अमेरिकी राजधानी : भिखमङ्गाको कहानी

नेपाली विकिपुस्तकबाट, स्वतन्त्र पुस्तकालय
Jump to navigation Jump to search

सेप्टम्बर २६, २००६ को बेलुका ९ बजे फिलाडेल्फियाबाट प्रस्थान गरेको ग्रेहाउन्ड कम्पनीको बस राती १२ बजे वासिङ्गटन् डी.सी. स्थित उसैको आफ्नै बसपार्कमा आएर रोकियो । भोलिपल्ट बिहान ३ बजे मात्र सो बस भर्जिनियाको उडब्रिजतिर लाग्ने भएकाले मैले रातभरि बसकम्पनीकै यात्रीप्रतीक्षालयमा गुजारा गर्नुपर्ने भयो । यसरी अमेरिकाको बसयात्री प्रतीक्षालयमा रात बिताउनु मेरा निम्ति यो पहिलो र अविस्मरणीय घटना हो । दसैंको समय थियो तापनि झन्नै झन्नै खप्नै नसकिने किसिमको ठन्डीको अनुभव गरिरहेको थिएँ म । अधिकांश अमेरिकीहरू ठन्डीप्रेमी हुँदा रहेछन् किनकि त्यसबेलासम्म प्रतीक्षालयलाई उष्ण बनाउने तर्फ उनीहरूले कार्य गरेको पाइएन ।

