अमेरिका, चुनाबी संस्कृति, वास्तविक अनुभूति

नेपाली विकिपुस्तकबाट, स्वतन्त्र पुस्तकालय
Jump to navigation Jump to search

अमेरिका, चुनाबी संस्कृति, वास्तविक अनुभूति[सम्पादन]

सानै उमेरदेखि राजनीतिपटि आफ्नो झुकाव रहेन । अलेली पढेपछि पढ्दै पढाउँदै गर्न थालेको हुनाले होला त्यतै रस भिजेछस शिक्षक भइयो । चुनावी आमसभाहरूमा भाग लिन भातपानी मात्र होइन ज्यानै फाल्न खोज्छन् मान्छेहरू, तर आफूलाई पटक्कै जाँगर चल्दैन । अँ भोट चैं खसालिन्छ । त्यो पनि सामान्य अवस्थामा मतदान भएको बेला मात्र । यो आफ्नो नानीदेखिको बानी हो ।
अमेरिका गएका बेला संयोगवश त्यहाँको मध्यावधि चुनाव परेछ । त्यहाँ चाहिं मेरो चुनावसम्बन्धी धारणाको पारो ह्वात्तै माथि पुग्यो, नेपालमा सुनको भाउ चुलीमा पुगेझैं । खोइ किन यस्तो भयो मजस्तो आफ्नै देशको चुनावमा नाक लाग्ने मान्छेलाई । निकै दिन गम्दा सानोतिनो रहस्य पत्ता लाग्यो । हाम्रो देशको चुनाव नाकै दुलो पर्नेगरी गनाउँछ । वाग्मती र विष्णुमतीको पानीले छेवै भेट्तैन चुनावलाई । तर अमेरिकामा चुनाव मगमगाउँछ पारिजातको मनमोहक सुगन्ध फैलाएर । बास्नाबाट नलोभिने को छ र संसारमा, म लोभिएँ । त्यहाँको चुनावका लागि म भ्रमरो भएँ । एउटै वस्तु यहाँ गनाउने र अमेरिकामा बास्ना आउने १ यस्ता कुरामा म अलिक गम्भीर भएँ । स्पष्ट हुन अधि बढें ।
पत्रपत्रिका, रेडियो, टेलिभिजन, इन्टरनेट र त्यहाँ धेरै वर्षदेखि बस्दै आएका अनुभवी नेपालीहरू मेरा जिज्ञासाका स्रोत बने । यी स्रोतहरूबाट अमेरिकी मध्यावधि चुनावको बाह्रखरीमा प्रवेश गर्ने अवसर प्राप्त भयो । म २००६ को मध्यावधि चुनावको कुरा गर्दैछु । त्यस चुनावमा तल्लो सदन (हाउस अफ रिप्रिजेन्टेटिव) को सबै पद (सिट) र सिनेटको एक तिहाइ पदमा प्रतिस्पर्धा हुँदै थियो । प्रस्तुत चुनाव राष्ट्रपतिको चारवर्षे कार्यकालका बीचमा हुने चुनाव होस त्यसकारण नै त्यसलाई मध्यावधि चुनाव भनिन्छ भन्ने कुरा थाहा भयो । मतदान अमेरिकी कांग्रेसका उपर्युक्त दुवै सदन अर्थात् प्रतिनिधि सभा र सिनेटका लागि हुँदै थियो । ४३५ सदस्यीय प्रतिनिधि सभाका सबै सदस्यले प्रत्येक दुई वर्षमा मतदाताको सामना गर्दारहेछन् भने १०० सदस्य भएको सिनेटमा चाहिं सो अवधिमा एक तिहाइ (३३) पदका लागि मात्र प्रतिस्पर्धा हुँदो रहेछ । अमेरिकी कांग्रेसका दुवै सदनमा प्रतिनिधि सभा निकै ठूलो छ । यसमा