अत्याधुनिक चालक र उत्तरआधुनिक स मिल

नेपाली विकिपुस्तकबाट, स्वतन्त्र पुस्तकालय

अत्याधुनिक चालक र उत्तरआधुनिक स मिल[सम्पादन गर्नुहोस्]

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको आयोजनामा भएको ९७ औं देवकोटा जयन्ती समारोह मेरा निम्ति एक अविस्मरणीय क्षणका रूपमा रहेका छ । प्रस्तुत समारोह भर्जिनियास्थित जर्ज म्यासन युनिभर्सिटी पुस्तकालयको अत्याधुनिक एवं सुन्दर कक्षमा सम्पन्न भएको थियो ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अन्य पदाधिकारी र सदस्यहरूसँग मेरो त्यति राम्रो परिचय नभए पनि समाजका संस्थापक अध्यक्ष साहित्यकार एवं कवि होमनाथ सुवेदीसँग भने निकटतम सम्बन्ध स्थापित भइसकेको थियो । उहाँ साहित्यकार भनेपछि हुरुक्क हुने सहृदयी व्यक्तित्वका रूपमा परिचित हुनुहुन्छ । उहाँद्वारा नै मैले उपर्युक्त समारोहमा उपस्थित हुने निम्तो पाएको थिएँ । उहाँले नै मलाई सो समारोहमा लाने कुरा फोनबाट गर्नुभएको थियो ।
२३ अक्टुबर २००६ (लक्ष्मीपूजा)का दिन अपराह्न १.१५ बजे मलाई लिन म बसेको एपार्टमेन्टमा उहाँ र उहाँकी धर्मपत्नी नन्दादेवी सुवेदी आइपुग्नुभयो । सोभन्दा अघि नै म तयार भई दुई तलामुनि रहेको पटाङ्गिनीमा ओर्लिइसकेको थिएँ । सुवेदी दम्पती अगाडिको सिटमा बस्नुभएको थियो, म पछाडिको सिटमा बसें । तब एकाएक त्यो रातो कार अघि बढ्यो डि.सि.मेट्रो एरियाको स्प्रिङ्फिल्डतिर । गाडी केही पर नपुगुन्जेलसम्म म आफ्नै धुनमा थिएँ, केही थाहा पाइन । अर्को सडकमा गाडी समाहित भएपछि मात्र मलाई थाहा भयो चालकका ठाउँमा नन्दादेवी सुवेदी हुनुहुँदो रहेछ । केही दिनअधि उहाँबाटै थाहा पाएको थिएँ उहाँ भर्खर गाडी चलाउन सिक्दै हुनुहुन्छ । म हठात् अर्कै मनस्थितिमा पौडिन पुगें । ‘के मेरो दिन पुग्न लागेको हो ?’ आफैंलाई प्रश्न गरें मैले । यत्तिकैमा ‘यसो गर, उसो गर, ब्रेक हान, दाहिने लेनतिर मोडेर गति अलिक कम गर, अब देब्रे लेनतिर छिराएर गति बढाऊ’ जस्ता सिकाइका वाक्यहरू सुनेपछि त झन् हंसले ठाउँ छोड्यो ।
असंख्य ट्राफिक बत्तीहरू पार गर्दै, कतै ट्राफिक जाममा पर्दै गाडी निर्वाध अघि बढिरहेको थियो । अगाडि हेर्दा अर्को गाडीसँग ठोकिनै लागेको देखिन्थ्यो भने पछाडि हेर्दा कमिलाका ताँतीझैं गुडेका गाडीले ड्याम्म दिन लागेको जस्तो देखिन्थ्यो । छातीमा हात राखें, भित्र कतकता चस्स बिझायो । छोरी कृष्णा, ज्वाइँ र नातिहरूको सम्झना आयो । देश, जिल्ला हुँदै सुरुङ्गा घरमै आइपुग्यो बिझाएको मन । सबैथोक सबैतिरबाट एकैचोटि बिझाएपछि चोला उठ्नै लागेको अनुभव गरें मैले । कान र आँखा बन्द गरेर कारमा छु भन्ने बिर्सन खोजें; के बिर्सिन्थ्यो, झन् उखपात ! बाँदर नसंझनु भन्दा झन्झन् संझिएर उखरमाउलो भएझैं । नेपालमा यस किसिमको सङ्कट परेको भए धरोधर्म गुड्दै गरेको गाडीबाट सडकमा हाम फाल्थें । परिणाम, दुबै हातमा लड्डू— आफू स्वतः सहिद हुने र परिवारका हातमा दस लाख ! तर दुःखको कुरा म अमेरिकामा थिएँ । त्यहाँ त दुबै हातमा लड्डू होइन विष पर्ने कुरा प्रायः निश्चित थियो । विदेशी भूमिमा मर्नु एउटा विष थियो भने दाहकर पाँच हजार डलर तिर्नुपर्ने संझनाले बढी ऐंठन गरेको थियो ।