चौधवटा ट्रान्जिट गेट भएको सो प्रतीक्षालय फिलाडेल्फियाको प्रतीक्षालयभन्दा अझै ठूलो देखिन्थ्यो । मलाई लाग्यो यसको टर्मिनल कक्षमा यात्रीहरूका लागि यथेष्ट सुविधाको प्रबन्ध मिलाइएको छ । वासिङ्गटन डी.सी.लाई चारैतिरबाट जोड्ने भूमिगत रेलमार्गसँग सम्बन्धित ‘युनियन स्टेसन’ नजिकै भएको कारणबाट पनि सो प्रतीक्षालय अत्यन्त व्यस्त रहेको हुनुपर्छ, मेरो विचारमा । रेल स्टेसनमा यात्रीप्रतीक्षालय नहुनाले पनि रातको समयमा बसप्रतीक्षालय खचाखच भएको हुनसक्छ । यसो हुनुको अर्को महत्त्वपूर्ण कारण के पनि देख्न सकिन्छ भने डी.सी. र त्यसको आसपासमा घरभाडा ज्यादै महँगो हुनाले ज्यालादारीमा काम गर्ने अधिकांश मान्छेका लागि भाडा लिएर बस्नु ‘आकाशको फल हुँदो रहेछ; किनभने सामान्य एपार्टमेन्टलाई पनि न्यूनतम मासिक पन्ध्रसय तिर्नुपर्दो रहेछ । त्यसमा पनि एक महिनाको भाडा अग्रिम धरौटीका रूपमा अनिवार्य बुझाउनुपर्ने भएकाले मासिक पन्ध्रसयसम्म मात्र आर्जन गर्नेका लागि दोकानमा खानु र प्रतीक्षालयमा रात कटाउनु बाध्यता नै रहेछ । एकजना ज्यालादारीमा काम गर्ने स्पेनिस केटाबाट थाहा भयो सो कुरा । वातावरण पनि चीसो, बस्ने आराम कुर्सी पनि चीसो भएका कारण मलाई रात काट्न हम्मेहम्मे परेको थियो; त्यसैले सुस्तमनस्थितिको मान्छेझैं घरि बस्तै, घरि उठ्तै, घरि यताउति घुम्दै गरेर नै म आफु अलिक बिसेक भएको अनुभव गर्थें । अर्को कुरा टन्न भात धोक्ने हामी नेपालीलाई जति नै कट्याङ्कुटुङ् खाए पनि, मुखै नबिसाई खाइरहे पनि खाएजस्तो नहुने, पेट खालीको खाली ! त्यसरी पेट खाली भएको थाहा पाएपछि एक्ली सालीलाई नाठो चरित्र भएको भिनाजुले ठ्याम्मै नछाडेजस्तै ग्यासले छाड्दो रहेनछ । त्यसमा पनि चिसोको अलिकति सहयोग पायो कि त चौपट ! बजारमा जरीबुटी बेच्नेले उँभो गानु, उँधो गानु, गोला गानु, सोला गानु भनेर फलाकेभैंm आफुलाई तारन्तार उँधो गानु गएर उखपात ! दोस्रो जनआन्दोलन दबाएझैं दबाउन खोजें । आन्दोलनले झन् उग्ररूप लियो । उग्रवादीहरूले बमद्वारा राजमार्ग फोरेछैं मेरो भुँडी फुट्यो भने मेरा निहुँले छेउछाउका निर्दोष अमेरिकी जनता त मर्ने होइनन् ! आदि इत्यादि तर्कहरू मनको पर्दामा आउन थाले । हुन त अमेरिकामा मान्छेका छेउमा ‘ड्याउ’ गरेर ‘डकार्नु’ र ‘ख्वाक्क’ गरेर ‘खकार्नु’ लाईजस्तो पूर्ण बन्देज ‘उँधो गानुलाई नभएको पाइयो । यसलाई त्यहाँ ‘भ्वाँक्कात्मक’ र ‘फुस्सात्मक’ गरी दुई किसिमले वर्गीकरण गरेको पाइयो । मान्छेकै बीचमा पनि पहिलो किसिमको गानु जान पाउने प्रावधान रहेछ त्यहाँ । साहित्यमा जस्तो यसमा पनि उहिल्यै उत्तरआधुनिकता आइसकेको रहेछ । मानव स्वास्थ्यका निमित्त पनि यस किसिमको प्रक्रियालाई महत्त्वपूर्ण मानिदो रहेछ । तर ‘फुस्सात्मक’ चाहिं मानव अधिकारवादीद्वारा पूर्ण प्रतिबन्धित देखियो । हामी नेपालीहरूको परम्परित संस्कारमा भने ‘पहिलोबाट लाज र डर अनि दोस्रोबाट सबैको नासिकाद्वार बन्द गर’ भन्ने कुरा चलिआएको पाइन्छ । मलाई यही ‘उँधो गानु’ को बिमारले बेलाबेला निकै सकस पाथ्र्यो र अभरै परेपछि सुटुक्क रेस्टरुममा गएर निर्धक्क सो गानुलाई प्रजातान्त्रिक अधिकार दिएर आउँथें । त्यस प्रतीक्षालयमा आएर बसेका र सुतेका केही मान्छेको अवस्था हेर्दा पक्कै पनि तिनीहरू आफ्नो निजी डेरा नभएका मान्छे नै हुनुपर्छ । मेरा आम्ने साम्ने रहेको एउटा कुर्सीमा एउटी युवति मस्तसँग बसेर निदाइ रहेकी थिई झोलामा टाउको अड्याएर । ज्याकेट लगाउँदा पनि मलाई जाडाको अनुभूति भइरहेको थियो । त्यस युवतिका शरीरमा एउटा ब्रेसियर र एउटा कट्टु थियो जसले अत्यन्त शोभा प्रदान गरेको थियो तापनि मेरा नेपाली आँखा लजाउलान् जस्तो गरे, म अलिक पर्तिरको कुर्सीमा गएर बसें । सात समुद्र पारिको बिरानो मुलुक भएर होला मेरो कविता– धरोधर्म बूढो छु भन्ने भएन, गयो जीवनै बैंस जाँदै गएन ले पनि त्यहाँ मलाई केही प्रभाव पार्न सकेन । डलरका छेउमा नेपाली रूपयाँको मूल्य नभएजस्तै मैले आफ्नो यस कवितालाई मूल्यहीन पाएँ । म बसेदेखि दश फिटजति दाहिनेतिर एकजना काला जातिको हेमानको व्यक्ति आराम कुर्सीमा ढल्किएर निदाइरहेको थियो । बसेका र उभिएका व्यक्तिहरूमध्ये दुई, तीन जना खैरे पनि थिए, जसमध्ये एउटी महिला पनि थिई । त्यो महिला उमेरले त्यस्तै उन्नाइस, बीसकी हुँदी हो । ऊ एकएक घण्टामा सिगरेट तान्थी । अमेरिकामा १६ वर्षभन्दा कम उमेरका किशोर किशोरीहरूलाई ध्रुम्रपान गर्न अमेरिकी कानुनले बन्देज लगाएको रहेछ । त्यति मात्र होइन सो उमेरका कसैलाई चुरोट बेचेको पाएमा बेच्ने समेत सजायको भागी बन्ने कानुनले धुम्रपान सेवनलाई न्यूनीकरण गर्न ठूलो मद्दत गरेको रहेछ । यस्तो हुँदाहुँदै पनि त्यहाँका असी प्रतिशत महिला ध्रुम्रपानमा अभ्यस्त रहेको पाइयो । कुर्सीमा निदाइरहेको माथि उल्लिखित अमेरिकीका छेउछाउमा भएका सबै मान्छे बेलाबेला खित्का छोडेर हाँसेको सुनिन्थ्यो र देखिन्थ्यो पनि । त्यसप्रतिको उत्सुकताले मलाई पनि डो¥यायो त्यतैतिर छेउमा गएँ । त्यो मान्छे केही छिन बिसाउँदै घुर्दै गर्दोरहेछ । मजा लाग्यो म पनि हाँस्ने समूहको सदस्य बन्न पुगें ।