सिटको संख्या धेरै भएको हुनाले जनताको प्रतिनिधित्व पनि अधिक हुन्छ, त्यसैले जनताको विचार चाँडोचाँडो थाहा पाउनका लागि प्रत्येक दुई वर्षमा प्रतिनिधि सभा सदस्यले जनताकाबीच जानुपर्छ तर माथिल्लो सदनका सिनेटरको कार्यकाल ६ वर्षको भएकाले प्रत्येक दुई वर्षमा यसका एक तिहाइ सदस्यले मात्र चुनावको सामना गर्नुपर्ने रहेछ भन्ने कुरा थाहा भयो ।
काँग्रेसको नियन्त्रणका निमित्त ‘रिपब्लिकन’ र ‘डेमोक्रेटिक’ नामका दुई पार्टीका बीचमा मात्र चुनावी प्रतिस्पर्धा हुँदो रहेछ । सिनेटमा केही समयका लागि ‘डेमोक्रेटिक’ पार्टीको बहुमतलाई छोडेर १९९४ देखि (अमेरिकी) काँग्रेसमा ‘रिपब्लिकन’ पार्टीको वर्चस्व रहेको पाइयो ।
त्यत्रो विशाल महादेशका त्यतिबिघ्न मान्छे मात्र दुईवटा दलभित्र अटाउनु मेरा निम्ति, म एउटा नेपालीका निम्ति ठूलै आश्चर्य मान्नुपर्ने कुरा थियो । मैले विश्वको मानचित्र पल्टाएँ । त्यहाँ नेपाल खोज्न मलाई निकैबेर लाग्योस मैले मनमै भने, ‘वास्तवमा नेपाल सानै रहेछ ।’ अमेरिका हेरें, मात्र पचास राज्य भएको महादेश रहेछ त्यो, मात्र दुई पार्टी भएको महादेश रहेछ त्यो । विश्व मानचित्रमा एउटा सानो बिन्दु देखिने नेपालमा सयभन्दा बढी पार्टी ! म झन् छक्क परें । कसरी अटाएका छन् त्यत्रा विघ्न दल ! कल्पना अझ घनीभूत भयो । दलैदल, बदलैबदल, नेताहरू र तिनका फोहोरी खेल ! कसरी वहन गर्छ मेरो सानो देश ! कसरी अघि बढ्छ मेरो सानो नेपाल ! अहँ, यसको प्रगति असम्भव छ, किनभने दलको डङगुरभित्र थिचिएको मेरो देश, मलभित्र निस्सास्सिएको मेरो देश, जसको प्रगति र अग्रगति कल्पनातीत छस म चित्त बुझाँउछु । मैले ‘चुनाव’लाई एउटा ‘फोहोरी खेल’ का रूपमा परिभाषित गरेको थिएँ । चुनावमा स्वस्थ र स्वच्छ प्रतिस्पर्धा हुन्छ, यो मेरा मन मस्तिष्कमै थिएन । त्यसैले म चुनाव भनेपछि बाह्र हात पर बस्ने मान्छे हुँस तर त्यहाँ गएर चुनावको गतिविधि हेर्दा यो आफैंमा खराब होइन रहेछस राजनीति स्वयंमा फोहोरी खेल होइन रहेछ भन्ने लाग्यो ।
चुनाव हुनुअघि त्यहाँ पनि यसको प्रचारप्रसार हुन्छ तर एकदम बास्नादार प्रचारप्रसार, स्वच्छ प्रचारप्रसार । न नारा, न जुलुसस न गाली, न गलौजस कुनै कुरा देख्न पाइदैन त्यहाँ । चुनाव आयो भनेपछि कुनै व्यापारी, उद्योगपति, किसान कसैले पनि डराउनु पर्दैन । ‘चन्दा आतङ्क’ भन्ने शब्दनै छैन त्यहाँको शब्दकोशमा । यो मैले त्यहाँ थाहापाएको कुरा हो, यो मैले त्यहाँ बुझेको कुरा हो ।