मनको सानो टुक्राले भन्यो, ‘आ .... लेखला भाबी मेटला को ?” अमेरिकै आएर सकिन लेखेको रहेछ भने ठीकै छ । मेरो जेष्ठपुत्र सूर्य पनि गाडी दुर्घटनामा नै गएको हो । आज त्यसैको एककुन्द्रो मेटिन आँटेको होला ! अर्को मनले भन्यो, ‘छोरो त धेरै भाग्यमानी रहेछ, आफ्नै मातृभूमिमा विलीन भयो । तँ अभागी चाहिँ ...... !” झन्नै मुखबाट शब्द उम्किन खोज्यो । म झस्किएँ । बाटो केही खुला भएका बेला होमनाथजी मसँग बात मार्नुहुन्थ्यो । म पनि उहाँको कुरामा सहभागी हुन्थें; तर झपझप निदाउन लागेको मान्छेको जस्तो थियो मेरो बोली । म के बोल्दै थिएँ आपैंm बुझ्दिन थिएँ भने सुवेदीजीले के बुझ्नुभयो अहिले म भन्न सक्दिन ! मैले यसो अनुमान लगाएँ गाडी ९५ नं. को उत्तरदक्षिण महाराजमार्गमा पसिसकेछ । ज्वाइँ गोपीबाट मैले त्यसअघि नै थाहा पाइसकेको थिएँ यस किसिमका राजमार्गमा सिकारुले गाडी कुदाउनु यमराजको निम्तोमा जानु हो । न्यूनतम सत्तरी माइल (११२ कि.मि.) प्रतिघण्टाका गतिमा कुदाउनुपर्ने ठाउँमा ६२ वर्षे सिकारुको हँकाइ ! मलाई कस्तो भएको थियो होला तपाईं आफैं अनुमान गर्न सक्नुहुन्छ । त्यस महाराजमार्गमा कमीलाका ताँती जस्तै घुइँकिएका गाडीहरूको रमिता मैले आकासे पुलबाट निकै पटक हेरिसकेको थिएँ । गोपी ज्वाइँ मलाई बेलाबखत भन्ने गर्नुहुन्थ्यो, ‘बुबा, मैले गाडी चलाउन थालेको तीन वर्ष भयो तर अझै म ९५ राजमार्गमा कुदाउन सक्दिन । बरु घुमाउरै होस् ट्राफिक बत्ती भएका बाटातिरैबाट चलाउँछु । ट्राफिक जाममा परिन्छ, अलिक ढिलो हुन्छ तर दुर्घटनाको संभावना कम हुन्छ । किन भने त्यहाँ ४०/४५ माइलको गतिमा कुदाउन पाइन्छ ।” ज्वाइँले भनेका कुरा संझिएपछि म झन् विचलित हुन पुगें । नेपालका जनता फँसेभन्दा अझ बढी म द्वन्द्वको भुमरीमा फसें । लाग्यो म मर्नु र बाँच्नुको दोसाँधमा छु ।
गोजी छामें । राहदानी निकालेर हेरें । वेवारिसे नहुने कुराले बीसको उन्नाइस भयो । जननी र जन्मभूमिको पुनःस्मरण गरें । अरुको आस्थालाई अन्धविश्वास भन्नेहरूले पनि यस्तो अवस्थामा यसै गर्लान् । यो मेरो निजी विचार हो ।