नेपालीको घुराइभन्दा नितान्त भिन्न घुराइ भएकाले वास्तवमा त्यो अमेरिकी घुराइ थियो । आफु घुरेको नसुने पनि अरुहरू घुरेको मनग्गे सुनेको छु मैले । तर आजसम्म मैले सुन्दै गरेको घुराइसँग त्यसले अलिकति पनि मेल खाएन । बरु त्यस घुराइले पैंतीस वर्ष अघि कीर्तिपुरमा बी.एड. अध्ययन गर्दाको स्मरण गरायो । त्यसबेला एकजना ब्रिटानी शिक्षकले पढाउँदा भनेका थिएँ, “जहिले पनि शिक्षण ‘सिम्पल टु कम्प्लेक्स’ हुनुपर्छ । यसो भयो भने मात्र यो सरल एवं सम्प्रेषणीय हुन्छ ।” त्यस अमेरिकीको घुराइमा पनि मैले ‘सिम्पल टु कम्प्लेक्स’ नै पाएँ । सारै घत लाग्यो । मनमनै भने, ‘मेरा लागि यो दत्तात्रेय हो – प्रयोगात्मक रूपमा पाठ सिकाउने एउटा असल गुरु’ । सरलताबाट जटिलतातिर गएको त्यसको घुराइलाई मैले तीन तहमा वर्गीकरण गरेर अध्ययन गरें, जस्तै— सरल→जटिल→जटिलतम । उक्त तीन तहमा क्रमशः चितुवा घुराइ→बाघ घुराइ→सिंह घुराइ पाएँ मैले । यो नाटकको सैद्धान्तिक पक्षसँग पनि मिल्यो –आरम्भ→विकास →चरमोत्कर्ष । ध्वनिको हिसाबमा पनि बिस्तारो→सारो →अझ सारो गरी सरलताबाट जटिलतातिरै गएको पाइन्थ्यो भने मात्रागत हिसाबमा पनि स्पष्टतः ह्रस्व→दीर्घ→प्लूत उद्भाषित हुन्थ्यो । त्यसैगरी घुराइलाई वर्गगत आधारमा पनि पहिचान गर्न सकिन्थ्यो निम्न वर्ग→मध्यम वर्ग→पूँजीपति वर्ग । त्यति मात्र होइन उसको सिंह घुराइबाट राष्ट्रपति बुसको उत्तरआधुनिक शक्तिप्रदर्शनको चरमोत्कर्षको अनुमान लगाउन पनि सकिन्थ्यो । त्यस व्यक्तिको घुराइबाट मैले अर्को एउटा ज्ञान पनि पाएँ । चरमोत्कर्षमा पुगेपछि घुराइ स्वतः बन्द हुनु र पुनः आरम्भकै अवस्थामा आउनु प्राकृतिक नियम रहेछ र यो कटुसत्य पनि । चरमोत्कर्षमा पुगेर तल झरेको उसको घुराइले अलिक पर्तिर सेतो घरमा बसेका बुसलाई चाँडै तल झर्ने कुराको सङ्केत गरिरहेको थियो ।

रमितेहरूमध्येको एकजना मान्छे निकै ठट्यौलो स्वभावको थियो । ऊ अत्यन्त फुर्तिलो देखिन्थ्यो । ऊ भिडियो क्यामराद्वारा चारैतिरबाट त्यो घुर्ने मान्छेको चित्र लिन व्यस्त थियो । उसले दर्शक एवं स्रोताका रूपमा रहेका हामी सबैलाई आफ्नो भिडियोमा कैद ग¥यो । भिडियो खिच्ने काम सकिएपछि मैले उसको परिचय लिएँ । ‘ऊ न्युयोर्क टाइम्स्’ को सम्बाददाता रहेछ । अमेरिकाको जाडो र गर्मीलाई पनि डलरकै भाउमा हेर्दा हुने रहेछ । मलाई जाडाले निकै आच्छु आच्छु पारेका अवस्थामा त्यहाँ बसेका अधिकांश अमेरिकी हिउँ खाएर उग्राइरहेका थिए । मैले बैङ्ककबाट अमेरिका उडेपछि पत्ता लगाएको कुरा के हो भने पश्चिमी मुलुकका मान्छेहरू हिउँ भनेपछि हुरुक्कै हुँदारहेछन् । उम्रेदेखि खुम्रेसम्मलाई हिउँ नभई नहुने रहेछ । यतिसम्म थाहा पाइयो कि कफी पनि उनीहरू चीसै खाँदा रहेछन् हिउँ हालेर । हाम्रो देशमा घण्टी बजाउँदै हिउँ बेचिहिंड्ने बिहारीझैं त्यहाँ पनि ट्रकमा अथवा ठेल्ने गाडीमा हिऊँ बेच्दै गाउँ सहर गर्ने प्रसस्त मान्छेहरू हुँदा रहेछन् । हिउँ किन्ने गाहाकी भएका ठाउँमा पुगेपछि तिनीहरूले एकप्रकारको, केटाकेटीलाई मनपर्ने, मीठो धुन बजाउँदा रहेछन् । त्यस्तो धुन कानमा पर्नेबित्तिकै मसिना बालकहरू एक डलर पाऊँ, एक डलर पाऊँ भन्दै आआफ्ना आमा बाबु र अभिभावकसँग डलर माग्दा रहेछन् । कुनै हालतमा पनि नदिएर धर नपाइने, दिनै पर्ने । नदिए उनीहरू रोइदिने । कुनै पुलिसले केटाकेटी रोएको थाहा पाए अभिभावक वा बाबुआमाले जरिमाना तिर्नुपर्ने, त्यो पनि न्यूनतम पचास डलर ! त्यसैले एक डलर सजिलै पाउँछन् केटाकेटीले हिउँ खान । केटाकेटीका निहुँमा घरपरिवारका प्रौढहरू पनि हातमा एक डलर लिएर बाहिर निस्कन्छन् हिउँ खान । अमेरिका पुगेपछि नेपाली पनि अमेरिकीजस्तै हुँदारहेछन् । मेरो नाति अभिषेक हिउँ भनेपछि हुरुक्क हुन्छ । हिउँ बिक्रेताको धुन सुन्नेबित्तिकै उसका हातमा एक डलर नहाले उखपात गरेर कोठै उच्चाल्न खोज्छ रोएर । घरमा दश डलर पर्ने हिउँको बट्टै किनेर राखिदिएको छ तर प्रत्येक दिन एक डलर दिनै पर्छ उसलाई । पुलिसको झमेला खप्नु र डाँड तिर्नुभन्दा दैनिक एक डलर पर सार्नै राम्रो । मेरो निम्न लिखित कवितांशले पनि यसको अलिकति पुष्टि गर्नसक्छ ः

