म रामायणको अनुवाद हो र उनका अन्य रचना मौलिक हुन् भन्ने कुरा नेपाली समालोचनामा रूढ भइसकेको छ । तथापि अनूदित होस् वा मौलिक भानुभक्तका कृतिहरूले नेपाली साहित्यमा ठूलो योदान गरेको कुरा निर्विवाद छ । नेपाली साहित्यका धरोहर भानुभक्त आचार्यलाई आदिकवि, आदर्श कवि मात्र नभई खण्डकाव्यकार र महाकाव्यकारका रूपमा पनि चिनिन्छ । उनी लोकप्रसिद्धि, प्रकाशन र उपाधि दिइएका हिसाबले पनि नेपाली साहित्यका प्रथम महाकाव्यकार तथा आदिकवि हुन् । उनको देहावसान वि.सं. १९२५ मा आफ्नै घर तनहुँमा भयो । भानुभक्तका काव्यकृतिबारे सङ्क्षिप्त चर्चा १.रामायण भानुभक्तीय रामायण (१८९८—१९१० लेखनकाल) लाई प्रचारप्रसार, लोकप्रसिद्धि, लोकप्रियता तथा प्रकाशनका दृष्टिले प्रथम नेपाली महाकाव्य मानिएको छ । उनले व्यासकृत संस्कृतको अध्यात्म रामायणको नेपालीपन दिएर मौलिकताका साथ भावानुवाद गरी नेपाली जनमानसमा शार्दूलविक्रीडित लगायतका शास्त्रीय छन्दलाई जातीय सङ्गीतको लोकप्रियता प्रदान गरेका छन् । उनको यस कृतिलाई वि.सं. १९४२ मा मोतीराम भट्टको सत्प्रयासबाट प्रकाशनमा ल्याइएको हो । अध्यात्म रामायण सातकाण्ड र विभिन्न सर्गमा विभाजित भएपनि भानुभक्तले सर्ग हटाएर सात काण्ड र १३१८ श्लोकमा श्लोकानुवाद गरेका छन् । अध्यात्म रामायण सम्पूर्ण अनुष्टुप छन्दमा लेखिएको छ भने भानुभक्तीय रामायण शादूलविक्रीडिडित (१०४५ श्लोक), शिखरिणी (२९ श्लोक), स्रग्धरा (३५ श्लोक), इन्द्रबज्रा (३३ श्लोक), मालिनी (३६ श्लोक), वसन्ततिलका (१३८ श्लोक), स्वागता (१ श्लोक) र द्रुतविलम्बित (१ श्लोक) छन्दमा रचना गरिएको छ । पात्र र परिवेशलाई नेपाली पन दिएर सुमधुर नेपाली भाषाको प्रयोग गरिएको हुँदा लालित्यपूर्ण र स्वादिलो बन्न गएकाले भानुभक्तीय रामायणमा मौलिकता पाइन्छ । रामभक्तिको रसास्वादन गर्न पाइने उक्त कृति ऐतिहासिक, सांस्कृतिक, धार्मिक, आध्यात्मिक मात्र नभई साहित्यिक महŒव बोकेको अनि पूर्ण मौलिक नभए पनि नेपाली महाकाव्यको जग बसाल्न र नेपाली भाषाको एकीकरणका साथ प्रचारमा विशिष्ट योगदान प्रदान गर्न सफल भएको छ । सात काण्ड भएको भानुभक्तको रामायणको अति सङ्क्षिप्त कथावस्तु निम्नलिखित अनुसार छ ः

  • बालकाण्ड

वशिष्ठ र ऋष्यश्रृङ्ग ऋषिद्वारा यज्ञ गराएपछि बुढेसकालमा अयोध्याका राजा दशरथका तिन रानीमध्ये कौशल्याबाट राम, कैकेयीबाट भरत र सुमित्राबाट लक्ष्मण तथा शत्रुघ्न गरी चारजना छोराहरू जन्मन्छन् । ऋषि विश्वामित्रले दशरथका चार भाइ छोराहरूमध्ये राम र लक्ष्मणलाई मागेर आश्रममा लिएर जान्छन् । ऋषिसँग आश्रम गएका रामले सुबाहु, ताडका आदि राक्षस–राक्षसीसँग युद्ध गरी मारिदिन्छन् । उनी विविध पराव्रmम गर्दै जनकपुर पुगी देशदेशावरबाट आएका पराव्रmमी र वीरहरूले उचाल्न र हल्लाउनसम्म नसकेको शिवधनु भाँची जनक राजाकी छोरी सीतासँग विवाह गर्छन् । त्यहीं रामका भाइहरूको पनि विवाह हुन्छ र प्रशस्त दाइजोका साथ छोरा बुहारीहरू साथमा लिई राजा दशरथ अयोध्या फर्केर राज्य गर्छन् ।

  • अयोध्याकाण्ड

अयोध्यामा रामको राज्याभिषेक गर्ने तयारी गर्दैगर्दा मन्थराको कुरा सुनेर रानी कैकेयीले राजा दशरथसँग रामलाई चौध वर्ष वनवासको माग गर्दछिन् । पूर्वसर्त अनुसार त्यो माग पूरा गर्न बाध्य भएका बाबु दशरथ र आमा कौशल्यालाई सम्झाएर राम सीता र लक्ष्मणका साथ वनवास जान्छन् । पछि लागेका नगरवासीलाई फर्काएर उनीहरू गुरु वाल्मीकि आदिसँग भेट गर्दै चित्रकुट पर्वतमा गई बस्तछन् । यता पुत्रशोकले राजा दशरथको मृत्यु हुन्छ । मावलीबाट फर्केका भरतले बाबुको काजक्रिया गर्दछन् । भरत आमा कैकेयीसँग रिसाएर रामलाई फर्काउन चित्रकुटतर्फ लाग्छन् । दाजु राम र गुरु वशिष्ठले सम्झाएपछि रामका खराउ लिई फर्कन्छन् र प्रतिनिधि भएर अयोध्यामा राज्य गर्छन् ।

  • अरण्यकाण्ड

वनमा राम विराध आदि राक्षसहरू मार्दै र अत्रि, सरभङ्ग, अगस्ति आदि ऋषिहरूलाई भेट्दै पञ्चवटीमा गएर बस्छन् । राम र लक्ष्मणदेखि मोहित भएर आएकी सुर्पणखाको लक्ष्मणद्वारा नाक काटिन्छ भने रामद्वारा त्रिशिर, दूषण र खर नामका राक्षसहरू मारिन्छन् । रावणले अराएकाले मारिच सुनको मृग भएर राम र सीताका अगाडि उफ्रिन थाल्छ । त्यो देखेर सीताका आग्रहले राम त्यसका पछि लाग्छन् र लक्ष्मण पनि त्यतै दगुरेपछि जोगी भएर आएको रावणले सीतालाई हरण गरी लिएर जान्छ । जटायुबाट सीतालाई रावणले हरण गरेको खबर पाएपछि राम र लक्ष्मण सीताको खोजी गर्ने व्रmममा कबन्ध आदि राक्षसलाई मारेर शवरीलाई भेटी ऋष्यमुक पर्वततिर लाग्दछन् ।

  • किष्किन्धाकाण्ड

आफ्ना दाजु बालिका डरले भागेर ऋष्यमुक पर्वतमा गई बसेका सुग्रीवसँग राम मित लगाउँछन् । रामले किष्किन्धाका राजा बालिलाई मारेर सुग्रीवलाई राज्य दिलाउँछन् । वर्षा त्यहीं बितेपछि सुग्रीवले वानर वीरहरूलाई सीताको खोजीमा सबैतिर पठाउँछन् । दक्षिणतर्फ हनुमान, जाम्बवान, अङ्गद आदिलाई पठाइन्छ र उनीहरू समुद्रको किनारमा पुगेपछि बुढो गिद्ध सम्पातिको सल्लाह अनुसार समुद्र नाघेर लङ्का जान हनुमान तयार हुन्छन् ।

  • सुन्दरकाण्ड

हनुमान समुद्र माथिबाट उडेर लङ्का पुग्दछन् । बाटामा रोक्न आएकी सुरसा र लङ्का पुग्नासाथ ढोकामा बाधा हाल्न पुगेकी लङ्किनी जस्ता राक्षसीहरूलाई पन्छाएर हनुमान सीता भए ठाउँमा पुग्छन् । रामले चिनो पठाएको औंठी सीतालाई दिई सीताबाट रामका लागि चिनो चूडामणि लिएर हनुमान लङ्का घुम्छन् । त्यहाँका केही बगैंचाहरू भत्काउनका साथै राक्षसहरूलाई मार्न थालेपछि हनुमान समातिन्छन् । त्यसपछि हनुमानको पुच्छरमा आगो लगाइन्छ र त्यही आगाले लङ्कापुरी जलाएर खरानी बनाएपछि पुच्छर समुद्रमा चोबी निभाएर आफ्ना साथीहरूका साथ हनुमान किष्किन्धा पुगी रामलाई सबै खबर सुनाउँछन् ।

  • युद्धकाण्ड

सेनासहित सुग्रीवका साथ राम समुद्र किनारमा पुग्छन् र तिनै सुग्रीवका सेनाका सहायताले समुद्रमा पुल हाली लङ्का पुगेर रावणको भाइ विभीषण समेतको सहयोगले इन्द्रजित, कुम्भकर्ण लगायत रावणलाई समेत मारेर विभीषणलाई राज्य दिएपछि ससैन्य सुग्रीव तथा अन्य हितचिन्तकहरू, सीता र लक्ष्मणसहित राम अयोध्या फर्कन्छन् । त्यसपछि पुरस्कार र आशीर्वादका साथ सुग्रीव हनुमान आदिलाई बिदा गरी राम राज्य गर्न लाग्छन् ।

  • उत्तरकाण्ड

राम अयोध्यामा राज्य गरेर बसेका हुन्छन् । विभिन्न ऋषिहरू आउँदै रामसँग भेट गर्दै उनका महिमा गाउँदै बिदा हुन्छन् । राम पनि सबैलाई उचित आदर सत्कार गर्दछन् । अर्काले लगेकी स्वास्नी फर्काएर ल्याएको भन्ने आपूmमाथि लागेको आरोप सुनेपछि गर्भवती सीतालाई वनमा लगी वाल्मीकिका आश्रम नजिकै छोडेर आउन राम लक्षणलाई अराउँछन् । वाल्मीकि आश्रममा सीताका दुई छोरा लव र कुशको जन्म हुन्छ । आश्रममै उनीहरूको लालनपालन भई हुर्कन्छन् । यता राम पनि राजोचित यज्ञादि गर्दै रामराज्य चलाउँछन् । कालान्तरमा छोराहरूसहित सीतालाई बोलाउँछन् । रामसँग भेट भएपछि सीता पृथ्वीसँग बाटो मागेर बिदा हुन्छिन् । राम पनि छोरालाई राज्य दिएर सरयुको पानीको बाटो भएर बिदा हुन्छन् ।

उपर्युक्त कथावस्तुलाई सहयोग गर्न विभिन्न उपकथाहरू पनि प्रशस्तै आएका छन् । तर भानुभक्तले ती उपकथाहरूलाई ज्यादै सङ्क्षिप्त र अत्यावश्यक रूपमा मात्र ग्रहण गरेका छन् । त्यसैले कथावस्तुमा अनावश्यक विस्तार भएको पाइँदैन । संस्कृतको अध्यात्म रामायणको कथावस्तुलाई भानुभक्तले सङ्क्षेप गरी प्रशस्त मौलिकता प्रदान गरेकाले नेपालीपन पाइन्छ । ठाउँठाउँमा अलौकिक घटनाहरू घट्ताघट्तै पनि यस कथावस्तुमा स्वाभाविकता र काव्यात्मकता ल्याउनमा भानुभक्तको कवित्वको खुबी वा विशेषता झल्किन्छ । रामायणबाहेक भानुभक्तले भक्तमाला, प्रश्नोत्तरी, वधूशिक्षा र विभिन्न फुटकर कविता पनि रचना गरेका छन् भन्ने कुरा माथि नै उल्लेख गरिसकिएको छ ।

२.भक्तमाला (वि.सं.१९२२ तिर, रचनाकाल) भानुभक्त आचार्य नेपाली साहित्यको प्राथमिक कालीन रामभक्ति धारा र सम्पूर्ण भक्ति धाराकै प्रमुख तथा केन्द्रीय कवि हुन् । उनले भक्तमालामा भक्तलाई भक्तिरसमा चुर्लुम्म डुबाएका छन् । यस कृतिमा कविले वेदान्ती चेतनाले भरिपूर्ण नैतिक तथा आध्यात्मिक अभिव्यक्ति दिएका छन् । यस संसारबाट सहज पार तर्नका लागि हरिको नाम जप्नुभन्दा ठूलो अरु केही छैन भनेर विषयको मोहजाललाई त्यागी प्रभुको शरणमा परे उनै प्रभुले मुक्ति दिलाउने छन् भन्दै र ज्ञान मार्गभन्दा भक्तिमार्ग नै सहज हुने कुराको अभिव्यक्ति दिएका छन् । ३.प्रश्नोत्तरमाला (वि.सं.१९१०तिर) भानुभक्त आचार्यको प्रश्नोत्तरमाला शङ्कराचार्यको मणिरत्नमालाको छायानुवाद भएपनि कविको मौलिकताका साथ प्रश्नोत्तर ढाँचामा लेखिएको छ । यस कवितामा मानव जीवनसँग सम्बन्धित आध्यात्मिक, नैतिक र व्यावहारिक पक्षको ज्ञान दिइएको छ भने विद्याको महŒव झल्काइएको छ । यसमा परोपकार र सेवा भावलाई महŒव दिइएको छ भने भौतिक सांसारिक पक्षलाई तुच्छ ठान्दै लौकिक जीवन र परिवार–जनप्रति उपेक्षा भाव व्यक्त भएको महसुस हुन्छ । यसमा एकातिर विद्याको महŒव बताउँदा आमासमान भनी नारीलाई सम्मान गरेको पाइन्छ भने अर्कातिर सांसारिक दुःखमा फँसाउने प्रमुख कारणका रूपमा वर्णन गरेर नारीलाई हुनसम्म हेला गरिएको छ । यस कवितामा नारीप्रतिको असमान र हेय दृष्टि प्रकट भएका केही उदाहरण हेरौं ः

कुन् मूल ढोका छ नरक् कि ? नारी, लान्छे नरक् मोह ठूलो फिँजारी ।
को छन् सुराझैं अति मोह गन्र्या ? स्त्री जान्नु तस्तै गरि चित्त हन्र्या ।
साङ्ला कउन् हुन् सबलाई बाँध्न्या ? स्त्री हुन् सदा पाउ समाइराख्न्या ।
अमृत्सरी अघि भई पछि वीष बन्न्या, कुन् हो ? स्त्रि हुन् किन अरु चिजलाइ भन्न्या ?

यस्ता अभिव्यक्तिमा नारी र पुरुष दुवैमा सबल र दुर्बल पक्षलाई औंल्याएर समान दृष्टि राखिएको भए पण्डिताः समदर्शिनः भन्ने विचार सार्थक हुने थियो । यसले लिङ्गभेदयुक्त समाजलाई अझ टेवा दिएको देखिन्छ । ४.वधूशिक्षा (वि.सं. १९१९) नेपाली साहित्यका मूर्धन्य कविका रूपमा प्रतिष्ठित भानुभक्त आचार्यका मौलिक लघु रचनामध्ये वधूशिक्षा पनि चर्चित कृति हो । एक समय आफ्ना मित्र तारापतिका घरमा कवि वास बस्न पुगेछन् । त्यस घरका नारीहरूको दन्तबझान सुनेपछि उनलाई रातभर निद्रा परेनछ र छोरी–बुहारीलाई नैतिक शिक्षा दिलाई आदर्श बन्न तालिम दिने उद्देश्यले वधूशिक्षाको रचना गरेको भन्ने उल्लेख पाइन्छ । यसमा भनिएका सरसफाइ, नैतिकता, अनुशासन, सहनशीलता आदरभाव आदि त राम्रा कुरा हुन् । यस्ता कुराबारे थाहा नभएर पनि घरपरिवार र समाजमा असमझदारिता उत्पन्न हुन्छ । तर ती सब कुरा नारीलाई मात्र नभएर यथोचित व्यवहारको शिक्षा नारीपुरुष दुवैलाई उत्तिकै आवश्यक हुन्छ । यहाँ नारीलाई नै शिक्षित गराउने उद्देश्य कविजीको भए पनि तत्कालीन सामाजिक मान्यताका कारणले होला यत्तिका बौद्धिक कविमा पनि लैङ्गिक भेदयुक्त दृष्टि रहेको बुझिन्छ ।

भानुभक्त आचार्य चोखो मिठो ह्दयस्पर्शी नेपाली भाषाशैली र सुमधुर छन्द प्रवाहको कुशलता भएका कवि तथा महाकाव्यकार हुन् । उनले नेपाली भाषामा एकरूपता ल्याउन र त्यसलाई लोकप्रिय बनाउन विशिष्ट योगदान त गरेका छन् । तर उनको नारीप्रतिको दृष्टिकोण भने ज्यादै नै सङ्कुचित रहेको देखिन्छ । वधूशिक्षामा उनले नारीलाई दोस्रो दर्जा दिएका छन् । उपदेशका नाममा नारीलाई बुहारी र पत्नीका रूपमा नभई दासी वा कमारीका रूपमा प्रस्तुत गरिएको छ । नैतिक शिक्षा प्रदान गर्ने हैसियतले उपदेश गर्नु ठिक छ तर नारीलाई घरकी नोकर्नी र चरणकी दासीभन्दा माथि राख्न नसक्नु आदिकविको बौद्धिक दरिद्रता हो भन्दा फरक नपर्ला । जस्तै ः

छिनिसकि सब धन्दा सासुको पाउ मिच्दी,
उँघिकन बिखबर् भै पाउ मिच्दै त ढल्दी ।
टहल गरि टहल्ले सासुलाई रिझाई,
पतिसित तब जाओस् स्त्री टहल् गर्नलाई ।।

यस पद्यबाट नै भानुभक्तले नारीप्रति कस्तो मान्यता लिएर उनीहरूलाई कुन दर्जामा राखेका छन् भन्ने कुरा प्रस्ट हुन्छ । नेपाली भाषा–साहित्यमा धेरै ठूलो योगदान गरेर समादरणीय बनेका भानुभक्त वधूशिक्षामा र प्रश्नोत्तरमाला लगायत अन्य कविताका नारीसम्बन्धी प्रसङ्गहरूमा समेत पूरै रूढिवादी तथा पुरुषवादी सोचले थिचिएका सङ्कीर्ण देखिन्छन् । यसको उदाहरण आफूले बहुविवाह गरेर नारीलाई अर्ती दिएको कुरा देखिन्छ । जस्तै ः

सौताको रिस गर्नु पाप छ बहुत् एकै दुवैका पति,
मर्दामा पनि जानुपर्छ जसले मीलेर सङ्गै सती ।

यसरी भानुभक्त आचार्य पुरुषले चाहिँ जतिवटी पत्नी बनाए पनि हुने, आफैंमाथि सौता हालिदिएर पाप र धर्मको पाठ पढाउने र त्यही नारीलाई अर्ती दिएर आफू महान् बन्ने पुरुषवादी सामाजिक मान्यताका पक्षपाती देखिन्छन् ।

यी लघु रचनाबाहेक कवि भानुभक्त आचार्यले अन्य थुप्रै फुटकर कविता समेत रचना रचना गरेका छन् । उनका फुटकर रचनाको सङ्ख्या र कालका बारेमा निश्चित गर्न सकिँदैन तापनि पहिलाका सूचकहरूले जे जति जानकारी दिए त्यसैका आधारमा केही कविताबारे चर्चा गर्न सकिन्छ । भानुभक्त आशुकवि थिए । उनी कुनै पनि प्रश्नको उत्तर कवितामै दिन सक्थे भन्ने कुरा उनका विभिन्न फुटकर कविताबाट बुझ्न सकिन्छ । ५.भानुभक्त आचार्यका फुटकर रचनाहरू

उनका प्रकाशनमा आएका ३९ वटा फुटकर कविताको सामान्य विवरण निम्नलिखित छ ः

  • एकपटक एक जना मानिसले भानुभक्तलाई चिन्ने उत्कण्ठाले प्रश्न गर्दा यस कविता मार्फत जवाफ दिएका थिए ः
पाहाड्को अति बेस देश् तनहुँमा श्रीकृष्ण ब्राह्मण् थिया,
खुप् सच्चा कुल आर्यवंशि हुन गै सत्कर्ममा मन् दिया ।
विद्यामा पनि जो धुरन्धर भई शिक्षा मलाई दिया,
इन्को नाति म भानुभक्त भनि हुँ यो जानि चिह्नी लिया ।
  • जग्गा सम्बन्धी मुद्दा लिएर काठमाडौं पुगेर त्यहाँको चालचलन र रमणीय वातावरण देखेर मन प्रसन्न हुँदा भानुभक्तले कान्तिपुरको वर्णन गरी ‘अमरावती कान्तिपुरी नगरी’ नामक पाँच श्लोके कविता लेखेका छन् :
  • बालाजीको वर्णन गरी दुई श्लोके ‘यति दिन पछि...’ कविता लेखिएको छ ।
  • सरकारी जागिर खाएको बेला बही (हिसाकिताब) बुझाउन नसक्ता पाँच महिना जेल परेको अवस्थामा दिग्दारी प्रकट गरेर श्री ३ कम्यान्डर इन चिफ जनरललाई चढाउन रचना गरेको कविता यस प्रकार छ :
रोज्रोज् दर्शन पाउँछु चरणको ताप् छैन मन्मा कछु,
रात्भर् नाच् पनि हेर्छु खर्च नगरी ठूला चयन्मा म छु,
लामखुट्ट्या उपिञा उडुस् यि सँगि छन् इन्कै लहडमा बसी,
लाम्खुट्ट्याहरु गाउँछन् इ उपियाँ नाच्छन् म हेर्छु बसी ।
  • पाँच महिनासम्म कुमारी चोकमा थुनिनुपर्दा कम्यान्डर इनचिफ कृष्णबहादुरलाई चढाउन व्यङ्ग्यात्मक कविता लेखिएको देखिन्छ । जस्तै ः
जागिर् छैन धनी म छैन घरको केवल् कोदालो खनी,
खान्थ्याँ दुक्ख गरेर चाकरि ग¥याँ मान् पाउँला की भनी,
एक् मन् चित्त लगाइ चाकरि गर्याँ खूसी भया छन् हरि,
मान्माथी पनि भुक्तमान् थपि दिया कैल्ह्यै नखोस्न्या गरी ।
  • छोरो रामनाथको व्रतबन्ध गर्ने समयमा आपूm जेलमा भएकाले चुँदी रम्घा घर जानका लागि बिन्तीपत्र चढाउने सन्दर्भमा तिन श्लोके फुटकर रचना गरेको पाइन्छ,जस्तै ः
चालिस् वर्ष भयाँ म पुत्र पनि एक् मात्रै छ आठ् वर्षको
आयो काल् व्रतबन्धको नजिकमा बेला त हो हर्षको
क्यारूँ आज प¥याँ म ता विपतमा एक्लो यहाँ छु फगत्,
कुन् पाठ्ले व्रतबन्ध पार् गरुँ म फेर् मान्छू अँध्यारो जगत् ।
  • त्यसै गरी व्रतबन्ध सिध्याएर कुमारीचोक हाजिर हुनुपर्ने भएको हुँदा दुई श्लोके कवितात्मक विन्तीपत्र लेखी जनरल कृष्ण बहादुरलाई पठाएको पाइन्छ ।
  • उपर्युक्त कुरा झुटो ठहरे ऐनबमोजिम सहुँला, तोकेको भन्दा हजार गुना तिरौंला भनी दुई श्लोके विन्तीपत्र लेखेका छन् ।
  • मुद्दा टाँगिदा काठमाडौं अदालतमा बिन्ती लेखिएको कविता हो
न मृत्यू टन्र्या हो यसरि झगडामा अघि सरी,
न कोटिन्को मालिक् हुनु छ घरमा दौलथ भरी,
बिहक्मा दिन् जान्छन् तब मन बुझाऊँ म कसरी,
कृपा राखी ख्वामित् अब छिनिदिनोस् हुन्छ जसरी ।
  • छिटो मुद्दा किनारा होस् भनी कार्यालयका कर्मचारीलाई लेखिएको कविता यस्तो छ ः
बिन्ती डिट्ठा बिचारीसित म कति गरूँ चुप् रहन्छन् नबोली,
बोल्छन् ता ख्याल् ग¥या झैं अनि पछि दिनदिन् भन्दछन् भोलिभोली,
की ता सक्दीन भन्नु कि तब छिनिदिनू क्यान भन्छन् इ भोली,
भोलीभोली हुँदैमा सब घर बितिगो बक्सियोस् आज झोली ।
  • भानुभक्त कतै घुम्न जाँदा एक जनाले मकै भुटेर खाजा खान दिँदा मकैसँग खाने सितन नदेखेर बनाएको श्लोक हो ः
असल मुङ्ग्रे केरा कि त महि हवस् बेस अमिलो
कि ता सेता मूला कित बरु हवस् साग उसको
असल् हुन्थ्यो धूप्मा नतर यसरी खानु कसरी
भुटी ल्यायौ थाल्मा मकइ तिमिले क्यान यसरी ।
  • कलाधर ब्राह्मणलाई मन्त्र सुनाउन उनको घर जाँदा रिस्ती नदीको किनारमा पर्ने गजाधर सोतीका घरमा वास मागेका तर वास नपाई निराश भएर रुखमुनि रात काटेका भानुभक्तले भोलिपल्ट ‘गजाधर सोतीकी...’ कविता लेखेको भनिन्छ ।
  • एक दिन भानुभक्त ज्योतिषिका घरमा पढेर फर्किंदा बाटाको चौतारीमा बसी सुकेका बाँसका पातमा आफ्ना ग्रहबारे जन्मकुण्डलीमा घोरिँदा ‘ति शालीवाहन्का...’ आदि दुई श्लोके कविता लेखेका थिए ।
  • पाणिनिको व्याकरण अनुसार विसर्गको लोप नगर्नुपर्नेमा किन गरियो ? भनी पाल्पाली मित्रलाई उल्लुको संज्ञा दिएर भानुभक्तले चिठीका रूपमा ‘खर् अक्षर् पर भै...’ आदि दुई श्लोके कविता लेखेका हुन् भनिएको छ ।
  • ‘बिर्के टोपी...’ कविता सुब्बा धर्मदत्तको अनुरोधमा पाल्पाली मित्रलाई पठाइदिनका लागि लेखिएको हो । नरनाथका अनुसार पाल्पाली मित्रका छोरालाई माग भए बमोजिमको एउटा बिर्के टोपी सुब्बा धर्मदत्तले पहिल्यै पठाइदिएका तर त्यो टोपी सानो भयो र अर्को पठाइदिनु भनी पाल्पाली मित्रले पुनः अनुरोध गरी चिट्ठी पाठाएकाले सोही चिठीको उत्तरस्वरूप यो कविता लेखिएको हो ।
  • धर्मदत्तको अनुरोधमा भानुभक्तले लेखिदिएका कवितात्मक चिठीहरू प्राप्त गरेपछि पाल्पाली मित्रले पनि नेपाली र संस्कृत भाषाको मिश्रणमा कवितात्मक चिठी लेखी धर्मदत्तलाई पठाएका हुन् । त्यसको जवाफ लेख्न धर्मदत्तले भानुभक्तलाई अराएका हुँदा ‘भाषा श्लोक...’ आदि एक श्लोके कविता लेखिएको हो । पहिलो अध्ययनमा पाल्पाली मित्रले भाषा विवाद प्रसङ्गलाई अघि बढाएकाले भानुभक्तले जवाफस्वरूप यो कविता रचेका हुन् ।
  • एकपटक भानुभक्तका ससुराली खलकका घरका दुई भाइमध्ये भाइचाहिँले कमारो किनी ल्याएको, एकदिन भाउजूले उक्त कमारोलाई घाँस काट्न रुखमा चढाएपछि रुखबाट झरी केही दिनमा मरेको, मरेपछि भाइले कमाराको विघो मागेको र दाइले विघो दिन नमानेपछि कचहरी बस्न पुगेको थियो । त्यसै समय भानुभक्त पनि कचहरीमा सामेल हुन पुगेकाले ‘जस्द्वारा जसले जहाँ...’ कविताको रचना गरेका थिए । आफ्नो प्रारब्धले मरेको हुँदा विघो दिनुलिनु नहुने खालको निर्णय दिई यसै कविताका आधारमा दुवै झगडियालाई शान्त पारेका थिए भन्ने पाइन्छ ।
  • काठमाडौं मखनटोलका आफ्ना एक मित्रका बाबु परलोक भएपछि ती मित्रले पढ्न छोडेर ऐस आराम गरेको देख्दा भानुभक्तलाई यसले भविष्यमा निश्चय नै दुःख पाउँछ भनी उसलाई समयमै सचेत गराउन यो कविता लेखिएको भनिन्छ ः

न पोथी पात्रा छन् न कलम मस्यानी छ सँगमा, सधैं हुक्का नारी थरकि फिँजि खेल्छौ चयनमा कती बिर्ता तिम्म्रो छ कति छ धन दौलथ् यस घरी उडायौ आज्र्याको जति अब गया बाबु त मरी ।

  • विवाहमा जन्त गएका बखत अन्ताक्षरीमा सामेल भएका आफ्ना भतिजा मेघनाथले ‘ढ’ बाट सुरु भई ‘ढ’ मा नै अन्त्य हुने श्लोक बनाइदिन अनुरोध गरेकाले भानुभक्तले ‘ढोटा छन् सब् कुरा...’ श्लोक बनाइदिएका थिए ।
  • ‘क’ बाट उठ्ने शरीरका बीस अङ्गको नामलाई भानुभक्तले विवरणात्मक रूपमा कविता बनाएका छन् । जस्तै ः

केश् कञ्चेट् कुहुनू कपाल् र कलेजो काखी करङ् कन्सिरी, कान्यागूजि र कुर्कुचा कटि र कान् कम्मर् र कापा पनी, कान्छिउम्लि र काँध कुम् पनि भया कण्ढो र कोखो समेत्, कम्पारो जियमा कदेखि उठन्या बिस्थोक् इनै हुन् बुझ

  • गणेश चौथीका दिन पूजा गर्दा क्रमशः चढाइने पूmल र पातहरूको विवरण कवितामा दिएर यही व्रmमले पूजा गर्दा त्रुटि समेत नहुने उल्लेख गरिएको छ ।
  • भानुभक्तले दाद खटिरा आदिमा लगाउने मलम बनाउन जानेका र सबैले सिकी बनाएर लगाउन सकून् भनी त्यसको विवरण कवितामा दिएका थिए ।
  • भानुभक्त चौतारामा बसिरहेका बेला चौताराकै नजिक खेलिरहेका केटाहरूलाई उपदेश दिने सन्दर्भमा ‘पढ्नू गुन्नू...’ कविता लेखिएको हो भनिन्छ ।
  • आफ्नो घर र शरीर सफा सुग्घर गर्न नसक्ने गाउँले अशिक्षित नारीलाई सचेत गराउन ‘कतै खरानी...’ कविता रचना भएको मानिन्छ ।
  • कौडीको दाउ नचिनेको तर खेल्न रहर गर्ने, आफ्नो दाउ परेका बेला अरुले हैन भनेर नोक्सान पार्न नसकून् भनेर सजिलाको लागि ‘तिन् सात्...’ कविता बनाइदिएका हुन् भन्ने पाइन्छ ।
  • भानुभक्तले पासा, र कौडी खेल्दा एकै दिनमा साठी रुपयाँ हारेछन् र बेलुकी घरमा आएर आफ्नी श्रीमतीलाई त्यस दिनको जुवाको परिणम हाँसेर सुनाउँदा ‘तान्यो एग्घारबाटै...’ कविता तयार भएको हो ।
  • भानुभक्तले आफ्नै छिमेकीका घरमा सौताहरू आआफ्ना बल प्रयोग गरी लडिरहेको देखेर तिनीहरूलाई छुट्याई त्यसै घटनाको फलस्वरूप यो कविता लेखेको हुँदा उनले बटै, तित्रा, केही समय मात्र लड्ने तर सौता सधैं लडिरहने भन्ने दृष्टान्त दिएका छन् ।
  • भानुभक्तको यो कविता श्रृङ्गार रसको कविता हो । यस कविताका दुई पाउ मात्र भानुभक्तले लेखेका हुन् र अरु मोतीराम भट्टले थपेका हुन् भन्ने भनाइ छ । भानुभक्त काठमाडौं भएका बेला घरकी गृहलक्ष्मी खुसी होऊन् भनी श्रृङ्गार रसको कविता लेखी पत्नीलाई पठाएको कुरा उल्लेख छ ।
  • १९१० तिर काठमाडौंमा एकजना रहिसलाई भेट्न जाँदा भानुभक्तले उसको बैठक कोठामा बन्दुक राखेको देखेर उसलाई कवितामार्पmत सोधेछन् र रहिसले फलाम बेच्न नहुने कुरो भनेछ र पछिल्ला दुई पाउभन्दा भानुभक्तलाई बन्दुक प्राप्त भएको कुरा उल्लेख छ ।
  • भानुभक्त चुँदी रम्घा भएका बेलामा एउटा झगडियाले भानुभक्तलाई साक्षी राखेको र अदालतबाट म्याद आएपनि पोखरा जान अनुकूल नमिलेकाले एक महिनापछि आउनेछु भन्ने अर्जी लेखी पोखरा अदालत पठाउनु पर्दा ‘स्वतिश्री...’ कविताको रचना हुन भएको हो ।
  • काठमाडौं गएका बखत घर फर्कने दिन कर्णेल शिवशङ्कर उपाध्याय घिमिरेलाई भेट गर्न जाँदा भेट हुन नसकेपछि ‘आयेंथ्याँ...’ कविता लेखी उनका परिवारलाई छाडेर आएका थिए भन्ने उल्लेख पाइन्छ ।
  • हिउँदमा ससुराली जाँदा कुर्लुङ बेंसीमा चामुनारायण पन्त नामक घाँसीसँग भेट भयो । त्यस घाँसीले काटेको घाँस बेचेर बचेको पैसाले कुवा खनाएर कीर्ति राख्ने कुरा गरेको सुनेपछि उसैको प्रेरणाले ‘भर जन्म घाँस...’ कविता लेखेको भन्ने प्रसङ्ग आएको छ ।
  • ससुराली गाउँका ठिटाहरूले भानुभक्त कविता लेख्न सक्ने भएको कुरा थाहा पाएर आफ्नो गाउँको पनि कविता लेखिदिन अनुरोध गरेपछि उनले ससुराली गाउँ मानुङको वर्णन गर्दै कविता बनाइदिएका भनिन्छ । जस्तै ः
मानुङ्को सरि गाउँ उत्तम ठुलो लागेन काहीं पनि
बस्नालाइ रमाइला अति चिसो आऊँछ हावा पनि
घर्मा नै बसि फेर् हिमालयजिको वाराहिजीको पनि
शुक्ला दक्षिण तर्फ उत्तर दिशा माहेन्द्रि दर्शन् पनि
  • १९२१ म चुँदी खोलामा ठूलो बाढी आएर बाँध भत्काएपछि सबै मोहीहरू जम्मा भई छलफल गर्दा गिरिधारी पनि सहमत भएको थियो । पछि काठमाडौंबाट दौडाहा टोली आउँदा गिरिधारीले कुलामुनिको खेत टापु पारिदियो भनी भानुभक्तका नाममा उजुरी हालेछ । दौडाहा टोली झगडा परेको ठाउँमै जाँच्न पुगेछ । भानुभक्तले बाँध कुलाको सम्बन्धमा आफ्ना ब्यहोरा ‘ख्वामित् यस्...’ कवितामा व्यक्त गरेका छन् ।
  • गिरीधारीले कुलामनिको खेतलाई टापु बनाएको कुरा झुट भएको र गिरिधारीको धेरै नोक्सान नभएकाले यसै सन्दर्भमा भानुभक्तले आफ्नो कुरा राख्दा ‘लुच्चा हुन्...’ कविता बन्न पुगेको हो ।
  • गिरिधारीले झुट बोलेर अघिल्लो जन्मको पापमाथि अझ पाप थपेको, हरिलाई विश्वास गरेर थिचोमिचो नगर्नु भन्ने सन्देश दिँदा ‘अघिल्ला जन्मैमा...’ कविता बन्न गएको हो ।
  • ‘क्वै उठ्छन्...’ कविता भानुभक्तले लोकको चाला देखी लहडमा बनाएको एक श्लोक हो । यसमा धन नै मुख्य कल्याणको साधन हो भन्ने भावनाले कसैको ह्दयमा पनि स्थान नपाओस् भन्ने आशय प्रकट गरेको देखिन्छ ।
  • १९२४ सालको अन्त्यतिर कामविशेषले काठमाडौं गएका बेला बिरामी परेका र मुक्तिदायक पवित्र तीर्थस्थल काठमाडौंमा मरे पनि राम्रै हुन्छ भन्ने विचार स्फुरण भएको अवस्थामा भानुभक्तले ‘यत्ती छन्...’ कविता बनाएको भन्ने उल्लेख पाइन्छ ।
  • अन्त्यमा भानुभक्तले भोलि सबैका शिरमाथि यमको लाठी बज्रने निश्चित छ भनी हरिभजन गर्ने सुझाव दिएर वैराग्य भावको कविता लेखेका छन् । जस्तै ः
क्याले भुल्छौ जगत्मा नरहरु बहुतै दुःखले पक्रिएका,
सब्का शिर्माथि लाठी दिन–दिन यमका वज्र नै टक्रिएका,
देख्छौ सुन्छौ कहन्छौ अझ हरि नभजी वित्तमै चित्त लायौ,
ताप् होला खुप् मरण्मा हरि भज नभजी व्यर्थ सब् दिन् बितायौ ।

यसरी यी फुटकर कविता हेर्दा कवि भानुभक्त आचार्यमा भाषा व्याकरण, ज्योतिष, सामाजिक व्यवहार आदिको ज्ञान र कवित्व शक्ति बेजोड थियो भन्ने त प्रस्ट हुन्छ नै उनले आफ्ना कवितामा तत्कालीन नोपाली समाजको झलक उतारेको पाइन्छ । त्यस बेलाको प्रशासनिक क्रियाकलाप, मुद्दामामला, मान्छेका स्वभाव र चरित्र, स्थानीय झलक जस्ता विविध प्रसङ्ग उक्त कवितामा अभिलिखित भएको देखिन्छ । ६.निष्कर्ष भानुभक्त आचार्य नेपाली कविता परम्पराको प्राथमिक काल, रामभक्ति धारा र समग्र भक्तिधाराका केन्द्रीय कवि एवम् नेपाली जातिका जातीय कवि हुन् । उनले नेपाली साहित्यको इतिहासमा अतुलनीय योगदान गरेका छन् । संस्कृतको अध्यात्म रामायणलाई नेपाली भाषामा मौलिकताका साथ श्लोकानुवाद गरी नेपाली जनमानसमा रामभक्तिको आस्वादन गराएका छन् भने शास्त्रीय छन्दलाई जातीय सङ्गीतको लोकप्रियता प्रदान गरेका छन् । उनको भक्तमाला कवितामा आध्यात्मिक चेतना र हार्दिक भक्ति भाव पोखिएको छ । उनले प्रश्नोत्तरमाला कवितामार्फत नैतिक आदर्शको सन्देश दिँदै विद्याको महŒवमाथि पनि प्रकाश पारेका छन् । सामाजिक अनुशासन, सामाजिक चेतना तथा हास्य अनि व्यङ्ग्यले भरिएका वधूशिक्षा र फुटकर रचनाजस्ता मौलिक कृतिको सृजना गरी भानुले आफ्ना सृष्टिरूपी किरणले नेपाली साहित्यलाई प्रकाशित गरी आपूmलाई स्वनामधन्य साबित गरेका छन् । चन्द्रमामा दाग देखिएझैं वधूशिक्षा, प्रश्नोत्तरमाला जस्ता केही रचनामा नारीप्रतिको दृष्टिकोण उपेक्षित देखिए पनि तत्कालीन सामाजिक संस्कारका अगुवा भएकैले त्यसो भएको हुन सक्छ । यसबाहेक तत्कालीन नेपाली शासन व्यवस्था, राजनीतिक तथा सामाजिक अवस्था, शिक्षा र चेतनाको अभावको स्थितिजस्तो असहज परिस्थितिमा पनि भानुभक्त आचार्यले नेपाली साहित्यमा दिएको देन अमूल्य, अतिमहŒवपूर्ण, स्मरणीय तथा प्रशंसनीय मान्नुपर्छ । [१][२][३] [४] [५] कमलादेवी भण्डारी

कनकाई नपा.–४, झापा


भानुभक्तीय रामायण र यसको संरचना[सम्पादन]

भानुभक्त आचार्य (१८७१—१९२६) का कवितात्मक छिटाद्वारा सिञ्चित नेपाली भाषा र साहित्य आज फुल्न र फल्न थालिसकेको छ । आफुभन्दा अघि अरू कवि हुँदाहुँदै पनि उनले आदिकविको सम्मान पाइरहेका छन् । खुकुरीका भरमा नेपाललाई नेपाल बनाई नेपाली राष्ट्रमा एकताको स्थापना गर्ने पृथ्वीनारायण शाह र हातमा कलम लिएर नेपाली भाषा र साहित्यको एकीकरण गरी विश्वसाहित्यमै नेपाली भाषाको परिचय स्थापित गराउने भानुभक्त आचार्य दुबै हाम्रा प्रातःस्मरणीय एवं बन्दनीय हुन् ।

भानुभक्त त्यस्ता व्यक्तित्व हुन् जसले एउटा घाँसीको सत्प्रेरणाबाट अध्यात्मरामायणको अनुवाद गरी नेपालीहरूलाई भानुभक्तीय रामायण प्रदान गरेका छन् र नेपाली संसारमा अति लोकप्रिय एवं धन्य बनेका छन् । वास्तवमा रामायण धर्म, अर्थ, काम र मोक्षजस्ता कुराको अमृतमय रूप हो भने भानुभक्तीय रामायण श्री रामको आदर्श, भ्रातृप्रेम एवं भक्तिको मानसरोवर हो । वस्तुतः भानुभक्तीय रामायण शाश्वत जीवनमूल्यहरूको कोसे ढुुङ्गा हो, अथवा भनाैं नेपाली संस्कृतिको शाश्वत नियम तथा परम्परा आधारशिला हो । व्यक्ति, समाज एवं राष्ट्रलाई समुन्नत बनाउनका निमित्त यस किसिमका साहित्यिक कृतिहरू सहायक हुन्छन् । भानुभक्तीय रामायण एक यस्तो कृति हो जसमा सत्यं शिवं सुन्दरम्को आदर्श प्रकट भएको छ । भानुभक्तको साहित्यिक दृष्टिकोण कलापरक नभएर जीवनपरक रहेको देखिन्छ । उनको रामायण कुनै वाद वा सम्प्रदायसँग आबद्ध रहेको पाइँदैन । भानुले लोकमङ्गलको भावनालाई सर्वोपरि राखेर सामाजिक मर्यादा कायम गर्दै रामायणको रचना गरेका छन् । नेपाली माटोमा चलिआएका परम्परित धर्म र संस्कृतिबिच समन्वयकारी भूमिका निर्वाह गरेका कारण भानुभक्तीय रामायण अत्यधिक लोकप्रिय बनेको देखिन्छ । भारतमा अहिले पनि भानुभक्त र उनको रामायणले त्यहाँ भएका सम्पूर्ण नेपाली जातजातिलाई एकसूत्रमा बाँधेको छ । भानुभक्तीय रामायण एउटा गहिरो महासागर हो तापनि स्थाली पुलाक न्यायले निम्नलिखित आधारमा यसको स्थूल अध्ययन गर्ने जमर्को गरिएको छ ः

१.बनोट/संरचना

कृतिमा पाइने अङ्क, दृश्य, अध्याय, सर्ग, काण्ड आदि जस्ता लघु घटकहरूको कुल योगलाई बनोट वा संरचना भनिन्छ । शैलीविज्ञानले यिनै साना घटकहरूको वर्णन–विश्लेषण गरी कृतिको अमूर्त बनोटलाई मूर्त पार्ने काम गर्छ । शैलीविज्ञानका अध्येताहरूको भनाइका आधारमा प्रगीतात्मक, नाटकीय र आख्यानात्मक गरी तिन किसिमका संरचना हुन्छन् । यी तिनमध्ये कथाकथन भएको संरचना आख्यानात्मक संरचना हो । यसमा प्रयुक्त कथावस्तुको आदि, मध्य, अन्त सहजै पहिचान गर्न सकिन्छ । यसमा चरित्रचित्रणको पर्याप्तता पनि रहन्छ । विषयवस्तुगत विविधता र वर्णनगत विस्तारले गर्दा आख्यानात्मक संरचना भएको कविता लामो आकारको हुन्छ । भानुभक्तीय रामायण, अध्यात्म रामायण, रामचरितमानस जस्ता कृतिहरू आख्यानात्मक संरचनामा आबद्ध रहेका पाइन्छन् । निम्नलिखित तालिकाबाट अध्यात्मरामायण र भानुभक्तीय रामायणकोे संरचना पहिल्याउन सकिन्छ ः

क्र.सं. काण्ड/रामायणकाे नाम अध्यात्म रामायण भानुभक्तीय रामायण
बालकाण्ड सर्ग/खण्ड - ७, श्लाेक ३९१ सर्ग/खण्ड ७, श्लाेक १३२
अयाेध्याकाण्ड सर्ग/खण्ड -९ श्लाेक ७२८ सर्ग/खण्ड ९, श्लाेक १२३
अरण्यकाण्ड सर्ग/खण्ड - १० श्लाेक ५१६ सर्ग/खण्ड १०, श्लाेक १२२
किष्किन्धाकाण्ड सर्ग/खण्ड - ९ श्लाेक ५६० सर्ग/खण्ड ९ श्लाेक १४३
सुन्दरकाण्ड सर्ग/खण्ड ५ श्लाेक ३२७ सर्ग/खण्ड ५ श्लाेक १५९
युद्धलङ्का/काण्ड सर्ग/खण्ड - १६ श्लाेक १११६ सर्ग/खण्ड १६, श्लाेक ३८१
उत्तरकाण्ड सर्ग/खण्ड - ९ श्लाेक ६११ सर्ग/खण्ड ९, श्लाेक २५७

२. बुनोट

बनोटका पर्याधार (फ्रेम) मा पाइने लघुघटकहरूको कार्य र एउटा घटकको अर्का घटकसँग हुने सम्बन्धलाई बुनोट भनिन्छ । यो लघु, सीमित वा खण्डात्मक साहित्यिक प्रभावको तह हो । बनोट अमूर्त हुन्छ भने बुनोट मूर्त हुन्छ । बुनोटका घटकहरूमध्ये भानुभक्तीय रामायणमा प्रयुक्त छन्द, रस र अलङ्कारको निम्नानुसार सामान्य विश्लेषण गरिएको छ ः