“पोखरेलजी, आइपुगियो । ओर्लिने होइन ?” यस्तो वाक्य कानभित्र पस्यो । म फेरि झस्किएँ । आफूलाई सम्हाल्दै आँखा खोलें । सपत्नी होमनाथ गाडी बाहिर निस्किसक्नु भएको रहेछ । लाजले भुतुक्क हुँदै म बाहिरिएँ । “६२ वर्षे नयाँ सिकारु चालकले यति राम्ररी गाडी हाँकेर यहाँसम्म ल्याइपुर्याउनु मेरा लागि आठौं आश्चर्य हो । धेरै धेरै धन्यवाद ।” मेरा थुकबिनाका मुखबाट यस्तै भनाइ निस्कियो । “एक्सिडेन्ट नगराई मेरो ज्यान बचाइदिएकोमा धन्यवाद भन्नुहोस् न पोखरेलजी” सुवेदीजीले हाँस्तै भन्नु भयो । म पनि हाँसे, नन्दा सवेदी पनि हाँस्नुभयो । मेरो सन्त्रासको पर्दा अघि नै खुलेछ भनेर म केही नबोली उभिएँ । दम्पती अघि लाग्नुभयो अनि म पनि पछि लागें । केही क्षणपछि हामी तीनैजना समारोह कक्षमा प्रवेश ग¥यौं, त्यहाँ प्रा.डा. पवन र म गफ गर्न थाल्यौं ।
“यहाँको शुभनाम प्राडा पवन होइन ।” यो मेरा पहिलो प्रश्न थियो प्राडालाई ।
“हजूर, नेपालमा मलाई यसै भन्थे ।” मेरो पहिलो प्रश्नको उत्तर उनले यसरी दिएका थिए ।
“यहाँ त नेपालको एउटा नाम चलेको क्याम्पसको प्राध्यापक हुनुहुन्थ्यो, कहिले आउनुभयो अमेरिका ?” मैले यस्तो जिज्ञासा राखेको थिएँ ।
“त्यस्तै छ–सात वर्ष भयो” शङ्कामिश्रित भावमा उनले उत्तर दिएका थिए ।
“सपरिवार कि एक्लै ?” मैले फेरि सोधेको थिएँ ।
“श्रीमती, दुई छोरा र म चारजना छौं ।” थोरै निधार खुम्च्याउँदै उनले भनेका थिए ।
म अनावश्यक प्रश्नहरू गरिरहेको थिएँ भन्ने भावरेखाहरू प्राडाका अनुहारमा अध्ययन गर्न सकिन्थ्यो ।
“तपाइँको शुभ नाम ?” मन नलागेरै भए पनि प्रश्न मिल्काए उनले ।
“मलाई .... पङ्कज ‘आत्रेय’ भनेर बोलाइन्छ” मैले भनें ।
“ओ.के. ! तपाइँ हास्यव्यङ्ग्यकार पङ्कज हो त ।” आश्चर्य मिश्रित स्वरमा उनले भने ।
“हजूर, म यहाँको घरमा धेरैचोटि पुगेको छु । मैले यहाँलाई मेरा केही पुस्तकहरू पनि दिएको छु । अमेरिका आएपछि सरका आँखा पनि कुइरा भएछन् । मलाई त्यस्तै लाग्यो । जेहोस् ! मैले सरलाई चिनें । मलाई यसमै गौरव छ ।” मैले भनें ।
“अनि तपाईं अमेरिका आइपुग्नुभएको कति भयो ?” उनले भने ।
“लगभग दुई महिना” अलिक गम्भीर भावमा मैले उत्तर दिएँ ।
“यहाँको बसाइ ?” उत्सुकतापूर्ण प्रश्न थियो उनको ।
“उड्ब्रीजमा छोरीज्वाइँ छन्, त्यहीँ बस्तैछु । अमेरिका आगमनको मेरो उद्देश्य पशुपतिको दर्शन मात्र हो, सिद्राको व्यापार होइन ।” मैले यो कुरा भनिरहँदा प्राडाको अनुहार अलिक कस्तोकस्तो भएको थियो । प्राडा पवन र मेरो त्यति मात्र कुराकानी हुनसक्यो, किनभने त्यस बेलासम्ममा कविगोष्ठी प्रारम्भ हुने समय भइसकेको थियो । जर्ज म्यासन युनिभर्सिटी पुस्तकालयको सुन्दर एवम् भव्य सभाकक्ष खचाखच थियो । भर्जिनिया, मेरिल्यान्ड, वासिङ्टन डीसी क्षेत्रका मात्र होइन त्यहाँ न्यूयोर्क तथा बोस्टोनदेखिका कवि एवम् साहित्यकारहरू उपस्थित थिए ।
कविगोष्ठी भव्यताकासाथ सम्पन्न भयो । नेपालकै कविगोष्ठी जस्तो थियो त्यो । सो गोष्ठीमा वाचन गरिएका अधिकांश कविताले नेपाली माटो ओडेका थिए । कविताका भावहरूको अतिरिक्त बोल थियो– “नेपालीहरू अमेरिका गएर बस्नु रहर होइन बाध्यता हो” । कवितामा प्रस्फुटित अन्तर्वस्तुहरू मन छुने किसिमका थिए । तर तिनीहरूको प्राकृतिकता र कृत्रिमता खुट्याउन सकिएन । आफ्नो देशलाई चट्ट माया मार्नेहरूको राष्ट्रप्रेमलाई कुन तहमा राख्न सकिन्छ ? यसको उत्तर खोज्न म असमर्थप्राय भइसकेको थिएँ ।