‘न पाइन्छ छोरा र छोरी हकार्न, कडा रे’छ बन्देज स्वास्नी भकुर्न । त्यसैले प्रजातन्त्र एतै रहेछ भनी फर्कि आएँ म आफ्नै स्वदेश ।’

घुराइसम्बन्धी हास्यमेला उठ्नउठ्न लागेपछि म पुनः अघि आफु बसेकै ठाउँमा आएर बसें । प्रतीक्षालयको उपयोग र उपभोग गर्न बानी परेकाहरू बस्ने बित्तिकै ठाडै निदाउँदा रहेछन् आरामदायक ओछ्यानमा सुतेभन्दा मीठो निद्रामा । म आपूmचाहिं त्यो अवसरबाट बञ्चित थिएँ । निदाउन त परै जाओस् उङ्नसम्म पनि मेरो अधिकार र कर्तव्यभन्दा बाहिरको कुरो थियो त्यहाँ । क्याम्डेन र फिलाडेल्फियाका बस प्रतीक्षालयमा जस्तो छ्यास्छ्यास्ती झल्लाहरूको उपस्थिति त्यहाँ देखिएन तापनि मनको एक छेउमा डर अलेलि लुकेर बसेको थियो । म बसेको कुर्सीबाट अन्दाजी दस फुटजति पछाडि चारपाँच जना अमेरिकी कोरली र त्यति नै सङ्ख्यामा बहर, जवान र छक्कडहरू चटारिएको अवस्थामा थिए जुन कुरा अमेरिकीहरूका निम्ति सामान्य ठहर्छ । पुलिङ्गी जनावरहरूको हाउभाउ हेर्दा हान्ने राँगोभैंm देखिन्थ्यो र त्यहाँ प्रसस्त शङ्का, उपशङ्का गर्ने ठाउँ पनि थियो । त्यस प्रतीक्षालयमा ‘टाइम इज मनी’ भनेर त्यसको राम्रो सदुपयोग गर्नेहरूको संख्या पनि कम थिएन तुलनात्मक रूपमा । मेरा बुझाइमा असी प्रतिशत अमेरिकीहरूले समयको महŒवलाई राम्ररी बुझेर सदुपयोग गरेका छन् । त्यस देशका मानिसहरू कति अध्ययनशील रहेछन् भन्ने कुराको ज्वलन्त उदाहरण पनि त्यही प्रतीक्षालयमा पाएँ मैले । एउटी स्पेनिस जस्तै लाग्ने गहुँगोरो वर्णकी अमेरिकी युवति राती १२ बजे म त्यहाँ पुग्दा पनि पढिरहेकी थिई र बिहान ६ बजे म त्यहाँबाट हिंड्दा पनि पढिरहेकी थिई । जहाँको तहीं बसेर एक इन्च पनि नहल्लिइकन घण्टौंसम्म पढ्न सक्नु मेरा लागि सारै ठूलो कुरो थियो । ऊ अत्यन्त गम्भीर देखिन्थी । बेलाबेला पुस्तकबाट केही कुरा टिपेर खातामा सार्दै गरेको पनि देखिन्थ्यो । छेवैमा बसेको मान्छेको सिंह घुराइमा अरुले खित्का छोडेका बेला त्यो पढन्ता मन्दमुस्कानमा हुन्थी । त्यसले उसको गहनतम अध्ययनमा यत्किञ्चित् पनि व्यवधान खडा भएजस्तो लागेन मलाई । नेपाली वा भारतीय विद्यार्थीले परीक्षाको अघिल्लो दिन मात्र यसरी पढ्छन्, किनभने तिनीहरू परीक्षामुखी हुन्छन् । तर अमेरिकीहरूको अध्ययनको मूल प्रयोजन ज्ञानआर्जन, योग्यता प्राप्ति हुँदोरहेछ त्यसैले उनीहरू आफ्नो विषयमा अत्यन्त दक्ष हुँदारहेछन् । आआफ्नो अध्ययनमा तल्लीन अरु दुईवटी युवति पनि थिए त्यहाँ । एउटी मेरो दायाँतिर बीचमा बसेकी थिई भने अर्की मेरो सीधा अगाडि भित्ताकै छेउको कुर्सीमा थिई । दाहिनेतिर बसेकी केटी ठ्याक्कै नेपालीजस्तै थिई –मङ्गोलियनमूलकी नेपालीजस्तै । उसका क्रियाकलापबाट ऊ कोरियाली र चिनियाँमा कुनै एक हुनुपर्छ । अन्दाजी सत्र, अठार वर्षभन्दा बढी उमेर नखाएकी सो युवति एक्लै थिई । तर ऊ नीडर र निर्धक्क देखिन्थी । एउटा सानो चकटीजस्तो वस्तुलाई कुर्सीमाथि ओछ्याएर पढ्न बसेकी सो महिला पालैपालो कहिले पद्मासनमा अनि कहिले वज्रासनमा हुन्थी । ध्यानमग्न भएर पढ्ने त्यस महिलालाईहेर्दा हाल चर्चाको शिखरमा पुगेका योगी रामदेवको प्रभाव त होइन ? जस्तो लाग्यो मलाई । यो कुरा स्वाभाविक पनि थियो; किनभने भर्जिनिया, मेरिल्यान्ड, न्युजर्सी, न्युयोर्क, वासिङ्गटन डी.सी. जस्ता ठाउँमा बस्ने अधिकांश नेपाली र भारतीयका साथै केही काला र गोरा अमेरिकीहरूले पनि आधुनिक पश्चिमी उपचार पद्धतिबाट वाक्क भई रामदेवको योगलाई अपनाउँदै गरेको कुरा सञ्चारमाध्यमबाट थाहा भएको थियो । भित्तामा सटाएर राखेको कुर्सीमा बसेकी युवति चाहिं गोरा जातिकै थिई । मेरा विचारमा ऊ अनुसन्धानमा संलग्न विद्यार्थी हुनुपर्छ; किनभने त्यस प्रतीक्षालयको भित्तामा रहेको बिजुलीको प्लकमा आफ्नो ‘ल्यापटप’ कम्प्युटर जोडेर धमाधम आफ्नो काम गरिरहेकी थिई । बेलाबेला उसले पुस्तकको सहयोग पनि लिने गर्थी । उसका कानमा सानो एयर फोन पनि थियो । यदाकदा कसैसँग कुरा गर्थी र त्यसलाई टाइप पनि गर्थी । सायद ऊ आफ्नो गाइडसँग परामर्श गर्थी र आफ्नो अनुसन्धानात्मक जिज्ञासाको समाधान प्राप्त गर्थी । त्यस प्रतीक्षालयमा मैले देखेका युवतित्रयका अध्ययन–अनुसन्धान सम्बन्धी क्रियाकलापबाट मैले के अनुभव गरें भने अमेरिकीहरू अत्यन्त अध्ययनशील भएकै कारण विज्ञान र प्रविधिको उत्कर्षमा पुगेका हुन् । यसबाट मैले मेरो तलको कवितामा यथार्थता मुखरित भएको पाएँ ः