अमेरिकाको चुनाव प्रचार गर्ने तरिका वैज्ञानिक रहेछ, अनि उत्कृष्ट पनि । रेडियो, टेलिभिजन, इन्टरनेट, पत्रपत्रिका जस्ता कुराहरू त्यहाँका चुनाव प्रचारका साधन रहेछन् । यीबाहेक प्रत्येक गाउँ, टोलमा बनेका चुनावप्रचार समितिहरू पनि साधनकै रूपमा परिचालित भएको पाइयो । गाउँ, टोलका प्रचारप्रसार समितिहरूले आआफ्ना गाउँ, टोलका मतदाताहरूलाई व्यक्तिगत रूपमा हुलाकबाट चिठी पठाउँदारहेछन् । ‘हाम्रो फलानो पार्टीको उमेदवार फलानालाई विजयी बनाउन सहयोग गरौंस सकिन्छ भने चुनाव प्रचारका निमित्त दशदेखि पचास डलरसम्म सहयोग पनि गरौं’ भन्ने कुरा पत्रमा लेखेको देखियो । उमेदवारले मतदातालाई पैसा दिएर भोट खरिद गर्ने ठाउँको मान्छेले ठीक विपरीत प्रक्रिया देखेपछि छक्क नपर्ने कुरै थिएन । त्यहाँ असल उमेदवारलाई मतदाताले जिताउँदा रहेछन्स तर हाम्रोमा असलले हार्छ, धनीले जित्छ ।
चुनावमा उमेदवारको प्रचार–प्रसार गर्ने दोस्रो तरिकामा ‘परिचय पुस्तिका’ रहेको पाइयो । सो पुस्तिकामा फोटो सहित उमेदवारको परिचय र उसले विगतमा गरेका समाजोपयोगी कार्यहरूको विवरण अभिटङ्कन गरिएको हुँदोरहेछ । सो ‘परिचय पुस्तिका’ सोझै मतदाताको हातमा नदिएर डिपार्टमेन्टल स्टोर, ग्यास स्टेसन, सेवन इलेभन, होटल, स्कूल, लाइब्रेरी आदिमा सम्बन्धित कामकै निमित्त निर्मित घर्रामा राखिंदो रहेछ । चुनावमा चाख राख्ने जो कोहीले सो पुस्तिका लगेर हेर्ने, पढ्ने काम गर्दा रहेछन् ।
अर्को माध्यम रेडियो र टेलिभिजन, जहाँबाट दुवै पार्टीका उमेदवारले पालैपालो जनतासमक्ष आआफ्ना कुरा राख्छन् र राखेको पनि सुनियो, देखियो । उमेदवारले आफ्ना मतदाता समक्ष कुरा राख्दा भावी योजनाका कुरा होइन विगतमा आफूले जनता र देशका लागि गरेका योगदानको कुरा बढी राख्छन् । उसले जितेपछि गरेका कार्यहरूको उल्लेख चाहिं अर्को चुनावमा गरिने रहेछ । वर्तमान समयको सबैभन्दा सजिलो र सबै मतदाताले प्राप्त गर्ने प्रचार साधन वेबसाइट भनिदो रहेछ ।
उपर्उल्लिखित ‘परिचय पुस्तिका’ लाई वेबसाइटमा हालेर प्रेषण गरेपछि प्रत्येक मतदाताले घरैमा बसीबसी इन्टरनेट मार्फत् उमेदवारको परिचय प्राप्त गर्ने यस किसिमको व्यवस्था ज्यादै सुन्दर लाग्योस तर दिनको ५र५ घण्टा मात्र बिजुली आउने हाम्रोजस्तो देशमा विद्युतीय सञ्चार माध्यम भालुको कन्पट हुनेरहेछ ।
