अमेरिकी बसयात्रा र उदेकलाग्दा कुराहरू

नेपाली विकिपुस्तकबाट, स्वतन्त्र पुस्तकालय
Jump to navigation Jump to search

न्यु जर्सीको ‘बिरचिज एपार्टमेन्ट’ को कोठा नं. ११ ‘डी’ मा बस्नु, सुत्नु मेरा निम्ति पोखराको महेन्द्र गुफाभित्र एक्लै बस्नु र सुत्नुभन्दा कम थिएन । त्यहाँको १५ दिनको बसाइबाट उडब्रिज (भर्जिनिया) फर्कनुपूर्व मेरो अवस्था एउटा बाह्रवर्षे विवाहित नेपाली बालिका जस्तै थियो, जो आफ्नो पतिको घरमा एक वर्ष बिताएर निकै टाढा रहेकी आफ्नी आमालाई भेट्न माइत फर्कन लागिरहेकी छे ।

२६ सेप्टेम्बर, २००६ को बिहान सूर्योदयसँगै म उडब्रिज प्रस्थानका लागि ‘एक्जन ग्यास स्टेसन’ तिर आउँदै थिएँ । मेरा हातमा उही मेरो हाते बाकस मात्र थियो साथीका रूपमा । मेरो ठूलो झोला अघिल्लै दिन बेलुका उक्त स्टेसनमा पुगिसकेको थियो । अनगिन्ती कारहरू ओहरदोहर गर्ने बाटाका एक छेउमा मेरा गोडा हात्ती लम्काइमा थिए भने मेरा आँखा चाहिं सुन्दर वृक्ष र कलात्मक भवनका चारैतर्पm कुदिरहेका थिए । पन्ध्र दिन मात्र त्यस ठाउँमा बसेको भएता पनि म त्यस बाटोबाट निकै पटक ओहरदोहर गरिसकेको थिएँ । बिहानको कठ्याङ्ग्रिने ठन्डी भएपनि सबै रुखबिरुवाले मूक भाषामा कान हल्लाएर मेरो बिदाइ गरिरहेका थिए । अमेरिकीहरूझैं ‘हाई’ र ‘बाई’ मा अभ्यस्त भइसकेका त्यहाँका सडक र दुवै छेउका भवनहरूले पनि आ–आफ्नै किसिमले ‘हाई’, ‘बाई’ गर्दै होलान्, मलाई यस्तो लागिरहेको थियो । जातीय विभेदका दृष्टिले नहेर्ने हो भने त्यहाँको प्राकृतिक सुन्दरता र यहाँको प्राकृतिक सुन्दरतामा केही अन्तर छैन; तर मान्छेमा भएका प्रत्येक आँखाले जातीय विभेद छुट्याउन जानेको हुन्छ । फरक यत्ति छ कि अमेरिकी मान्छेका आँखाले कालो र सेतो मात्र छुट्याउँछ भने नेपाली आँखा धेरै चनाखो छ । यसले एउटै आँखाले चारजात छत्तीस वर्णलाई एकै हेराइमा दुधको दूध, पानीको पानी गरेर खुट्याउन सक्छ । अझ मधेसे, पहाडे, ठाडानाके, थेप्चानाके आदि इत्यादि छुट्याएर चौपट पनि गर्न सक्छ ।