आफ्ना अनियन्त्रित मानसतरङ्गहरूलाई एकाकार गर्न खोजेँ मैले । त्यसबेला एउटा सूत्र मेराअगाडि खडा भयो । मेरा मानसिक रङ्गमन्चमा पवनको कथानक नाच्न थाल्यो । प्राडाबारे मेरा सामुन्ने अथाह प्रश्नहरू उपस्थित भए । तीमध्ये केही प्रश्नहरूले प्रमुखता पाए । प्रश्नहरूको मस्यौदा यस्तो थियो— “प्राडा पवन आफ्नो सम्मानित पेसा छोडेर किन अमेरिका आए ? उनले श्रीमती ल्याए पनि छोराहरू किन ल्याए ? उनले र उनका परिवारका प्रत्येक सदस्यले अँगालेको पेसा डलरमुखी मात्र छ कि सम्मानित पनि छ ? ... आदि”
यी प्रश्नहरूका साथमा प्राडाको पूर्व कथाको एउटा सानो रिल पनि बेरिएर आयो मेरा आँखाअगाडि । प्राडा अमेरिका आउनुभन्दा पहिले म दुई–तीन पटक काठमाडौंको उनको महलमा पुगेको थिएँ । उनको आफ्नै १५ कोठे महल थियो । त्यसबेला व्यस्त सहरमा भएको त्यस भव्य महलको चार कोठाबाहेक सबै भाडामा लागेका थिए । उनीबाहेक अरु दुई जना पनि स्थायी नोकरीमै संलग्न थिए । पवित्रा माध्यमिक द्वितीय श्रेणीकी शिक्षिका थिइन् भने जेठो छोरो प्रकाश राष्ट्र बैंकको आठौं श्रेणीको अधिकृत थियो । कान्छो आकाश नोकरीमा संलग्न नभए पनि उसले पुलचोकबाट सिभिल इन्जिनियरिङ सक्नै लागेको थियो । पवित्राका माइती धनाढ्य राणा खानदानका व्यक्ति भएकाले ऐस, आराम गर्न र सुविधा उपभोग गर्नमा उनी बनको काँडा थिइन् । काठमाडौंजस्तो ठाउँमा उनले दुईवटा नोकर–चाकर राखेका थिए । शिक्षण कार्यबाहेक पवित्राले ओरको सिन्को पर सार्न जानेको छैन भन्थे उनलाई चिन्नेजान्ने मान्छेहरू । वास्तवमा शिक्षण पेसा पवित्राको दिन काट्ने साधन मात्र थियो । मैले सुनेको चितवनतिर उनको २५ विघा जग्गा आफ्नो पेवा थियो रे । यी सबै कुरा हेरेर मैले त्यसबेला प्राडालाई एउटा सम्पन्न प्राध्यापकमा गणना गरको थिएँ । उनका साथीहरू भन्थे– “पवनलाई सरस्वती र लक्ष्मी दुबैले उत्तिकै माया गरेका छन् ।” गोष्ठी सकिनासाथ सबै कवि एवम् साहित्यकार गोष्ठीकक्षबाट बाहिरिन थाले । प्रा.डा. बाहिर निस्कँदै गर्दा मैले पुनः उनको हात समाएँ ।
‘यहाँसँग पुनः केही थप जिज्ञासा राख्न सकिन्थ्यो कि ?” भन्ने मेरो प्रश्नको उत्तरमा उनले भने— “सकिन्छ, किन नसक्नु ?” उनको शब्दशक्तिमा आलस्यको जलप लागेको थियो ।
“यहाँ राष्ट्रिवादी तथा देशभक्त हुनुहुन्छ भन्ने कुरा यहाँको कविताले देखाइसकेको छ । यो कुरा कवितामा मात्र सीमित छ कि यहाँको अन्तरात्माले नै बकेको हो, प्रष्ट हुन पाउँन”, मैले भनेँ ।
“आत्रेयजी ! अन्तरात्मामा नभएको कुरा कवितामा आउन सक्छ र ?” प्रतिप्रश्न गरे उनले ।
“हजूर, कथनी र करनी एकै भए कविता अन्तरात्माबाटै बोलेको हुन्छ तर ....” मेरो कुरा टुङ्गिन नपाँउँदै उनी जंगिए– “के तर ?.......”