२.१ छन्द

छन्द भनेको ढाँचा हो । छन्द शब्दले आनन्द दिने वस्तुलाई बुझाउँछ । छन्दकाव्य भनेको पद्यकाव्य हो, किनभने छन्द शब्द पद्यको पर्यायवाची मानिन्छ । जुन रचना स्वर र लयका आधारमा वर्ण र मात्राको निश्चत संख्या र विश्रामको नियमले नियमित हुन्छ, त्यसलाई छन्द भनिन्छ । यस परिभाषाले छन्द काव्यको अनिवार्य वस्तु हो र छन्दले आनन्द प्रदान पनि गर्दछ भन्ने कुराको पुष्टि गर्दछ । नेपाली साहित्यको काव्यधाराको अध्ययनबाट के देखिन्छ भने नेपाली साहित्यमा छन्दको बीज प्राथमिक कालमा अङ्कुरित भएर आधुनिक कालमा पल्लवित एवं पुष्पित हुँदै अद्यावधि अविच्छिन्न रूपमा काव्यको स्थायी सम्पदा बन्दै आएको छ । यसरी हेर्दा प्राथमिक कालीन कविहरूमा भानुभक्त आचार्य नै यस्ता कवि हुन् जसले रामायणमा वार्णिक छन्दको विस्तृत एवं व्यापक प्रयोग गरेर यसको गरिमा बढाएका छन् । रससिद्ध कविका लागि छन्दको बन्धन रहँदैन तापनि छन्द गतिको मर्यादा र सजीवताको द्योतक भएको हुनाले रामचरितमानसमा तुलसीदासले पनि आत्मानुभूतिको जीवन्त गतिमय प्रवाहलाई छन्दको मर्यादाभित्र समावेश गराएर विभिन्न छन्दको प्रयोग गरेका छन् । पूर्वीय वाङ्मयका विशाल ग्रन्थहरू र अहिलेसम्म देखिएका अधिकांश महाकाव्यहरू छन्दमै लेखिएका पाइन्छन् ।

आफ्नो रामायणमा भानुभक्त आचार्यले अध्यात्म रामायणमा अत्यधिक प्रयोग भएको अनुष्टुप् छन्दको प्रयोग नगरी उनका पूर्ववर्ती वसन्त जैसीले प्रयोग गरेको शार्दूलविक्रीडित छन्द र उनी स्वयंले बालक कालमा प्रयोग गरेको शिखरिणी छन्दलाई अधिकतम प्रयोगमा ल्याएका छन् । यी दुईमा पनि सबैभन्दा धेरै ठाउँमा र सबैभन्दा धेरै श्लोकहरूमा शार्दूलविक्रीडित छन्दको प्रयोग भएको छ । यो छन्द नेपालीहरूको जनजिब्रामा टाँसिएको अत्यन्त लोकप्रिय छन्दका रूपमा परिचित छ । रामायणलाई मुखाग्र गरेर मेला–पात, भात–भान्सा, ढिकी–जाँतो, बिहा–बटुलो, पूजा–आजाका अवसरमा यत्रतत्र सर्वत्र गाइएको र गाइने यस छन्दलाई छन्दको राजा मान्न सकिन्छ । गणका रूपमा म स ज स त त गुरु हुने उन्नाइस अक्षरे यस छन्दका प्रत्येक पाउको सातौँ र बाह्रौँ अक्षरमा विश्राम हुन्छ । रामायण महात्म्य, राम–वशिष्ठ संबाद, बालकाण्ड र अयोध्याकाण्डका विभिन्न प्रसङ्ग, तथा अरण्यकाण्ड, किष्किन्धाकाण्ड, सुन्दरकाण्ड, युद्धकाण्ड एवं उत्तरकाण्डका विविध प्रसङ्गमा समेत यस छन्दको प्रयोग भएको पाइन्छ । यसरी हेर्दा भानुभक्तीय रामायणमा शार्दूलविक्रीडित छन्दको प्रयोग अधिकतम रूपमा भएको पाइन्छ ।

यस रामायणमा प्रयोग भएको दोस्रो छन्द शिखरिणी हो । यो कुरा माथि पनि भनिएको छ । सत्र अक्षरको एक पाउ हुने, गणमा य म न स भ लघु–गुरु हुने र छैटौँ र एघारौँ अक्षरमा विश्राम हुने यो छन्द बालकाण्डको राम–कौशल्या संवादमा र अयोध्याकाण्ड, किष्किन्धाकाण्ड, युद्धकाण्डमा समेत आंशिक रूपमा प्रयोग भएको पाइन्छ । यस छन्दले काव्यलाई अति रुचिकर बनाउँनाका साथै सरसता पनि प्रदान गर्दछ । धेरैजसो करुणरसप्रधान घटनाहरूमा यसको प्रयोग भएको छ । यसको एउटा उदाहरण यसप्रकार छ—

गयो खान्या बेला मकन त मिल्यो राज्य वनको भरत्ले राज् पाया यहिं बसि गरुन् राज्य जनको । बिदा बक्स्या जावस् खुशिसित म जान्याछु वनमा म चाँडै फिन्र्याछू बिरह नहवस् कत्ति मनमा (अयोध्याकाण्ड २५) ।

भानुभक्तीय रामायणमा वसन्ततिलका छन्दको पनि प्रयोग भएको छ । यो चौध अक्षरको एक पाउ हुने, गण समूहमा त भ ज ज गुरु गुरु हुने र आठ अक्षरमा विश्राम हुने छन्द हो । उदाहरणका लागि तलको श्लोकलाई लिन सकिन्छ—

जस्को पुजा तुलसि पत्र चढाइ गर्छन् उस्ता पनी त भवसागर पार तर्छन् । यी ता उनै प्रभुजिका दुत हुन् त काहाँ सक्नू छ वर्णन गरी यिनको त याहाँ ।

यो छन्द अंशतः अयोध्याकान्ड, अरण्यकाण्ड, सुन्दरकाण्ड, युद्धकाण्ड र उत्तरकाण्डमा प्रयोग भएको पाइन्छ । भानुभक्तीय रामायणमा प्रयोग भएको अर्को छन्द स्रग्धरा हो । यसमा एक्काइस अक्षरको एक पाउ र चार पाउको एक श्लोक हुन्छ । गण समूहमा म र भ न य य य हुने र प्रत्येक सात अक्षरमा विश्राम हुने यो छन्द बालकाण्ड र अरण्यकाण्डमा प्रयोग भएको पाइन्छ । यसको एउटा उदाहरण—

डेरा देखी भरत्जी तहिं नजिक गया पाउका छाप देख्या श्रीराम्का पाउका छाप् चिह्निकन खुशिले माथले ताहिँ टेक्या । भन्छन् धन्यै रह्याँछू सहज नमिलन्या पाउका छाप देख्याँ ब्रह्माजीले नपाउ्नू छ त पनि सहजै माथले आज टेक्याँ ( अयोध्याकाण्ड ८८) ।।

पन्द्र अक्षरको एक पाउ हुने र चार पाउको एक श्लोक हुने मालिनी छन्दको गण समूहमा न न म य य हुन्छ भने प्रत्येक पाउको सातौं र आठांै अक्षरमा विश्राम हुन्छ । यो छन्द विशेष गरी सुन्दरताको वर्णनमा प्रयोग भएको पाइन्छ र भानुभक्तले पनि लङ्का शहरको सुन्दरताको वर्णनमा यस छन्दको प्रयोग गरेका छन्, जस्तै—

घर पनि सुनकै छन् गल्लि जो छन् सुनैका मणिजडित हुनाले झन् असल् छन् कुनैका । घुमि घुमिकन हे¥याँ सब् बगैंचा तलाऊ सहजसित कसैको केही लाग्दैन दाऊ (युद्धकाण्ड ११)

एघार अक्षर हुने, गण समूहमा त त ज गु गु हुने र पाचौँ र छैटाँै अक्षरमा विश्राम हुने इन्द्रवज्रा छन्द भानुभक्तीय रामायणको बालकाण्ड, अयोध्याकाण्ड र युद्धकाण्डमा अंशतः प्रयोग भएको पाएन्छ । यसको एउटा उदाहरण—

ईश्वर् तिमी हौ रघुनाथ् इ भाई लक्ष्मण त शेष् हुन् करुणा जनाई । भूभार हर्नाकन जन्म लीयौ यो रुप् भजन् गर्न बनाइदीयौ (युद्धकाण्ड १९४) ।।

यसरी भानुभक्तीय रामायणमा छ वटा छन्दहरूको सफल प्रयोग भएको पाइन्छ । भानुभक्तका उत्तरवर्ती कविहरूमा पनि उपर्युक्त छन्दहरूको प्रभाव अझैसम्म पनि यथावत् रूपमा परिरहेको छ ।

२.२ रस

रामायण विभिन्न रसमा आप्लावित भगवद्गाथा किंवा महापुरुषको गाथा भएकाले यसमा विभिन्न किसिमका रसको बोध र व्यञ्जना हुन्छ नै । भानुभक्तीय रामायणमा योजनाबद्ध किसिमले रसविन्यास भएको पाइँदैन । यसमा जे जति रसानुभूति र रस योजना रहेको छ त्यो मूलबाटै स्थानान्तरित भएर आएको छ । यसमा विभिन्न रसको परिपाक पाइन्छ तापनि मूलतः वीरता प्रदर्शनका कार्यहरू नै बढी भएकाले वीर र रौद्र रसले स्थान पाउनु स्वाभाविक र आवश्यक देखिन्छ । यति हुँदाहुँदै पनि रामायणमा करुण रसको मर्मस्पर्शी पक्ष महŒवपूर्ण मानिन्छ । कवि करुण रसमा भिजेका छन् । कविका केही अनुभूतिहरू मूलसँग मिलेका पाइन्छन् भने केही अनुभूतिहरू निजी रूपमा पनि आएका देखिन्छन् । सीताको वनवास प्रसङ्गमा चाहिं करुण रसको आभास मात्र पाइन्छ । भरतको विलाप, दशरथको पुत्रशोक तथा मन्दोदरी, कौशल्या र तारा विलापको प्रसङ्ग भने करुण रसमा पुरै आप्लावित रहेको छ । त्यसैगरी सुन्दरकाण्डमा करुण रसको सुन्दर परिपाक भएको देखिन्छ । रावणको भयले ग्रस्त सीताको करुणाजनक मूर्ति र वेदनापूर्ण अवस्थाको चित्रण भानुभक्तले यसरी गरेका छन्—

भोकी मैलि निन्याउरी न त कपाल् को¥याकि सब्केश् उसै । लट्टा मात्र ध¥याकि खालि भुमिमा रुँदै बस्याकी यसै ।। राम्राम्राम् यति मात्र बोलि रहँदी देख्या र साना भई । पात्का अन्तरमा लुक्या ति हनुमान् रुख्का उपर्मा गई ।।

समग्रमा भानुभक्तीय रामायण भक्ति रसमा मुछिएको महाकाव्य हो । ईश्वर विषयक प्रेमको कारणबाट मानव हृदयमा उत्पन्न हुने रसलाई नै भक्ति रस भनिन्छ । ईश्वरप्रतिको आत्मिक अनुराग भक्ति रसको स्थायीभाव हो । तैत्तिरीय उपनिषद् भन्छ—रसो वै सः । रसोह्येवायं लब्ध्वा आनन्दी भवति । अर्थात् त्यो(ब्रह्म) नै रस हो । रसलाई पाएर नै त्यो आनन्दमग्न हुन्छ । सुप्रसिद्ध गौडीय वैष्णव आचार्य रूपगोस्वामीले भक्ति रसलाई रसतत्व प्रदान गरेको पाइन्छ । उनको कृति हरिभक्तिरसामृत सिन्धुमा भक्तिरसलाई शास्त्रीय रूप प्रदान गरिएको छ । उनले भक्ति रसलाई मूल रस र अन्य नव रसलाई भक्ति रसमा अन्तर्निहित रस मानेका छन् । त्यसैगरी मधुसूदन सरस्वती (१६०० इ)ले पनि भक्ति रसलाई शास्त्रीय रूप प्रदान गरेको पाइन्छ ।

निर्गुणोपासक र सगुणोपासक दुबै प्रकारका भक्तहरूले आआफ्ना हृदयको भावना आआफ्ना उपास्यप्रति व्यक्त गर्दै गरिएको रचनालाई भक्ति साहित्य भनिन्छ । यस्ता साहित्य पद्यात्मक र गद्यात्मक दुबै किसिमका हुन सक्छन् । यस्ता रचनाहरू साहित्यको उत्कर्षका लागि भन्दा पनि कसरी आदर्शमय आध्यात्मिक जीवन जिउनुपर्छ भन्ने कुरा सञ्चार गर्न प्रस्तुत गरिएका हुन्छन् । यसरी हेर्दा भानुभक्तीय रामायण उपल्लो दर्जाको भक्ति साहित्य हो । यसले रामको आदर्शमय आध्यात्मिक जीवनको अनुसरण र अनुकरण गर्नुपर्छ भन्ने महŒवपूर्ण सन्देश प्रवाह गरेको छ ।

२.३ अलङ्कार

अलङ्कार भनेको गहना हो । काव्यमा गहना भनेको भाषागत काव्यसौन्दर्य हो । अलङ्कारकाव्य वा साहित्यको अभिव्यक्ति पक्षसँग सम्बन्धित शिल्प–सौन्दर्यको चमत्कृति प्रदान गर्ने तŒव हो तर कतिपय सन्दर्भमा साहित्यका रसध्वनि जस्ता आन्तरिक तŒवसँग पनि अभेद्य रूपमा संश्लिष्ट भएर देखा पर्न सक्ने प्रवृत्ति यसमा हुन्छ । अलङ्कारलाई मूलतः शब्दालङ्कार र अर्थालङ्कारमा विभाजन गरी अध्ययन गर्ने गरेको पाइन्छ । भानुभक्तीय रामायणमा शब्दालङ्कारको अन्त्यानुप्रास अलङ्कार यत्रतत्र सर्वत्र प्रयोग भएको पाइन्छ । यस रामायणको प्रमुख आलङ्कारिक विशेषता भनेको नै अन्त्यानुप्रासको सुन्दर प्रयोग हो । यसबाहेक कतैकतै छेकानुप्रासको प्रयोग पनि भएको देखिन्छ, जस्तै—

भ्रमरहरू लताका फूलमा हल्ली हल्ली घुनुनु घुनुनु गर्दै हिंड्दछन् बल्लि बल्लि (सुन्दरकाण्ड ः १६)

भानुभक्तीय रामायणमा अर्थालङ्कारका सुन्दर प्रयोगहरू प्रशस्तै पाइन्छन् । यसबाट काव्यमा प्राकृतिक सुन्दरता थपिएको पाइन्छ । अर्थालङ्कारका केही उदाहरण यसप्रकार छन्—

राग् द्वेष्का भेल चल्छन् भँवरि सरि यि युग् घुम्दछन् बीचमाहाँ । पुत्रादि मत्स्यभैmँ छन् रिस पनि वडवानल् सरीको छ ताहाँ ।। कामैको जाल् छ ठूलो तर पनि बलियो तेहि जाल्लाइ फारी । संसार्–सागर् सहज्मा तरिकन हरिथ्यैं बस्न जानेछु पारी (युद्धकाण्ड २४४) ।।

उपर्युद्धृत कवितांशको पहिलो र दोस्रो हरफका श्यामाङ्कित पदहरूले अर्थालङ्कार अन्तर्गत उपमा अलङ्कार प्रकट गरेका छन् भने चौथो हरफका श्यामाङ्कित पदमा रूपक अलङ्कार मुखरित भएको छ । रूपक अलङ्कारको अर्को सुन्दर उदाहरण हेरौं— यस्ता बात् गरि राम् गया भनि सबै विस्तार् सुनाया जसै । कौसल्या दशरथ्जिलाइ रिसले वाक्–वाण् बजारिन् तसै (अरण्यकाण्ड ः १६)

भानुभक्तीय रामायण छन्द प्रयोगका दृष्टिले उच्चकोटिको कृति रहेको पाइन्छ भने रस र अलङ्कार प्रयोगमा पनि यसले समकालीन काव्यकृतिहरूलाई उछिनेकै देखिन्छ । यसपछि आएका काव्यकृतिका लागि यसले राम्रो मार्ग निर्देश गरेको छ । यसलाई नेपाली साहित्यको कोसे ढुङ्गाका रूपमा लिन सकिन्छ ।[६][७] [८] [९] [१०] [११] [१२] [१३] [१४] [१५]

कोमलप्रसाद पोखरेल

सहप्राध्यापक कनकाई बहुमुखी क्याम्पस सुरुङ्गा,



भानुभक्तका दुई फुटकर पद्यमा हास्य–व्यङ्ग्य[सम्पादन]

सारकथन (बदकतचबअत) ‘भानुभक्तका दुई पद्यमा हास्य–व्यङ्ग्य’ शीर्षकको प्रस्तुत लेख आदिकवि भानुभक्त आचार्यका दुईवटा फुटकर पद्यमा पाइने हास्य–व्यङ्ग्यको अध्ययन–विश्लेषणमा केन्द्रित छ । अध्ययनका क्रममा हास्य–व्यङ्ग्य सम्बन्धी स्थापित पूर्वीय एवम् पाश्चात्य सिद्धान्तका आधारमा भानुभक्तका उपर्युक्त पद्यमा पाइने हास्य–व्यङ्ग्यको विश्लेषण गरी विश्लेषणबाट प्राप्त निष्कर्षका साथै विश्लेषणका आधारमा प्रस्तुत पद्यद्वयका स्रष्टाको हास्य–व्यङ्ग्यगत प्राप्तिको निरूपण समेत गरिएको छ । स्थापित मान्यताका आधारमा गरिएको प्रस्तुत अध्ययन मूलतः व्याख्या–विश्लेषणात्मक अध्ययन विधिमा आधारित छ । प्रस्तुत लेखमा नेपाली हास्य–व्यङ्ग्य सृजनाको प्रथम प्रहरमै देखा परेका भानुभक्त आचार्यले विश्लेषित पद्यका माध्यमबाट नेपाली हास्य–व्यङ्ग्य फाँटलाई शिष्टता र अपेक्षित उचाइ प्रदान गरेको निष्कर्ष निकालिएको छ ।

१. हास्य–व्यङ्ग्यको सैद्धान्तिक चिनारी

हास्य–व्यङ्ग्य साहित्यको एक प्रवृत्तिविशेष हो । ‘हास्य’ र ‘व्यङ्ग्य’ दुई नितान्त भिन्न पदहरूको योगबाट ‘हास्य–व्यङ्ग्य’ यो समस्त पद बनेको छ । ‘हास्य र व्यङ्ग्य’ अथवा ‘हास्य पनि व्यङ्ग्य पनि’ यो विग्रहबाट द्वन्द्व समास भई बनेको यस शब्दको प्रयोग पाठकलाई हँसाउँदै हँसाउँदै जीवन जगत्का विसङ्गति–विकृतिमाथि मर्मवेधी ढङ्गबाट प्रहार गर्दै सुधारको सन्देश प्रवाह गर्ने साहित्यिक रचनाविशेषका तात्पर्यमा गर्ने गरिन्छ । साहित्यमा यस प्रकारका रचनाको एउटा छुट्टै फाँट नै छ, त्यसैले कसै कसैले हास्य–व्यङ्ग्यलाई एउटा अलग्गै विधाविशेष पनि मान्ने गरेको देखिन्छ । हास्य–व्यङ्ग्य छुट्टै विधा हो वा होइन यो अलग्गै बहसको विषय बन्दै गर्ला । त्यसलाई एकातिर पन्छाएर भन्नुपर्दा पनि हास्य–व्यङ्ग्यले हँसाउँदै मनोरञ्जनपूर्ण ढङ्गबाट विषयवस्तुको आस्वाद गराउने वा सुधारको चेतना दिने हुनाले साहित्यमा यस फाँटको एउटा छुट्टै महŒव भने रहेको छ नै ।

हास्य र व्यङ्ग्य पृथक् कुरा भए पनि साहित्यका सन्दर्भमा यी सहचरका रूपमा रहेका छन् । आ–आफ्नो व्युत्पत्ति अनुसार ‘हास्य’ ले हाँस्न योग्य, हँसाउने खाले, हाँसो उठ्तो आदि अर्थ दिन्छ भने ‘व्यङ्ग्य’ बाट आउने व्युत्पत्तिगत अर्थ व्यक्त गर्न योग्य, व्यक्त गरिने कुरो आदि हुन्छ । हास्य–व्यङ्ग्य रचनाका सन्दर्भमा ‘हास्य’ शब्दको प्रयोग उही तात्पर्यमा भए पनि ‘व्यङ्ग्य’ शब्दको भने छेडपेच वा कटाक्ष जस्ता अलि भिन्न तात्पर्यमा हुने गरेको पाइन्छ । त्रिपाठी (२०५१ ः ८६) का अनुसार व्यङ्ग्यको एउटा अर्थ उपहास वा आक्षेप पनि मानिएको देखिन्छ । सामान्य अर्थका दृष्टिले मात्र होइन यिनका स्वभाव, क्रियाकलाप, लक्षण आदि समेत पृथक् छन्, तापनि आधुनिक साहित्यमा यी दुवै कुरा सहचरका रूपमा आउने गर्दछन् । खास गरी पश्चिमी साहित्यमा हास्य र व्यङ्ग्यको समन्वित प्रयोग प्राचीन युगदेखि नै हुँदै आएको देखिन्छ । सुखान्त नाटकहरू यसका राम्रा प्रमाण हुन् ।

यस प्रकार हास्य र व्यङ्ग्य भिन्न कुरा भए पनि साहित्यको प्रस्तुत प्रकारका सन्दर्भमा यी दुवै एक–अर्काका सहयात्री मात्र नभई परिपूरकका रूपमा नै रहेका देखिन्छन् । व्यङ्ग्यविनाको हास्यमा असङ्गतिको चित्रण र संशोधनको शक्ति नहुने र हास्यविनाको व्यङ्ग्य बढी विषाक्त, कटु र खतरा हुने त्रिपाठी (२०३५) को भनाइले यी दुईबिचको यही परिपूरक सम्बन्धलाई सङ्केत गर्दछ । हास्य र व्यङ्ग्यको सम्बन्धबारेको अधिकारी (२०६५ ः ११) को यो भनाइ पनि उल्लेख्य देखिन्छ ः

तीक्ष्ण वेधकता व्यङ्ग्यको आधारभूत गुण हो । हास्यको जलपले त्यसलाई अझ तिखो बनाई समाजका उखुन्डा र अडबाङ्गा परिस्थितिलाई छिमल्न सहयोग गर्छ भने व्यङ्ग्यले हास्यलाई बौद्धिकता दिएर सोद्देश्य एवम् परिष्कृत बनाई विशिष्ट तुल्याउँछ ।

यसप्रकार हास्य र व्यङ्ग्यभित्र रहने यिनै विविध गुणहरूको समवेत उपस्थितिबाट हास्य–व्यङ्ग्य रचना सोद्देश्य र प्रभावकारी बनेको हुन्छ भने यही नै हास्य–व्यङ्ग्य रचनाको विशिष्टता र लोकप्रियताको कारण पनि बनेको देखिन्छ ।

पूर्वमा हास्यलाई रसको रूपमा लिँदै यसका स्मित, हसित, विहसित, उपहसित, अपहसित र अतिहसित गरी ६ प्रकार मानिएको छ भने यीमध्ये स्मित र हसितलाई उत्तम, विहसित र उपहसितलाई मध्यम र अपहसित र अतिहसितलाई अधम प्रकृतिका हास्यका वर्गमा राखिएको छ । व्यङ्ग्य भने ध्वनन वा व्यञ्जना व्यापारका रूपमा समग्र साहित्यकै आत्माका रूपमा रहने हुँदा यसलाई हास्यसँग जोडेर हेर्ने परम्परा पूर्वमा रहेको भेटिँदैन तापनि वर्तमान सन्दर्भमा छेडपेच वा कटाक्षको तात्पर्यमा प्रयोग गरिने व्यङ्ग्यतŒव भने हास्यरसकै उपकारक वा सहयोगी तŒवका रूपमा हास्यभित्रै समायोजित भएर आएको देखिन्छ ।