म के के सोच्तै अघि बढिरहेको थिएँ । ‘एग्जन ग्यास स्टेसन’ अगाडि पुगेपछि झल्याँस्स भएँ शल्यक्रिया पछि बौरिएको मदौरुझैं । म पुग्दा मेरा युवा साथी (सानुकाजी सन्जेल) आफ्नो काममा व्यस्त थिए । म पुग्नासाथ उनले अघिल्लै दिन बन्दवस्त गरेको ट्याक्सीको एउटा कम्पनी (एलो क्याब्)मा पुनः फोन सम्पर्क गरे । अघिल्लो दिन ४० डलरमा फिलाडेल्फियासम्मका लागि बन्दवस्त गरी निधो समेत भएको ट्याक्सीले अहिले जाने बेलामा ६० डलरभन्दा कममा नजाने कुरा गर्यो । ‘वाफ रे वाफ अमेरिका !’ मैले टाउकामा हात राखें । ‘ल ठीक छ, ट्याक्सी लिएर आऊ’ भनेर ट्याक्सी बोलाइयो । एकै छिनमा बन्दवस्त गरेको ट्याक्सी त्यहाँ आइपुग्यो । हत्तपत्त गएर ड्राइभरसँग परिचय गरेको त भारतीय पो रहेछ । त्यो पनि बिहारी ! मेरो जिऊ त्यहीं रहे पनि मन भने कहिले जोगवनी–पूर्णियाँ, कहिले पानीट्याङ्की–सिलिगुडी गर्न थाल्यो । बिहार र बङ्गालका कङ्गाल ट्याक्सीवालाले सोझा नेपालीलाई हरेक तरहबाट ठग्ने कोसिस गरेको, पहिला बन्दवस्त गरेरै लगे पनि ओर्लिने बेलामा भाडाका निहुँमा भएभरका ट्याक्सी चालकदेखि रिक्सा चालकसम्म भेला भएर धुतधात गरेको जस्ता घटनाहरू आँखा अगाडि नाचे । मोरा बिहारीहरूले अमेरिकामा पुगेर पनि आफ्नो आनुवंशिक संस्कृति यथावत् राखेकोमा छक्क मात्र होइन तीन छक्क परें । पछि पत्ता लाग्यो अमेरिकामा ७५ प्रतिशत ट्याक्सी चालक भारती, पाकिस्तानी र इरानी रहेछन् ।

जस्तालाई तस्तै गर्नुपर्छ भन्ने कला मैले पनि केही जानेको थियो त्यसैले मैले ट्याक्सी ड्राइभरलाई भने, ‘तीस डालर से अधिक हम नही दे सकेंगे । होगा तो चलिए’ । ऊ रिसाएको भावमा फनक्क गाडी फर्काएर आएतिरै हुँइकियो । ‘हर्स पाइक’ नामको राजमार्गको छेवैमा यो ‘एग्जन ग्यास स्टेसन (सप) छ । यसको पश्चिमतिर एउटा मोटेल छ । त्यो मोटेल पनि एकजना भारतीय अमेरिकीको हो । विशेष गरी यस ठाउँमा जति ‘ग्यास स्टेसन’ छन् ती सबै भारतीय अमेरिकीहरूले सञ्चालन गरेको पाइन्छ । भारतीय अमेरिकीहरूले कम्पनीबाट आवधिक रूपमा लिजमा लिंदा रहेछन् र व्यक्तिगत जस्तो गरी सञ्चालन गर्दा रहेछन् ‘ग्यास स्टेसनहरू’ । माथि भनिएको मोटेल रमेश भासिनको निजी हो । त्यहाँ पुगेदेखि नै रमेशसँग मेरो परिचय भएको हो । उनी निकै असल व्यक्ति लाग्यो मलाई । उनलाई मैले ट्याक्सीवालाको बदमासी सुनाएँ । ‘क्याम्डेनबाट उडब्रिजको बस पाइन्छ । त्यहाँसम्म तपाईंलाई पुर्याइदिने जिम्मा मेरो’, उनले भने ।

रमेशले यति भनेपछि अन्धाले आँखा भेटेभन्दा धेरै खुसी भएँ म । त्यसपछि छोरी कृष्णालाई फोनबाट २७ ता. मात्र उडब्रिज आइपुग्ने कुराको जानकारी दिएँ । ठीक ५ बजे रमेश कार लिएर ग्यास स्टेसन आइपुगे । कारमा सानुकाजी र म चढ्यौं । क्यामडेन आइपुग्न झन्डै २५ मिनट जति लाग्यो । क्याम्डेन ओर्लिएपछि मैले केही गर्नु परेन । टिकट काट्ने काम उनीहरूले नै गरे । क्याम्डेनबाट उड्ब्रिज्को भाडा २६ डलर लिंदो रहेछ । टिकट तीन वटा थियो क्याम्डेन–फिलाडेल्फिया, फिलाडेल्फिया–वासिङ्गटन डी.सी., वासिङ्गटन–उड्ब्रिज् (भर्जिनिया) ।