उपर्युक्तबाहेक अर्को तरिका पनि रहेछ चुनाव प्रचारको । त्यो हो मतदान हुनुभन्दा दुई दिन अघि मात्र उमेदवारको चिन्ह अङ्कित ध्वजालाई काठका ससाना कप्टेरामा च्यापेर राजमार्ग अथवा सडकको दुवै किनारमा गाडने कार्य । एकापटिको किनारामा एउटा पार्टीको उमेदवारले र अर्कापटिको किनारामा अर्का पार्टीको उमेदवारले ध्वजा गाड्ने काम गरेको पाइयो । मतदानको भोलिपल्ट सबेरै आआफ्ना उमेदवारका ध्वजा सम्बन्धित कार्यकर्ताले उखेलेर लैजाँदा रहेछन् । कति राम्रो बानी, कति राम्रो व्यहोरा ।
अमेरिकाको चुनाव प्रचारको प्रशंसनीय शैली देखेर मलाई वेदव्यासको एउटा कथनको स्मरण भयो । व्यासले आफ्नो कथनमा भनेका छन् “गोकर्णो पण्डितो ज्ञानी धुन्धुकारी महाखलः ।” यस कथनमा ढालेर मैले त्यहाँको चुनावलाई हेरें । मलाई लाग्यो वास्तवमा अमेरिकाका उमेदवार, उनीहरूका कार्यकर्ता र जनता गोकर्ण हुन् । हारेर पनि जिते सरह देखिने त्यहाँका उमेदवार र तिनका कार्यकर्ता महान् हुन् र अनुकरणीय पनि । कोठाभित्र, हलभित्र, अफिसभित्र विजयोत्सव मनाउने त्यहाँका विजयी उमेदवार र टेलिभिजनको पर्दा अगाडि बसेर उत्सवमा सहभागी हुने त्यहाँका मतदाता कति शिक्षित र कति सचेत छन् भनेर साध्य छैन । त्यहाँका जनता भरसक राजनीतिमा भागै लिंदैनन्स लिइहाले भने पनि क्रुद्ध बनेर होइन बुद्ध बनेर लिन्छन्, शुद्ध बनेर लिन्छन् । यहाँछैं स्यालको हुइयाँका पछि लाग्दैनन् त्यहाँका सचेत जनताहरू । त्यहाँको स्वस्थ प्रतिस्पर्धा हेर्दा वास्तविक प्रजातन्त्र त्यहीं पो छ कि जस्तो अनुभूत गरें मैले । त्यहाँको राजनीति सारै मन पर्यो र मैले त्यसलाई बास्नादार चीज भनेको हुँ ।
७ नोभेम्बर २००६ को प्रातः ६ बजेदेखि बेलुका ७ सम्म अमेरिकी मध्यावधि चुनाव हुँदैछ भन्ने थाहा पाएपछि म त्यहाँको मतदान अवलोकन गर्न अत्यन्त लालायित भएँ । मेरो अभीष्ट पूरा हुने, नहुने गोपी ज्वाईँका हातमा थियो । किनभने उडब्रिज ९भर्जिनिया० का मतदान केन्द्रमा पैदल हिडेर पुग्ने अवस्था थिएन र बसमा जान आउन पनि रुट नमिल्ने हुन सक्थ्यो ।