हास्य र व्यङ्ग्यलाई एकै ठाउँमा राखेर हेर्ने परम्परा पश्चिमबाटै उदाएको हो । पश्चिमी समाजमा शिष्ट साहित्यको उदय हुनुभन्दा अघिदेखि नै हास्य–व्यङ्ग्यको परम्परा रहँदै आएको पाइन्छ (त्रिपाठी, २०५१ ः १२१) । पश्चिमी परम्परामा हास्य–व्यङ्ग्यसँग सम्बद्ध रचनाप्रकारलाई ह्युमर (हास्य), सटायर (व्यङ्ग्य), विट (वाग्वैदग्ध्य), आइरनी (व्याजोक्ति÷वक्रोक्ति), प्यारोडी (नक्कल), फार्स (प्रहसन), जोक (ठट्यौली), क्यारिकेचर (स्वाङ) आदि वर्गमा राखेर हेर्ने गरिन्छ । यीमध्ये ह्युमर, प्यारोडी, फार्स, जोक, क्यारिकेचर जस्ता रचना हास्यतŒवप्रधान हुन्छन् भने अरूमा धेरथोर मात्रामा व्यङ्ग्यतŒवको प्रमुखता रहने गर्दछ ।

नेपाली साहित्यको प्राथमिक कालदेखि नै हास्य–व्यङ्ग्यले प्रश्रय पाउँदै आएको देखिन्छ । प्रथमतः शक्तिबल्लभ अज्र्यालको ‘हास्यकदम्ब’ (१८५५) नाटक लगायत ‘साँढ्याको कवित्त’ आदि फुटकर रचनामा समेत हास्य–व्यङ्ग्यको सचेत रूपमा प्रयोग भएको देखिन्छ भने त्यसलाई उचाइ र स्तरीयता दिने काम प्राथमिक कालकै भानुभक्त आचार्यबाट भएको देखिन्छ । भानुभक्तको मूलतः भक्तिरसका कवि भए पनि परिधीय प्रवृत्तिका रूपमा उनले हास्य–व्यङ्ग्यलाई समेत आत्मसात् गरेको देखिन्छ । लगभग दुई सवा दुईसय वर्ष लामो नेपाली हास्य–व्यङ्ग्य साहित्यको इतिहासका प्रारम्भकर्ताकै रूपमा शक्तिबल्लभ र भानुभक्त देखा पर्दछन् । यस लेखमा यिनै दुई स्रष्टामध्येका कवि भानुभक्तका निम्नलिखित दुई फुटकर पद्यमा पाइने हास्य–व्यङ्ग्को विश्लेषण गरिएको छ ।

२. समीक्ष्य पद्यको मूल पाठ

पद्य १ ः

रोज् रोज् दर्शन पाउँछू चरणको ताप् छैन मन्मा कछू

रात् भर्नाच् पनि हेर्छु खर्च नगरी ठूला चयन्मा म छू ।

लाम्खुट्या उपिञा उडुस् इ सँगी छन् यिन्कै लहर्मा बसी

लाम्खुट्याहरू गाउँछन् इ उपिञा नाच्छन् म हेर्छू बसी ।

पद्य २ ः

जागिर्छैन धनी म छैन घरको केवल् कुदालो खनी

खान्थ्याँ दुःख गरेर चाकरी ग¥याँ मान पाउँला की भनी

एक् मन् चित्त लगाई चाकरी ग¥याँ खूसी भयाछन् हरि

मान्माथी पनि भुक्तमान् थपिदिया कैल्ह्यै न खोस्न्या गरी

(भट्ट, २०६८ ः १५ मा सङ्कलित) ।

३. प्रस्तुत पद्यमा पाइने हास्य–व्यङ्ग्य तत्त्वकाे विश्लेषण

पद्य १ को सामान्य÷अभिधा अर्थ सकारात्मक वा सामान्य रहेको छ । यहाँ कवि÷वक्ताले चरणको दर्शन सधैं पाइरहेको, मनमा कुनै ताप सन्ताप नरहेको, रातभर नाच हेरेर मनोरञ्जन गर्न पनि पाउने गरेको, साथीका रूपमा लाम्खुट्टे, उपियाँ उडुस रहेको र लाम्खुट्टेको गायन तथा उपियाँको नाच हेरेर आफू बसिरहेको भन्ने देखिन्छ । यसै गरी पद्य २ मा पनि यस्तै सामान्यार्थ व्यक्त भएको देखिन्छ । यस पद्यमा कवि÷वक्ता जागिर नभएको, आफू धनी पनि नभएको, कोदालो खनेर दुःख गरेर जीविकोपार्जन गरिरहेको अवस्थामा मान प्राप्तिको आशाले चाकरी गर्न थालेकोमा एक मन चित्त लगाएर चाकरी गर्दा हरि (भगवान्) खुसी भएर कहिल्यै पनि नखोस्ने गरी मानमाथि पनि भुक्तमान थपिदिएको भन्ने

सामान्य÷अभिधा÷वाच्यार्थ व्यक्त छ । अभिधा÷वाच्यार्थका तहबाट हेर्ने हो भने प्रस्तुत दुवै पद्यमा हाँसो उठ्तो वा कतै छेडपेच वा कटाक्ष गरिएको कुनै अवस्था देखिँदैन । सतही अर्थमा दुवै पद्यले कवि÷वक्ताले भोगेको सामान्य स्थितिको चित्रण गर्दछन् । त्यसैले दुवै पद्य अभिधार्थमा हास्य–व्यङ्ग्ययुक्त देखिँदैनन् । अतः यी पद्यमा पाइने हास्य–व्यङ्ग्य तŒवलाई अर्थको अर्को (ध्वन्यात्मक÷व्यञ्जनात्मक) तहमा पुग्दा मात्र फेला पार्न सकिन्छ । प्रस्तुत पद्यको उक्त भित्री अर्थात् ध्वन्यात्मक÷व्यञ्जनात्मक अर्थको तहमा पुग्नका लागि यी पद्यको रचनाको प्रसङ्ग के हो भन्ने थाहा पाउनु आवश्यक हुन्छ ।

उक्त दुई पद्यको रचनाप्रसङ्ग के हो भन्ने कुरा यो भानुभक्तको जीवनीसम्बन्धी विवरणबाट स्पष्ट हुन्छ ः

इन् ताक् कवि भानुभक्ताचार्यजी स्वस्तिश्रीमद्राजकुमारकुमारात्मज श्री ३ कम्यान्डर–इन–चीफ् जनरल कृष्णबहादुर जङ्ग राणाको चाकरी गर्दथे र विक्रमीय सम्वत् १९०७ सालका वैशाख मासमा मदेश्को जागिर पाई गये तर भानुभक्त कवि ऐ सम्वत् १९०९ मा खोस्सिये र कागत्पत्र बुझाउन भनी नेपाल् कुमारीचोक्मा आई कागतपत्र आफूले २ वर्ष काम् गरेको खर्चा आम्दानी समेत्को स्याह बुझाउँदा केही बाँकी सर्कारिया लागेछ र ५ मैन्हासम्म कुमारीचोकमा थुनियेछन् । ...

यस् सन्सारमा स्वतंत्र रहनुजतिको आनन्द केही छैन । परतंत्रमा रहनुजतिको दुक्ख केही छैन, उस्माथि पनि प्रायः कविहरू ता धन् जन् मान् मर्यादा क्यै पनि नलिई केवल स्वतन्त्रतामा रहन खोज्दछन् । भानुभक्तले यसरी ५ मैन्हासम्म थुनिदा निज कविजीका मनमा कस्तो भयो होला, यस्को दुरुस्त बयान् कलम्ले लेख्न सकिदैन । कदाचित् एक २ घडी युग् जस्ता भये हुनन्; भर्दिन कोठाका दलिन् गनी काट्नुपर्यो होला । कसै सित बोल्चाल् होला कि भन्ने आशा सपनामा पनि भयेन होला, कैह्लै बोल्चाल् होस् तपनि केवल बहीपत्र बुझाउँदा भयो होला । तेस बखत्को बोल्चाल् के बोल्चाल्; बहीपत्र स्याह कागत् बुझ्नेहरूको जो मिजाज् हुंछ म के लेखूँ । यसरी एक्लै बस्ता बस्ता बडा दिक्दारीमा परी श्री ३ कम्यान्डर इन्चीफ जनरल कृष्णबहादुरका हजूरमा कवि भानुभक्ताचार्यले लेखी चढाई पठायाको श्लोक् यो हो (भट्ट, २०६८ ः १४) ।

उपर्युक्त विवरणबाट प्रस्तुत दुवै पद्यको रचना भानुभक्तले आफू कुमारी चोकमा थुनिँदाका बखत गरेको देखिन्छ । मदेसतिरको जागिरको स्याहाश्रेस्ता नमिलेपछि थुनामा परेका भानुभक्तले पाँच महिना बन्दी जीवन बिताउनु परेको थियो । एउटा स्वतन्त्र पन्छी झैं विचरण गर्ने कविले जेलभित्रको उकुसमुकुसिँदो वातावरणमा लामखुट्टे, उपियाँ र उडुसको लहरमा दिनरात बिताउनु परेको दिग्दारी व्यक्त गर्न र अझ आफ्ना मालिक श्री ३ जनरल कृष्णबहादुर राणामा समेत जाहेर गरी क्षमादानको लालसाले ठट्यौली पारामा पद्य १ को रचना गरेको देखिन्छ । यो विवरण स्पष्ट भइ सकेपछि अब भने पद्यको आन्तरिक मर्म र त्यसभित्रको हास्य एवम् व्यङ्ग्यचेत पनि खुलस्त हुन्छ ।

यहाँ पद्य १ को पहिलो पंंक्तिमा चरणको दर्शन पाएको र मनमा ताप (पीडा) नभएको कुरो व्यक्त भएको छ । जेलमा कोचिएर एकाकी जीवन बिताउने व्यक्तिले आफ्ना मालिकको चरणको दर्शन पाउनु र मनमा पीडा नहुनु विपरीत कुरा हो । यहाँ कविको भनाइ सोझो नभएर व्याजोक्तिपूर्ण रहेको छ । कवि÷वक्ताले जे भनेका छन् त्यसको आशय भने ठिक विपरीत रहेको छ । मालिकको दर्शन पनि नपाएको र मन सन्तापपूर्ण रहेको स्थिति नै वक्ताको सही आशय हो । यस्तो स्थितिलाई पाश्चात्य साहित्यमा आइरनी (व्याजोक्ति) भनिएको पाइन्छ । यस प्रकार यहाँ कविले आइरनी (व्याजोक्तिपूर्ण) शैलीबाट हास्य सिर्जना गर्न खोजिएको देखिन्छ । भावबाट प्रतिभाव व्यञ्जित हुनु (अधिकारी, २०६५ ः ७) वा वक्ताको बोलाइको उल्टो आशय बुझिने लक्ष्यार्थको प्रधानता (भट्टराई, २०५७ ः २९) हुने अभिव्यक्ति शैली नै आइरनी हो । त्यही शैलीको प्रयोगबाट कविले प्रस्तुत पद्यको यस पाउमा हास्य तत्त्वको उद्भावना गराएका छन् ।

पद्यको दोस्रो पंक्तिमा खर्च नगरी रातभर नाच हेर्न पाएको र आफू ठुलो चयन (आनन्द) मा रहेको स्थिति दर्साइएको छ । खर्च नगरी नाच हेर्न पाएको प्रसङ्ग हँस्सी दिल्लगीको रूपमा आएको छ । खर्च नगरी हेरिएको नाच भनेको लाम्खुट्टे उपियाँको ताण्डव हो । यहाँ कवि÷वक्ता थुनामा रहेको हुनाले त्यही लाम्खुट्टे र उपियाँको चर्तिकलालाई विना खर्चको नाचगान भन्ने सङ्केत गरिएको छ । यसलाई कवि÷वक्ताले हँस्सी दिल्लगीका रूपमा व्यक्त गरेको देखिन्छ । दिल्लगीपूर्ण ढङ्गबाट आफ्ना मालिक समक्ष आफूलाई उपहास्य देखाएर मालिकलाई रिझाउने अभिप्राय कविको देखिन्छ । हास्योत्पत्तिको यो स्थिति पाश्चात्य हास्य–व्यङ्ग्य साहित्यको फार्स (प्रहसन) का नजिक देखिन्छ । हँस्सी दिल्लगीको प्रधानता रहनु फार्सको चिनारी हो (अधिकारी, २०६५ ः ८) । दोस्रै पंक्तिको ठुला चयनमा रहेको अवस्थाले स्थितिवैपरीत्यलाई देखाउँछ । यहाँ कवि÷वक्ताले उल्टो स्थितिको चित्रणद्वारा आफ्नो वास्तविक अवस्थालाई देखाउन खोजेका छन् । यहाँ कवि÷वक्ताले आफ्नो दुर्दशाको व्याजोक्तिपूर्ण अर्थात् विपरीत कथनको प्रयोगद्वारा आफैंलाई आलम्बन बनाएर हास्यको सृजना गरेको देखिन्छ । यसर्थ यहाँ पनि प्रस्तुतिको आइरनी शैलीको प्रयोग भएको देखिन्छ ।

पद्य १ को तेस्रो र चौथो पाउमा पनि ठट्यौलो ढङ्गबाट कवि÷वक्ताले आफ्नो स्थितिको वर्णन गर्दै हास्यको सृजना गरेको देखिन्छ । यहाँ थुनाभित्र सँगी (साथी÷सहचर) का रूपमा लाम्खुट्टे, उपियाँ र उडुस रहेको दर्साइएको छ भने आफ्नो अपकार गर्ने लाम्खुट्टे उपियाँ आदिलाई साथी (उपकार गर्ने) का रूपमा चित्रण गरेर प्रच्छन्न वैपरीत्यको स्थितिबाट हास्योत्पत्ति गरिएको छ । यहाँ पनि कवि÷वक्ता आफैं आलम्बन बनेर व्याजोक्ति कथनका माध्यमबाट हास्य सृजना गरिएको छ । यो प्रस्तुति शैली फार्स र आइरनीको नजिक रहेको देखिन्छ ।

पद्यको चौथो पाउमा लाम्खुट्टेलाई गायक उपियाँलाई नर्तक र आफूलाई दर्शकका रूपमा चित्रण गर्दै हँसी–दिल्लगीलाई नै माध्यम बनाइएको छ भने यसबाट जेलकोठरीभित्रको परिस्थितिलाई प्रस्तुत गर्दै हास्यको सृजना गरिएको छ । लाम्खुट्टेको गुनगुन आवाजलाई गायन र उपियाँको फड्काइ÷उफ्राइलाई नाचका रूपमा चित्रण गर्नु ठट्यौली वा हँसी–दिल्लगी नै हो । यही हँस्सी–दिल्लगीका माध्यमबाट कवि÷वक्ताले आफू हास्यको आलम्बन बनेर आफ्नो त्यही दुर्दशामाथि व्यङ्ग्य गर्दै यहाँ कविले यो स्थितिबाट उन्मुक्तिको आकांक्षाका साथ आफ्ना मालिकको मन छुने प्रयास गरेको बुझिन्छ ।

पद्य २ पनि भानुभक्त थुनामा रहँदै लेखिएको हो । यो भानुभक्तका छोराको व्रतबन्धको समय आएकाले व्रतबन्ध गर्न पाऊँ भनी श्री ३ लाई बिन्ती चढाउन लेखिएको चार श्लोकी पद्यबद्ध बिन्तिपत्रको पहिलो श्लोक हो (भट्ट, २०६८) । यस पद्यमा कविले आफैंमाथि व्यङ्ग्य गरेका छन् । नदुखेको कपाल केजाति गरेर दुखाउनु भने जस्तै आफ्नो सुतीखेती गरेर गुजारा चलाइरहेका बेलामा मान–सम्मानको लालचले गर्दा उल्टै भुक्तमान् खप्नु परेको प्रसङ्ग यस पद्यमा आएको छ । अर्का तर्फ आफू हास्यको आलम्बन बनेर आफैंमाथि ‘खाइस् !’ को भावमा कटाक्ष गरेझैं गरी श्री ३ को निर्विवेकी व्यवहारमाथि पनि यस पद्यले व्यङ्ग्य गरेको छ । यस पद्यका प्रथम दुई पाउले कवि÷वक्ताको सामान्य स्थितिको चित्रण–वर्णन गरे पनि पछिल्ला दुई पंक्ति हास्य एवम् व्यङ्ग्यचेतका दृष्टिले निकै शक्तिशाली देखिन्छन् । पद्यको तेस्रो पंक्तिमा एक मन चित्त लगाई चाकरी गरेकाले हरि खुसी भएछन् भनिएको छ । प्रस्तुत “खूसी भयाछन् हरि” पदावलीले दिने विपरीत अर्थात् “हरि बेखुस भएछन् वा रिसाएछन्” भन्ने तात्पर्यबाट हास्य सिर्जना भएको छ भने यहीँनेर ‘हरि’ को रूपमा रहेको कविका मालिक श्री ३ कृष्णबहादुर राणाको निर्विवेकीपनमाथि पनि व्यङ्ग्य प्रहार भएको छ । त्यही निर्विवेकीपनकै कारण प्रस्तुत पंक्तिबाट इमान्दार भएर एक मन चित्त लगाई चाकरी गर्ने आफूमाथि भुक्तमान अर्थात् हैरानी÷दुःख थपिदिएको हो भन्ने तात्पर्य बुझिन्छ । अर्कातर्फ कवि/वक्ताले प्रत्यक्ष रूपमा चाहिँ हरि (भगवान्) लाई अगाडि सारेर मालिक राणालाई भने प्रत्यक्ष रूपमा लक्ष्यित नगरी परोक्ष ढङ्गले मात्र छेड हानेको देखिन्छ । अर्थात्् यस पद्यमा कविले खप्नु परेको भुक्तमान हरि बेखुस भएको कारणले हो भनेर परोक्ष अर्थात् व्याजोक्तिपूर्ण प्रस्तुतिका माध्यमबाट हास्य सिर्जना गर्दै निर्विवेकी माकिलमाथि व्यङ्ग्य समेत प्रहार गरेका छन् । यहाँ पनि हास्य सृजनाका लागि कविले व्याजोक्तिपूर्ण आइरनी शैलीकै अनुसरण गरेको देखिन्छ ।

प्रस्तुत पद्यद्वयमा प्रयुक्त हास्यलाई पूर्वीय सन्दर्भबाट हेर्दा पहिलो पद्य विहसित वर्गको हास्य प्रकारका रूपमा रहेको देखिन्छ । यस पद्यमा कवि÷वक्ताले चरणको दर्शन पाइ रहेको, मनमा कुनै सन्ताप नरहेको, सित्तैमा नाचगान हेर्न पाएको जस्ता सकारात्मक स्थितिको चित्रण गरेर आफ्नो त्यस विपरीत स्थितिको आभास गराउन खोजेका छन् । यस प्रकारको विरोधाभास÷भाग्यवैपरीत्य÷ स्थितिविपर्ययबाट नै कविले यहाँ हास्यको सृजना गरेका छन् । यस प्रकारको स्थितिवैपरीत्य वा भाग्यवैपरीत्यबाट सृजित हुने हाँसोबाट आलम्बनको मार्मिक अवस्था प्रकट हुने अवस्था हास्यको विहसित स्थिति हो (अधिकारी, २०६५ ः ४) । यस पद्यमा कवि भानुभक्तले आफ्नो कैदी अवस्थाको दुःखपूर्ण एवम् मार्मिक क्षणलाई यस्तै स्थितिविपर्ययका माध्यमबाट देखाएका हुनाले यहाँ यसै विहसित वर्गको हास्यको उत्पत्ति भएको देखिन्छ । हास्य सृष्टिको आधार वा आलम्बन कवि÷वक्ता स्वयम् नै हुने हास्यलाई स्वसमुत्थ (आफैंलाई आधार बनाइने) भनिन्छ (त्रिपाठी, २०५१ ः ११३) । यस पद्यमा पनि कवि÷वक्ता स्वयम्ले भोगेको परिस्थिति वा अवस्थालाई हास्य उत्पत्तिको कारण बनाइएको छ । यस कारण यहाँ स्वसमुत्थ प्रकृतिको हास्यको उपस्थिति रहेको देखिन्छ ।

दोस्रो पद्यमा पनि कविले आफैंलाई हास्य सृजनाको आधार वा आलम्बन बनाएका छन्, यसर्थ यहाँ पनि स्वसमुत्थ प्रकृतिकै हास्यको अवस्था देखिन्छ । यस पद्यमा पनि कवि÷वक्ताको दुर्दशा नै हास्यको कारण भए पनि हास्यको स्थिति भने फरक देखिन्छ । यहाँ कवि–वक्ता अघिल्लो पद्यमा झैं नियतिवस नभई आफ्नै दुर्बुद्धिका कारण दुर्गतिमा फँसेका देखिन्छन् । दुःख सुख जसै तसै जीवन निर्वाह गरिरहेको अवस्थामा खुब मान खोज्ने हुँदा भुक्तमान (दुर्गति) मा परें भन्ने कवि÷वक्ताको आशय प्रस्तुत पद्यमा व्यक्त भएको छ । अघिल्लो पद्यमा आलम्बनको दुर्गतिको कारण अन्यत्र रहेको देखिन्छ भने यस पद्यमा आलम्बन आफ्नै कारणबाट दुर्गतिमा फसेको देखिन्छ । अतः यहाँ ‘कठै !’ को भाव नभएर ‘खुच्चिङ्’ को भाव व्यक्त भएको छ । यसरी आलम्बन नियतिले भन्दा पनि आफ्नै नियत वा मूर्खताले हास्यपात्र बनेको स्थिति अतिहसित वर्गको हास्य हो (अधिकारी, २०६५ ः ४) । यस पद्यमा पनि यही स्थिति रहेको हुनाले यहाँ अतिहसित वर्गको हास्य सृजना भएको देखिन्छ ।

४. निष्कर्ष प्रस्तुत अध्ययनका आधारबाट हेर्दा पाश्चात्य दृष्टिकोण अनुसार विपरीत आशय व्यक्त गरिने आइरनी (व्याजोक्ति) तथा हस्सी दिल्लगीका माध्यमबाट हास्य सृजना तथा छेडपेच गर्ने फार्स शैलीको प्रयोग गरेर रचनाको अभीष्ट पुरा गर्ने हास्य–व्यङ्ग्य शैली हास्य–व्यङ्ग्यकार भानुभक्तले अपनाएको देखिन्छ । यहाँ कविले कतै आफैंलाई, कतै आफ्ना मालिकको निर्विवेकी व्यवहारलाई र कतै कुमारीचोकको आफू थुनिएको परिवेशलाई हास्य एवम् व्यङ्ग्य सृजनाको आश्रय वा आलम्बन बनाएको देखिन्छ । पूर्वीय दृष्टिकोणबाट हेर्दा हास्यको आलम्बन÷आधार आफैंलाई बनाएको हुनाले स्वसमुत्थ प्रकारको हास्यको उपस्थिति देखिन्छ भने हास्यका स्वभाव अनुसार भने विपरीत स्थितिको चित्रणबाट हास्य उत्पन्न गरिएकाले प्रथम पद्यमा विहसित वर्गको र आफ्नै कारणबाट दुर्गतिमा परेको चित्रण गरिएकाले दोस्रो पद्यमा अतिहसित वर्गको हास्यको स्थिति देखिन्छ ।

व्यङ्ग्यचेतका दृष्टिले हेर्दा कविले कतै आफ्नै नियतिलाई, कतै आफूले भोगेको विषम परिस्थितिलाई र कतै व्यक्तिविशेषका निर्विवेकी व्यवहारलाई व्यङ्ग्यको तारो बनाएका छन् । सतही रूपमा कविले आफैं हास्य र व्यङ्ग्यको आश्रय बनेर आफैंमाथि हाँसो सृजना गरेका छन् भने परोक्ष ढङ्गबाट तत्कालीन विषम स्थिति र मानवीय कमजोरीमाथि कटाक्ष गरेका छन् ।

दुवै पद्यमा हास्य र व्यङ्ग्यको अन्योन्याश्रय सम्बन्ध रहेको देखिन्छ । विशेषतः व्याजोक्तिपूर्ण कथनपद्धति एवम् स्थितिवैपरीत्यको प्रदर्शन हास्य र व्यङ्ग्य दुवैको उत्पत्तिका कारण बनेर हास्यले व्यङ्ग्यलाई र व्यङ्ग्यले हास्यलाई परस्पर समृद्ध तुल्याएका छन् । आफ्नै दुर्भाग्यलाई कोसेजस्तो गरी अनि अलौकिक तत्त्वलाई दोसेजस्तो गरी छलपूर्ण ढङ्गबाट आफ्नै अन्नदाताको अविवेकीपनमाथि गरिएको छेडखानी कवि भानुभक्तको अद्वितीय कलाकारिताको नमुना भएको छ । हास्योत्पत्तिका दृष्टिले पहिलो पद्य र व्यङ्ग्यका दृष्टिले दोस्रो पद्य नेपाली हास्य–व्यङ्ग्यकै बेजोड नमुना बनेका छन् । पहिलो पद्यमा हास्यका माध्यमबाट कविको व्यङ्ग्यचेत प्रकट भएको छ भने दोस्रोमा कविको व्यङ्ग्यचेत अत्यन्त प्रखर र कलापूर्ण बनेर हास्यका साथ देखिएको छ । अर्थात् पहिलो पद्यमा पहिले हास्य अनि पछिबाट व्यङ्ग्यबोध हुन्छ भने पछिल्लो पद्यमा व्यङ्ग्यबोध नै हास्योत्पत्तिको कारकका रूपमा देखिन्छ । नेपाली हास्य–व्यङ्ग्य सृजनाको मिर्मिरे प्रहरमै उदाएका कवि भानुभक्त मूलतः भक्तिचेतनाकै कवि भए पनि उनी हास्य–व्यङ्ग्य फाँटका समेत सशक्त स्रष्टाका रूपमा चिनिन्छन् । केही फुटकर हास्य–व्यङ्ग्यात्मक पद्य मात्र सृजना गरेका भानुभक्तले उसै बेला नेपाली हास्य–व्यङ्ग्यको उत्कृष्ट र उदात्त स्वरूप प्रस्तुत गरेर यस फाँटलाई चिनाइसकेको कुरा प्रस्तुत दुई पद्यको अध्ययनबाटै स्पष्ट हुन्छ । समग्रमा भन्नुपर्दा लेख्य÷शिष्ट नेपाली साहित्यको परम्पराको थालनीसँगसँगै थालिएको हास्य–व्यङ्ग्य सृजनाको परम्पराका आदिपुरुष नै नभए पनि नेपाली हास्य–व्यङ्ग्य साहित्यलाई अपेक्षित उचाइ दिने क्रममा कवि भानुभक्त आचार्यको योगदान महत्त्वपूर्ण रहेको छ । केही फुटकर रचनामै मात्र सीमित रहे पनि उनले नेपाली हास्य–व्यङ्ग्यलाई जुन शिष्टता र उचाइ दिए त्यही नै यस परम्पराको महत्त्वपूर्ण आधारशिला बनेर रहेको देखिन्छ । [१६] [१७] [१८] [१९] [२०]

गङ्गाप्रसाद अधिकारी

सहप्राध्यापक

मेची बहुमुखी क्याम्पस भद्रपुर,



भानुभक्तको प्रेरणाको स्रोत घाँसी[सम्पादन]

वि.सं. १८७१ साल आषाढ २९ गतेका दिन चुदी रम्घा भन्ने ठाउँमा एउटा नक्षत्रको उदय भयो जो नेपाली भाषा साहित्यको आकाशमा कहिल्यै अस्ताएन । अस्ताएरै गए पनि त्यो नक्षत्रको प्रकाश कहिल्यै धुमिल भएन । त्यही प्रकाशको गोरेटोबाट लाखौलाख नेपाली साहित्यका अनुरागी आजसम्म र पछि अनन्त अनन्तसम्म पार गरिरहेका छन् र गरिरहने छन् । उनकै अथक प्रयत्नले नेपाली भाषा खस र पर्वते भाषाबाट नेपालको राष्ट्र भाषाको सम्मानमा पुगेको हो । आज नेपालको राष्ट्र भाषा संसारकै विकसित भाषाहरूको हरफमा गनिने गरी विकसित अवस्थामा पुगेको छ । यही भाषाको माध्यमबाट ठुला ठुला महाकाव्य, काव्यहरूबाट नेपाली भाषा साहित्यको भण्डार टम्म भरिएको छ । यो हामी नेपाली भाषीहरूको निम्ति अत्यन्तै गौरवको विषय बन्न पुगेको छ ।

भानुभक्तको समयमै राजा पृथ्वी नारायण शाह नेपालको एकीकरण गर्ने क्रममा साना साना बाइसे चौबिसे राज्यहरू मिलाएर एउटै ठूलो नेपाल राज्य निर्माण गर्ने क्रममा कीर्तिपुर लगायत पश्चिम र पूर्वका रजौटाहरूलाई जितेर नेपाल राष्ट्रमा मिलाउदै थिए र एउटै विशाल राज्यको निर्माणमा लागेका थिए । यसरी हेर्दा एकातिर कवि भानुभक्त आचार्य नेपालको भाषा साहित्यको इतिहासमा आदि कविका रूपमा सम्मानित छन् भने अर्कातिर हेर्दा श्री ५ पृव्यीनारायण शाह नेपालको शाह वंशको इतिहासमा राष्ट्र निर्माताको रूपमा सम्मानित छन् । यी दुवै महापुरुषहको योगदानले आज नेपाल संसारकै सामु सम्मानित र गौरवान्वित बन्न पुगेको छ ।

यहाँ आदिकवि भानुभक्त आचार्यको जन्मोत्सवको सन्दर्भ परेकोले उनकै बारेमा छोटो चर्चा गरिन्छ । भानुभक्तको जन्म १८७१ साल आषाढ २९ गते कास्कीको तनहुँको चुदी रम्घा भन्ने ठाउँमा भएको थियो । बालककालमा उनको अक्षरारम्भ उनकै बाजे श्रीकृष्ण आचार्यबाट भएको कुरा उनको जीवनीबाट थाहा लाग्छ । उनको बुबाको नाम धनञ्जय आचार्य थियो । भानुभक्त युवावस्थामा पुगेपछि एक दिन गाउँमा कतै गइरहेका थिए । संयोगवश एउटा घाँस काटेर जीवन यापन गर्ने घाँसीसँग उनको भेट भयो । कुरै कुरामा घाँसीले “जीवन क्षणभङ्गुर छ र खान लाउन त सबैले गरेकै हुन्छन् । संसारमा जन्म लिएपछि पछिसम्म कीर्ति रहने काम गर्नु पर्छ बाउन नानी ! म पनि घाँस बेचेको पैसाले बिहान बेलुकाको छाक टार्छु र बाँकी पैसाले एउटा कीर्ति रहोस् भन्नका खातिर एउटा कुवा खनाएर तिर्खाएका बटुवाहरूले आँतभरि तिर्खा मेट्न पानी पिऊन् भन्ने सोच राखेको छु” भनेपछि उनीभित्र रहेको कवित्वको प्रस्फुटन भएछ र तत्काल यसरी उनको कवित्व छताछुल्ल भएछ ।

भर् जन्म घाँस तिर मन् दिई धन् कमायो,

नाम् क्यै रहोस् पछि भनेर कुवा खनायो ।

घाँसी दरिद्र घरको तर बुद्धि कस्तो,

मो भानुभक्त धनी भैकन आज यस्तो ।

मेरा इनार न त सत्तल पाटी क्यै छन्,

जो चीज बीजहरू छन् घरभित्र नै छन् ।

यो घाँसीले कसरी आज दिए छ अर्ती,

धिकार हो मकन बस्नु नराखी कीर्ति ।

यो नै भानुभक्तको पहिलो कविता हो भनिएको छ । पछि उनीबाट वधू शिक्षा, भक्तमाला, प्रश्नोत्तर आदि काव्यहरूको सिर्जना भए । सबभन्दा महŒवपूर्ण कुरा उनले नेपाली भाषामा रामायणको उल्था गरी हामीलाई एउटा अमूल्य ग्रन्थ छाडेर गए । उनी आशुकवि पनि थिए भनिएको छ । तत्काल कविता सिर्जना गरी कवितामा जवाफ दिन सक्ने उनको खुबी थियो । उनका मित्र गजाधरकी श्रीमती र निजकै बुहारीको वादविवाद सुनेर तत्काल वधू शिक्षाको रचना गर्न सक्ने क्षमता उनले देखाए । उनले कविताबाटै प्रभाव पारेर सीपाहीसँग बन्दुक मागेको प्रसङ्ग र डिठ्ठा विचारीलाई कवितैबाटै व्यङ्ग्य गरेको प्रसङ्गले उनको कवित्व प्रखर थियो भन्न सकिन्छ । आज रामायण समस्त नेपाल र भारतको दार्जिलिङ्ग, सिक्किम, भुटान, आसाम, बर्मा कहाँ गाइदैन र ? तर आज हामी नेपालीहरूले यस्ता अमूल्य निधि नेपालका राष्ट्रिय विभूतिलाई बिर्सदै गएका हौं कि ? यो विचारणीय कुरा छ ।

“जुनसुकै बादलमा चाँदीको घेरा हुन्छ” भनेझैं जो सुकैसँग पनि एउटा न एउटा क्षमता हुन्छ भनिएको छ । जसरी आदि कवि बाल्मीकिको क्षमता बाटा हिँड्ने बटुवाले प्रस्फुटन गराएर संस्कृत भाषामा रामायण लेखियो, त्यस्तै स्त्रीलम्पट तुलसी दासको क्षमता निजकै श्रीमतीबाट प्रस्फुटन भएर हिन्दी भाषामा रामायण लेखियो त्यसरी नै एउटा गरिब घाँसीको प्रेरणाबाट भानुभक्तको कवित्वको क्षमता प्रस्फुटन भएर नेपाली भाषामा रामायण लेखियो ।

गंगाराम खनाल


नेपाल एकीकरणका अर्का योद्धा भानुभक्त आचार्य[सम्पादन]

आजको अस्तित्ववादी युगमा मान्छेले आफ्नो छुट्टै पहिचानको खोजी गर्ने कुरा एक किसिमको युगीन मानवीय प्रवृत्ति मानिन्छ । यो प्रवृत्ति आदिम युगदेखि निरन्तर बढ्दै आएको देखिन्छ । यसका लागि मान्छेले अनेकौं अनौठा गतिविधिहरू समेत बेलाबखत गर्ने गर्दछन् । त्यस्ता गतिविधिहरू मध्ये राजनीतिक, गतिविधि अलि बढी विध्वंसात्मक पनि हुन सक्छन् । सामाजिक, सांस्कृतिक, धार्मिक, शैक्षिक आदि अन्य गतिविधिहरू भने सूक्ष्म गतिले विकसित हुँदै जान्छन् अनि निरन्तर रूपमा विस्तारित र परिवर्तित हुँदै अनेकौं प्रक्रियाहरूमा देखिने गर्दछन् । अस्तित्व रक्षाका लागि मान्छेले आवश्यक परिवेश आफू बाँचेको समाजमा नै बनाउँछ । त्यसका लागि पहिले त सामाजिक विकास निर्माणका कार्यहरूमा जुट्दछ अनि पछि राष्ट्र निर्माणमा जुटेको हुन्छ । उता अनेकौं तरिकाले समाजको संरचना बनेको हुँदा त्यस अनुरूप नै मान्छेले आपूm, आफ्नो परिवार, वंश, जाति हुँदै समयान्तरमा अनेकौं तह तथा तप्का पार गरी बल्ल राष्ट्रिय समाजको विकास निर्माणमा जुट्न पुगेको हुन्छ । यस क्रममा जति धेरै व्यक्तिहरूको भूमिका रहन्छ समाज त्यति नै गतिशील हुन्छ । त्यति नै धार्मिक, सांस्कृतिक, नैतिक, शैक्षिक आदि अन्यान्य पक्षको भूमिका बढ्दै गएको हुन्छ । ती सबै पक्षको एकता कायम गर्ने गराउने बाह्य कडीहरू पनि हुन्छन् । त्यसमा पहिलो भाषा हो भने दोस्रो धर्म अनि तेस्रो चाहिँ विचार हो । यी सबैको समुचित तालमेल मिल्यो भने मात्र समाज निर्माणमा कुनै व्यवधान उत्पन्न हुन सक्दैन र उत्पन्न भइहाल्यो भने पनि समाधान उन्मुख हुन सक्छ । समयको अन्तरालमा यस किसिमका कार्यहरू सम्पन्न गर्दै जाँदा तत्कालै कुनै न कुनै व्यक्तिले कुनै न कुनै पद्धति अपनाएर अगुवाइ गर्न पुग्दछ ।

यो संसारमा असल र महान् कार्य गर्नेहरूमध्ये सबैको नाम अग्र पक्तिमा नआउन पनि सक्छ । यसरी ओझेलमा पर्न गएका महान् पुरुषहरूको नाम प्रकाशमा ल्याउनु र मूल्याङ्कनका लागि सार्वजनिक गर्नु सचेत नागरिकरको मूल कर्तव्य हुन आउँछ । नेपालको इतिहास पढ्ने हरेक व्यक्तिले पृथ्वीनारायण शाहलाई नेपाल एकीकरणका अगुवा तथा विशाल नेपालका निर्माता भनी पढ्दछन् । एउटा राष्ट्र भन्ने बित्तिकै त्यहाँको भूगोल र प्रशासनका अतिरिक्त जन अनुमोदित भाषा, साहित्य, संस्कृति, सामाजिक चालचलन, रीतिरिवाज आदिका विभिन्न मौलिक पक्षहरू पनि बुझ्नु पर्दछ । पृथ्वीनारायण शाहले यस राष्ट्रको राजनीतिक र प्रशासनिक एकीकरणमा अगुवाइ गरेको पक्का हो तर भाषिक, साहित्यिक, सामाजिक, सांस्कृतिक रीतिरिवाज आदि अन्य पक्षको एकीकरणमा उनको भूमिका कति रह्यो ? त्यसमा अन्य व्यक्तिको भूमिका छ कि छैन ? भन्ने विषयमा आजसम्म त्यति धेरै खोजी भएको छैन । त्यसको श्रेय भानुभक्त आचार्यलाई पनि जान्छ भन्ने यो लेखकीय विचार हो र यसमा कुनै आश्चर्य मान्नु पर्दैन पनि । विश्वका जुनसुकै समाजको संस्कृति र सभ्यताको विकास सम्बन्धित धर्म सापेक्ष हुने गरेको देखिन्छ । तिनै धर्मावलम्बीहरूले आफु अनुकूल समाजिक सभ्यताको विकास गर्न जे जस्ता नीति नियमहरू अपनाएर पालन गर्दै आएका हुन्छन् त्यसै अनुरूपले सांस्कृतिक परम्परा कायम हुदै जान्छ । त्यस अनुरूप नै सम्बन्धित धर्मग्रन्थ र आध्यात्मिक चिन्तनका कुराहरू पनि विकसित हुदै जाने कुरा स्वाभाविक हो । तिनै धार्मिक ग्रन्थहरूमा वर्णित विचार व्याख्याका आधामा जागेको आध्यात्मिक आस्था र विश्वासलाई त्यस समाजले अपनाएको हुन्छ । समाजका मान्छेको मन जितेको हुन्छ । नेपाली समाजको मौलिक सभ्यता र संस्कृति हेर्ने हो भने हिन्दु र बुद्ध धर्म सापेक्ष रहेको देखिन्छ ।

ऐतिहासिक दृष्टिले हेर्ने हो भने प्राचीन नेपालका पश्चिमी क्षेत्रका नागवंशी राज्यकाल होस् या उपत्यकाका गोपाल वंशी, किराँतवशी, लिच्छवी वंशी र मल्ल वंशी राज्यकाल होस् त्यहाँ हिन्दु र बुद्ध धर्ममा आश्रित सभ्यता तथा संस्कृतिको पालन भएको पाइन्छ । उता तराईतिरका सेन वंशी वा तिरहुत वंशी राज्यकालमा होस् वा गोरखा हुँदै काठमाडौं प्रवेश गरेको शाह वंशी राज्य कालमा होस् त्यहाँ पनि हिन्दु र बुद्ध धर्मकै आश्रयमा सभ्यता संस्कृति मौलाएको देखिन्छ । अहिलेसम्म नेपालमा जुनसुकै वंशको शासन रहे पनि हिन्दु र बुद्ध धर्मले नै यहाँको सभ्यता संस्कृतिको संवद्र्धनमा प्राथमिकता पाएको पाइन्छ ।

नेपाली समाजको त्यो दीर्घ परम्परागत आस्था र विश्वासपूर्ण संस्कृतिलाई अहिलेसम्म कुनै पनि भौगोलिक, प्रशासनिक, जातीय, वर्गीय विभाजनले बिथोलेको समेत देखिएको छैन । जातीय विविधता र सामाजिक एकता अनि भाषिक तथा सांस्कृतिक सद्भावलाई उपर्युक्त विभिन्न शासकहरूले निरन्तर कायम राख्दै आएका हुन् । यही धार्मिक तथा सांस्कृतिक मौलिकता खोजी गर्दै जाँदा हिन्दु धर्म सापेक्ष नेपाली राष्ट्रिय संस्कृति फेला पर्दछ । यस परम्पराले अरु धर्म संस्कृतिका अनुयायीलाई कुनै व्यवधान उत्पन्न नगरी सहभावका रूपमा अघि बढाउँदै आएको लामो इतिहास फेला पर्दछ । त्यसैले त धेरै पहिले (नेपालको स्वतन्त्र अस्तित्व कायम हुनुभन्दा पनि पहिले) देखि यस समाज र राष्ट्रमा हिन्दु धर्म ग्रन्थ वेद, गीता, महाभारत, रामायण आदिको निकै महŒव रहँदै आएको हो । यस कुरालाई आधार बनाई भानुभक्त आचार्यले नेपालको सामाजिक इतिहासमा भाषिक, साहित्यिक र सांस्कृतिक एकीकरण गरेका हुन् । यस कार्यमा उनलाई पनि एकीकरण अभियानका एक अग्रणी महान् व्यक्तित्वको रूपमा स्थापित भएको पुष्टि गर्नु आवश्यक ठानिएको छ ।

तनहुँ जिल्लाको रम्घा निवासी श्रीकृष्ण आचार्यका नाति र धनञ्जय आचार्यका छोरा भई (भानु विशेषाङ्क २०२८) वि.सं.१८७१साल असार २९मा जन्मिएका भानुभक्त आचार्यले त्यस कुलको भानु मात्र होइन नेपाल राष्ट्रकै भानु बन्ने सौभाग्य पाएको देखिन्छ । बाजे श्रीकृष्ण आचार्यकै पालन पोषण र शिक्षादीक्षामा हुर्किएका भानुभक्त त्यसबेलाको चलन अनुसार वनारसमा गएर अध्यात्म रामायणको गहिरो अध्ययन गरे । त्यसलाई आफ्नो गरिखाने आधारमा मात्र सीमित नराखी राष्ट्रिय उन्नतिको नै आधार बनाए । त्यसबेला भानुभक्तको परिवार त्यस गाउँमा धनी मानिन्थ्यो । मज्दुरी गर्ने ठूले घाँसीसँग एक दिन भेट हुँदा उनलाई जुन किसिमको प्रेरणा दियो त्यो भानुभक्तको पारिवारिक जीवनमा मात्र होइन राष्ट्रकै जीवनमा महत्वपूर्ण प्रेरणा बन्न पुगेको देखिन्छ । पृथ्वीनारायण शाहलाई बिसे नगर्चीले एक रुपियाँको ढ्याक थमाएर राज्यभरिका जनताबाट एकएक रुपियाँ उठाएमा हतियार किन्न र एकीकरण अभियानमा सशक्त भएर जुट्न बल पुग्छ भन्ने प्रेरणा दिए जस्तै भानुभक्तलाई पनि त्यस समाजमा मामुलीे मानिएको ठूले घाँसीले भाषा, साहित्य, धर्म संस्कृतिको विकास र सम्वद्र्धन गर्दै त्यसका माध्यमबाट राष्ट्र निर्माणको लागि जुट्ने प्रेरणा प्रदान गरेको रहेछ, भन्ने प्रमाणित हुन जान्छ । त्यसैले भानुभक्त यसो भन्न पुग्दछन् ः—

भरजन्म घाँसतिर मन् दिई धन् कमायो

नाम् क्यै रहोस् पछि भनेर कुवा खनायो ।

घाँसी दरिद्र घरको तर बुद्धि कस्तो

मो भानुभक्त धनी भैकन आज यस्तो ।।

यस सिलोकका आधारमा हेर्ने हो भने भानुभक्त अलि हुनेखाने परिवारका व्यक्ति हुन् र ठुले घाँसी त्यसबेला पनि घाँस दाउरा लगायतका कार्यहरूमा राजगारी गरि हिड्ने निम्न आर्थिक आवस्थाको व्यक्ति हो । त्यस अवस्थामा हुँदा समेत बुद्धिले फराकिलो मानिएको त्यस व्यक्तिलाई भानुभक्तले गुरु स्विकारेको बुझिन्छ । घाँसीकै गुरुमन्त्र पाएका भानुभक्तले जे जति काम गरेका छन् त्यसले उनको व्यक्तिगत नाम कमाउने कुरामा मात्र सीमित नभएर वंशको उत्थान, समाजको एकीकरण, त्यसबेला बोलीचालीमा सीमित रहेको नेपाली (तत्कालीन गोरखाली) भाषा र साहित्यको उन्नति, नेपाली मौलिक धर्म संस्कृतिको एकीकरण र संवद्र्धन जस्ता बहुमुखी कार्य सम्पन्न हुन पुगेको देखिन्छ ।