मलाई बसमा चढाएर मात्र फर्कने सदाशयता सानुकाजी र रमेशले देखाएपछि म निकै ढुक्क भएँ, किनभने अमेरिकाको सर्वथा नयाँ ठाउँमा बस पर्खिएर चढ्न मलाई निकै कठिन पर्नेथियो । क्याम्डेन शहरको त्यो विशाल बस स्टेसन वास्तवमा भारतको निकै ठूलो रेल जक्सन जत्रै थियो । वि.सं. २०१६ सालमा मथुरा जाने क्रममा मैले विहार (भारत) को रेल जक्सन देखेको थिएँँ सर्वप्रथम । त्यसबेला मलाई रेल परिवर्तन गर्न महाभारत भएको थियो । थाइल्याण्डको विशाल हवाइ टर्मिनलको अनुभवले मलाई अमेरिकामा ठूलो सहयोग गर्यो ।

यस बस पार्कमा प्रत्येक तीन मिनेटमा लोकल र एक्स्प्रेस बसहरू आउने–जाने गर्दा रहेछन् । यसले मलाई रमाइलो लागिरहेको थियो भने मनको एक कुनामा अलेली डर र त्रास पनि पलाएको थियो । क्याम्डेन शहर निकै पुरानु र फिलाडेल्फियाको नजिकै भएको कारणबाट होला त्यहाँ लागुपदार्थ सेवन गर्नेहरूको संख्या निकै रहेछ । अधिकांश किशोर, किशोरीहरूले यो व्यवसाय समातेका हुँदा रहेछन् । त्यसमा पनि किशोरीको संख्या अत्यधिक । यिनीहरूले युवा अथवा प्रौढ जोसुकैसँग डलर भएको बुझे भने चिनेभैंm गरी मन्दमुस्कानमा झ्याप्प अँगालो हालेर गाला चुस्न थाले पछि नयाँ नौलो पुरुष ‘वाफरे वाफ’ मा लठ्ठिंदो रहेछ, अनि त्यसैबेला डलर चिलिम ! यो कुरा भर्खर मात्र रमेशले मलाई बताएका थिए । उनले सल्लाह दिंदै अगाडिको गोजीमा दश डलरभन्दा बढी नराख्न र कसैले देख्ने गरी पैसा नझिक्न भनेका थिए । नयाँ मान्छे हो भन्ने थाहा पाए भने जसरी पनि काम तमाम गर्दारहेछन् त्यस खाले मान्छेले ।

भारतको सिलिगुडी, कटिहार, बरुनी आदि ठाउँमा तीर्थयात्रीहरू लुटिएर, चोरिएर धोती न टोपी भएका कथाहरू मेरा स्मृतिपटमा पल्टिंदै गए । नेपालका ठूला शहरहरूमा नेपालीले नै काट्छन् नेपालीका पाकेटहरू, नेपालीद्वारा नै ठगिन्छन् नेपालीहरू । काठमाडौंको पशुपतिनाथको दर्शन गर्ने भक्तहरूलाई समेत छोड्दैनन् त्यहाँका चोर र ठगहरूले । बिचरा बाँदरले त हाकाहाकी खानेकुरा मात्र तान्छ, तर ठग र चोरहरू झुक्याएर ठगी र चोरी कार्य गर्छन् । भारतका पुलिसबाट पनि ठगिन्छन् नेपाली तीर्थ यात्रीहरू ।

आधा घण्टा जति पर्खिएपछि ‘ग्रे हाउन्ड’ कम्पनीको बस आइपुग्यो । यो अमेरिकाको राष्ट्रिय स्तरको विशाल बस कम्पनी रहेछ । यसको सेवा अमेरिकाभरि नै विस्तार भएको रहेछ । अमेरिकाका अधिकांश राज्यमा ‘ग्रे हाउन्ड’ कम्पनीको बस चल्दोरहेछ ।

हतारहतार सन्जेलले मेरो झोला डिकीमा हालिदिए । अमेरिकामा बस स्टेसनमा आइपुग्नासाथ गन्तव्यतिर हिंडिहाल्छ । यहाँभैंm घण्टौ कुर्नु पर्दैन । मैले दुवै साथीसँग हात मिलाएँ । सानु सञ्जेल र मेर।े सूर्यमा म समानता देख्थें, त्यसैले उनीसँग छुट्टिनु पर्दा मेरो गला एकाएक अवरुद्ध भएर आयो । बिछोड्को पीडा बोध गर्दै म गाडीभित्र पसें । गाडी सञ्चालनमै थियो; क्रमशः यसले अग्रगति लियो । बाहिरबाट सानु र रमेश हात हल्लाउँदै थिए । मैले पनि सिटबाट उठेर हात हल्लाएँ, हल्लाइरहें । उनीहरूले देखेदेखेनन् तर निकैबेरसम्म म हात हल्लाइरहेको रहेछु । यहाँ भए गाडीका प्रायः सबै यात्रीले खित्का छोड्थे होला तर धन्न अमेरिकामा थिएँँ । त्यहाँ जसले जे गरे पनि कसैले वास्ता गर्दैन ।