“तर त्यत्रो सम्मानित प्राध्यापक पेसा छाडेर तपाइँ किन अमेरिका हानिनुभयो ?” मैले भनेँ । मेरो सोधाइबाट उनको रक्तप्रवाह किन्चित शिथिल भएजस्तो देखियो । आफ्नो स्वरलाई नरम बनाउँदै उनले भने–“सुरुमा त ..... म पर्यटककै रूपमा यहाँ आएको थिएँ । किमार्थ पनि बसुँला भन्ने सोच थिएन ।”
“अनि यत्रा वर्षसम्म यहाँ तापाइँलाई केले अँठ्यायो ? कस्तो खालको चुम्बकले आकर्षण ग¥यो श्रीमती र छोराहरूलाई समेत ?”
“खै ....” दिग्दारीको भावमा उनले भने । लाग्थ्यो साँचो कुरा उनको रुद्रघन्टीमा आएर अड्किएको थियो ।
“अच्छा, अब तपाइँ नढाँटी भन्नोस् तपाइँ यहाँ कस्तो खालको पेसामा संलग्न हुनुहुन्छ ?” केही उत्तेजित भएकोजस्तो भावमा मैले भनें । मेरो सोधाइबाट उनी एकछिन स्तम्भितजस्ता देखिए र ईष्र्या घोलिएको भनाइ अघि सारे— “अमेरिकामा शत्रुलाई पनि यस्तो प्रश्न सोध्नु हुँदैन । आ... छाड्नुहोस् यस्ता उरन्ठेउला कुरा ।”
“मेरो जिज्ञासाको समाधान नहुन्जेलसम्म यहाँलाई सापले भ्यागुतो पक्डिएझैं पार्छ यसले । यो कुरा बुझेर उम्कने चेष्टा नगर्नुहोला ।” अझ सारो हात अँठ्याउँदै भनें मैले । केही नलाग्ने देखेर उनले पुनः मुख खोले । भित्रैदेखि खोले या बाहिर मात्र भन्नेतर्फ म गइन ।
“पङ्कजजी, तपाईंलाई किन ढाँट्नु ? म मेरील्यान्डमा जी–स्टेसनमास्टर गर्छु ।” उनले भने । उनको भनाइमा केही छलछाम थियो कि भन्ने कुरा उनको मुखमुद्राले देखाइरहेको थियो । उनी नेपाली भाषाको प्राध्यापक भएकाले पक्कै पनि उनको भनाइ अभिधात्मक थिएन । ‘... अमेरिकामा शत्रुलाई पनि पेसा सोध्नु हुँदैन’ भन्ने उनका भनाइ उक्त कुराको प्रमाण थियो । जे भए पनि मजस्तो भर्खर मात्र अमेरिका टेकेको नेपालीका लागि अभिधात्मक अर्थमा भनेको हो भने प्राडाले ..... जी–स्टेसनमास्टर भएर काम गर्नु ठीकै थियो ।
“ए, अमेरिकाजस्तो ठाउँमा आएर पनि सरले राम्रै पेसा भेट्टाउनुभएको रहेछ । अनि गुरुमाचाहिँ के गर्नु हुन्छ नि ?” वास्तविक कुरा पग्रिन्छ कि भन्ने मनसायद्वारा मैले सोधेँ ।
“उनी ..... पेडियाट्रिक नर्स’ छिन् । पेसा एकप्रकार राम्रै छ भन्नुपर्यो र खान, बस्न, सुत्न अफिसले नै दिन्छ । हप्तामा एक दिन पनि हाम्रो भेट हुन हम्मेहम्मे पर्छ । बाल अस्पताल न हो सारै बिजी छिन् ।” आत्मसन्तुष्टिको भाव प्रकट गर्दै उनले भने । उनका हाउभाउबाट कृत्रिमताको आभास पाउन सकिन्थ्यो ।