उनको भाषिक र साहित्यिक योगदानको चार्चा गर्ने व्यक्तित्वहरूको संंख्या पनि औसतमा पक्कै न्यून रहेको छ । आदिकविका रूपमा (विवादित भए पनि ) भने उनको नाम अलि अग्र भागमा नै रहेको मान्नु पर्दछ । बाल्यकालदेखि आफ्नै बाजेको सङ्गतमा पाएको हिन्दु संस्कृति अनुरूप अध्यात्म रामायणको अध्ययन गरी मौका पाउना साथ त्यसलाई सरल र सरस तरिकाले नेपाली भाषामा अनुवाद गरेका हुन् । हुन पनि त्यस बेला भारतमा समेत तुलसीकृत रामायण चर्चामा आइसको थियो । उता नेपालको इतिहासमा मध्यकालको अन्त्यतिर सिङ्गो नेपाली (तत्कालीन गोर्खाली जाति,संस्कृति, समाज र राष्ट्र) को पहिचान कायम गरी त्यसको संरक्षण गर्न ज्यादै कठिन थियो । एकातिर विदेशीका कुनियतपूर्ण विस्तारवादी नीतिका कारण कुनै पनि बेला देशको कुनै भूभाग गुम्न सक्ने सम्भावना ज्वलन्त रूपमा थियो । अर्कोतिर मुलुकभित्रकै विभिन्न जातजातिका राजा रजौटाहरू आपसमा झैझगडा वैमन्यताले रुग्ण बनिसकेका थिए । ढिलो भएमा गृहयुद्धधको भुङ्ग्रोमा हालेर विस्तारवादी छिमेकी शासकले नेपालको नामोनिसान नरहने अवस्था टड्कारो रूपमा खड्किसकेको थियो । यस पृष्ठभूमिमा गोरखाका पृथ्वीनारायण शाहले जुन राजनीतिक र प्रशासनिक क्षेत्रमा अगुवाइ गरे त्यसको सबैतिर चर्चा भइसकेको छ । त्यतिले सम्पूर्ण नेपाली समाज, भाषा, साहित्य र संस्कृतिको एकीकरण भइनसकेको हुँदा त्यो अपुरो काम भानुभक्त आचार्यले गरेका हुन् । उनले तत्कालीन जन सम्पर्कको गोरखाली भाषा र परम्परादेखि चलिआएको हिन्दु तथा बुद्ध धर्मावलम्बीहरू दुवैले मान्दै आएको नेपालीको खाँटी समाजिक, सांस्कृतिक रीतिरिवाजको एकीकरण गरे भने नेपाली (गोरखाली) भाषा साहित्यका क्षेत्रको त अगुवाइ नै गरेको देखिन्छ । अर्को शब्दमा भन्दा भाषिक र साहित्यिक माध्यमबाट उनले राष्ट्रको एकीकरण गरेको देखिन्छ ।

तसर्थ भानुभक्त पनि एकीकरण आभियानका अर्का अगुवा हुन् । यसैले गर्दा राष्ट्रिय विभूतिमा उनको नाम अहिले पनि अग्र पक्तिमा छँदैछ । दुःखको कुरा आजसम्म राष्ट्रनिर्माताका रूपमा उनलाई अथ्र्याउने काम भएको त्यति पाइन्न । यो अहिलेसम्म लुकेको, चर्चामा व्यापक रूपले आइनसकेको विषय हो,भन्ने यस कलमकारको ठम्याइ हो ।[२१]

गंगाराम ढुंगेल

सह प्राध्यापक, मेची क्याम्पस, भद्रपुर


बधुशिक्षाको केन्द्रीयतामा भानुभक्तको सङ्क्षिप्त कैरन[सम्पादन]

तनहूँ जिल्लाको रम्घा नामक प्रकृतिरभिमता गाउँमा आजभन्दा दुईसय वर्ष अगाडि कवि भानुभक्त आचार्यको जन्म भएको थियो । भानुभक्तका बुडाउ श्रीकृष्ण आचार्यका ६ भाइ छोराहरूमध्ये जेठा धनञ्जय आचार्यका एकलौते पुत्र भानुभक्त आचार्य सम्बत् १९७१ असार २९ गतेका दिन जन्मेका थिए । भानुभक्तको जन्म सम्पन्न परिवारमा भएको थियो । पिता धनञ्जय आचार्य सरकारी जागीरे भएकाले घरमा बस्न प्रायः भ्याउँदैन थिए । अतः भानुभक्तलाई शिक्षादीक्षा दिने काम विद्वान् बुडाउ श्रीकृष्ण आचार्यबाट श्रीगणेश भयो । भानुभक्त बाह्र वर्ष पुग्दा नपुग्दै श्रीकृष्ण आचार्यको निधन भएको हुँदा भानुभक्तका उच्च शिक्षाका सम्पूर्ण ढोकाहरू बन्द भए । सामान्य संस्कृत पढेका भानुभक्त बाजेको निधन पछि ज्योतिष पढ्न प्रवृत्त भए । तर उनले हिम्मत भने हारेनन् । आर्थिक रूपले सम्पन्न भए तापनि भानुभक्त थप आर्जनका निम्ति कर्मकाण्डीय पुरेतका रूपमा जजमानी गर्न थाले । बाजेको परलोक गमनले भानुका जीवनमा ठूलो उथलपुथल ल्यायो ।

एक दिन भानुभक्त खोला–किनारमा शीतल तापेर थकाइ मारिरहेका बेला एउटा घाँसीसँग भेट भयो । वार्तालाप पछि त्यस घाँसीले घाँस बेचेर प्राप्त रकमबाट इनार बनाएर कीर्ति आर्जन गर्ने कुरा थाहा पाएर उनी भावुक भए । घाँसीसँगको साक्षात्कारले भानुभक्तका जीवनमा महान् परिवर्त आयो । फलतः उनी आज नेपालमा मात्र होइन विश्वप्रसिद्ध हुन पुगे । भानुभक्तमा भएको प्रतिभालाई घाँसीले उद्घाटित गरिदियो । भानुभक्त आशु कवि भएको हुनाले तत्काल एउटा कविता लेखे । त्यस कविताका दुई सिलोक हेरौं —

भर् जन्म घाँसतिर मन्–दिइ धन् कमायो ।

नाम् क्यै रहोस् पछि भनेर कुवा खनायो ।।

घाँसी दरिद्र घरको तर बुद्धि कस्तो ।

मो भानुभक्त धनि भैकन आज यस्तो ।।

मेरा इनार न त सत्तल पाटि क्यै छन् ।

जे धन् र चीजहरू छन् घरभित्र नै छन् ।।

तेस् घाँसीले कसरी आज दिएछ अर्ति ।

धिक्कार हो मकन बस्नु नराखि कीर्ति ।।

घाँसीसँगका भेटले भाुभक्तमा जीवनमा केही काम गरौं भन्ने उत्साह जाग्यो । त्यही दिव्य प्रेरणाले गर्दा उनी साहित्यको माध्यमबाट कीर्ति आर्जन गर्न थाले । उनले वि.सं. १९२६ सम्ममा ‘रामगीता’ भाषानुवाद गरे भन्ने कुरा मोतीराम भट्टले भानुको जीवन चरित्रमा लेखेका छन् ।

मोतीराम भट्टका भनाइअनुसार वि.सं. १९०६ मा जग्गा विषयक झगडामा लगभग २७ वर्षको उमेरमा उनी काठमाडौं पुगे । तर कवि भएपछि प्रथम पल्ट उनी काठमाडौं पुग्दा बालाजु देखेर भावुक भए । उनका तरुण मस्तिष्कबाट तलको कविता उब्ज्यो —

यति दिनपछि मैले आज बालाजि देख्याँ ।

पृथिवि तल भरीमा स्वर्ग हो जानि लेख्याँ ।

वरिपरि लहरामा भूmलि बस्न्या चरा छन् ।

मधुर बचन बोली मन् लिंदा क्या सुरा छन् ।।१।।

यहाँ बसेर कविता यदि गर्न पाउँ ।

यस् देखि सोख अरुथोक म के चिताउँ ।

यसमाथि झन् असल सुन्दरि एक नचाउँ

खैचेर इन्द्रकन स्वर्ग यहीं बनाऊँ ।।२।।

सायद त्यसै समयमा नवयुवक कविले काठमाडौंको झिलिमिलि, खवाइ, लवाइ, जीवनशैली तथा मसक्क मस्केर गमक्क गम्केका उदितयौवना सुन्दरी रमणीहरूलाई देखे । नयाँ कविका लेखनीले चुप लागेर मानेन र नै तलको कविता बह्यो–

चपला अबलाहरु एक् सुरमा

गुनकेसरिको फुल ली सिरमा

हिंडन्या सखि लीकन ओरिपरि

अमरावति कान्तिपुरी नगरी

वयगत रूपमा पर्गेल्दा भानुभक्त श्रृङ्गारिक कविका रूपमा पनि प्रस्तुत भएका देखिन्छन् । हुन त श्रृङ्गार मानव जीवनको अपरित्यज्य तŒव भएको हुँदा हाम्रा कवि भानुभक्त पनि यसका अपवाद किन हुन्थे र । उनको श्रृङ्गारिक कविताको एक नमुना होरौं–

विन्ती एक म गर्दछु सुन प्रिये प्रीती निरन्तर् रहोस्

ताहाँको मन पींजरा म मुनिया यै चाल् सदाकाल् रहोस् ।

भानुभक्तको यस प्रकारको तरुनी फकाउने खालको महाश्रृङ्गारिक कविताले उनका उत्तराधिकारी अर्का तन्नेरी कवि मोतीराम भट्टलाई पनि श्रृङ्गार तर्पm प्रवृत्त हुन प्रेरित ग¥यो । परिणामतः मोतीरामले पनि आफ्ना समय वयमा प्रशस्त श्रृङ्गारिक कविता, काव्य वा गजल लेखेर नेपाली साहित्य मन्दिरमा अर्पित गरे ।

भानुभक्त काठमाडौंमा किन गएका हुन् भन्ने विषयमा मोतीराम भट्टको र बाबुराम आचार्यको मत बाझिएको देखिन्छ । मोतीरामका अनुसार उनी वि.सं. १९०६ मा जग्गा बापतको मुद्दा छिन्नको निम्ति काठमाडौं पुगेर त्यहीं उनले बालाजी देखे, कविता लेखे । कान्तिपुरीलाई स्वर्गसँग तुलना गरे र सहरमा स्वतन्त्र डुल्ने तरुनीलाई अप्सरासँग दाँजे । तर इतिहास शिरोमणि बाबुरामका विचारमा नोकरीको तलासमा नै तिनी काठमाडौं गएका थिए र त्यसै समयमा कविता लेखे । जे होस् भानुभक्त जीवन धान्नको निम्ति जागिर खोज्न थाले र पाल्पाको पल्टन गोस्वाराको दफ्तरमा पहिला मेजर र अनि खरदार भए । त्यस समय मेजरको दर्जा राइटर बराबरको हुन्थ्यो । बाबुराम आचार्यका अनुसार सम्बत् १९०३ मा जङ्गबहादुरका भाइ कृष्णबहादुर राणा पाल्पाली फौजमा कमाण्डर भएर गएका थिए । त्यहाँ भानुभक्तले कृष्णबहादुरको चाकरी गरेर रिझाउने मौका पाए । तर वि.सं. १९०७ मा केदार नरसिंह राणा पाल्पामा कमाण्डर भएर गएको हुँदा कृष्णबहादुर काठमाडौं फर्के । त्यसको केही समयपछि नै भानुभक्तको जागीर खोसियो र उनी हिसाब किताब बुझाउन काठमाडौं गए । नियमानुसार हिसाब बुझाउन नसकेसम्मलाई या त जमानत दिनुपथ्र्यो या सो नसकेको खण्डमा थुनुवा बन्नु पर्दथ्यो । यसरी नै भानुभक्त वि.सं. १९०८ मा पाँच महिनासम्म कुमारीचोक अड्डामा नजरबन्द रहे । त्यसै समयमा उनले पहिले लेखेको रामायणको बालकाण्डको संशोधन गरे । समय प्रशस्त भएको हुँदा रामायणका अरु काण्डहरू पनि लेखेर सके । उनले कृष्णबहादुर राणालाई लेखेको मनोरञ्जक पद्यबाट उनी बिरामी हुँदा नजरबन्दीबाट छोडिए पनि । ती तल लेखिए अनुसार छन्—

रोज् रोज् दर्शन पाउँछु चरणको ताप् छैन मन्मा कछू ।

रात् भर् नाच् पनि हेर्छु खर्च नगरी ठूला चयन्मा म छू ।।

लामखुट्ट्या उपिञा उडुस् इ सँगि छन् इन्कै लहड्मा बसी ।

लाम्खुट्ट्याहरु गाउँछन् इ उपिञा नाच्छन् म हेर्छु बसी ।।

व्यर्थैमा म कुमारीचोक थुनिया वाहाँ बिरामी भई ।

आयाथ्याँ घरमा व्यथा अति बढ्यो ठूलो बिपत्ती सही ।

काट्याँ दिन् अब सञ्च भो अझ पनी थुन्छन् त मेरो गति

अर्को छैन दया रहोस् हजुरको मेरा त ख्वामित् पति ।।

शरिर छ अति कच्चा अन्न जल्ले रह्याको ।

विनति गरुँ कती यो देहमा जो भयाको ।।

बहुत फजिति पायाँ रोगले ग्रस्त पारी ।

शरिर हुन गयो ठिक् पूर्व झैं फेरि भारी ।।

जागिर खाएकै काणले त्यत्रो पीडा सहनु परेको कारणले गर्दा भानुभक्तलाई पुनः जागिर खान रुचि भएन । उनले थुनामुक्त हुने मात्र याचना गरे ।

उपर्युक्त विन्तिमय कविता सुनेर प्रसन्नचित्त कृष्णबहादुर राणाद्वारा वि.सं. १९१० को हिँउदमा भानुभक्तले उन्मुक्ति पाए भनी मोतीराम भट्टको विचार छ । तर बाबुरामको विचारमा त्यो कविता छुट्कारा पाउने आशयको थिएन । भानुभक्तलाई आफू धनी अर्थात् कुलीन भएकोमा गर्व थियो । भानुभक्तले आफ्ना कुलको गौरव बखान्दै आफ्नो परिचय यसरी दिएको हेर्दा बाबुरामको तर्क उचित हो कि जस्तो लाग्छ –

पाहाड्को अतिवेश देश् तनहुमा श्रीकृष्ण ब्राह्मण् थिया ।

खुब् उच्चा कुल आर्यवंशी हुन गै सत्कर्ममा मन् दिया ।।

विद्यामा पनि जो धुरन्धर भई शिक्षा मलाई दिया ।

इन्को नाति म भानुभक्त भनि हुँ यो जानि चिन्ही लिया ।।

उपर्युक्त श्लोकबाट के कुरा प्रस्ट हुन्छ भने भानुभक्त कुलीन थिए । उनी आफ्नो परिचय दिंदा बाबुको नाम नलिएर केवल बुडाउको मात्र लिने गर्थे । अर्थात् भानु आफ्ना बुडाउलाई ईश्वर समान नमन गर्ने गर्थे । कविवर मोतीराम भट्टले भानुभक्तका कृति, विशेषतः रामायण खोजेर प्रकाशित गरिदिए । उनले भानुभक्तलाई ‘आदिकवि’को फेटा पनि गुथाइ दिए । महाकवि लक्ष्मीप्रसाद देवकोटाले पनि त्यस कुरालाई समर्थन गर्दै ‘नेपाली हे प्रथम ध्वनि’ भनेर भानुको भारी प्रशंसा गरे । उनले भानुभक्तलाई ‘नेपाली साहित्यका सर्वश्रेष्ठ पुरुष’ भनेर शाब्दिक अभिनन्दन समेत गरे । आज आएर कतिपय विद्वान् समालोचकहरूको टाउको दुखेको छ–भानुभक्त आदिकवि भएको विषयलाई लिएर । उनीहरूको भनाइमा भानुभक्त जन्मिनुभन्दा अगाडि पनि यदुनाथ पोख्रेल, वसन्त शर्मा, पतञ्जलि गजुरेल आदि कविहरूले कविता कृति लेखिसकेका थिए । प्रसिद्ध विद्वान् बालचन्द्र शर्माका शब्दमा “जन्म अथवा रचनाको मितिबाट आदि कविको विचार हुन्न । कुनै मत, विचार वा परम्पराको प्रणेता वा आदि पुरुष यस्तो व्यक्ति मानिन्छ जसले देखाएको बाटोमा पछिका व्यक्ति पूर्ण चेतनाका साथ हिँडून् । आदि कवि त्यो हुन सक्तछ जसलाई पछिको कवि परम्पराले आदर गरोस् र उसको व्यक्तिगत मर्यादालाई जानी, बुझी, संझी र अध्ययन गरी त्यसबाट प्रेरणा प्राप्त गरी पछ्याओस् । भानुभन्दा अघिका कविहरूको मूल्य पनि केवल यसै कारण छ कि ती भानुभक्तभन्दा अघि आए ।” वस्तुतः भानुभक्त हाम्रा प्रथम ध्वनि, सुन्दर शुव्रm तारा तथा आदिकवि हुन् ।

“मो भानुभक्त धनि भैकन आज यस्तो” यो छन्दमा ‘म’ का ठाउँमा ‘मो’ लेखिएको कारणले उक्त छन्द भानुभक्तको होइन कि भनी शङ्का गर्न थालिएको छ । त्यसको कारण के हो भने भानुभक्त ‘म’ मात्र लेख्ने गर्थे । तर मोती रामले चाहिँ एक ठाउमा ‘मो’ को प्रयोग गरेको देखेर उक्त छन्द मोतीरामले नै लेखेको हुन सक्छ भनेर कतिपय विज्ञ समालोचकहरू आशङ्का व्यक्त गर्दछन् । साहित्यका पारखी बालचन्द्र शर्माका शब्दमा –“भानुभक्तले ‘म’ को निमित्त कहीँ पनि ‘मो’ लेखेका छैनन् तर भट्टजीले भने आफ्नो भानुभक्तको जीवन–चरित्रको विज्ञप्तिमा कवि भानुभक्ताचार्यका भतिजा रामदत्तकन मो अनेकानेक धन्यवाद दिन्छु ।” लेखेका छन् त्यसकारण उक्त दुई सिलोक मोतीरामले नै लेखेका हुन सक्छन् भनी कतिपय समालोचकको आशङ्का पाइन्छ । उनीहरूको के पनि भनाइ छ भने तनहूँमा त्यस समयमा घाँस बिक्री गर्ने कार्य असम्भव प्राय थियो । त्यस कारणले पनि घाँसीको कल्पना मोतीरामले मनोरञ्जनका निम्ति मात्र गरेका हुन् ।

यस विषयमा मेरो चाहिँ पृथक मत छ । उपर्युक्त श्लोकांश वसन्ततिलका छन्दमा लेखिएको हो । सो छन्दमा त, भ, ज, ज, गु, गु गण हुनु अनिवार्य छ । ‘मभानु’ लेख्ता जगण हुन्छ । ‘त’ गण बनाउनका निम्ति ‘म’ लाई (ो) दिएर ‘मो भानु’ बनाएको हुन सक्छ । छन्द शास्त्रले भन्छ– ‘वरम् मासं मसं कुर्यात् छन्दो भङ्गम् नकारयेत्’ अर्थात् मासलाई मस बनाउनु राम्रो तर छन्दभङ्ग गर्नु नराम्रो हो । अतः भानुभक्तले पनि छन्दभङ्ग हुने डरले ‘म’ लाई ‘मो’ बनाएको हुन सक्छ । एउटा ओकार (ो)को निउँ झिकेर भानुभक्तको छन्दलाई मोतीराको भनी आरोप लगाउनु उचित होइन जस्तो लाग्छ । अब आयो घाँसको कुरा । हो, तनहूँमा आज पनि घाँसको बजार छैन तर त्यस समयमा घाँस बिक्यो । कुनै धनिक व्यक्ति थियो होला । उसका छोरा विद्यार्जन गर्न अन्यत्र गएका थिए होला । घरमा गाई पालेको थियो होला । एक जना गरिब मान्छेलाई दिनको एक भारी घाँस देऊ, मासिक केही रूपैयाँ दिन्छु भन्यो होला । त्यसै घाँस काटेर धनी मानिसका घरमा पु¥याउने मानिससँग भानुभक्तको भेट भयो होला । त्यस व्यक्तिलाई भनुभक्तले ‘घाँसी’ नामकरण गरे होला । कविता कवि भानुभक्तले नै लेखेका हुन् जस्तो लाग्छ ।

आफ्ना मित्र तारापतिका घरमा पाउना लाग्न जाँदा भानुभक्तले रातभरि सासूबुहारीको बाजा–बाज सुने । उनलाई बुहारीकै अर्घेल्याइँ लागेछ । अतः बुहारी वर्गलाई अनुशासित बनाउने उद्देश्यले ‘वधू शिक्षा’ लेखे । रातभरि सासू–बुहारीका दन्तबझानले गर्दा निद्रा नलागेको हुँदा त्यसै रात १७ सिलोके वधूशिक्षा लेखे । त्यही वधू शिक्षामा बुहारीहरूले के–के काम गर्नु पर्छ र के के गर्नु हुन्न भन्ने कुरा सविस्तार लेखिएको छ । भोलिपल्ट खाना खाएर हिँडने बेलामा तारापतिसित बिदा भई कवि भानुभक्तले वधूशिक्षा नामक एक काव्य दिए । त्यपछि तारापतिलाई उपदेशात्मक तीन श्लोकको एक कविता दिएर बाटा लागे । त्यसमा यस्तो लेखिएको छ—

एक् थोक् भन्छु नमान्नु दुःख मनमा हे मित्र तारापति । तिम्रा ई जति छन् जहानहरू ता लड्न्या रह्याछन् अति ।। सून्या दन्तबझान आज घरको कर्कर् ग¥याको उसै । भर्रात् जाग्रत भैंm भयो मकनता लागैन आँखा कसै ।।

धन् इज्जत् र कमाइ देख्छु बढिया छैनन् कुनै चिज् कमि । बूहारी यदि कर्कशा हुन गया क्या घर् गरौला तिमी ? साह्रै झोंक उठ्यो मलाई र वधू शिक्षा बनायाँ पनी । यस्ले पत्नी बुहारि छोरिहरूका तालिम् गरौला भनी ।।

हुन त म अतिथी हूँ यस् बिना क्या छ खाँचो

तर पनि त म भन्छू मित्र हौ जानि साँचो ।।

घर चतुरईँ गर्छन् बुद्धिमान्ले अगाडि

बखत चुकिदिंदामा हुन्छ काहाँ पछाडि

आज हाम्रा शिक्षित वा अर्ध शिक्षित महिला वर्गका मुखमा एउटा श्लोकको आधा झुण्डिएको छ त्यो हो –

“हाँस्नु ठीक हुँदैन नारी जनले वेश्या हुन्याँ हाँस्दछन् ।

लौ वेश्या नहउन् तथापि घरको काम्दाम् सबै नास्दछन् ।।

त्यो उद्धरण सुनेर हाम्रा दिदी–बहिनीहरू रिसले मुर्मुरिन्छन् । उनीहरू वधूशिक्षाका रचयिता आजभन्दा १४७ वर्ष पहिले नै स्वर्गलोक पुगेका राम्रा कवि भानुभक्ताचार्यलाई अभिशंसा गर्दछन् । उपर्युक्त श्लोकाद्र्ध असली वधू शिक्षामा नभएको र महान् कविले व्यर्थमा गाली पाएको हुँदा सत्य–तथ्य पत्ता लाउनु जरुरी देखिन्छ । दक्षिण एसियाकै सर्वश्रेष्ठ विद्वान् प्रा. बालकृष्ण पोखरेलद्वारा लिखित ‘नेपाली भाषा र साहित्य’ शीर्षकबद्ध पोस्तकमा वधूशिक्षा बारे चित्तबुझ्दो विवरण तुलनात्मक रूपमा दिइएको पाइन्छ । प्राध्यापक श्री पोखरेलका अनुसार – “हालै वीर पुस्तकालयमा एउटा सत्र सिलोके वधू शिक्षा पाइएको छ । पुस्तकालयको लगतमा यस वधूशिक्षालाई भानुभक्तको मानिएको छ । वीर पुस्तकालयको सत्र सिलोके वधू शिक्षाको अन्त्यमा “सम्बत् १९१३ साल मिति श्रावण वदि २ रोज ७ शुभम्’ लेखिएको छ । यसरी आजसम्म पाइएका प्रमाणहरूलाई केलाउँदा यी दुई (सत्र सिलोके र तेत्तीस सिलोके) वधूशिक्षामा ६ वर्षको जेठ–कान्छी देखिन्छ । — तेत्तीस सिलोके कान्छो तर सत्र सिलोके चाहिँ जेठो । यसले के टुङ्गो लाग्छ भने मोतीरामकृत भानुभक्तको जीवनीमा वर्णित केही खुजुरा कविताहरू अवश्य पनि मोतीरामकै हातका रचना हुन् । निसन्देह मोतीरामले निकै नजिकको स्रोतबाट भानुभक्त बारे समाचार संग्रह गरेका थिए । त्यही समाचारको भरमा नै स्वयम् भानुभक्त भएर कतिपय रचना प्रस्तुत गर्न मोतीराम सफल भएका हुन् ।” प्राध्यापक पोखरेल पुनः थप्छन् –“आफ्ना रचनालाई भाुभक्तका नाममा छपाए बापत मोतीराम केही ठाउँमा पक्रा परिसकेको हुनाले के आवाज उठ्न सक्छ भने ३३ सिलोके वधूशिक्षाको रचना पनि मोतीरामले नै गरेको हुनुपर्छ । मोतीरामले भानुभक्तका मौलिक वधूशिक्षाको नाम मात्र सुनेका थिए होला । उनले भरसक उक्त वधूशिक्षा फेला पार्ने चेष्टा गरे होला । तर जब सफलता मिलेन स्वयं नै एउटा वधूशिक्षा लेख्न तत्पर भए होला । आखिर भानुभक्तकृत मौलिक वधूशिक्षालाई सधैँको लागि लुप्त ठहराएर उनले आपूmले लेखेको वधूशिक्षालाई नै भानुभक्तको नाममा छपाए होला ।”