क्याम्डेनबाट फिलाडेल्फिया आइपुग्न १५ मिनिट लाग्यो बसलाई । बसपार्क बाहिर आएर बस रोकियो । अरु यात्रीभैंm म पनि बसबाट ओर्लिएर त्यहाँको ‘गे्र हाउन्ड’ बसपार्कभित्र पसें । यो बसपार्क क्याम्डेनको भन्दा अझ विशाल रहेछ । हवाइ जहाजको भैंm टर्मिनलको व्यवस्थाले भित्र पस्नासाथ अर्कै अनुभूति हुने । गेट् नं. १ देखि १२ सम्म भएको यस बसपार्कमा प्रत्येक गेटबाट तीन तीन मिनटमा बस आउने–जाने गरेको पाइयो ।

अधिकतम तीनवटा ट्रान्जिट (गेट) भएको हाम्रो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवनसँग तुलना गर्न खोज्दा हात्ती र हात्तीछाप चप्पलको संझना आयो । हवाइ यात्रीभैंm यहाँका बसयात्रीले पनि बसपार्क भित्रको काउन्टरमा टिकट लिएर आ–आफ्नो ट्रान्जिट गेटअगाडि यथा समयमा लाम लागेर उभिनु पर्छ । माइकबाट बारंबार गेट नम्बर, बस नम्बर, समय सारिणीको उद्घोष भइरहन्छ । टर्मिनलभित्रै मसिनमा खुद्रा पैसा (क्वाटर डलर) छिराएर आ–आफ्नो इच्छानुसार विविध पेय र खाजासमेत उपलब्ध गर्न सकिन्छ । कक्षको एक कुनामा तातो (चिया, कफी) र खाजा किनिखाने व्यवस्था पनि छ । प्रतीक्षारत यात्रीहरूका लागि बीचमा राखिएका फलामे कुर्सीको व्यवस्थाले त्यस कक्षलाई आधुनिक सुविधासम्पन्न कक्षका रूपमा लिन सकिन्छ ।

६.२५ मा ‘ग्रे हाउन्ड’ बसपार्क पुगेको भएतापनि मैले लगभग चार घण्टा त्यहीं बिताउनु थियो । बसपार्कभित्रको यावत् गतिविधि हेर्दा क्याम्डेनभन्दा अझ खतरा रहेछ त्यो ठाउँ । फिलाडेल्फिया अमेरिकाको एउटा नामी र विशाल सहर मात्र होइन यो पूर्व राजधानी पनि हो । त्यसैले त्यहाँ झल्ला, लफङ्गा र लागुपदार्थ सेवन गर्ने मान्छेहरू (हिप्पीहरू) प्रसस्त पाइँदा रहेछन् । रमेश भासिनको सुझावलाई ध्यानमा राखी म निकै सतर्क भएको थिएँँ । गोरा जातिका अमेरिकीभन्दा कालाजातिका अमेरिकी बढी खतरा हुँदा रहेछन् । अर्धनग्न अवस्थाका किशोरीहरू, युवतिहरू र झ्यापुल्ले, कुन्डले, मुन्द्रे युवकहरू भित्र आउँदै घुम्दै अर्कापटिबाट बाहिर जाँदै फेरि आउँदै गरेको देख्ता पक्कै पनि यिनीहरू सिकारको खोजीमा हुनुपर्छ जस्तो लाग्यो मनमा । म बसुन्जेल त्यहाँ पुलिसको प्रवेश भएको पाइएन तर यदाकदा ‘ग्रे हाउन्ड’ कम्पनीको सुरक्षा गार्ड घुम्दै गरेको पाइन्थ्यो । लगभग दुईघण्टा बितिसकेपछि मलाई एउटा खटपटिले छोयो । त्यो खटपटिको प्रमुख कारण लघुशङ्का थियो । त्यहाँ आउने प्रत्येक यात्री आफ्नो झोला वा सामान साथैमा लिएर रेस्टरुम (ट्वाइलेट) भित्र पस्थे । मसँग ठूलो झोला (ब्याग) थियो । यो मेरा लागि घाँडो भयो । भित्र लिएर जान सकिदैन, बाहिर छोडेर जाँदा एउटाले टिपेर कुदाइ हाल्छ । म परें फसादमा ! अलेलि गर्दै पिसाब रोक्न नसक्ने अवस्थामा पुगें । मेरो संझनामा गतसालको घटना आलो भएर आयो ।