छोराहरूका बारेमा मैले सोध्नै परेन । उनले आफैं भने– “छोराहरू उत्तरआधुनिक भइसकेका हुनाले धेरै दिसम्म उनका लागि उत्तरआधुनिक नोकरी खोजियो । जहाँ इच्छा तहाँ उपाय भने जस्तै उनका लागि उपयुक्त नोकरी पनि भेटियो । उत्तरआधुनिक नोकरी, त्यसमा पनि एउटै दरबन्दीमा दुबै जनाले काम पाउनु मेरालागि कम खुसीको कुरा रहेन ।”
साहित्यमा आएको उत्तरआधुनिकता नै नबुझेका मान्छेलाई .... नोकरीमा उत्तरआधुनिकता भन्ने कुराले मलाई कुहिरोको काग बनायो । कुहिराबाट बाहिर निस्कन प्रयत्न गर्दै मैले भनें— “हम्रो नेपालमा त साहित्य, सङ्गीत, कला आदिमा मात्र उत्तरआधुनिकता भित्रिएको चर्चा परिचर्चा सुनेको थिएँ । अमेरिकामा त काममा पनि उत्तरआधुनिकता आइसकेछ । अँ कस्तो काम (नोकरी)लाई उत्तरआधुनिक काम भन्छन् सर ?” प्राडाले उत्तरआधुनिक कामलाई यसरी परिभाषित गरे—“उनीहरू फिलहाल भर्जिनिया राज्यको फेयरफ्याक्स काउन्टीको उत्तरआधुनिक स–मिलमा काम गर्दैछन् । यो काउन्टी अमेरिकाको मात्र होइन विश्वकै सबभन्दा धनी काउन्टी हो र यहाँको उत्तरआधुनिक स–मिल पनि विश्वमै पहिलो हो ।”
“यसका केही विशेषता पनि जान्न पाइन्थ्यो कि ?” मैले भनें ।
“पङ्कजजी ! उत्तरआधुनिक काम भनेको धेरै राम्रो कुरा रहेछ । धेरै कुरामा सुविधा हुनु यसको महत्त्वपूर्ण पक्ष हो । साहित्यमा जस्तै यसमा पनि कुनै नियम, सिद्धान्त, टायम–टेबल भन्ने कुरा नमोनास्ति हुँदोरहेछ । यसमा वर्ष, महिना, घन्टा, हिसाब लागु हुँदैन । यसमा त पटकको हिसाबमा बेतन मिल्छ । सामान्यतया बिहान एक पटक अनि बेलुका एक पटक काममा खटनुपर्छ तर मेसिनमा गडबडी भएका बेलाचाहिँ अरु पाँचसात पटकसम्म पनि ओभरटायम खट्नुपर्छ । त्यस्तो खटाइ भनेको आठपाँच मात्र पर्नसक्छ । .... ‘खाईलाई तीन लात्ती’ भनेझैं खान बस्न सबै कम्पनीकै । बिदाचाहिँ मेसिननै बन्द भयो भने मात्र नत्र पाइँदैन । नभेटी नहुने भएमा समय मिलाएर हामी दुबैजना छोरा भेट्न स–मिलमै पुग्छौं । अमेरिकाको बिजी लाइफ यस्तै हो ।”
“पङ्जजी ! अझै गफ सकिएन ?” पछाडिबाट कोट्याउँदै कवि सुवेदीले भने ।
म हत्तपत्त कवि सुवेदीको रातो कारमा गएर बसेँ । हामी उड्ब्रिजतिर फर्कियौं । गफको सिलसिलामा कवि सुवेदीलाई मैले सोधें— “जी–स्टेसनमास्टर भनेको के हो सुवदीजी ?”
