एस² आतङ्क र अमेरिकी प्रशासनको असफलता

नेपाली विकिपुस्तकबाट, स्वतन्त्र पुस्तकालय

एस² आतङ्क र अमेरिकी प्रशासनको असफलता[सम्पादन गर्नुहोस्]

बेलाबखत गफका क्रममा अमेरिकाको कुरा उठ्दा मेरा एकजना साथी भन्नेगर्थे, ‘वास्तवमा स्वच्छतासँग लुकामारी खेल्न रमाउनेले एकपटक अमेरिका पुग्नैपर्छ ।’ उनको यस किसिमको भनाइ सुनेर म ट्वाल्ल पर्थें र तन्द्रामा भएपनि अमेरिका पुगेर रमाउन कोसिस गर्थें । यसरी आफू कुनै दिन सँगुलै त्यहाँ पुग्छुहोला भन्ने दश मनमा एकमन पनि थिएन । तर “लेखला भावी मेटलाको आफ्नो आफ्नो लहना हो” भनझैं जुलाई १६, २००६ का दिन स्थानीय समय अनुसार दिउँसो १२ बजे मैले अमेरिकाको भर्जिनिया राज्यमा पाइला टेकें । महाभारतका युधिष्ठिर र म झन्नै उस्तै भयौं । फरक यत्ति छ उनी सँगुलै स्वर्ग पुगेका थिए भने म यही जिऊ लिएर पाताल पुगें ।
अमेरिका स्वच्छताकै महादेश रहेछस मैले पत्याएँ । मेरा साथीले ब्लफमै गफ गरेको भए पनि ठ्याक्कै मिल्यो । अपवादका रूपमा अफ्रिकी मूलका काला अमेरिकालीहरूको बस्ती, घर, डेरा आदि र त्यसको छेउछाउलाई छोडेर समग्र अमेरिकालाई ‘स्वच्छताकी रानी’ भन्न सकिन्छ । यो देश यसरी स्वच्छ रहनुका अनेक कारण हुनसक्छन्, तर मैले व्यक्तिगत रूपमा ठहर्याएको प्रमुख कारण भनेको ‘जीएच्’ को पलायन नै हो । भुटानबाट जबर्जस्ती लखेटिएका नेपालीझैं अमेरिकाबाट लखेटिएछन् ‘जीएच्’हरू । चम्चे भरौटेबाहेक सबै नेपालीलाई भुटानले खेदेछ । बिचरा लगाएको लुगाबाहेक केही लान पाएनछन् आफ्ना साथमा । अमेरिका यस मामलामा अलिक लचिलो भएछ । चम्चे, भरौटे लगायत सबैलाई लखेटे पनि ‘जीएच्’हरूले आफ्नो धनसम्पत्ति आफैंसँग लान पाएछन् ।
भुटानबाट लखेटिएका नेपालीहरू नेपालमा बस्तै आएका छन् शरणार्थीका रूपमा । यिनीहरूको जीवन ज्यादै कष्टकर रहेको छ । गरीव देशमा आएका गरीव शरणार्थी । कस्तो हालत होला उनीहरूलाई नै थाहा छ ,तर अमेरिकाबाट खेदिएका ‘जीएच्’हरूको हालत अत्यन्त राम्रो छ । उनीहरू दक्षिण एसियाका विपन्न देशहरूमा शरणार्थीकै रूपमा बस्दै आएका छन् तापनि आफूसँग प्रसस्त सम्पत्ति लिएर आएका हुनाले उनीहरू विपन्न देशका सम्पन्न ‘जीएच्’मा प्रतिष्ठापित भएका छन् । दक्षिण एसियामा बस्दै आएका अमेरिकाली ‘जीएच्’ शरणार्थीहरूमध्ये नेपालमा अलिक बढी होलान् । जति नै बढी भए पनि सर्कारले यिनीहरूको राम्रो बन्दवस्त मिलाएको छ । भुटानी शरणार्थीका लागि जस्तो ‘जीएच्’का लागि कुनै विदेशीसँग नेपालले हात पसार्नु परेको छैन । उपयुक्त वातावरण पाएर यहाँ ‘जीएच्’को विकास अत्यन्त द्रुत गतिमा भइरहेको छ । अन्य विकासको सूचकाङ्कले शून्यसँग मित्रता कायम गर्दैछ भने ‘जीएच्’ विकासको सूचकाङ्कले हजार प्रतिशतलाई चुम्बन गर्न आँटेको छ । दशौं पञ्चवर्षीय योजना पूरा हुँदा यसले आकाशलाई नै छुन