‘त्यहाँ पढ्दछन् शास्त्रभित्रै डुबेर, कहाँ ज्ञान पाइन्छ पुस्तक सुँघेर । ठगी चीट संसार एतै रहेछ, भनी फर्किआएँ म आफ्नै स्वदेश ।’

अमेरिका विश्वकै धनी देश हो; विश्वका अधिकांश गरीव मुलुकलाई यसले सहयोग गरेको छ; अमेरिकीहरू पनि सबै धनी छन्; उनीहरूलाई सधैं दिइखान मात्र पुगेको छ भन्ने सोचाइले मेरो आँगनमा हुर्किएको नरिवलले जरा गाडेजस्तै जरा गाडेको थियो । तर एकाएक मेरा मनभित्रको रुखको जरालाई पश्चिमी हावाले हल्लाएझैं हल्लाइदिएको हुनाले ‘नमरी स्वर्ग देखिदैन’ भन्ने भनाइले चरितार्थ हुने मौका पायो ।

त्यहाँको रमझम र चहलपहलले भोक र थकाइलाई बिर्सिएकै बेला एकजना अमेरिकीले मेरा अगाडि आएर सोध्यो– ‘माफ गर्नोस्, तपाईं भारतीय हुनुहुन्छ !’

'अहँ, म भारतीय होइन’ ।

'त्यसोभए यहाँ कुन देशसँग सम्बन्धित हुनुहुन्छ त ?’

'म नेपाली हुँ । विश्वको सर्वोच्च शिखर ‘माउन्ट एभरेस्ट’ मेरै देशमा पर्छ’ ।

'यहाँ कहाँबाट आउनुभएको र कता जाँदै हुनुहुन्छ ?’

'न्युजर्सीबाट आएको, भर्जिनियाको उड्ब्रिज जाँदैछु’ ।

'त्यहाँ तपाईंको को छ ?’