एक वर्षअघि म आफ्नो उपचारका क्रममा काठमाडौंको नर्भिक अस्पताल गएको थिएँँ । मेरा साथीभाइ सबै भन्ने गर्थे समयअनुसार चल्ने अस्पताल चैं नर्भिक मात्र हो । सबैभन्दा जान्ने डाक्टर ‘महप्रसाद’ हुन् भनेर मैले पनि उनैलाई जचाएँ । मेर।े छाती सुम्मुम्याएर उनले ‘अल्ट्रासाउन्ड’ गर्नुपर्छ भन्ने आदेश दिएका थिए । को नि के भएर हो भोलिपल्टै मेरो पालो परेछ । राती १२ बजेदेखि पिसाप नगरी पानी टन्न खाएर आउनु भन्ने उर्दी जारी भएको थियो । समय दिएको थियो भोलिपल्ट बिहान साढेसातको । सात बजे अस्पताल पुग्दा भुँडी फुलिसकेको थियो । पिसाबका साथमा ग्यास पनि थपिएको थियो । बिहान सातबजेदेखि पर्खिएको महप्रसाद डाक्टरको आगमन १२ बजे मात्र भयो । अब एक घण्टा जति अन्तरङ्ग सेवामा, पैंतालीस मिनेट जति गफमा, एक घण्टा जति मभन्दा अगाडिका बिमारीको अल्ट्रासाउन्डमा खर्च भएर बल्लबल्ल दुई पैतालीसमा मेरो पालो आयो । मेरो मूत्रथैली आत्मघातीले पेटमा राखेको पड्किनेअवस्थाको बम जस्तो भएको थियो । मलाईभित्र बोलाइयो र एउटा साँगुरो ओछ्यानमा सुताइयो । एउटी उमेरले छोरी साइनाले बहिनी (सिस्टर) ले भनिन्, ‘ल डाक्टर नआउन्जेल यहीं सुतिरहनू’ । उनले सुताएको लगभग बीस मिनेटपछिमात्र डाक्टर महप्रसादको सवारी भएको थियो । त्यसबेला मेरो चोला उठ्नै लागेको थिएन त ! ठूलो झोला कसैलाई हेर्दै गर्न लगाएर रेस्टरुममा जान पनि आँट आएन; किनभने त्यहाँ आउनेजाने व्यक्तिमा काला अमेरिकीहरूको संख्या अधिक थियो । केही गोरा जातिका यात्रीहरू पनि आउने जाने गर्थे तर झोला रुङ्न लगाएर म भित्र पसेकै बेला उनीहरूले लाममा बस्न जानुपर्ने भयो भने झोला गायव हुन सक्ने डर थियो । नेपालका राई लिम्बू जस्ता देखिने दुइवटी महिला पनि त्यसबेला त्यहाँ आएर बसेका थिएँ । म पनि आफ्नै दिदी बहिनीभैंm लागेर छेउकै कुर्सीमा गएर बसेपछि मात्र थाहा भएको थियो कि तिनीहरू अमेरिकी चिनियाँ रहेछन् । मलाई उनीहरू पराइ हुन् जस्तो लागेन, किन कि उनीहरू हाम्रै छिमेकी देशका बासिन्दा हुनुका साथै एसियावासी पनि थिए । अब मेरो बिमार जाति हुनेभयो भन्दै उनीहरू बसेको छेवैमा मेरो झोला ल्याएँ । एकछिन झोला रुँगिदिनोस्न भन्नलाई ‘आँ’ मात्र के गरेको थिएँँ ‘अट्लान्टिक् सिटी जाने यात्रीहरू ९ नं. गेटमा लाम लाग्ने’ भन्ने सूचना सुन्नेबित्तिकै उनीहरू जुरुक्क उठे र सम्बन्धित गेटतिर लागे । म ‘हस्स बुढी हरिया दाँत’ भएँ । अब यही नाथे झोलाले गर्दा मेरो चोला उठ्ने भयो भन्ने विचार गर्दै थिएँँ ‘ग्रेहाउन्ड बस स्टेसन क्लिनर’ को बिल्ला भिरेको एउटा काला जातिको मान्छेलाई देखें । उसले अलि लामो बिँड भएको (नेपालको पूर्वी पहाडका खेतमा बाहुसे गर्दा लगाउने फ्याउरी जस्तै) बुरुस हातमा लिएको थियो । हाम्रो देशमा भए पाइखाना सफा गर्ने व्यक्तिलाई अर्कै दृृष्टिले हेरिन सक्छ तर अमेरिकामा त एउटा अफिसर र ट्वाइलेट क्लिनरको मान्यताक्रम समान देखिन्छ । म जुरुक्क उठें र भने, ‘उड यु माइन्ड लुकिङ्ग दिस् ब्याग् फर् अ फिउ मिनिट्स्, प्लिज ?’ ‘य, वट् नट् मोर द्यान् थ्रि मिनिट्स्’, उसले उत्तर दियो ।