“किन ?” उल्टै प्रतिप्रश्न गरे उनले ।
“प्राडा पवनले गरेको नोकरी कुन किसिमको रहेछ भनेर जान्न मात्र चाहेको” मैले भनें ।
“तपाईंलाई उनले कस्तो नोकरी गरेजस्तो लाग्यो त ?”
“मेरो विचारमा उनी रेलको या बसको स्टेसनमास्टरमध्ये कुनै एक हुनुपर्छ ।”
एकछिनको मन्दमुस्कानपछि कवि सुवेदीले भने– “जी–स्टेसन भनेको ग्यास स्टेसन हो । उनी ग्यास स्टेसनमा काम गर्ने कर्मचारी हुन् । उनको दर्जा नेपालमा पेट्रोल पम्पमा तेल भर्ने कामदार जस्तै हो । नेपालबाट भर्खरभर्खर आउने मान्छेलाई यसै गरी ढाँट्छन् सबैले । नेपालमा पो प्राडा त, अमेरिकामा भुत्राको प्राडा । यहाँ ग्यास स्टेसनमा काम गर्नेले रेस्टरुम (चर्पी) सफा गर्नेदेखि लिएर आइपर्ने सबै काम गर्नुपर्छ ।”
नेपालका प्राडाहरू अमेरिका भनेपछि कति हुरुक्क हुँदारहेछन्, उनीहरूको राष्ट्रवाद साँच्चिकै कवितामा मात्र हुँदोरहेछ भन्ने कुराको अलेली हेक्का भयो मलार्इ ।
मैले अर्को प्रश्न राखें– “सुवेदीजी ! पेडियाट्रिक नर्स भनेको कस्तो पेसा हो ?”
“पवित्रा के गर्दैछिन् भन्न खोज्नुभएको होइन तपाईंले ?” सुवेदीजीले अर्को प्रतिप्रश्न गरे ।
“हजूर ।”
“उनी एउटा भारतीय मुलको अमेरिकी सेठको घरमा तीनजना नानी हेर्ने काम गर्छिन् ।”
“अनि नर्स किन भने त प्राडाले ?”
“नानीहरूलाई हेर्ने, बोक्ने, खुवाउने, सुताउने, आची पुछपाछ गर्नेलाई धाई (नर्स) नभनेर अरु के भन्ने त ।” मेरा विचारमा प्राडाले ठीकै भनेका हुन् ।
यस भनाइले मलाई तुरुन्त काठमाडौं पुर्यायो । धनाढ्य, सम्मानित श्रीमान् तथा प्रसस्त नोकरचाकर राखेर देशको राजधानीजस्तो ठाउँमा बसेकी पवित्रा गुरुमा अहिले स्वर्गमा छन् कि नरकमा ? भन्ने प्रश्नको द्वन्द्वमा फसें म । म आपैंmले आफैंलाई प्रश्न गरें— “के डलर मात्र सबैथोक हो ?”
कल्पनाबाट यथास्थितिमा फर्किंदा हामी चढेको गाडी लगभग सत्तरी माइल प्रतिघन्टाको गतिमा बगिरहेको थियो । ९५ महामार्ग भएर हामी उत्तरबाट दक्षिणतिर जाँदै थियौं । बेलुकाको नौ बज्न लागेकोले त्यस महामार्गमा ओहोरदोहोर गर्ने असंख्य गाडीहरूलाई देखेपछि इलाम तोरीबारीको घना बाँसघारीभित्र झल्याकझिलिक र मल्याकमिलिक गर्ने जूनकिरीको महासागरभित्र छु कि जस्तो लाग्यो मलाई । कवि सुवेदी स्वयंले यस पटक गाडी हाँकेकोले म निर्धक्क थिएँ र ढुक्क पनि । मसँग अझै एउटा जिज्ञासा बाँकी रहेकाले पुनः कवि सुवेदीतिर प्रश्नको झटारो हानें ।
“कविजी, घर पुग्न पनि लागियो अब एउटा कुराचैं सोध्नैपर्यो । अँ, प्राडाका दुबै छोरा उत्तरआधुनिक स–मिलमा काम गर्छन् रे । उत्तरआधुनिक स–मिल भनेका कस्तो खाले मिल होला ?”