'छोरी, ज्वाइँ र नातिहरू’ ।

'धेरैधेरै धन्यवाद, अनि यहाँको शुभनाम जान्न सक्छु ?’

'किन नसक्नु, मलाई पोखरेल के.पी. भन्छन्’ ।

मिस्टर पोखरेल, अब मेरो परिचय सुन्नुहोस् । मेरो नाम जोसेफ एल्डर हो । म पश्चिम भर्जिनियाको पिटर्सवर्ग भन्ने ठाउँमा बस्ने गर्छु । म आफ्नै कामका निम्त्ति डी.सी. आएको थिएँ, तर हिजो मेरो पैसा मात्र होइन मसँग भएको डेविड/क्रेडिट कार्ड समेत हरायो । म बेखर्ची भएँ । मलाई मेरो ठाउँसम्म पुग्न पचास डलर लाग्छ । कृपया मेरालागि तपाईं अलिकति सहयोग गर्न सक्नुहुन्छ ?’

त्यस खाइलाग्दो माग्नेको अन्तिम प्रश्नले मलाई निरुत्तर बनायो । विश्वको सर्वसम्पन्न देशको राजधानीमा पनि माग्ने ! यो प्रश्न मेरा निम्ति अष्टआश्चर्यभन्दा कम भएन ।

त्यो माग्ने हाम्रो छिमेकी देश भारतको विहारी जस्तो थियो । विहारीले अमेरिका पुगेर पनि माग्न छोडेका रहेनछन् जस्तो लाग्यो मनभित्र । म उहिल्यै सुनेको एउटा हाँस उठ्दो किस्साको स्मरण गर्न पुगें —

एकपटक अमेरिकी राष्ट्पतिले भारत भ्रमणको सिलसिलामा पटनाको कुनै उच्चस्तरीय होटलमा एक रात बिताएछन् । भोलिपल्ट प्रातः कालीन रमणीय दृश्य अवलोकन गर्ने क्रममा उनी पुगेछन् गङ्गा किनारमा । त्यहाँ उनले नितान्त अनौठो दृश्य देखेछन् र तीन छक्क परेछन् । बिहानको रमणीय एवं स्वास्थ्यप्रद वातावरणको अनुभव गर्न गएका राष्ट्रपतिलाई गङ्गा किनारैभरि हग्न बसेका बिहारीहरूको चर्तिकला देखेर झनक्क रीस उठेछ र मोवाइलबाट झपार्दै भनेछन् — ‘प्रधानमन्त्रीजी, तपाईंको देशका प्रत्येक मान्छेले एउटा राम्रो कला सिकेको रहेछ । बिहान बिहान पशु हुने र अरुबेला मान्छे हुने । कति राम्रो कला ! यसका लागि यहाँलाई धन्यवाद’ ।

अमेरिकी राष्ट्रपतिको कुरा सुनेर भारतीय प्रधानमन्त्री अवाक भएछन् र मनमनै भनेछन्, ‘लाखेस्’ ।

केही वर्षपछि भारतीय प्रधानमन्त्रीको पालो आएछ अमेरिका घुम्ने । पुरानो इख ताजै लिएर उनी अमेरिका पुगेछन् । पैंचो तिर्नु थियो, उनले पनि नदी किनारकै होटल रोजेछन् बस्न । भोलिपल्ट बिहानै भिडिओ क्यामरा सहित नदी किनार हेर्दै हिंडेछन् । उनका भाग्यले नभन्दै एकजना मान्छे हग्दै गरेको दृष्टिगोचर भएछ । उनका मनमा प्रतिशोधको भावना अत्यन्त प्रबल थियो त्यसैले केही विचारै नगरी भिडिओ क्यामराले फोटो लिई हतारहतार होटलमा फर्किएर राष्ट्रपतिलाई ‘इमरजेन्सी कल’ गरेछन् होटलमा आउन । ‘पाहुनालाई केही आपतबिपत परेछ क्यार’ भनेर ‘ह्वाइटहाउस’बाट तु. राष्ट्रपति त्यहाँ आइपुगेछन् । राष्ट्रपति आइपुग्नासाथ क्यामराको ‘सिन’ देखाउँदै प्रधान मन्त्रीले भनेछन्, ‘हेर्नुहोस् त यो केको चर्तिकला हो ?’