झोला उसका जिम्मा लगाएँ, हाते बाकस च्यापें अनि हत्त न पत्त पसें रेस्टरुमभित्र । नभन्दै तीन मिनिट नपुग्दै आफ्नो काम सकी बाहिरिएँ ।

‘गुड्’, क्लिनरले भन्यो ।

‘थ्याङ्क्यु वेरि मच्’, मैले भने ।

उसले पुनः थप्यो, ‘नो प्रोब्लम्’ ।

म पुनः अघि आपूm बसेकै ठाउँमा गएर बसें । केहीबेरमा एक जना उमेरले लगभग सत्तरी पार गरिसकेका गहुँगोरो देखिने अमेरिकी मेरो अगाडि रहेको सिटमा आएर बसे । उनले एउटा झोला भिरेको थियो र हातमा एउटा निकै मोटो पुस्तक बोकेको थियो । बस्नेबित्तिकै कतै नहेरी पुस्तकमै तल्लीन भए उनी । एक पन्ना पढिसकेपछि उनको दृष्टि मेरा अनुहारमा प¥यो “आर यु इन्डियन ?” उनले सोधे ।

“नो सर, आइम नट् यन्डियन, आइम नेपाली,” मैले भने ।

उनको अनुहारमा अस्पष्टताका भावरेखाहरू तरङ्गित भएको अनुभव गर्दै मैले थपें, “नेपाल स्ट्यान्ड्स् बिट्विन् चाइना एन्ड इन्डिया, इट् इज् द कन्ट्रि अफ ‘माउन्ट एभरेस्ट’ ।”

मेरो कुरा सुनेपछि अत्यन्त उत्सुकतापूर्वक जुरुक्क उठेर उनले मसँग हात मिलाए ।

“यहाँको परिचय ?”

“म पूर्वी नेपालको एउटा हाई स्कूलको निवृत्त हेड टिचर हुँ र क्याम्पसको कार्यरत प्राध्यापक पनि ।”

उनले अझ उत्सुक हुँदै सोधे “तपाईँको पढाउने विषय ?”

“नेपाली भाषा”, मैले भने ।

“म पनि निवृत्त प्राध्यापक हुँ । म फिलाडेल्फिया विश्वविद्यालयमा अंगेजी भाषा पढाउँथे”, उनले भने ।

मैले फेरि नेपाली तरिकाले उनको अभिवादन गरें ।

अमेरिकामा शिक्षण कार्य गर्ने र प्राध्यापन कार्य गर्ने सबैलाई अत्यन्त मर्यादित र सम्मानित व्यक्तित्वका रूपमा हेरिंदो रहेछ, त्यसैले उनले पनि मलाई आपूmजस्तै ठानेर सम्मान प्रकट गरे ।