बिहान १० बजेतिर हामी डेराबाट निस्कियौं र त्यहाँका डिपार्टमेन्टल स्टोरतिर लाग्यौं । पालैपालो ३र४ वटा ठूला बजार चाहार्यौं । त्यसो गर्नुको प्रमुख उद्देश्य ती बजारहरूमा उपभोक्ताको चहलपहल दृष्टिगत गर्नु थियो । चुनाव अघिको चहलपहल र चुनावका दिनको चहलपहलमा तुलना गर्नु थियो । अमेरिकाका ख्यातिप्राप्त मल, वालमार्ट, साम्सक्लब, पिबल्सजस्ता विशाल बजारहरूमा यसअघि धेरै पटक घुम्न र किनमेल गर्न गोपीजीका साथ लागेर गइसकेको थिएँ । म जतिचोटि त्यहाँ पुगें, उपभोक्ताहरूको घुँइचो एकै अनुपातमा पाएँ । चुनावका दिन पक्कै पनि सधैंझैं चहलपहल हुदैन लागेर त्यसको निक्र्यौल गर्नु थियो, तर मेरो अनुमान९गेस०ले पूर्णतः फेल खायो । गेसपेपर पढेर जाँच दिने नेपाली विद्यार्थी भएँ म । किनभने त्यहाँ चुनावका दिन पनि चहलपहल यथावत् थियो, अलिकति पनि कमबेस थिएन । आश्चर्य मान्दै मैले गोपीजीलाई प्रश्न गरें, “हाम्रो देशमा त चुनावको दिन बजारै लाग्दैन, दोकानै बन्द हुन्छन् । दोकानेहरू पनि मतदातालाई ओगट्तै हुन्छन् बूढो गोरुले गाई ओगटे जस्तै । कुनैकुनैले त आफ्नो दोकानै मतदान केन्द्रतिर सार्छन् पहाडमा गाईवस्तुको थलो सारेजस्तो । अरुदिन मरिकुस्तै ठग्ने दोकानेहरू त्यस दिन त्यसै दिउँलाझैं गर्दै आफ्नो पार्टीलाई भोट माग्छन् । आफ्नो पार्टी नहुनेले आफन्तलाई भए पनि माग्छन् माग्छन् । तर यहाँ त न कसैका मुखबाट चुनावको कुरा सुनिन्छ, न उमेदवारको कुरा सुनिन्छ, न त पार्टीकै कुरा सुनिन्छ । अमेरिकामा सधैं यस्तै हो ?”
“बुबा, यो त गरिखाने ठाउँ हो । राजनीति गर्ने, फोकटमा गफ चुट्ने, आफ्ना हाँडीमा अरुका मकै भुट्ने र भोट हाल्न जाने यहाँ कसलाई फुर्सद ! पच्चीस प्रतिशत पुगिसरी आउनेलाई अलेली चासो होला चुनावकोस अरुलाई वास्तै छैन । जसलाई चासो छ ती जान्छन्, भोट दिन्छन्, फर्किन्छन् । उहाँ जस्तो बेकामे मान्छे पाउन निकै मुस्किल पर्छ यहाँ । छुट्टीका दिन चुनाव परे पनि भोट दिन जादैनन्, बरु नयाँ ठाउँ घुम्न जान्छन् र रामरौस गरेर फर्किन्छन् । म पनि झन्नै पो त्यस्तै त्यस्तै हुन लागेको छु बुबा, अहिले” गोपी ज्वाइँले वास्तविक कुरा ओकल्नुभयो ।
मैले उहाँसँग मतदानकेन्द्र अवलोकन गर्ने इच्छा प्रकट गरें । विशेषतः त्यहाँ पुस्तकालय र विद्यालयमा मतदानकेन्द्र राखिंदो रहेछ । हामी वालमार्टबाट सोझै पुस्तकालयतर्फ लाग्यौं । वालेमार्टबाट डेरातिर आउने बाटैमा पर्छ एउटा सामुदायिक पुस्तकालय । पोटोम्याक अस्पतालको छेउमा रहेको सो पुस्तकालय सानो भएपनि सुन्दर र सुविधासम्पन्न छ । गोपीजी सो पुस्तकालयको सदस्य भएका नाताले म पनि चार पाँच पटक त्यस पुस्तकालयमा पुगेको छु र बिदेशी पर्यटकले प्राप्त गर्ने सुविधा पनि उपभोग गरेको छु ।