तेत्तिस सिलोके वधूशिक्षा चाहिँ मोतीरामले नै लेखेको ठहरिन्छ । किन भने एउटै व्यक्तिले ६ वर्षको अन्तरालमा एउटै विषयमा दुईवटा काव्य लेख्न असम्भव छ । अतः ६ वर्ष पहिले लेखिएको कारणले गर्दा सत्र सिलोके वधूशिक्षा चाहिँ भानुभक्तले लेखेको हो । भानुभक्तकृत सत्र सिलोके वधूशिक्षामा “हाँस्नु ठीक हुँदैन नारी जनले वेश्या हुन्या हाँस्तछन्’ भन्ने श्लोक नै छैन । वस्तुतः हाम्रा दिदी–बहिनीहरूले कैयौं वर्षदेखि भानुभक्तलाई गर्दै आएको गाली फिर्ता लिनुपर्छ । सत्र सिलोके वधूशिक्षाका सत्रैवटा सिलोकहरू शङ्का निवारणार्थ तल प्रस्तुत गरिएका छन् –

पैल्हे ता घरका बुहारी जति छन् नित्त्यै सबेरै उठी ।

प्रातः कृत्य गरुन् र मान्य जति छन् तिन्का चरण्मा परुन् ।।

आपूस्मा पनि ढोगभेट षुसिभै गर्दै गरुन् सब्जना ।

श्री लम्बोदरको स्मरण् कन गरुन् कां गर्न कम्मर कसुन् ।।१।।

पूजाको सरजाम वेस् गरि गरून् श्री देवता छन् जहाँ

भिक्षुक् विप्र अतीथिलाई दिनदिन् सन्तुष्ट गर्दै रहुन् ।।

ब्रत् पूजा उपवास आदि जति छन् संझुन् र गर्दै गरुन्

गर्नु एक बखत् अवश्य छ भनि श्री धर्म चर्चा गरुन् ।।२।।

अ‍ैना हेरि निधारमा पति हुन्या सिन्दूर टीका धरुन् ।

पातिब्रत्य बडो वुझी पुरुषका सेवा टहल्मा रहुन् ।।

चर्णामृत् पनि पाउको दिन दिनै पाउन् बडा भक्तिले ।

केही काम अह्राउँदा पुरुषको आज्ञा न लंघन् गरुन् ।।३।।

सासूले कहिया बमोजिम गरी डर् मानी धन्दा गरुन् ।

चाकर्लाई अदप् गरी टहलमा हाजीर राषुन् सधैँ ।।

आफुस्मा रिसराग कोहि नगरुन् मिल्जुल् सबैले गरुन् ।

कां गर्दा सबलाई जित्न म सकुँ भंन्या परस्पर् धरुन् ।।४।।

भान्साको सरजाम नित्य जति हो जाउन् भँडार्मा झिकुन् ।

तर्कारीहरू बेसबेस बटुली काटी केलायी दिउन् ।।

जेठाज्यू ससुरा पती देवरको इच्छा भयाको कुरो ।

षान्या वेस बनायि चट्पट गरी भोजन् तयारी गरुन् ।।५।।

षादाषेरि अदप् भई वसिरहुन् कल्मल् नगर्नु भनुन् ।

केही थप्नु पर्या जुरुक्क नि उठी थप्थाप गर्दै रहुन् ।।

आमाज्यू फुपुसासु नन्द गुरुमा इत्यादि आया भन्या ।

भोजन् पान सुपारी सप् कन दियी सन्मान तिन्को गरुन् ।।६।।

भाँडा वर्तन यत्रतत्र छरिया संभार गर्दै गरुन् ।

सप् ठाऊँ कसिङर् बढारि लिपनू भन्दै अह्राउँदै गरुन् ।।

चूल्हो चौकि अध्यानु भत्कन गया टाल्दै बनाउँदै रहन् ।

अन्नादी छरिया पनी सब मिली टिप्तै उठाउँदै रहुन् ।।७।।

कोही मानु मुठी फुल्याउन भनी छल्कारले आउछन् ।

सासु छेउ नसोधि केहि नदिउन् चेष्टा विचार्दै रहुन् ।।

कोही चोर्न भनी ठुलो मुटु गरी आउँछन् बडा जुक्तिले ।

ताला कूचि बहुत् यतन्सित धरी संभार गर्दै गरुन् ।।८।।

सासू छेउ गयी कपाल दिनदिन् कोरी र बाटी दिउन् ।

भोक् लाग्यो कि भनी सुध्याइ तनको षान्या तयारी गरुन् ।।

सौताको रिसराग कत्ति नगरौं क्या हुन्छ तस्ले भनी ।

मन्मा पाप नराषि मिल्जुल गरी बोल्चाल गर्दै गरुन् ।।९।।

केटाकेटी गमार छन् भने पनि झर्को नमानुन् सधंै

भोका छन् कि भनी षुवाउन लगी तिन्को उदर् भर्दिउन् ।।

घर् छोडि पनि यत्रतत्र नहिडुन् आलस्य छोडि दिउन् ।

बोल्नू नम्र भई कसैसित पनि भूmटो नबोल्न्या गरुन् ।।१०।।

खानू पर्छ भनी दुना र टपरी षुट्तै रहुन् हातले ।

गर्नू पर्छ सबेर आरति भनी तस्को सराजां गरुन् ।।११।।

चाड्बाड् आइ पुग्यो भन्या सब कुरो निर्वाह तिन्ले गरुन् ।

लोभी चित्त पनी बहूत नगरुन् गाल् पर्छ भंन्या बुझुन् ।।

सन्ध्याकाल पर्या पछि बषतमा बत्ती जगाइ दिउन् ।

राती षानु पिनू सकुन् र घरको ढोका लगाऊ भनुन् ।।१२।।

ताल्चा षोलि भँडारमा पनि पसी मूसा चमार्छ भनी ।

छोप्नु छाप्नु गरुन् र सासुसित गै सेवा चरण्मा गरुन् ।।

सासूछेउ विदा हुउन् र पति छन् आफ्ना जजस्का जहाँ ।

जाउन् पान सुपारि तिन्कन दिई हुक्का समाती रहुन् ।।१३।।

हुक्का षाइ सक्यापछी चरणमा जाउन् र सेवा गरुन् ।

कोही दुःख पुकार गर्नुछ भन्या कर् जोरि विन्ती गरुन् ।।

मद्र्दन् गर्नु पर्या पती चरणमा संझुन् र गर्दै गरुन् ।

आफ्ना शील स्वभावले पुरुषका मन् पर्न दिन् दिन् सकुन् ।।१४।।

आँषाले पतिका नजर कन बुझुन् निद्रा पर्यो कि भनि ।

ढोका बन्द गरुन् र धैर्य मनले जाइ पलङ्मा चढुन् ।।

नाना ख्याल अनेक बात रसका ठट्टा चमत्कारमा ।

क्रीडा भोग विलास सुन्दर गरी निद्रा समाध्मा पुगुन् ।।१५।।

यस् रित्ले गृहकृत्य गर्न सकन्या जस्का बुहारी हउन् ।

यो सन्सारमहाँ बडो यश धरी बैकुण्ठ धांमा पुगुन् ।।

बाबाको महतारिको र ससुरा सासूहरूको पनि ।

नाऊँ बेस चलाई तिन्सित सँधै आशीष माग्न्या हउन् ।।१६।।

ब्रह्मा विष्णु महेश आदि सुरले नाना मुनिले पनि ।

तत्पर बेस कृपा गरुन् र घरमा कैल्हे नछोडि बसुन् ।।

नाना धान्य अनेक वित्त सबले घर् पूर्ण दिन्दिन् रहोस् ।

लक्ष्मीवास गरुन् सदा गृहविषे आपैmँ बडा हर्षले ।।१७।।

भानुभक्तले अध्यात्म रामायण, प्रश्नोत्तरमाला, भक्तमाला, रामगीता आदि काव्य–महाकाव्यको कुशलतापूर्वक अनुवाद गरेर नेपाली साहित्यलाई समृद्ध बनाए । वधू शिक्षा लेखेर बुहारी, छोरी, पत्नी अर्थात् सम्पूर्ण महिला वर्गलाई अनुशासन पढाए । हुन त आजको युगमा वधू शिक्षा त्यति लाभप्रद देखिँदैन, तर नारीहरूलाई उद्दण्डताबाट जोगाउन एउटा अचुक बौद्धिक अस्त्र भएको छ त्यो । वधूशिक्षामा नारीहरूलाई दासीकै रूपमा हेरिएको देखिन्छ । तर यो भानुभक्तको दोष होइन । साहित्य समाजको ऐना भएको हुँदा वधूशिक्षाका माध्यमबाट त्यस युगको सामाजिक अवस्था र नारीहरूको निरीहता देख्न सकिन्छ । सती प्रथाले नराम्ररी गाँजेको बर्बर युगमा बुहारीहरू कसरी दिन काट्ता हुन् ! नारीहरूले छाती खोलेर रुनसम्म पनि त्यस युगमा पाउदैन थिए । बुहारीहरूको सबभन्दा विषालु शत्रु सौता हो तर त्यस युगमा सौतासँग पनि मन नपरी नपरी बोल्चाल गर्नु पर्ने बाध्यता देखिन्छ । अतः वधू शिक्षा लेखेर भानुभक्तले नेपाली मात्रलाई ठूलो गुन लगाएका छन् । त्यसैले त मोतीराम भट्ट र लक्ष्मीप्रसाद देवकोटा समेतले भूरिभूरि प्रशंसा गरेका छन् ।

नेपाली साहित्यको इतिहासमा विभिन्न दृष्टिकोणले भानुभक्तलाई अध्ययन गरिएको छ । नेपाली साहित्यमा भानुको कति देन छ, त्यसको परख गर्ने अधिकार प्रत्येक नेपालीलाई छ । भानुभक्तका विषयमा नचाहिँदो खोचे थापेर विवाद झिकियो भने नेपाली साहित्यमा स्थिरता आउँदैन । साहित्यमा स्थिरता नै नआएपछि विश्व साहित्यका तुलनामा यो कमजोर ठहरिने छ । भानुभक्तका बारेमा स्वस्थ मूल्याङ्कन हुनु अत्यावश्यक छ ।

भानुभक्तले सर्वप्रथम पूर्ण महाकाव्य लेखेर नेपाली साहित्य मन्दिरमा चढाए । त्यस पवित्र कार्यले गर्दा उनले ठूलो बाजी जिते । सन्तान–दरसन्तानले पवित्र मनले युगौंसम्म स्मरण गर्नुपर्ने महान् कीर्तिस्तम्भ खडा गरे । रामायणले भानुभक्तलाई अमर बनाएको छ । भानुभक्तले श्री रामचन्द्र जस्तो मर्यादा पुरुषोत्तमलाई आफ्ना काव्यको नायक बनाए । अतः उनले प्रत्येक नेपालीलाई रामजस्तो मर्यादित, लक्ष्मण र भरत जस्तो भ्रातृभक्त तथा सीता जस्ती अग्निपरीक्ष उत्तीर्ण नारीको चरित्र पस्केर त्यस्तै बन्न सिकाए, प्रेरित गरे । यहाँका स्त्रीहलाई रामजस्तो पुत्र र सीता जस्ती पुत्री जन्माउन प्रेरणा दिए । रावण जस्तो संसार विजयी सैन्यबल भएका पराक्रमी वीरलाई पनि धैर्य र एकताको बलले गर्दा सामान्य वानर सेनाका भरमा पनि विजय गर्न सकिन्छ भन्ने सोदाहरण उद्घोष गरे ।

यसरी अध्ययन मनन गर्दा भानुभक्तद्वारा भाषा, मर्यादावाद, धार्मिक प्रेरणा मात्र युगले पाएन तर उनको साधनाद्वारा युग सुहाउँदो कल्याण पथ पनि पायो । भानुभक्तीय अध्यात्म रामायणले लोकप्रियता पाएको मुख्य कारण त्यसभित्र भएको मौलिकता, सरलता र लालित्य हुन् । साहित्यिक प्रतिभा र कलात्मक दृष्टिकोणले भानुभक्त अन्तर्राष्ट्रिय जातिमा रामायणको औषधि पिएर बाँचेका हुन् । यो महाकाव्य (रामायण) लाई सारा नेपालीहरू पूmल–पात, चन्दन–अक्षताले पूजा गर्दछन् । यसले नेपाली जनजीवनमा सङ्गीत, आध्यात्मिकता, भौतिक ज्ञान प्रदान गरेको छ । भानुभक्तकृत रामायण सम्पूर्ण नेपालीको मन जित्न सफल भएको छ । आज नेपालमा मात्र होइन सारा संसारमा जहाँ जहाँ नेपालीको वास छ, रामायण सिरानीमुनि भेटिन्छ । यही लोकप्रियताले भानुभक्त आदिकवि भए, अमर भए र सफल भए । यस्ता महापुरुषको जन्म शताब्दीमा एक जनाको मात्र सम्भव हुन्छ ।

हाम्रो राष्ट्रिय, धार्मिक, सांस्कृतिक एवं जातीय जीवनमा आदिकवि भानुभक्ताचार्यको यस्तै बहुविध व्यक्तित्व मौलाएको छ । इति । [२२][२३][२४]

गोपाल संग्रौला

सुरुङ्गा, झापा



कवि भानुभक्त अाचार्य....[सम्पादन]

विषय परिचय

भानुभक्त आचार्य (१८७१–१९२५) नेपाली कविता इतिहासका चर्चित व्यक्ति हुन् । उनको आगमन पूर्वका कविताका तुलनामा उनको कविता सिर्जना धेरै सरल र स्वाभाविक रूपमा प्रस्तुत भएको पाइन्छ । आचार्यको प्रारम्भिक शिक्षा घरमै प्राप्त भएको देखिन्छ । साहित्य, व्याकरण, ज्योतिष जस्ता विषयहरूको अध्ययनले पूर्णता पायो । तत्कालीन शिक्षा आर्जनको मूल उद्देश्य नै पुराण वाचन र टिप, चिना बनाउन सक्ने हुनु थियो । उनी बारै वर्षको उमेरदेखि ज्योतिषको मर्म बुझ्ने भएका हुनाले तीक्ष्ण स्वभावका मेधावी व्यक्तिका रूपमा परिचित भए । भानुभक्तलाई बाइस वर्षको उमेरमा जीवनमा केही गर्नुपर्छ भत्रे प्रेरणा घाँसीबाट प्राप्त भएको बुझिन्छ । घाँसीले सम्पत्तिको न्यून आर्जनबाट पनि बचत गरी कुवा खनाएर कालान्तरसम्म कीर्ति राख्न खोजेको बुझेपछि भानुभक्त जीवनमा केही नयाँ काम गर्नुपर्छ भत्रे प्रेरणा जागेर नै रामायणको नेपालीमा अनुवाद गर्न लागे । रामायणको बालकाण्ड, अयोध्याकाण्ड, किष्किन्धाकाण्ड, सुन्दरकाण्ड, युद्ध तथा उत्तरकाण्ड आदि काण्डहरूको अनुवाद एघार वर्ष अवधिमा पुरा भयो । उनले रामायणको अनुवादपछि भक्तमाला, प्रश्नोत्तरमाला, वधूशिक्षा, रामगीता र फुटकर कविता आदिको रचना गरेको देखिन्छ । यिनै कविताका आधारमा भानुभक्त आचार्यका प्राप्तिहरूलाई नियाल्ने प्रयास गरिएको छ ।

आध्यात्मिकता

भानुभक्त आचार्यको लेखनी मूलतः आध्यात्मिक पक्षतर्फ केन्द्रित रहेको छ । उनले ईश्वरीय भक्ति प्राप्ति हेतु रामायणको अनुवाद गरेको देखिन्छ । कलियुग पृथ्वीमा प्रवेश गरे पश्चात् धार्मिक मूल्य–मान्यता समाप्त भएर मानिसमा जाति धर्म समाप्त भई भ्रष्ट प्रवृत्तिको विकास भएका अवस्थामा रामायणबाट मात्र पाप समाप्त भएर लोकहित हुने प्रसङ्गको वर्णन गरिएको छ । रामायणको पूजा, पाठ गर्नाले मानिस पाप मुक्त भई भवसागरबाट मोक्ष हुने मान्यताको चर्चा रहेको पाइन्छ । भानुभक्तले रामायणको अनुवाद गर्ने मूल उद्देश्य नेपाली जनमानसमा मर्यादा पुरुषोत्तम रामको गुण गायन गर्नु हो । नेपालीको धार्मिक संस्कार र भक्तिभावनामा निहित रामचरित्रलाई प्रस्तुत गर्ने भानुभक्त प्रथम जातीय कवि हुन् (रिसालः २०४५ः ३६) । पद्यका माध्यमबाट अनुवाद गरी भक्ति भाव जाग्रत गराइएको छ । यहाँ रामायणको महŒव यसरी वर्णन गरिएको छ ः–

संसार पार् तर्नलाइ सबकन सजिलो साँघु झै भै रह्याको । जानी यसलाइ जो ता जनहरू बहुतै प्रेमले पाठ गर्छन् । संसारका सौख्य सब् भोग् गरि कन दुनियाँ सब् सहज पार तर्दछन् ।। उत्तरकाण्ड, श्लो. २५७, पृ. २२३,

रामायणको अध्ययन, चिन्तनले इह लोकबाट पार तर्ने सेतुको काम गर्दछ । यस्तो ग्रन्थको अध्ययनद्वारा सुख भोग गर्दै व्यक्ति मोक्ष हुने विश्वास गरिएबाट भानुभक्तमा आध्यात्मिक कवि–व्यक्तित्व रहेको स्पष्ट हुन्छ । जुन तŒव वा व्यक्तिद्वारा ब्रह्माण्डको सृष्टि भयो त्यसैबाट विकास र विनाश पनि हुन्छ । भानुभक्तीय रामायणले नेपाली जनमानसमा जुन प्रभाव पा¥यो त्यसको बहुआयामिक महŒवलाई विर्सन सकिन्न । जनताले रामायणद्वारा आस्थाका केन्द्र रामलाई पाए । रामायणले नेपालभित्र मात्र नभई बाहिरका नेपालीहरूलाई पनि भाषिक एकताको सूत्रमा उनेको छ । आचार्यले प्रयोग गरेका छन्दमा नेपाली हृदयको भाका गाँसिएको हुन्छ । उनको रामायणका साथै अन्य रचनामा व्यक्त भाव, विचारले नेपाली मनोभावना पोखेको हुन्छ (पराजुलीः २०५६ः ११०) । यहाँ स्रष्टाको यो सुन्दर रचना अनित्य रहेकाले त्यसदेखि अलग रहेको अदृश्य संसार नै शाश्वत सत्य रहेको हुँदा त्यसै सत्ता र शक्तिको चिन्तन गर्नु नै मुख्य कर्म हो भन्ने आध्यात्मिक दर्शन प्रस्तुत भएको पाइन्छ ।

भानुभक्त आचार्यले भक्तमाला लघु काव्यमा आध्यात्मिक चिन्तन प्रस्तुत गरेका छन् । यहाँको म पात्र (स्वयं कवि) ले पृथ्वीमा जन्म लिएपछि सांसारिक विषय परित्याग गरी सीतारामको भजन गर्ने बचनबद्धता प्रकट गरेको छ । कवि मानिसले सांसारिक मोहमा डुबेर ईश्वर स्तुति गर्न भुलेको देख्दछन् । उनले सीतारामको नित्यनिरन्तर स्मरण गर्ने प्रतिज्ञा गरेका छन् । जीवनमा ईश्वरको वास्ता नगर्नु र मृत्युपछि यमराजसँग प्रार्थना गर्नुमा कुनै अर्थ हुंदैन भन्ने धारणा प्रस्तुत छ । बाल्यकाल खेल्दै व्यतीत हुने, यौवन मोहमा र बृद्धावस्था वेवास्ता गर्दै व्यक्ति सधैं भक्ति मार्गबाट अलग हुन सक्छ । जीवन सधैं सुखमा रमाउँदै गरे पनि मृत्युपछि यमलोक पुग्दा मात्र पश्चाताप गर्नु राम्रो होइन । बेलैमा ईश्वर भक्ति गरे मात्र देहको सार्थकता रहन सक्ने धारणा व्यक्त भएको छ । विषयभोगमै लिप्त रही ईश्वर भक्तिबाट विमुख भएर नारकीय यातना भोग्नुभन्दा समय छँदै आध्यात्मिक मार्गमा लाग्न सक्नुपर्छ भनिएको छ । मानव जीवन सुखसयलका लागि मात्र होइन । उसले नैतिक गोरेटोमा लागेर मनलाई हरि गायनमा लगाउन सक्नुपर्छ । मानव देह प्राप्त गर्न धेरै कठिन छ । यसलाई ब्रह्मचरणको ध्यानमा केन्द्रित गराए मात्र आत्माले मुक्ति पाउँछ । घडी, दिन, पक्ष, मास, ऋतु, अयन गर्दै अघि बढ्ने समयले मानव आयु क्षीण गराइरहेको हुन्छ । त्यसलाई मनन गर्दा मात्र सत्मार्गमा लाग्न सकिने कविको विचार रहेको छ । संसारमा धन–संपत्ति सञ्चय गर्ने कैयौं ठुलाबडा शासकहरूको जीवन अजरामर हुन सकेको छैन । आपूmलाई वीर ठान्ने पुरुषहरू पनि कालका मुखमा पर्दछन् । भौतिक उन्नति गर्ने व्यक्तिभन्दा अज्ञानमै भए पनि ईश्वर स्मरण गर्नेहरू नै भवसागर तर्न सफल भएका छन् । अजामिल जस्ता पातकीलाई पनि भगवानले कृपा गरेका छन् भन्ने कविको विचार प्रस्तुत छ । उनको भौतिक उन्नतिमा भन्दा आध्यात्मिक उन्नतिमा लाग्नु पर्छ भन्ने मुख्य सार रहेको छ ।

मनुष्य योनीमा यदि हरि भज्यो ता जन त¥यो अवश्यै फन्दामा हरिकन नभज्न्या पछि प¥यो । भक्तमाला श्लो.९,

संसारमा दैवी माया बलवान भएको बुझेर हरिशरणमा मन लगाउँदा ईश्वरीय कृपादृष्टि प्राप्त हुन्छ भन्ने धारणा म पात्रद्वारा व्यक्त गरिएको छ । यो पद्य बाइस श्लोकमा संरचित लघुकाव्य हो । यो शिखरिणी छन्दमा रचिएको छ । यहाँ भानुभक्तले आध्यात्मिक विषयलाई सरल रूपमा प्रस्तुत गरेका छन्