उनीबाट मैले मनग्गे कुरा थाहा पाउने मौका पाएँ त्यस बसाइमा । अमेरिकाका शिक्षक र प्राध्यापकहरूलाई पार्टी र नेताको भूत कहिल्यै सवार हुँदो रहेनछ । उनीहरू स्वतन्त्र हुँदा रहेछन् । सरुवा, घटुवा, खोसुवा जस्ता रोगबाट उनीहरू मुक्त रहेछन् । त्यहाँ योग्य, सक्षम, अनुभवी र अनुसन्धानरत व्यक्तिले मात्र माथिल्लो श्रेणीमा बढुवा पाउँदो रहेछ । सम्बन्धित विषय वा पदका लागि तत्सम्बन्धी योग्य एवं सक्षम व्यक्तिको छनोट हुँदोरहेछ । कुनै पनि विश्वविद्यालय वा प्राज्ञिक संस्थाहरूमा अप्राज्ञिक व्यक्तिहरूको संलग्नता पटक्कै नहुँदो रहेछ त्यहाँ । त्यसो त त्यहाँका प्राध्यापकहरू पनि आफ्नो विषयमा अत्यन्त दक्ष एवं योग्य हुँदा रहेछन् । विश्वविद्यालय वा सो अन्तर्गतका क्याम्पसहरूमा कार्यरत प्राध्यापकले प्रतिवर्ष (अनिवार्यतः) न्यूनतम दुईवटा अनुसन्धानात्मक लेख (सम्बन्धित विषयमा) प्रकाशित गर्नुपर्दो रहेछ । तीस वर्ष अघिको नोट र गेसपेपरका भरमा प्राध्यापकले किमार्थ विद्यार्थी ठग्न पाउँदो रहेनछ ।

मेरो नाम र ठेगाना सोधेर ती प्राध्यापकले आफ्नो डायरीमा टिपे । मैले पनि उनको नाम र ठेगाना सोधेर मेरो सानो कापीमा टिपें । उनी न्यूजर्सी टन्र्भिलका बासिन्दा रहेछन् । उनको नाम ह्यारिस आर. रहेछ । कुराको क्रममा उनले एभरेस्ट चुम्ने ठूलो इच्छा हुँदाहुँदै पनि आपूm त्यहाँ पुग्न नपाएको र आफ्नो सदिच्छा अधुरै रहेकोमा निकै दुखमनाउ प्रकट गरे । उनले एभरेस्टबारे राखेका केही जिज्ञासाहरूलाई मैले जानेबुझेसम्म समाधान गर्ने कोसिस गरें । उनले आत्मसन्तुष्टिको भाव प्रकट गर्दै भने, “संसारको सबभन्दा अग्लो चुचुरो भएको देशमा बस्ने व्यक्तिले विश्वकै सम्पन्न र शक्तिशाली देशको भ्रमण गर्नु प्रशंसनीय काम हो । यहाँलाई मेरो तर्पmबाट र तमाम अमेरिकावासीका तर्पmबाट धन्यवाद छ, बधाइ छ” । धन्यवादका लागि मैले उनीप्रति आभार प्रकट गर्दै भनें, ‘यहाँजस्ता प्राज्ञिक व्यक्तित्वलाई “माउन्ट एभरेस्ट’का बारेमा, विशेष गरी मेरो देश ‘नेपाल’का बारेमा अमेरिका आएर पहिलो पटक बताउन पाएँ । यो मेरो अहोभाग्य हो । नेपाल फर्किएपछि आफ्ना साथीभाइहरूलाई सर्वप्रथम यही भेटका बारेमा सुनाउने छु ।’

यसपछि उनले मेरो भिडियो चित्र खिचे । सिनेमामा भएको चटके मित्रताजस्तै एकैछिनमा एक अमेरिकी प्राध्यापकसँग यसरी अपनत्वको भाव उर्लिनु इलाम तोरीबारीको सामान्य परिवारमा जन्मिएर झापाको एउटा देहातमा शिक्षण पेसा गर्ने मजस्तो व्यक्तिका लागि निकै महŒवपूर्ण कुरा भएको छ मेरा जीवनमा ।

उनको बसको समय भएछ । अङ्कमालपछि उनी ५ नं. गेटतिर लागे । अमेरिकाको राष्टपतिभन्दा पनि बढी सम्मानित र मर्यादित व्यक्तिलाई भेटेर यसरी हार्दिकता साटासाट गर्न पाएको यो क्षण मेरालागि अविस्मरणीय रहनेछ ।