उक्त मतदानकेन्द्र अगाडिको पार्किङ् क्षेत्रमा चार, पाँच वटा गाडी मात्र थिए । त्यसैको एक छेउमा आफ्नो गाडी पार्किङ् गरेर हामी दुवै जना गाडीबाट उत्रियौं र मतदान केन्द्रको घेरादेखि अलिक पर बस्यौं । भोट नदिनेका लागि प्रवेश निषेध थियो त्यहाँ । बाहिरैबाट झन्डै एकघण्टा अवलोकन गर्यौं रमितेका रूपमा । बेलाबेला एक, दुई गाडी पार्किङ्मा आउँथे, मतदाताहरू भित्र पस्थे, भोट दिन्थे अनि तुरुन्तै फर्किन्थे । न त्यहाँ भीड थियो, न त्यहाँ चोरी चाप्लुसी नै थियो । न होहल्ला, न बुथकब्जा, न आतङ्क, न असुरक्षा केही थिएन त्यस मतदान केन्द्रमा । मैले नेपालको मतदानकेन्द्र संझिएँ र त्यहाँको मतदान केन्द्रपटि फर्किएर मनमनै भने,, ‘तिमी अमेरिकीहरू यस मामलामा वास्तवमै अनुकरणीय रहेछौ, अनुशरणीय रहेछौ । तिमीहरूको देश स्वस्थ प्रतिस्पर्धाको देश रहेछ । दक्षिण एसियामा यस किसिमको संस्कार कहिले आउला !’ एकघण्टा पछि हामी त्यहाँबाट अर्को मतदान केन्द्रमा गयौं । त्यो मतदानकेन्द्र ‘मोरोस्को हिल इलिमेन्टरी स्कूल’मा थियो । त्यो स्कूल हाम्रो नाति अभिषेक पढ्ने स्कूल हो । त्यस स्कूलमा पनि म अभिभावकका नाताले तीन, चार पटक पुगेको छु । अत्यन्त रमणीय स्थानमा निर्मित त्यस स्कूलको अध्ययन अध्यापन निकै स्तरीय छ । यो मेरो आफ्नो निजी अनुभव हो । त्यहाँ पनि स्कूल कम्पाउण्डभित्रसम्म मात्र पुग्न सक्यौं र आधा घण्टाजति बसेर अवलोकन गर्यौं । पुस्तकालयको चुनावी गतिविधि र त्यस स्कूलको चुनावी गतिविधिमा अलिकति पनि पृथक्ता ठम्याउन सकिएन ।
प्रत्येक मतदान केन्द्रमा कम्प्युटरको प्रयोग गरी मतदान गर्ने कार्य हुँदोरहेछ । प्रत्येक केन्द्रमा पाँचदेखि दश वटासम्म कम्प्युटरको प्रयोग गर्न सकिने भए पनि एकैपटक सबै कम्प्युटरको प्रयोग भएको पाइएन । एकजना अमेरिकी मतदातालाई गोपीजीले मतदाताको न्यून उपस्थितिका बारेमा सोद्धा उसले भन्यो, ‘डेमोक्रेटिक उमेदवारलाई जिताउन यस पटक अघिल्लो चुनावमाभन्दा बढी मतदाता भोट हाल्न आएका छन् ।’ यस्तो उपस्थिति पनि धेरै भयो भने थोरै उपस्थिति चाहिं कस्तो थियो होला, जस्तो लाग्यो । हामी त्यहाँबाट फिर्यौं । हामी बसेको भवनको पहिलो तलाको एउटा एपार्टमेन्टमा ‘क्यारोल ए। बुस’ नामको अमेरिकी बस्तथ्यो । क्यारोल पनि गोपीजीले काम गर्ने ‘स्याम्स क्लब’ नामको डिपार्टमेन्टल स्टोरमा नै काम गर्दोरहेछस त्यसैले गोपीजीको राम्रो चिनाजानी रहेछ उससँग, ‘हाइ’ र ‘बाइ’ को मित्रताभन्दा अलिक गहिरो । सोही नाताले म पनि उसको साथी बन्न पुगें । त्यो मान्छे निकै अध्ययनशील रहेछ, हिमखिम बढेपछि थाहा भयो । मलाई लाग्यो अमेरिकी राजनीतिको राम्रो ज्ञान भएको मान्छे हो क्यारोल । उसबाट अमेरिका सम्बन्धी निकै कुरा अवगत गर्न पाएँ मैले । अमेरिकी राजनीतिप्रति मेरो आकर्षण बढ्ने प्रमुख कारक क्यारोल नै हो । अमेरिकी चुनाव र तत्सम्बन्धी कुराहरूको एउटा प्रमुख स्रोत हो क्यारोल । चुनावकै सन्दर्भमा एकदिन मैले क्यारोलसँग प्रश्न राख्दै भने, “अमेरिकाको ‘एब्सेन्टी भोटिङ्’का बारेमा जान्ने इच्छा थियो मिस्टर क्यारोल, कसो गरुँ
क्यारोलले दिएको जानकारीका आधारमा र अन्य केही अमेरिकी दैनिक पत्रिकाका आधारमा मैले ‘एब्सेन्टी भोटिङ्’ सम्बन्धी सामान्य जानकारी पाएँ ।
कुनै पनि मतदाताले मतदानबाट वञ्चित हुनपरोस् भन्ने उद्देश्य राखी व्यवस्था गरिएको ‘एब्सेन्टी भोटिङ्’ त्यहाँको देश, काल, वातावरणसँग मेल खाने किसिमको छ । त्यो व्यवस्था चुनावको दिन मतदान केन्द्रमा गएर भोट हाल्न नसक्ने मतदाताका निमित्त अत्यन्त उपयोगी छ, मैले यस्तो अनुभव गरें ।
वास्तवमा मतदातालाई देवतातुल्य मानिदो रहेछ त्यहाँ । त्यसैले होला ‘एब्सेन्टी भोटिङ्’मा पनि दुई किसिमको व्यवस्था गरेको रहेछ — एउटा ‘एब्सेन्टी बाइ मेल’ र अर्को ‘एब्सेन्टी इन पर्सन’ । पहिलो किसिमको ‘एब्सेन्टी भोट’ दिन चाहने पञ्जीकृत मतदाताले चुनाव हुनुभन्दा दश महिना अघिदेखि ‘जेनरल रजिष्ट्रार’को कार्यालयबाट आवेदन फारम मगाई भरेर पठाउने प्रावधान रहेछ । मतपत्र प्राप्त गर्नका लागि भरेर पठाइने सो आवेदन फारम चुनाव हुनुभन्दा पाँच दिन अघिसम्ममा सम्बन्धित कार्यालयमा पुगिसक्नु पर्दो रहेछ । प्राप्त आवेदनको छानविन गरी सम्बन्धित कार्यालयले मतदाताका नाममा मतपत्र पठाउँदो रहेछ । मतदाताद्वारा आफ्नो मत जाहेर गरिएको सो मतपत्र चुनाव हुने दिन बेलुका ७।०० बजेसम्ममा जेनरल रेजिष्ट्रारको कार्यालयमा पुगिसक्नु पर्ने, अन्यथा मत गणनामा सो मतपत्र समावेश नहुने रहेछ । मेलद्वारा गरिने यस भोटमा यसमा हुलाक, इमेल, फ्याक्समध्ये कुनै एक साधनको प्रयोग गर्न सकिन्छ । फारम मगाउनेदेखि भोट दिनेसम्म सबै काम उपर्युक्त साधनमध्ये कुनै एकबाट गर्नुपर्ने रहेछ ।
