सामग्रीमा जानुहोस्

श्रीमद्भगवद्गीताको पुष्पिका

नेपाली विकिपुस्तकबाट, स्वतन्त्र पुस्तकालय

श्रीमद्भगवद्गीताको प्रत्येक अध्यायको अन्तमा लेखिएको वाक्यलाई पुष्पिका वा पुष्पाञ्जलि भनिन्छ । यस पुष्पिकामा गीताको नाम, अध्यायको नाम र अध्याय संख्या यति कुरा समेटिएको छ । उदाहरणका लागि पहिलो अध्यायको पुष्पिकामा निम्नलिखित कुराहरु उल्लेख गरिएको छ–

ॐ तत्सत् इति श्रीमद्भगवद्गीतासूपनिषत्सु बह्मविद्यायां योगशास्त्रे श्रीकृष्णार्जुन संवादे अर्जुनविषादयोगो नाम प्रथमोऽध्यायः।।


१. ॐ तत् सत् इति
२. श्रीमद्भगवद्गीता
३. सु–उपनिषद्
४. ब्रह्मविद्यायाम्
५. योगशास्त्रे
६. श्रीकृष्णार्जुनसंवाद
७. अर्जुनविषाद योग, प्रथम अध्याय (अध्यायको नाम र सङ्ख्या)
अध्यायको नाम र संख्या बाहेक अन्य छ कुराहरु यथावत छन् । त्यसमध्ये श्रीमद्भगवद्गीता, उपनिषद्, ब्रह्मविद्या, योगशास्त्र तथा श्रीकृष्णार्जुन संवाद यी पाँच गीताका नाम हुन् ।

१. ॐ तत् सत् इति

[सम्पादन गर्नुहोस्]


ॐ तत्सत् इति ।ॐ, तत्, र सत् यति तीन प्रकारको नामले ब्रह्मको स्मृति हुन्छ । ॐ निराकार ईश्वरका लागि प्रयोग गरिने संकेत हो । तत् सत्...भने पछि आफूले ईश्वर समर्पणका लागि गरेको हरेक कृत्यमा रहेको कमी पूरा हुनजान्छ । माङ्गलिक कार्यमा यसको प्रयोगले शुभकार्यको फल प्रभावकारी हुन्छ भन्ने मानिन्छ ।
इतिको अर्थ हुन्छ समाप्त भयो ।

२. श्रीमद्भगवद्गीता

[सम्पादन गर्नुहोस्]


श्रीमद्भगवद्गीता ।
श्रीमद्भगवद्गीताको अर्थ हुन्छ भगवानका श्रीमुखबाट निस्केको वाणी, गीत । वाणीका लागि गीतभन्दा कलात्मक, सुन्दर र सम्मानित अर्को विशेषण छैन । त्यसैले गीता एक सुन्दर र संगीतमय काव्य पनि हो ।
श्रीमद्को अर्थ हो ऐश्वर्ययुक्त । सम्मानपूर्वक नाम लिनका लागि श्री सहित उच्चारण गर्नु पर्छ । गीता ग्रन्थलाई पनि सम्मानपूर्वक श्रीमद्भगवद्गीता भन्नु पर्छ । छोटकरीमा उच्चारण गर्दा समेत ससम्मान श्रीगीता वा गीताजी भन्ने गरिन्छ । गीता स्त्रीलिङ्गी शब्द भएकोले गीतामाता पनि भन्ने गरिन्छ ।

३. सु–उपनिषद्

[सम्पादन गर्नुहोस्]


सु–उपनिषद् । राम्ररी बताइएको उपनिषद् ।
अर्जुनले विनम्रतापूर्वक शिक्षा दिन अनुरोध गरेपछि (२.७) गीताको उपनिषद् भाग प्रारम्भ भई १८.६३ देखि १८.६५ मा समाप्त हुन्छ ।
व्युत्पत्ति अनुसार उपनिषद् शब्दका विविध अर्थ हुन्छन्– एउटा अर्थ हुन्छ गुरुका चरण नजीक आसनमा बस्नु । यसको अर्को अर्थ हुन्छ गूढ वा रहस्य ज्ञान, जुन विशेष व्यक्तिलाई मात्र दिइन्छ । एउटा अर्को अर्थ हुन्छ एकान्तमा दिइएको ज्ञान ।
उपनिषद्का अन्य ग्रन्थ मध्ये गीता किन फरक छ भने सबै उपनिषद्को रचनाकार अज्ञात छ । जबकि गीताका रचनाकार व्यास हुन् । यसको औपनिषदिक स्वरुपले यसलाई दर्शनको रुप दिन्छ । उपनिषद्का कठिन ज्ञानलाई गीतामा काव्यात्मक रुपमा प्रस्तुत गरिएको छ ।
गीता ग्रन्थमा एक असल शिष्यले प्रश्न सोध्ने र एक महान शिक्षकले उत्तर दिने कला पनि सिकाइएको छ । यस दृष्टिले यो कला हो । यो अध्यात्मशास्त्र हो ।