“पङ्कजजी, यसको उत्तर गाडीभित्र दिन मिल्दैन, पुलिसले अहिल्यै समात्छ । म मात्र होइन तपाईं नयाँ मान्छे पनि पक्डाउ खानुहुन्छ, त्यसैले मेरा घरमा पुगेपछि म यसको उत्तर दिन्छु ।”
केहीबेरको निस्तब्धतापछि कवि सुवेदीको घर आइपुग्यो । हामी गाडीबाट ओर्लियौं । छोटो आराम र चिसो पेय पदार्थ ग्रहणपश्चात् मैले अघिकै उत्तरआधुनिक स–मिलसम्बन्धी प्रश्न पुनः दोहोर्याएँ ।
“स–मिल भनेको के हो यो त थाहा छ होइन ?”
“अमेरिकाको थाहा नभए पनि नेपालको स–मिल चाहिँ थाहा छ । मेरै छिमेकी हेमनारायणले पनि स–मिल चलाएको छ, मिल चलेका बेला कानै फुट्लाझैं हुन्छ ।”
“आच्छा दुई आरावालले मूढो ठड्याएर आराकाटेको देख्नुभा’छ ?”
“किन नदेख्नु, मैले आफ्नै घरमा बिहारी आरावाल लगाएर काठ चिराएको छु ।”
“ल, त्यसो भए तपाईं स्पष्टसँग बुझ्नुहुन्छ । प्राडाका दुबै छोरा बिहारी आरावालले जस्तै आराकाट्ने काम गर्छन् । फरक यति छ बिहारीले उँभोबाट काट्छन् भने यिनीहरू उँधोबाट काट्छन् ।”
“कसरी ?” मैले सोधें ।
“यही भर्जिनियाँको फेयरफ्याक्स काउन्टीमा एउटा धेरै धनी भारतीय मूलको अमेरिकी सेठ बस्छ । त्यसका हजूर बा नै भारतबाट यहाँ आएर बसेका रे । कालान्तरमा धनसम्पत्ति बढ्दै जाँदा त्यसको शरीर पनि बढ्दै गएर हेमानको भएको छ । लगभग तीन क्वीन्टलभन्दा बढी । ज्यादै मोटो बङ्गुरकट भएका कारण उसका हात पनि टाङमुनि पुग्न नसक्ने भएछन् । अब के भयो त भन्नुहोला; उसलाई नोकरचाकरको आवश्यकता पर्नगयो । सुताउने, उठाउने, नुहाउने, धुवाउने, खुवाउनेजस्ता विविध कामका लागि कर्मचारीहरूको दरबन्दी सिर्जना गर्यो उसले । सो दरबन्दीमध्ये प्राडाका छोराहरूले पनि नोकरी भेटे । उनीहरूको काम रेस्टरुमभित्र मात्र पर्दछ । सामान्यतया, बिहान र बेलुका दुई पटक मात्र । सेठको पेट फुलेको र ‘अथि’को गेट खुलेको बेला उनीहरूले ओभरटाइम काम पनि पाउँछन् ।”
“कविजी, तपाईंको भनाइले मलाई रिँगटा लाग्यो । उनीहरू गर्छन् चाहिँ के ?”
मेरो प्रश्नको उत्तर कविले यसरी दिए— “सेठ रेस्टरुम (चर्पी) भित्र पस्नासाथ उनीहरू बाहिर तैनाथ बस्छन् बैंकको गार्डझैं । भित्रबाट आची सकिएको साङ्केतिक घन्टी बज्छ अनि उनीहरू भित्र पस्छन् । सावधानीपूर्वक ट्वाइलेट क्लोथ पानीमा भिजाउँछन् र सेठका टाङमुनि छिराउँछन् र कपडाको एक छेउ एक भाइले अर्को छेउ अर्को भाइले अँठ्याएर आरा काट्दै पानीमा चोब्दै गर्छन् । अब भन्नुहोस् त यसलाई उत्तरआधुनिक स–मिल नभनेर के भन्ने ?”
“हा ... हा ... हा ... हा ...” म हाँसे कति हो कति ? हाँस्ताहाँस्ता राल सिँगान नै भयो । कवि र कवि पत्नी पनि पेट मिचीमिची हाँसे धेरै बेरसम्म । मैले मनमनै भनें– “हाँसो प्रभावित कक्ष, हाँस्ने पात्रहरू र हाँसोको उद्भव केन्द्र” सबै नै उत्तरआधुनिक हुन् सम्बन्धित समालोचकका चेतना भया ।”

-०००-