नैतिक सन्देश

भानुभक्त आचार्यले रामायण, वधूशिक्षा, प्रश्नोत्तर आदिका माध्यमबाट नैतिक सन्देश दिएका छन् । रामायणभित्रका प्रायः सबै काण्डमा नीति, आचरणको व्याख्या गरिएको छ । कौशल्या र दशरथले सन्तान प्राप्तिका निम्ति ईश्वर भक्ति गरेपछि खुसी भएर म तिमीहरूको सन्तान हुँला भनी भगवानले दिएको वचन पूरा गर्न रामको जन्म भएको देखिन्छ । यहाँ रामले वशिष्ठ गुरु र माता–पिताको वचनलाई पूर्ण पालन गरेका छन् । उनी मान्य जन र शास्त्रीय वचन पालना गर्ने नैतिक आचरण भएका व्यक्ति हुन् । उनले बाल्यावस्थादेखि पछिसम्म सधैं नीतिसम्मत व्यवहार देखाएका छन् । भानुभक्तीय रामायणमा राम आदर्श र नैतिक चरित्र भएका पात्र हुन् । नैतिक आचरण गर्ने आदर्श राजकुमार, आदर्श शिष्य, आदर्श पुत्र, आदर्श पति, मर्यादा पुरुषोत्तम राम, ईश्वरीय शक्तिप्राप्त व्यक्तिका रूपमा चिनिन्छन् ।

रामको चरित्र मान्य जनले भनेका मात्र नभई सबैको अनुनयलाई स्वीकार गर्ने व्यक्ति हुन् । कैकेयीले रामलाई वनबास र भरतलाई राज्य दिनुपर्छ भनी दशरथसँग वरदान मागेपछि असमञ्जसमा परेका दशरथलाई अप्ठ्यारोमा नपार्न आपूm वनबास जान तयार भएका छन् । उनी चौध वर्षसम्म वनमा बसेर मान्य जनको आज्ञा, नैतिक आचरण पालना गर्ने व्यक्ति हुन् । त्यसैगरी सीता र लक्ष्मणको चरित्र पनि नैतिकतायुक्त छ । सीता कर्तव्य परायण नारी भएकी हुँदा रामसँगै वनबास गएकी छन् । उनी रावणको अपहरणमा पर्दा मृत्युवरण गर्न तयार भइन् तर मनमा नैतिकता विपरीत कुरा पनि सोचिनन् । उनले आदर्श हिन्दू नारीमा हुने पातिव्रत्य आचरण पालन गरेकी छन् । रामले लोकलज्जाबाट बच्न सीतालाई परित्याग गरेको देखिन्छ । रामायणमा लक्ष्मणका साथै भरत, हनुमान जस्ता चरित्रहरूका माध्यमबाट नैतिक सन्देश दिइएको छ ।

भानुभक्त आचार्यले वधूशिक्षाका माध्यमबाट नारीलाई नैतिक शिक्षा दिएका छन् । उनीहरूमा नैतिक आचरण र कर्तव्य पालन हुनुपर्छ भन्ने चिन्तन प्रस्तुत छ । भानुभक्त नारीहरूले आफ्ना पति, सासू, ससुरा, गुरु आदि मान्यजनको सेवा, सत्कार गर्नुपर्छ भनी नैतिक सन्देश दिने कवि हुन् ।

नेपाली संस्कृति

भानुभक्त आचार्यले रामायण रचनाका क्रममा शब्दानुवाद नभई भावानुवादलाई अँगाल्दा नेपाली संस्कृतिको झलक प्रस्तुत गरेका छन् । उनले नारीहरूमा रहने सौतेनी डाहको चित्रण गरेको देखिन्छ । कैकेयीले आफ्नो छोरालाई अयोध्याको राजा बनाउने चाहनाले छल–प्रपञ्च रचेर दशरथलाई बाध्य गराई आफ्नो मनोकाङ्क्षा पूरा गर्न खोजेको देखिन्छ । वनबास लागेका राम–सीताको अवस्था देखेर गुहका मनमा चिन्ता उत्पत्र हुन्छ । राजा हुन लागेका व्यक्तिले वनमा दुःख भोग्नु प¥यो भन्ने कुराले उनलाई सताउँछ । कोही विदा भएर जानलाग्दा घरबाट परसम्म जाने र छुटिसकेपछि पनिविदा हुने व्यक्तिलाई हेरिरहने र देखिन छाडेपछि फर्किने नेपालीे चलन रहेको देखिन्छ । रामायणमा सारथी बनेर सुमन्त्रले रामसीतालाई परसम्म पु¥याउन गएर विदा भएपछि पनि देखिंदासम्म हेरेको सङ्केत पाइन्छ । यहाँ थाहा नपाइ छोरा, बुहारी परदेश लागेको सुन्दा आमामा हुने पीडा कौशल्यामा रहेको देखिन्छ ।

राम वन गइसकेपछि भरतलाई राज्य गर्न वशिष्ठ गुरुले आज्ञा गर्दा आफ्नो स्वार्थ पूरा गर्न रामलाई वन पठाएर आपूmले राज्य ग¥यो भनी दुर्नाम चल्ने कुराले भरत सजग बनेका छन् । इज्जतको ख्याल गर्ने मानिसहरू स्वार्थका पछि लाग्दैनन् भत्रे भरतको व्यवहारबाट देखाइएको छ ।

राम–लक्ष्मणका नजिकमा शूर्पणखा गएर पति वरण गर्न खोज्दा लक्ष्मणले त्यसको नाककान काटेर पठाए । त्यसै समयदेखि नै नेपाली समाजमा नाक काट्नुलाई इज्जत जानुसँग जोडेर हेरेको देखिन्छ । नारी चाहना सबै पतिहरूले पूरा गरिदिन्छन् । सुवर्णरूपी मृग मारिचको लीला देखेर आकर्षित सीताको इच्छा पूरा गर्न राम त्यो मिर्ग लिन गए । नारीहरू वास्तविकता नबुझी अर्कालाई लाञ्छना लगाउन जान्दछन् भन्ने कुरा सीताले लक्ष्मणलाई राम खोज्न पठाएबाट स्पष्ट हुन्छ । सीताले लक्ष्मणलाई गाली गरेको र भाउजूको वचन सहन नसकी रामसँग जादा सीताको अपहरण भई रामायणको घटना गतिशील बनेको छ । नारीहरू वास्तविकताको बोध गर्न नसक्दा दुःखको सिकार बन्दछन् भन्ने देखिन्छ । यसरी भानुभक्त आचार्यले नेपाली संस्कृतिको सङ्केत रामायणमा गराएका छन् ।

सामाजिक पक्ष

भानुभक्तले आपूm बाँचेको सामाजिक अवस्थाको चित्रण गरेका छन् । उनको रामायण लोकप्रिय बन्नमा मौलिकताको प्रभाव रहेको छ । उनले अनुवाद गर्दा मौलिकतालाई अँगाले । भानुभक्त कहीँ मूलमा भएको भाव वा कथाप्रसङ्ग टिपेर स्वतन्त्र पद्यरचना गर्द छन्, कहीँ भाव थपेर पद्यलाई श्रुतिमधुर र आकर्षक पारेका छन् । रामायणमा मौलिकपन दिनु आचार्यको निजी पक्ष हो (प्रधानः २०४८ः ४) । उनले रामायण, वधूशिक्षा र केही फुटकर कविताहरूमा समाजको चित्रण गरेका छन् । रामायणमा अयोध्याको समाज, राम वनबासका क्रममा देखिएको ऋषि समाज र लङ्काको राक्षस समाज रहेको देखिन्छ । तत्कालीन अयोध्याको समाज नेपाली समाज जस्तै रहेको सङ्केत मिल्दछ ।वैवाहिक जीवन पुत्रोत्पादनका लागि हो भन्ने मान्यता रहेको अवस्थामा दशरथ तीनवटी पत्नीबाट पुत्र लाभ हुन नसक्दा दुःखित बनेका देखिन्छन् । वशिष्ठ गुरुले यज्ञद्वारा पुत्र प्राप्ति हुने बताएपछि दशरथले पनि सोही अनुसार गर्दा सन्तान प्राप्त भए । बुहारीले सासू, ससुराको सम्मान गर्नुपर्छ भन्ने मान्यतालाई पनि देखाइएको छ । समाजमा अर्को व्यक्ति सम्मानित भएको देख्दा ईष्र्या हुन्छ । राम विवाहपछि अयोध्या फर्किरहेका अवस्थामा परशुराम आपूm सर्वश्रेष्ठ भएको घमन्ड देखाउदै क्रोधित बनेका देखिन्छन् । बालिको अन्याय, अत्याचारले वन्य समाजलाई त्रसित बनाएको छ । त्यसको अन्यायबाट सुग्रीव भागेर अलगै बसेबाट शक्तिका अगाडि निरीह व्यक्तिहरू लुकेरमात्र बाँचेका हुन्छन् भन्ने देखिन्छ । भानुभक्तले लङ्काको राक्षस समाजको चित्रण गरेका छन् । हनुमानले रावणको वगैंचा नष्ट गर्न लाग्दा रावणपुत्र इन्द्रजितले ब्रह्मपाशमा पारेर दरबारमा ल्यायो । हनुमान बाँधिएको सुनेर सारा लङ्काबासी खुसी भएको उदाहरणः–

‘बाँध्याका हनुमान देखि सहरै सम्पूर्ण खूसी भयो ।’

लङ्काको सहरीया समाजलाई हनुमानले आतङ्कित बनाएको देखिन्छ । यसरी रामायणका विविध समाजको चित्रण गरिएको छ ।भानुभक्त आचार्यले फुटकर कवितामा पनि उनले देखे, बुझेका समाजको चित्रण गरेकाछन् । काठमाडौं उपत्यकाभित्रको समाज हाँसीखुसी रहेको उल्लेख पाइन्छ । यहाँ भौतिक सुखसुविधा भोगी समाज प्रस्तुत छ ।त्यसैले मानसिक सन्तुष्ट भएको कुरा यसरी उल्लेख गरिएको छ ।

‘खुसी छन् बहुतै मनमा दुनियाँ’

यस पद्यमा तत्कालीन कान्तिपुर सहरलाई स्वर्ग, भोट, लन्डन, चीनसँग तुलना गरिएको छ ।आचार्यले ब्राह्मण समाजमा छोरको व्रतबन्ध सानैमा गर्ने मान्यता रहेको उल्लेख गर्दै विदा पाउँ भनी तत्कालीन शासकसँग बिन्ती गरेका छन् । कर्मचारी तन्त्रमा ढिलासुस्ती भानुभक्तका समयमा पनि रहेको देखिन्छ । कवितामा जनताको काम आज होइन भोलि भनेर पन्छिने कर्मचारीका प्रवृत्तिको व्यङ्ग्य गरिएको छ । यसरी रामायण कालीन समाजलाई नेपाली समाज जस्तै गरी चित्रण गरिएको छ । यहाँ भानुभक्तले आफैंले देखे, भोगे जस्तै समाजको चित्रण गरेका छन् ।

प्रकृति–चित्रण

नेपाली कविता परम्परामा भानुभक्तले सुन्दर प्रकृतिको चित्रण गरेका छन् । उनले रामायणका अरण्यकाण्डमा वन, वन्य जन्तु, नदी, तलाउ आदिको वर्णन गरेका छन् । किष्किन्धाकाण्डमा राम वर्षाकालभरि प्रवर्षण गरिएको शिखरमा रहेको गुफामा बसेका देखिन्छन् । उनी त्यहाँ फलफुल खाँदै आनन्दले बसेको प्रसङ्ग यसरीउल्लेख गरिएको छ ः–

फलफुल तहिं खचित् थियो नजिकमै थियो तलाउ पनि । देख्दा मन् खुसी भो तहाँ प्रभुजिको बस्न्यै जगा हो भनी ।। पृ. ८०,

रावणले सीता अपहरण गरेर लङ्का सहरको सुन्दर प्राकृतिक स्थानमा राखेको देखिन्छ । अशोक वाटिकामा सिंसपाको रुखका फेदमा सीतालाई राखिएको छ । त्यही वगंैचामा हनुमान पुगेर सीतालाई भेटेको र रावणको दरबार परिसरका वोट, वगैंचा उखेलेको प्रसङ्ग रहेको छ । भानुभक्त आचार्यले रामायणका अतिरिक्त बालाजु वर्णनका क्रममा यसरी प्राकृतिक सुन्दरताको वयान गरेका छन् ः–

यति दिनपछि मैले आज बालाजि देख्याँ । पृथिवि तलभरीमा स्वर्ग हो जानि लेख्याँ ।। वरिपरि लहरामा भूmलि बस्न्या चरा छन् । मधुर वचन बोली मन् लिंदा क्या सुरा छन् ।।

भानुभक्तले कवितामा बालाजु वरिपरि रहेको वन–जङ्गल र त्यहाँका पक्षीहरूको माधुर्य गुञ्जनको वर्णन गरेका छन् । उनलाई त्यस्तो प्रकृतियुक्त सुन्दर स्थान देख्दा स्वर्गीय भूमि झैं लाग्दछ । यही कविताबाटै नेपाली कविता इतिहासमा प्रकृति चित्रण गर्ने परम्पराको थालनी भएको मान्न सकिन्छ ।कवि प्राकृतिक सुन्दरतामै भावस्फुरण हुने ठान्दछन् । बालाजुमै बसेर कविता सिर्जना गर्ने चाहना प्रकट गर्दछन् । उनी पनि भौतिक सुखभन्दा प्राकृतिक सुख बढी आनन्ददायी हुने ठान्दछन् । कविताको सहज रचना अन्यत्रका तुलनामा बढी प्राकृतिक स्थलमा नै हुन सक्ने धारणा व्यक्त भएको छ । यसरी कविले कवितामा प्रकृतिको उपस्थितिलाई महŒव दिएका छन् ।

भाषा–शैली

भानुभक्त आचार्य आफ्ना काव्य–कवितामा सरल, सहज भाषा–शैलीको प्रयोग गर्दछन् । उनी आगन्तुक शब्दलाई अँगाल्दैनन् । सामाजिक जीवनमा प्रचलित भाषालाई लयबद्ध तुल्याउने कुशल शिल्पी हुन् । उनको यो शिल्प पक्ष आकर्षक भएका कारण रामायण र अन्य कविताहरू जीवन्त बत्र पुगेका छन् । समालोचक चूडामणि रेग्मीका अनुसार भानुभक्त छन्द अनुकूल शब्द प्रयोग गर्ने कवि हुन् । उनले कवितामा तत्कालीन समाजले प्रयोग गर्ने भाषालाई अँगालेका छन् ।उनका समयमा नेपाली भाषामा व्याकरणको निर्माण भइसकेको थिएन । आचार्यले कविता–काव्य रचना गर्नु पूर्व छन्द साधना गरेका होइनन् । रामायणका पद्य रचनाक्रममा आफ्नै किसिमको लय, ढाँचालाई प्रस्तुत गरेका छन् । रमायणकै शैली भक्तमालामा पनि प्रयोग भएको छ । उनी विशिष्ट शैली प्रयोग गर्ने कविका रूपमा चिनिन्छन् (रेग्मीः २०६२ः १७) । उनले एउटै शब्दलाई पनि छन्द मिलाउन कतै ह्रस्व, कतै दीर्घ र कतै खुट्टा काटेको देखिन्छ । त्यसैले भानुभक्त भाषालाई जनजिभ्रामा भिज्ने किसिमको प्रयोग गर्दछन् । जस्तै कतै पनि र कतै पनी प्रयोग गर्दछन् । कविको यही सरलताकै कारण काव्यकृतिहरू नेपाली जनगलामा अडिएका छन् ।

निष्कर्ष

भानुभक्त आचार्य नेपाली कविता–काव्य इतिहासमा विशिष्ट स्थान बनाएका व्यक्ति हुन् । उनको सिर्जनायात्रा घाँसीको प्रेरणाबाट आरम्भ भएको पाइन्छ । रामायणको नेपालीमा भावानुवाद गरेर आध्यात्मिक चिन्तन प्रस्तुत गरेका छन् । कविता सरल, सहज पद्यात्मक भाषामा प्रस्तुत छन् । उनले तत्कालीन सामाजिक जनजिभ्रोमा आधारित भाषामा रामायणको रचना गरेको हुँदा निकै लोकप्रियता प्राप्त गरे । शास्त्रीय छन्द लोक लयका माध्यमबाट प्रस्तुत भएको हुँदा के साक्षर, के निरक्षर सबैका गलाबाट अलापिदै आएको पाइन्छ ।भानुभक्तले रामायणको अनुवाद गरेर नेपाली समाजमा रामभक्ति धारा फैलाएर चम्काउने कार्य गरेका छन् । उनको आध्यात्मिक चिन्तन मोक्ष प्राप्त गर्नुपर्छ भन्ने धारणामा केन्द्रित छ । भानुभक्तले कविता, काव्यका माध्यमद्वारा समाजलाई नैतिक सन्देश दिएका छन् । गजाधर सोतीकी श्रीमतीले जस्तो अतिथिलाई तिरस्कार होइन, सत्कार गर्नुपर्छ भन्ने शिक्षा दिएको देखिन्छ । तारापतिका घरमा जस्तो बुहारीले सासूसँग झगडा होइन सबै मान्य जनप्रति सत्कार गर्नुपर्ने सन्देश पनि दिइएको छ । उनी नेपाली संस्कार, रीतिरिवाजलाई कवितामा प्रस्तुत गर्ने कवि हुन् । रामायण, भक्तमाला, वधूशिक्षा र फुटकरकवितामा नेपाली समाजको चित्रण गरिएको छ । प्राकृतिक सुन्दरतालाई समेत कवितामा स्थान दिएको पाइन्छ । उनी प्रकृतिको सौम्य, शान्त, रमणीय दृश्यबाट नयाँ सिर्जनाको जन्म हुन्छ भन्ने कविका रूपमा चिनिन्छन् । यसरी भानुभक्त आचार्य सरल, सहज भाषा–शैलीका कवि हुन् । उनका कविताले सिङ्गो नेपाली समाजलाई प्रभावित एवम् आकर्षित तुल्याएको छ । उनी मौलिक र स्वभाविक स्रष्टाका रूपमा परिचित छन् ।

डा. ठाकुरप्रसाद पोख्रेल
सहप्राध्यापक मेची बहुमुखी क्याम्पस, भद्रपुर

सन्दर्भ–सामग्री

आचार्य, भानुभक्त, २०५२, भानुभक्तको रामायण, चौथो सं., लालितपुरः साझाप्रकाशन ।

तुफान, प्ररा, २०६२, आदिकवि भानुभक्त संक्षिप्त चर्चा, अनावरण, व.१, अं.१, (झापा, आदिकवि भानुभक्त आचार्य प्रतिमा निर्माण समिति) ।

पराजुली, ठाकुरप्रसाद, २०५६, नेपाली साहित्यको परिक्रमादो.सं., ललितपुरः साझाप्रकाशन ।

प्रधान, प्रतापचन्द्र, २०४८, केही कृति केही स्मृति, दो.सं., लालितपुरः साझाप्रकाशन ।

रिसाल, राममणि, २०४५, नेपाली काव्य र कवि, तेस्रो संं., ललितपुरः साझाप्रकाशन ।

रेग्मी, चूडामणि, २०६२, भक्तमालामा शिखरिणी, अनावरण, व.१, अं.१, (झापा, आदिकवि भानुभक्त आचार्य, प्रतिमा निर्माण समिति) ।

  1. आचार्य, भानुभक्त. (२०५०). भानुभक्तको रामायण. काठमाडौं ः साझा प्रकाशन ।
  2. गौतम, लक्ष्मणप्रसाद (२०७१÷३÷७). ‘भानुभक्त र शङ्कराचार्य’, गोरखापत्र. (दैनिक) काठमाडौं ः गोरखापत्र संस्थान पृ.क
  3. ढकाल, मतिप्रसाद (सम्पा.). (२०६४). भानुभक्तका लघुरचनाहरू. नवलपरासी ः आस्था आगम प्रकाशन
  4. नेपाल, ज्ञानमणि (२०५९). नेपाली साहित्यमा आदिकविको समस्या. काठमाडौं ः माधवप्रसाद धिताल, इतिहासविकास समिति ।
  5. भट्ट, मोतीराम. (२०५१). कवि भानुभक्तको जीवनचरित्र. काठमाडौं ः साझा प्रकाशन ।
  6. ६. उपाध्याय, केशवप्रसाद (२०३१), प्राथमिक कालीन कवि र काव्यप्रवृत्ति, काठमाडौं ः साझा प्रकाशन ।
  7. ७. दाहाल, खेम (गरिमा, असार ः २०५२), भानुभक्तीय रामायणमा प्रयुक्त मुख्य छन्दहरू एवं तिनको प्रभाव, काठमाडौं ः साझा प्रकाशन ।
  8. ८. प्रधान, हृदयचन्द्रसिंह (२०२१), नेपाली काव्य र उसका प्रतिनिधि कवि, काठमाडौं ः रत्न पुस्तक भन्डार ।
  9. ९. भण्डारी, पारसमणि र माधवप्रसाद पौडेल (दो.सं.२०६३), साहित्यशास्त्र र नेपाली समालोचना, काठमाडौं ः विद्यार्थी पुस्तक भण्डार ।
  10. १०. मिश्र, डिल्लिराम (गरिमा, भदौ ः २०६८), आरम्भकालीन नेपाली भाषा साहित्यको स्वरूप र कवि भानुभक्त, काठमाडौं ः साझा प्रकाशन ।
  11. ११. लुइटेल, खगेन्द्रप्रसाद (२०६०), कविता सिद्धान्त र नेपाली कविताको इतिहास, काठमाडौं ः नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान ।
  12. १२. शर्मा, मोहनराज र खगेन्द्रप्रसाद लुइटेल (दो.सं.२०६३), पूर्वीय र पाश्चात्य साहित्य सिद्धान्त, काठमाडौं ः विद्यार्थी पुस्तक भण्डार ।
  13. १३. शर्मा, मोहनराज (२०४८), शैली विज्ञान, काठमाडौं ः नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान ।
  14. १४. —————————(२०५५) समकालीन समालोचना सिद्धन्त र प्रयोग, काठमाडौं ः नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान ।
  15. १५. श्रेष्ठ, रमेश (दो.सं.२०४९), नेपाली कविताको प्रवृत्ति, काठमाडौं ः साझा प्रकाशन ।
  16. अधिकारी, गंगाप्रसाद. २०६५. अभिवीक्षण. भद्रपुर ः श्रीमती कान्ता अधिकारी
  17. त्रिपाठी, वासुदेव. २०३५. “हास्य–व्यङ्ग्य परिचर्चा”. रचना. १५/४
  18. ............... २०५१. “हास्य–व्यङ्ग्यको सैद्धान्तिक सन्दर्भतर्फ” प्रज्ञा. पूर्णाङ्क ८० ।
  19. भट्ट, मोतीराम. २०६८. कवि भानुभक्तको जीवनचरित्र. (संस्क. चौथो) ललितपुर ः साझा प्रकाशन ।
  20. भट्टराई, भरतकुमार. २०५७. हास्य–व्यङ्ग्य सिद्धान्त. काठमाडौं ः श्रीमती रमा भट्टराई ।
  21. भानु, भानुभक्त विशेषाङ्क, साझा प्रकाशन २०२८
  22. बृहत् समालोचना । सं. शिव प्रधान
  23. साझा समालोचना सं. कृष्णचन्द्रसिंह प्रधान
  24. नेपाली भाषा र साहित्य ले. प्रा. बालकृष्ण पोखरेल