४.ब्रह्मविद्यायाम्

[सम्पादन गर्नुहोस्]


ब्रह्मविद्यायाम् । ब्रह्मविद्या अन्तर्गत । ब्रह्म विद्या नाम गरेको कुनै छुट्टै शास्त्र उपलब्ध छैन तथापि यसको अर्थ हो विभिन्न ग्रन्थमा भएको अध्यात्मशास्त्र । त्यस ज्ञानलाई पनि ब्रह्मविद्या भनिन्छ जसले जगत्को मूल कारण बताउँछ । जसले परमात्मासँग सम्बन्ध जोड्न सिकाउँछ । गीता (१०.३२) मा ब्रह्म विद्यालाई सर्वोच्च बताइएको छ । प्रस्थान त्रयी मध्ये गीता एक हो, अन्य दुईवटा वेद र ब्रह्मसूत्र हुन् । उपनिषद्को विषय वस्तुलाई ब्रह्मविद्या मानिन्छ । गीता २.११ देखि १८.६६ सम्म आत्माको अजरता अमरताको जुन ज्ञान दिइएको छ, त्यो गीता उपदेशको ब्रह्मविद्या खण्ड हो । सरलता, संक्षिप्तता, काव्यात्मकता र प्रस्तुतिका दृष्टिले ब्रह्मविद्याका सबै ग्रन्थमध्ये गीता अनुपम मानिन्छ ।

५. योगशास्त्र

[सम्पादन गर्नुहोस्]


योग शास्त्र । योगको शास्त्र,योग दर्शन । युज (प्रयोग) धातुबाट योग शब्द बनेको छ । जसको अर्थ हुन्छ राम्ररी जोड्नु । योग शब्दको प्रयोग दर्शन, ज्योतिष, गणित, व्याकरण लगायतका क्षेत्रमा गरिन्छ ।
अर्जुनले कृष्णको भनाईमा आाफूलाई जोडेर कर्तव्यपथमा अग्रसर भएका हुन् । गीताको विश्लेषण वैज्ञानिक र क्रमबद्ध छ । यसका साथै गीताले मानव मात्रको कल्याणमा आफूलाई केन्द्रित गरेको छ । त्यसैले यो योग शास्त्र हो ।
शास्त्रको अर्थ अनुशासन, सूत्र, व्यवस्था, वा व्याख्या हो । गीता १५.२० मा गुह्य कुरा बताउने ग्रन्थलाई शास्त्र भनिएको छ । जुन कुरा वेदसंग सम्बन्धित हुन्छ त्यसलाई पनि शास्त्र भनिन्छ । गीतामा योगको अनुशासन समेत व्याख्या गरिएकोले पनि यो योगदर्शन हो ।विषादयोगदेखि मोक्ष सन्न्यासयोगसम्म गीता सम्पूर्णतः योग शास्त्र हो ।
यस विशेषताले गर्दा गीतालाई वास्तविक विज्ञान र आदर्श विज्ञान दुवै भनिन्छ ।

६. कृष्णार्जुनसंवाद

[सम्पादन गर्नुहोस्]


कृष्णार्जुनसंवाद । श्रीकृष्ण र अर्जुन संवाद अन्तर्गत । यद्यपि गीतामा धृतराष्ट्र उवाच र सञ्जय उवाच पनि छ तर गीतामा मुख्यतः अर्जुनका प्रश्न र भगवान् श्रीकृष्णका उत्तरहरु छन् । यस दृष्टिले गीता वास्तवमा कृष्णार्जुन संवाद हो । विशेष गरी गीताको १.२० देखि सुरु भई १८.७३ मा समाप्त भएको भाग कृष्णार्जुन संवाद हो । यो संवाद काव्यात्मक, सुबोध र मधुर हुनुका साथै दर्शनका सबै पुस्तकहरुमध्ये अत्यन्त कुशलतापूर्वक गरिएको छ । त्यसैले गीता कला पनि हो ।