बेर छैन । यो कुरा मैले मात्र भनेको होइन, विश्वस्वास्थ्य संगठनले पनि भनिसकेको छ । नेपालमा ‘जीएच्’ सम्पन्न र शक्तिशाली बन्नुमा यहाँका नेता, मन्त्री, कर्मचारी आदि जिम्मेवार छन् । आठदलको संयुक्त सर्कारले यिनीहरूलाई नेपालको नागरिक बनाइसकेको छ । हिमाली जिल्लातिर वसोवास गर्दै आएका केही ‘जीएच्’ले भूलवस नागरिकता नपाएको भए बेग्लै कुरा हो, तर काठमाडौं उपत्यका र तराईमा उमेर नपुगेका ‘जीएच्’ले पनि नागरिकता पाइसकेका छन् । यस हिसाबबाट हेर्दा नेपालका ‘जीएच्’लाई आत्मनिर्णयसहितको समानुपातिक चुनावबिना नै संघीय गणतन्त्र आइसकेको छ । संगठन विस्तार गर्ने कार्यमा निपुण भएकै कारण यिनीहरूले प्रगतिको लामो फड्को लगाइसकेको बुझिन्छ ।
अमेरिका एक सम्पन्न र शक्तिशाली देश हो । त्यहाँ विश्वका अधिकांश मुलुकबाट मानिस आएर बसेका छन् । तीमध्ये धेरैजसो अवैध आप्रवासी छन् । उनीहरू त्यहाँ निर्वाध घुम्छन, बस्छन्, काम गर्छन् । कसैले को रु के रु किन रु भनेर सोध्ने आँटै गर्दैन । अनाहकमा पुलिसले पनि सोध्न सक्तैन अमेरिकाली आप्रवासीलाई । पुलिसले अवैध भनेर शङ्का गरी सोध्यो र सोधिने मान्छे वैध रहेछ भने मानहानीमा मुद्दा लाग्न सक्छ पुलिसलाई, त्यसैले त्यहाँ आप्रवासीहरू सुरक्षित छन् । तर ‘जीएच्’ समूहको कुनै पनि सदस्यलाई जोसुकैले पक्डिन सक्छ । त्यति मात्र होइन उसले तत्काल मृत्युदण्ड पनि दिनसक्छ अवैध ‘जीएच्’लाई । नेपालमा झैं त्यहाँ कुनै ‘जीएच्’लाई कसैले लुकाई छिपाई राख्न पनि सक्दैन । राखेको पाइएमा हदैसम्मको सजाय पाउँछ राख्ने व्यक्ति, परिवार वा समाजले । पाँच महिना अमेरिका बस्दा एउटा सम्म ‘जीएच्’ देख्न, भेट्न नपाएपछि ‘जीएच्’प्रति अमेरिकाको व्यवहार कत्तिको कठोर रहेछ भन्ने कुरा पत्ता लाग्यो ।
‘जीएच्’ समूहका प्राणीहरू त्यहाँबाट दक्षिण एसियातिर ‘फ्लाइ’ गर्दा आ–आफ्नो सम्पत्ति साथमै लिएर भाग्न सफल भएछन् भन्ने कुरा माथि नै उल्लेख भइसकेको छ । त्यसबेला बुद्धि पुर्याएकाले अहिले उनीहरूलाई छेलोखेलाइ भएको छ । आफूले खर्च गरेर उब्रिएको सम्पत्ति अरुलाई पनि बाँड्न भ्याएका छन् उनीहरूले । अमेरिकाले दक्षिण एसियालाई दिंदै गरेको सहायताभन्दा अरबौं गुणा बढी छ ‘जीएच्’ले दिंदै गरेको सहयोग । फेरि अमेरिकाको सहयोगमा स्वार्थको गन्ध आउँछ भने ‘जीएच्’ को सहयोग निस्वार्थपरक छ । ‘जीएच्’हरू फलको आशा नराखीकन सहयोग गर्छन र स्वतः फल पाउँछन् । ‘जीएच्’ समूहले नेपाललाई दिएको अतिरिक्त सहयोगमा नेता, मन्त्री, सांसद, कर्मचारी आदिले खेल्ने ‘जीएच्’दाउ पर्दछ । यसबाहेक लोग्नेले स्वास्नीसँग र स्वास्नीले लोग्नेसँग खेल्ने ‘जीएच्’दाउलाई पनि अवमूल्यन गर्न मिल्दैन । मपाईं बहादुरहरूको ‘जीएच्’ पाखुरा सुर्काइ पनि उनीहरूबाटै प्राप्त अनुदान हो । सहायताको रूपमा ‘जीएच्’दाउ पाएर त्यसैमा अभ्यस्त मान्छेहरू अमेरिका पुगे भने त्यहाँ पनि आफ्नो सम्पत्तिको सदुपयोग गर्न खोज्दा रहेछन् । सुरुमा त यस कुरामा निकै उदेक लागेको थियो तर संविधानसभा गठन भइसकेपछि पनि पार्टीनेताहरूको बानी बेहोरा उस्तै देखेपछि चित्त बुझाएँ । स्याललाई टाटेपांग्रे रङ लगाएर चितुवा बनाउन सकिदैन जस्तो लाग्यो । जे भएपनि अमेरिकामा ‘जीएच्’ र यससँग सम्बन्धित कुनै कुराको गुन्जायस देखिदैन । एक वाक्यमा भन्नुपर्दा अमेरिका ‘जीएच्’को महाशत्रु हो । यो भुटानभन्दा खतरनाक छस किनभने भुटानले त प्रजातन्त्रको चाहना गर्ने स्वाभिमानी नेपालीहरूलाई मात्र ट्रकमा खाँदीखाँदी मेची कटायो । राजाको गुणगान गर्ने नेपाली त अझै भुटानमै छन् । तर अमेरिकाले त चिनोबानो नरहने गरी देश निकाला गरेछ । अहिले ओखती लाग्छभन्दा पनि एउटा पिप्सो ‘जीएच्’ सम्म पाइदैन त्यहाँ । हिजोआज केही अमेरिकालीहरू भन्ने गर्छन् “नेपालीलाई लखेटेपछि भुटानलाई दशा लाग्योस ‘जीएच्’ खेदेपछि अमेरिकाको दशा भाग्यो ।”
नेपालमा नानाथरीका साथीहरू छन् मेरा । के संयोग परेर हो साथीहरू सबै गफाडी मात्र छन् । कुनैले साँचो बोलून् त मरिजाऊँ । कोही कानबाट सियो छिराउन पाए मुखबाट फाली निकाल्छन् । कोही झुटो कुरालाई कोरीबाटी गरेर चिटिक्क सोह्रबर्षे जस्तै बनाउँछन् र मख्ख पार्छन् । अमेरिकाको कुरा कथ्ने एकजनाले भनेको कुरा चैं पुग्यो, फरक परेनस तर अर्को साथीको कत्थक भने छेकछन्दै मिलेन । उसले ठोकुवा गरेको थियो “अमेरिकामा जस्तो शान्ति विश्वको कुनै मुलुकमा छैन ।” होला, पक्कै होला भनेर मैले पत्याएको पनि थिएँस किनभने कुनै किसिमका समाचारले पनि अमेरिका अशान्त देश भनेर पुष्टि गरेको छैन । तर कुरा त्यसो होइन रहेछ, । त्यहाँ एउटा आतंककारी समूह सक्रिय रहेछ । अमेरिका पुगेकै दिनदेखि म पनि त्यस समूहको निसाना बन्न पुगें । त्यस समूहलाई ‘एस्२’ भनिदो रहेछ । नेपालमा कालीनाग, अथी भनेजस्तै हो त्यो नाम । रातभरि कामले थकित भएर सुतेका निरीह जनतालाई आतङ्कित तुल्याउने ‘एस्२’ जस्तो कट्टर आतङ्कवादी समूह आजसम्म मेरा नजरमा फेला पर्न सकेको छैन । जनतालाई आतङ्कित पार्ने त्यस समूहको आतङ्क–शैली तालिवानी सेना र सद्दाम हुसैन समर्थक इराकी सेनाको जस्तो छ । यसरी विचार गर्दा पक्कै पनि यो समूह अमेरिकी राष्ट्रपतिको प्रतिशोधमा उत्रिएको हुनुपर्छस तर यिनीहरूको आक्रमणबाट सर्वसाधारण जनता मारमा परेका छन् । त्यसो त देश द्वन्द्वमा पिसिएका बेला ठूलाबडा भनाउँदाहरूलाई ठाँगेले पनि छुदैन, सर्वसाधारण नै पिसिन्छन् । ‘उपियाँ फड्कियो जुम्राको घान’ भनेको यस्तै त होला नि