भि.डि.ओ.को सिन हेर्नुअधि अँध्यारो मुख लगाएका राष्ट्रपतिले हेरिसकेपछि खित्का छोडेर हाँसेछन् र भनेछन्, ‘अमेरिकामा आएर पनि आफ्नो संस्कृति नछाड्ने भारतीय राजदूतलाई धन्यवाद अनि त्यस देशको प्रधानमन्त्री तपाईंलाई पनि धन्यवाद ।’

राष्ट्रपतिका हातबाट थुत्त क्यामरा तानेर हेर्दा मात्र थाहा पाएछन् त्यो नदी किनारमा हग्ने आफ्नै देशको राजदूत बिहारीलाल महासेठ पो रहेछ ! अमेरीकाको एकसाताको भ्रमण छोट्याएर प्रधानमन्त्री भोलिपल्टै फर्किएछन् । यति नमीठो चोट अहिलेसम्म कुनै प्रधानमन्त्रीलाई परेको छैन रे ।

अँ माग्ने त्यो व्यक्ति बिहारी जस्तै थियो तर बिहारी नै हो भनेर ठोकुवा गर्न चाहिं मिलेन; किनभने अमेरिकामा अप्रमाणित कुरा बोल्न पाइदैन । बोल्यो भने मानहानीको मुद्दा लाग्नसक्छ । त्यसैले अमेरिकी पुलिसहरू यथातथ्य अनुसन्धान नगरी कसैलाई सोधपुछसम्म गर्दैनन् । अनुसन्धानपछि समातिएकालाई बरु यमराजले छोड्ला पुलिसले छोड्दैन । अमेरिकी पुलिसद्वारा समातिएको व्यक्ति कथं निर्दोष रहेछ भने समात्नेलाई मानहानीको मुद्दा लाग्छ र उसको जागिर सकिन्छ । अमेरिकामा अवैध आप्रवासीहरू धेरै रहनुको एउटा कारण यो पनि हो । उक्त मगन्तेलाई केही दिने र नदिनेको द्वन्द्वमा मुछिएकै बेला मेरो स्मृति मेरा पुराना दुई आत्मीय मित्रतिर दौडियो । त्यस मगन्तेको अनुहारको रङ्ग र मुखबाट आएको गन्धले शिक्षक चन्द्रशेखर बोसको स्मरण गरायो भने उसको बोलाइको ढङ्ग र मुखको गन्धले कवि एवं हास्यव्यङ्ग्यकार विष्णु ‘नवीन’ संझायो । यी दुवैजना पिएपछि अत्यन्त भावुक हुन्थे । चन्द्रशेखर पिएपछि गीता दर्शनकाबारेमा घन्टौ बोलिरहन सक्थे भने विष्णु ‘नवीन’ कवितामै कुरा गर्न मन पराउँथे । चन्द्रशेखरले पिउनका लागि मागेको मलाई थाहा छैन तर विष्णु ‘नवीन’ आफ्ना परिचित सबैसँग निर्धक्क माग्थे । झापाबाट इलाम जाँदैपिच्छे उनलाई पाँच रुपयाँ थमाउनै पथ्र्यो । नदिएर धरै नपाइने । ‘कोमलजी ?’ भनेर परैबाट बोलाएपछि रोकिएर गोजीमा हात हाल्न मेरो बानी परिसकेको थियो । उपर्युक्त दुवैजना मेरा सगोत्री हुन्— एकजना शिक्षक र एकजना कवि तथा हास्यव्यङ्ग्यकार । अहिले यस धर्तीमा उनीहरू नभए पनि स्मरण ताजै छ । त्यो मगन्ते चन्द्रशेखर जस्तै शिक्षक अथवा विष्णु ‘नवीन’ जस्तै कवि पनि हुन सक्छ । त्यसो हो भने मैले केही सहयोग गर्नैपर्छ, मैले अठोट गरें । उसलाई सोधें–

‘तपाईं शिक्षक हो ?’

‘होइन’ ।

‘साहित्यकार हो ?’

‘होइन’ ।

‘कवि हो त ?’

‘त्यो पनि होइन’ ।


‘त्यसो भए के हो त तपाईं ?’

‘म अर्थोक केही नभएर एउटा सामान्य मानिस मात्र हुँ’ ।

त्यस मगन्तेका उपर्युक्त उत्तरहरूबाट ऊ माग्ने पेसामा संलग्न व्यक्ति हो भन्ने कुराको अनुमान गर्न सकिन्थ्यो; तर जे भए पनि ऊ सामान्य माग्ने नभएर ‘वरिष्ठ’ माग्ने थियो मेरा निमित्त; किनभने ऊ चानचुने देशको माग्ने नभएर अमेरिकी माग्ने थियो ।