घडीहेर्दा त्यसबेला ९ बज्न लागेको थियो । मैले आफ्नो टिकटतिर दृष्टि दिएँ । यसमा वासिङ्टन डी.सी. प्रस्थान गर्ने समय १०.१५ लेखिएको रहेछ । यस हिसाबमा मैले अभैm सवा घण्टा यही स्टेसनमा कुर्नुपर्ने हुन्छ । आठ नम्बर गेट अगाडि ८.३० देखि नै अलेलि गर्दै मान्छे लाम लाग्दै आएर अहिले टन्न भरिएका छन् । मेरो मनमा शङ्का पलायो, किनभने डी.सी. प्रस्थान गर्ने बस ८ नं. गेटमा लाग्छ भन्ने कुरा मैले थाहा पाइसकेको थिएँँ । परदेशको कुरा के कसो हो भनेर अलिक पर काउन्टरमा गएर मान्छेको लामतिर देखाउँदै सोधें —

“ह्वेयरा दे गोइङ्ग ?”

‘डी.सी’, काउन्टरमा बस्ने केटीले भनी ।

“उड् यु माइन्ड् टेलिङ् मी द राइट् टाइम् फर् दिस् टिकिट् ?” टिकट देखाउँदै मैले भने ।

‘य, प्लिज, फलो द लाइन’, कम्प्युटर हेरेर गोरीले भनी ।

म हतारहतार लाममा उभिएँ ठूलो झोला घिसार्दै । एकछिन ढिलो भएको भए म छुट्ने थिएँँ होला । ‘अमेरिकाजस्तो ठाउँमा पनि किन यस्तो भएको होला !’ मैले आफ्नै मनसँग सोधें । एकैछिनमा मेरो पालो आयो । म गेटबाट बाहिरिएँ । त्यहाँ एकजना टिकट कलेक्टर उभिएको रहेछ । मैले उसलाई टिकट दिएँ । एकप्रति च्यातेर उसले राख्यो र दुई प्रति मलाई नै दियो र ऊ त्यो गाडीमा गएर बस भन्यो । उसले देखाएको ‘ग्रे हाउन्ड’ कम्पनीको गाडीतिर गएँ, ठूलो झोला डिकीमा राखें र हाते बाकसका साथ गाडीमा चढें । यो गाडी अत्यन्त सुविधा सम्पन्न थियो तापनि चढ्दै गर्दा मन अलिक खिन्न भयो, किनभने यसको अगाडि ‘लोकल’ लेखिएको बोर्ड झुन्ड्याइएको थियो । फिलाडेल्फियाबाट डी.सी. पुग्न ६०÷६५ माइल प्रतिघन्टाको गतिमा गुड्ने गाडीलाई ३ घण्टा लाग्छ भन्ने कुरा मैले न्यू जर्सी जाँदा थाहा पाइसकेको थिएँँ । लोकल गाडीमा ३ घण्टाको ठाउँमा ५ घण्टा त लाग्ने नै भयो भन्ने लाग्यो । नेपालमा चल्ने बसहरूको चर्तिकला झलझलाकार भएर आयो । ‘नन् स्टप’ लेखिएका बसहरू ‘झन् स्टप’ हुनेगरेको, बस स्टपमा मात्र होइन यात्रीहरूको संख्या कम भएका बेला घरघर रोकिने गरेको, यात्रीहरू खचाखच भएका मौकामा (विशेष गरी दशैंमा) रोकिनुपर्ने ठाउँमा पनि नरोकिई यात्रीलाई अलपत्र पार्ने गरेको जस्ता कुराहरूले एकछिन सम्म मलाई मूक यात्री बनायो ।

कुनै बेला बिजुलीको महासागरभित्र, कुनै बेला सुरुङ्गको अर्ध अन्धकारभित्र, कुनै बेला नागवेली पुलमाथि हुँदै बस ९५ महाराजमार्गमा प्रवेश ग¥यो र बेरोकटोक ६५ को गतिमा हुइँकियो डी.सी.तिर । बीचमा बाल्टिमोर भन्ने अत्यन्त रमणीय ठाउँमा एक पटक रोकिएर ठीक १२ बजे राती यो वासिङ्गटन डी.सी.को ‘ग्रे हाउन्ड बस स्टेसन’ मा आइपुग्यो । मैले मनमनै भने, ‘धन्य अमेरिकी लोकल बस !’