‘एब्सेन्टी इन पर्सन’ भनिने दोस्रो प्रकारको भोट चाहिं मतदाता स्वयंले तोकिएको समयभित्र तोकिएको ठाउँमा गएर दिइने भोट रहेछ । यसमा पञ्जीकृत मतदाताले चुनाव हुनुभन्दा ४५ दिन अघिदेखि चुनावको अघिल्लो शनिवारसम्म ‘जेनेरल रेजिष्ट्रार’को कार्यालयमा ‘एब्सेन्टी इन पर्सन’ भोटका लागि आवेदन दिन सक्तारहेछन । आवेदन स्वीकृत भएका मतदाताले चुनावको अघिल्लो शनिबारदेखि चुनाव हुने दिनको बेलुका ७ बजेसम्म मतदान गर्न सक्ने व्यवस्था रहेछ । विभिन्न तरिकाबाट मतदान दिन पाउने व्यवस्था गरेर अमेरिकाले एउटा राम्रो नमुना प्रस्तुत गरेको रहेछ । मतदानलाई ‘सर्वजन हिताय, सर्वजन सुखाय’ का रूपमा लिनुलाई लोकोपयोगी कार्य मान्न सकिन्छ । कुनै पनि असमर्थले सजिलै भोट हाल्न सक्ने यस किसिमको व्यवस्था अनुकरणीय देखिन्छ । अशक्तताको वर्गीकरण पनि व्यावहारिक एवं वैज्ञानिक लाग्छ ।
शारीरिक रूपमा अशक्त वा अस्वस्थ र उसको हेर्चाह गर्ने व्यक्ति, अध्ययनरत विद्यार्थी र उसको अभिभावक, संस्थागत व्यापारी अथवा व्यक्तिगत व्यापारका लागि देशविदेश डुलिरहने व्यक्ति र आफ्नो निजी बिदा उपभोगका लागि यात्रा गर्न निस्किएका व्यक्ति आदिले ‘एब्सेन्टी भोटिङ्’को सुविधा पाउँदा रहेछन् । त्यसरी नै बिहान ६ देखि बेलुका ७ सम्म खटेर ११ घण्टाभन्दा बढी काम गर्ने व्यक्ति, धार्मिक कारणबाट भोट हाल्न जान असमर्थ व्यक्ति, पोसाकधारी नोकरीमा संलग्न व्यक्ति उक्त भोटिङ् सुविधाका हकदार बन्न सक्दा रहेछन् । उपर्युक्त बाहेक अस्थायी रूपमा अमेरिका बाहिर बसेका व्यक्ति र मतदान केन्द्रका अधिकृत एवं कर्मचारी समेतले सो भोटिङ्मा सामेल हुनसक्ने प्रावधान रहेछ ।
अन्तश्चक्षुबाट दृष्टिगत गर्दा के देख्न सकिन्छ भने अमेरिकीहरूको चुनावी सँस्कृति निकै स्वतन्त्र, स्वस्थ र शुद्ध छ । त्यहाँका राजनेता र तिनका कार्यकर्ताहरूले चुनावलाई सरल र सहज रूपमा लिंदा रहेछन् । “संपत्तौ च विपत्तौ च महतामेकरूपता” भन्ने पूर्वीय सदुक्तिलाई आत्मसात गर्ने अमेरिकीहरूले ‘पराजय’को अर्थ राम्ररी बुझेका रहेछन् ।
हाम्रो दक्षिण एसियाका जनता चुनाव जतिजति नजिकिंदै जान्छ त्यतित्यति डर र त्रासले आक्रान्त बन्दै जान्छन् । चुनावको पिण्ड नछुटुन्जेल उनीहरूले सुखको सास फेर्न पाउँदैनन्स तर अमेरिकामा चुनाव आउनु र जानुले जनतालाई कुनै प्रकारको पृथक्ताभास दिन सक्दैन । भलै अन्य केही कुराहरूमा अमेरिकीहरू विश्वमै प्रत्यालोचित छन् तर पनि उनीहरूको चुनावी संस्कृति अनुकरणीय एवं अनुशरणीय देखिन्छ ।
०००