यहाँ मैले ‘वरिष्ठ’ शब्दको अनिष्ट अर्थ गर्न खोजेको किमार्थ होइन, किनभने नेपाली रुपैयाँका तुलनामा डलरलाई ‘वरिष्ठ’ भन्न सकिएझैं नेपाली माग्नेका तुलनामा त्यो अमेरिकी माग्ने पनि ‘वरिष्ठ’ माग्ने हो भन्न खोजिएको मात्र हो । यस प्रयोगमा जेजस्तो भए पनि हिजोआज हाम्रो देशमा ‘वरिष्ठ’ शब्दको अत्यधिक अवमूल्यन हुने गरेको छ । एफ.एम.हरूको प्रादुर्भावबाट स्वास्थ्य क्षेत्रमा यसको धेरै अवमूल्यन भएको पाइन्छ । भर्खरै एम.बी.बी.एस. गरेर आएको आलो काँचो व्यक्ति होस् या झोला विश्वविद्यालयबाट डी.एच.एम.एस. को डिग्री लिएको होस् फार्मेसीसँग सम्पर्क गरेर एफ.एम. मा विज्ञापन पठाउने वित्तिकै ‘वरिष्ठ’ डक्टरको उपाधि पाउँछ, विशेषज्ञको उपाधि पाउँछ अनि अर्थोक पनि धेरै पाउँछ लाटा सोझा मान्छे भुल्याउने । यसबाहेक साउन भदौको खहरेझैं उर्लने तथाकथित कवि र साहित्यकारहरू पनि यस विशेषणका भोका हुन्छन् । साहित्य गोष्ठीहरूमा उनीहरूलाई यो विशेषण लगाउनै पर्छ नत्र पछि आफैंलाई धोका हुन्छ । त्यसैगरी अन्य सभा समारोहमा पनि ठुटे राजनीति गर्नेलाई, ठुटे नेतालाई, गेसपेपर पढाउने शिक्षक र लेक्चररलाई उनीहरूको नामको अगाडि ‘वरिष्ठ’, यो विशेषण लगाउनै पर्छ । ठुटे पण्डितलाई ‘वरिष्ठ विद्वान्’ भन्नै पर्छ । शास्त्रीसम्म पास नगरेको टपर्टुयाँ छ भने पनि होसियारपूर्वक उसका नामका अगाडि ‘आचार्य’ लगाउनै पर्छ, नत्र गोमन भएर डस्न सक्छ उसले । यसबाहेक पाँचपटकसम्म फेल भएको विद्यार्थीलाई त ‘वरिष्ठ’ मात्र होइन त्यसका पछि ‘होनहार’ ‘कर्णधार’ जस्ता धेरै विशेषण थप्न जान्नुपर्छ उद्घोषकले । अँ भोलि ढुङ्गामुडा खाने विचार भए ती विशेषणहरू नलगाई बोले पनि हुन्छ । हुँदाहुँदा अव त चारवटी स्वास्नी ल्याउनेलाई ‘वरिष्ठ पोइ’ र आफ्ना घरकालाई थपना राखेर अन्यत्र खेलोफड्को गर्नेलाई ‘वरिष्ठ जोई’ भन्नुपर्ने स्थिति आएको छ । यस्ता उदाहरण धेरै छन् । यहाँ लेखाजोखा गरेर साध्य छैन ।

भावातीत ध्यानी भएर मैले सोचें, त्यस माग्नेलाई केही न केही त दिनैपर्छ । ‘मौका आउँछ पर्खदैन त्यसमा चुक्ने महामुर्ख हो’ भन्ने कविताले पनि केही उत्प्रेरणा दियो । मजस्तो सामान्य मान्छेले वासिङ्गटन डी.सी.जस्तो ठाउँमा अमेरिकी मगन्तेलाई केही दिनु साधारण कुरा थिएन । मेरा लागि मात्र नभएर नेपालकै लागि यो गौरवको कुरा थियो । पूँजीपतिले सर्वहारासँग माग्नु, कृष्णजस्ताले सुदामासँग माग्नु, टाटा बिडलाले बनारसको गल्लीमा भीख माग्दै हिड्नेसँग माग्नु र त्यस व्यक्तिले मसँग माग्नु उस्तैउस्तै थियो मेरा लागि । मैले आफैंलाई भने, ‘तेरो देश, जनता र तँ स्वयं पनि सधैं उत्तानो हात पारेर माग्ने काममात्र कति गर्छौ ? कहिले काहिं घोप्टो हात पारेर दिन पनि त जान्नुपर्छ । दे अलिकति भएपनि, देश र जनताको प्रतिनिधित्व गर’ ।

वास्तवमा वर्षौंदेखि उत्तानो हातमा अभ्यस्त मेरो देश अशक्त मानसिकता बोकेको माग्नेझैं निर्निमेष बिदेश र बिदेशीतिर दुवै हात पसारेर लम्पसार थियो । जनताहरू विभिन्न चराचुरुङ्गी र जनावरहरूका स्वरमा ‘मधेस मलाई, पहाड मलाई, हिमाल मलाई, लिम्बुआन मलाई, खम्बुआन मलाई, जात मलाई, भात मलाई, भाषा मलाई, कुर्सी मलाई, बुर्कुसी मलाई, सातु मलाई, सत्ता मलाई’, भनेर आफ्नै देशभित्र आफैंले आफैंसँग मागिरहेको अवस्थामा मैले घोप्टो हात पारेर दिने कामको थालनी गरी यस माग्ने महारोगको थोरै भएपनि उपचार गर्नैपर्छ भनी गोजीबाट एक डलर झिकी त्यस माग्नेलाई थमाएँ । मलाई लाग्यो अमेरिकाले दिने एक वर्षको नेपाली सत्तरी करोड ऋणमध्ये रु ०.००००१% (प्रतिशत) ऋण नेपालीका टाउकाबाट घट्यो । मैले यो कुरा यहाँ उल्लेख गर्नु वर्तमान अमेरिकी राष्ट्रपतिका लागि समेत एउटा ठूलो हाँक हो ।