अमेरिका जस्तो शान्तिपूर्ण देशमा किन र कसरी यस्तो भयङ्कर आतङ्ककारी समूह खडा भयो भन्ने बारेमा अमेरिकी द्वन्द्वविद्, गुप्तचरविभाग, सेना, वैज्ञानिक कसैले पनि गहिरिएर शोच–विचार, अध्ययन–अनुसन्धान गरेको पाइदैन । मेरो नितान्त व्यक्तिगत अनुसन्धानले के देखाएको छ भने ‘एस्²’ नामक आतङ्ककारी समूहको गठ्न हिन्दू पुनर्जन्ममा आधिरित छ । ‘मर्ने बेलामा जेजस्तो चिन्तन हुन्छ अर्को जन्ममा सोही अनुरूपको योनीमा सो जीव प्राप्त हुन्छ” भन्ने श्रीमद्भगवद्गीताको ८र६ ले यसको पुष्ट गरेको छ । प्रस्तुत सिद्धान्तको आलोकबाट हेर्दा उक्त आतङ्ककारी समूहका सदस्यहरू पूर्वजन्ममा तालिवानी लडाकू र सद्दाम समर्थक सेना थिए । तिनीहरूले राष्ट्रपति बुससँग कसरी प्रतिशोध लिने भन्ने चिन्तन गर्दागर्दै प्राण त्याग गरेका हुनाले यस जन्ममा तिनीहरू अमेरिकी ‘एस्²’ समूहका नामले आतङ्क मच्चाइरहेका छन् । ‘एस्²’ समूहका लडाकूहरू तालिमप्राप्त र युद्धकला निपुण छन् । तिनीहरूले हमला गर्ने समय रातको दशरएघार बजेदेखि तीन÷चार बजेसम्म मात्र हो । उक्त समयमा तिनीहरूको सक्रियता चरमोत्कर्षमा पुगेको हुन्छ । अमेरिकाको प्रत्येक घर ‘एस्²’ आतङ्ककारीका लागि अत्यन्त उपयुक्त छ, त्यसैले तिनीहरूको बेस क्याम्प घरभित्रै हुन्छस जङ्गलमा हुँदैन । तिनीहरू सबै किसिमका आक्रमण गर्छन् तर चन्दा आक्रमण गर्दैनन्, नत अपहरण नै गर्छन् । तिनीहरूको प्रमुख विशेषता के हो भने तिनीहरू दिनभर भूमिगत रहन्छन् र रातभर फौजी आक्रमण गर्दछन् । एम्बुसबाट जोगिन तिनीहरू शान्ति सेनाभन्दा कैयौं गुना चलाक छन् । राती सक्रिय रहने ‘एस्²’ लडाकूलाई अलिकति पनि नोक्सान पुर्याउन सक्दैनन् राती सुत्ने अमेरिकी सेनाले । जनताको उजुर सुनेपछि अमेरिकी सेना घरघर खटाइन्छन् । तर दिउँसो आएका सेनाले राती हिंड्ने लडाकूलाई के भेट्नु । एक दुई ठाउँमा एम्बुस् थापेर जान्छन्, तर आतङ्ककारीले ढाल बनाएर ल्याएका एक दुई सर्वसाधारणबाहेक अन्य कोही पनि हताहत हुँदैनन् त्यस एम्बुसबाट । अर्को कुरा अमेरिकी सेनाले राती गस्ती नगर्नु, त्यहाँका इन्जिनियरहरूले आतङ्ककारीलाई उपयुक्त हुने घरको डिजाइन गर्नु, एम्बुस बनाउने कम्पनीले दुई नम्बरी एम्बुस तयार गर्नु जस्ता कुराहरूलाई हेर्दा भित्रभित्रै यिनीहरू पनि अमेरिकी सरकारलाई असफल गराउन लागिपरेका त छैनन् रु जस्तो लाग्छ ।
‘एस्२’ समूहको सैन्य व्यवस्थापन देखेर यो ज्यान तीनछक्क पर्यो । शिशु, सुत्केरी, बृद्ध समेत सबै तालिमप्राप्त, सबै लडाकु १ जन्मिनुअघि पेटमै तालिमप्राप्त शिशुहरूले जन्मिनेबित्तिकै सुतिरहेका निर्दोष जनताका कान र नाकमा सोझै आक्रमण गर्दारहेछन् । शिशुहरूसमेत यसरी युद्धमा लागेको देखेर अमेरिकी राजदूतदेखि झनक्क रिस उठ्यो । नेपालमा बालसैन्य भर्तीको कुरा उठाउने राजदूतले आफ्नो देशमा त्यस्तो उधुम मच्चिदा पनि ‘चुँ’सम्म नगर्नु वास्तवमा लाजमर्दो कुरा हो । आफ्ना आङमा भैंसी नदेख्ने, अर्काका आङको चम्कना देख्ने भनेको यही हो ।

 ०००